सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं परमेश्‍वरले प्रेम गर्नेहरूमध्ये हुनुहुन्छ?

के तपाईं परमेश्‍वरले प्रेम गर्नेहरूमध्ये हुनुहुन्छ?

के तपाईं परमेश्‍वरले प्रेम गर्नेहरूमध्ये हुनुहुन्छ?

“मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ, जसले मलाई प्रेम गर्दछ, त्यो मेरा पिताको पनि प्रेमी हुनेछ।”—यूहन्‍ना १४:२१.

१, २. (क) यहोवाले कसरी मानिसजातिप्रति प्रेम देखाउनुभयो? (ख) येशूले सा.यु. ३३ नीसान १४ को रात के स्थापना गर्नुभयो?

 यहोवा आफ्नो मानव सृष्टिलाई प्रेम गर्नुहुन्छ। वास्तवमा भन्‍ने हो भने, उहाँले मानिसजातिलाई “यस्तो प्रेम गर्नुभयो” कि “उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌” भनेर “उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो।” (यूहन्‍ना ३:१६) ख्रीष्टको मृत्युको स्मरणार्थको समय नजिकिंदै जाँदा यहोवाले “हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनालाई उहाँका पुत्रलाई पठाउनुभयो” भन्‍ने विषयमा साँचो मसीहीहरू झन्‌ धेरै सजग हुनुपर्छ।—१ यूहन्‍ना ४:१०.

इस्राएलीहरू मिश्रबाट छुटकारा भएको सम्झनामा निस्तार चाड मनाउन सा.यु. ३३, नीसान १४ को रात येशू र उहाँका १२ प्रेरितहरू यरूशलेममा माथिल्लो कोठामा जम्मा भए। (मत्ती २६:१७-२०) यो यहूदी चाड मनाइसकेपछि येशूले यहूदा इस्करयोतीलाई पठाउनुभयो र स्मरणार्थ भोज स्थापना गर्नुभयो, जुन पछि ख्रीष्टको मृत्युको मसीही स्मरणार्थ भनी चिनियो। a अखमिरी रोटी र दाखमद्य आफ्नो शरीर र रगतको प्रतीकको रूपमा चलाउनुहुँदै येशूले बाँकी ११ जना प्रेरितहरूलाई यस स्मरणार्थ भोजमा सँगै भाग लिन लगाउनुभयो। त्यसपछि उहाँले के गर्नुभयो भन्‍ने कुराको विवरण सुसमाचारको पुस्तकका लेखकहरू मत्ती, मर्कूस र लूका अनि प्रेरित पावलले दिएका छन्‌। प्रेरित पावलले यसलाई “प्रभु-भोज” भनेका छन्‌।—१ कोरिन्थी ११:२०; मत्ती २६:२६-२८; मर्कूस १४:२२-२५; लूका २२:१९, २०.

३. येशूले आफ्ना चेलाहरूसँग माथिल्लो कोठामा बिताउनुभएको अन्तिम घडीको विवरण अन्य सुसमाचारका पुस्तकहरूभन्दा यहून्‍नाको विवरण कुन महत्त्वपूर्ण तरिकाहरूमा फरक छ?

चाखलाग्दो कुरा के छ भने, प्रेरित यूहन्‍नाले रोटी र दाखमद्य घुमाउनेबारे केही पनि उल्लेख गरेका छैनन्‌। सायद, तिनले आफ्नो सुसमाचारको यो विवरण लेखुञ्जेल (सा.यु. ९८ तिर) यो प्रक्रिया प्रारम्भिक मसीहीहरूमाझ प्रचलित भइसकेको हुन सक्छ। (१ कोरिन्थी ११:२३-२६) तथापि, येशूले आफ्नो मृत्युको स्मरणार्थ स्थापना गर्नुभएपछि भन्‍नुभएका र गर्नुभएका कुराहरूको महत्त्वपूर्ण जानकारी भने प्रेरणा पाएका यूहन्‍नाले मात्र बताएका छन्‌। यी रोमाञ्चकारी जानकारीहरूले यूहन्‍नाको सुसमाचारको पुस्तकका पाँचवटा अध्याय भरिएका छन्‌। ती अध्यायहरूमा परमेश्‍वरले प्रेम गर्ने मानिसहरू को हुन्‌ भनेर स्पष्टसँग बताइएको छ। आउनुहोस्‌, हामी यूहन्‍ना अध्याय १३ देखि १७ सम्म जाचौं।

