सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?

असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?

असल नेतृत्व हामी कहाँ पाउन सक्छौं?

“हरेक घर कुनै न कुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ” भनी बाइबलले बताउँछ। (हिब्रू ३:४; प्रकाश ४:११) साँचो परमेश्‍वर यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएको कारण “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ।” (भजन १०३:१४) उहाँलाई हाम्रो सीमितता अनि आवश्‍यकताहरूबारे राम्ररी थाह छ। अनि उहाँ मायालु परमेश्‍वर हुनुभएकोले उहाँ ती आवश्‍यकताहरू पूरा गर्न चाहनुहुन्छ। (भजन १४५:१६; १ यूहन्‍ना ४:८) असल नेतृत्वको हाम्रो आवश्‍यकता निराधार होइन।

अगमवक्‍ता यशैयामार्फत्‌ यहोवाले यस्तो घोषणा गर्नुभयो: “हेर, मैले त्यसलाई जातिहरूका बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।” (यशैया ५५:४) वर्तमान समयमा विद्यमान नेतृत्वको अभावको समस्यालाई समाधान गर्नुमा स्वयम्‌ सर्वशक्‍तिमान्‌ परमेश्‍वरले नियुक्‍त गर्नुभएको यस नेतालाई चिन्‍नु र उहाँको नेतृत्वलाई स्वीकार्नु समावेश छ। त्यसोभए, भविष्यवाणी गरिएको यी नेता तथा सेनापति को हुन्‌? एक जना नेताको रूपमा उहाँका विशेष योग्यताहरू के-के छन्‌? उहाँले हामीलाई कतातिर डोऱ्‍याउनुहुनेछ? उहाँको नेतृत्वबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

प्रतिज्ञाकृत नेता आउनुहुन्छ

लगभग २,५०० वर्षअघि गब्रिएल नाउँ गरेका स्वर्गदूत अगमवक्‍ता दानियलकहाँ देखा परेर यसो भने: ‘यो जान र बुझ, यरूशलेमको पुनर्स्थापन र पुनर्निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्‍त जन, अर्थात्‌ एक शासक नआउञ्जेलसम्म सात हप्ताहरू र बयसट्ठी हप्ताहरू हुनेछन्‌। गल्ली र सुरुङहरूसहित यसको पुनर्निर्माण हुनेछ, तर दुःखको समयमा।’—दानियल ९:२५, नयाँ संशोधित संस्करण।

स्पष्टतः स्वर्गदूतले दानियललाई यहोवाले चुन्‍नुभएको नेता आउनुहुने तोकिएको समयबारे जानकारी दिंदै थिए। यरूशलेमको पुनर्निमाण गरेको साल सा.यु.पू. ४५५ देखि गन्ती गर्दै लाँदा ६९ हप्ता अर्थात्‌ ४८३ वर्षपश्‍चात्‌ ‘मसीह अर्थात्‌ नेता’ देखा पर्नेथियो। a (नहेम्याह २:१-८) त्यस समयावधिको अन्ततिर के भयो? सुसमाचार पुस्तकका लेखक लूका यसो भन्छन्‌: “सिजर टाइबेरियसको शासनकालको पन्ध्रौं वर्षमा पन्तियस पिलातुस यहूदियामा बड़ा हाकिम, गालीलमा [सा.यु. २९ मा] हेरोद, . . . रजौटाहरू हुँदा . . . , परमेश्‍वरको वचन उजाड़स्थानमा जकरियाको छोरो यूहन्‍नाकहाँ आयो। औ तिनी पापमोचनको निम्ति पश्‍चातापको बप्तिस्माको प्रचार गर्दै यर्दन नदीका आसपासका सबै जिल्ला हुँदो आए।” त्यस बेला “मानिसहरू [मसीह नेताको] आशा गरिरहेकै थिए।” (लूका ३:१-३, १५) भीड यूहन्‍नासामु आए तापनि तिनी ती नेता थिएनन्‌।

