सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित

परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित

परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्ण सुसज्जित

“हाम्रो योग्यता परमेश्‍वरतर्फबाट आउँछ। . . . उहाँले हामीलाई योग्यका बनाउनुभयो।”—२ कोरिन्थी ३:५, ६, नयाँ संशोधित संस्करण।

१, २. प्रचारकार्य गर्न कहिलेकाहीं कस्ता प्रयासहरू गरिन्छन्‌ तर किन तिनीहरू अक्सर असफल हुन्छन्‌?

 तपाईं आफूले नजानेको काम गर्नुपऱ्‍यो भने के गर्नुहुन्छ? कल्पना गर्नुहोस्‌: तपाईंलाई चाहिने सरसामान तपाईंकै अगाडि छ र औजारहरू पनि उपलब्ध छन्‌। तर काम कसरी थाल्ने तपाईंलाई अत्तोपत्तो छैन। अझ त्यसमाथि, यो काम अत्यन्तै जरुरी छ। मानिसहरूले तपाईंकै मुख ताकिरहेका छन्‌। यस्तो बेला कस्तो आपत्‌ हुन्छ!

यस्तो अप्ठ्यारो अवस्था पूर्णतया काल्पनिक कुरा मात्र होइन। एउटा उदाहरणलाई विचार गर्नुहोस्‌। कहिलेकाहीं मसीहीजगत्‌को कुनै एउटा चर्चले घर-घरको सेवकाईको काम व्यवस्थित रूपमा सुरु गर्न खोजेको छ। त्यस्ता प्रयासहरू अक्सर दुई चार हप्ता वा महिनापछि नै असफल र सामसुम्म भएका छन्‌। किन? किनभने मसीहीजगत्‌ले आफ्ना अनुयायीहरूलाई यस काममा योग्य हुन मदत गरेको छैन। अक्सर ठूल-ठूला शैक्षिक संस्थान र धर्मपीठहरूमा वर्षौं अध्ययन गरेका पादरीवर्गसित समेत प्रचारकार्य गर्न चाहिने योग्यता छैन। हामी किन यसो भन्‍न सक्छौं?

३. दोस्रो कोरिन्थी ३:५, ६ मा कुन अभिव्यक्‍ति तीन चोटि प्रयोग गरिएको छ र यसको अर्थ के हो?

परमेश्‍वरको वचनले सुसमाचारको साँचो मसीही प्रचारक हुन कस्तो योग्यता चाहिन्छ भनेर वर्णन गरेको छ। प्रेरित पावल यस्तो लेख्न उत्प्रेरित भए: “कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्‍वरतर्फबाट आउँछ। . . . उहाँले हामीलाई योग्यका बनाउनुभयो।” (२ कोरिन्थी ३:५, ६, नयाँ संशोधित संस्करण) यहाँ “योग्य” भनी तीन चोटि प्रयोग गरिएको अभिव्यक्‍तिलाई याद गर्नुहोस्‌। यसको अर्थ के हो? भाइन्स्‌ एक्सपोजिटरी डिक्सनरी अफ बिब्लिकल वर्डस्‌ यसो भन्छ: “[मूल युनानी शब्दले] वस्तुहरूलाई जनाउँदा ‘पर्याप्त’ भन्‍ने अर्थ बुझाउँछ . . . र मानिसहरूको सन्दर्भमा भने ‘सुसज्जित,’ ‘योग्य’ भन्‍ने बुझाउँछ।” त्यसकारण, “योग्य” व्यक्‍ति सुसज्जित हुन्छ र दिइएको काम पूरा गर्न योग्यका हुन्छन्‌। हो, सुसमाचारका साँचो सेवकहरू प्रचार गर्न योग्यका छन्‌। तिनीहरू प्रचारकार्यको लागि सुसज्जित, उपयुक्‍त वा लायक छन्‌।

४. (क) मसीही सेवाको निम्ति योग्य हुनु सीमित गन्यमान्य व्यक्‍तिहरूका लागि मात्र होइन भनी पावलको उदाहरणले कसरी देखाउँछ? (ख) सेवकहरूको रूपमा योग्य हुन यहोवाले प्रयोग गर्नुहुने तीनवटा माध्यम के-के हुन्‌?