येशूको उदाहरणीय प्रेमबाट सिक्नुहोस्‌

४. (क) येशूले आफ्ना चेलाहरूलाई भेटेर स्मरणार्थ उत्सव स्थापना गर्नुहुँदाको मुख्य बुँदामा यूहन्‍नाले कसरी जोड दिए? (ख) यहोवाले येशूलाई प्रेम गर्नुको एउटा मुख्य कारण के हो?

येशूले आफ्ना अनुयायीहरूलाई दिनुभएका अन्तिम सल्लाहहरू भएको यी अध्यायहरूको मूल विषय नै प्रेम हो। साँच्चै भन्‍ने हो भने, “प्रेम” शब्दको विभिन्‍न रूप ३१ चोटि प्रयोग गरिएको छ। येशूको, आफ्नो पिता यहोवा र आफ्ना चेलाहरूप्रतिको गहिरो प्रेम यी अध्यायहरूमा जस्तो अरू कुनै पनि ठाउँमा स्पष्ट पारिएको छैन। यहोवाप्रतिको येशूको प्रेम सुसमाचारको पुस्तकका अन्य सबै विवरणमा स्पष्ट छ तर यूहन्‍नाले मात्र येशूको यो भनाइ सुस्पष्ट ढंगमा उल्लेख गरेका छन्‌: “म पितालाई प्रेम गर्दछु।” (यूहन्‍ना १४:३१) येशूले, यहोवाले उहाँलाई प्रेम गर्नुहुन्छ भनी उल्लेख गर्नुका साथै प्रेम गर्नुको कारण पनि बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो। मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।” (यूहन्‍ना १५:९, १०) हो, यहोवाले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ किनभने येशूले उहाँको आज्ञा पूर्णतया पालन गर्नुहुन्छ। येशू ख्रीष्टका सबै अनुयायीहरूको लागि कस्तो राम्रो पाठ!

५. येशूले आफ्ना चेलाहरूप्रति कसरी प्रेम प्रदर्शित गर्नुभयो?

प्रेरितहरूसँगको अन्तिम भेटबारे यूहन्‍नाको विवरणको सुरुमै आफ्ना अनुयायीहरूप्रति येशूको गहिरो प्रेममा जोड दिइएको छ। यूहन्‍नाले यसो भने: “निस्तार-चाड़को अघि येशूले यस संसारबाट पिताकहाँ जाने बेला आयो भनी जानेर संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर तिनीहरूलाई अन्त्यसम्मनै प्रेम गर्नुभयो।” (यूहन्‍ना १३:१) त्यस स्मरणीय साँझमा उहाँले मायालुपूर्वक अरूको सेवा गर्ने सन्दर्भमा अविस्मरणीय पाठ सिकाउनुभयो। उहाँले तिनीहरूको खुट्टा धोइदिनुभयो। वास्तवमा, तिनीहरू प्रत्येक येशू तथा आफ्ना भाइहरूको खुट्टा धोइदिन तयार हुनुपर्थ्यो तर तिनीहरूले त्यसो गरेनन्‌। येशूले नम्रतासाथ यो काम गर्नुभयो र आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “यदि मैले प्रभु र गुरु भईकन तिमीहरूका खुट्टा धोएको छु भने, तिमीहरूले पनि एका अर्काको खुट्टा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर।” (यूहन्‍ना १३:१४, १५) साँचो मसीहीहरू आफ्ना भाइहरूको सेवा गर्न इच्छुक र आनन्दित हुनुपर्छ।—मत्ती २०:२६, २७, पादटिप्पणी, NW; यूहन्‍ना १३:१७.

