सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले हामीलाई धैर्य र लगनशीलता सिकाउनुभयो

यहोवाले हामीलाई धैर्य र लगनशीलता सिकाउनुभयो

जीवनी

यहोवाले हामीलाई धैर्य र लगनशीलता सिकाउनुभयो

एरिस्टोटलिस्‌ एपोस्टोलिडिसको वृत्तान्तमा आधारित

ककेसस्‌ पर्वतको उत्तरी फेदमा खनिज पदार्थ र स्वच्छ हावापानीको लागि प्रख्यात रूसी शहर प्याटिगोर्स्क अवस्थित छ। सन्‌ १९२९ मा मेरो यहाँ जन्म हुँदा मेरा आमाबाबु ग्रीक शरणार्थी हुनुहुन्थ्यो। दश वर्षपछि, स्टालिनले मच्चाएको विध्वंस, आतंक र जातीय नरसंहारको कठिन समयको दौडान ग्रीस भाग्नुपरेकोले हामी फेरि शरणार्थी भयौं।

ग्रीसको पाइरिअस पुगेपछि “शरणार्थी” शब्दले हाम्रोलागि पूर्णतया नयाँ अर्थ राख्यो। हामी परदेशीजस्तै थियौं। मेरो दाइ र मेरो नाम दुई प्रख्यात युनानी दार्शनिकहरू, सुकरात र अरस्तुको नामबाट राखिएको भए तापनि हामीलाई कहिल्यै पनि त्यस नाउँले बोलाईंदैनथ्यो। सबैले हामीलाई रूसी फुच्चेहरू भन्थे।

दोस्रो विश्‍व युद्ध सुरु भएको केही समयपछि नै मेरी प्यारी आमाको मृत्यु भयो। उहाँ हाम्रो घरको लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्थ्यो, त्यसैले होला उहाँलाई गुमाउनुपर्दा निकै पीडा खप्नुपऱ्‍यो। उहाँ केही समय बिरामी पर्नुभएको कारण उहाँले मलाई थुप्रै घरायसी कामकाजहरू सिकाउनुभएको थियो। पछि गएर मेरो जीवनमा यो प्रशिक्षण निकै उपयोगी साबित भयो।

युद्ध अनि स्वतन्त्रता

युद्ध, नाजी शासन र संयुक्‍त सेनाको भीषण बम वर्षाले गर्दा हरेक दिन नै मेरो जीवनको अन्तिम दिनजस्तो लाग्थ्यो। गरिबी, भोकमरी र मृत्यु व्याप्त थियो। हामी तीन जनाको दैनिक जीवन धान्‍न ११ वर्षको उमेरदेखि नै बुबासँग मिलेर मैले कडा परिश्रम गर्नुपऱ्‍यो। युनानी भाषाको धेरै ज्ञान नभएको कारण अनि लडाइ र त्यसपछिका घटनाक्रमहरूले गर्दा मेरो शिक्षामा बाधा पुग्यो।

सन्‌ १९४४ अक्टोबरमा ग्रीस जर्मनको अधीनताबाट मुक्‍त भयो। त्यसको लगत्तैपछि यहोवाका साक्षीहरूसित मेरो भेट भयो। जताततै निराशा र वेदना छाएको समयमा परमेश्‍वरको राज्यले प्रदान गर्ने उज्ज्वल भविष्यको बाइबल आशाले मेरो हृदय छोयो। (भजन ३७:२९) यसै पृथ्वीमा शान्तिमय अवस्थामा अनन्तकालीन जीवनबारे परमेश्‍वरले गर्नु भएको प्रतिज्ञा मेरा घाउहरूका लागि साँच्चै मलम साबित भयो। (यशैया ९:७) सन्‌ १९४६ मा मेरो बुबा र मैले यहोवाप्रतिको आफ्नो समर्पणलाई प्रतिकात्मक रूप दिंदै बप्तिस्मा लियौं।

