सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“शरीरमा एक किसिमको छेस्को” सहने

“शरीरमा एक किसिमको छेस्को” सहने

“शरीरमा एक किसिमको छेस्को” सहने

“मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ।”२ कोरिन्थी १२:९.

१, २. (क) परीक्षा तथा समस्याहरू आइपर्दा हामी किन अलमल्लमा पर्नुहुँदैन? (ख) परीक्षाहरू आइपर्दा हामी किन निर्धक्क हुन सक्छौं?

 “ख्रीष्ट येशूमा भक्‍तिसँग जीवन बिताउन इच्छा गर्नेहरू ता सबै जना खेदोमा पर्नेछन्‌।” (२ तिमोथी ३:१२) किन? किनभने मानिसले आफ्नो स्वार्थपूर्तिको लागि मात्र परमेश्‍वरको सेवा गर्छ भनेर शैतानले दाबी गर्छ र आफ्नो कुरा प्रमाणित गर्न त्यो लागिपरेको छ। येशूले एक चोटि आफ्ना विश्‍वासी प्रेरितहरूलाई यस्तो चेताउनी दिनुभयो: “शैतानले तिमीलाई गहुँ जस्तैगरी निफन्‍नखोज्यो।” (लूका २२:३१) कष्टदायी समस्याहरू हुन दिएर परमेश्‍वरले शैतानलाई हाम्रो परीक्षा गर्न दिनुहुन्छ भनेर येशूलाई राम्ररी थाह थियो। निस्सन्देह, त्यसको मतलब हामीले भोग्ने सबै कठिनाइ शैतान वा त्यसका प्रेतहरूले गर्दा हुन्छ भन्‍ने होइन। (उपदेशक ९:११) तर शैतानले हाम्रो निष्ठा तोड्‌न आफ्नो भए भरको शक्‍ति प्रयोग गर्छ।

बाइबलले हामीलाई परीक्षाहरू आइपर्दा अलमल्लमा पर्नुहुँदैन भनेर बताउँछ। जस्तोसुकै परीक्षा आइपरे तापनि त्यो अनौठो वा आशै नगरेको कुराचाहिं होइन। (१ पत्रुस ४:१२) साँच्चै भनौं भने, “यस संसारमा भएका [हाम्रा] दाज्यू-भाइहरूले पनि यही कष्ट भोगिरहेका छन्‌।” (१ पत्रुस ५:९) आज, शैतानले परमेश्‍वरका सबै सेवकहरूलाई अचाक्ली दबाउ दिइरहेको छ। दियाबलले हामीलाई छेस्कोरूपी समस्याहरू सकेसम्म बढी दिएर दुःख दिन खोज्छ। त्यसो गर्न त्यसले ‘हाम्रो शरीरमा भएको छेस्कोमा’ अर्को छेस्को थप्न वा त्यसलाई अझै चर्काउने बाटो खोज्छ। (२ कोरिन्थी १२:७) तैपनि, शैतानका आक्रमणहरूले हाम्रो निष्ठा तोड्‌न दिनुहुँदैन। यहोवाले हामीलाई प्रलोभनहरू सहन ‘बाटो दिनुभएझैं’ हाम्रो शरीरमा छेस्कोरूपी समस्याहरू आइपर्दा पनि उहाँले त्यसै गर्नुहुनेछ।—१ कोरिन्थी १०:१३.

छेस्को कसरी सहने

३. आफ्नो शरीरको छेस्को हटाइदिनुहोस्‌ भनी पावलले गरेको बिन्तीको यहोवाले कस्तो जवाफ दिनुभयो?

प्रेरित पावलले आफ्नो शरीरको छेस्को हटाइदिनुहोस्‌ भनी परमेश्‍वरलाई बिन्ती गरे। “यसको विषयमा यो मबाट हटोस्‌ भनेर मैले तीनपल्ट प्रभुसित बिन्ती गरें।” पावलले गरेको यस्तो व्यग्र बिन्तीको यहोवाले कस्तो जवाफ दिनुभयो? “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।” (२ कोरिन्थी १२:८, ९) आउनुहोस्‌, यस जवाफलाई केलाऔं र हामीलाई पिरोल्ने छेस्कोरूपी समस्या सहन यसले कसरी मदत गर्छ हेरौं।

४. यहोवाको अनुग्रहबाट पावलले कसरी लाभ उठाए?

