सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सत्य तपाईंको लागि कत्तिको अनमोल छ?

सत्य तपाईंको लागि कत्तिको अनमोल छ?

सत्य तपाईंको लागि कत्तिको अनमोल छ?

“तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्‍ना ८:३२.

१. पिलातस र येशूले कसरी “सत्य” शब्दलाई बेग्लाबेग्लै ढंगमा प्रयोग गरे?

 “सत्य के हो?” पिलातसले यस्तो प्रश्‍न गर्दा तिनले सामान्य अर्थमा मात्र सत्यबारे जान्‍न चाहेको हुन सक्छ। अर्कोतर्फ येशूले भर्खरै यसो भन्‍नुभएको थियो: “त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७, ३८) पिलातसले जस्तो नभई येशूले ईश्‍वरीय सत्यलाई संकेत गर्दै हुनुहुन्थ्यो।

सत्यप्रति संसारको मनोवृत्ति

२. येशूको कुन भनाइबाट सत्यको महत्त्व प्रस्ट हुन्छ?

पावलले यसो भने: “सबैमा विश्‍वास छैन।” (२ थिस्सलोनिकी ३:२) सत्यबारे पनि त्यसै भन्‍न सकिन्छ। बाइबलमा आधारित सत्य थाह पाउने सुअवसर दिंदासमेत थुप्रै मानिसहरूले त्यसलाई जानाजानी बेवास्ता गर्छन्‌। यद्यपि, यो कत्ति अनमोल छ! येशूले यसो भन्‍नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्‍ना ८:३२.

३. छली शिक्षाहरूको सन्दर्भमा हामीले कस्तो चेताउनी सुन्‍नुपर्छ?

मानव दर्शन तथा परम्पराहरूमा सत्य पाइँदैन भनेर प्रेरित पावलले बताए। (कलस्सी २:८) साँच्चै, त्यस्ता शिक्षाहरू छलीपूर्ण हुन्छन्‌। पावलले एफिसीका मसीहीहरूलाई मानव दर्शन तथा परम्पराहरूमा विश्‍वास राखेको खण्डमा तिनीहरू “भ्रमको धूर्त कारवाईहरूअनुसार छलमा मानिसहरूको धूर्तताले सिद्धान्तको प्रत्येक बतासबाट ओल्ट्याङ-पल्ट्याङ पारिएर यताउता हुर्रिने” आध्यात्मिक बालकजस्तै हुनेछन्‌ भनी चेताउनी दिए। (एफिसी ४:१४) आज, ईश्‍वरीय सत्यका विरोधीहरूले अफवाहहरू फैलाएर “धूर्त कारवाईहरू” प्रवर्धन गर्छन्‌। द न्यु इनसाइक्लोपीडिया ब्रिटानिका-मा “अफवाह” भनेको “अरू मानिसहरूको विश्‍वास, मनोवृत्ति वा कार्यहरूबारे मिलाएर प्रचारप्रसार गर्नु हो” भनी परिभाषित गरिएको छ। त्यस्ता अफवाहहरूले चतुऱ्‍याइँपूर्वक सत्यलाई झूटमा बंग्याउँछ र झूटलाई सत्य कुराको रूपमा प्रवर्धन गर्छ। त्यस्तो छली दबाउको बावजूद सत्य थाह पाउन हामीले लगनशील भई धर्मशास्त्र जाँच्नुपर्छ।

मसीहीहरू तथा संसार

४. सत्य क-कसका लागि उपलब्ध छ र त्यो पाउनेहरूको दायित्व के हो?