नयाँ आज्ञा पालन गर्नुहोस्‌

६, ७. (क) स्मरणार्थ उत्सवको स्थापनाको सन्दर्भमा यूहन्‍नाले कस्तो महत्त्वपूर्ण कुरा बताएका छन्‌? (ख) येशूले आफ्ना चेलाहरूलाई कुन नयाँ आज्ञा दिनुभयो र यसमा के कुरा नयाँ थियो?

नीसान १४ को रात माथिल्लो कोठामा भएका घटनाहरूबारे यूहन्‍नाको विवरणमा मात्र तोकेरै यहूदा इस्करयोती गएको कुरा उल्लेख गरिएको छ। (यूहन्‍ना १३:२१-३०) सुसमाचारका पुस्तकहरूको विवरणअनुरूप त्यो धोकेबाज गएपछि मात्र येशूले आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुभएको थियो। त्यसपछि उहाँले आफ्ना विश्‍वासी प्रेरितहरूसँग छुट्टिनुअघि तिनीहरूलाई सविस्तार सल्लाह तथा निर्देशनहरू दिनुभयो। स्मरणार्थ उत्सव मनाउन हामी जसै आफूलाई तयारी गर्छौं, हामीले त्यस अवसरमा येशूले भन्‍नुभएका कुरामा अत्यन्तै चासो लिनुपर्छ किनभने हामी निश्‍चय पनि परमेश्‍वरले प्रेम गर्नेहरूमध्ये हुन चाहन्छौं।

आफ्नो मृत्युको स्मरणार्थ उत्सव स्थापना गर्नुभएपछि येशूले दिनुभएको प्रथम निर्देशन अलि नयाँ थियो। उहाँले यसो भन्‍नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।” (यूहन्‍ना १३:३४, ३५) यस आज्ञामा के कुरा नयाँ थियो? त्यसै साँझ अलिपछि येशूले यस विषयमा स्पष्ट पार्नुहुँदै यसो भन्‍नुभयो: “मेरो आज्ञा यही हो, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु। आफ्नो प्राण मित्रहरूका लागि अर्पण गरिदिनु भन्दा बढ़ता प्रेम कसैको हुँदैन।” (यूहन्‍ना १५:१२, १३) मोशालाई दिइएको व्यवस्थामा इस्राएलीहरूलाई “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर” भन्‍ने आज्ञा दिइएको थियो। (लेवी १९:१८) तर येशूको आज्ञामा अझ थप कुरा भनिएको थियो। ख्रीष्टले तिनीहरूलाई प्रेम गर्नुभएझैं मसीहीहरूले पनि आपसमा प्रेम गर्नुपर्ने थियो अर्थात्‌ तिनीहरू आफ्ना भाइहरूको निम्ति ज्यान दिनसमेत तयार हुनुपर्ने थियो।

८. (क) आत्मत्यागी प्रेममा के-के समावेश छ? (ख) यहोवाका साक्षीहरूले आज कसरी आत्मत्यागी प्रेम प्रकट गर्छन्‌?

स्मरणार्थ उत्सवको दिन नजिकिंदै जाँदा हामीसँग साँचो मसीहीधर्मको चिनारी अर्थात्‌ ख्रीष्टको जस्तो प्रेम छ कि छैन भनी हामीले आफूलाई व्यक्‍तिगत रूपमा र मण्डलीको रूपमा नियाल्नु उपयुक्‍त हुनेछ। त्यस्तो आत्मत्यागी प्रेमको अर्थ आफ्ना भाइहरूलाई धोका दिनुको सट्टा आफ्नो ज्यान जोखिममा पार्नु पनि हुन सक्छ र यस्तो भएको पनि छ। तथापि, अक्सर यसको अर्थ हाम्रा भाइ तथा अरूहरूलाई मदत र उनीहरूको सेवा गर्न आफ्नो व्यक्‍तिगत इच्छाहरूलाई त्याग गर्न तयार हुनु हो। यस सन्दर्भमा प्रेरित पावल एक असल उदाहरण थिए। (२ कोरिन्थी १२:१५; फिलिप्पी २:१७) सारा संसारभरि यहोवाका साक्षीहरू आफ्नो आत्मत्यागी मनोभावको निम्ति चिरपरिचित छन्‌ र उनीहरू आफ्ना भाइ तथा छिमेकीहरूलाई मदत गर्छन्‌ र सहमानवहरूलाई बाइबलका सत्य कुरा सुनाउँछन्‌। bगलाती ६:१०.

