सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ

ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ

ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ

“हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २८:२०.

१, २. (क) पुनरुत्थान हुनुभएका येशूले चेला बनाउने आज्ञा दिनुहुँदा आफ्ना अनुयायीहरूलाई कस्तो प्रतिज्ञा गर्नुभयो? (ख) येशूले कसरी सक्रियतासाथ प्रारम्भिक मसीही मण्डलीको नेतृत्व लिनुभयो?

 पुनरुत्थान हुनुभएका नेता, येशू ख्रीष्ट स्वर्ग उक्लनुअघि आफ्ना चेलाहरूसामु देखा पर्नुभयो र यसो भन्‍नुभयो: “स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिइएको छ। यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ। र हेर, म सब दिन, अँ, जगत्‌को अन्तसम्म तिमीहरूका साथमा छँदैछु।”—मत्ती २३:१०, NW; २८:१८-२०.

येशूले आफ्ना चेलाहरूलाई अझ धेरै चेलाहरू बनाउने जीवनदायी काम गर्न अह्राउनुका साथै उनीहरूलाई साथ दिने प्रतिज्ञा पनि गर्नुभयो। येशूले भर्खरै स्थापना गरिएको मण्डलीको नेतृत्व लिन आफूलाई सुम्पिएको अधिकार प्रयोग गर्नुभएको कुरा मसीही धर्मको प्रारम्भिक इतिहासबाट स्पष्ट हुन्छ, जुन कुरा बाइबलको प्रेरितको पुस्तकमा लिपिबद्ध गरिएको छ। उहाँले आफ्ना अनुयायीहरूलाई बल दिन र तिनीहरूको प्रयासमा डोऱ्‍याइ प्रदान गर्न प्रतिज्ञा गरिएअनुसार “शान्तिदाता” अर्थात्‌ पवित्र आत्मा पठाउनुभयो। (यूहन्‍ना १६:७; प्रेरित २:४, ३३; १३:२-४; १६:६-१०) पुनरुत्थान हुनुभएका येशूले आफ्नो अधीनमा भएका स्वर्गदूतहरूलाई चेलाहरूको सहयोग गर्न चलाउनुभयो। (प्रेरित ५:१९; ८:२६; १०:३-८, २२; १२:७-११; २७:२३, २४; १ पत्रुस ३:२२) यसबाहेक, हाम्रो नेताले परिचालक निकायको रूपमा सेवा गर्न योग्य पुरुषहरू दिनुभएर मण्डलीलाई निर्देशन दिने प्रबन्ध मिलाउनुभयो।—प्रेरित १:२०, २४-२६; ६:१-६; ८:५, १४-१७.

३. यस लेखमा कुन प्रश्‍नहरूको छलफल गरिनेछ?

तर अहिले हामी बाँचिरहेको “जगत्‌को अन्त[बारे]” के भन्‍न सकिन्छ? येशू ख्रीष्टले आज मसीही मण्डलीको नेतृत्व कसरी लिइरहनुभएको छ? अनि उहाँको नेतृत्व स्वीकार्छौं भनेर हामी कसरी देखाउन सक्छौं?

मालिकको विश्‍वासी दास छ

४. (क) “विश्‍वासी र बुद्धिमान दास” को-को मिलेर बनेका छन्‌? (ख) मालिकले दासलाई कसको हेरविचार गर्ने जिम्मा सुम्पनुभएको छ?

येशूले आफ्नो उपस्थितिको चिह्न दिनुहुँदा यसो भन्‍नुभयो: “तब विश्‍वासी र बुद्धिमान दास को हो? उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस्‌ भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्‍त गर्नेछ।” (मत्ती २४:४५-४७) “मालिक” भनेको हाम्रो नेता, येशू ख्रीष्ट हुनुहुन्छ र उहाँले पृथ्वीका कामकुराहरूको हेरविचार गर्न पृथ्वीमा अभिषिक्‍त मसीहीहरूको समूह अर्थात्‌ “विश्‍वासी र बुद्धिमान दास” नियुक्‍त गर्नुभएको छ।

५, ६. (क) प्रेरित यूहन्‍नाले देखेको दर्शनमा “सातवटा सुनका सामदान” र “सातवटा ताराहरू[ले]” केलाई चित्रण गर्छ? (ख) येशूको दाहिने हातमा “सातवटा ताराहरू” हुनु कुन कुराको संकेत हो?

