सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइजान्टियममा चर्च तथा सरकार

बाइजान्टियममा चर्च तथा सरकार

बाइजान्टियममा चर्च तथा सरकार

मसीहीधर्मका संस्थापक आफ्ना चेलाहरू तथा परमेश्‍वरबाट टाढिएका संसारका मानिसजातिबीच हुनुपर्ने भिन्‍नताबारे स्पष्ट धारणा राख्नुहुन्थ्यो। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूहन्‍ना १५:१९) येशूले आफ्ना समयको राजनैतिक शक्‍तिका प्रतिनिधि गर्ने पिलातसलाई यस्तो घोषणा गर्नुभयो: “मेरो राज्य यस संसारको होइन।”—यूहन्‍ना १८:३६.

“पृथ्वीको अन्तसम्म” प्रचार गर्ने आफ्नो दायित्व पूरा गर्न मसीहीहरू सांसारिक गतिविधिहरूतिर आकर्षित नहुन होसियार हुनुपर्थ्यो। (प्रेरित १:८) येशूजस्तै प्रारम्भिक मसीहीहरू पनि राजनीतिमा मुछिने थिएनन्‌। (यूहन्‍ना ६:१५) विश्‍वासी मसीहीहरू सरकारी उच्च ओहदा वा प्रशासकीय पदहरूमा नहुनु उल्लेखनीय कुरा थियो। तर यस्तो परिस्थिति पछिसम्म रहेन।

“संसारको भाग”

प्रेरितहरूमध्ये सबैभन्दा अन्तिमको मृत्यु भएपछि धार्मिक नेताहरूले आफू र संसारबारे आफ्नो दृष्टिकोणलाई स्वेच्छापूर्वक परिवर्तन गर्न थाले। तिनीहरूले यसै संसारमा, त्यै पनि यसकै भागको रूपमा रहेको ‘राज्य’ परिकल्पना गर्न थाले। बाइजान्टियमलाई (हालको इस्टानबुल) राजधानी मानिएको इस्ट रोमन साम्राज्य अर्थात्‌ बाइजाइन्टिन साम्राज्यमा धर्म र राजनीतिको नङ र मासुको जस्तै सम्बन्ध थियो भन्‍ने कुरा जाँच्नु जानकारीमूलक हुनेछ।

धर्मले पहिलादेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको समाजमा, बाइजान्टियममा केन्द्र रहेको बाइजान्टिन चर्चसित निकै शक्‍ति थियो। चर्चका इतिहासकार पानायोटीस क्रिस्टुले एकपल्ट यसो भने: “ती बाइजान्टिनहरूले आफ्नो पार्थिव साम्राज्यलाई नै परमेश्‍वरको राज्य ठाने।” तथापि, त्यस साम्राज्यका अख्तियारवालाहरूले सधैं त्यस्तो दृष्टिकोण राखेनन्‌। परिणामस्वरूप, चर्च र सरकारबीचको सम्बन्ध कहिलेकाहीं तनाउपूर्ण हुने गर्थ्यो। दी अक्सफोर्ड डिक्सनरी अफ बाइजान्टियम यसो भन्छ: “कन्स्टान्टिनोपोल [वा बाइजान्टियमका] विशपहरूले किसिम-किसिमको व्यवहार देखाउँथे, कहिले शक्‍तिशाली शासकको अगाडि लुत्रुक्क पर्थे त, . . . कहिले सम्राट्‌सित मिलेर फलदायी काम गर्थे अनि कहिलेकाहीं सम्राट्‌को इच्छाको तीव्र विरोध पनि गर्थे।”

अर्थोडक्स चर्चका प्रमुख अर्थात्‌ कन्स्टान्टिनोपोलका कुलपति असाध्यै प्रभावकारी व्यक्‍ति हुन थाले। सम्राट्‌ले अर्थोडक्सतन्त्रका कट्टर संरक्षकको भूमिका निर्वाह गरोस्‌ भनेर सम्राट्‌लाई राजमुकुट पहिराइदिने व्यक्‍ति तिनी नै थिए। कुलपति असाध्यै धनी पनि थिए किनभने चर्चको विशाल सरसम्पत्ति तिनकै नियन्त्रणमा थियो। असंख्य भिक्षुहरूमाथि नियन्त्रण जमाएकोले मात्र नभई जनसाधारणलाई समेत प्रभाव पार्न सकेको कारण तिनले असीमित शक्‍ति हासिल गरे।