आफ्ना चेला भइसकेकाहरूलाई संकेत गर्दै येशू ख्रीष्टले यहोवालाई यस्तो प्रार्थना गर्नुभयो: “सत्यले तिनीहरूलाई पवित्र गर्नुहोस्‌, तपाईंको वचन सत्य हो।” (यूहन्‍ना १७:१७) यहोवाको सेवा गर्न र उहाँको नाउँ तथा राज्यबारे बताउन त्यस्ताहरूलाई पवित्र वा अलग गरिन्छ। (मत्ती ६:९, १०; २४:१४) सबै मानिसले सत्य नस्वीकारे तापनि यहोवाको सत्य खोज्ने मानिसहरूको राष्ट्रियता, जात वा सांस्कृतिक पृष्ठभूमि जस्तोसुकै भए तापनि यो सबैका लागि उपलब्ध निश्‍शुल्क वरदान हो। प्रेरित पत्रुसले यसबारे यसो भने: “परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

५. मसीहीहरूलाई किन अक्सर सताइन्छ?

मसीहीहरूले अरूलाई बाइबलको सत्य कुरा बताउँछन्‌ तर सबैले त्यसलाई स्वीकार्दैनन्‌। येशूले यस्तो चेताउनी दिनुभयो: “तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) यस पदमा टिप्पणी गर्दै आइरल्याण्डका पादरी जोन आर. केटरले सन्‌ १८१७ मा यस्तो लेखे: “प्रचारकार्यद्वारा मानिसजातिको जीवनमा परिवर्तन ल्याउन तिनीहरूले [मसीहीहरू] गरेको प्रयासको लागि मानिसहरू कृतज्ञ हुनुको साटो तिनीहरूलाई घृणा गर्छन्‌ र दुर्गुणहरू पर्दाफास गरेकोमा चेलाहरूलाई सताउँछन्‌।” त्यस्तो सतावट दिनेहरूले “सत्यप्रतिको प्रेमले तिनीहरूको उद्धार हुन सक्छ भनी स्वीकार्दैनन्‌।” यसकारण, “तिनीहरूले झूट विश्‍वास गरून्‌ भनेर, परमेश्‍वरले तिनीहरूलाई भर्माउने शक्‍ति पठाउनुहुन्छ। कि तिनीहरू सबै सत्यमा विश्‍वास नगर्ने, तर अधर्ममा खुशी मान्‍नेहरूको इन्साफ होस्‌ भनेर हो।”—२ थिस्सलोनिकी २:१०-१२.

६. मसीहीले कस्तो इच्छा विकास गर्नुहुँदैन?

प्रेरित यूहन्‍ना यस वैरभावी संसारमा बाँचिरहेका मसीहीहरूलाई यस्तो सल्लाह दिन्छन्‌: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। . . . किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” (१ यूहन्‍ना २:१५, १६) यूहन्‍नाले भनेको “कुनै चीज[मा]” केही पनि कुरा छुट्याइएको छैन। त्यसकारण, हामीले सत्यबाट टाढा गर्ने संसारको कुनै पनि चीजको इच्छा गर्नुहुँदैन। यूहन्‍नाको सल्लाह पालन गर्दा हाम्रो जीवनमा ठूलो प्रभाव पार्न सक्छ? कसरी?

७. सत्यको ज्ञानले कसरी निष्कपट हृदय भएकाहरूलाई उत्प्रेरित गर्छ?

सन्‌ २००१ को दौडान यहोवाका साक्षीहरूले विश्‍वभरि व्यक्‍तिविशेष तथा समूहहरूलाई ईश्‍वरीय जीवन बिताउन चाहिने कुराहरू सिकाउँदै प्रत्येक महिना साढे चालीस लाखभन्दा बढी गृह बाइबल अध्ययन सञ्चालन गरे। फलस्वरूप, २,६३,४३१ मानिसहरूले बप्तिस्मा लिए। ती नयाँ चेलाहरूले सत्यको ज्योतिलाई अनमोल ठाने र तिनीहरूले खराब संगत र यस संसारमा व्याप्त परमेश्‍वरको अनादर गर्ने अनैतिक तौरतरिकाहरू त्यागे। बप्तिस्मा लिएदेखि तिनीहरूले परमेश्‍वरले सबै मसीहीहरूका लागि कायम गर्नुभएको स्तरअनुरूप जीवन बिताइरहेका छन्‌। (एफिसी ५:५) के तपाईंको लागि पनि सत्य त्यत्तिकै अनमोल छ?

यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ

८. यहोवाले हाम्रो समर्पणप्रति कस्तो प्रतिक्रिया देखाउनुहुन्छ र ‘पहिले उहाँको राज्य खोजी’ गर्नु किन बुद्धिमानी कुरा हो?

हाम्रो असिद्धताको बावजूद यहोवाले दयापूर्वक हाम्रो समर्पण स्वीकार्नुहुन्छ र उहाँतर्फ हामीलाई खिच्न उहाँ लाक्षणिक अर्थमा भन्‍ने हो भने निहुरिनुहुन्छ। अतः उहाँले हामीलाई आफ्ना लक्ष्य तथा इच्छाहरूको कदर गर्न सिकाउनुहुन्छ। (भजन ११३:६-८) यसबाहेक यहोवाले हामीलाई उहाँसँग व्यक्‍तिगत सम्बन्ध गाँस्ने मौका दिनुहुन्छ र “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी” गऱ्‍यौं भने, उहाँले हाम्रो ख्याल राख्ने प्रतिज्ञा गर्नुभएको छ। यसो गरेर हामीले आफूलाई आध्यात्मिक तवरमा सुरक्षित राख्यौं भने, उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३३.

९. “विश्‍वासी र बुद्धिमान दास” को हो र यस “दास[लाई]” प्रयोग गर्दै यहोवाले हाम्रो कसरी ख्याल राख्नुहुन्छ?

येशूले १२ जना प्रेरितहरूलाई छनौट गर्नुभयो र अभिषिक्‍त मसीहीहरूको मण्डलीको निम्ति जग बसाल्नुभयो, जसलाई “परमेश्‍वरका इस्राएल” भनियो। (गलाती ६:१६; प्रकाश २१:९, १४) यसलाई पछि “जीवित परमेश्‍वरको मण्डली, सत्यको खामा र जग” भनी वर्णन गरियो। (१ तिमोथी ३:१५) येशूले त्यस मण्डलीका सदस्यहरूलाई “विश्‍वासी र बुद्धिमान दास” र “विश्‍वासी र बुद्धिमान भण्डारे” भनेर चिनाउनुभयो। ती विश्‍वासी सेवकहरूले मसीहीहरूलाई “ठीक ठीक समयमा खान” दिनुपर्छ भनी येशूले भन्‍नुभयो। (मत्ती २४:३, ४५-४७; लूका १२:४२) खानाविना हामी बाँच्न सक्दैनौं। त्यस्तै गरी, आध्यात्मिक भोजन लिएनौं भने हामी कमजोर भएर आध्यात्मिक तवरमा मर्छौं। अतः यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने अर्को प्रमाण, “विश्‍वासी र बुद्धिमान दास[को]” अस्तित्व हो। ती “दास” वर्गद्वारा हाम्रोनिम्ति प्रबन्ध गरिएको अनमोल आध्यात्मिक भोजनको हामी सधैं मूल्यांकन गरौं।—मत्ती ५:३.

१०. सभाहरूमा नियमित तवरमा उपस्थित हुनु हाम्रोलागि किन अत्यावश्‍यक छ?

१० आध्यात्मिक भोजन लिनुमा व्यक्‍तिगत अध्ययन गर्नु समावेश छ। यसमा अन्य सँगी मसीहीहरूसँग संगत गर्नु र मण्डलीका सभाहरूमा उपस्थित हुनु पनि समावेश छ। छ महिना वा छ हप्ताअघि मात्र के खानुभएको थियो, के तपाईं सम्झन सक्नुहुन्छ? सायद, बिर्सिसक्नुभयो होला। जे होस्‌, तपाईंले खानुभएको भोजनबाट स्वस्थ रहन पोषण पाउनुभयो। अनि त्यतिबेलादेखि तपाईंले त्यस्तै खाना धेरै चोटि खाइसक्नुभयो होला। हाम्रा मसीही सभाहरूमा प्रबन्ध गरिने आध्यात्मिक भोजनहरूबारे पनि त्यसै भन्‍न सकिन्छ। सभामा भनिने सबै कुरा हामी एक-एक गरी सम्झन सक्दैनौं। अनि त्यस्तै प्रकारको जानकारी बारम्बार प्रस्तुत गरिन्छ। तैपनि, यो आध्यात्मिक भोजन नै हो र हाम्रो हितको लागि अत्यावश्‍यक छ। हाम्रा सभाहरूले स्वस्थ रहन सधैं ठीक-ठीक समयमा पोषणयुक्‍त आध्यात्मिक भोजन प्रदान गर्छ।

