सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वाल्डेन्सेस विधर्मवाददेखि प्रोटेस्टेन्टवादसम्म

वाल्डेन्सेस विधर्मवाददेखि प्रोटेस्टेन्टवादसम्म

वाल्डेन्सेस विधर्मवाददेखि प्रोटेस्टेन्टवादसम्म

यो दक्षिणी फ्रान्सको प्रोभेन्स प्रान्तमा अवस्थित सुन्दर लुबेरोन क्षेत्रमा सन्‌ १५४५ तिर घटेको घटना थियो। धार्मिक असहिष्णुताले उक्साएको डरलाग्दो अभियान पूरा गर्न एउटा सैन्यदल यहाँ जम्मा भएको थियो। त्यसपछि एक हप्तासम्म ठूलो रक्‍तपात मच्चियो।

गाउँहरू ध्वस्त पारियो र त्यहाँका बासिन्दाहरूलाई कैदी बनाइयो वा मारियो। निर्दयी सिपाहीहरूले यस हत्याकाण्डमा निकै क्रूर व्यवहार गरेको कारण युरोप डरले थरथर काम्न थाल्यो। लगभग २,७०० जना पुरुषहरू मारिए र ६०० जनालाई युद्धपोतमा काम गर्न पठाइयो अनि यसबाहेक आइमाई तथा केटाकेटीहरूले भोगेको दुःख त छँदै छ। यस रक्‍तपातपूर्ण अभियानको नेतृत्व लिने सेनाको कमान्डरलाई फ्रान्सेली राजा तथा पोपले खूब तारिफ गरे।

फ्रान्सका क्याथोलिक राजा फ्रान्सिस प्रथमले प्रोटेस्टेन्टवाद छ्यासछ्यास्ती फैलिएको देखेर चिन्तित हुँदै आफ्नो राज्यमा विधर्मी भनौंदाहरूको खोजी गर्न थाल्दा सुधारवादी नीतिले जर्मनीलाई दुई भागमा टुक्राइसकेको थियो। विधर्मी केही मानिसहरू मात्र होइनन्‌ तर प्रोभेन्सका अधिकारीहरूले पूरै गाउँ धर्म विरोधी भएको फेला पारे। विधर्मवादलाई नामेट पार्ने प्रस्ताव पारित गरियो र अन्ततः सन्‌ १५४५ मा यो हत्याकाण्ड भयो।

यी विधर्मीहरू को थिए? अनि तिनीहरू किन धार्मिक असहिष्णुताको सिकार भए?

सम्पन्‍नताबाट गरिबी

त्यस हत्याकाण्डमा मारिएका व्यक्‍तिहरू १२ औं शताब्दीको धार्मिक अभियानसित सम्बन्धित व्यक्‍तिहरू थिए र तिनीहरू युरोपभरि फैलिएर बसेका थिए। यसको व्यापक फैलाउ र धेरै शताब्दीसम्म अस्तित्वमा रहेको कारण नै धार्मिक विद्रोहको इतिहासमा यसले आफ्नो छुट्टै पहिचान बनाउन सकेको हो। थुप्रै इतिहासकारहरू यस अभियानको सुरुआत सन्‌ ११७० तिर भएको थियो भन्‍ने कुरामा सहमति जनाउँछन्‌। लियोन्स भन्‍ने फ्रान्सेली शहरमा वोड्‌ज नाउँ भएका धनी व्यापारी परमेश्‍वरलाई खुसी तुल्याउने तरिका सिक्न अत्यन्तै इच्छुक भए। एक जना धनी मानिसलाई आफ्नो धनसम्पत्ति बेचेर गरिबहरूलाई बाँड्‌नु भनेर येशूले दिनुभएको सल्लाहबाट उत्प्रेरित भई तिनले आफ्नो परिवारको हेरचाहको निम्ति जायजेथा छुट्याए र सुसमाचार प्रचार गर्न बाँकी सबै सम्पत्ति त्यागिदिए। (मत्ती १९:१६-२२) तिनले चाँडै थुप्रै चेलाहरू जम्मा गरे र तिनीहरू पछि वाल्डेन्सेस भनेर चिनिए। a

