सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

डाँडामा बसालिएको शहर

डाँडामा बसालिएको शहर

डाँडामा बसालिएको शहर

“तिमीहरू जगत्‌का ज्योति हौ। डाँड़ामा बसालिएको शहर लुक्नसक्‍तैन” भनी येशूले डाँडाको प्रख्यात उपदेशमा आफ्ना चेलाहरूलाई भन्‍नुभएको थियो।—मत्ती ५:१४.

यहूदिया तथा गालीलका थुप्रै शहरहरू तल बेंसीमा नभई डाँडामा बसालिएको थियो। डाँडामा शहर बसाल्नुको मुख्य कारण शहरको सुरक्षा थियो। सेनाहरूको आक्रमणको खतराको अलावा लुटपीट गर्ने दलहरूले इस्राएली बस्तीहरू लुट्‌ने गर्थे। (२ राजा ५:२; २४:२) साहसी नागरिकहरूलाई तल बेंसीमा भएका घरहरूलाई भन्दा डाँडामा बसालिएका घरहरूलाई सुरक्षा गर्न सजिलो हुन्थ्यो। बेंसीमा हुँदो हो त सुरक्षाको निम्ति ठूल-ठूला पर्खालहरू निर्माण गर्नुपर्थ्यो।

यहूदीहरूको घर अक्सर चूनले पोत्ने गरिन्थ्यो। यसकारण डाँडामाथिका यी गुजमुज्ज परेका चूनले पोतिएका घरहरू टाढाबाटै छर्लंग देखिन्थ्यो। (प्रेरित २३:३) पलिश्‍ती क्षेत्रमा चहकिलो घाम लाग्दा यी डाँडामाथिको शहर आकाशदीप जस्तै टल्किन्थ्यो। भूमध्यसागरीय शहरहरूमा अझै त्यस्तो देखिन्छ।

येशूले आफ्ना अनुयायीहरूलाई साँचो मसीहीहरूको भूमिकाबारे सिकाउन गालील तथा यहूदियाका शहरहरूको यस विशेषतालाई चलाउनुभयो। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “उसरीनै तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।” (मत्ती ५:१६) मसीहीहरूले मानिसहरूसामु प्रशंसाको पात्र हुनका लागि मात्र असल कार्य गर्दैनन्‌ तर मानिसहरूले तिनीहरूको असल आचरण याद गर्छन्‌।—मत्ती ६:१.

त्यस्तो असल आचरण विशेष गरी यहोवाका साक्षीहरूका अधिवेशनहरूको दौडान स्पष्ट देखिन्छ। स्पेनको एउटा अखबारमा हालै आयोजित अधिवेशनलाई संकेत गर्दै यस्तो समाचार छापियो: “प्रायजसो धार्मिक समूहहरूमा धर्मप्रति चासो घट्‌दै गएको छ तर यो कुरा यहोवाका साक्षीहरूलाई लागू हुँदैन। तिनीहरू बाइबलको उपयोग घटेको पटक्कै चाहँदैनन्‌। त्यसैकारण तिनीहरू परमेश्‍वरको वचन आफ्नो व्यवहारमा उतार्छन्‌।”

स्पेनको उत्तरपश्‍चिममा साक्षीहरूले सधैंजसो चलाउने एउटा रंगशालाको रेखदेख गर्ने थोमस नाउँ गरेका व्यक्‍ति परमेश्‍वरको वचन व्यवहारमा उतार्ने व्यक्‍तिहरूसित बस्न रुचाउँथे। यहोवाका साक्षीहरूको जिल्ला अधिवेशनमा उपस्थित हुन तिनले आफ्नो अवकाशको समय केही हप्ताले पछि सारे। अधिवेशनपछि त्यहाँ उपस्थित थुप्रै जवानहरूलगायत अन्य प्रतिनिधिहरूले तिनलाई वर्षौंको दौडान प्रदान गरेको मदतको लागि धन्यवाद दिंदा र तिनलाई अवकाशपछिका दिनहरूको निम्ति शुभेच्छा व्यक्‍त गर्दा तिनले आँसु रोक्नै सकेनन्‌। तिनले यसो भने, “तपाईंहरूलाई राम्ररी चिन्‍न पाउनु नै मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ।”