कुलपतिले सम्राट्‌को कुरासमेत काट्‌न सक्थे। तिनले परमेश्‍वरको नाउँमा आफ्नो इच्छा जाहेर गर्दै सम्राट्‌लाई चर्चबाट बहिष्कार गर्ने वा अन्य तरिकाहरू अपनाएर सम्राट्‌लाई हटाउनेजस्ता धम्की पनि दिन सक्थे।

राजधानीबाहिर निजामती प्रशासनहरू खस्कँदै गएपछि त्यस्ता शहरहरूमा विशपहरू नै सबैभन्दा शक्‍तिशाली व्यक्‍तिहरू भए र तिनीहरू प्रान्तीय शासकहरू जत्तिकै शक्‍तिशाली भए, जसलाई नियुक्‍त गर्न तिनीहरूले नै मदत गर्थे। न्यायिक कामकुराहरू र सांसारिक व्यापारहरू चर्चसित सम्बन्धित होस्‌ वा नहोस्‌ तिनीहरू त्यसमा मुछिन्थे। तिनीहरूले त्यसो गर्न सक्नुको एउटा कारण, लाखौं पादरी तथा भिक्षुहरू सबै स्थानीय विशपहरूको अधीनमा थियो।

राजनीति र सिमोनी

माथि उल्लिखित विवरणअनुसार पादरीहरू र राजनीति एकअर्काको अभिन्‍न अंग भइसकेको थियो। त्यसबाहेक, असंख्य पादरी तथा तिनीहरूको धार्मिक गतिविधिहरूमा निकै पैसा खर्च गर्नुपर्ने भयो। उच्च ओहदाका पादरीहरूले विलासी जीवन बिताउँथे। चर्चले शक्‍ति तथा सम्पत्ति हात पारेपछि प्रेरितहरूको जस्तो दरिद्रता र पवित्रता रहेन। केही धर्मगुरु तथा विशपहरूसित भेट्‌न पनि पैसा तिर्नुपर्ने भयो। तल्लो ओहदादेखि माथिल्लो ओहदासम्मका सम्पूर्ण मानिसहरूमा सिमोनी अर्थात्‌ घूसखोरी व्याप्त थियो। एउटै मतलाई समर्थन गर्ने धनाढ्यहरूको आडमा पादरीहरूले सम्राट्‌को अघि खडा हुन पाउने ओहदाको लालसा गरे।

आफूभन्दा उच्च ओहदाका धार्मिक नेतालाई आकर्षित गर्ने एउटा तरिका घूस दिनु पनि थियो। सम्राज्ञी जोले (सा.यु. ९७८-१०५० तिर) आफ्ना पति रोमानस तृतीयको हत्या गर्न लगाएर आफ्नो प्रेमी तथा भावी सम्राट्‌, माइकल चौथोसित विवाह गर्न कुलपति अलेक्सियसलाई राजदरबारमा हाजिर गराए। त्यहाँ कुलपतिले रोमानसको मृत्यु भएको र साम्राज्ञीको विवाह गराइ दिनुपर्ने कुरा बुझे। त्यस साँझ चर्चले गुड फ्राइडे मनाइरहेको कारण अलेक्सियसलाई त्यति सजिलो भएन। तथापि, साम्राज्ञीले दिएको प्रशस्त उपहारहरू स्वीकारेर तिनको आग्रह पूरा गरिदिए।

सम्राट्‌को अधीनमा

बाइजान्टिन साम्राज्यको इतिहासमा कहिलेकाहीं कन्स्टान्टिनोपोलका कुलपतिहरू नियुक्‍त गर्न सम्राट्‌ले आफ्नो कानुनी अधिकार चलाउँथे। त्यस्तो समयावधिमा कसैले पनि सम्राट्‌को इच्छा विपरीत कुलपति हुने वा लामो समयसम्म त्यस पदमा रहिरहन पाउँदैनथ्यो।