११. मसीही सभाहरू धाउँदा हाम्रो काँधमा कस्तो दायित्व आइपर्छ?

११ मसीही सभाहरू धाउँदा हाम्रो काँधमा एउटा जिम्मेवारी पनि आउँछ। मसीहीहरूलाई ‘एक अर्कालाई अर्ती दिंदै’ मण्डलीका सँगी सदस्यहरूलाई ‘प्रेम र सुकर्ममा उत्तेजित गराउन’ सल्लाह दिइएको छ। सबै मसीही सभाहरूको निम्ति तयारी गर्दा, उपस्थित हुँदा र भाग लिंदा व्यक्‍तिगत रूपमा हाम्रो विश्‍वास बलियो हुन्छ भने अरूको लागि पनि प्रोत्साहनदायी हुन्छ। (हिब्रू १०:२३-२५) सा-साना केटाकेटीले खाना खाँदा यो खान्छु, त्यो खान्‍न भनेर कचकच गरेझैं कोही-कोहीलाई आध्यात्मिक भोजन लिन निरन्तर प्रोत्साहन दिइरहनुपर्छ। (एफिसी ४:१३) आवश्‍यक परेको बेला त्यस्तो प्रोत्साहन दिनु मायालु कुरा हो किनभने त्यसो गर्दा तिनीहरू परिपक्व मसीही हुन सक्छन्‌। तिनीहरूबारे प्रेरित पावलले यस्तो लेखे: “खँदिलो खानेकुराचाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनालाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।”—हिब्रू ५:१४.

आफ्नो आध्यात्मिकताको हेरचाह गर्ने

१२. सत्यमा रहिरहने मुख्य जिम्मेवारी कसको हो? व्याख्या गर्नुहोस्‌।

१२ हाम्रो जीवनसाथी वा आमाबाबुले सत्यको मार्गमा हिंड्‌न हामीलाई प्रोत्साहन दिन सक्छन्‌। त्यसै गरी, मण्डलीका प्राचीनहरूले हामीलाई तिनीहरूको हेरचाहमा भएको बगालको रूपमा गोठालो गर्न सक्छन्‌। (प्रेरित २०:२८) तर सत्यमा आधारित जीवन बिताइरहने हो भने मुख्य जिम्मेवारी कसको हो? साँच्चै, हामी प्रत्येक व्यक्‍तिविशेषको जिम्मेवारी हो। अनि यो सामान्य र कठिन दुवै परिस्थितिमा लागू हुन्छ। निम्न घटनालाई विचार गर्नुहोस्‌।

१३, १४. एउटा पाठोको अनुभवले देखाएझैं हामी कसरी आवश्‍यक आध्यात्मिक मदत पाउन सक्छौं?

१३ स्कटल्याण्डमा केही पाठाहरू चरनमा चरिरहेका थिए र तीमध्ये एउटा सानो पाठो बगालबाट छुट्टिएर डिलबाट तल खसेछ। त्यसलाई कुनै चोट लागेन तर डराएर माथि भने आउनै सकेन। त्यसैकारण, एकदमै मायालाग्दो आवाजमा म्याँ.. म्याँ.. गर्न थाल्यो। माउले त्यो कराएको आवाज सुन्यो र ऊ पनि गोठालो आएर त्यस पाठोको उद्धार नगरुजेलसम्म कराइरहऱ्‍यो।