तर तिनीहरू सुसज्जित हुन सक्नुको कारण के हो? व्यक्‍तिगत क्षमताले गर्दा? उत्कृष्ट बौद्धिक क्षमताले गर्दा? वा प्रतिष्ठित शिक्षण संस्थानहरूमा प्राप्त विशेष शिक्षाले गर्दा? प्राप्त प्रमाणअनुसार प्रेरित पावलसित यी सबै कुरा थियो। (प्रेरित २२:३; फिलिप्पी ३:४, ५) यद्यपि, आफू सेवक हुन चाहिने योग्यता आफैबाट नभई यहोवा परमेश्‍वरबाट पाएको हो भनी तिनले नम्रतासाथ स्वीकारे। अनि के त्यस्ता योग्यताहरू सीमित गन्यमान्य व्यक्‍तिहरूका लागि मात्र हो? पावलले कोरिन्थीको मण्डलीलाई “हाम्रो योग्यता[बारे]” लेखे। आफूले अह्राएको काम गराउन यहोवाले सबै वफादार सेवकहरूलाई सुसज्जित र योग्य बनाउनुहुन्छ भनी यसबाट हामी स्पष्टसित थाह पाउन सक्छौं। यहोवाले आज साँचो मसीहीहरूलाई कसरी योग्य बनाउनुहुन्छ? आउनुहोस्‌, उहाँले प्रयोग गर्नुहुने तीनवटा माध्यमबारे छलफल गरौं: (१) उहाँको वचन, (२) उहाँको पवित्र आत्मा र (३) उहाँको पार्थिव संगठन।

यहोवाको वचनले हामीलाई योग्य बनाउँछ

५, ६. पवित्र धर्मशास्त्रले साँचो मसीहीहरूमा कस्तो असर पार्छ?

सर्वप्रथम, परमेश्‍वरको वचनले हामीलाई सेवकहरूको रूपमा योग्य हुन कसरी मदत गर्छ? पावलले यस्तो लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्‌।” (२ तिमोथी ३:१६, १७) त्यसैकारण, पवित्र धर्मशास्त्रले हामीलाई परमेश्‍वरको वचनबारे मानिसहरूलाई सिकाउने “सुकर्म[को]” लागि “पूर्णरूपले सुसज्जित” बनाउन सक्छ। त्यसोभए, मसीहीजगत्‌को चर्चका अनुयायीहरूबारे के भन्‍न सकिन्छ नि? तिनीहरूसित बाइबल छ। एउटै किताबले कसरी एक थरी मानिसहरूलाई सुसज्जित बनाउने र अर्को थरीलाई नबनाउने हुन सक्छ? यसको जवाफ, हामी बाइबलप्रति कस्तो दृष्टिकोण राख्छौं, त्यसमा निर्भर हुन्छ।

