सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भ्रष्ट पार्ने सबै कुराबाट अलग रहनुहोस्‌

भ्रष्ट पार्ने सबै कुराबाट अलग रहनुहोस्‌

भ्रष्ट पार्ने सबै कुराबाट अलग रहनुहोस्‌

स्वच्छ हुन खोज्नु स्वभाविकै हो तर जब परमेश्‍वरसँग हाम्रो सम्बन्धको कुरा आउँछ, यो उहाँलाई खुसी तुल्याउन अपरिहार्य छ। थुप्रै हिब्रू तथा युनानी शब्दहरूले सफा र शुद्ध अवस्थाका साथै शुद्धिकरण विधि अर्थात्‌ खोटरहित तथा निष्कलंक बनाएर अस्वच्छ, दूषित वा भ्रष्ट पार्ने कुराहरूबाट अलग राख्ने कामलाई बुझाउँछ। यी शब्दहरूले शारीरिक स्वच्छतालाई मात्र होइन, प्रायजसो नैतिक वा आध्यात्मिक स्वच्छतालाई पनि बुझाउँछ।

शारीरिक स्वच्छता

उजाडस्थानमा ४० वर्षसम्म फिरन्ते जीवन बिताउनु परे तापनि व्यक्‍तिगत आनीबानीको कारण इस्राएल राष्ट्रका मानिसहरू अरूको दाँजोमा स्वस्थ थिए। यस्तो हुनुको मुख्य कारण तिनीहरूले पालमा जीवन बिताउँदा साथै रोगहरूको निदान र उपचारमा समेत परमेश्‍वरको नियम पालन गरे। यस प्रबन्धअन्तर्गत सफा पानीको महत्त्वलाई जोड दिइएको थियो।

फरिसीहरूको आध्यात्मिक अस्वच्छता र कपट उदांग पार्नुहुँदा येशूले शारीरिक स्वच्छताको सिद्धान्तबारे पनि बताउनुभयो। तिनीहरूको कपटपूर्ण व्यवहारलाई कचौरा र थालको बाहिरपट्टि चाहिं माझिएको तर भित्र भने त्यत्तिकै छोडिएकोसँग तुलना गरियो। (मत्ती २३:२५, २६) अन्तिम निस्तार चाडको दौडान यहूदा इस्करयोती पनि उपस्थित भएको बेला आफ्ना चेलाहरूसँग कुरा गर्नुहुँदा पनि येशूले यस्तै उदाहरण चलाउनुभयो। तिनीहरूले नुहाएका र मालिकले तिनीहरूको खुट्टा धोइदिनुभएको कारण शारीरिक रूपमा “सम्पूर्ण शुद्ध” भए तापनि आध्यात्मिक तवरमा “तिमीहरू सबै शुद्ध छैनौ” भनी येशूले भन्‍नुभयो।—यूहन्‍ना १३:१-११.

सामान्य तर अशुद्ध–किन?

रजस्वला, विवाहित व्यक्‍तिहरू बीचको यौन सम्बन्ध र सुत्केरी अवस्थाजस्ता सामान्य र उचित कुराहरूलाई पनि व्यवस्थामा किन त्यसले “अशुद्ध” बनाउँछ भनियो? एउटा कुरा त, यस प्रबन्धले विवाहित जोडीहरूलाई आत्मसंयम, जननेन्द्रियप्रति उच्च सम्मान र जीवन तथा रगतप्रति आदर गर्न सिकाएर विवाहको सबैभन्दा गहिरो सम्बन्धलाई पवित्र बनायो। यस्ता नियमहरूलाई होसियारीसाथ पालन गर्दा सरसफाइको कारण हुने लाभहरूबारे अरू थुप्रैले पनि टिप्पणी गरेका छन्‌। तर यसको अर्को पक्ष पनि छ।