याद गर्नुहोस्‌, पावलले ख्रीष्टद्वारा जुन अनुग्रह पाएका थिए, त्यसप्रति कृतज्ञ हुन परमेश्‍वरले तिनलाई प्रोत्साहन दिनुभयो। निस्सन्देह, पावलले विभिन्‍न तरिकामा थुप्रै आशिष्‌हरू पाएका थिए। तिनले येशूका अनुयायीहरूको कुनै समय घोर विरोध गरेको भए तापनि यहोवाले तिनलाई येशूको चेला हुने विशेष सुअवसर प्रदान गर्नुभयो। (प्रेरित ७:५८; ८:३; ९:१-४) यसपछि यहोवाले दया गरेर पावललाई सेवाका थुप्रै रोमाञ्चकारी अवसरहरू दिनुभयो। यसबाट हामीले सिक्न सक्ने पाठ स्पष्ट छ। एकदमै कठिन अवस्थामा समेत हामी आफूसित भएका थुप्रै आशिष्‌हरूको लागि कृतज्ञ हुन सक्छौं। परीक्षाहरू भोग्नुपर्दा समेत हामीले यहोवाको भलाइलाई कहिल्यै बिर्सनुहुँदैन।—भजन ३१:१९.

५, ६. (क) परमेश्‍वरको शक्‍ति “दुर्बलतामा सिद्ध हुन्छ” भनेर यहोवाले पावललाई कसरी सिकाउनुभयो? (ख) पावलको उदाहरणले शैतानलाई कसरी झूटो साबित गऱ्‍यो?

यहोवाको अनुग्रह अर्को तरिकामा पनि प्रशस्त छ। परीक्षाहरू सहन हामीलाई परमेश्‍वरको शक्‍ति पर्याप्त छ। (एफिसी ३:२०) ईश्‍वरीय शक्‍ति “दुर्बलतामा सिद्ध हुन्छ” भनेर यहोवाले पावललाई सिकाउनुभयो। कसरी? उहाँले मायालु ढंगमा परीक्षाहरू सहन चाहिने बल दिनुभयो। त्यसको बदलामा पावलको धीरज र यहोवामाथिको पूर्ण भरोसाले सबै मसीहीहरूसामु यस कमजोर अनि पापी मानिसमा परमेश्‍वरको शक्‍ति कसरी विजयी भयो भनेर प्रकट गऱ्‍यो। अब दियाबलमाथि त्यसको कस्तो प्रभाव पऱ्‍यो होला, विचार गर्नुहोस्‌ किनभने त्यसले सबै कुरा मिलेको अनि सुविधा भएको बेला मात्र मानिसहरूले परमेश्‍वरको सेवा गर्छन्‌ भनी दाबी गरेको थियो। पावलको निष्ठा, त्यस विरोधीको गालामा मुक्का हानेझैं भयो!

परमेश्‍वर विरुद्धको लडन्तमा शैतानको पुरानो सहयोगी पावल, जो पहिला मसीहीहरूलाई सताउने निर्दयी व्यक्‍ति थिए, तिनी उच्च घरानामा जन्मिएका हुँदा जोसिलो फरिसीको हैसियतमा तिनले कुनै समय निकै सुखविलासको आनन्द उठाएका थिए। पावलले अहिले “प्रेरितहरूमध्ये . . . सबैभन्दा सानो[को]” हैसियतमा यहोवा र ख्रीष्टको सेवा गर्दै थिए। (१ कोरिन्थी १५:९) यस प्रकार तिनी प्रथम शताब्दीको मसीही परिचालक निकायको अख्तियारको अधीनमा बसिरहेका थिए। अनि तिनले विश्‍वासीपूर्वक आफ्नो शरीरको छेस्को सहे। यसो हुँदा शैतान रिसले चूर भए तर जीवनमा आइपरेका परीक्षाहरूको कारण पावलको जोस भने अलिकति पनि कम भएन। पावलले आफू ख्रीष्टको स्वर्गमा स्थापित राज्यको हकदार हुनेछु भन्‍ने आशा कहिल्यै गुमाएनन्‌। (२ तिमोथी २:१२; ४:१८) तथापि, जस्तोसुकै छेस्कोले पनि तिनको जोस दबाउन सकेन। हाम्रो जोस पनि त्यसरी नै बलियो रहिरहोस्‌! हामीलाई परीक्षाहरू सहने बल दिनुभएर यहोवाले हामीलाई, शैतानलाई झूटो साबित गर्ने ठूलो सुअवसर प्रदान गर्नुहुन्छ।—हितोपदेश २७:११.