दुःखको कुरा, चर्च जाने थोरै मानिसहरूले मात्र ‘परमेश्‍वरको वचनलाई साँच्चै उहाँको वचनजस्तो गरी’ स्वीकार्छन्‌। (१ थिस्सलोनिकी २:१३) यस सन्दर्भमा मसीहीजगत्‌को रेकर्ड लज्जास्पद छ। धर्मपीठहरूमा वर्षौं अध्ययन गरिसकेका पादरीहरू के परमेश्‍वरको वचनका शिक्षक हुन पूर्णरूपले सुसज्जित छन्‌? पटक्कै छैनन्‌। यी धर्मपीठहरूमा पढाइ सुरु गर्ने केही विद्यार्थीहरू सुरुमा भर्ना हुँदा बाइबलमा विश्‍वास गर्छन्‌ तर पछि पढाइ पूरा हुँदासम्ममा तिनीहरूको मनमा शंका उपशंकाहरू पलाइसकेका हुन्छन्‌! त्यसपछि, आफूलाई पूरा विश्‍वास लाग्न छोडिसकेको परमेश्‍वरको वचनबारे प्रचार गर्न छोडेर अरू कुरातिर नै सेवकाईलाई केन्द्रित गर्छन्‌। जस्तै, राजनैतिक विवादहरूमा सामेल हुने, सामाजिक समस्याहरूमा कथित धर्मसिद्धान्त लागू गर्ने वा आफ्ना उपदेशहरूमा यस संसारको दर्शनलाई जोड दिने। (२ तिमोथी ४:३) यसको विपरीत, साँचो मसीहीहरूले येशू ख्रीष्टको उदाहरण अनुकरण गर्छन्‌।

७, ८. परमेश्‍वरको वचनप्रति येशूको मनोवृत्ति उहाँको समयको धार्मिक नेताहरूको भन्दा कसरी फरक थियो?

येशू आफ्नो समयका धार्मिक नेताहरूबाट प्रभावित हुनुभएन। आफ्ना प्रेरितहरूको सानो समूह होस्‌ वा मानिसहरूको विशाल समुदाय, येशूले पवित्र लेखोटहरूको सदुपयोग गर्नुभयो। (मत्ती १३:१०-१७; १५:१-११) यसले गर्दा उहाँ त्यतिबेलाका धार्मिक नेताहरूभन्दा भिन्‍न हुनुभयो। ती धार्मिक नेताहरूले सर्वसाधारणलाई परमेश्‍वरका गहिरा कुराहरू केलाएर हेर्न निरुत्साहित गर्थे। भनौं भने, त्यतिबेलाको शिक्षकले धर्मशास्त्रका केही पद्यांशहरू अत्यन्तै गहन भएको हुँदा आफ्नो विशेष विद्यार्थीबाहेक अरू कसैसित त्यो छलफल गर्नुहुँदैन भन्ठान्थे। अनि त्यसरी विशेष विद्यार्थीसँग छलफल गर्दासमेत टाउको छोपेर सानो स्वरमा बोल्थे। ती धार्मिक नेताहरू यत्ति अन्धविश्‍वासी थिए कि तिनीहरूले बाइबलका कुनै-कुनै पद्यांशको छलफल गर्नु र ईश्‍वरीय नाउँ उच्चारण गर्नुहुन्‍न भन्थे!

येशू त्यस्तो हुनुहुन्‍नथ्यो! उहाँ, कोही-कोहीले मात्र होइन तर सर्वसाधारण सबैले नै “यहोवाको मुखबाट निस्कने सबै कुरामा” ध्यान दिनुपर्छ भन्‍ने विश्‍वास गर्नुहुन्थ्यो। प्रतिष्ठित समूहका सीमित व्यक्‍तिले मात्र यी विषयवस्तु बुझोस्‌ भन्‍ने येशूले चाहनुभएन। उहाँले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जो म तिमीहरूलाई अन्धकारमा भन्दछु, त्यो तिमीहरूले उज्यालोमा भनिदेओ, र जो तिमीहरूले कानमा सुन्छौ, त्यो घरका धुरीबाट प्रचार गर।” (मत्ती ४:४; १०:२७) येशू सकेसम्म धेरै मानिसहरूलाई परमेश्‍वरको ज्ञानबारे बताउन उत्सुक हुनुहुन्थ्यो।

९. साँचो मसीहीहरूले बाइबलको कसरी सदुपयोग गर्छन्‌?