बाइबलको पुस्तक प्रकाशले, विश्‍वासी र बुद्धिमान्‌ दास सीधै येशू ख्रीष्टको अधीनमा छ भनी बताउँछ। “प्रभुको दिन[बारे]” प्रेरित यूहन्‍नाले दर्शनमा “सातवटा सुनका सामदान, र सामदानको माझमा मानिसका पुत्रजस्तै” देखे र “उहाँको दाहिने बाहुलीमा सातवटा ताराहरू थिए।” यूहन्‍नालाई दर्शनबारे बुझाउँदै येशूले यसो भन्‍नुभयो: “मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य लेख। सात तारा सात मण्डलीका दूतहरू र सातवटा सामदानचाहिं सात मण्डली हुन्‌।”—प्रकाश १:१, १०-२०.

“सातवटा सुनका सामदान[ले]” सन्‌ १९१४ देखि सुरु भएको “प्रभुको दिन[का]” साँचो मसीहीहरूको सबै मण्डलीहरूलाई चित्रण गर्छ। तर “सातवटा ताराहरू[ले]” नि? सुरुमा त त्यसले प्रथम शताब्दीका मण्डलीहरूको रेखदेख गर्ने आत्मअभिषिक्‍त निरीक्षकहरूलाई चित्रण गर्थ्यो। a निरीक्षकहरू येशूको दाहिने हातमा अर्थात्‌ उहाँको अधीन र निर्देशनमा थिए। हो, येशू ख्रीष्ट यस समष्टिगत दास वर्गको अगुवा हुनुहुन्थ्यो। तथापि, अहिले अभिषिक्‍त निरीक्षकहरू धेरै छैनन्‌। यहोवाका साक्षीहरूको विश्‍वभरि भएका ९३,००० भन्दा बढी मण्डलीसम्म ख्रीष्टको नेतृत्व कसरी पुग्छ?

७. (क) पृथ्वीभरिका मण्डलीहरूमा नेतृत्व लिन येशूले कसरी परिचालक निकाय चलाउनुहुन्छ? (ख) मसीही निरीक्षकहरू पवित्र आत्माद्वारा नियुक्‍त भएका हुन्छन्‌ भनेर किन भन्‍न सकिन्छ?

प्रथम शताब्दीमा जस्तै अहिले पनि अभिषिक्‍त निरीक्षकहरूमध्येबाटै केही योग्य पुरुषहरूले परिचालक निकायमा सेवा गर्छन्‌ अनि तिनीहरूले विश्‍वासी र बुद्धिमान्‌ दासको प्रतिनिधित्व गर्छन्‌। हाम्रो नेताले यस परिचालक निकायमार्फत्‌ योग्य पुरुषहरूलाई प्राचीनहरूको हैसियतमा छान्‍नुहुन्छ, चाहे तिनीहरू आत्मा-अभिषिक्‍त होऊन्‌ या नहोऊन्‌। यस सन्दर्भमा यहोवाले येशूलाई चलाउन अधिकार दिनुभएको पवित्र आत्माले निर्णायक भूमिका निर्वाह गर्छ। (प्रेरित २:३२, ३३) प्रथमतः यी निरीक्षकहरूले पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेरित वचनमा औंल्याइएका आवश्‍यकताहरू पूरा गर्नुपर्छ। (१ तिमोथी ३:१-७; तीतस १:५-९; २ पत्रुस १:२०, २१) प्रार्थनापूर्वक पवित्र आत्माको निर्देशनमा सिफारिस तथा नियुक्‍तिहरू गरिन्छन्‌। साथै, यस प्रकार नियुक्‍त व्यक्‍तिहरूले पनि आत्माका फलहरू फलाएको प्रमाण दिन्छन्‌। (गलाती ५:२२, २३) अतः पावलको यो सल्लाह प्राचीनहरू, चाहे उनीहरू अभिषिक्‍त होऊन्‌ वा नहोऊन्‌ सबैलाई उत्तिकै लागू हुन्छ: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्‍वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको” छ। (प्रेरित २०:२८) यी नियुक्‍त पुरुषहरूले परिचालक निकायबाट निर्देशनहरू प्राप्त गर्छन्‌ र राजीखुसीसाथ मण्डलीको गोठालो गर्छन्‌। यस प्रकार, ख्रीष्ट अहिले हाम्रो साथमा हुनुहुन्छ र सक्रियतासाथ मण्डलीको नेतृत्व लिइरहनुभएको छ।

८. ख्रीष्टले आफ्ना अनुयायीहरूलाई डोऱ्‍याउन कसरी स्वर्गदूतहरू चलाउनुहुन्छ?