सुरुमा परमेश्‍वरले प्रथम पुरुष तथा स्त्रीलाई सृष्टि गर्नुहुँदा यौन इच्छा पनि राखिदिनुभएको थियो र तिनीहरूलाई सँगै बस्ने तथा बच्चाहरू जन्माउने आज्ञा दिनुभयो। त्यसैकारण, यस सिद्ध जोडीले यौन सम्बन्ध राख्नु कुनै पाप थिएन। तथापि, यौनसम्बन्धी कुरामा त होइन तर निषेध गरिएको फल खाएर आदम र हव्वा परमेश्‍वरप्रति अनाज्ञाकारी हुँदा आमूल परिवर्तनहरू भए। पापले लादिएको दोषी अन्तस्करणले अचानक तिनीहरूलाई आफ्नो नग्नताप्रति सचेत बनायो र तिनीहरूले हत्त न पत्त आफ्नो जननेन्द्रिय परमेश्‍वरसामु लुकाए। (उत्पत्ति ३:७, १०, ११) त्यस बेलादेखि पाप र मृत्युदण्डको वंशानुगत खोट आमाबाबुबाट बच्चाहरूमा सर्ने भयो र सुरुमा आज्ञा गरिएबमोजिम मानिसहरूले सिद्ध सन्तान जन्माउन सकेनन्‌। अत्यन्तै धर्मी र इश्‍वरभीरु आमाबाबुहरूले समेत पापी बच्चाहरू जन्माउँछन्‌।—भजन ५१:५.

जननेन्द्रियको कार्यसम्बन्धी नियमले पुरुष तथा स्त्रीहरूलाई आत्म-अनुशासन कायम गर्न, आवेगलाई वशमा राख्न र सन्तान जन्माउन परमेश्‍वरले प्रबन्ध गर्नुभएको माध्यमको आदर गर्न सिकायो। शरीरको सामान्य प्रक्रियाअनुरूप धातु-स्खलन भएमा पुरुष र स्त्री दुवैले वंशानुगत पापको सम्झनास्वरूप अशुद्ध हुँदा पालन गर्नुपर्ने विधि मान्‍नुपर्थ्यो। कुनै रोगको कारण असामान्य रूपमा लामो समयसम्म यस्तो भइरहेमा अझ लामो समयसम्मै अशुद्ध हुन्थ्यो; साथै बच्चा जन्माउँदा आमाले नुहाउनुको अतिरिक्‍त परमेश्‍वरको पूजाहारीले तिनको पाप प्रायश्‍चितको लागि पाप बलि पनि चढाउनुपर्थ्यो। त्यसैकारण त, आफ्नो पहिलो सन्तान जन्माएपछि, पाप प्रायश्‍चितको लागि बलि चढाएर आफू पापरहित र निर्दोष नभएको कुरा मानिलिंदै येशूकी आमाले आफ्नो वंशानुगत पाप स्वीकारिन्‌।—लूका २:२२-२४.

मसीहीहरू तथा स्वच्छता

मसीहीहरू मोशाको व्यवस्था र स्वच्छतासम्बन्धी यसका नियमहरूको अधीनमा नभए तापनि येशू यस पृथ्वीमा हुनुहुँदा यी नियम तथा प्रचलनहरू पालन गरिन्थ्यो। (यूहन्‍ना ११:५५) व्यवस्था त ‘अब आउने उत्तम कुराहरूको छाया मात्र’ थियो; ‘मूल कुरो चाहिं ख्रीष्ट हो।’ (हिब्रू १०:१; कलस्सी २:१७) त्यसकारण, शुद्धिकरणसम्बन्धी यी कुराहरूबारे पावलले यस्तो लेखे: “बोका र बाछाको रगत, र बिटुलिएको माथि छर्किने कोरलीको खरानीले शरीरको शुद्धेइँमा पवित्र तुल्याउँछ भनेता, जीवित परमेश्‍वरको सेवा गर्नालाई ख्रीष्टको रगतले तिमीहरूका विवेकलाई शक्‍तिहीन कामहरूबाट कति बढ़ता गरी शुद्ध पार्ला? जसले अनन्त आत्माद्वारा आफैलाई परमेश्‍वरकहाँ निष्खोट अर्पण गर्नुभयो।”—हिब्रू ९:१९-२३, १३, १४.

त्यसैकारण प्रभु येशू ख्रीष्टको रगतले मसीहीहरूलाई सबै पाप र अधार्मिकताबाट पखाल्छ। (१ यूहन्‍ना १:७, ९) निष्खोट, पवित्र र दागरहित, “उहाँको निम्ति सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास पवित्र जाति” बनाउनको लागि ख्रीष्टले “मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, र उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर शुद्ध पारी चोख्याउनुभयो।” (एफिसी ५:२५-२७; तीतस २:१४) त्यसैले, यस मसीही मण्डलीका सबै सदस्यहरू, ‘पुराना पापहरूको सफाइलाई बिर्सने’ हुनुहुँदैन, तर “फल फल्ने हरेक हाँगालाई झन्‌ बढ़ता फल फलोस्‌ भनी उहाँले [परमेश्‍वरले] छिंवल्नुहुन्छ” भन्‍ने सम्झेर सधैं परमेश्‍वरको आत्माका फलहरू प्रकट गरिरहरनुपर्छ।—२ पत्रुस १:५-९; यूहन्‍ना १५:२, ३.

