सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं एकाकीपनमाथि विजयी हुन सक्नुहुन्छ

तपाईं एकाकीपनमाथि विजयी हुन सक्नुहुन्छ

तपाईं एकाकीपनमाथि विजयी हुन सक्नुहुन्छ

एकाकीपनको कारण हुने दिक्दारी मैले त भोगेकै छैन भनेर कसले पो भन्‍न सक्छ र? हामीलाई एक्लो महसुस गराउने धेरै कुराहरू छन्‌। तथापि, कहिल्यै पनि विवाह नगरेकी स्त्री वा विधवा तथा सम्बन्ध विच्छेद भइसकेका स्त्रीहरूले सामना गर्नुपर्ने एकाकीपन सबैभन्दा तीव्र हुन सक्छ।

उदाहरणका लागि, फ्रान्सेस नाउँकी एक जवान मसीही स्त्री यसो भन्छिन्‌: “म २३ वर्ष पुग्ने बेलासम्ममा प्रायजसो मेरा सबै साथीहरूको विवाह भइसकेको थियो र विवाह हुन बाँकी म एक जना मात्र थिएँ।” a जसै वर्षहरू बित्दै जान्छन्‌ र विवाह हुने सम्भावना झन-झनै क्षीण हुँदै जान्छ, एक्लोपनको महसुस अझै बढ्‌न सक्छ। “अविवाहित रहने विचार मैले कहिल्यै गरेकी थिइनँ र मौका मिलेमा म अझै पनि विवाह गर्न चाहन्छु” भनेर ५० वर्ष पुग्न लागेकी सान्ड्राले स्वीकारिन्‌। अनि ५० वर्ष नाघिसकेकी एन्जेलाले यसो भनिन्‌: “म अविवाहित नै रहन्छु भनेर मैले निर्णय गरेकी त थिइनँ तर परिस्थितिवश त्यस्तै भयो। मलाई विशेष अग्रगामीको रूपमा खटाइएको इलाकामा अविवाहित भाइहरू धेरै थिएनन्‌।”

सराहनीय कुरा त के छ भने, “प्रभुमा मात्र” विवाह गर्नु भनेर यहोवाले दिनुभएको सल्लाहलाई वफादार भई पालन गरेको कारण धेरै मसीही स्त्रीहरूले विवाह नगर्ने निर्णय गर्छन्‌। (१ कोरिन्थी ७:३९) कोही-कोहीलाई अविवाहित रहन त्यति गाह्रो हुदैन तर कतिपयको भने वर्षहरू बित्दै जाँदा विवाह गर्ने र बच्चाहरू जन्माउने इच्छा बढ्‌दै जान्छ। “विवाहित जोडी नभएको कारण हुने भावनात्मक रिक्‍तता मसँग सधैं रहिरहन्छ” भनेर सान्ड्रा स्वीकार्छिन्‌।

वृद्ध आमाबाबुको हेरचाह गर्नुपर्ने जस्ता अन्य कुराहरूले एकाकीपनलाई झनै बढाउन सक्छ। “परिवारले पनि म अविवाहित भएको कारण मैले नै वृद्ध आमाबाबुको हेरविचार गरोस्‌ भन्‍ने आशा गर्छन्‌” भनी सान्ड्रा भन्छिन्‌। “हामी जम्मा छ जना छोराछोरीहरू भए तापनि २० वर्षसम्म यो जिम्मेवारी मैले नै उठाएँ। मलाई साथ दिने पति भइदिएको भए जीवन धान्‍न कति सजिलो हुने थियो होला।”

आफ्नो एकाकीपनलाई झनै बढाउने कुराबारे फ्रान्सेस बताउँछिन्‌। तिनी यसो भन्छिन्‌: “ ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हँ?’ भनेर कहिलेकाहीं मानिसहरूले सीधै सोध्छन्‌। यस्ता कुराहरू सुन्दा अविवाहित रहनु कतै मेरो गल्ती त होइन जस्तो लाग्छ। म उपस्थित हुने प्रायजसो सबै विवाहहरूमा मानिसहरू मलाई यस्तो अप्ठ्यारो प्रश्‍न गर्छन्‌, ‘अब तपाईंको पालोचाहिं कहिले त?’ अनि म यस्तो सोच्न थाल्छु, ‘ममा आवश्‍यक मसीही गुणहरू नभएकोले वा म राम्री नभएको कारण आध्यात्मिक झुकाउ भएका भाइहरूले मप्रति चासो नदेखाएका होलान्‌।’ ”