येशूले आज आफ्ना अनुयायीहरूलाई अगुवाइ गर्न स्वर्गदूतहरू पनि चलाउनुहुन्छ। गहुँ र सामाको दृष्टान्तअनुसार “जगत्‌को अन्तमा” पनि कटनीको समय हुनेछ। कटनी गर्न मालिकले को चलाउनुहुनेछ? “खेतालाहरू स्वर्गदूतहरू हुन्‌” भनी ख्रीष्टले भन्‍नुभयो। उहाँले अझ यसो भन्‍नुभयो: “मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र सबै बाधा पार्ने कुराहरू र अधर्म गर्नेहरूलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछ।” (मत्ती १३:३७-४१) यसको अलावा, एथियोपिया देशको नपुसंकलाई भेट्टाउन स्वर्गदूतले फिलिपलाई डोऱ्‍याएझैं, आज निष्कपट हृदय भएका मानिसहरूलाई भेट्टाउन साँचो मसीहीहरूलाई डोऱ्‍याउन ख्रीष्टले स्वर्गदूतहरू चलाउनुभएको प्रशस्त प्रमाणहरू छन्‌।—प्रेरित ८:२६, २७; प्रकाश १४:६.

९. (क) आज ख्रीष्टले कसरी मसीही मण्डलीको नेतृत्व गर्नुहुन्छ? (ख) ख्रीष्टको नेतृत्वबाट फाइदा उठाउने हो भने हामीले कुन प्रश्‍नमाथि विचार गर्नुपर्छ?

येशू ख्रीष्टले आज आफ्ना चेलाहरूलाई परिचालक निकाय, पवित्र आत्मा र स्वर्गदूतहरूमार्फत्‌ नेतृत्व प्रदान गर्नुहुन्छ भनी थाह पाउनु कस्तो आश्‍वासनदायी कुरा हो! यहोवाका केही सेवकहरू सतावट वा अन्य त्यस्तै कारणले गर्दा परिचालक निकायबाट केही समयको लागि अलग्गिनुपरे तापनि ख्रीष्टले पवित्र आत्मा र स्वर्गदूतहरूद्वारा नेतृत्व प्रदान गर्नुहुन्छ। तथापि, हामीले उहाँको नेतृत्व स्वीकाऱ्‍यौं भने मात्र त्यसबाट लाभ उठाउन सक्छौं। ख्रीष्टको नेतृत्व स्वीकार्छौं भन्‍ने कुरा हामी कसरी देखाउन सक्छौं?

“आज्ञाकारी होओ, र . . . अधीनमा बस”

१०. हामी कसरी मण्डलीका नियुक्‍त प्राचीनहरूप्रति आदर देखाउन सक्छौं?

१० हाम्रो नेताले मण्डलीहरूमा “पुरुषहरूमध्ये वरदान” दिनुभएको छ र तिनीहरूमध्ये ‘कोही प्रचारक, कोही गोठालो र शिक्षक’ छन्‌। (एफिसी ४:८, ११, १२, NW ) तिनीहरूप्रतिको हाम्रो मनोवृत्ति तथा कार्यले हामी ख्रीष्टको नेतृत्व स्वीकार्छौं कि स्वीकार्दैनौं भन्‍ने कुरा स्पष्ट देखाउँछ। त्यसकारण ख्रीष्टले प्रबन्ध गर्नुभएको आध्यात्मिक तवरमा योग्य पुरुषहरूको निम्ति हामी “धन्यवादी” हुनु उचित हो। (कलस्सी ३:१५) तिनीहरू हाम्रो आदरको योग्य पनि छन्‌। “असल शासन गर्ने धर्म-गुरुहरू दोहोरो आदरका योग्य गनिन्छन्‌” भनी प्रेरित पावलले लेखे। (१ तिमोथी ५:१७) हामी कसरी मण्डलीका बूढा प्रधानहरू अर्थात्‌ प्राचीनहरू वा निरीक्षकहरूप्रति कृतज्ञता र आदर देखाउन सक्छौं? पावल यस्तो उत्तर दिन्छन्‌: “तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस।” (हिब्रू १३:१७) हो, हामीले तिनीहरूको आज्ञा पालन गर्नुका साथै तिनीहरूको अधीनमा बस्नुपर्छ।

११. प्राचीनहरूको प्रबन्धलाई आदर गर्नु किन हाम्रो बप्तिस्माअनुरूप जीवन बिताउनुसित सम्बन्धित छ?