त्यसपछिको वर्ष, पाइरिअसमा स्थापना गरिएको दोस्रो मण्डलीमा विज्ञापन सेवकको (पछि पत्रिका सेवक भनियो) हैसियतमा पहिलो असाइनमेन्ट पाउँदा म हर्षित भएको थिएँ। हाम्रो इलाका पाइरिअसदेखि इल्युसिससम्म लगभग ५० किलोमिटरको क्षेत्र थियो। त्यस समयमा थुप्रै आत्मा अभिषिक्‍त मसीहीहरूले मण्डलीमा सेवा गर्थे। मैले उहाँहरूसँग काम गर्ने र सिक्ने मौका पाएँ। मैले उहाँहरूको संगतिबाट निकै आनन्द उठाएँ किनभने प्रचार कार्य गर्न चाहिने अथक प्रयासबारे उहाँहरूले थुप्रै अनुभवहरू बटुल्नुभएको थियो। विश्‍वासीपूर्वक यहोवाको सेवा गर्न प्रशस्त धैर्य र लगनशीलता चाहिन्छ भन्‍ने कुरा उहाँहरूको जीवनपद्धतिबाट प्रस्टै देखिन्थ्यो। (प्रेरित १४:२२) यसै इलाकामा आज ५० वटा भन्दा बढी मण्डली देख्न पाउँदा मलाई साह्रै खुसी लाग्छ!

नचिताएको चुनौती

केही समयपछि, पट्रास शहरकी एउटी मायालु तथा जोसिली जवान मसीही स्त्री, एलेनीसँग मेरो चिनजान भयो। सन्‌ १९५२ को अन्ततिर हाम्रो मगनी भयो। तथापि, केही महिनापछि नै एलेनी गम्भीर रूपमा बिरामी भइन्‌। चिकित्सकहरूले उनलाई मस्तिष्कको ट्युमर भएको पत्ता लगाए र उनको हालत एकदमै नाजुक भयो। उनलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भयो। धेरै अथक प्रयासपछि, बल्ल त्यतिखेरको अपर्याप्त साधनको बावजूद हाम्रो धार्मिक विश्‍वासअनुरूप नै रक्‍तविहीन शल्यक्रिया गर्न राजी एक जना चिकित्सक एथेन्समा पायौं। (लेवी १७:१०-१४; प्रेरित १५:२८, २९) शल्यक्रिया गरिसकेपछि, चिकित्सकहरू मेरो मंगेतरको अवस्थाबारे आशावादी त थिए तर रोग फेरि-फेरि बल्झन सक्ने सम्भावना थियो।

यस्तो परिस्थितिमा अब के गर्ने? परिवर्तित अवस्थालाई ध्यानमा राख्दै मगनी तोडेर के अब म आफ्नो जिम्मेवारीबाट पन्छिने? अहँ, मैले कदापि त्यसो गर्नु हुँदैन! किनकि मगनी गर्दा मैले एउटा प्रतिज्ञा गरेको थिएँ र म हो भने हो नै भएको चाहन्थें। (मत्ती ५:३७) मैले त्यसबाहेक अर्को कुरा सोच्दै सोचिनँ। आफ्नी दिदीको सहायताले गर्दा एलेनी केही मात्रामा स्वस्थ भइन्‌ र हामीले डिसेम्बर १९५४ मा विवाह गऱ्‍यौं।

तीन वर्षपछि एलेनीको रोग फेरि बल्झियो र पहिलाकै चिकित्सकले फेरि अर्को शल्यक्रिया गर्नुपऱ्‍यो। ट्युमरलाई पूर्णतया हटाउनको लागि यस पटक चिकित्सकहरूले मस्तिष्कको ठूलै शल्यक्रिया गरे। फलस्वरूप, मेरी पत्नीलाई आंशिक पक्षघात भयो र बोल्ने क्षमता नियन्त्रण गर्ने मस्तिष्कको भागमा निकै ठूलो असर पऱ्‍यो। त्यसपछि हामी दुवैका लागि नयाँ प्रकारका जटिल समस्याहरू उत्पन्‍न भए। साधारण कामकाज पनि मेरी प्यारी पत्नीको लागि ठूलो अवरोध भयो। उनको बिग्रँदो अवस्थाले गर्दा हाम्रो दैनिक कार्य तालिकामा आमूल परिवर्तन गर्न आवश्‍यक पऱ्‍यो। सबैभन्दा धेरै त, धैर्य र लगनशीलताको आवश्‍यकता पऱ्‍यो।