हाम्रो शिक्षाको मुख्य आधार, परमेश्‍वरको वचन हुनुपर्छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूको राज्यभवनमा भाषण दिंदा बाइबलबाट छानी-छानी केही पदहरू पढ्‌नु मात्र पर्याप्त छैन। हामीले छलफल गरिएको शास्त्रपदलाई बुझाउनुपर्छ, उदाहरण दिनुपर्छ र व्यवहारमा कसरी लागू गर्न सकिन्छ भनी बताउनुपर्छ। हाम्रो लक्ष्य मुद्रित प्रकाशनहरूमा छापिएको बाइबल सन्देशलाई हाम्रा श्रोताहरूको हृदयसम्म पुऱ्‍याउने हुनुपर्छ। (नहेम्याह ८:८, १२) सल्लाह वा सुधारको लागि अनुशासन दिनुपर्दा पनि बाइबल प्रयोग गर्नुपर्छ। यहोवाका जनहरूको बेग्लाबेग्लै भाषा र पृष्ठभूमि भए तापनि हामी सबै एउटै सर्वोत्कृष्ट पुस्तकको आदर गर्छौं। त्यो हो, बाइबल।

१०. बाइबलको प्रेरित वचनले हामीलाई कस्तो असर पार्न सक्छ?

१० त्यस्तो आदर गरेर प्रयोग गर्दा परमेश्‍वरको वचन प्रबल हुन्छ। (हिब्रू ४:१२) यसको सन्देशले मानिसहरूलाई जीवनमा आमूल परिवर्तन गर्न उत्प्रेरित गर्छ। जस्तै, करणी, व्यभिचार, मूर्तिपूजा, मतवालापन र चोरीजस्ता गैरशास्त्रीय आनीबानी त्याग्न मदत गर्छ। यसले थुप्रैलाई पुरानो व्यक्‍तित्व त्यागेर नयाँ व्यक्‍तित्व धारण गर्न मदत गरेको छ। (एफिसी ४:२०-२४) हो, हामीले मानव धारणा वा परम्परालाई भन्दा बाइबललाई बढी आदर गरेर वफादार भई प्रयोग गऱ्‍यौं भने, यसले हामीलाई परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा पूर्णरूपले सुसज्जित र योग्य बनाउन सक्छ।

परमेश्‍वरको आत्माले हामीलाई योग्य बनाउँछ

११. परमेश्‍वरको पवित्र आत्मालाई “शान्तिदाता” भन्‍नु किन एकदमै उपयुक्‍त छ?

११ दोस्रो, हामीलाई पूर्णरूपले सुसज्जित बनाउने यहोवाको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिको भूमिकाबारे छलफल गरौं। यहोवाको आत्मा सबैभन्दा शक्‍तिशाली शक्‍ति हो भनेर हामीले कहिल्यै बिर्सनुहुँदैन। आफ्ना सबै साँचो मसीहीहरूको खातिर प्रयोग गर्नको लागि यहोवाले त्यो शक्‍ति आफ्नो प्रिय पुत्रलाई प्रदान गर्नुभएको छ। त्यसैकारण, येशूले पवित्र आत्मालाई “शान्तिदाता” भन्‍नु एकदमै उपयुक्‍त छ। (यूहन्‍ना १६:७) उहाँले आफ्ना अनुयायीहरूलाई यहोवासित त्यो पवित्र आत्मा माग्न आग्रह गर्नुका साथै यहोवाले त्यो प्रशस्त मात्रामा दिनुहुनेछ भनी आश्‍वासन पनि दिनुभयो।—लूका ११:१०-१३; याकूब १:१७.

१२, १३. (क) हाम्रो सेवकाईमा मदतको लागि पवित्र आत्माको निम्ति प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ? (ख) फरिसीहरूले आफूसँग पवित्र आत्मा छैन भन्‍ने कुरा कसरी देखाए?