११ हाम्रो नेता सिद्ध हुनुहुन्छ। उहाँले वरदानको रूपमा दिनुभएका पुरुषहरू सिद्ध छैनन्‌। त्यसैकारण तिनीहरूले कहिलेकाहीं गल्ती गर्न सक्छन्‌। तैपनि, हामी ख्रीष्टको प्रबन्धप्रति वफादार हुनु अत्यावश्‍यक छ। वास्तवमा भन्‍ने हो भने, हाम्रो समर्पण र बप्तिस्माअनुसार जीवन बिताउनुको अर्थ हामीले मण्डलीमा आत्मअभिषिक्‍त अधिकारको वैधतालाई स्वीकार्नु र राजीखुसीसाथ त्यसको अधीनमा बस्नु हो। हामीले “पवित्र आत्माको नाउँमा” बप्तिस्मा लिनु भनेको यहोवाका उद्देश्‍यहरू पूरा गर्ने काममा पवित्र आत्माले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भनेर बुझेका छौं र त्यसलाई स्वीकार्छौं भनी जनसमक्ष घोषणा गर्नु हो। (मत्ती २८:१९) त्यस्तो बप्तिस्माले हामी आत्माको कार्यलाई साथ दिन्छौं अनि ख्रीष्टका अनुयायीहरूमाझ यसको सञ्चालनमा केही बाधा नपुऱ्‍याउन होसियार छौं भन्‍ने अर्थ बुझाउँछ। पवित्र आत्माले प्राचीनहरूको सिफारिस र नियुक्‍तिमा निर्णायक भूमिका निर्वाह गर्ने भएकोले मण्डलीमा प्राचीनहरूको प्रबन्धलाई सहयोग गर्न असफल भयौं भने, के हामीले समर्पणअनुरूप जीवन बिताइरहेका हुनेछौं र?

१२. अख्तियारप्रति अनादर देखाएको कस्ता उदाहरणहरू यहूदाले उल्लेख गरेका छन्‌ र त्यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

१२ आज्ञाकारिता र अधीनताको महत्त्व सिकाउने उदाहरणहरू धर्मशास्त्रमा पाइन्छ। मण्डलीका नियुक्‍त पुरुषहरू विरुद्ध जथाभावी बोल्नेहरूलाई संकेत गर्दै चेला यहूदाले यस प्रकार तीनवटा चेताउनीमूलक उदाहरण दिए: “तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरू कयिनको मार्ग हिंडे, र ज्यालाको निम्ति बालामको गलतीमा लालचसाथ फँसे, र विरोधमा कोरहजस्तै नष्ट भए।” (यहूदा ११) कयिनले यहोवाको मायालु सल्लाहलाई बेवास्ता गरे र जानाजानी हिंसात्मक मार्ग रोजे। (उत्पत्ति ४:४-८) बारम्बार ईश्‍वरीय चेताउनीहरू पाए तापनि बालामले आर्थिक लाभको लागि परमेश्‍वरका जनहरूलाई सराप्ने कोसिस गरे। (गन्ती २२:५-२८, ३२-३४; व्यवस्था २३:५) कोरहले इस्राएलमा जिम्मेवारीहरू पाएका थिए तर त्यो तिनको निम्ति पर्याप्त भएन। तिनले पृथ्वीकै सबैभन्दा विनम्र व्यक्‍ति अर्थात्‌ परमेश्‍वरको सेवक मोशाको विद्रोह गर्न उक्साए। (गन्ती १२:३; १६:१-३, ३२, ३३) कयिन, बालाम र कोरहमाथि विपत्ति आइपऱ्‍यो। यी उदाहरणहरूबाट यहोवाले चलाउनुभएका जिम्मेवार व्यक्‍तिहरूको सल्लाह सुन्‍नुपर्छ र तिनीहरूको आदर गर्नुपर्छ भन्‍ने जीवन्त पाठ सिक्न सक्छौं!

१३. प्राचीनहरूको प्रबन्धको अधीनमा बस्नेहरूले कस्ता इनामहरू पाउनेछन्‌ भनी अगमवक्‍ता यशैयाले भविष्यवाणी गरे?

