सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सरसफाइ वास्तवमा यसको अर्थ के हो?

सरसफाइ वास्तवमा यसको अर्थ के हो?

सरसफाइ वास्तवमा यसको अर्थ के हो?

युरोप तथा संयुक्‍त राज्य अमेरिकामा १८ औं र १९ औं शताब्दीको दौडानअत्यन्तै फोहोर अवस्थाको कारण त्यस अवधिका मिसनरीहरूले व्यापक रूपमा सरसफाइसम्बन्धी प्रचारप्रसार गरे, जसलाई “सरसफाइसम्बन्धी सिद्धान्त” नै भन्‍न सकिन्थ्यो। यस सिद्धान्तमा फोहोरलाई पापसँग तुलना गरिएको थियो र स्वच्छताले परमेश्‍वरको नजिक हुन मदत गर्छ भनिन्थ्यो। सायद यही कारणले गर्दा होला “धार्मिकता र स्वच्छता एकैसाथ आउँछ” भन्‍ने भनाइ प्रख्यात भएको छ।

विलियम र क्याथरिनद्वारा स्थापना गरिएको सालभेसन आर्मीले यही दृष्टिकोण अपनायो। हेल्थ एण्ड मेडिसिन इन द इभ्यान्जिकल ट्रेडिसन नामक पुस्तकअनुसार तिनीहरूको सबैभन्दा सुरुतिरको नारा यस्तो थियो: “साबुन, सुरुवा र मुक्‍ति।” अनि त्यसपछि लुइ पास्चर तथा अरूले रोग र जिवाणुबीचको सम्बन्ध देखाएपछि सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्न झनै जोडदार वैज्ञानिक आधार मिल्यो।

यसपछि तुरुन्तै अदालतमा गवाही दिने व्यक्‍तिले बाइबल चुम्बन गर्नु नपर्ने व्यवस्था गरियो र स्कूल तथा रेल स्टेसनहरूमा जुठो कपमै पानी पिउने चलन हटाइयो। धार्मिक समारोहहरूमा समेत साझा कपको सट्टा सबैलाई छुट्टाछुट्टै कपहरू दिने प्रबन्ध गरियो। हो, ती सुरुका अग्रदूतहरू सरसफाइप्रति मानिसहरूको मनोवृत्ति परिवर्तन गर्न निकै सफल भएको देखियो। मानिसहरूको मनोवृत्ति यत्तिसम्म प्रभावित भयो कि एक जना लेखकले यसलाई “सरसफाइसँग पिरती” भने।

तथापि, “सरसफाइसँग पिरती” केवल सतही थियो। धेरै समय बित्न नपाउँदै कोही-कोही उद्यमी व्यापारीहरूले एउटा साधारण साबुनलाई सौन्दर्य सामग्रीमा परिणत गरे। अत्यन्तै सशक्‍त विज्ञापनहरूका कारण कुनै खास साबुन अथवा सरसफाइको सामान प्रयोग गर्दा समाजमा सम्मान बढ्‌नेछ र अरूले पनि त्यसैको चाहना गर्नेछ भन्‍ने भान ग्राहकहरूमा पऱ्‍यो। टेलिभिजनले यस्तै सोचाइलाई बढावा दिन्छ। विज्ञापन तथा धारावाहिक श्रृंखलाका सफल तथा ठाँटिला मानिसहरूले घर-आँगन सफा गरिरहेको, फोहोर टिपिरहेको वा आफ्नो कुकुर र बिरालोले फोहोर गरेपछि सफा गरिरहेको खासै देखाइँदैन।

बाहिर काम गर्न जाँदा पैसा कमाइन्छ तर आफ्नो घरायसी वा अन्य सरसफाइको काम गर्दा केही आर्थिक लाभ हुँदैन भनी तर्क गर्ने मानिसहरू पनि छन्‌। केही आर्थिक लाभ नै हुँदैन भने किन आफ्नो घर र वरपर सफा गर्ने? यस्तो सोचाइले गर्दा आजकल मानिसहरू आफ्नो शरीर सफा भए पुगिहाल्यो नि भन्‍ने सोचाइ राख्छन्‌।

