आफ्नै तरिकामा बुद्धिमान्
आफ्नै तरिकामा बुद्धिमान्
“वयस्कहरूको त बुद्धि हुन्छ नै तर केटाकेटीहरू पनि आफ्नै तरिकामा बुद्धिमान् हुन्छन्” भन्ने एउटा नाइजेरियाली कथन छ। नाइजेरियाका एड्विन नाउँ गरेका एक जना मसीही प्राचीनले यो कुरा साँचो साबित भएको अनुभव गरे।
एक दिनको कुरा हो, एड्विनले घरमा आफ्नो टेबलमुनि एउटा फलामको बाकस देखे।
“यो बाकस कसको हँ?” भनेर एड्विनले आफ्ना तीन जना छोराछोरीलाई सोधे।
आठ वर्षीय इमान्वेलले “मेरो” भने। तिनले हतपत यो खियाले खाइसकेको पाँच वर्ग-इन्चको चारपाटे खुत्रुके यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यको लागि अनुदान जम्मा गर्न प्रयोग गरेको कुरा बताए। तिनले यसो भने, “म हरेक दिन राज्यभवन नजाने भएकोले मैले आफ्नो खाजाको पैसा खर्च नगरेको बेला यस खुत्रुकेमा खसाल्ने अठोट गरें।”
वर्षेनी हुने जिल्ला अधिवेशनमा जान पैसा जम्मा गर्ने इमान्वेलको बुबाको पनि त्यस्तै एउटा बाकस थियो। तर परिवारमा एउटा कामको निम्ति खाँचो परेको कारण तिनले त्यो पैसा चलाएका थिए। इमान्वेलले आफूले जम्मा गरेको त्यस अनुदानको पैसा अरू कुरामा खर्च नहोस् भनेर तिनले राम्रोसँग बन्द गर्न त्यस बाकसलाई फलामको काम गर्ने मानिसकहाँ लगे। त्यस फलामको काम गर्ने मानिसले त्यो बाकस बनाउनुको कारण थाह पाएपछि इमान्वेलको निम्ति पनि तिनले काम नलाग्ने फलामबाट एउटा बाकस बनाइदिए। इमान्वेलको ५ वर्षीय भाइ माइकलले पनि त्यस्तो एउटा बाकस मागे।
आफ्नो छोराछोरीको यस्तो काम देखेर छक्क पर्दै एड्विनले तिनीहरूले किन त्यस्तो बाकस बनाउन लगाएको भनी सोधे। माइकलले जवाफमा यसो भने: “म अनुदान दिन चाहन्छु!”
आफ्नो आमाबाबुलाई थाहै नदिई इमान्वेल, माइकल र तिनीहरूकी नौ वर्षीया दिदी उचाले खाजाको पैसा बचाएर त्यस बाकसमा जम्मा गरिरहेका थिए। तिनीहरूले त्यसो गर्न कहाँबाट सिके? बच्चाहरू पैसा समात्न सक्ने भएदेखि नै आमाबाबुले आफ्नो छोराछोरीलाई राज्यभवनको अनुदान बाकसमा पैसा खसाल्न सिकाएका थिए। स्पष्टतः ती बच्चाहरूले जे सिकेका थिए त्यसलाई आफ्नो जीवनमा लागू गरिरहेका थिए।
बाकस भरिएपछि तिनीहरूले त्यस बाकसलाई काटेर खोले। तिनीहरूले कुल ३.१३ अमेरिकी डलर जम्मा गरेका थिए। वार्षिक सरदर आयस्रोत ३०० अमेरिकी डलर जति मात्र भएको देशमा त्यति रकम जम्मा गर्नु भनेको कुनै चानचुने कुरा थिएन। त्यस्तो स्वेच्छाले दिएको अनुदानले यहोवाका साक्षीहरूको प्रचारकार्य विश्वभरि २३५ मुलुकमा भइरहेको छ।