१३ मसीही मण्डलीमा हाम्रो नेताले स्थापना गर्नुभएको निरीक्षणको महान्‌ प्रबन्धबाट लाभ उठाउन नचाहने को पो होलान्‌ र? अगमवक्‍ता यशैयाले यसका लाभहरूबारे यसरी भविष्यवाणी गरे: “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्‌, र भारादारहरूले उचित शासन गर्नेछन्‌। औ प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै हुनेछ।” (यशैया ३२:१, २) प्रत्येक प्राचीनहरू सुरक्षाको त्यस्तो “ठाउँ” हुनुपर्छ। अख्तियारको अधीनमा बस्नु गाह्रो भए तापनि आउनुहोस्‌ हामी आफूलाई मण्डलीमा परमेश्‍वरले नियुक्‍त गर्नुभएको अख्तियारको आज्ञाकारी र अधीनमा बस्न प्रार्थनापूर्वक लागिरहौं।

प्राचीनहरू कसरी ख्रीष्टको अधीनमा बस्छन्‌

१४, १५. मण्डलीमा अगुवा लिनेहरूले ख्रीष्टको नेतृत्वको अधीनमा बसेको कसरी देखाउँछन्‌?

१४ सबै मसीहीहरू र अझ विशेष गरी प्राचीनहरूले ख्रीष्टको नेतृत्वलाई पछ्याउनुपर्छ। निरीक्षक वा प्राचीनहरूले मण्डलीमा केही हदसम्म अधिकार पाएका हुन्छन्‌। तर तिनीहरू अरूलाई आफ्नो नियन्त्रणमा राखेर ‘सँगी विश्‍वासीहरूका विश्‍वासमा प्रभुत्व’ जमाउने प्रयास गर्दैनन्‌। (२ कोरिन्थी १:२४) प्राचीनहरूले येशूका यी शब्दहरू पालन गर्छन्‌: “तिमीहरूलाई थाहनै छ, कि अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्दछन्‌, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्‌। तिमीहरूमा चाहिं ता यस्तो हुनेछैन।” (मत्ती २०:२५-२७) प्राचीनहरूले निष्कपटतासाथ अरूको सेवा गर्दै आफ्नो जिम्मेवारी पूरा गर्न चाहन्छन्‌।

१५ मसीहीहरूलाई यस्तो आग्रह गरिएको छ: “तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्‍वासको देखा-सिकि गर।” (हिब्रू १३:७) प्राचीनहरूले अगुवाको काम गर्ने भएकोले तिनीहरूको देखासिकी गर भनिएको होइन। येशूले यसो भन्‍नुभयो: “तिमीहरूका एक मात्र [“नेता,” NW] ख्रीष्टनै हो।” (मत्ती २३:१०) प्राचीनहरूको विश्‍वासको देखासिकी गर्नुपर्छ किनभने तिनीहरूले हाम्रो साँचो नेता, ख्रीष्टको देखासिकी गर्छन्‌। (१ कोरिन्थी ११:१) मण्डलीका अन्य सदस्यहरूसित व्यवहार गर्दा प्राचीनहरू ख्रीष्टजस्तो हुन प्रयास गर्ने केही तरिकाहरू विचार गर्नुहोस्‌।

१६. येशूले आफूले प्राप्त गरेको अधिकारको बावजूद आफ्ना अनुयायीहरूसित कस्तो व्यवहार गर्नुभयो?

१६ येशू सबै तरिकामा असिद्ध मानिसहरूभन्दा श्रेष्ठ हुनुका साथै उहाँले आफ्ना पिताबाट धेरै अधिकार प्राप्त गर्नुभए तापनि उहाँले आफ्ना चेलाहरूसित नम्रतासाथ व्यवहार गर्नुहुन्थ्यो। उहाँले आफ्नो ज्ञानको घमण्ड गरेर आफ्ना श्रोताहरूलाई अलमल्लमा पार्नुभएन। येशूले आफ्ना अनुयायीहरूको मानव आवश्‍यकताहरूको ख्याल राख्दै तिनीहरूप्रति सहानुभूति र अनुकम्पा देखाउनुभयो। (मत्ती १५:३२; २६:४०, ४१; मर्कूस ६:३१) उहाँले चेलाहरूबाट कहिल्यै अचाक्ली माग गर्नुभएन र तिनीहरूले सहन सक्ने भन्दा बढी भार बोकाउनुभएन। (यूहन्‍ना १६:१२) येशू “विनयी, र नम्र हृदयको” हुनुहुन्थ्यो। अतः थुप्रैले उहाँबाट स्फूर्ति पाएको महसुस गर्नु कुनै छक्कलाग्दो कुरा होइन।—मत्ती ११:२८-३०.