यहोवाका प्रबन्धहरू अत्यावश्‍यक छन्‌

७, ८. (क) अहिले यहोवाले आफ्ना सेवकहरूलाई कसरी बल प्रदान गर्नुहुन्छ? (ख) हाम्रो शरीरको छेस्को सहन दिनहुँ बाइबल पढ्‌नु र अध्ययन गर्नु किन अत्यावश्‍यक छ?

आज, यहोवाले विश्‍वासी मसीहीहरूलाई उहाँको पवित्र आत्मा, उहाँको वचन र हाम्रो मसीही भ्रातृत्वद्वारा सुदृढ पार्नुहुन्छ। प्रेरित पावलले जस्तै हामी पनि प्रार्थनाद्वारा यहोवामाथि आफ्नो भारी बिसाउन सक्छौं। (भजन ५५:२२) परमेश्‍वरले हाम्रा परीक्षाहरू नहटाउनुभए तापनि उहाँले हामीलाई अत्यन्तै कठिन परीक्षाहरू आइपर्दा समेत सहन बुद्धि प्रदान गर्न सक्नुहुन्छ। यहोवाले हामीलाई “असामान्य शक्‍ति” प्रदान गर्नुभएर सहने बल पनि दिन सक्नुहुन्छ।—२ कोरिन्थी ४:७, NW.

हामी त्यस्तो मदत कसरी पाउँछौं? हामीले लगनशील भएर परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ किनभने त्यसमा हामी उहाँले प्रदान गर्नुहुने हृदयस्पर्शी सान्त्वना पाउनेछौं। (भजन ९४:१९) बाइबलमा हामी परमेश्‍वरका सेवकहरूले उहाँको मदत मागेको हृदयस्पर्शी विवरणहरू पाउँछौं। यहोवाले प्रायजसो सान्त्वनादायी शब्दहरूमा जवाफ दिनुहुन्छ र यसमा हामी मनन गर्न सक्छौं। यसरी परमेश्‍वरको वचन अध्ययन गर्दा “हामीले पाउने असामान्य शक्‍ति परमेश्‍वरको हुनेछ र हाम्रो आफ्नै होइन।” पोषण र बलको लागि हामीले दिनहुँ खाना खानु आवश्‍यक भएझैं परमेश्‍वरको वचनबाट पनि हामीले नियमित तवरमा आहारा लिनुपर्छ। के हामी यसो गर्छौं? गर्छौं भने, “असामान्य शक्‍ति” प्राप्त गर्दा हामीले जस्तोसुकै लाक्षणिक छेस्कोहरू पनि सहन सक्नेछौं।

९. समस्या भोगिरहेकाहरूलाई प्राचीनहरूले कसरी मदत गर्न सक्छन्‌?

ईश्‍वरभीरु मसीही प्राचीनहरू संकटरूपी “बतासबाट लुक्ने ठाउँ” अनि समस्याहरूको “आँधी-बेह्रीबाट आड लिने ठाउँ” हुन सक्छन्‌। यस्तो प्रेरित वचनअनुरूप हुन चाहने प्राचीनहरूले यहोवासित “सिक्नेहरूको बोली” माग्छन्‌ ताकि तिनीहरूले दुःखकष्ट भोगिरहेकाहरूलाई सही जवाफ दिन सक्नेछन्‌। प्राचीनका शब्दहरू जीवनका संकष्टमय क्षणहरूमा शीतल अनि शान्त पार्ने सिमसिमे पानीजस्तो हुन सक्छ। “हरेस खानेलाई दिलाशा” दिएर प्राचीनहरूले शरीरमा एक किसिमको छेस्कोको कारण हैरान वा दिक्क भएका आध्यात्मिक भाइबहिनीहरूलाई साँच्चै सहयोग गर्न सक्छन्‌।—यशैया ३२:२; ५०:४; १ थिस्सलोनिकी ५:१४.