त्यागिएको भाव र एकाकीपनमाथि कसरी विजयी हुन सकिन्छ? त्यस्ताहरूलाई मदत दिन अरूले के गर्न सक्छन्‌?

यहोवामा भर पर्नुहोस्‌

भजनहारले यस प्रकार गाए: “तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सह्‍माल्नुहुनेछ, र उहाँले धर्मात्मालाई कहिल्यै डग्नदिनुहुनेछैन।” (भजन ५५:२२) हिब्रू पदमा “भारी” भन्‍ने शब्दको शाब्दिक अर्थ “भाग” हो र यसले हाम्रो जीवनमा आफ्नो भागमा परेको दुःखकष्टको कारण भोग्नुपर्ने चिन्ता र फिक्रीलाई जनाउँछ। अरूलाई भन्दा यहोवालाई यी भारीहरूबारे राम्ररी थाह छ र उहाँले हामीलाई यसको सामना गर्न बल दिन सक्नुहुन्छ। यहोवामाथिको भरोसाले एन्जेलालाई एकाकीपनको सामना गर्न मदत गरेको छ। आफ्नो पूर्ण-समय सेवकाईलाई संकेत गर्दै तिनी यसो भन्छिन्‌: “अग्रगामी गर्न थाल्दा म र मेरो साथी सबैभन्दा नजिकको मण्डलीबाट पनि एकदमै टाढा बस्थ्यौं। हामीले यहोवामा पूर्ण भरोसा राख्न सिक्यौं र यस भरोसाले मलाई जीवनभर मदत गरेको छ। निराशाजनक विचारहरू आउँदा म यहोवासित कुरा गर्छु र उहाँले मलाई मदत गर्नुहुन्छ। भजन २३ अध्याय मेरोलागि ठूलो सान्त्वनाको स्रोत भएको छ र म यो बारम्बार पढ्‌छु।”

प्रेरित पावलले एउटा ठूलो भारी बोक्नुपरेको थियो। ‘उनको शरीरमा भएको छेस्को हटोस्‌ भनेर तिनले प्रभुसित’ कम्तीमा पनि तीन पटक बिन्ती गरे। पावलले चमत्कारपूर्ण ढंगमा मदत त पाएनन्‌ तर परमेश्‍वरको प्रशस्त अनुग्रहले तिनलाई सम्हाल्नेछ भन्‍ने प्रतिज्ञा भने पाए। (२ कोरिन्थी १२:७-९) पावलले सन्तुष्ट हुँदा पाइने लाभको रहस्य पनि बुझे। तिनले पछि यस्तो लेखे: “हरेक कुरामा र सम्पूर्ण कुरामा तृप्त हुने पनि र भोको हुने पनि, प्रशस्त हुने र खाँचोमा पर्ने पनि गुप्त कुरो मैले सिकेको छु। जसले मलाई शक्‍ति दिनुहुन्छ उहाँमा सबै कुरा म गर्नसक्छु।”—फिलिप्पी ४:१२, १३.