सा.यु. २९ अक्टोबर महिनातिर नासरतका येशू बप्तिस्मा लिन यूहन्‍नाकहाँ आए। अनि यूहन्‍नाले यसो भन्दै गवाही दिए: “मैले आत्मालाई स्वर्गबाट परेवाझैं ओर्लदै गर्नुभएको देखें, र उहाँमाथि बस्नुभयो। औ मैले उहाँलाई चिनेको थिइनँ, तर मलाई पानीले बप्तिस्मा दिन पठाउनुहुनेलेनै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी आत्मालाई ओर्लदै र बस्तैगर्नुभएको देखौला, पवित्र आत्माले बप्तिस्मा दिने उहाँनै हुनुहुन्छ। औ मैले देखेको छु, औ परमेश्‍वरका पुत्र उहाँनै हुनुहुन्छ भनेर गवाही दिएको छु।” (यूहन्‍ना १:३२-३४) येशूले बप्तिस्मा लिनुहुँदा उहाँ अभिषिक्‍त नेता अर्थात्‌ मसीह वा ख्रीष्ट हुनुभयो।

हो, प्रतिज्ञा गरिएअनुसार “जातिहरूमा एक नेता र सेनापति” येशू ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित भयो। अनि एक जना नेताको रूपमा उहाँका योग्यताहरूलाई केलाउने हो भने, आज संसारले निर्धारण गरेको आदर्श नेतामा हुनुपर्ने स्तरभन्दा उहाँका स्तरहरू कता हो कता उच्च छन्‌।

मसीह—एक आदर्श नेता

एक जना योग्य नेताले आफ्नो रेखदेखमा रहेकाहरूको आत्मबल र समस्याको समाधान गर्न सक्ने क्षमता र आत्मविश्‍वास विकास गर्न तिनीहरूलाई स्पष्ट निर्देशन दिनुका साथै मदत दिन्छन्‌, जसले गर्दा तिनीहरूले सफलतासाथ आफ्ना समस्याहरू आफैले समाधान गर्न सक्छन्‌। ‘यो नै एक्काइसौं शताब्दीका नेताहरूमा हुनुपर्ने प्रमुख आवश्‍यकता हो’ भनी ट्‌वान्टीफस्ट सेन्च्युरी लिडरसिप: डायलग विथ हन्ड्रेड टप लिडर्स शीर्षकको पुस्तकले बताउँछ। दिनहुँ सामना गर्नुपर्ने परिस्थितिहरूसित लड्‌न येशूले आफ्ना श्रोताहरूलाई एकदमै प्रभावकारी ढंगमा तयार पार्नुभयो! उहाँको सबैभन्दा प्रसिद्ध प्रवचन अर्थात्‌ डाँडाको उपदेशलाई ध्यान दिनुहोस्‌। मत्ती अध्याय ५ देखि ७ मा प्रशस्त व्यावहारिक सल्लाहहरू लिपिबद्ध गरिएका छन्‌।

उदाहरणका लागि, व्यक्‍तिगत मतभिन्‍नताहरूलाई सुल्झाउन येशूले दिनुभएको सल्लाहलाई ध्यान दिनुहोस्‌। उहाँले यसो भन्‍नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भनी तिमीलाई याद भयो भने, त्यही वेदीको सामु तिम्रो भेटी छोड़, र बाटो लाग। पहिले आफ्नो भाइसित मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।” (मत्ती ५:२३, २४) धार्मिक दायित्वहरू; जस्तै: मोशाको व्यवस्थाले माग गरेअनुसार यरूशलेमको मन्दिरमा भेटी चढाउनुभन्दा पहिला शान्ति कायम गर्न अग्रसरता देखाउनुपर्छ। अन्यथा, उपासनासित सम्बन्धित कार्यहरू परमेश्‍वरले स्वीकार्नुहुन्‍न। येशूका सल्लाहहरू शताब्दीयौंअघि जत्ति व्यावहारिक थिए आज पनि उत्तिकै व्यवहारिक छन्‌।

येशूले आफ्ना श्रोताहरूलाई अनैतिकताको पासोमा नफस्न पनि मदत दिनुभयो। उहाँले तिनीहरूलाई यस्तो अर्ती दिनुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर्‌।’ तर म तिमीहरूलाई भन्दछु, ‘जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।’ ” (मत्ती ५:२७, २८) कस्तो सुहाउँदो चेताउनी! व्यभिचारसम्बन्धी नाना किसिमको कुरा मनमा खेलाएर व्यभिचारको बाटोतर्फ किन उन्मुख हुने? येशूले हृदयबाट नै व्यभिचार र जारीजस्ता विचारहरू उत्पन्‍न हुने कुरा बताउनुभयो। (मत्ती १५:१८, १९) हामीले आफ्नो हृदयलाई सुरक्षित राख्नु बुद्धिमानी हुनेछ।—हितोपदेश ४:२३.