१०, ११. अत्यन्तै कठिन परीक्षाहरू भोगिरहेका व्यक्‍तिहरूलाई परमेश्‍वरका सेवकहरूले कसरी प्रोत्साहन दिन सक्छन्‌?

१० यहोवाका सबै सेवकहरू एकताबद्ध मसीही परिवारका भाग हुन्‌। हो, हामी “भिन्‍नाभिन्‍नै एक दोस्राका अंग हौं” र “हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ।” (रोमी १२:५; १ यूहन्‍ना ४:११) हामी यो दायित्व कसरी पूरा गर्छौं? पहिलो पत्रुस ३:८ अनुसार एउटै विश्‍वास भएकाहरूप्रति “सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” भएर। शरीरमा एक किसिमको छेस्को भोगिरहेका व्यक्‍तिहरू जवान होस्‌ या वृद्ध, हामी सबैले तिनीहरूप्रति विशेष चासो देखाउन सक्छौं। कसरी?

११ हामीले अरूका दुःखकष्टहरूप्रति संवेदनशील हुने प्रयास गर्नुपर्छ। हामी कठोर, निष्ठूर वा बेमतलबी छौं भने, आफूले चालै नपाई तिनीहरूको दुःखकष्टलाई चर्काइरहेका हुनेछौं। तिनीहरूका समस्याहरूबारे सजग हुँदा त्यसले हामीलाई हामी के बोल्छौं, कसरी भन्छौं र कस्तो व्यवहार गर्छौं भन्‍ने विषयमा होसियार हुन उत्प्रेरित गर्छ। हाम्रो आशावादी तथा प्रोत्साहनदायी मनोभावले पनि तिनीहरूलाई आफूले सहिरहनुपरेको छेस्कोको पीडा जतिसुकै तीव्र भए तापनि केही हदसम्म कम गर्न मदत गर्छ। यसो गर्दा हामीले तिनीहरूलाई बल प्रदान गरिरहेका हुन्छौं।—कलस्सी ४:११.

समस्याहरू सहन कोही-कोही कसरी सफल भएका छन्‌

१२-१४. (क) एउटी मसीहीले क्यान्सरको सामना गर्न के गरिन्‌? (ख) यस महिलाका आध्यात्मिक भाइ तथा बहिनीहरूले तिनलाई कसरी सहयोग तथा प्रोत्साहन दिए?

१२ यस आखिरी दिनको अन्त जति-जति नजिकिंदै गइरहेको छ त्यति नै “कष्ट” पनि दिनदिनै बढिरहेको छ। (मत्ती २४:८) तसर्थ, परीक्षाहरूले पृथ्वीमा भएका सबैलाई पिरोल्छन्‌ र अझ विशेष गरी यहोवाका विश्‍वासी सेवकहरूलाई, जसले उहाँको इच्छा पूरा गर्ने हर प्रयास गरिरहेका छन्‌। उदाहरणका लागि, पूर्ण-समय सेवकाई गरिरहेकी एउटी मसीहीलाई विचार गर्नुहोस्‌। तिनलाई क्यान्सर भएको निदान गरियो र तिनको ऱ्‍याल तथा लिम्फ ग्रन्थी शल्यक्रिया गरेर निकाल्नुपर्ने भयो। तिनी र तिनको पतिले यो रोग लागेको कुरा थाह पाउने बित्तिकै तिनीहरूले यहोवालाई पुकार्दै लामो, व्यग्र प्रार्थना गरे। यसो गर्दा असाधारण शान्ति महसुस गरेको कुरा तिनले पछि बताइन्‌। तैपनि, तिनले आफ्नो उपचारको दौडान प्रतिकूल असरहरूका थुप्रै उतारचढाउहरू सहिन्‌।