सम्राट्‌ एन्ड्रोनिकस द्वितीयाले (१२६०-१३३२) नौ चोटिसम्म कुलपतिहरूको फेरबदल गर्नुपऱ्‍यो। प्रायजसो त्यस्तो अवस्थामा त्यसो गर्नुको उद्देश्‍य, आफूले भनेजस्तो गराउन सकिने व्यक्‍तिलाई कुलपतिको सिंहासनमा बसाल्नु थियो। द बाइजान्टिन्स नामक पुस्तकअनुसार एक जना कुलपतिले त सम्राट्‌लाई “आफूलाई जे मन लाग्छ त्यो गैरकानुनी नै भए तापनि गरिछाड्‌ने र आफूलाई मन नपर्ने कामचाहिं नगर्ने” भनी लिखित प्रतिज्ञासमेत गरे। सम्राट्‌हरूले दुईपल्ट राजपरिवारको राजकुमारलाई कुलपतिको हैसियतमा नियुक्‍त गरेर चर्चमा आधिपत्य जमाउने प्रयास गरे। सम्राट्‌ रोमानस प्रथमले आफ्नो छोरा थियोफिलाक्टलाई सोह्र वर्षको कलिलो उमेरमै कुलपतिको ओहदा दिए।

कुलपतिले सम्राट्‌लाई खुसी तुल्याउन नसकेको खण्डमा सम्राट्‌ले शक्‍ति प्रयोग गरेर तिनलाई पद त्याग गर्न वा अपदस्थ गर्न धर्मसभालाई निर्देशनसमेत दिन सक्थे। बाइजान्टियम नामक पुस्तक अझ यसो भन्छ: “बाइजान्टिनको इतिहासमा विशपहरूको नियुक्‍तिको सन्दर्भमा झन्‌-झनै उच्च अख्तियारवाला र कहिलेकाहीं त सम्राट्‌ले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न थाल्यो।”

सम्राट्‌ले कुलपतिलाई आफूसँगै राखेर धार्मिक परिषद्‌को अध्यक्षता गर्थे। सम्राट्‌ले वादविवाद सुरु गर्थे, धर्मसित सम्बन्धित विषयमा आफ्नै राय बताउँथे, विशप तथा विधर्मीहरूसित बहस गर्थे र अन्तिम तर्क पेस गर्थे अर्थात्‌ शूलीमा मृत्यु। सम्राट्‌ले चर्चको आयोगले स्वीकारेका धर्मसिद्धान्तहरूलाई पारित गर्ने र त्यसैअनुरूप कार्य भएको छ वा छैन भनेर पनि हेर्थे। तिनको विरुद्धमा बोल्ने जोसुकैलाई राजद्रोहको मात्र नभई धर्म र परमेश्‍वरको शत्रु भएको आरोपसमेत लगाइन्थ्यो। छैठौं शताब्दीको एक जना कुलपतिले यसो भने, “सम्राट्‌को इच्छा र आदेश विपरीत कुनै पनि कार्य चर्चमा गर्नुहुँदैन।” दरबारको वरपर बस्ने छट्टु, फितलो स्वभावको, चापलुसी गर्ने र धूर्त तर्कहरू गर्नसक्ने विशपहरूले आफ्ना हाकिमहरूको कुरामा स्वीकृति जनाउनु त चलनजस्तै भइसकेको थियो।

उदाहरणका लागि, कुलपति इग्नेटियसले (सा.यु ७९९-८७८ तिर) मुख्यमन्त्री बार्डसलाई धार्मिक पर्वमा प्रतीकहरू नदिंदा त्यसप्रति मन्त्रीले आपत्ति जनाए। बार्डसले इग्नेटियसलाई एउटा षड्यन्त्र र जालसाजी गरेको आरोप लगाए। कुलपतिलाई गिरफ्तार गरेर निर्वासित गरियो। तिनको ठाउँमा छ दिनमै फोशियस नाउँ गरेको एक जना साधारण मानिसलाई सम्पूर्ण धार्मिक पदवीहरूबाट बढुवा गर्दै अन्तमा कुलपति नियुक्‍त गरे। के फोशियससित कुलपतिको हैसियतमा काम गर्ने योग्यता थियो? तिनी “एकदमै महत्त्वाकांक्षी, अचाक्ली नै अहंकारी र राजनीतिमा पनि असाध्यै चतुर थिए” भनी वर्णन गरिएको छ।