१४ घटनाक्रमलाई विचार गर्नुहोस्‌। पाठो मदतको लागि करायो र माउ भेडी पनि त्यो सँगसँगै करायो अनि त्यो आवाज सुन्‍ने बित्तिकै गोठालोले त्यसलाई बचाउन कदम चालिहाल्यो। पाठो र यसको आमाले त खतरा महसुस हुने बित्तिकै मदतको लागि गुहार्छन्‌ भने, के हामीले पनि आध्यात्मिक रूपमा ठेस खाँदा वा शैतानको संसारबाट अप्रत्याशित खतराको सामना गर्नुपर्दा त्यसै गर्नुपर्दैन र? (याकूब ५:१४, १५; १ पत्रुस ५:८) विशेष गरी, हामी जवान वा सत्यमा अलि नयाँ भएको कारण अनुभवको कमी छ भने त्यसो गर्नुपर्छ।

ईश्‍वरीय निर्देशन पालन गर्दा आनन्द पाइन्छ

१५. एउटी आइमाईले मसीही मण्डलीसँग संगत गर्न थालेपछि कस्तो महसुस गर्न थालिन्‌?

१५ सत्य परमेश्‍वरको सेवा गर्नेहरूले अनुभव गर्ने बाइबल समझको महत्त्व र मनोशान्तिलाई विचार गर्नुहोस्‌। जीवनभर चर्च अफ इंग्ल्याण्ड धाएकी एउटी ७० वर्षीया आइमाई यहोवाका साक्षीसित व्यक्‍तिगत बाइबल अध्ययन गर्न राजी भइन्‌। तिनले चाँडै परमेश्‍वरको नाउँ यहोवा हो भनेर सिकिन्‌ र स्थानीय राज्यभवनमा सार्वजनिक रूपमा चढाइने हार्दिक प्रार्थनामा “आमिन” भन्‍न थालिन्‌। आफ्नो भित्री भाव व्यक्‍त गर्दै तिनले यसो भनिन्‌: “हामीजस्तो तुच्छ मानिसहरूले पुकार्नै नसक्ने परमेश्‍वरको रूपमा चित्रण गर्नुको साटो तपाईंहरू उहाँलाई हामीमाझ भएको प्रिय मित्रको रूपमा चित्रण गर्नुहुन्छ। यस्तो अनुभव मैले पहिला कहिल्यै गरेकी थिइनँ।” सम्भवतः त्यस इच्छुक व्यक्‍तिले सत्यले आफ्नो जीवनमा पारेको पहिलो छाप कहिल्यै बिर्सने छैनन्‌। त्यसै गरी हामीलाई पनि पहिलो चोटि सत्य सुन्दा कत्ति अनमोल लागेको थियो, कहिल्यै नबिर्सौं।

१६. (क) पैसा कमाउनु हाम्रो जीवनको प्रमुख लक्ष्य बनायौं भने के हुन सक्छ? (ख) हामी साँचो आनन्द कसरी पाउन सक्छौं?

१६ थुप्रैलाई आफूसँग धेरै पैसा भएको भए आनन्दित हुन सकिन्थ्यो जस्तो लाग्छ। तथापि, हामीले जीवनको प्रमुख लक्ष्य पैसा कमाउने बनायौं भने, हामीले “धेरै दुःख” भोग्नुपर्ने हुन सक्छ। (१ तिमोथी ६:१०) विचार गर्नुहोस्‌ त, कति जनाले ठूलो धनराशी हात पार्ने आशामा चिट्ठा किन्छन्‌, क्यासिनोमा पैसा खर्च गर्छन्‌ वा सोचविचारै नगरी स्टक बजारमा लगानी गर्छन्‌। एकदमै कम मानिसले मात्र आफूले आशा गरेको पैसा पाउँछन्‌। अनि रातारात पैसा कमाउनेहरूले पनि अक्सर पैसाले आनन्द दिंदैन रहेछ भनी थाह पाउँछन्‌। बरु, परमेश्‍वरको इच्छाअनुसार गर्दा र यहोवाको पवित्र आत्माको डोऱ्‍याइ तथा उहाँका स्वर्गदूतहरूको मदत पाएर मसीही मण्डलीसँग काम गर्दा अनन्त आशिष्‌ पाउन सकिन्छ। (भजन १:१-३; ८४:४, ५; ८९:१५) हामीले यसो गर्दा प्रचुर मात्रामा आशिष्‌ पाउन सक्छौं। आफ्नो जीवनमा यस्ता आशिष्‌हरू अनुभव गर्न के सत्य तपाईंको लागि यत्तिको अनमोल छ?