१२ हामीले दिनहुँ पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ, विशेष गरी सेवकाईमा मदतको लागि। त्यस सक्रिय शक्‍तिले हामीमा कस्तो प्रभाव पार्छ? यसले हाम्रो मन अनि हृदयलाई छुन्छ, जीवनमा आवश्‍यक परिवर्तन गर्न, आध्यात्मिकतामा बढ्‌न र हाम्रो पुरानो व्यक्‍तित्वलाई त्यागेर नयाँ व्यक्‍तित्व धारण गर्न मदत गर्छ। (कलस्सी ३:९, १०) यसले हामीलाई ख्रीष्टले झल्काउनु भएजस्ता अनमोल गुणहरू खेती गर्न मदत गर्छ। हामीमध्ये थुप्रैलाई गलाती ५:२२, २३ मुखस्त होला। ती पदहरूमा परमेश्‍वरको आत्माका फलहरू सूचीबद्ध गरिएका छन्‌। सूचीमा सर्वप्रथम प्रेम छ। यो गुण हाम्रो सेवकाईमा एकदमै महत्त्वपूर्ण छ। किन?

१३ प्रेमले एकदमै ठूलो उत्प्रेरणा प्रदान गर्न सक्छ। यहोवा र सँगी मानवहरूप्रतिको प्रेमले गर्दा हामी सुसमाचार अरूलाई सुनाउन उत्प्रेरित हुन्छौं। (मर्कूस १२:२८-३१) त्यस्तो प्रेमविना हामी परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा योग्य हुन सक्दैनौं। यो कुरा स्पष्टसित बुझ्न येशू र फरिसीहरूबीचको भिन्‍नतालाई विचार गर्नुहोस्‌। मत्ती ९:३६ मा येशूबारे यसो भनिएको छ: “भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेड़ाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” जनसाधारणप्रति धार्मिक नेताहरूको मनोवृत्ति कस्तो थियो? तिनीहरूले यसो भने: “व्यवस्था नजान्‍ने यो भीड़ श्रापित छ।” (यूहन्‍ना ७:४९) ती फरिसीहरूले मानिसहरूलाई प्रेम गर्नुको सट्टा घृणा गर्थे। स्पष्टतः तिनीहरूसित यहोवाको आत्मा थिएन।

१४. सेवकाईमा प्रेम देखाउने सन्दर्भमा येशूको उदाहरणले हामीलाई किन उत्प्रेरित गर्नुपर्छ?

१४ मानिसहरूलाई देख्दा येशू दयाले भरिनुभयो। तिनीहरूले भोगिरहेको पीडा उहाँलाई थाह थियो। तिनीहरू दुर्व्यवहारको सिकार भएका थिए, सताइएका थिए, तिरस्कृत भएका थिए अनि गोठालोविनाका भेडाहरूसरह भएका थिए भनेर उहाँलाई थाह थियो। येशू “मानिसको हृदयमा के छ” जान्‍नुहुन्थ्यो भनी यूहन्‍ना २:२५ ले बताउँछ। सृष्टि गर्नुहुँदा यहोवालाई मदत गर्नुहुने कुशल कालिगड हुनुभएकोले येशूलाई मानव स्वभावबारे गहिरो ज्ञान थियो। (हितोपदेश ८:३०, ३१) त्यस ज्ञानले गर्दा उहाँको प्रेम अझ प्रगाढ भयो। त्यस्तो प्रेमले हामीलाई प्रचार गतिविधिमा सधैं प्रेरणा दिइरहोस्‌! यस सन्दर्भमा अझ सुधार गर्नुपर्ने महसुस गऱ्‍यौं भने, यहोवाको पवित्र आत्मा मागेर प्रार्थनाअनुरूप कार्य गरौं। यहोवाले हाम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ। उहाँले आफ्नो प्रबल शक्‍ति प्रदान गर्नुभएर हामीलाई ख्रीष्टजस्तै हुन मदत गर्नुहुनेछ, जो सुसमाचार प्रचारकार्यमा अत्यन्तै योग्य हुनुहुन्थ्यो।

१५. यशैया ६१:१-३ का शब्दहरू कसरी येशूमा लागू हुनुका साथै शास्त्री र फरिसीहरूको पनि पर्दाफास गर्छ?

