सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निकोदेमसबाट पाठ सिक्नुहोस्‌

निकोदेमसबाट पाठ सिक्नुहोस्‌

निकोदेमसबाट पाठ सिक्नुहोस्‌

“कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्‌, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्‌।” (लूका ९:२३) नम्र मछुवाहरू र महसुल उठाउने पेसामा संलग्न अपहेलित व्यक्‍तिले यो निमन्त्रणा सहजै स्वीकारे। येशूको पछि लाग्न तिनीहरूले आफूसित भएका सबै कुरा त्यागे।—मत्ती ४:१८-२२; लूका ५:२७, २८.

येशूको यो आह्वान अझै पनि खुला छ र आज धेरैले यसलाई स्वीकारिरहेका छन्‌। तरैपनि, यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न राजी हुने कोही-कोही भने ‘आफूलाई इन्कार गर्न र आफ्नो क्रूस उठाउन’ हिचकिचाउँछन्‌। तिनीहरू येशूको चेला हुने जिम्मेवारी तथा सुअवसर स्वीकार्न इच्छुक छैनन्‌।

येशूको निमन्त्रणा स्वीकार्न र यहोवा परमेश्‍वरसामु आफूलाई समर्पण गर्न कोही-कोही किन पछि हट्‌छन्‌? हुन त हो, परमेश्‍वर एकै जना मात्र हुनुहुन्छ भन्‍ने यहूदी-मसीही धारणाबारे सानैदेखि थाह भएकाहरूलाई भन्दा अरूलाई परमेश्‍वरको आफ्नै व्यक्‍तित्व छ र उहाँ सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भनेर बुझ्न धेरै समय लाग्न सक्छ। तथापि, परमेश्‍वर वास्तविक हुनुहुन्छ भनेर बुझिसकेपछि पनि कोही-कोही येशूको पाइला पछ्याउनदेखि पन्छिन खोज्छन्‌। यहोवाको साक्षी बनेमा आफ्ना नातेदार तथा मित्रहरूले के सोच्लान्‌ भन्‍ने डर तिनीहरूको मनमा हुन सक्छ। अहिले ढिलासुस्ती गर्ने बेला होइन भन्‍ने कुरा बिर्सने कतिपय मानिसहरू प्रतिष्ठा र धन-सम्पतिको पछि लाग्छन्‌। (मत्ती २४:३६-४२; १ तिमोथी ६:९, १०) परिस्थिति जस्तोसुकै होस्‌, येशूको चेला हुने निर्णय गर्न आलेटाले गर्नेहरूले येशूको समयका एक धनी यहूदी शासक, निकोदेमसबाट एउटा गहन पाठ सिक्न सक्छन्‌।

अद्‌भुत सुअवसरहरूको आनन्द उठाए

येशूले आफ्नो पार्थिव सेवकाई थाल्नुभएको मात्र छ महिनापछि, निकोदेमसले येशू “परमेश्‍वरबाट शिक्षक भएर आउनुभएको” व्यक्‍ति हुनुहुन्छ भनी बुझ्छन्‌। भर्खरै सा.यु. ३० को निस्तार चाडमा येशूले यरूशलेममा गर्नुभएका चमत्कारहरूद्वारा प्रभावित भई येशूमाथि आफ्नो विश्‍वास प्रकट गर्न तथा यस शिक्षकबारे अझ बढी सिक्न निकोदेमस राती अँध्यारोमा आउँछन्‌। परमेश्‍वरको राज्यमा प्रवेश गर्ने हो भने, ‘नयाँ गरी जन्मनुपर्ने’ आवश्‍यकताबारे गहन सत्य येशूले निकोदेमसलाई बताउनुहुन्छ। यही अवसरमा येशूले यी शब्दहरू भन्‍नुहुन्छ: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१-१६.

