सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आधुनिक समयका शहीदहरूले स्वीडेनमा साक्षी दिन्छन्‌

आधुनिक समयका शहीदहरूले स्वीडेनमा साक्षी दिन्छन्‌

राज्य उद्‌घोषकहरूको रिपोर्ट

आधुनिक समयका शहीदहरूले स्वीडेनमा साक्षी दिन्छन्‌

“मृत्युद्वारा साक्षी दिने” भन्‍ने अर्थ लाग्ने अंग्रेजी शब्द “मार्टियर,” “साक्षी” अर्थ बुझाउने युनानी शब्द मार्टियर-बाट लिइएको हो। आफ्नो विश्‍वासको खातिर मृत्युसमेत भोगेर प्रथम शताब्दीका धेरै मसीहीहरूले यहोवाबारे साक्षी दिए।

त्यसै गरी, राजनैतिक तथा राष्ट्रवादी मामिलाहरूमा तटस्थ रहेको कारण २० औं शताब्दीमा हजारौं साक्षीहरूले हिटलरका चम्चाहरूको हातबाट आफ्नो ज्यान गुमाउनुपऱ्‍यो। यी आधुनिक समयका शहीदहरूले पनि जोडदार साक्षी दिन्छन्‌। यस्तै एउटा घटना स्वीडेनमा भर्खरै मात्र घट्यो।

दोस्रो विश्‍व युद्ध समाप्त भएको ५० औं वार्षिकीको उपलक्ष्यमा त्यतिबेला भएको महाविध्वंसबारे स्वीडेनको सरकारले एउटा राष्ट्रव्यापी शैक्षिक अभियान सुरु गऱ्‍यो। यस कार्यक्रमलाई जीवित इतिहास भनियो। यहोवाका साक्षीहरूलाई पनि यसमा भाग लिन र आफ्ना अनुभवहरू बाँड्‌न निमन्त्रणा दिइएको थियो।

फलस्वरूप साक्षीहरूले महाविध्वंसमा बेवास्ता गरिएका व्यक्‍तिहरू नामक प्रदर्शनी जन समक्ष प्रस्तुत गरे। यो प्रदर्शनी स्ट्रेङनेसस्थित यहोवाका साक्षीहरूको सम्मेलन भवनमा सुरु गरियो। पहिलो दिन आएका ८,४०० दर्शकहरूलाई आफ्नो अनुभव बताउनको लागि महाविध्वंसबाट बचेका साक्षीहरू पनि त्यहाँ उपस्थित थिए! सन्‌ १९९९ को अन्तसम्ममा, स्वीडेनभरिका १०० वटा भन्दा बढी संग्रहालय तथा सार्वजनिक पुस्तकालयमा यो प्रदर्शनी १,५०,००० जति मानिसहरूले हेरिसकेका थिए। दर्शकहरूमध्ये सरकारी अधिकारीहरू पनि थुप्रै थिए। उनीहरूले यस प्रदर्शनीप्रति सकारात्मक टिप्पणी गरे।

स्वीडेनमा यहोवाका साक्षीहरूको अरू कुनै पनि क्रियाकलापले यस घटनाले जतिको व्यापक जन प्रचारप्रसार र सकारात्मक प्रतिक्रिया पाएको थिएन। धेरै दर्शकहरूले यस्तो प्रश्‍न गरे: “महाविध्वंसको समयमा तपाईंहरूले भोग्नुभएका अनुभवहरू हामीलाई पहिल्यै किन नभन्‍नुभएको?”

एउटा इलाकामा उक्‍त प्रदर्शनी देखाएपछि स्थानीय मण्डलीले गृह बाइबल अध्ययनमा ३० प्रतिशत वृद्धि भएको रिपोर्ट गऱ्‍यो! एक जना साक्षीले आफ्नो सहकर्मीलाई यो प्रदर्शनी हेर्न बोलाए। तिनले खुसीसाथ यो निमन्त्रणा स्वीकारे र आफूसँगै एक जना साथीलाई पनि लिएर आए। आफ्नो विश्‍वासलाई परित्याग गर्न कागजातमा हस्ताक्षर गर्नुभन्दा बरु मृत्युदण्ड भोग्न तयार हुने हदसम्मको बलियो विश्‍वास यी मानिसहरूसँग कसरी हुन सक्यो भन्‍ने कुरा आफूले बुझ्न नसकेको उक्‍त साथीले बताइन्‌। यसले गर्दा थप छलफल गर्ने बाटो खुल्यो र तिनीसँग बाइबल अध्ययन सुरु गरियो।

प्रथम शताब्दीका मसीहीहरूले जस्तै २० औं शताब्दीका यी विश्‍वासी शहीदहरूले पनि यहोवा मात्र अटल विश्‍वास र भक्‍तिको योग्य एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी साहसी भएर साक्षी दिएका छन्‌।—प्रकाश ४:११.

[पृष्ठ १३-मा भएको चित्रको स्रोत]

Camp prisoner: Państwowe Muzeum Oświęcim-Brzezinka, courtesy of the USHMM Photo Archives