मेरी आमाबाट प्राप्त गरेको प्रशिक्षण यतिबेला मेरोलागि अमूल्य साबित भयो। हरेक दिन बिहान, खाना पकाउन चाहिने सबै सर-सामग्रीहरू मैले ठीक पारिदिन्थें र एलेनीले चाहिं पकाउँथिन्‌। प्रायजसो हामी पूर्ण-समय सेवक, हामीले बाइबल अध्ययन गर्ने व्यक्‍तिहरू र आवश्‍यकतामा परेका मण्डलीका अन्य सँगी मसीहीहरूलाई हाम्रो घरमा बोलाउँथ्यौं। उनीहरू सबैले हामीले पकाएको खाना साह्रै मीठो छ भन्थे! अन्य घरायसी कामकाजहरू गर्न म र एलेनी एकअर्कालाई सघाउँथ्यौं। त्यसैकारण, हाम्रो घर सफा र चिटिक्क मिलेको थियो। यस्तो कठिन परिस्थिति ३० वर्षसम्म चल्यो।

अशक्‍तताको बावजूद जोस

कुनै पनि कुराले यहोवाप्रतिको मेरी पत्नीको प्रेम र उहाँको सेवाप्रतिको जोस घटाउन नसकेको देख्न पाउँदा म र अरू सबैको मन पग्लन्थ्यो। समयको दौडान, अथक प्रयासको कारण एलेनीले केही सीमित शब्दहरू प्रयोग गरेर आफूले भन्‍न खोजेका कुराहरू बताउन सक्ने भइन्‌। बाटोमा भेट्‌ने मानिसहरूलाई बाइबलको सुसमाचार बताउन उनलाई असाध्यै मन पर्थ्यो। म व्यापारको सिलसिलामा कतै जाँदा उनलाई पनि सँगै लैजान्थें र व्यस्त सडकको छेउमा गाडी रोक्थें। उनले गाडीको झ्याल खोलेर त्यहाँ नजिकैबाट हिंडिरहेका बटुवाहरूलाई प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌! पत्रिका दिन्थिन्‌। एक चोटि त उनले दुई घण्टामा ८० वटा पत्रिका वितरण गरिन्‌। प्रायजसो मण्डलीका सबै पुराना पत्रिकाहरू जति उनले नै वितरण गरेर सिध्याउँथिन्‌। प्रचार कार्यका अन्य क्षेत्रहरूमा पनि एलेनी नियमित थिइन्‌।

वर्षौंसम्म अशक्‍त भए तापनि मेरी पत्नी सधैं मसँग सभामा जान्थिन्‌। ग्रीसमा यहोवाका साक्षीहरूलाई सतावट दिएको कारण विदेशमा जानुपर्दा समेत उनले एउटै पनि अधिवेशन तथा सम्मेलनहरू छुटाइनन्‌। आफ्नो सीमितताको बावजूद उनी अष्ट्रिया, जर्मनी, साइप्रसलगायत अन्य देशहरूका अधिवेशनहरूमा आनन्दसाथ उपस्थित हुन्थिन्‌। यहोवाको सेवामा मेरो बढ्‌दो जिम्मेवारीहरूले गर्दा एलेनीलाई कहिलेकाहीं असजिलो भए तापनि उनले कहिल्यै पनि गनगन गर्ने वा बढ्‌ता माग गर्ने गरिनन्‌।

यस्तो परिस्थितिबाट मैले धैर्य र लगनशीलताबारे सिकेको पाठ म जिन्दगीभर बिर्सने छैन। थुप्रै पटक मैले यहोवाको मदत अनुभव गरें। सम्भव भएसम्म हामीलाई मदत गर्न भाइबहिनीहरूले साँच्चै थुप्रै त्यागहरू गरे र चिकित्सकहरूले पनि दयापूर्वक हामीलाई साथ दिए। हाम्रो परिस्थितिले गर्दा मैले पूर्ण-समय जागिर खान नसके तापनि यी कठिन वर्षहरूको दौडान जीवनमा आवश्‍यक कुराहरूको कहिल्यै पनि अपुग भएन। हामीले यहोवाका कामकुराहरू तथा सेवालाई सधैं प्राथमिकता दियौं।—मत्ती ६:३३.