१५ त्यसोभए, येशूले यस्तो योग्यता कहाँबाट पाउनुभयो? उहाँले भन्‍नुभयो, “यहोवाको आत्मा ममाथि छ।” (लूका ४:१७-२१) हो, स्वयम्‌ यहोवाले नै पवित्र आत्माद्वारा येशूलाई नियुक्‍त गर्नुभएको थियो। येशूलाई अरू कुनै मानव स्रोतबाट थप योग्यता आवश्‍यक पनि थिएन। उहाँको समयका ती धार्मिक नेताहरू के पवित्र आत्माद्वारा नियुक्‍त भएका थिए? थिएनन्‌। न त तिनीहरू यशैया ६१:१-३ मा उल्लिखित भविष्यवाणी पूरा गर्न नै सुसज्जित थिए। येशूले यो पद ठूलो स्वरमा पढ्‌नुभयो र आफूमा लागू पनि गर्नुभयो। कृपया, ती पदहरू पढ्‌नुहोस्‌ र तपाईं आफैले कपटी शास्त्री तथा फरिसीहरू योग्य थिएनन्‌ भनी थाह पाउनुहुनेछ। तिनीहरूले गरिबहरूलाई सुसमाचार सुनाउँदैनथे। अनि तिनीहरूले कसरी कैदीहरूलाई छुटकारा अनि अन्धाहरूलाई दृष्टि दिन सक्थे? आध्यात्मिक अर्थमा, तिनीहरू आफै अन्धा र मानिसले बनाएका परम्पराको दासत्वमा थिए! ती मानिसहरूजस्तो नभई, के हामी मानिसहरूलाई सिकाउन योग्य छौं?

१६. सेवकहरूको हैसियतमा आफ्नो योग्यताबारे आज यहोवाका जनहरू कस्तो विश्‍वस्ता महसुस गर्छन्‌?

१६ हो, हामीले मसीहीजगत्‌का शिक्षण संस्थानहरूबाट उच्च शिक्षा हासिल गरेका छैनौं। धर्मपीठले हामीलाई शिक्षकको हैसियतमा नियुक्‍त गरेको होइन। के त्यसोभए हामीसित योग्यताको कमी छ त? अहँ छैन! हामीलाई यहोवा परमेश्‍वरले नियुक्‍ति गर्नुभएको हो। (यशैया ४३:१०-१२) हामीले प्रार्थना गरेर उहाँको आत्मा माग्दै त्यसैअनुरूप काम गऱ्‍यौं भने, त्यही नै हो हाम्रो सबैभन्दा उच्च योग्यता। निस्सन्देह, हामी असिद्ध छौं र महान्‌ शिक्षक, येशू ख्रीष्टले बसाल्नुभएको उदाहरणअनुसार चल्न चुक्दछौं। तैपनि, यहोवाले आफ्नो आत्माद्वारा हामीलाई योग्य बनाउनुभएर उहाँको वचनका शिक्षकहरू हुन सुसज्जित बनाउनुभएकोमा के हामी कृतज्ञ छैनौं र?

यहोवाको संगठनले हामीलाई योग्य बनाउँछ

१७-१९. यहोवाको संगठनद्वारा प्रबन्ध गरिएको हप्तामा हुने पाँचवटा सभाले हामीलाई कसरी सेवकहरू हुन योग्य बनाउँछ?