डाँडामा बसालिएको शहरले मानिसहरूको ध्यानाकर्षण गर्छ किनभने सेतो रङ पोतिएको घरमा घामको किरण पर्दा त्यो टाढैबाट देखिन्छ। त्यस्तै गरी, साँचो मसीहीहरू पनि भिन्‍न भएको कारण अलग देखिन्छन्‌ किनभने तिनीहरू इमानदारी, नैतिकता र अनुकम्पासम्बन्धी उच्च धर्मशास्त्रीय स्तरहरू पालन गर्ने प्रयास गर्छन्‌।

यसबाहेक, मसीहीहरूले आफ्नो प्रचार गतिविधिद्वारा पनि सत्यको ज्योति प्रकाश पार्छन्‌। प्रेरित पावलले प्रथम शताब्दीका मसीहीहरूबारे यसो भने: “कृपा पाएर हामीसँग यो सेवा भएको हुनाले हामी हरेस खाँदैनौं। . . . तर सत्यलाई सफा देखाउँदै, परमेश्‍वरको दृष्टिमा, मानिसहरूका विवेकमा, हामी आफैलाई सह्रनी गर्दछौं।” (२ कोरिन्थी ४:१, २) प्रचार गर्ने सबै ठाउँमा तिनीहरूले विरोधको सामना गर्नुपरे तापनि तिनीहरूको सेवकाईमा यहोवाले आशिष्‌ दिनुभयो। त्यसैकारण त पावलले सा.यु. ६० तिर सुसमाचार “स्वर्गमनि भएका सारा सृष्टिमा प्रचारियो” भनी लेख्न सके।—कलस्सी १:२३.

आज, यहोवाका साक्षीहरूले पनि “तिमीहरूको ज्योति मानिसहरूका सामु चम्कोस्‌” भन्‍ने येशूको आज्ञालाई गम्भीरतासाथ लिन्छन्‌। यहोवाका साक्षीहरूले व्यक्‍तिगत रूपमा भनेर र मुद्रित प्रकाशनहरूद्वारा राज्यको सुसमाचार सारा संसारभरि २३५ मुलुकहरूमा फैलाएका छन्‌। बाइबल सत्यको ज्योति धेरैभन्दा धेरै मानिसकहाँ पुगोस्‌ भनेर तिनीहरूले बाइबल साहित्यहरू लगभग ३७० भाषामा उपलब्ध गरेका छन्‌।—मत्ती २४:१४; प्रकाश १४:६, ७.

थुप्रै साक्षीहरूले आफ्नो देशमा प्रवासीको रूपमा आएका मानिसहरूको भाषा सिक्ने चुनौतीलाई स्वीकारेका छन्‌ र ती कतिपय प्रवासीहरूको देशमा प्रचारकार्यमा प्रतिबन्ध लगाइएको छ। उदाहरणका लागि, उत्तर अमेरिकाको थुप्रै ठूला शहरहरूमा चीन तथा रूसका मानिसहरू ओइरिरहेका छन्‌। स्थानीय साक्षीहरूले यी आगन्तुकहरूलाई सुसमाचार प्रचार गर्न चिनियाँ, रूसी र अन्य भाषाहरू सिकेका छन्‌। वास्तवमा, अहिले खेतबारी “कटनीको लागि पहेंला” भएको बेला धेरैभन्दा धेरैलाई सुसमाचार प्रचार गर्न सकियोस्‌ भनेर तीव्र गतिमा विभिन्‍न भाषामा कक्षाहरू सञ्चालन भइरहेका छन्‌।—यूहन्‍ना ४:३५.

अगमवक्‍ता यशैयाले यस्तो भविष्यवाणी गरे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌।” यहोवाका साक्षीहरूले आफ्नो आचरण र सेवकाईद्वारा सबैतिरका मानिसहरूलाई “परमप्रभुको भवन बसालिएको पर्वत[मा]” गएर परमेश्‍वरका मार्गहरू थाह पाउन र सिक्न मदत गरिरहेका छन्‌। (यशैया २:२, ३) यसबाट प्राप्त राम्रो नतिजा के हो भने, येशूले भन्‍नुभएबमोजिम तिनीहरूले ‘स्वर्गमा हुनुहुने तिनीहरूका पिता’ यहोवा परमेश्‍वरको “महिमा” गर्न सकेका छन्‌।—मत्ती ५:१६; १ पत्रुस २:१२.