१७. छालाको काम गर्ने शिमोनको घरमा बस्दा प्रेरित पत्रुसको कस्तो मनोभाव झल्कियो?

१७ प्रेरित पत्रुसको अनुभवलाई विचार गर्नुहोस्‌। सा.यु. ३६ मा तिनी मिसनरी कार्यको सिलसिलामा शारोनको बेंसीमा गए। तिनी लिड्डामा केही दिन बसे र त्यहाँ तिनले पक्षाघात लागेको एनियासलाई निको पारिदिएपछि समुद्र किनारमा पर्ने शहर जोप्पातिर लागे। त्यहाँ तिनले डोरकासको पुनरुत्थान गरे। प्रेरित ९:४३ मा हामीलाई यसो भनिएको छ: “तिनी धेरै दिनसम्म एक जना शिमोन भन्‍ने छाला बनाउनेसँग जोप्पामा बसे।” यस विवरणबाट देखिएअनुसार त्यस शहरका मानिसहरूको सेवा गर्दा पत्रुसको निष्पक्ष मनोभाव स्पष्ट हुन्छ। कसरी? बाइबलविद्‌ फ्रेड्रिक डब्ल्यु. फरार यस्तो लेख्छन्‌: “छाला बनाउने मानिसको घरमा [मोशाको] मौखिक व्यवस्थाको कट्टर समर्थक कोही पनि बस्दैन। दिनहुँजसो विभिन्‍न जनावरको छाला तथा लासहरू छुनुपर्ने र यस कामको निम्ति आवश्‍यक चीजहरूको कारण यो अशुद्ध हुनेभएकोले कट्टरपन्थीहरूका लागि त्यो कार्य घृणित थियो।” शिमोनको छालाको काम गर्ने ठाउँ र “समुद्रको किनारामा” भएको घर सँगै नभए तापनि शिमोनको कामलाई ‘सबैले हेला गरेर हेर्ने भएकोले यो काम गर्नेहरूमा आत्मसम्मानको कमी हुन्थ्यो’ भनी फरार भन्छन्‌।—प्रेरित १०:६.

१८, १९. (क) आफूले देखेको दर्शनको कारण पत्रुस किन साह्रै छक्क परे? (ख) पत्रुसले कस्तो अप्रत्याशित आशिष्‌ पाए?

१८ निष्पक्ष मनोभाव राख्ने पत्रुसले शिमोनको आतिथ्यलाई स्वीकारे र त्यहाँ पत्रुसले अप्रत्याशित ईश्‍वरीय निर्देशन प्राप्त गरे। तिनले दर्शनमा यहूदी व्यवस्थाअनुसार अशुद्ध कुरा खाने आज्ञा पाए। पत्रुसले “मैले कहिल्यै केही अपवित्र र अशुद्ध थोक खाएको छैनँ” भनेर विरोध जनाए। तर तिनलाई तीन पल्टसम्म यसो भनियो: “परमेश्‍वरले जे जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अशुद्ध नतुल्याऊ।” निस्सन्देह, “पत्रुस आफूले देखेको यो दर्शनको अर्थ के होला भनेर साह्रै छक्क परिरहेका थिए।”—प्रेरित १०:५-१७; ११:७-१०.