राजनैतिक सेवासम्बन्धी नियम

अर्थोडक्सवाद वा विधर्मीवादजस्तो देखिए तापनि त्यसको मूल कारण राजनैतिक विवाद हुन्थ्यो र त्यसले गर्दा सम्राट्‌समेत नयाँ धर्म सिद्धान्त प्रतिपादन गर्न नभई राजनैतिक स्वार्थ पूरा गर्न अघि सर्थे। साधारणतया, नियम बनाउने अधिकार र चर्चलाई आफ्नो इच्छाअनुसार चलाउने शक्‍ति सम्राट्‌ले आफ्नै नियन्त्रणमा राखेको थियो।

उदाहरणका लागि, सम्राट्‌ हेराक्लियसले (सा.यु. ५७५-६४१) विभाजन हुनै लागेको आफ्नो साम्राज्यलाई झनै विभाजित पार्ने अवस्थामा पुऱ्‍याउन लागेको ख्रीष्टको स्वरूपसम्बन्धी मतभेदलाई हटाउन निकै परिश्रम गरे। त्यस मतभेदलाई सुल्झाउने प्रयास गर्दै तिनले मोनोथेलिटिज्म भनिने एउटा नयाँ सिद्धान्तको प्रतिपादन गरे। a त्यसपछि, आफ्नो साम्राज्यको दक्षिणी प्रान्तका मानिसहरूको विश्‍वास जित्न हेराक्लियसले अलेक्सजान्ड्रियाका नयाँ कुलपति फासिसको साइरसलाई चुने र तिनले सम्राट्‌ले अघि सारेको सिद्धान्तलाई नै समर्थन गरे। सम्राट्‌ले तिनलाई कुलपति मात्र होइन तर स्थानीय शासकहरूमाथि अख्तियार चलाउन सक्ने मिश्रका प्रमुखसमेत नियुक्‍त गरिदिए। केही मात्रामा जोरजुलुम गरेर साइरसले मिश्रका धेरैजसो चर्चहरूको समर्थन पाइछाडे।

तीतो फल

के यी घटनाक्रमहरूबाट येशूले प्रार्थनामा आफ्ना चेलाहरू ‘यस संसारका भाग होइनन्‌’ भनी बताउनुभएको कुरा र मनोभाव प्रकट हुन्छ?—यूहन्‍ना १७:१४-१६.

बाइजान्टिनको समय र त्यसपछिका मसीही भनौंदा नेताहरूले संसारको राजनीति तथा सैन्य गतिविधिहरूमा भाग लिएको कारण तिनीहरूले नमीठो परिणाम भोगेका छन्‌। इतिहासको यस संक्षिप्त विवरणले के बताउँछ? के बाइजान्टिन चर्चका नेताहरूले परमेश्‍वर र येशू ख्रीष्टको अनुग्रह पाए?—याकूब ४:४.

त्यस्तो महत्त्वाकांक्षी धार्मिक नेताहरू र तिनीहरूको राजनीतिप्रतिको प्रेमले साँचो मसीहीधर्मलाई कुनै फाइदा पुऱ्‍याएको छैन। धर्म तथा राजनीतिको अपवित्र मिश्रणले गर्दा येशूले सिकाउनुभएको शुद्ध धर्मको बदनाम भएको छ। हामी इतिहासबाट पाठ सिकेर “यस संसारको भाग” नहुने प्रयत्न गरौं।

[फुटनोट]

a मोनोथेलिटिज्म भनेको परमेश्‍वर र मानिसको दुईवटा भिन्‍नाभिन्‍नै स्वरूप भए तापनि ख्रीष्टको इच्छा भने एउटै छ भन्‍ने सिद्धान्त हो।

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

“स्वर्गमा हिंड्‌ने देवताजस्तै”

