सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सरसफाइ कत्तिको महत्त्वपूर्ण छ?

सरसफाइ कत्तिको महत्त्वपूर्ण छ?

सरसफाइ कत्तिको महत्त्वपूर्ण छ?

सरसफाइको परिभाषा मान्छेपिच्छे फरक-फरक हुन्छ। उदाहरणका लागि, एक जना सानो केटालाई आमाले हातमुख धोएर आऊ भन्दा उसलाई आफ्नो हात पानीमा भिजाएर ओठ चुठेजस्तो मात्र गरे पुग्छजस्तो लाग्ला। तर आमालाई त्यति मात्र गरेर पुग्दैन भनेर राम्ररी थाह छ। त्यसैकारण त छोराले जत्ति नै रोइकराइ गरे तापनि आमाले उसलाई धारामा लगेर साबुन पानीले राम्ररी हातमुख धोइदिन्छिन्‌!

निस्सन्देह, संसारभरि सरसफाइको स्तर एउटै छैन र सानैदेखि मानिसहरूले सरसफाइबारे विभिन्‍न धारणाहरू सिक्छन्‌। पहिला-पहिला, थुप्रै देशहरूमा स्कूलको व्यवस्थित सफा वातावरणले विद्यार्थीहरूलाई सरसफाइसम्बन्धी राम्रो बानी विकास गर्न मदत गर्थ्यो। तर आजभोलि हेऱ्‍यौं भने, कुनै-कुनै स्कूलका चौरहरूमा यत्रतत्र फोहोरमैला फ्याँकिएका हुन्छन्‌ र यो खेल्ने वा व्यायाम गर्ने ठाउँ नभई फोहोर फाल्ने ठाउँजस्तो देखिन्छ। अनि कक्षाकोठा नि? अस्ट्रेलियाको एउटा उच्च माध्यमिक विद्यालयमा सरसफाइको काम गर्ने ड्यारेन यसो भन्छन्‌: “अहिले त कक्षाकोठामा समेत फोहोर छ।” केही विद्यार्थीहरूलाई “फोहोर टिप” वा “सफा गर” भन्‍ने निर्देशन सजाय दिएको जस्तै लाग्छ। तर समस्या के हो भने, केही शिक्षकहरूले सजायको रूपमा विद्यार्थीहरूलाई सफा गर्न लगाउँछन्‌ पनि।

अर्कोतर्फ, सरसफाइको सन्दर्भमा वयस्कहरूले आफ्नो दिनचर्या वा व्यापारजगत्‌मा सधैं राम्रो उदाहरण बसालेका छैनन्‌। उदाहरणका लागि, थुप्रै सार्वजनिक स्थलहरू हेर्दै घिनलाग्दो गरी लथालिंग हुन्छन्‌। केही उद्योगहरूले वातावरणलाई नै प्रदूषित पार्छन्‌। तथापि, प्रदूषणको दोषी निर्जीव उद्योग र व्यापार नभई मानिसहरू हुन्‌। सम्भवतः विश्‍वव्यापी प्रदूषण र यसका थुप्रै नकारात्मक असरहरूको मुख्य जड त लोभ नै हो तर यसको लागि केही हदसम्म फोहोर बानीहरू पनि दोषी छन्‌। कमनवेल्थ अफ अस्ट्रेलियाका भूतपूर्व महानिर्देशकले उक्‍त निचोडलाई समर्थन गर्दै यसो भने: “सार्वजनिक स्वास्थ्यको कुरा भनेको आखिरमा प्रत्येक व्यक्‍तिविशेष चाहे त्यो पुरुष, महिला वा बालक नै किन नहोस्‌, प्रत्येकको सरसफाइमा निर्भर हुन्छ।”

यद्यपि, कसै-कसैले सरसफाइ भनेको व्यक्‍तिगत कुरा हो र यो अरू कसैको मतलबको विषय होइन भन्‍ने सोचाइ राख्छन्‌। के यो साँच्चै त्यस्तो हो त?

चाहे हामी हाम्रो खाना बजारमा किनौं या रेष्टुराँ वा साथीको घरमा खाऔं, सरसफाइमा ध्यान दिनु अत्यन्तै महत्त्वपूर्ण छ। खाना पकाउने वा पस्कने व्यक्‍तिले सरसफाइमा अत्यन्तै होस पुऱ्‍याएर उच्च स्तर कायम राखेको आशा गरिन्छ। चाहे खाना पकाउनेको होस्‌ वा खानेको, फोहोर हात थुप्रै रोगहरूको कारण हुन सक्छ। अन्य ठाउँहरूभन्दा पनि अस्पतालको सरसफाइबारे के भन्‍न सकिन्छ नि, जहाँ हामी पूर्ण सफाइको आशा गर्छौं? द न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिन-मा बताइएअनुसार अस्पतालमा बिरामीहरूलाई संक्रमण हुनुको एउटा मुख्य कारण, डाक्टर तथा नर्सहरूको फोहोर हात पनि हो र यसको उपचार गर्न वर्षेनी अरबौं अमेरिकी डलर खर्च हुन्छ। आफ्नो फोहोर बानीले अरूको स्वास्थ्य खतरामा नपारोस्‌ भनी हामीले आशा गर्नु जायज छ।

कसैले जानाजानी वा लापरवाहीको कारण हामाले पिउने पानीको मुहान प्रदूषित गर्नु पनि ठूलो चिन्ताको विषय हो। अनि समुद्र किनारमा खाली खुट्टा हिंड्‌नु कत्तिको सुरक्षित छ, जहाँ लागू पदार्थ दुर्व्यसनी वा अरूहरूले प्रयोग गरेका सुईहरू जहाँसुकै फ्याँकेका हुन्छन्‌? सायद हाम्रोलागि सबैभन्दा महत्त्वपूर्ण प्रश्‍नचाहिं यो हुन सक्छ: हाम्रो घरमा सरसफाइलाई कत्तिको ध्यान दिइन्छ?

चेसिङ डर्ट नामक पुस्तकमा सुलेन होइले यस्तो प्रश्‍न गरिन्‌: “के हामी पहिला जत्तिकै सफा छौं?” तिनी यस्तो जवाफ दिन्छिन्‌: “सायद छैनौं होला।” यसको मुख्य कारण बदलिंदो सामाजिक मूल्यमान्यताहरू हुन्‌ भनी तिनी औंल्याउँछिन्‌। मानिसहरूले घरमा बिताउने समय कम हुँदै गएकोले तिनीहरू अरू मानिसलाई आफ्नो घर सफा गर्न पैसा दिन्छन्‌। फलस्वरूप, सरसफाइ गर्नु भनेको व्यक्‍तिगत प्राथमिकताको विषय हुन छोडेको छ। एक जना मानिसले यसो भने: “म नुहाउने ठाउँ सफा गर्दिनँ तर आफूलाई सफा गर्छु। मेरो घर फोहोर भए तापनि कमसेकम म त सफा छु।”

तथापि, सरसफाइ भनेको बाहिर सफा देखिनु मात्र होइन। यसले सुस्वास्थ्यका सबै नैतिक स्तरहरूलाई समेट्‌छ। यसमा हाम्रो मन अनि हृदयको अवस्था पनि मुछिएको छ, किनभने यसमा हाम्रो नैतिकता र उपासना बिथोलित छ। आउनुहोस्‌, यो कसरी हुन सक्छ हामी हेरौं।