गरिबी, प्रचारकार्य र बाइबल वोड्‌जको लागि प्रमुख चासोको विषय थियो। पादरीवर्गको सम्पन्‍नताको विरोध गर्नु कुनै नौलो कुरा थिएन। केही समयका लागि त पादरीहरूका विरोधीहरूले चर्चका भ्रष्ट गतिविधिहरू तथा अख्तियार दुरुपयोगको घोर भर्त्सनासमेत गरेका थिए। तर वोड्‌ज तिनका अधिकांश अनुयायीहरूजस्तै सामान्य मानिस थिए। त्यसैकारण बाइबल, सर्वसाधारणले बुझ्ने भाषामा हुनुपर्छ भनेर तिनले महसुस गर्नुको कारण बुझ्न सक्छौं। ल्याटिन भाषामा उपलब्ध चर्चको बाइबल पादरीहरूले मात्र पढ्‌न पाउने भएकोले, वोड्‌जले सुसमाचारका पुस्तकहरूलगायत बाइबलका अन्य पुस्तकहरू फ्रान्सको पूर्वी मध्य भूभागमा बसोबास गर्ने सामान्य मानिसहरूको फ्रान्को-प्रोभेन्सी भाषामा अनुवाद गर्न लगाए। b प्रचार गर्नु भनी येशूले दिनुभएको आदेशलाई पालन गर्दै लियोन्सका गरिबहरूले खुल्लमखुल्ला प्रचार गर्न थाले। (मत्ती २८:१९, २०) जन प्रचारकार्य अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने वाल्डेन्सेसहरूको अडान चर्चमा प्रमुख विवादको विषय बन्यो, जसको फलस्वरूप तिनीहरूप्रति चर्चको दृष्टिकोण अर्कै हुन गयो भनी इतिहासकार गब्रिएल अडिसियो वर्णन गर्छन्‌।

क्याथोलिकबाट विधर्मवाद

ती दिनहरूमा पादरीहरूले मात्र प्रचार गर्न पाउँथे र प्रचार गर्ने अनुमति दिने कि नदिने भन्‍ने अख्तियार चर्चमा निहित हुन्थ्यो। पादरीहरूले वाल्डेन्सेसहरूलाई अबुझ र अनपढ ठान्थे तर सन्‌ ११७९ मा वोड्‌जले पोप आलेक्सजेन्डर तृतीयसित प्रचार कार्यको लागि आधिकारिक अनुमति मागे। अनुमति त दिइयो तर स्थानीय पादरीहरूले सहमति दिएको खण्डमा मात्र त्यो काम गर्न पाइने सर्त राखियो। यसो गर्नुको अर्थ “अनुमति नदिनुसरह नै थियो” भनी इतिहासकार माल्कम लाम्बर्ट टिप्पणी गर्छन्‌। वास्तवमा, लियोन्सका मुख्य पादरी झाँ बेलेसमेन्सले प्रचार कार्यलाई औपचारिक रूपमै निषेध गरेका थिए। वोड्‌जले प्रेरित ५:२९ उद्धृत गर्दै यस्तो प्रतिक्रिया व्यक्‍त गरे: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” वोड्‌जले उक्‍त प्रतिबन्धलाई बेवास्ता गरेको कारण तिनलाई सन्‌ ११८४ मा चर्चबाटै बहिष्कार गरियो।

वाल्डेन्सेसलाई लियोन्सको बिशप अधीनस्थ इलाकाबाट निर्वासित गरिनुका साथै शहरबाट धपाइए तापनि सुरुमा यस कानुनलाई त्यति कडिकडाइसाथ लागू गरिएजस्तो देखिंदैनथ्यो। थुप्रै साधारण मानिसहरूले वाल्डेन्सेसहरूको गम्भीरता तथा जीवनशैलीको प्रशंसा गर्थे तर केही बिशपहरूले भने तिनीहरूको विरोध गर्न छाडेनन्‌।

इतिहासकार युआन क्यामेरनका अनुसार वाल्डेन्सी प्रचारकहरूले “विना कारण रोमन चर्चको विरोध” गरेका थिएनन्‌ जस्तो देखिन्छ। तिनीहरू केवल “प्रचार गर्न र सिकाउन चाहन्थे।” यस अभियानमाथि एकपछि अर्को प्रतिबन्ध लगाएर तिनीहरूलाई सधैंको लागि पन्छाउन खोजिएको हुनाले मात्र तिनीहरू विधर्मवादतिर लागेका हुन्‌ भनी इतिहासकारहरू बताउँछन्‌। सन्‌ १२१५ मा फोर्थ लाटरान काउन्सिलले वाल्डेन्सेसहरू विरुद्ध अभिशाप प्रकाशित गर्दा चर्चको निन्दा चरमबिन्दुमा पुगेको कुरा स्पष्ट भयो। यसले तिनीहरूको प्रचार कार्यलाई कस्तो असर पाऱ्‍यो?

