सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

मोशालाई दिइएको व्यवस्थामा साइनु पर्नेबीच विवाह सम्बन्ध गाँस्नेबारे दिइएको प्रतिबन्ध आज मसीहीहरूलाई कुन हदसम्म लागू हुन्छ?

यहोवाले इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा विवाह समारोह र प्रक्रियाबारे धेरै कुरा बताइएको छैन। तथापि, केही साइनु पर्नेहरूसित विवाह बन्धनमा गाँसिन भने प्रतिबन्ध लगाइएको थियो। उदाहरणका लागि, लेवी १८:६-२० मा “आफ्नो नजीकको साइनु पर्ने” को-कोसित सम्बन्ध नगाँस्नु भनी बताइएको पाउँछौं। त्यस विवरणमा कस्तो-कस्तो साइनु पर्नेबीच सहवास गर्नुहुँदैन भनी खुलस्त बताइएको छ। निस्सन्देह, मसीहीहरू मोशालाई दिइएको व्यवस्था वा यसका आज्ञाहरूको अधीनमा छैनन्‌। (एफिसी २:१५; कलस्सी २:१४) तर त्यसो भन्दैमा मसीहीहरूले जीवनसाथी छनौट गर्ने सन्दर्भमा यसलाई पूर्णतया बेवास्ता गर्न सक्दैनन्‌। यसका थुप्रै कारणहरू छन्‌।

पहिला त, नजिकको नातेदारसँग विवाह गर्ने सम्बन्धमा प्रत्येक देशका कानुनहरू छन्‌ र मसीहीहरूले आफू बस्ने देशको नियमकानुन पालन गर्नुपर्छ। (मत्ती २२:२१; रोमी १३:१) निस्सन्देह, त्यस्ता नियमहरू देशअनुसार फरक-फरक हुन्छन्‌। यस विषयमा अधिकांश आधुनिक नियमहरू आनुवंशिक कुराहरूमा आधारित छन्‌। नजिकको नातेदारसँग विवाह गर्दा तिनीहरूको सन्तानमा आनुवंशिक त्रुटि तथा रोगहरू हुने सम्भावना धेरै हुन्छ र यो तथ्य हो। विवाह गर्ने तरखर गरिरहेका मसीहीहरू यस कारणले गर्दा र “उच्च अख्तियारवालाहरूका अधीनमा” भएको कारण स्थानीय विवाहसम्बन्धी नियम पालन गर्छन्‌।

अनि आफू बस्ने ठाउँको समुदायमा स्वीकार्य र अस्वीकार्य कुरा पनि हुन्छन्‌। प्रायजसो सबै संस्कृतिमा नजिकका नातेदारहरूबीच विवाह गर्न निषेध गर्ने नियम तथा चलनहरू हुन्छन्‌ र यस्तो बन्धनलाई अक्सर हाडनाताकरणीको रूपमा लिइन्छ र निषेध गरिन्छ। यस्ता सम्बन्धहरूबारे विभिन्‍न संस्कृतिमा छुट्टाछुट्टै नियमहरू भए तापनि “साधारणतया, दुईबीच नाता जत्ति नजिकको हुन्छ त्यत्ति नै यौन सम्बन्ध राख्न निरुत्साहित गरिन्छ वा समाजद्वारा निषेधित गरिन्छ” भनी दी इनसाइक्लोपीडिया ब्रिटानिका बताउँछ। अतः हाडनाताकरणी समावेश नभए तापनि मसीहीहरू आफू बसेको ठाउँको चलन विपरीत वा समाजमा गैरकानुनी ठानिने कुरा गर्न चाहँदैनन्‌ साथै यसरी तिनीहरू मसीही मण्डली वा परमेश्‍वरको नाउँमा कलंक लगाउन चाहँदैनन्‌।—२ कोरिन्थी ६:३.

साथै, हामी परमेश्‍वरले दिनुभएको अन्तस्करणलाई पनि बेवास्ता गर्न सक्दैनौं। सबै मानिससँग सही र गलत, असल र खराब छुट्याउने योग्यता हुन्छ। (रोमी २:१५) विकृत कुराहरूले अन्तस्करण भ्रष्ट वा बोधो भएको छैन भने, तिनीहरूको अन्तस्करणले सामान्य तथा उपयुक्‍त कुरा के हो र अप्राकृतिक तथा आपत्तिजनक कुरा के हो भनी बताउँछ। नजिकको नाता पर्नेहरूबीच विवाह नगर्नू भन्‍ने नियम इस्राएलीहरूलाई दिनुहुँदा यहोवाले यस तथ्यलाई संकेत गर्नुभयो। हामी यस्तो लेखिएको पढ्‌न सक्छौं: “तिमीहरूले प्रवास गरेको मिश्रका रीति-थिति नमान्‍नू। औ अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीति-थिति र विधिहरू पनि नमान्‍नू।” (लेवी १८:३) मसीहीहरूले बाइबल प्रशिक्षित अन्तस्करणको कदर गर्छन्‌ र सही तथा गलतबारे राष्ट्रहरूको विकृत धारणाद्वारा आफ्नो मन भ्रष्ट हुन दिंदैनन्‌।—एफिसी ४:१७-१९.

त्यसोभए, हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं त? मसीहीहरू मोशालाई दिइएको व्यवस्थाअन्तर्गत नभए तापनि आफ्नो अन्तस्करणले तिनीहरूलाई बाबु र छोरी, आमा र छोरा, दाइ र बहिनीजस्तो नजिकको नातासँग वैवाहिक सम्बन्ध गाँस्नु मसीही समुदायमा पूर्णतया निषेधित छ भनेर जनाउ दिन्छ। a आफ्नो परिवार ठूलो हुँदै गएपछि समाज तथा संस्कृति दुवैलाई स्वीकार्य विवाहसम्बन्धी स्तरहरू हुन्छन्‌ भनी मसीहीहरूले बुझेका छन्‌। धर्मशास्त्रीय सल्लाहअनुरूप गर्नको लागि हामीले यी कुरामा होसियारीसाथ विचार गर्नुपर्छ: “सबै विवाह चाहिं आदरणीय होस्‌।”—हिब्रू १३:४.

[फुटनोट]

a यस विषयमा विस्तृत विवरणको निम्ति कृपया “हाडनाताकरणी विवाह—मसीहीहरूले कस्तो दृष्टिकोण राख्नुपर्छ?” भन्‍ने लेख द वाचटावर, मार्च १५, १९७८, पृष्ठ २५-६ हेर्नुहोस्‌।