१३ आफ्नो अवस्थालाई ध्यानमा राख्दै यस बहिनीले क्यान्सरबारे थुप्रै कुराहरू बुझ्ने प्रयास गरिन्‌। तिनले आफ्ना चिकित्सकहरूको सरसल्लाह पनि लिइन्‌। प्रहरीधरहरा, ब्यूँझनुहोस्‌! तथा अन्य मसीही प्रकाशनहरूमा तिनले यस्तो प्रकारको रोग भावनात्मक रूपमा सहेका थुप्रै व्यक्‍तिहरूको जीवनी पढिन्‌। साथै कठिनाइहरू आइपर्दा यहोवाले कसरी सम्हाल्नुहुन्छ भन्‍ने बाइबल आधारित पद्यांश तथा अन्य महत्त्वपूर्ण जानकारीहरू पनि पढिन्‌।

१४ नैराश्‍यको सामना कसरी गर्ने भन्‍ने विषयक एउटा लेखमा यी बुद्धिमानी शब्दहरू थिए: “अलग्गै बस्ने मानिसले . . . सबै किसिमको बहाना गर्छ।” (हितोपदेश १८:१) त्यसकारण उक्‍त लेखमा यस्तो सल्लाह दिइएको थियो: “एकलकाँटे नहुनुहोस्‌।” a उक्‍त बहिनी यसो भन्छिन्‌: “थुप्रैले मलाई मेरोलागि उनीहरूले प्रार्थना गरिरहेको कुरा बताए भने अरू कतिपयले चाहिं मलाई फोन गरे। दुई जना प्राचीनले नियमित तवरमा मलाई फोन गरेर मेरो हालखबर बुझ्नुहुन्थ्यो। मैले फूलका थुंगा र थुप्रै कार्डहरू पाएँ। कतिपयले खाना पकाइदिए। साथै, थुप्रैले मलाई उपचारको लागि जान आउने प्रबन्ध मिलाइदिए।”

१५-१७. (क) दुर्घटनाको कारण भएको कठिनाइलाई एउटी मसीही बहिनीले कसरी सहिन्‌? (ख) मण्डलीका सदस्यहरूले कस्तो सहयोग दिए?

१५ यहोवाको सेवामा लामो समय बिताइसकेकी संयुक्‍त राज्य अमेरिकाको न्यु मेक्सिकोकी बहिनी दुई पटक गम्भीर सवारी दुर्घटनामा परिन्‌। तिनको घाँटी र कुममा चोट लाग्यो र तिनी बाथको रोगी भएको २५ वर्ष भइसकेको हुँदा तिनको अवस्था झनै जटिल भयो। तिनी यसो भन्छिन्‌: “मलाई टाउको ठाडो राख्न र दुई किलोग्रामभन्दा गह्रौं भारी बोक्न साह्रै गाह्रो हुन्थ्यो। तर यहोवालाई व्यग्र प्रार्थना गर्दा उहाँले मलाई सम्हाल्नुभयो। साथै, हामीले अध्ययन गरेका प्रहरीधरहरा-का लेखहरूले पनि मलाई ढाडस दियो। एउटा लेखमा मीका ६:८ बारे टिप्पणी गरिएको थियो र परमेश्‍वरसित हिंड्‌दा विनयी हुनु भनेको आफ्ना सीमितताहरू बुझ्नु हो भनेर बताइएको थियो। यसो हुँदा आफ्नो अवस्थाको कारण सेवकाईमा आफूले चाहेजति समय बिताउन नसक्दासमेत निराश हुनुहुँदैन भनेर मैले बुझ्न सकें। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको निष्कपट मनसाय राखेर उहाँको सेवा गर्नु हो।”