१७ अब यहोवाले हामीलाई उहाँको वचनका शिक्षकहरू हुन पूर्णरूपले सुसज्जित बनाउनुहुने तेस्रो माध्यमबारे छलफल गरौं। त्यो हो, उहाँको पार्थिव मण्डली वा संगठन। यसले हामीलाई सेवकहरू हुन प्रशिक्षण दिन्छ। कसरी? हामीले लाभ उठाइरहेको निर्देशन कार्यक्रमलाई विचार गर्नुहोस्‌! हामी हप्तामा पाँचवटा मसीही सभाहरू धाउँछौं। (हिब्रू १०:२४, २५) हामी मण्डली पुस्तक अध्ययनका लागि सानो समूहमा भेला हुन्छौं र यहोवाको संगठनले प्रबन्ध गरेको पाठ्यपुस्तकबाट बाइबलको गहन अध्ययन गर्छौं। टिप्पणी गरेर हामी एकअर्काबाट सिक्छौं र प्रोत्साहन पाउँछौं। साथै, पुस्तक अध्ययन निरीक्षकबाट व्यक्‍तिगत निर्देशन र सल्लाह पाउँछौं। जन सभा र प्रहरीधरहरा अध्ययनमा हामी प्रचुर मात्रामा आध्यात्मिक भोजन पाउँछौं।

१८ ईश्‍वरतान्त्रिक सेवकाई स्कूलले अरूलाई कसरी सिकाउने भनी हामीलाई निर्देशन दिन्छ। विद्यार्थी भाषणको लागि तयारी गर्दा, हामी विभिन्‍न विषयमा परमेश्‍वरको वचन प्रयोग गरेर अरूलाई कसरी सिकाउन सकिन्छ भनी सिक्छौं। (१ पत्रुस ३:१५) कुनै भाषणको लागि तयारी गर्दा सुरुमा आफूलाई त्यस विषयबारे थाह भएजस्तो लागेको तर पछि तयारी गर्दै जाँदा एकदमै नौला कुराहरू सिक्नुभएको के तपाईंले अनुभव गर्नुभएको छ? धेरैले यस्तो अनुभव गर्छन्‌। आफ्नो ज्ञान तिखार्ने सबैभन्दा राम्रो उपाय नै अरूलाई सिकाउनु हो। आफैले प्रस्तुति प्रस्तुत गर्नु नपरे तापनि हामी अझ असल शिक्षक हुन सिक्न सिकिरहेका हुन्छौं। सबै विद्यार्थीमा हामी एउटा न एउटा राम्रो गुण देख्छौं अनि त्यो गुण कसरी अनुसरण गर्न सकिन्छ भनी विचार गर्न थाल्छौं।

१९ सेवा सभा पनि हामीलाई परमेश्‍वरको वचनका शिक्षकहरूको रूपमा सुसज्जित बनाउन तयार गरिएको हो। हप्तैपिच्छे हामी जोडदार भाषण सुन्छौं, छलफल तथा प्रदर्शनहरू हेर्छौं र त्यसले हामीलाई सेवकाईमा अझ सुसज्जित बनाउँछ। कस्तो प्रस्तुति चलाउने? हाम्रो इलाकामा सामना गर्नु परिरहेको विशेष चुनौती कसरी सामना गर्ने? हामीले अझ विस्तार गर्न सक्ने प्रचारकार्यका के-कस्ता पक्षहरू छन्‌? पुनःभेट तथा बाइबल अध्ययन सञ्चालन गर्नको लागि अझ प्रभावशाली शिक्षकहरू हुन कुन कुराले हामीलाई मदत गर्नेछ? (१ कोरिन्थी ९:१९-२२) यी तथा अन्य थुप्रै प्रश्‍नहरू सेवा सभामा विस्तृत तवरमा छलफल गरिन्छ। यस सभाका प्रायजसो भाग हाम्रो राज्य सेवकाई-मा आधारित हुन्छन्‌। हाम्रो महत्त्वपूर्ण कार्यमा सुसज्जित बनाउन प्रदान गरेको यो अर्को साधन हो।

२०. सभा तथा सम्मेलनहरूबाट हामीले कसरी पूर्ण रूपमा लाभ उठाउन सक्छौं?

