सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

हिब्रू १२:४ (नयाँ संशोधित संस्करण) मा प्रयोग गरिएको यस पदावलीको अर्थ के हो: “तिमीहरूले गरेका संघर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म तिमीहरू पुगेका छैनौ”?

“संघर्षमा रगत बगाउनुपर्ने अवस्थासम्म” भन्‍ने पदावलीले मृत्युको अवस्थासम्म पुग्नु, शाब्दिक अर्थमा जीवनरक्‍त बगाउनु भन्‍ने अर्थ बझाउँछ।

विश्‍वासको खातिर केही हिब्रू मसीहीहरूले ‘ठूला ठूला शासनाको लड़न्त सहेका’ थिए भनी प्रेरित पावललाई थाह थियो। (हिब्रू १०:३२, ३३) त्यस कुरालाई औंल्याउँदा पावलले यूनानी खेलकुद प्रतियोगितामा गर्नुपर्ने संघर्षको दृष्टान्त चलाइरहेको हुन सक्छ जसमा दौड, कुस्ती, मुक्काबाजी अनि चक्र तथा भाला फ्याँक्ने खेलहरू समावेश हुन्थे। त्यसै गरी, हिब्रू १२:१ मा तिनले आफ्ना सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “हर किसिमको टण्टा र हामीलाई सजिलैसित अल्मल्याउने पापलाई पन्छाएर हाम्रा सामनेमा राखिदिएको दौड़ धीरजसँग दौड़ौं।

तीनवटा पदपछि हिब्रू १२:४ मा पावलले दौडलाई छोडेर मुक्काबाजी प्रतियोगितालाई सम्झिरहेको हुन सक्छ। (१ कोरिन्थी ९:२६ मा धावक अनि मुक्केबाज दुवैलाई संकेत गरिएको छ।) पुरातन मुक्केबाजहरूले आफ्नो मुड्‌की र नाडीमा छालाको डोरीले बाँध्थे। ती डोरीहरूमा “सीसा, फलाम वा फलामका टुक्राहरू राखिएको हुन सक्थ्यो, जसले मुक्केबाजहरूलाई घातक चोट पुऱ्‍याउँथ्यो।” यस्तो क्रूर प्रतियोगितामा खेलाडीहरू रगतपच्छे हुन्थे, कहिलेकाहीं त तिनीहरूको मृत्युसम्म हुन्थ्यो।

जे होस्‌, हिब्रू मसीहीहरूलाई सतावट, क्रूर दुर्व्यवहार र मृत्यु अर्थात्‌ “रगत बगाउनुपर्ने अवस्थासम्म[को]” शासना भोगेका विश्‍वासी सेवकहरूको प्रशस्त उदाहरण थाह थियो। पावलले पुरातन विश्‍वासी सेवकहरूले भोगेका सतावटहरूमा ध्यान दिन आग्रह गर्दाको यस प्रसंगलाई ध्यान दिनुहोस्‌:

“तिनीहरू ढुङ्‌गाले हानिए, करौंतीले चिरिए, तिनीहरू परीक्षामा परे, तिनीहरू तरवारले मारिए, भेड़ा र बाख्राका छालाहरू लगाए, गरिबी भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुल्नुपऱ्‍यो।” त्यसपछि पावलले विश्‍वासलाई सिद्ध तुल्याउनुहुने येशूलाई यसरी प्रकाश पारे: “जसले . . . शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू ११:३७; १२:२.

हो, मृत्युसम्मै अर्थात्‌ “रगत बगाउनुपर्ने अवस्थासम्म” संघर्ष गरेकाहरू धेरै थिए। तिनीहरूको यो संघर्ष विश्‍वासको कमीले गर्दा भएको आन्तरिक द्वन्द्व मात्र थिएन। आफ्नो निष्ठालाई मृत्युसम्मै कायम राखेर शारीरिक तवरमा क्रूर दुर्व्यवहार भोग्नुपर्दा समेत तिनीहरू वफादार रहे।

विगतका पीडादायी सतावटहरू अन्त भइसकेपछि मात्र मसीही बनेका कारण यरूशलेम मण्डलीमा आएका नयाँ व्यक्‍तिहरूले सायद त्यस्ता कठिन सतावटहरू भोग्नु नपरेका हुन सक्छन्‌। (प्रेरित ७:५४-६०; १२:१, २; हिब्रू १३:७) यद्यपि, सानातिना परीक्षाहरूले समेत तिनीहरूमध्ये कतिपयको दौड कायम राख्ने जोसलाई सेलाएको हुन सक्छ; तिनीहरू ‘शिथिल भई थाकेका’ थिए। (हिब्रू १२:३) तिनीहरू परिपक्वतातर्फ अघि बढ्‌नुपर्ने थियो। यसो गरेको खण्डमा भविष्यमा आउन सक्ने जस्तोसुकै सतावटहरू; जस्तै: शारीरिक दुर्व्यवहारदेखि लिएर मृत्युसम्म आइपर्दा पनि तिनीहरूको सहने क्षमता बलियो हुने थियो।—हिब्रू ६:१; १२:७-११.

आधुनिक समयमा धेरै मसीहीहरूले “रगत बगाउनुपर्ने अवस्थासम्म” संघर्ष गरेर आफ्नो ज्यान गुमाएका छन्‌ किनकि तिनीहरूले आफ्नो मसीहीधर्ममा कुनै सम्झौता गरेनन्‌। पावलले हिब्रू १२:४ मा भनेका शब्दहरूले गर्दा तर्सिनुको सट्टा हामी कुन हदसम्म परमेश्‍वरप्रति वफादार हुनुपर्छ भन्‍ने कुराको संकेतको रूपमा ती शब्दहरूलाई लिन सक्छौं। हिब्रूहरूलाई लेखेको सोही चिठीमा पछि पावलले यस्तो लेखे: “हामीलाई अनुग्रह होस्‌, जसबाट परमेश्‍वरलाई मनपर्ने सेवा भक्‍ति र डरले चढ़ाउनसकौं।”—हिब्रू १२:२८.