तिनीहरू भूमिगत हुन्छन्‌

सन्‌ १२१७ मा वोड्‌जको मृत्यु भयो र सतावटका कारण तिनका अनुयायीहरू फ्रान्सेली अल्पाइन उपत्यका, जर्मनी, उत्तरी इटाली अनि मध्य र पूर्वी युरोपहरूतिर छरप्रस्ट भए। सतावटले गर्दा नै वाल्डेन्सेसहरू गाउँघरमा बसोबास गर्न र थुप्रै क्षेत्रमा प्रचार गतिविधिलाई सीमित पार्न बाध्य भए।

धर्मयुद्धको नाउँमा क्याथोलिक चर्चले सन्‌ १२२९ मा दक्षिणी फ्रान्समा कथारी अर्थात्‌ अल्बाइजेन्सेसहरूलाई अस्तित्वहीन पाऱ्‍यो। c त्यस्तो घोर आक्रमणको अर्को सिकार वाल्डेन्सेसहरू बने। चाँडै चर्चका सम्पूर्ण विरोधीहरूको विरुद्धमा गरिने इन्क्वीजिशन अर्थात्‌ जाँचबुझले उग्र रूप लिनेवाला थियो। डरले गर्दा वाल्डेन्सेसहरू भूमिगत भए। सन्‌ १२३० तिर तिनीहरूले खुल्लमखुल्ला प्रचार गर्न छोडिसकेका थिए। अडिसियो यसो भन्छन्‌: “नयाँ भेडाहरूको खोजी गर्नुको सट्टा . . . तिनीहरू यस मार्ग अपनाइसकेकाहरूको हेरचाह गर्न र बाहिरी दबाउ तथा सतावटको घडीमा समेत विश्‍वासमा अडिग रहन मदत गर्नतिर ध्यानकेन्द्रित गरे।” तिनी थप यसो भन्छन्‌, “तिनीहरू अझै पनि प्रचारलाई महत्त्वपूर्ण ठान्थे तर व्यवहारमा भने कुरा अर्कै भइसकेको थियो।”

तिनीहरूका विश्‍वास तथा प्रचलनहरू

पुरुष तथा स्त्री सबै मिलेर प्रचार कार्यमा भाग लिनुको सट्टा १४ औं शताब्दीसम्ममा वाल्डेन्सेसहरूमाझ प्रचारकहरू र विश्‍वासीहरूबीच ठूलो भिन्‍नता देखा परिसकेको थियो। त्यसपछि त प्रशिक्षित पुरुषहरूले मात्र पास्टरको काममा भाग लिन थाले। यी फिरन्ते सेवकहरू पछि बार्ब्स (अंकलहरू) भनेर चिनिन थाले।

वाल्डेन्सी परिवारहरूको घर-घरमा गएर भेट्‌न जाने बार्बहरू-ले यस अभियानलाई विस्तार गर्नुको साटो अस्तित्वहीन हुनबाट जोगाउने प्रयास मात्र गरे। बार्बहरू सबै लेखपढ गर्न सक्षम थिए र तिनीहरूको छ वर्षे लामो प्रशिक्षण बाइबलमै केन्द्रित हुन्थ्यो। आफ्नै भाषामा उपलब्ध बाइबल प्रयोग गर्दा आफ्ना बगाललाई बाइबलमा भनिएका कुरा बुझाउन सजिलो भयो। विरोधीहरूले समेत वाल्डेन्सेसलगायत तिनीहरूका बच्चाहरू सबैले बाइबलको संस्कृतिलाई दह्रो गरी अपनाएका र ती शास्त्रबाट ठूल-ठूला पद्यांश उद्धरण गर्न सकेको कुरा स्वीकारेका छन्‌।

झूट बोल्नु, नरक कुण्डको शिक्षा, मरेकाहरूको सम्झनामा मास मनाउनु, पोपले क्षमा दिनु र मनपरी गर्नु अनि मेरी तथा “सन्तहरूको” उपासना गर्नुजस्ता विभिन्‍न कुराहरूलाई वाल्डेन्सेसहरू अस्वीकार गर्थे। तिनीहरूले प्रभुको साँझको भोज अर्थात्‌ अन्तिम भोजलाई पनि वर्षेनी मनाउने गर्थे। लम्बर्टका अनुसार तिनीहरूको उपासना गर्ने तरिका “वास्तवमा, साधारण मानिसहरूले मान्‍ने धर्मको जस्तै थियो।”