स्वच्छताको उच्च स्तर कायम राख्नुहोस्‌

यसैकारण, मसीहीहरू “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट” अलग बस्दै शारीरिक, नैतिक र आध्यात्मिक स्वच्छताको उच्च स्तर कायम राख्नै पर्छ। (२ कोरिन्थी ७:१) ‘मानिसको भित्र पस्ने कुराले होइन, तर भित्रबाट बाहिर आउने कुराहरुले नै मानिसलाई अशुद्ध पार्छ’ भनेर येशूले भन्‍नुभएको कुरालाई ध्यानमा राख्दै, ख्रीष्टको शुद्ध तुल्याउने रगतबाट लाभ उठाउने व्यक्‍तिहरूले आध्यात्मिक स्वच्छतालाई अझ बढी जोड दिन्छन्‌। तिनीहरू परमेश्‍वरसामु “शुद्ध हृदय” र “शुद्ध विवेक” कायम गर्छन्‌। (मर्कूस ७:१५; १ तिमोथी १:५; ३:९; २ तिमोथी १:३) अशुद्ध विवेक भएका अविश्‍वासी मानिसहरूका लागि “केही कुरा पनि शुद्ध हुँदैन” तर शुद्ध विवेक भएकाहरूको लागि “सबै थोक शुद्धै छन्‌।” (तीतस १:१५) आफ्नो हृदय स्वच्छ र शुद्ध राख्न चाहनेहरूले यशैया ५२:११ मा दिइएको यो सल्लाह पालन गर्छन्‌: “अशुद्ध थोक नछोऊ! हे परमप्रभुका पात्र बोक्ने हो, . . . तिमीहरू आफैलाई शुद्ध पार।” (भजन २४:४; मत्ती ५:८) यसो गर्दा लाक्षणिक अर्थमा तिनीहरूको “हात” शुद्ध हुन्छ र परमेश्‍वरले तिनीहरूसँग शुद्ध व्यक्‍तिहरूलाई जस्तो व्यवहार गर्नुहुन्छ।—याकूब ४:८; २ शमूएल २२:२७; भजन १८:२६; दानियल ११:३५; १२:१०.

व्यवस्थाको अधीनमा नभए तापनि एक चोटि प्रेरित पावल मन्दिरमा गएर आफैलाई शुद्ध पारेर व्यवस्थाको आवश्‍यकता पूरा गरे। के पावलले गर्न नहुने काम गरिरहेका थिए? पावलले व्यवस्था र यसका नियमहरूको विरोध गरिहेका थिएनन्‌ तर यी पालन गर्नु मसीहीहरूको लागि ईश्‍वरीय आवश्‍यकता होइन भन्‍ने कुरा मात्र तिनले देखाउँदै थिए। नयाँ मसीही सच्चाइ उल्लंघन हुँदैन भने, व्यवस्थामा परमेश्‍वरले दिनुभएका आज्ञाहरू पालन गर्नुमा कुनै आपत्ति थिएन। येशू ख्रीष्टबारे सुसमाचार सुन्‍न यहूदीहरूलाई अनावश्‍यक अवरोध खडा नहोस्‌ भनेर पावलले यो कदम चाले। (प्रेरित २१:२४, २६; १ कोरिन्थी ९:२०) यी सबै कामहरू गरेर पावलले अरूहरूको मुक्‍तिप्रति चासो देखाए र यसको लागि तिनले यथासक्दो गरे। त्यसैकारण त तिनले यसो भन्‍न सके: “म सबै मानिसहरूको प्राणको निम्ति निर्दोष छु।” (प्रेरित २०:२६; १८:६) आउनुहोस्‌, हामी शारीरिक, नैतिक र आध्यात्मिक तवरमा स्वच्छ रहन कडा प्रयत्न गरौं। यसो गरेको खण्डमा हामीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछौं।