सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन त्यो पुरातन संसार विनाश भयो?

किन त्यो पुरातन संसार विनाश भयो?

किन त्यो पुरातन संसार विनाश भयो?

विश्‍वव्यापी जलप्रलय प्राकृतिक प्रकोप थिएन। यो परमेश्‍वरले ल्याउनुभएको न्यायदण्ड थियो। चेताउनी दिइएको थियो तर धेरैले बेवास्ता गरे। किन? येशू यसो भन्‍नुभयो: “जलप्रलयका अघाड़िका दिनमा नूह जहाजमा नपसेका दिनसम्म, मानिसहरू खाइरहेका, र पिइरहेका र विवाह-बारी गरिरहेका थिए, औ जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।”मत्ती २४:३८, ३९.

विकसित सभ्यता

केही पक्षमा जलप्रलयअघिका सभ्यता अहिलेको भन्दा राम्रो थियो। उदाहरणका लागि, सबै मानिसले एउटै भाषा बोल्थे। (उत्पत्ति ११:१) विविध क्षमता भएका मानिसहरूको सामूहिक प्रयास चाहिने कला र विज्ञानको क्षेत्रमा यसले राम्रो नतिजा ल्याएको हुन सक्छ। साथै, मानिसहरूको आयु लामो भएको कारण तिनीहरूले शताब्दीयौंको दौडान सिकेका कुरालाई अझ विकास गर्दै लैजान सक्थे।

त्यतिबेला मानिसहरूको आयु लामो थिएन र बाइबलमा उल्लेख गरिएका वर्षहरू वास्तवमा महिनाहरू थिए भनी कसै-कसैले दाबी गर्छन्‌। के त्यो साँचो हो? उदाहरणका लागि, महलेललाई लिनुहोस्‌। बाइबलमा यसो भनिएको छ: “महलेलको उमेर पैसट्ठी वर्षको हुँदा तिनले येरेदलाई जन्माए। . . . यसरी महलेलको जम्मा उमेर आठ सय पन्चानब्बे वर्ष भएको थियो।” (उत्पत्ति ५:१५-१७) वर्ष भनेको साँच्चै महिना हुँदो हो त, महलेलले पाँच वर्षको उमेरमा छोरा जन्माएको हुनुपर्छ! अहँ, त्यस्तो हुनै सक्दैन, त्यतिबेलाका मानिसहरूको जीवनशक्‍ति प्रथम मानव आदमकै हाराहारीमा थियो। तिनीहरू शताब्दीयौंसम्म बाँच्थे। तिनीहरूले के हासिल गरे त?

जलप्रलयभन्दा निकै शताब्दीअघि पृथ्वीको जनसंख्यामा यस्तो वृद्धि भएको थियो कि आदमको छोरा कयिनले एउटा शहर बसाले र त्यसको नाउँ हनोक राखे। (उत्पत्ति ४:१७) जलप्रलयअघिको समयमा विभिन्‍न उद्योगहरूको विकास भयो। ‘पीतल र फलामका सबै हतियारहरूको’ निम्ति ज्यासलहरू थिए। (उत्पत्ति ४:२२) निस्सन्देह, यी साधनहरू निर्माण, सिकर्मी, सिलाइ र कृषि कार्यमा प्रयोग गरिन्थ्यो। पृथ्वीको सुरुका बासिन्दाहरूबारे बाइबल विवरणमा यी सबै व्यवसायहरूबारे उल्लेख गरिएका छन्‌।

पुस्तौंको दौडान बढ्‌दै गएको ज्ञानले गर्दा धातुविज्ञान, बालीविज्ञान, पशुपालन, लेखन र ललित कलाजस्ता क्षेत्रहरूमा विकास गर्न सम्भव भएको हुनुपर्छ। उदाहरणका लागि, यूबाल “वीणा र बाँसुरी बजाउनेहरू सबैका पित्र थिए।” (उत्पत्ति ४:२१) सभ्यताको व्यापक विकास भएको थियो। यद्यपि, अचानक सबै कुरा ठप्प रोकियो। के भयो?

समस्या के थियो?

थुप्रै राम्रा पक्षहरूको बावजूद जलप्रलयअघिको समाजको सुरुआत खराब भयो। यसका संस्थापक आदमले परमेश्‍वरको विद्रोह गरे। लिपिबद्ध पहिलो शहरको संस्थापक कयिनले आफ्नै भाइको हत्या गरे। अतः दुष्टता दिन दुगुणा रात चौगुणा हुनुको कारण बुझ्न सक्छौं! आदमले आफ्ना सन्तानहरूको निम्ति छोडेको खोटपूर्ण नासोमा एकपछि अर्को खराब कुरा थपिंदै गयो।—रोमी ५:१२.

यहोवाले थप १२० वर्षको निम्ति त्यस्तो अवस्था रहन दिने निर्णय गर्नुहुँदा सम्भवतः परिस्थिति चरम बिन्दुमा पुग्न लागेको थियो। (उत्पत्ति ६:३) बाइबल यसो भन्छ: “पृथ्वीमा मानिसहरूको दुष्टता बढ़ी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको . . . पृथ्वी . . . उपद्रवले भरिएको थियो।”—उत्पत्ति ६:५, ११.

अन्ततः परमेश्‍वरले सबै प्राणीको अन्त्य गर्न जलप्रलय ल्याउने कुरा नूहलाई स्पष्टसित बताउनुभयो। (उत्पत्ति ६:१३, १७) नूह “धर्मका प्रचारक” भए तापनि त्यतिबेलाका मानिसहरूलाई आफू वरपरको संसार नाश हुन लागेको कुरा पत्याउन गाह्रो भयो। (२ पत्रुस २:५) आठ जना मानिसले मात्र चेताउनी सुने र तिनीहरू बचे। (१ पत्रुस ३:२०) आज हाम्रोलागि यो किन महत्त्वपूर्ण छ?