“दोहोरो जीवनशैली”

वाल्डेन्सेसहरूको समुदायका मानिसहरूबीच निकै घनिष्ठ सम्बन्ध हुन्थ्यो। तिनीहरू आफ्नै धर्मकाहरूसित मात्र विवाह गर्थे र शताब्दियौंको दौडान यसले वाल्डेन्सियन भन्‍ने जातसमेत सृजना गऱ्‍यो। तथापि, अस्तित्व नामेट नहोस्‌ भन्‍ने धुनमा तिनीहरूले आफ्ना विचारधाराहरूलाई लुकाउने प्रयास गरे। तिनीहरूले आफ्ना धार्मिक विश्‍वास तथा प्रचलनहरूलाई लुकाउन खोजेको कारण विरोधीहरूले तिनीहरू दियाबलको उपासना गर्छन्‌ भन्‍ने जस्ता घोर निन्दाहरू गर्ने बाटो पाए।

वाल्डेन्सेसहरूले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्न इतिहासकार क्यामेरोनले बताएझैं तिनीहरूले क्याथोलिक उपासनासित सम्बन्धित “कुनै-कुनै प्रचलनहरूमा” भाग लिएर सहमति जनाइसकेका थिए। थुप्रै वाल्डेन्सेसहरूले क्याथोलिक धर्मगुरुहरूसामु क्षमायाचना गर्थे, मासमा उपस्थित हुन्थे, पवित्र पानीको प्रयोग गर्थे र तीर्थयात्राहरूमा समेत जान्थे। लाम्बर्ट यस्तो टिप्पणी गर्छन्‌: “थुप्रै कुरामा तिनीहरूले आफ्ना क्याथोलिक छिमेकीहरूको नकल गरे।” समय बित्दै जाँदा वाल्डेन्सेसहरूले “दोहोरो जीवन बिताए” भनी अडिसियो बताउँछन्‌। तिनी अझ यसो भन्छन्‌: “एकातिर शान्ति कायम राख्न तिनीहरूले देखावटी रूपमा क्याथोलिकहरूले जस्तै व्यवहार गर्न थाले भने अर्कोतिर आफ्ना समुदायको अस्तित्व कायमै राख्न तिनीहरू विभिन्‍न किसिमका प्रचलन तथा नित्यकर्महरूमा लागिरहे।”

विधर्मवाददेखि प्रोटेस्टेन्टवादसम्म

सोह्रौं शताब्दीमा सुधारवादी अभियानले युरोपको धार्मिक संरचनामै आमूल परिवर्तन गऱ्‍यो। असहिष्णुताको सिकार भएकाहरूले या त आफ्नो देशमा कानुनी मान्यता पाउन कोसिस गर्नसक्थे नभए राम्रो वातावरणको खोजीमा अन्यत्र बसाइँ सर्न सक्थे। पहिलेदेखि चलिआएका धर्मसिद्धान्तहरूमाथि नै मानिसहरूले शंका गर्न थालेपछि विधर्मवादको विवाद त्यति महत्त्वपूर्ण भएन।

सन्‌ १५२३ तिरै चिरपरिचित सुधारवादी मार्टीन लुथरले वाल्डेन्सेसहरूबारे उल्लेख गरेका छन्‌। सन्‌ १५२६ मा एक जना वाल्डेन्सी बार्ब-ले युरोपमा भइरहेको धार्मिक विकासबारे आल्पस्‌मा खबर पुऱ्‍याए। त्यसपछि प्रोटेस्टटेन्ट समुदायले वाल्डेन्सीहरूसित आफ्ना विचारहरू आदान-प्रदान गर्न थाले। प्रोटेस्टेन्टहरूले वाल्डेन्सेसहरूलाई मौलिक भाषाबाट फ्रान्सेली भाषामा पहिलो बाइबल अनुवाद गर्न प्रोत्साहन दिए। सन्‌ १५३५ मा छापिएको यो बाइबल पछि ओलिभेटन बाइबल भनेर चिनिन थाल्यो। तथापि, दुःखको कुरा प्रायजसो वाल्डेन्सीहरूले फ्रान्सेली भाषा बुझ्दैनथे।