सरसफाइबारे परमेश्‍वरको दृष्टिकोण

मानिसहरूलाई सरसफाइबारे सिकाउन गरिएका ती प्रारम्भिक प्रयासहरूले मानिसहरूको जीवनस्तर उकास्न पक्कै मदत पुग्यो। नपुगोस्‌ पनि कसरी, किनभने सरसफाइ भनेकै पवित्र तथा शुद्ध परमेश्‍वर यहोवासित सम्बन्धित र उहाँले सुरु गर्नुभएको गुण हो। हाम्रै भलाइको लागि उहाँले हामीलाई हाम्रा सबै मार्गमा पवित्र तथा स्वच्छ हुन सिकाउनुहुन्छ।—यशैया ४८:१७; १ पत्रुस १:१५.

यस सन्दर्भमा यहोवा परमेश्‍वर उदाहरणीय हुनुहुन्छ। सरसफाइलगायत उहाँका अन्य अदृश्‍य गुणहरू उहाँको सृष्टिमा छर्लंगै देखिन्छ। (रोमी १:२०) सृष्टि आफैले कुनै पनि हानिकारक प्रदूषण गर्दैन भनेर हामीले देखेका छौं। पृथ्वीमा आफै सफा गर्ने थुप्रै अद्‌भुत पर्यावरणीय चक्रहरू छन्‌ र यो स्वच्छ, स्वास्थ्यकर जीवनको लागि सृष्टि गरिएको हो। त्यस्तो सफासुग्घर काम स्वच्छ मन भएको रचनाकारबाट मात्र आउन सक्छ। अतः यसबाट हामी परमेश्‍वरका उपासकहरू आफ्नो जीवनका सबै पक्षमा स्वच्छ हुनुपर्छ भन्‍ने निष्कर्षमा पुग्न सक्छौं।

सरसफाइका चार पक्षहरू

परमेश्‍वरका उपासकहरूले ध्यान दिनुपर्ने सरसफाइका चार पक्षहरू बाइबलमा बताइएको छ। आउनुहोस्‌, हामी त्यसलाई एक-एक गरी केलाएर हेरौं।

आध्यात्मिक। यसलाई सरसफाइको सबैभन्दा महत्त्वपूर्ण पक्ष भन्‍न सकिन्छ किनभने यो अनन्त जीवनको प्रत्याशासित सन्बन्धित छ। तथापि, सरसफाइको यस पक्षलाई नै अक्सर सबैभन्दा बढी बेवास्ता गरिन्छ। सरल शब्दमा भन्‍ने हो भने, आध्यात्मिक तवरमा स्वच्छ हुनुको अर्थ परमेश्‍वरले सही र झूटो उपासनाबीच कोर्नुभएको सीमालाई पार नगर्नु हो किनभने परमेश्‍वरले सबै प्रकारको झूटो उपासनालाई अशुद्ध ठान्‍नुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “ ‘तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ।’ परमप्रभु भन्‍नुहुन्छ, ‘औ अशुद्ध कुरो नछोओ।’ ” (२ कोरिन्थी ६:१७) यस सन्दर्भमा चेला याकूब पनि अत्यन्तै स्पष्ट छन्‌: “आफूलाई दुनियाँबाट निष्कलंक राख्नुनै पवित्र र हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.

साँचो उपासनालाई झूटो उपासनासँग छ्यासमिस गरेको चाहनुहुन्‍न भनेर परमेश्‍वरले स्पष्टसँग बताउनुभएको छ। झूटा उपासनामा अक्सर अशुद्ध चलनहरू र घिनलाग्दा देवीदेवताहरूको पूजा गर्ने कुराहरू समावेश छन्‌। (यर्मिया ३२:३५) अतः साँचो मसीहीहरूलाई सबै प्रकारको अशुद्ध उपासनाबाट टाढा रहन आग्रह गरिएको छ।—१ कोरिन्थी १०:२०, २१; प्रकाश १८:४.

नैतिक। यहाँ पनि परमेश्‍वरले शुद्ध र अशुद्धबीच स्पष्ट भिन्‍नता देखाउनुभएको छ। समष्टिगत रूपमा भन्‍ने हो भने, संसारको अवस्था एफिसी ४:१७-१९ मा वर्णन गरेझैं छ: “तिनीहरूमा भएको अज्ञानताको समझ अँध्यारो भएको हुनाले परमेश्‍वरको जीवनबाट बिराना भए, जसले निर्दयी भएर लालचसाथ सारा अशुद्ध काम गर्नाको निम्ति आफैलाई कामोद्दीपनामा सुम्पिदिए।” त्यस्तो अनैतिक सोचाइ विभिन्‍न तरिकामा चालै नपाउने ढंगमा प्रकट हुन्छ, त्यसकारण मसीहीहरू सधैं होसियार हुनुपर्छ।

परमेश्‍वरलाई प्रेम गर्नेहरूलाई वेश्‍यावृत्ति, समलैंगिकता, विवाहअघि यौन सम्बन्ध र अश्‍लील कुराहरू यहोवाको नैतिक सरसफाइसम्बन्धी स्तर विपरीत कुराहरू हुन्‌ भनी थाह छ। तथापि, मनोरञ्जन तथा फेसनजगत्‌मा यस्ता कुराहरू सामान्य भइसकेका छन्‌। अतः मसीहीहरू यस्ता चलनहरू विरुद्ध होसियार हुनुपर्छ। मसीही सभा वा सामाजिक जमघटहरूमा भड्‌किलो पहिरन लगाउँदा आफ्नो शरीरतिर अरूको अनावश्‍यक ध्यानाकर्षण हुनुका साथै आफू नैतिक तवरमा सधैं स्वच्छ नभएको पनि देखिन्छ। त्यस्तो पहिरन लगाउँदा, मसीही संगतिमा अशुद्ध सांसारिक सोचाइको प्रभाव ल्याउनुका साथै अरूमा पनि अशुद्ध सोचाइ पैदा हुने खतरा हुन्छ। यस क्षेत्रमा ‘माथिबाटको ज्ञान’ झल्काउन मसीहीहरूले कडा मेहनत गर्नुपर्छ।

मानसिक। तपाईंको मन अशुद्ध विचारहरूको भण्डार हुनुहुँदैन। येशूले त्यस्तो अशुद्ध सोचाइ विरुद्ध चेताउनी दिनुहुँदै यसो भन्‍नुभयो: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती ५:२८; मर्कूस ७:२०-२३) यी शब्दहरू अश्‍लील तस्बिर र चलचित्र हेर्ने, अश्‍लील यौन गतिविधिबारे पढ्‌ने र अनुचित बोलहरू भएको गीत सुन्‍नेजस्ता कार्यहरूमा पनि उत्तिकै लागू हुन्छ। अतः अशुद्ध तथा अपवित्र बोली र कार्य गर्न उक्साउने अशुद्ध सोचाइबाट कलंकित हुनदेखि मसीहीहरू सजग हुनुपर्छ।—मत्ती १२:३४; १५:१८.

शारीरिक। बाइबलमा पवित्रता र शारीरिक सरसफाइबीच नजिकको सम्बन्ध भएको पाइन्छ। उदाहरणका लागि, पावलले यसप्रकार लेखे: “ए प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” (२ कोरिन्थी ७:१) तसर्थ, साँचो मसीहीहरूले आफ्नो शरीर, घरआँगन यथासक्दो सफासुग्घर राख्ने प्रयास गर्नुपर्छ। लुगा धुन वा नुहाउन पानीको समस्या भएको ठाउँमा समेत मसीहीहरूले आफूलाई सफा र चिटिक्क राख्न सक्दो प्रयास गर्नुपर्छ।

शारीरिक सरसफाइको अर्थ शरीरलाई अशुद्ध र हानि गर्ने सुर्ती सेवन, मद्यव्यसन र लागू पदार्थको दुर्व्यसनजस्ता कुराहरूबाट अलग राख्नु पनि हो। श्रेष्ठगीतमा वर्णन गरिएको गोठालोले शूलम्मेनी केटीको लुगाको सुगन्धबारे बयान गरे। (श्रेष्ठगीत ४:११) आफ्नो शरीर सफा राख्नु एउटा मायालु कुरा हो किनभने हामी आफू वरपरका मानिसहरूलाई आफ्नो दुर्गन्धले उकुसमुकुस पार्न चाहँदैनौं। अत्तरहरू सुगन्धित होलान्‌ तर ती नियमित नुहाउने र सफा लुगाको सट्टा प्रयोग गर्न सकिंदैन।

सन्तुलित दृष्टिकोण राख्ने

शारीरिक सरसफाइको सन्दर्भमा मानिसहरूले अचाक्ली गर्न सक्छन्‌। एकातिर, अत्यन्तै नाटीकुटी गर्दा जीवनको आनन्द नै हरण हुन सक्छ। यसले हाम्रो अनमोल समय धेरै खान पनि सक्छ। अर्कोतर्फ, फोहोर तथा अस्तव्यस्त घर मर्मतसम्भार गर्न निकै खर्च हुन सक्छ। यी दुई अचाक्ली अवस्थाबीच हामी आफ्नो घरको सरसफाइबारे व्यावहारिक र सन्तुलित हुनु बेस हो।

सरल राख्नुहोस्‌। अव्यवस्थित घर वा कोठाहरू सफा गर्नु गाह्रो हुन्छ अनि यस्तो गज्याङमज्याङ ठाउँमा फोहोर सजिलै देखिंदैन पनि। सरल, व्यवस्थित घर सफा गर्नु धेरै समय लाग्दैन। सरल जीवनशैली बनाउन बाइबलमा यस्तो सल्लाह दिइएको छ: “खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।”—१ तिमोथी ६:८.

सफा राख्नुहोस्‌। घरलाई सफा राख्नु घरका सबै सदस्यको जिम्मेवारी हो। फोहोर घर अक्सर फोहोर कोठाहरूबाटै सुरु हुन्छ। सफासुग्घरको अर्थ सबै मालसामान जहाँ-जहाँ राख्नुपर्ने हो, त्यहीं राख्नु हो। उदाहरणका लागि, मैला लुगाफाटा सुत्ने कोठाको भुइँमा थुपार्नु हुँदैन। अनि खेलौना तथा अरू मालसामानहरू भुइँमा लथालिंग छोड्‌दा खतरनाक हुन सक्छ। घरमा थुप्रै दुर्घटनाहरू सामानहरू जथाभावी छोड्‌ने बानीले गर्दा हुन्छ।

स्पष्टतः सरसफाइ र मसीही जीवनशैली एकअर्काका अभिन्‍न अंग हुन्‌। ईश्‍वरीय जीवनशैलीलाई अगमवक्‍ता यशैयाले “पवित्र बाटो” भने। अनि “कोही अशुद्ध जन त्यसबाट भएर जान पाउनेछैन” भनी तिनले गहन कुरा बताएका छन्‌। (यशैया ३५:८) हो, सरसफाइ गर्ने असल बानी बसाल्दा सफा प्रमोदवनरूपी पृथ्वी स्थापना गर्ने परमेश्‍वरको प्रतिज्ञामा हाम्रो विश्‍वास प्रस्ट हुन्छ। अनि यस सुन्दर ब्रह्‍माण्डको सबै भागमा मानिसहरूले सरसफाइसम्बन्धी यहोवा परमेश्‍वरको सिद्ध स्तर पालन गरेर उहाँको महिमा गर्नेछन्‌।—प्रकाश ७:९.

[पृष्ठ ६-मा भएका चित्र]

घरलाई सफा राख्नु परिवारका सबै सदस्यको जिम्मेवारी हो

[पृष्ठ ७-मा भएका चित्र]

पृथ्वीमा आफ्नो सरसफाइ आफै गर्ने अद्‌भुत क्षमता छ