निरुत्साहित वा एकाकीपन महसुस हुँदा कसरी परमेश्‍वरबाट बल प्राप्त गर्न सकिन्छ? यस विषयमा पावलले यस प्रकार लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।” (फिलिप्पी ४:६, ७) सान्ड्रा यस सल्लाहलाई व्यवहारमा उतार्छिन्‌। तिनी यसो भन्छिन्‌: “अविवाहित भएको कारण म निकै समय एक्लै बिताउँछु। यसले मलाई यहोवालाई प्रार्थना गर्ने प्रशस्त अवसर दिन्छ। म उहाँसँग एकदमै नजिक भएको महसुस गर्छु र मेरा समस्या तथा आनन्दहरूबारे उहाँसँग निर्धक्क भएर कुरा गर्न सक्छु।” अनि फ्रान्सेस यसो भन्छिन्‌: “आफूमा आउने नकारात्मक विचारहरूसँग लगातार संघर्ष गरिरहनुपर्छ। तर नहिचकिचाइकन यहोवालाई मेरा भावनाहरू खुलस्त बताउँदा ठूलो मदत पाउँछु। मेरो आध्यात्मिक र भावनात्मक हितलाई असर गर्ने हरेक कुरामा यहोवाले चासो राख्नुहुन्छ भन्‍ने कुरामा म ढुक्क छु।”—१ तिमोथी ५:५.

“तिमीहरू एउटाले अर्कोको भार उठाऊ”

मसीही भ्रातृत्वमा एक्लैले भार उठाउनुपर्दैन। “तिमीहरू एउटाले अर्कोको भार उठाऊ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर” भनी प्रेरित पावलले सल्लाह दिए। (गलाती ६:२) सँगी मसीहीहरूसँगको संगतिद्वारा हामीले प्रोत्साहनका “दयालु वचन” पाउन सक्छौं, जसले एकाकीपनको भारीलाई हलुका बनाउन सक्छ।—हितोपदेश १२:२५.

इस्राएलका न्यायकर्ता यिप्तहकी छोरीबारे धर्मशास्त्रले के भन्छ यसलाई पनि विचार गर्नुहोस्‌। आफ्ना शत्रु अम्मोनीहरूमाथि विजय प्राप्त गर्नुअघि यिप्तहले आफ्नो घरबाट उनलाई भेट्‌नको निम्ति पहिले निस्कने व्यक्‍ति यहोवालाई चढाउने भाकल गरे। पहिला निस्कने व्यक्‍ति तिनकी आफ्नै छोरी परिन्‌। (न्यायकर्त्ता ११:३०, ३१, ३४-३६) यसको अर्थ तिनी अविवाहित रहनुपर्थ्यो र परिवार बसाल्ने आफ्नो स्वाभाविक इच्छालाई त्याग्नुपर्थ्यो तरैपनि यिप्तहकी छोरीले यसै भाकलअनुरूप गरिन्‌ र आफ्नो बाँकी जीवनभर शीलोको मन्दिरमा सेवा गरिन्‌। के तिनले गरेको त्याग व्यर्थ गयो? गएन, बरु “इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म यिप्तहकी छोरीको स्मृतिमा जानपर्ने एउटा परम्परा भयो।” (न्यायकर्त्ता ११:४०) हो, प्रशंसा गर्नाले प्रशंसा पाउनेहरू प्रोत्साहित हुन सक्छन्‌। त्यसैकारण, आवश्‍यक परेकाहरूलाई प्रशंसा गर्न हामी कहिल्यै नचुकौं।

हामी येशूको उदाहरणलाई पनि विचार गर्न सक्छौं। यहूदीहरूमाझ लोग्ने मानिसहरूले स्त्रीहरूसँग वार्तालाप गर्ने प्रचलन नभए तापनि येशूले मरियम र मार्थासँग समय बिताउनुभयो। सम्भवतः तिनीहरू विधवा वा अविवाहित स्त्रीहरू थिए। तिनीहरू दुवैले आफूसँगको मित्रताबाट आध्यात्मिक लाभ उठाएको येशू चाहनुहुन्थ्यो। (लूका १०:३८-४२) अविवाहित आध्यात्मिक बहिनीहरूलाई हाम्रो सामाजिक जमघटहरूमा समावेश गराएर अनि तिनीहरूसँग प्रचार कार्यमा भाग लिने प्रबन्ध मिलाएर हामी येशूको उदाहरण अनुकरण गर्न सक्छौं। (रोमी १२:१३) यस्ता कामहरूको के तिनीहरू मूल्यांकन गर्छन्‌? एउटी बहिनीले यसो भनिन्‌: “भाइहरूले मलाई प्रेम र कदर गर्छन्‌ भन्‍ने कुरा मलाई थाह छ तर उनीहरूले मप्रति अझ बढी व्यक्‍तिगत रूपमा चासो लिंदा म झनै कृतज्ञ हुन्छु।”