डाँडाको उपदेशमा आफ्नो शत्रुलाई प्रेम गर्ने, उदारता देखाउने, भौतिक तथा आध्यात्मिक कुराहरूप्रति सही दृष्टिकोण राख्ने विषयहरूमा अत्युत्तम सल्लाहहरू दिइएका छन्‌। (मत्ती ५:४३-४७; ६:१-४, १९-२१, २४-३४) येशूले आफ्ना श्रोताहरूलाई प्रार्थना गर्न सिकाउनुभएर परमेश्‍वरको मदत खोज्ने तरिका पनि देखाउनुभयो। (मत्ती ६:९-१३) मसीह नेताले मानवजातिले भोगिरहनुपरेका विद्यमान समस्याहरूको समाधान गर्न आफ्ना अनुयायीहरूलाई सुदृढ तुल्याउनुका साथै तयार पार्नुहुन्छ।

डाँडाको उपदेशमा येशूले छ पटक आफ्नो भनाइको सुरुमा यसो भन्‍नुभयो, “तिमीहरूले सुनेका छौ” वा “यसो पनि भनिएको छ” तर त्यसपछि उहाँले यसो भन्दै अर्को विचार व्यक्‍त गर्नुभयो, “तर म तिमीहरूलाई भन्दछु।” (मत्ती ५:२१, २२, २७, २८, ३१-३४, ३८, ३९, ४३, ४४) यसबाट उहाँका श्रोताहरू फरिसीहरूका मौखिक रीतिथितिअनुरूप चल्थे भन्‍ने कुरालाई देखाउँछ। तर अब भने येशूले तिनीहरूलाई अर्कै बाटो देखाउँदै हुनुहुन्थ्यो अर्थात्‌ मोशाको व्यवस्थाको सही अभिप्रायलाई झल्काउने बाटो। यस प्रकार येशूले परिवर्तनतर्फ औंल्याउनुभयो अनि येशूले बताउनुभएका यस परिवर्तनलाई उहाँका अनुयायीहरूले सजिलै पालन गर्न सक्थे। हो, येशूले मानिसहरूलाई आफ्नो जीवनमा आध्यात्मिक अनि नैतिक तवरमा आमूल परिवर्तन गर्न उत्प्रेरित गर्नुभयो। यो एक साँचो नेताको चिनारी हो।

व्यवस्थापनसम्बन्धी एउटा पाठ्यपुस्तकले यस्तो परिवर्तन ल्याउन कत्ति गाह्रो हुन्छ भनी औंल्याउँछ। उक्‍त पुस्तक यसो भन्छ: “परिवर्तन गराउने क्षमता भएको [नेतामा] समाजसेवीको जस्तो संवेदनशीलता, मनोवैज्ञानिकको जस्तो अन्तरदृष्टि, म्याराथन धावकको जस्तो शक्‍ति, बुलडगको जस्तो लगनशीलता, तपस्वीको जस्तो आत्मनिर्भरता र सन्तको जस्तो धीरज हुनु जरुरी छ। अनि यी सबै योग्यताहरूको बावजूद सफलताको कुनै ग्यारेन्टी छैन।”

“लिडरसिप: डु ट्रेट्‌स म्याटर” शीर्षकको लेखले यसो भन्यो, “आफ्ना अनुयायीहरूले आफूलाई जस्तो व्यवहार गरोस्‌ भन्‍ने नेताहरू चाहन्छन्‌, उनीहरूले पनि त्यस्तै व्यवहार गर्नुपर्छ।” वास्तवमा, एक जना असल नेताले जे प्रचार गर्छ, उसले त्यसलाई व्यवहारमा उतारेर पनि देखाउँछ। येशू ख्रीष्टको सन्दर्भमा यो कुरा सोह्रै आना सत्य थियो! हो, आफूसँग भएकाहरूलाई उहाँले नम्र हुन सिकाउनुभयो तर उहाँ आफैले तिनीहरूको खुट्टा धुनुभएर तिनीहरूलाई असल उदाहरणद्वारा पाठ सिकाउनुभयो। (यूहन्‍ना १३:५-१५) उहाँले आफ्ना चेलाहरूलाई राज्यको सुसमाचार प्रचार गर्न मात्र पठाउनुभएन तर उहाँ आफैले पनि त्यस काममा अथक प्रयास गर्नुभयो। (मत्ती ४:१८-२५; लूका ८:१-३; ९:१-६; १०:१-२४; यूहन्‍ना १०:४०-४२) अनि नेतृत्वलाई स्वीकार्ने सन्दर्भमा उहाँले उत्तम नमुना बसाल्नुभयो। उहाँले आफूबारे यसो भन्‍नुभयो, “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्नसक्‍तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ।”—यूहन्‍ना ५:१९.