कदर गर्नुपर्ने सम्बन्धहरू

९. परमेश्‍वर तथा उहाँको पुत्रसँग अनमोल सम्बन्ध कायम राख्न हामी के गर्न खुसी छौं?

यहोवा तथा उहाँको पुत्र, येशू ख्रीष्टको प्रेमको पात्र हुनुभन्दा अनमोल कुरा अरू केही हुन सक्दैन। तथापि, यो प्रेम पाउन र अनुभूति गर्न हामीले केही गर्नुपर्छ। आफ्ना चेलाहरूसँग बिताउनुभएको अन्तिम रात येशूले यसो भन्‍नुभयो: “मलाई प्रेम गर्ने त्यही हो, जसले मेरा आज्ञा मान्दछ, र तिनलाई पालन गर्दछ, जसले मलाई प्रेम गर्दछ, त्यो मेरा पिताको पनि प्रेमी हुनेछ, औ म त्यसलाई प्रेम गर्नेछु, र म आफै त्यसमाथि प्रकट हुनेछु।” (यूहन्‍ना १४:२१) परमेश्‍वर तथा उहाँको पुत्रसँगको हाम्रो सम्बन्धलाई हामीले मूल्यवान्‌ ठान्‍ने भएकोले हामी खुसीसाथ उहाँहरूको आज्ञा पालन गर्छौं। यसमा आत्मत्यागी प्रेम देखाउने नयाँ आज्ञालगायत सुसमाचार स्वीकार्नेहरूलाई ‘चेला बनाउने’ प्रयास गर्दै “जनतामा प्रचार गर्न” येशूले आफ्नो पुनरुत्थानपछि दिनुभएको आज्ञा पनि समावेश छ।—प्रेरित १०:४२; मत्ती २८:१९, २०.

१०. अभिषिक्‍त तथा “अरू भेड़ा[ले]” कस्ता अनमोल सम्बन्धहरूको आनन्द उठाउन सक्छन्‌?

१० रात अलि ढल्केपछि आफ्ना विश्‍वासी प्रेरित यहूदाको (थेदियस) प्रश्‍नको जवाफमा येशूले यसो भन्‍नुभयो: “कसैले मलाई प्रेम गर्दछ भने, त्यसले मेरो वचन पालन गर्नेछ, औ मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग बास गर्नेछौं।” (यूहन्‍ना १४:२२, २३) ख्रीष्टसँग स्वर्गमा शासन गर्न बोलावट भएका अभिषिक्‍त मसीहीहरूले यसै पृथ्वीमा हुँदा पनि यहोवा तथा उहाँको पुत्रसँग घनिष्ठ विशेष सम्बन्धको आनन्द उठाउँछन्‌। (यूहन्‍ना १५:१५; १६:२७; १७:२२; हिब्रू ३:१; १ यूहन्‍ना ३:२, २४) तर पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका तिनीहरूको “अरू भेड़ा[का]” सँगीहरूको पनि तिनीहरूको “एकै गोठाला” येशू ख्रीष्ट र तिनीहरूको परमेश्‍वर, यहोवासँग अनमोल सम्बन्ध छ तर यसको लागि तिनीहरूले आफूलाई आज्ञाकारी साबित गर्नुपर्छ।—यूहन्‍ना १०:१६; भजन १५:१-५; २५:१४.