१६ तिनी यसो पनि भन्छिन्‌: “सभाहरू धाउन तथा क्षेत्र सेवकाईमा जान मैले गरेको प्रयासलाई प्राचीनहरूले सधैं सराहना गर्नुहुन्थ्यो। केटाकेटीले मलाई अंकमाल गरेर अभिवादन गर्थे। अग्रगामी सेवकहरू मसित कहिल्यै झिजो मान्दैनथे र मेरो अवस्था राम्रो नहुँदा सेवकाईमा जान तिनीहरूले अर्कै केही प्रबन्ध मिलाउँथे। मौसम खराब हुँदा उनीहरूले मलाई पुनःभेटमा लैजान्थे वा उनीहरूको बाइबल अध्ययनमा बस्न निम्तो दिन्थे। अनि मैले आफ्नो झोला बोक्न नसक्ने हुँदा प्रचारमा जाँदा अरू प्रकाशकहरूले मेरा प्रकाशनहरू उनीहरूकै झोलामा हालेर बोकिदिन्थे।”

१७ यी दुई जना बहिनीहरूलाई छेस्कोरूपी रोगहरू सहन मण्डलीका प्राचीन तथा सँगी विश्‍वासीहरूले कसरी मदत गरे, ध्यान दिनुहोस्‌। तिनीहरूको आध्यात्मिक, शारीरिक तथा भावनात्मक आवश्‍यकता पूरा गर्न तिनीहरूले व्यावहारिक तथा मायालु सहयोग दिन्थे। के यसले तपाईंलाई समस्याहरू भोगिरहेका भाइबहिनीहरूलाई सहयोग गर्न प्रोत्साहित गर्दैन र? तपाईं जवानहरूले पनि शरीरमा एक किसिमको छेस्को सहिरहेका मण्डलीका भाइबहिनीहरूलाई मदत गर्न सक्नुहुन्छ।—हितोपदेश २०:२९.

१८. प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकामा प्रकाशित जीवनीहरूबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं?

१८ प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरूले साक्षीहरूको थुप्रै जीवनी तथा अनुभवहरू प्रकाशित गरेका छन्‌, जसले जीवनमा समस्याहरू सहे र अझै सहिरहेका छन्‌। तपाईंले यस्ता लेखहरू नियमित तवरमा पढ्‌नुहुँदा संसारभरि छरिएर रहेका तपाईंका आध्यात्मिक भाइबहिनीहरूले आर्थिक कठिनाइ, दुर्घटनामा आफ्ना प्रिय जनको मृत्यु वा युद्धको भयानक अवस्था भोगिरहेका छन्‌ भनेर तपाईंले थाह पाउनुहुनेछ। अरू कतिपयले भने आफूलाई अपांग बनाउने रोगहरू सहिरहेका छन्‌। स्वस्थ मानिसले विचारै नगर्ने सानातिना कुराहरूसमेत थुप्रैले गर्नै सक्दैनन्‌। तिनीहरूले भोग्ने रोगहरूले ठूलो परीक्षा खडा गर्छ र विशेष गरी मसीही गतिविधिहरूमा आफूले चाहेजस्तो भाग लिन नपाउँदा झनै असह्‍य हुन्छ। आफ्ना भाइबहिनीहरू, जवान होस्‌ या वृद्ध, तिनीहरूले प्रदान गर्ने मदत र सहयोगको तिनीहरूले गहिरो मूल्यांकन गर्छन्‌!

धैर्य धारण गर्दा आनन्द प्राप्त हुन्छ

१९. छेस्कोरूपी परीक्षा तथा कमजोरीहरूको बावजूद पावल किन रमाउन सके?

१९ आफूलाई परमेश्‍वरले बल दिनुभएको महसुस गर्दा पावल रमाए। तिनले यसो भने: “ख्रीष्टको शक्‍ति ममा बास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु। यसकारण ख्रीष्टको निम्ति दुर्बलताहरूमा, हानिहरूमा, दरकारहरूमा, खेदोहरूमा, आपत्‌हरूमा म खुशी हुन्छु, किनभने दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।” (२ कोरिन्थी १२:९, १०) आफ्नो व्यक्‍तिगत अनुभवले गर्दा पावलले निर्धक्क भई यसो भन्‍न सके: “खाँचो परेर ता मैले भनेको होइन, किनभने जुनसुकै परिस्थितिमा म भएँ पनि त्यसैमा सन्तुष्ट रहन मैले सिकेको छु। म घट्‌न पनि जान्दछु, बढ्‌न पनि जान्दछु। हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु। जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:११-१३.