२० सभाहरूको लागि तयारी गर्दा र त्यहाँ उपस्थित हुनुका साथै आफूले सिकेका कुराहरू लागू गरेर असल शिक्षक हुने प्रयास गर्दा हामीले विस्तृत प्रशिक्षण पाइरहेका हुन्छौं। तर त्यति मात्र होइन। ठूला सभाहरू अर्थात्‌ सम्मेलन तथा अधिवेशनहरू पनि छन्‌। ती कार्यक्रमहरूले हामीलाई परमेश्‍वरको वचनका शिक्षकहरू हुन अझ सुसज्जित बनाउनेछ। अनि त्यस्तो सल्लाह ध्यान दिएर सुनेपछि त्यसलाई व्यवहारमा उतार्न हामी कस्तो उत्कट आशा गर्छौं!—लूका ८:१८.

२१. हामीले पाएको प्रशिक्षण प्रभावकारी साबित भएको छ भन्‍ने प्रमाण कुन कुराले देखाउँछ र यसको श्रेय कसलाई जान्छ?

२१ के यहोवाले प्रदान गर्नुभएको प्रशिक्षण प्रभावकारी साबित भएको छ? परिणामले नै यसको जवाफ दिऊन्‌। वर्षेनी हजारौं मानिसहरूले आधारभूत सिद्धान्त सिक्न र परमेश्‍वरले चाहनुभएअनुसार जीवन बिताउन मदत पाइरहेका छन्‌। हाम्रो संख्या बढ्‌दैछ तर हामीमध्ये कसैले पनि व्यक्‍तिगत तवरमा यसको श्रेय लिन सक्दैनौं। हामीले यसप्रति येशूले जस्तै व्यावहारिक दृष्टिकोण राख्नुपर्छ। उहाँले यसो भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” पुरातन समयका प्रेरितहरूजस्तै हामीमध्ये प्रायजसो निरक्षर र सामान्य मानिसहरू हौं। (यूहन्‍ना ६:४४; प्रेरित ४:१३) हाम्रो सफलता यहोवामा निर्भर छ किनभने उहाँले नै इमानदार हृदय भएका मानिसहरूलाई सत्यतर्फ खिच्नुहुन्छ। प्रेरित पावलले यस कुरालाई एकदमै राम्रोसित वर्णन गरे: “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्‍वरले चाहिं बढ़ाउनुभयो।”—१ कोरिन्थी ३:६.

२२. मसीही सेवकाईमा पूर्णतया भाग लिने सन्दर्भमा हामी किन बढ्‌तै निरुत्साहित हुनुहुँदैन?

२२ हो, उहाँको वचनका शिक्षकहरूको हैसियतमा हाम्रो काममा यहोवाले सक्रियतासाथ भाग लिइरहनुभएको छ। हामी आफू शिक्षक हुन योग्य छौं जस्तो सधैं महसुस नगरौंला। यहोवाले नै मानिसहरूलाई आफू र आफ्नो पुत्रतर्फ खिच्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। यहोवाले नै आफ्नो वचन, पवित्र आत्मा र पार्थिव संगठनद्वारा हामीलाई सेवकहरूको हैसियतमा योग्य बनाउनुहुन्छ। उहाँले हामीलाई परमेश्‍वरको वचनका शिक्षकहरूको हैसियतमा सुसज्जित बनाउन अहिले प्रदान गरिरहनुभएका असल कुराहरू सुनौं, सिकौं र व्यवहारमा उतारौं!

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

प्रचारकार्यको निम्ति बाइबलले हामीलाई कसरी सुसज्जित बनाउँछ?

सेवकहरूको हैसियतमा हामीलाई योग्य बनाउन पवित्र आत्माले कस्तो भूमिका निर्वाह गर्छ?

यहोवाको पार्थिव संगठनले तपाईंलाई सुसमाचारको प्रचारकको रूपमा योग्य हुन कुन तरिकाहरूमा मदत गऱ्‍यो?

सेवकाईमा भाग लिंदा हामी किन विश्‍वस्त हुन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएको चित्र]

परमेश्‍वरको वचनको शिक्षकको हैसियतमा येशूले मानिसहरूप्रति प्रेम प्रदर्शित गर्नुभयो