“तिमीहरू यस संसारका होइनौ”

११. येशूले आफ्ना चेलाहरूलाई कस्तो विचारणीय चेताउनी दिनुभयो?

११ आफ्नो मृत्युअघि विश्‍वासी चेलाहरूसँगको अन्तिम भेटमा येशूले यस्तो विचारणीय चेताउनी दिनुभयो: जसलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ, ऊ संसारबाट घृणित हुन्छ। उहाँले यस्तो घोषणा गर्नुभयो: “संसारले तिमीहरूलाई घृणा गर्दछ, तर तिमीहरूलाई घृणा गर्नभन्दा अघाड़ि मलाई घृणा गरेको हो भनी तिमीहरू जान्दछौ। तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ। मैले जे कुरा तिमीहरूलाई भनें, त्यो सम्झ, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌, तिनीहरूले मेरो वचन पालन गरे भने, तिमीहरूको पनि पालन गर्नेछन्‌।”—यूहन्‍ना १५:१८-२०.

१२. (क) संसारले तिमीहरूलाई घृणा गर्नेछ भनी येशूले किन आफ्ना चेलाहरूलाई चेताउनी दिनुभयो? (ख) स्मरणार्थ उत्सवको समय नजिकिंदै जाँदा हामी सबैले कुन कुरा विचार गर्नु बेस हुनेछ?

१२ संसारले घृणा गर्दा आफ्ना ती ११ जना प्रेरितहरूलगायत पछि आउने सबै साँचो मसीहीहरू हतोत्साहित भएर हार नमानून्‌ भनेर येशूले उक्‍त चेताउनी दिनुभएको थियो। उहाँले अझ यसो भन्‍नुभयो: “तिमीहरूलाई बाधा नहोस्‌ भनेरनै मैले यी कुरा भनेको हुँ। तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्‌। त्यो बेला आउँछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्‍वरको सेवा गर्दैछु भनी ठान्‍नेछ। औ तिनीहरूले यी काम गर्नेछन्‌, किनभने तिनीहरूले नता पितालाई न मलाई चिनेका छन्‌।” (यूहन्‍ना १६:१-३) एउटा बाइबल शब्दकोशअनुसार यहाँ “बाधा” भनी अनुवाद गरिएको क्रियापदको अर्थ “भरोसा तथा आज्ञा पालन गर्नुपर्ने मानिसलाई पत्याउन छोड्‌नु र त्याग्नु” हो। स्मरणार्थ उत्सवको समय नजिकिंदै जाँदा, सबैले विगत तथा वर्तमान समयका विश्‍वासी जनहरूको जीवनपद्धति मनन गर्दै परीक्षाको समयमा तिनीहरूको दृढ अडानको उदाहरण अनुकरण गर्नु बेस हुनेछ। विरोध वा सतावटको कारण यहोवा र येशूलाई नत्याग्नुहोस्‌। बरु, उहाँहरूमाथि भरोसा राख्दै आज्ञा पालन गर्ने संकल्प गर्नुहोस्‌।

१३. पितालाई प्रार्थना गर्नुहुँदा येशूले आफ्ना अनुयायीहरूको खातिर कस्तो बिन्ती गर्नुभयो?

१३ यरूशलेमको त्यस माथिल्लो कोठाबाट निस्कनुअघि अन्तिम प्रार्थनामा येशूले आफ्नो पितालाई यसो भन्‍नुभयो: “मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गऱ्‍यो, किनकि तिनीहरू संसारका होइनन्‌, जस्तो म संसारको होइनँ। तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस्‌ भनी म बिन्ती गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट जोगाइराख्नुहोस्‌। जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन्‌!” (यूहन्‍ना १७:१४-१६) आफूलाई प्रेम गर्नेहरूमाथि यहोवाले नजर राख्नुहुन्छ र संसारबाट अलग रहने तिनीहरूको प्रयासमा उहाँले बल दिनुहुन्छ भनी हामी निर्धक्क हुन सक्छौं।—यशैया ४०:२९-३१.