चर्चको नाइकेले राज्यको मामिलामा हस्तक्षेप गर्दा कस्तोसम्म हुन सक्छ भन्‍ने कुरा कुलपति माइकल सेऱ्‍युलारीयसको (१०००-१०५९ तिर) समयमा घटेका घटनाहरूबाट थाह पाउन सकिन्छ। कुलपति भइसकेपछि सेऱ्‍युलारीयसले अझ उच्च आकांक्षाहरू राख्न थाले। तिनलाई रिसाहा, घमण्डी र अटेरी भनी वर्णन गरिएको पाइन्छ। “आफ्नो व्यवहारलाई नियाल्दा तिनले आफूले आफूलाई स्वर्गमा हिंड्‌ने देवताजस्तै ठान्थे।”

लोकप्रियता हासिल गर्ने धुनमा तिनले सन्‌ १०५४ मा रोमका पोपसित धार्मिक विभेद राख्न सुरु गरे र सम्राट्‌लाई यो विभाजन स्वीकार्न बाध्य बनाए। यस जीतबाट प्रसन्‍न भएर सेऱ्‍युलारीयसले माइकल चौथोलाई सिंहासनमा बसालेर तिनको शक्‍तिलाई दरिलो पार्न मदत गरे। एक वर्षपछि नै सेऱ्‍युलारीयसले सम्राट्‌लाई आफ्नो पद त्याग गर्न लगाएर आइज्याक कमेनसलाई (१००५-१०६१ तिर) सिंहासनमा बसाले।

कुलपति र साम्राज्यबीचको विवाद चर्किंदै गयो। सेऱ्‍युलारीयसले जन समर्थन पाएर डर त्रास देखाएर हिंसा मच्चाउन थाले। समकालीन साहित्यकारले यस्तो टिप्पणी गरे: “सम्राट्‌को पतनलाई चानचुने कुरा ठानेर तिनले यस्तो कटु वचन प्रहार गरे, ‘ए मूर्ख, मैले नै तिम्रो उत्थान गरेको थिएँ र म नै तिम्रो पतन गर्नेछु।’ ” तथापि, आइज्याक कमेनसले तिनलाई गिरफ्तार गरे, झ्यालखानमा हाले र इम्ब्रोसमा निर्वासित गरिदिए।

त्यस्ता उदाहरणहरूबाट कन्स्टान्टिनोपोलका कुलपतिहरूले कतिबिघ्न समस्या खडा गर्नुका साथै सम्राट्‌को प्रतिरोध गर्नसक्दा रहेछन्‌ भन्‍ने कुरा देखिन्छ। सम्राट्‌ले प्रायजसो त्यस्ता मानिसहरूसित व्यवहार गर्नुपर्थ्यो, जो कुशल राजनीतिज्ञ हुनुका साथै सम्राट्‌ र तिनको सेनालाई टेरपुच्छर लाउँदैनथे।

[पृष्ठ ९-मा भएको नक्सा/चित्र]

बाइजान्टिन साम्राज्यले ओगटेको विशाल क्षेत्र

राभेना

रोम

मेसिडोनिया

कन्स्टान्टिनोपोल

कृष्ण सागर

नाइसिया

एफिसस

एन्टियोक

यरूशलेम

आलेक्जान्ड्रिया

भूमध्य सागर

[स्रोत]

Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १०, ११-मा भएका चित्रहरू]

कमेनस

रोमानस तेस्रो (बायाँ)

माइकल चौथो

साम्राज्ञी जो

रोमानस प्रथम (बायाँ)

[स्रोत]

Comnenus, Romanus III, and Michael IV: Courtesy Classical Numismatic Group, Inc.; Empress Zoe: Hagia Sophia; Romanus I: Photo courtesy Harlan J. Berk, Ltd.

[पृष्ठ १२-मा भएको चित्र]

फोशियस

[पृष्ठ १२-मा भएको चित्र]

हेराक्लियस र छोरा

[स्रोत]

Heraclius and son: Photo courtesy Harlan J. Berk, Ltd.; all design elements, pages 8-12: From the book L’Art Byzantin III Ravenne Et Pompose