यी कठिन समयहरूको दौडान हामीलाई कुन कुराले थाम्यो भनी धेरै जनाले सोधेका छन्‌। अतीतलाई फर्केर हेर्दा, व्यक्‍तिगत बाइबल अध्ययन, परमेश्‍वरलाई गरेको हार्दिक प्रार्थना, मसीही सभाहरूमा नियमित उपस्थिति र प्रचार कार्यप्रतिको जोसले नै हाम्रो धैर्य र लगनशीलतालाई बलियो बनायो। भजन ३७:३-५ का प्रोत्साहनदायी शब्दहरू हामी सधैं सम्झन्थ्यौं: “परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌ . . . तँ आफै परमप्रभुमा मग्न हो . . . आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌, अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।” हाम्रोलागि मूल्यवान्‌ साबित भएको अर्को पद भजन ५५:२२ हो: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ।” एउटा बालकले आफ्नो बुबामा पूर्ण भरोसा राखेझैं, हामीले आफ्नो भारी यहोवामा राख्ने मात्र गरेनौं तर त्यो पूर्णतया उहाँलाई नै सुम्पियौं।—याकूब १:६.

अप्रिल १२, १९८७ मा मेरी पत्नीले हाम्रो घरअगाडि प्रचार गरिरहेको बेला एउटा ठूलो फलामको ढोकाले उनको पछाडिपट्टि ड्याम्म लाग्यो र उनी सडकको छेउमा हुत्तिइन्‌। उनलाई गहिरो चोट लाग्यो। फलस्वरूप, तीन वर्षसम्म उनी अचेत अवस्थामा रहिन्‌। सन्‌ १९९० को सुरुतिर उनको मृत्यु भयो।

आफ्नो क्षमताले भ्याएसम्म यहोवाको सेवा गर्दै

सन्‌ १९६० मा मलाई निकाआ, पाइरिअसमा मण्डली सेवकको हैसियतमा सेवा गर्न नियुक्‍त गरिएको थियो। त्यस समयदेखि यता, पाइरिअसका थुप्रै मण्डलीहरूमा सेवा गर्ने सुअवसरहरू पाएको छु। मेरो आफ्नै छोराछोरीहरू नभए तापनि थुप्रै आध्यात्मिक छोराछोरीहरूलाई सच्चाइमा स्थिर रहन मदत गरेर मैले आनन्द प्राप्त गरेको छु। तिनीहरूमध्ये कोही-कोही अहिले मण्डलीका प्राचीन, सेवकाई सेवक, अग्रगामी र बेथेल परिवारका सदस्यहरूको रूपमा सेवा गर्दैछन्‌।

सन्‌ १९७५ मा ग्रीसमा प्रजातन्त्र पुनर्स्थापित भएपछि यहोवाका साक्षीहरूले जंगलमा लुकेर होइन तर खुलेआम अधिवेशनहरू आयोजना गर्न सके। विदेशी भूमिमा अधिवेशनहरू सञ्चालन गर्दा हामीमध्ये कोही-कोहीले बटुलेका अनुभवहरू अहिले अमूल्य साबित भयो। यस प्रकार, विभिन्‍न अधिवेशन समितिहरूमा थुप्रै वर्षसम्म सेवा गर्न पाएको सुअवसरबाट मैले आनन्द उठाएँ।

त्यसपछि, सन्‌ १९७९ मा एथेन्स शहरको बाहिरी भागमा ग्रीसको पहिलो सम्मेलन भवन बनाउने योजना बनाइयो। यस बृहत्‌ परियोजनालाई व्यवस्थित गर्न मदत गर्ने जिम्मेवारी मलाई दिइयो। यस कामको लागि पनि प्रशस्त धैर्य र लगनशीलता चाहिन्थ्यो। सयौं आत्म-त्यागी भाइबहिनीहरूसँग मिलेर तीन वर्षसम्म काम गर्दा हामीहरूबीच प्रेम र एकताको बलियो गाँठो कसियो। यस परियोजनाका स्मृतिहरू मेरो हृदयमा कहिल्यै नमेटिने गरी कुँदिएका छन्‌।