पिता र पुत्रको प्रेममा रहनुहोस्‌

१४, १५. (क) येशूले आफूलाई केसित तुलना गर्नुभयो जुन ‘जंगली दाखको बोटभन्दा’ एकदमै फरक थियो? (ख) “साँचो दाखको बोट[का]” “हाँगाहरू” को हुन्‌?

१४ नीसान १४ को रात आफ्ना विश्‍वासी चेलाहरूसँग भएको आत्मीय वार्तालापको दौडान येशूले आफूलाई “साँचो दाखको बोट” र अविश्‍वासी इस्राएललाई “जङ्‌गली दाखको बोट[सँग]” तुलना गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “साँचो दाखको बोट म हुँ, औ मेरा पिता किसान हुनुहुन्छ।” (यूहन्‍ना १५:१) यहोवाले आफ्ना धर्मत्यागी जनहरूलाई भन्‍नुभएका यी शब्दहरू शताब्दीयौंअघि अगमवक्‍ता यर्मियाले लिपिबद्ध गरेका थिए: “मैले ता तँलाई छानेको दाखको बोट . . . तँ कसरी पतित भएर जङ्‌गली दाखको बोट भइस्‌?” (यर्मिया २:२१) अनि अगमवक्‍ता होशेले यस्तो लेखे: “इस्राएल [“पतित हुँदै गएको,” NW] दाखको बोट थियो, त्यसले त आफ्नै लागि फल फलायो। . . . तिनीहरूको हृदय छली छ।”—होशे १०:१, २, नयाँ संशोधित संस्करण।

१५ साँचो उपासनाको फल फलाउनुको सट्टा इस्राएल धर्मत्यागी भयो र आफ्नै लागि फल फलायो। आफ्ना विश्‍वासी चेलाहरूसँगको अन्तिम भेटभन्दा तीन दिनअघि येशूले कपटी यहूदी धर्मगुरुहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य तिमीहरूबाट खोसिनेछ, र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यसबाट फल फलाउँछ।” (मत्ती २१:४३) त्यो नयाँ राष्ट्र “परमेश्‍वरका इस्राएल” हो, जुन १,४४,००० अभिषिक्‍त मसीहीहरूले बनिएको छ जसलाई ख्रीष्ट येशू अर्थात्‌ “साँचो दाखको बोट[का]” “हाँगाहरू[सित]” तुलना गरिएको छ।—गलाती ६:१६; यूहन्‍ना १५:५; प्रकाश १४:१, ३.

१६. येशूले आफ्ना विश्‍वासी ११ जना प्रेरितहरूलाई के गर्न आग्रह गर्नुभयो र यस आखिरी दिनको विश्‍वासी शेष अभिषिक्‍त जनहरूबारे के भन्‍न सकिन्छ?

१६ येशूले आफूसँग माथिल्लो कोठामा भएका ती ११ जना प्रेरितहरूलाई यसो भन्‍नुभयो: “ममा फल नफल्ने हरेक हाँगालाई उहाँले छाँट्‌नु हुन्छ, औ फल फल्ने हरेक हाँगालाई झन्‌ बढ़ता फल फलोस्‌ भनी उहाँले छिंवल्नुहुन्छ। ममा रहो, र म तिमीहरूमा, जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउनसक्‍तैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍तैनौ।” (यूहन्‍ना १५:२, ४) यहोवाका जनहरूको आधुनिक इतिहासले देखाएअनुसार शेष अभिषिक्‍त विश्‍वासी जनहरू आफ्नो शिर, ख्रीष्ट येशूसँग एकतामा रहेका छन्‌। (एफिसी ५:२३) तिनीहरूले शुद्धीकरण र छाँटकाँटहरू स्वीकारेका छन्‌। (मलाकी ३:२, ३) तिनीहरूले सन्‌ १९१९ देखि राज्यका फलहरू प्रशस्त फलाएका छन्‌ अर्थात्‌ पहिला अभिषिक्‍त जनहरू र सन्‌ १९३५ देखि बढ्‌दो सँगी “ठूलो भीड़।”—प्रकाश ७:९; यशैया ६०:४, ८-११.