निकोदेमससामु कस्तो अद्‌भुत प्रत्याशा छ! तिनी येशूको घनिष्ठ मित्र हुन सक्छन्‌ र उहाँको पार्थिव जीवनका विभिन्‍न पक्षहरूबारे प्रत्यक्षदर्शीका रूपमा अरूलाई साक्षी दिन सक्छन्‌। यहूदीहरूको शासक र इस्राएलका शिक्षकको हैसियतमा निकोदेमससँग परमेश्‍वरको वचनको राम्रो ज्ञान छ। येशू परमेश्‍वरले पठाउनुभएको शिक्षक हुनुहुन्छ भनी तिनले ठम्याएको कुराबाट पनि तिनीसँग गहिरो अन्तरदृष्टि छ भन्‍ने कुरा स्पष्टसित देखिन्छ। निकोदेमस आध्यात्मिक कामकुरोमा चासो राख्छन्‌ र तिनी असाध्यै नम्र पनि छन्‌। एक साधारण सिकर्मीको छोरालाई परमेश्‍वरले पठाउनुभएको मानिस भनेर स्वीकार्न यहूदीहरूको सर्वोच्च अदालतको सदस्यलाई कति गाह्रो पर्छ होला! येशूको चेला हुन यी सबै गुणहरू बहुमूल्य छन्‌।

नासरतका यी मानिसप्रति निकोदेमसको चासो घटेको देखिंदैन। अढाई वर्षपछि झुप्रोबासको चाडको बेला, निकोदेमस महासभाको बैठकमा उपस्थित हुन्छन्‌। यस समयसम्म पनि निकोदेमस “तिनीहरूमध्ये एकजना” हुन्‌। मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूलाई गिरफ्तार गर्न अफिसरहरू पठाउँछन्‌। अफिसरहरू रित्तो हात फर्केर आएपछि यसो भन्छन्‌: “यस मानिसले जस्तो ता कुनै मानिसले कहिल्यै बोलेन।” फरिसीहरूले तिनीहरूलाई होच्याउन थाल्छन्‌: “के तिमीहरू पनि भ्रममा पऱ्‍यौ? के शासकहरू अथवा फरिसीहरूमध्ये कसैले त्यसलाई विश्‍वास गऱ्‍यो? तर व्यवस्था नजान्‍ने यो भीड़ श्रापित छ।” निकोदेमस अब चुप लागेर बस्न सक्दैनन्‌। उनी भन्छन्‌: “के हाम्रा व्यवस्थाले पहिले मानिसबाटनै नसुनी, र त्यसले के गर्दछ सो नजानीकन, मानिसको इन्साफ गर्छ र?” त्यसपछि, उनी अरू फरिसीहरूको आलोचनाको पात्र हुन्छन्‌: “के तिमी पनि गालीलका हौ? खोजेर हेरन, गालीलबाट ता अगमवक्‍ता निस्कँदैन।”—यूहन्‍ना ७:१, १०, ३२, ४५-५२.

लगभग छ महिनापछि सा.यु. ३३ निस्तार चाडको दिन, येशूको लासलाई शूलीबाट तल झारेको निकोदेमसले हेरिरहेका हुन्छन्‌। तिनी र महासभाका अर्का सदस्य अरिमथियाका यूसुफ मिलेर येशूको लासलाई गाड्‌नको लागि तयारी गर्छन्‌। यसको लागि निकोदेमसले १०० रोमन पाउण्ड अर्थात्‌ ७२ इंग्लिस पाउण्ड बराबर “मिसाएको मुर्र र एलवा” ल्याउँछन्‌। यसको लागि थुप्रै खर्च हुन्छ। आफ्नो नाउँ येशूसँग जोड्‌न पनि तिनलाई साहस चाहिन्छ किनभने आफ्ना सँगी फरिसीहरूले उहाँलाई “ठगाहा” भन्छन्‌। येशूको लासलाई गाड्‌न हतार-हतार तयारी गरेर उनीहरू दुई जनाले येशूलाई नजिकैको नयाँ चिहानमा राख्छन्‌। तथापि, यस समयसम्म पनि निकोदेमस येशूको चेलाको रूपमा चिनिएका छैनन्‌!—यूहन्‍ना १९:३८-४२; मत्ती २७:६३; मर्कूस १५:४३.