कैदीहरूको आध्यात्मिक आवश्‍यकताहरू पूरा गर्दै

केही वर्षपछि सुअवसरको अर्को एउटा नयाँ ढोका खुल्यो। मेरो मण्डलीको इलाका नजिकै, कोरेडालोसमा ग्रीसको सबैभन्दा ठूला झ्यालखानाहरूमध्ये एउटा छ। अप्रिल १९९१ देखि हरेक हप्ता यहोवाका साक्षीहरूको एक सेवकको हैसियतमा यस झ्यालखानामा जान मलाई खटाइएको छ। त्यहाँका इच्छुक कैदीहरूसँग बाइबल अध्ययन तथा मसीही सभाहरू सञ्चालन गर्न मैले अनुमति पाएको छु। उनीहरूमध्ये थुप्रैले ठूल-ठूला परिवर्तनहरू गरेर परमेश्‍वरको वचन प्रबल छ भन्‍ने कुरा प्रमाणित गरेका छन्‌। (हिब्रू ४:१२) यसले झ्यालखानाका कामदार तथा अरू कैदीहरू सबैलाई प्रभावित पारेको छ। मैले बाइबल अध्ययन सञ्चालन गरेका केही कैदीहरू अहिले मुक्‍त भएर सुसमाचारका प्रकाशकहरू भएका छन्‌।

केही समयसम्म मैले तीन जना लागू पदार्थका कुख्यात व्यापारीहरूसँग अध्ययन गरें। आध्यात्मिक तवरमा प्रगति गर्दै जाँदा तिनीहरू दाह्री काटेर, चिटिक्क कपाल कोरेर र ग्रीसमा एकदमै गर्मी हुने अगस्त महिनामा समेत चट्ट कमिज र टाई लगाएर बाइबल अध्ययनमा आउन थाले। झ्यालखानाका निर्देशक, जेलर र अरू केही कामदारहरू यो दृश्‍य हेर्न आ-आफ्नो कार्यालयबाट दौडेर आए। उनीहरूले यो कुरा पत्याउनै सकेनन्‌!

झ्यालखानामा आइमाईहरूलाई राखिने भागमा अर्को प्रोत्साहनदायी अनुभव भयो। हत्याको आरोपमा जन्म कैदको सजाय भोगिरहेकी एउटी आइमाईसँग बाइबल अध्ययन सुरु गरियो। तिनी विद्रोही स्वभावकी थिइन्‌। तथापि, तिनले सिक्दै गरेको बाइबल सत्यले सबैसामु प्रस्ट देखिने यस्तो उल्लेखनीय परिवर्तन ल्यायो कि तिनी त सिंहबाट थुमामा परिवर्तन भएजस्तो छ भनी धेरै जनाले टिप्पणी गरे! (यशैया ११:६, ७) धेरै समय नबित्दै झ्यालखानाको निर्देशकले तिनलाई आदर र भरोसा गर्न थालिन्‌। तिनले राम्रो आध्यात्मिक प्रगति गरेर आफूलाई यहोवासामु समर्पण गर्ने हदसम्म पुगेको देख्न पाउँदा मलाई असाध्यै खुसी लाग्यो।

वृद्ध तथा अशक्‍तहरूलाई मदत गर्दै

मेरी पत्नीले लामो समयसम्म बिरामी अवस्थाको सामना गर्नु परेको देखिसकेको कारण हामीमाझ भएका बिरामी र वृद्धहरूका आवश्‍यकताहरूप्रति म अझै संवेदनशील भएको छु। हरेक पटक जब हाम्रा प्रकाशनहरूले यस्ता व्यक्‍तिहरूलाई भेटेर मायालु मदत दिन प्रोत्साहन दिन्छ, तिनीहरूप्रतिको मेरो चासो झनै बढ्‌छ। यस्ता लेखहरूलाई बहुमूल्य ठानेर म जम्मा गर्ने गर्थें। जुलाई १५, १९६२ को द वाचटावर-मा प्रकाशित “वृद्ध व्यक्‍ति तथा अशक्‍तहरूप्रति चासो” भन्‍ने लेख जम्मा गर्न थालेदेखि वर्षौंको दौडान मैले एक सय पानाभन्दा बढी संकलन गरिसकेको थिएँ। यीमध्ये प्रायजसो लेखहरूले बिरामी तथा वृद्धहरूलाई मण्डलीले संगठित रूपमै सहयोग गर्नु लाभदायक हुन्छ भनेर बताएको थियो।—१ यूहन्‍ना ३:१७, १८.