१७, १८. (क) येशूका कुन शब्दहरूले अभिषिक्‍त जन तथा अरू भेडाहरूलाई परमेश्‍वरको प्रेममा रहन मदत गर्छ? (ख) यस सन्दर्भमा स्मरणार्थ उत्सवमा उपस्थिति हुँदा कसरी मदत हुनेछ?

१७ येशूका यी थप शब्दहरू सबै अभिषिक्‍त मसीही तथा तिनीहरूका सँगीहरूलाई लागू हुन्छ: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ। जसरी पिताले मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रहो। मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।”—यूहन्‍ना १५:८-१०.

१८ हामी सबै जना परमेश्‍वरको प्रेममा रहन चाहन्छौं र यसले हामीलाई फलदायी मसीही हुन उत्प्रेरित गर्छ। हामी “राज्यको . . . सुसमाचार” प्रचार गर्ने हरेक अवसरको फाइदा उठाएर यसो गर्छौं। (मत्ती २४:१४) हामी आफ्नो व्यक्‍तिगत जीवनमा “आत्माको फल” प्रकट गर्ने यथासक्य प्रयास गर्छौं। (गलाती ५:२२, २३) ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा उपस्थित हुँदा हाम्रो यसो गर्ने संकल्प अझ बलियो हुनेछ किनभने हामीलाई परमेश्‍वर अनि ख्रीष्टको प्रेमबारे पुनः स्मरण गराइनेछ।—२ कोरिन्थी ५:१४, १५.

१९. अर्को लेखमा थप कस्तो मदतबारे छलफल गरिनेछ?

१९ स्मरणार्थ उत्सव स्थापना गर्नुभएपछि येशूले आफ्ना विश्‍वासी अनुयायीहरूलाई पिताले “शान्तिदाता, अर्थात्‌ पवित्र आत्मा” पठाउनुहुनेछ भनी प्रतिज्ञा गर्नुभयो। (यूहन्‍ना १४:२६) यस आत्माले अभिषिक्‍त तथा अरू भेडालाई परमेश्‍वरको प्रेममा रहन कसरी मदत गर्नेछ भन्‍ने कुरा अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a बाइबलअनुसार हिसाब गर्दा नीसान १४, सन्‌ २००२ मा बिहीबार, मार्च २८ मा सूर्यास्तपछि सुरु हुन्छ। त्यस साँझ विश्‍वभरि यहोवाका साक्षीहरू प्रभु येशू ख्रीष्टको मृत्युको स्मरण गर्न भेला हुनेछन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङडम पुस्तकको अध्याय १९ र ३२ हेर्नुहोस्‌।

पुनरावृत्ति प्रश्‍नहरू

मायालु सेवाको सन्दर्भमा येशूले आफ्ना चेलाहरूलाई कस्तो व्यावहारिक पाठ सिकाउनुभयो?

कुन कुरालाई मनमा राख्दै स्मरणार्थ उत्सवको समयमा आत्मपरीक्षण गर्ने उपयुक्‍त समय हो?

संसारले गर्ने घृणा र सतावटबारे येशूले दिनुभएको चेताउनीको कारण हामी किन हतोत्साहित हुनुहुँदैन?

“साँचो दाखको बोट” को हो? “हागाँहरू” को हुन्‌ र तिनीहरूबाट के आशा गरिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

मायालु सेवाको सन्दर्भमा येशूले आफ्ना प्रेरितहरूलाई अविस्मरणीय पाठ सिकाउनुभयो

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

आत्मत्यागी प्रेम प्रदर्शित गर्ने ख्रीष्टको आज्ञा उहाँका चेलाहरूले पालन गर्छन्‌