१७. प्राचीनहरूले मण्डलीमा अरूसित व्यवहार गर्दा कसरी ख्रीष्टको जस्तै विनम्रता देखाउनुपर्छ?

१७ नेता ख्रीष्टले त विनम्रता देखाउनुभयो भने, मण्डलीमा अगुवा लिनेहरूले झनै कति बढ्‌ता देखाउनुपर्छ होला! हो, तिनीहरू आफूलाई सुम्पिएको अख्तियारको दुरुपयोग नगर्न सतर्क छन्‌। अनि तिनीहरूले अरूलाई प्रभाव पार्ने हेतुले आफ्नो “सर्वश्रेष्ठता” देखाउने गर्दैनन्‌। (१ कोरिन्थी २:१, २) बरु, तिनीहरूले सरलता र निष्कपटतासाथ धर्मशास्त्रीय सत्य बोल्ने प्रयास गर्छन्‌। यसबाहेक, प्राचीनहरू अरूबाट आशा गर्ने कुरामा व्यावहारिक हुन खोज्छन्‌ र तिनीहरूका आवश्‍यकताहरूको ख्याल राख्छन्‌। (फिलिप्पी ४:५) सबैका सीमितताहरू हुन्छन्‌ भन्‍ने कुरा मनमा राख्दै तिनीहरूले आफ्ना भाइहरूसित मायालु व्यवहार गर्छन्‌। (१ पत्रुस ४:८) अनि के विनयी र नम्र हृदय भएका प्राचीनहरू साँच्चै स्फूर्तिदायी छैनन्‌ र? अवश्‍य छन्‌।

१८. येशूले केटाकेटीसँग गर्नुभएको व्यवहारबाट प्राचीनहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

१८ साधारण व्यक्‍तिहरूले समेत येशूसँग सजिलै कुरा गर्न सक्थे। ‘मानिसहरूले स-साना केटाकेटीहरूलाई उहाँकहाँ ल्याउँदा’ चेलाहरूले तिनीहरूलाई कसरी हकार्नुभयो, सम्झनुहोस्‌ त। येशूले यसो भन्‍नुभयो, “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।” अनि “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरू माथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१३-१६) येशू न्यानो र दयालु हुनुहुन्थ्यो अनि अरूहरू उहाँप्रति आकर्षित हुन्थे। मानिसहरू येशूसँग डराउँदैनथे। उहाँसँग बस्न केटाकेटीले समेत अप्ठ्यारो मान्दैनथे। प्राचीनहरूसँग पनि नहिचकिचाइ कुरा गर्न सकिन्छ र तिनीहरूले केटाकेटीलगायत अरूसँग स्नेह र दयापूर्वक कुरा गर्दा अप्ठ्यारो मान्‍नुपर्दैन।

१९. “ख्रीष्टको मन” हुनुमा के समावेश छ र यसको लागि कस्तो प्रयास गर्नुपर्छ?

१९ प्राचीनहरूले येशू ख्रीष्टको कुन हदसम्म देखासिकी गर्न सक्छन्‌ भन्‍ने कुरा तिनीहरूले उहाँलाई कत्तिको राम्ररी चिनेका छन्‌ त्यसमा भर पर्छ। “कसले प्रभुको मनलाई जानेको छ, र त्यसले उहाँलाई सिकाउनसक्छ?” भनी पावलले प्रश्‍न गरे। त्यसपछि तिनले यसो भने: “तर अब हामीसँग ता ख्रीष्टको मन छ।” (१ कोरिन्थी २:१६) ख्रीष्टको मन हुनुको अर्थ उहाँको सोचाइ र व्यक्‍तित्वको सबै पक्ष थाह पाउनु हो ताकि यसले गर्दा हामी कुनै खास परिस्थितिमा उहाँले कस्तो व्यवहार गर्नुहुने थियो भनी थाह पाउन सक्छौं। हाम्रो नेतालाई यति राम्ररी चिन्‍न पाउनु कत्ति ठूलो सुअवसर हो, कल्पना गर्नुहोस्‌ त! हो, यसको निम्ति सुसमाचारका विवरणमा गहिरो ध्यान दिनु र नियमित तवरमा ख्रीष्टको जीवन तथा उदाहरणको ज्ञानले हाम्रो मन भर्नुपर्छ। प्राचीनहरूले त्यो हदसम्म ख्रीष्टको नेतृत्व पछ्याउने प्रयास गर्दा मण्डलीका सदस्यहरू तिनीहरूको विश्‍वासको देखासिकी गर्न अझ उत्प्रेरित हुनेछन्‌। अनि अरूले खुसीसाथ नेताको पाइला पछ्याएको देख्दा प्राचीनहरूले सन्तुष्ट महसुस गर्छन्‌।