तिनले किन कदम चालेनन्‌

‘आफ्नो क्रूस उठाउन’ र येशूलाई पछ्याउनदेखि निकोदेमस किन पछि हटे भन्‍ने कुरा यूहन्‍नाले आफ्नो वर्णनमा खुलाएका छैनन्‌। तथापि, यी फरिसी दोधारमा पर्नुको कारणबारे भने तिनले केही छनक दिएका छन्‌।

प्रथमतः यी यहूदी शासक “राती [येशू ]कहाँ आए” भनेर यूहन्‍नाले बताए। (यूहन्‍ना ३:२) एक जना बाइबलविद्‌ यसो भन्छन्‌: “निकोदेमस डरको कारण होइन, तर येशूसँग कुराकानी गर्न भीडले बाधा नपुऱ्‍याओस्‌ भनेर राती आएका हुन्‌।” तथापि, यूहन्‍नाले निकोदेमसलाई “अघि उहाँकहाँ राती आउने” र अरिमथियाका यूसुफलाई “यहूदीहरूका डरले गुप्तमा मात्र येशूका चेला भएका” भनेर एउटै सन्दर्भमा भनेका छन्‌। (यूहन्‍ना १९:३८, ३९) त्यसकारण, त्यतिबेलाका अरू मानिसहरू येशूको अलिकता पनि प्रभाव नहोस्‌ भनेर डराएझैं निकोदेमस पनि “यहूदीहरूको डरले गर्दा” येशूकहाँ राती अँध्यारोमा आएको हुन सक्छ।—यूहन्‍ना ७:१३.

आफ्नो नातेदार, मित्र, वा सहकर्मीहरूले के भन्लान्‌ भनेर के तपाईंले येशूको चेला हुने आफ्नो निर्णयलाई पछि सार्नुभएको छ? एउटा हितोपदेश यसो भन्छ: “मानिसको डर त्यसको निम्ति पासो हो।” त्यस्तो डर तपाईं कसरी हटाउन सक्नुहुन्छ? उक्‍त हितोपदेश अझै यसो भन्छ: “तर परमप्रभुमाथि भरोसा गर्ने मानिस सुरक्षित रहन्छ।” (हितोपदेश २९:२५) यहोवामा त्यस्तो प्रकारको भरोसा विकास गर्न तपाईं कठिनाइमा पर्नुहुँदा परमेश्‍वरले तपाईंलाई सम्हाल्नुहुनेछ भनेर आफूले व्यक्‍तिगत तवरमा अनुभव गर्नु आवश्‍यक छ। यहोवालाई प्रार्थना गर्नुहोस्‌ र उपासनासम्बन्धी सानो भन्दा सानो निर्णय लिनुपर्दासमेत साहसको लागि उहाँसँग मदत माग्नुहोस्‌। बिस्तारै यहोवाप्रति तपाईंको विश्‍वास र भरोसा बढ्‌नेछ अनि तपाईंले ठूल-ठूला निर्णयहरू पनि परमेश्‍वरको इच्छाअनुसारै गर्न सक्नुहुनेछ।

शासकीय वर्गको सदस्यको हैसियतमा निकोदेमसको ओहदा र इज्जतले पनि आफूलाई इन्कार गर्ने महत्त्वपूर्ण कदम चाल्नदेखि तिनलाई रोकेको हुन सक्छ। त्यस बेलासम्म पनि महासभाको सदस्यको पदप्रति तिनको गहिरो मोह रहिरहेको हुनुपर्छ। के तपाईं समाजमा आफ्नो प्रतिष्ठित ओहदा गुमाउनुपर्ला वा बढुवा हुने केही मौकाहरू त्याग्नुपर्ला भन्‍ने डरले गर्दा ख्रीष्टको चेला हुने कदम चाल्न हिचकिचाउनुहुन्छ? यीमध्ये कुनै पनि कुरा उहाँको इच्छाबमोजिम गरिएका सबै बिन्तीहरू पूरा गर्न इच्छुक ब्रह्‍माण्डका सर्वोच्चको सेवा गर्न पाउने सम्मानको तुलनामा केही पनि होइन।—भजन १०:१७; ८३:१८; १४५:१८.

निकोदेमस पछि हट्‌नुको अर्को कारण तिनको धन-सम्पति हुन सक्छ। फरिसीको हैसियतमा तिनी अरू “धनप्रिय” फरिसीहरूबाट प्रभावित भएका हुन सक्छन्‌। (लूका १६:१४) तिनले एकदमै महँगो मुर्र र एलवा किन्‍न सकेको तथ्यबाट नै तिनी कति धनी थिए भन्‍ने कुरा प्रमाणित हुन्छ। आफ्नो भौतिक सरसम्पत्तिको चिन्ताको कारण आज पनि कोही-कोही मानिसहरू मसीही हुने जिम्मेवारी स्वीकार्न ढिला-सुस्ती गर्छन्‌। तथापि, येशूले आफ्ना अनुयायीहरूलाई यस्तो सल्लाह दिनुभयो: “हामी के खाउँला, कि के पिऔंला भनी आफ्नो प्राणको निम्ति र आफ्नो शरीरको निम्ति के लगाउँला भनी तिमीहरू फिक्री नगर। . . . किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:२५-३३.

तिनले ठूलो कुरा गुमाउनुपऱ्‍यो

चाखलाग्दो कुरा के छ भने, यूहन्‍नाले लेखेको सुसमाचारको पुस्तकमा मात्र निकोदेमसबारे बताइएको छ र त्यसमा पनि पछि गएर तिनी येशूको चेला भए वा भएनन्‌ केही उल्लेख गरिएको छैन। एउटा लोककथनअनुसार, निकोदेमस येशूको पक्षमा खडा भए, बप्तिस्मा लिए, यहूदी सतावटको तारो भए, आफ्नो ओहदाबाट हटाइए र अन्ततः यरूशलेमबाट निकालिए। तर जे होस्‌, एउटा कुराचाहिं पक्का छ: येशू पृथ्वीमा हुनुहुँदा ढिला-सुस्ती गरेर तिनले ठूलो कुरा गुमाउनुपऱ्‍यो।

येशूसँगको पहिलो भेटदेखि नै निकोदेमसले प्रभुलाई पछ्याउन थालेको भए, तिनी येशूको घनिष्ठ चेला हुन सक्थे। निकोदेमसको ज्ञान, अन्तरदृष्टि, विनम्रता र आध्यात्मिक आवश्‍यकताप्रतिको सजगताले गर्दा तिनी विशिष्ट चेला हुन सक्थे। हो, तिनले महान्‌ शिक्षकका अद्‌भुत भाषणहरू सुन्‍न, येशूका उखानहरूबाट महत्त्वपूर्ण पाठ सिक्न, येशूले गर्नुभएका अचम्मका चमत्कारहरूको प्रत्यक्षदर्शी हुन र छुटिने बेलामा येशूले चेलाहरूलाई दिनुभएको प्रोत्साहनबाट बल पाउन सक्थे। तर तिनले यी सबै सुअवसरहरू गुमाए।

दोधार गरेको कारण निकोदेमसले थुप्रै कुराहरू गुमाउनु पऱ्‍यो। तिनले गुमाउनु परेका कुराहरूमा येशूको यो न्यानो निमन्त्रणा पनि समावेश थियो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलका छ।” (मत्ती ११:२८-३०) निकोदेमसले येशूबाट यस्तो स्फूर्ति पाउने सुअवसर गुमाए।

तपाईं नि?

सन्‌ १९१४ देखि, येशू ख्रीष्ट स्वर्गमा स्थापित परमेश्‍वरको राज्यको राजा हुनुभएको छ। आफ्नो उपस्थितिको दौडान पूरा हुने विभिन्‍न कुराहरू अग्रिमवाणी गर्नुहुँदा येशूले यसो पनि भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) अन्त आउनुअघि यो विश्‍वव्यापी प्रचार कार्य पूरा भएको हुनै पर्छ। यो कार्य पूरा गर्न असिद्ध मानिसहरूले भाग लिएको हेर्न पाउँदा येशू ख्रीष्ट रमाउनुहुन्छ। यस कार्यमा तपाईं पनि भाग लिन सक्नुहुन्छ।

येशू, परमेश्‍वरबाट आउनुभएको हो भनेर निकोदेमसले स्वीकारे। (यूहन्‍ना ३:२) बाइबल अध्ययन गरेर तपाईं पनि यस्तै निष्कर्षमा पुग्नुभएको होला। बाइबल स्तरअनुरूप जिउन तपाईंले आफ्नो जीवनशैलीमा परिवर्तन गरिसक्नुभएको होला। बाइबलको अझ बढी ज्ञान लिन तपाईं यहोवाका साक्षीहरूका सभाहरूमा समेत उपस्थित भइरहनुभएको होला। यस्ता प्रयत्नहरूका लागि तपाईं प्रशंसायोग्य हुनुहुन्छ। यद्यपि, येशूलाई परमेश्‍वरले पठाउनुभएको हो भनेर स्वीकार्नु मात्र निकोदेमसको लागि पर्याप्त थिएन। तिनले ‘आफूलाई इन्कार गर्नु र दिनहुँ आफ्नो क्रूस उठाएर [येशूको] पछि लाग्नु’ आवश्‍यक थियो।—लूका ९:२३.

प्रेरित पावलले हामीलाई भनेको कुरा मनमा लिनुहोस्‌। तिनले यस्तो लेखे: “उहाँसँगै काम गर्दै हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौं, कि परमेश्‍वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर। (किनभने उहाँ भन्‍नुहुन्छ, ‘खुशी भएको समयमा मैले तिम्रो कुरा सुनें, औ उद्धारको दिन मैले तिमीलाई सहायता दिएँ,’ हेर, ग्रहणयोग्य समय अहिले छ, हेर, उद्धारको दिन अहिले छ।)”—२ कोरिन्थी ६:१, २.

काम गर्न उत्प्रेरित गराउने विश्‍वास विकास गर्ने समय अहिल्यै हो। त्यसको लागि बाइबलमा तपाईंले पढिरहनुभएको कुरामाथि मनन गर्नुहोस्‌। यहोवालाई प्रार्थना गर्नुहोस्‌ र यस्तो विश्‍वास प्रदर्शन गर्न उहाँसँग मदत माग्नुहोस्‌। जब तपाईं उहाँले मदत गर्नुभएको महसुस गर्नुहुन्छ, उहाँप्रतिको मूल्यांकन र प्रेमले तपाईंलाई ‘आफूलाई इन्कार गर्न र दिनहुँ आफ्नो क्रूस उठाएर लगातार येशू ख्रीष्टको पछि लाग्न’ उत्प्रेरित गर्नेछ। के तपाईं अहिल्यै कदम चाल्नुहुनेछ?

[पृष्ठ ९-मा भएको चित्र]

सर्वप्रथम, निकोदेमस साहसी भएर येशूको पक्षमा खडा भए

[पृष्ठ ९-मा भएको चित्र]

विरोधको बावजूद येशूको लास गाड्‌नको लागि तयारी गर्न निकोदेमसले मदत गरे

[पृष्ठ १०-मा भएको चित्र]

व्यक्‍तिगत अध्ययन र प्रार्थनाले तपाईंलाई काम गर्न बल दिन सक्छ

[पृष्ठ १०-मा भएको चित्र]

येशूको नेतृत्वमा काम गर्ने सुअवसरलाई के तपाईंले स्वीकार्नुहुनेछ?