२०, २१. (क) “नदेखिने कुरा[मा]” मनन गर्दा हामी किन रमाउन सक्छौं? (ख) पार्थिव प्रमोदवनमा तपाईंले आशा गर्न सक्नुहुने केही “नदेखिने कुराहरू” के हुन्‌?

२० त्यसैकारण, हाम्रो शरीरमा आइपर्ने जस्तोसुकै लाक्षणिक छेस्को सहेर हाम्रो दुर्बलतामा यहोवाको शक्‍ति सिद्ध हुन्छ भन्‍ने कुरा सबैलाई देखाएर हामी पनि ठूलो आनन्द प्राप्त गर्न सक्छौं। पावलले यस्तो लेखे: “हामी हरेस खाँदैनौं, . . . हाम्रो भित्री मनुष्यत्वचाहिं दिनदिनै नयाँ हुँदै आएको हुन्छ। किनभने हाम्रो छिनभरको हलुका कष्टले हाम्रो निम्ति झन्‌ बढ़ता गरेर महिमाको अनन्त बोझ उत्पन्‍न गरिदिन्छ। हामी . . . नदेखिने कुरालाई हेर्दैरहन्छौं, किनभने . . . नदेखिने कुराचाहिं अनन्त हुन्‌।”—२ कोरिन्थी ४:१६-१८.

२१ आज यहोवाका अधिकांश जनहरू पार्थिव प्रमोदवनमा बाँच्ने र उहाँले प्रतिज्ञा गर्नुभएका आशिष्‌हरू पाउने आशा राख्छन्‌। आज हामीलाई त्यस्ता आशिष्‌हरू “नदेखिने कुरा” जस्तो लाग्न सक्छ। तथापि, ती आशिष्‌हरू हाम्रो आफ्नै आँखाले हेर्न पाउने र अनन्तसम्म आनन्द उठाउन सक्ने समय नजिकै छ। एउटा आशिष्‌ भनेको छेस्कोरूपी कुनै पनि समस्या सहनु नपर्ने अवस्था हुनेछ! परमेश्‍वरको पुत्रले “शैतानका कामहरू नष्ट” पार्नुहुनेछ र “मृत्युका सामर्थ्य भएको” शैतानलाई “रद्दी” पार्नुहुनेछ।—१ यूहन्‍ना ३:८; हिब्रू २:१४.

२२. हामीसित कस्तो विश्‍वास र संकल्प हुनुपर्छ?

२२ तसर्थ, आज हामीलाई दुःख दिइरहने जस्तोसुकै छेस्को भए तापनि हामी त्यसलाई सहिरहौं। पावलले जस्तै हामीले पनि हामीलाई शक्‍ति दिनुहुने यहोवाको सामर्थ्यमा सहिरहने बल प्राप्त गर्नेछौं। हामीले पार्थिव प्रमोदवनमा जीवन बिताउँदा, यहोवा परमेश्‍वरले हाम्रो खातिर गर्नुभएका सबै अद्‌भुत कार्यहरूका लागि हामी उहाँलाई धन्यका भनिरहेका हुनेछौं।—भजन १०३:२.

[फुटनोट]

a ब्यूँझनुहोस्‌! जून ८, २००० को अंकमा “बाइबलको दृष्टिकोण: नैराश्‍यसित कसरी डट्‌ने” भन्‍ने लेख हेर्नुहोस्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

दियाबलले साँचो मसीहीहरूको निष्ठा किन र कसरी भंग गर्न खोज्छ?

यहोवाको शक्‍ति कसरी “दुर्बलतामा सिद्ध” बनाइन्छ?

समस्याले गर्दा पीडा भोगिरहेकाहरूलाई प्राचीन तथा अरूले कसरी प्रोत्साहन दिन सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

आफ्नो शरीरको छेस्को हटाइदिनुहोस्‌ भनी पावलले परमेश्‍वरलाई तीन चोटि प्रार्थना गरे