हाम्रोलागि यसले के महत्त्व राख्छ?

आज हाम्रो समय र नूहको समय मिल्दोजुल्दो छ। हामी दिनहुँजसो आतंक, नरसंहार, कुनै स्पष्ट मनसायविना नै बन्दुकधारीहरूद्वारा आमहत्या र घरायसी हिंसाका डरलाग्दा घटनाहरू सुन्‍ने गर्छौं। पृथ्वी पुनः उपद्रवले भरिएको छ र पहिलाजस्तै संसारले न्यायदण्डबारे चेताउनी पाएको छ। परमेश्‍वरको नियुक्‍त न्यायकर्ताको रूपमा आएर गोठालाले भेडा र बाख्रा छुट्याएझैं मानिसहरूलाई छुट्याउनेछु भनी येशू आफैले भन्‍नुभएको छ। अयोग्य ठहरिनेहरूले “अनन्त दण्ड” पाउनेछन्‌ भनी येशूले भन्‍नुभयो। (मत्ती २५:३१-३३, ४६) तथापि, यसपालि भने लाखौं मानिसहरू बच्नेछन्‌ अर्थात्‌ एक मात्र साँचो परमेश्‍वरलाई उपासना गर्ने एउटा ठूलो भीड बच्नेछ। त्यस संसारमा तिनीहरूले पहिला कहिल्यै अनुभव नगरेको अनन्त शान्ति अनि सुरक्षाको आनन्द उठाउनेछन्‌।—मीका ४:३, ४; प्रकाश ७:९-१७.

थुप्रैले त्यस्ता बाइबलीय भनाइ तथा न्यायदण्डबारे चेताउनीहरूलाई खिल्लीमा उडाउँछन्‌ तर त्यस्ता भनाइहरू साँचो साबित हुनेछन्‌। त्यस्ता आलोचकहरूले तथ्य कुराहरूलाई बेवास्ता गरिरहेका छन्‌ भनी प्रेरित पत्रुसले बताए। तिनले यस्तो लेखे: “पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, . . . यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो?’ . . . किनकि परमेश्‍वरका वचनबाट स्वर्गहरू अघिदेखिनै थिए, र पृथ्वीचाहिं पानीबाट र पानीलेनै बनिएको हो भन्‍ने तिनीहरूले जानीबुझीकन पनि बिर्से, यसैबाट त्यस समयको संसार जलमय भएर नष्ट भएको थियो, तर अहिलेको आकाशहरू र पृथ्वीचाहिं त्यही वचनले, भक्‍तिहीन मानिसको इन्साफ र विनाशको दिनसम्म छुट्टयाई आगोको निम्ति साँचेर राखिएका छन्‌।”—२ पत्रुस ३:३-७.

येशूको भविष्यसूचक आज्ञा पालन गर्दै विश्‍वभरि आउन लागेको न्यायदण्ड र त्यसपछि हुने शान्तिको सुसमाचारबारे आज जोसका साथ प्रचार भइरहेको छ। (मत्ती २४:१४) यस चेताउनीलाई कहिल्यै हल्कासित लिनुहुँदैन। सर्वोच्च परमेश्‍वरले आफ्नो वचन अवश्‍य पूरा गर्नुहुन्छ।

आउन लागेको संसार

हुन लागेको आमूल परिवर्तनलाई विचार गर्दा मानिसजातिको भविष्य कस्तो हुनेछ? डाँडाको प्रख्यात उपदेशको सुरुमा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” त्यसपछि उहाँले आफ्ना प्रेरितहरूलाई परमेश्‍वरसँग यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ५:५; ६:१०) हो, विश्‍वासी मानिसजातिको लागि यसै पृथ्वीमा अत्यन्तै राम्रो भविष्य छ भनी येशू स्वयम्‌ले सिकाउनुभयो। उहाँले यसलाई “नयाँ सृष्टि” भनी संकेत गर्नुभयो।—मत्ती १९:२८.

त्यसकारण जसै तपाईं भविष्यबारे विचार गर्नुहुन्छ, गिल्ला गर्नेहरूको कारण परमेश्‍वरको चेताउनीमा शंका नगर्नुहोस्‌। हो, आफू वरपरको संसार स्थायी देखिनुका साथै यसको इतिहास धेरै पुरानो छ जस्तो लाग्न सक्छ। तैपनि, हामीले यसमा आफ्नो भरोसा राख्नु हुँदैन। मानव संसारको न्याय गरिएको छ। अतः प्रेरित पत्रुसको पत्रमा उल्लिखित प्रार्थनाको सारांशलाई हृदयंगम गर्नुहोस्‌:

“यी सबै कुराहरू यसरी पग्लन्छ भन्‍ने देखेर सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर, . . . यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरू प्रभुको दृष्टिमा निष्खोट र निष्कलंक ठहरिनालाई प्रयत्न गर। . . . हाम्रा प्रभु र मुक्‍तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्‌दै जाओ।” (२ पत्रुस ३:११, १२, १४, १८) यसर्थ, नूहको दिनमा घटेका घटनाहरूबाट पाठ सिक्नुहोस्‌। परमेश्‍वरसँग घनिष्ठ हुनुहोस्‌। येशू ख्रीष्टको ज्ञानमा बढ्‌नुहोस्‌। ईश्‍वरीय भक्‍ति खेती गर्नुहोस्‌ र आउन लागेको शान्तिमय संसारमा बाँच्न छनौट गर्ने लाखौंहरूमध्ये हुनुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

जलप्रलयअघि देखि नै फलामको काम गरिन्थ्यो

[पृष्ठ ७-मा भएको चित्र]

सुन्दर भविष्य नजिकै छ