क्याथोलिक चर्चले सतावट दिन नछोडेको कारण थुप्रै वाल्डेन्सेसहरू पनि प्रोटेस्टेन्ट आप्रवासीहरूजस्तै फ्रान्सको दक्षिणी भागमा पर्ने सुरक्षित प्रोभेन्स क्षेत्रमा बसोबास गर्न थाले। यस बसाइँ सराइबारे अधिकारीहरूलाई तुरुन्तै सचेत गराइयो। वाल्डेन्सेसहरूको जीवनशैली तथा नैतिकतासम्बन्धी थुप्रै सकारात्मक प्रतिवेदनहरू प्राप्त भए तापनि केही मानिसहरूले तिनीहरूको वफादारीमाथि शंका गर्नुका साथै तिनीहरू सुशासनको निम्ति खतरा भएको आरोप लगाउन थाले। यसले गर्दा मेरिन्डोल उर्दी जारी गरियो र यस लेखको सुरुमा वर्णन गरिएझैं डरलाग्दो रक्‍तपात मच्चियो।

क्याथोलिक र वाल्डेन्सेसहरूको सम्बन्ध दिनदिनै चिसिंदै गयो। आफू विरुद्ध गरिएको आक्रमणको प्रतिकार गर्न वाल्डेन्सेसहरूले आफ्नो सुरक्षा गर्न हतियार उठाए। यस भिडन्तले गर्दा तिनीहरू प्रोटेस्टेन्ट मतमा गाभिन बाध्य भए। यस प्रकार वाल्डेन्सीहरू प्रोटेस्टेन्टहरूको मूल धारामा सामेल भए।

शताब्दीयौंको दौडान वाल्डेन्सी चर्चहरू फ्रान्सबाट निकै टाढा उरूग्वे र संयुक्‍त राज्य अमेरिकामा समेत स्थापित भएका छन्‌। तथापि, प्रायजसो इतिहासकारहरू अडिसियोका यस भनाइसित सहमत हुन्छन्‌, “सुधारवादको समयमै वाल्डेन्सीहरूको अन्त भयो” जब यसलाई प्रोटेस्टेन्टवादसित छ्यासमिस गरियो। वास्तवमा, वाल्डेन्सी अभियानले आफ्नो सुरुको जोस शताब्दीयौंअघि नै गुमाइसकेको थियो। यसो हुनुको मुख्य कारण, यसका सदस्यहरूले डराएर बाइबल आधारित प्रचार तथा शिक्षण कार्य गर्न छाड्‌नु थियो।

[फुटनोटहरू]

a वोड्‌जलाई वाल्डेस, वाल्डेसियस वा वाल्डो पनि भनिन्छ। यो पछिल्लो नाउँबाटै “वाल्डेन्सेस” भन्‍ने पदावली सुरु भएको हो। वाल्डेन्सेस वा वाल्डेन्सीलाई लियोन्सका गरिबहरू पनि भनिन्थ्यो।

b सन्‌ ११९९ को सुरुतिर उत्तरपूर्वी फ्रान्समा पर्ने मेट्‌जका बिशपले पोप इनोसेन्ट तृतीयलाई सबै मानिसहरूले आ-आफ्नै स्थानीय भाषामा बाइबल पढेर छलफल गरिरहेका छन्‌ भन्‍ने गुनासो गरे। यो कुरा बताउँदा बिशपले पक्कै वाल्डेन्सेसलाई संकेत गरिरहेका हुन सक्छन्‌।

c प्रहरीधरहरा सेप्टेम्बर १, १९९५ को पृष्ठ २७-३० “कथारीहरू के तिनीहरू मसीही शहीदहरू थिए?” विषयक लेख हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

वाल्डेन्सेसहरूले प्रभाव पारेका क्षेत्रहरू

फ्रान्स

लियोन्स

प्रोभेन्स

लुबेरोन

स्ट्रासबर्ग

मिलान

रोम

बर्लिन

प्राग

भियना

[चित्र]

वाल्डेन्सेसहरूले सन्‌ १५३५ को ओलिभेटन बाइबलको अनुवाद गर्न खर्च बेहोरे

[स्रोत]

Bible: © Cliché Bibliothèque nationale de France, Paris

[पृष्ठ २०, २१-मा भएका चित्रहरू]

वोड्‌ज

दुई जना वाल्डेन्सी वृद्धा महिलाहरूलाई जलाइँदै

[स्रोत]

Pages 20 and 21: © Landesbildstelle Baden, Karlsruhe