सान्ड्रा यसो भन्छिन्‌, “हाम्रो आफ्नो भन्‍ने कोही पनि नभएकोले आध्यात्मिक भाइबहिनीहरूको परिवारको भाग भएको महसुस गर्न हामीलाई धेरै प्रेमको आवश्‍यकता पर्छ।” स्पष्टतः यहोवाले यस्ताहरूको हेरविचार गर्नुहुन्छ र उनीहरूलाई आफ्नो पनि केही महत्त्व छ र अरूहरूले आफूलाई प्रेम गर्छन्‌ भन्‍ने महसुस गराउँदा हामीले यहोवासँगसँगै मिलेर काम गरिरहेका हुन्छौं। (१ पत्रुस ५:६, ७) यस्तो चासो देखाउन गरेको प्रयास बेकार जाँदैन किनभने “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।”—हितोपदेश १९:१७.

“हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ”

अरूहरूले मदत गर्न सक्छन्‌ र तिनीहरूले दिएको सहायता धेरै नै प्रोत्साहनदायी हुन सके तापनि “हरेक मानिसले आफ्नै निज भार उठाउनुपर्छ।” (गलाती ६:५) तथापि, एकाकीपनको भार उठाउँदा हामी केही खतराहरूदेखि भने होसियार हुनुपर्छ। उदाहरणका लागि, हामीले हाम्रा भावनाहरूलाई गुम्साएर एकलकाँटे भयौं भने एकाकीपन हामीमाथि विजयी हुन सक्छ। अर्कोतर्फ, प्रेमद्वारा हामी एकाकीपनमाथि विजयी हुन सक्छौं। (१ कोरिन्थी १३:७, ८) हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि आनन्द प्राप्त गर्ने प्रमुख तरिका दिनु र बाँड्‌नु हो। (प्रेरित २०:३५) “म एक्लो छु भनेर सोच्न मलाई त्यत्ति फुर्सदै हुँदैन” भनेर एक परिश्रमी अग्रगामी बहिनी भन्छिन्‌। “मैले महत्त्वपूर्ण काम गरिरहेकी छु र अरूले मेरो ख्याल गर्छन्‌ भनेर थाह पाउँदा म एक्लो महसुस गर्दिनँ।”

एकाकीपनले हामीलाई हानिकारक सम्बन्धतर्फ नडोऱ्‍याओस्‌ भनेर हामी सधैं होसियार हुनुपर्छ। उदाहरणका लागि, विवाह गर्ने इच्छाको कारणले गर्दा, बेग्लै विश्‍वास भएको व्यक्‍तिसँग विवाह गर्दा आउने तीन थुप्रो समस्याहरू र विशेष गरी यस्तो सम्बन्ध नराख्नू भन्‍ने धर्मशास्त्रीय सल्लाहलाई उल्लंघन गर्नु कत्ति दुःखदायी हुनेछ! (२ कोरिन्थी ६:१४) सम्बन्ध विच्छेद गरेकी एउटी मसीही स्त्रीले यसो भनिन्‌: “एक्लो हुनुभन्दा गलत व्यक्‍तिसित विवाह गर्नु झनै दुःखदायी हुन्छ।”

समाधान गर्न नसकिने समस्यालाई केही समयका लागि सहनुपर्ने हुन सक्छ। परमेश्‍वरको मदतद्वारा एकाकीपनलाई सहन सकिन्छ। यहोवाको सेवामा लागिरहँदा एक दिन अवश्‍यै हाम्रा सम्पूर्ण आवश्‍यकताहरू सर्वोत्तम तरिकामा पूरा हुनेछन्‌ भन्‍ने कुरामा हामी निर्धक्क हुन सक्छौं।—भजन १४५:१६.

[फुटनोट]

a माथि उल्लिखित स्त्रीहरूको नाउँ परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २८-मा भएका चित्रहरू]

एकाकीपनमाथि विजयी हुन दिनु अनि बाँड्‌नुपर्छ