१९ त्यसको अघिल्लो दिन ५० किलोमिटर टाढा सिजरियामा कर्नीलियस नाउँ गरेको अन्यजातिले पनि एउटा दर्शन देखेका थिए भन्‍ने कुरा पत्रुसलाई थाह थिएन। यहोवाको स्वर्गदूतले कर्नीलियसलाई आफ्ना नोकरहरू पठाएर छालाको काम गर्ने शिमोनकहाँ पाहुना भएर बसेका पत्रुसलाई बोलाउने निर्देशन दिए। कर्नीलियसले आफ्ना नोकरहरूलाई शिमोनको घरमा पठाए र तिनीहरूसँगै पत्रुस पनि सिजरिया आए। त्यहाँ तिनले कर्नीलियस र तिनका नातेदार तथा साथीहरूलाई प्रचार गरे। फलस्वरूप तिनीहरू राज्य उत्तराधिकारीको रूपमा पवित्र आत्मा पाउने खतना नगरिएका विश्‍वासी अन्यजातिहरूमध्ये पहिलो भए। ती मानिसहरूको खतना नगरिएको भए तापनि पत्रुसको कुरा सुन्‍ने सबैले बप्तिस्मा लिए। त्यसपछि यहूदी दृष्टिकोणमा अशुद्ध ठानिने राष्ट्रका मानिसहरूको निम्ति पनि बाटो खोलियो र तिनीहरू मसीही मण्डलीका सदस्यहरू हुन सके। (प्रेरित १०:१-४८; ११:१८) पत्रुसको निम्ति कस्तो विशेष सुअवसर किनभने तिनले सत्यलाई अत्यन्तै अनमोल ठाने अनि यहोवाबाट प्राप्त सबै निर्देशन पालन गरेर विश्‍वासअनुरूप काम गरे!

२०. हामीले आफ्नो जीवनमा सत्यलाई प्राथमिकता दिंदा परमेश्‍वरबाट कस्तो आशिष्‌ पाउन सक्छौं?

२० पावल यस्तो सल्लाह दिन्छन्‌: “प्रेममा सत्य बोलेर हामी सबै कुरामा उहाँसम्मै, अर्थात्‌ ख्रीष्टसम्मै बढ़दै जाऔं, जो शिर हुनुहुन्छ।” (एफिसी ४:१५) हो, हामीले सत्यलाई प्राथमिकता दियौं भने यसले गर्दा हामीले असीम आनन्द अनुभव गर्न सक्नेछौं र पवित्र आत्मामार्फत्‌ हामीले यहोवाको निर्देशन प्राप्त गर्नेछौं। साथै, हाम्रो प्रचारकार्यमा पवित्र स्वर्गदूतहरूको समर्थन छ भन्‍ने कुरा पनि नबिर्सनुहोस्‌। (प्रकाश १४:६, ७; २२:६) यहोवाले हामीलाई अह्राउनुभएको काममा त्यस्तो समर्थन पाउनु एकदमै ठूलो सुअवसरको कुरा हो! निष्ठा कायम राख्दा हामीले सत्यका परमेश्‍वर, यहोवाको सदासर्वदा प्रशंसा गरिरहन सक्नेछौं। त्योभन्दा अनमोल कुरा अरू के नै हुन सक्छ र?—यूहन्‍ना १७:३.

हामीले के सिक्यौं?

• किन थुप्रैले सत्य स्वीकार्दैनन्‌?

• मसीहीहरूले शैतानको संसारप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

• सभाहरूप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ र किन?

• आफ्नो आध्यात्मिकताको हेरचाह गर्नुमा हाम्रो कस्तो जिम्मेवारी छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

महा सागर

सिजरिया

शारोनको बेंसी

जोप्पा

लिड्डा

यरूशलेम

[चित्र]

पत्रुसले ईश्‍वरीय निर्देशन पालन गरे र अप्रत्याशित आशिष्‌हरू पाए

[स्रोत]

Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.

[पृष्ठ १३-मा भएको चित्र]

येशूले सत्यको गवाही दिनुभयो

[पृष्ठ १५-मा भएको चित्र]

हाम्रो सुस्वास्थ्यको निम्ति शारीरिक भोजनजस्तै आध्यात्मिक भोजन पनि अत्यावश्‍यक छ