प्राचीनहरूले हाम्रो मण्डलीका बिरामी तथा अशक्‍तहरूलाई मदत गर्न तयार भाइबहिनीहरूको एउटा समूह बनाए। दिउँसो वा राती मदत गर्न सक्ने, यातायातको प्रबन्ध गर्न सक्ने र चौबीसै घण्टा उपलब्ध हुन सक्ने जस्ता विभिन्‍न काम गर्न स्वयम्‌ सेवकहरूको भिन्‍नाभिन्‍नै टोली बनायौं। चौबीसै घण्टा उपलब्ध हुनेहरूचाहिं फ्लाइङ स्क्वाडजस्तै थिए।

यस्ता प्रयत्नका नतिजाहरू एकदमै प्रोत्साहनदायी भएका छन्‌। उदाहरणका लागि, एक्लै बस्ने गरेकी एउटी बिरामी बहिनीलाई सधैंजसो भेट्‌न जाने क्रममा एक दिन उनी अचेत अवस्थामा भुइँमा लडिरहेको भेट्यौं। हामीले उनको घर नजिकै बस्ने र कार पनि भएकी एक जना बहिनीलाई तुरुन्तै खबर गऱ्‍यौं। तिनले बिरामी बहिनीलाई एकदमै छिटो अर्थात्‌ मात्र दश मिनेटमा नजिकैको अस्पतालमा पुऱ्‍याइन्‌! चिकित्सकहरूका अनुसार यसले गर्दा उनको ज्यान बच्यो।

समूहका सदस्यहरूप्रति अशक्‍त र वृद्धहरूले देखाउने कृतज्ञता साह्रै सन्तोषजनक हुन्छ। अनि परमेश्‍वरको नयाँ रीतिरिवाजमा यी भाइबहिनीहरूसँग विभिन्‍न परिस्थितिमा बस्न पाइने आशा साँच्चै हृदयस्पर्शी छ। दुःख भोगिरहेको समयमा सहयोग पाएको कारण उनीहरूले धैर्य धारण गर्न मदत पाए भन्‍ने कुरा जान्‍न पाउनु अर्को इनाम हो।

लगनशीलताले आशिष्‌हरू प्राप्त भएको छ

म अहिले पाइरिअसको एउटा मण्डलीमा प्राचीनको रूपमा सेवा गर्दैछु। ढल्कँदो उमेर र स्वास्थ्य समस्याको बावजूद मण्डलीका क्रियाकलापहरूमा सक्रियतासाथ भाग लिन पाएकोमा म खुसी छु।

वर्षौंको दौडान सामना गर्नुपरेका कठिन अवस्था, अप्ठ्यारा चुनौती तथा आपत्‌कालीन परिस्थितिहरूले गर्दा प्रशस्त मात्रामा धैर्य र लगनशीलता चाहिएको थियो। तापनि, यी समस्याहरू समाधान गर्नको लागि यहोवाले सधैं मलाई आवश्‍यक बल दिनुभएको छ। मैले धेरै चोटि भजनहारका यी शब्दहरू साँचो साबित भएको महसुस गरेको छु: “जब मैले भनें, ‘मेरो खुट्टा चिप्लन्छ’ तपाईंको कृपाले मलाई थाम्यो, हे, परमप्रभु। मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।”—भजन ९४:१८, १९.

[पृष्ठ २५-मा भएको चित्र]

मेरी पत्नी एलेनीसँग, सन्‌ १९५७ मा उनको दोस्रो शल्यक्रियापछि

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९६९ मा जर्मनीको नुरेम्बर्ग जिल्ला अधिवेशनमा

[पृष्ठ २८-मा भएको चित्र]

बिरामी र वृद्धहरूलाई मदत गर्ने भाइबहिनीहरूको समूह