ख्रीष्टको नेतृत्वको आधीनमा हिंडिरहनुहोस्‌

२०, २१. प्रतिज्ञा गरिएको नयाँ संसारको प्रत्याशा गर्दै हाम्रो संकल्प कस्तो हुनुपर्छ?

२० हामी सबै ख्रीष्टको नेतृत्वको अधीनमा रहिरहनु अत्यन्तै महत्त्वपूर्ण छ। यस दुष्ट रीतिरिवाजको अन्त नजिकिंदै जाँदा हाम्रो अवस्था पनि सा.यु.पू. १४७३ मा मोआबको बेंसीमा इस्राएलीहरूको जस्तै छ। तिनीहरू प्रतिज्ञा गरिएको देशमा पुग्नै लागेका थिए अनि अगमवक्‍ता मोशामार्फत्‌ परमेश्‍वरले यस्तो घोषणा गर्नुभयो: “परमप्रभुले तिमीहरूका पिता-पुर्खासित दिन्छु भनी प्रतिज्ञा गर्नुभएको देशमा मानिसहरूसँग तिमीनै [यहोशू] जानेछौ।” (व्यवस्था ३१:७, ८) यहोशू नियुक्‍त नेता थिए। प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न इस्राएलीहरू यहोशूको नेतृत्वको अधीनमा बस्नु अत्यावश्‍यक थियो।

२१ हामीलाई बाइबलमा यसो भनिएको छ: “तिमीहरूका एक मात्र नेता ख्रीष्टनै हो।” ख्रीष्टले मात्र हामीलाई प्रतिज्ञा गरिएको धार्मिकताले बास गर्ने नयाँ संसारतर्फ डोऱ्‍याउन सक्नुहुन्छ। (२ पत्रुस ३:१३) त्यसैले आउनुहोस्‌, हामी आफ्नो जीवनका सबै पक्षमा उहाँको नेतृत्वको अधीनमा बस्ने संकल्प गरौं।

[फुटनोट]

a यहाँ “ताराहरू[ले]” साँच्चैको स्वर्गदूतहरूलाई चित्रण गर्दैन। येशूले अदृश्‍य आत्मिक प्राणीहरूको निम्ति जानकारी लिपिबद्ध गर्न पक्कै पनि मानिसहरू चलाउनुहुन्‍न। अतः “ताराहरू” भनेको मण्डलीका मानव निरीक्षक वा प्राचीनहरू हुनुपर्छ, जसलाई येशूले आफ्नो सन्देशवाहक ठान्‍नुहुन्छ। तिनीहरूको संख्या सात हुनु भनेको परमेश्‍वरको स्तरअनुसार पूर्णता हो।

के तपाईंलाई सम्झना छ?

• येशूले कसरी प्रारम्भिक मण्डलीको नेतृत्व लिनुभयो?

• आज मसीहले कसरी आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छ?

• हामी किन मण्डलीमा अगुवा लिनेहरूको अधीनमा बस्नुपर्छ?

• प्राचीनहरूले कुन-कुन तरिकामा ख्रीष्टलाई आफ्नो नेता बनाएको देखाउन सक्छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

ख्रीष्टले मण्डलीको नेतृत्व लिनुहुन्छ र निरीक्षकहरूलाई आफ्नो दाहिने हातमा राख्नुहुन्छ

[पृष्ठ १६-मा भएका चित्रहरू]

“तिमीहरूमाथि शासन गर्नेहरूका आज्ञाकारी होओ, र तिनीहरूका अधीनमा बस”

[पृष्ठ १८-मा भएको चित्र]

येशू न्यानो हुनुका साथै उहाँसँग सजिलै कुरा गर्न सकिन्थ्यो। मसीही प्राचीनहरू उहाँजस्तो हुने प्रयास गर्छन्‌