येशूले भन्‍नुभएका कुरा र गर्नुभएका कामहरूबारे अहिलेसम्म गरिएको विश्‍लेषणले उहाँ एक जना आदर्श नेता हुनुहुन्छ भन्‍ने कुरालाई स्पष्ट पार्छ। वास्तवमा, असल नेतृत्वसम्बन्धी मानिसको स्तरभन्दा उहाँको स्तर कता हो कता उच्च छ। येशू सिद्ध हुनुहुन्छ। आफ्नो मृत्यु अनि पुनरुत्थानपश्‍चात्‌ अमरत्व प्राप्त गर्नुभएका येशू सधैंभरिको लागि बाँच्नुहुन्छ। (१ पत्रुस ३:१८; प्रकाश १:१३-१८) कुनचाहिं मानव नेतासित यस्ता योग्यताहरू होलान्‌?

हामीले के गर्नै पर्छ?

परमेश्‍वरको राज्यको शासनारूढ राजाको हैसियतमा ‘मसीह अर्थात्‌ नेताले’ आज्ञाकारी मानवजातिहरूमाथि आशिष्‌ बर्साउनुहुनेछ। यस सन्दर्भमा धर्मशास्त्र यस्तो प्रतिज्ञा गर्छ: “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) “तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:११) “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (मीका ४:४) “परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

आज विश्‍वले नेतृत्वको अभाव महसुस गरिरहेको छ। यद्यपि, येशू ख्रीष्टले नम्रहरूलाई शान्तिमय नयाँ संसारतर्फ डोऱ्‍याउँदै हुनुहुन्छ, जहाँ आज्ञाकारी मानिसहरू यहोवा परमेश्‍वरको उपासनामा एकताबद्ध हुनेछन्‌ र सिद्धतातर्फ अघि बढ्‌नेछन्‌। साँचो परमेश्‍वर र उहाँले नियुक्‍त गर्नुभएको नेताको ज्ञान प्राप्त गर्न अनि सोही ज्ञानअनुरूप कार्य गर्न समय निकाल्नु अति महत्त्वपूर्ण छ!—यूहन्‍ना १७:३.

हामीले कुनै पनि व्यक्‍तिलाई दिन सक्ने उच्च आदर भनेको नै त्यस व्यक्‍तिको अनुकरण गर्नु हो। त्यसोभए के हामीले मानव इतिहासकै सबैभन्दा महान्‌ नेता, येशू ख्रीष्टको अनुकरण गर्ने प्रयास गर्नुपर्दैन र? तर हामी कसरी यसो गर्न सक्छौं? उहाँको नेतृत्वलाई स्वीकार्दा त्यसले हाम्रो जीवनमा कस्तो असर पार्नेछ? यसपछिका दुईवटा लेखमा यी प्रश्‍नहरूका साथै अन्य प्रश्‍नहरूबारे छलफल गरिनेछन्‌।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तकको पृष्ठ १८६-९२ हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

परमेश्‍वरले चुन्‍नुभएको नेताको आगमनबारे दानियलले भविष्यवाणी गरे

[पृष्ठ ७-मा भएका चित्रहरू]

येशूका शिक्षाहरूले मानिसहरूलाई जीवनका समस्याहरू सुल्झाउन सक्षम बनायो

[पृष्ठ ७-मा भएको चित्र]

येशूले आज्ञाकारी मानिसहरूलाई शान्तिमय नयाँ संसारमा डोऱ्‍याउनुहुनेछ