सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शव लेपन के यो मसीहीहरूका लागि उचित हो?

शव लेपन के यो मसीहीहरूका लागि उचित हो?

शव लेपन के यो मसीहीहरूका लागि उचित हो?

आफ्नो मृत्युको घडी नजिक आउँदा विश्‍वासी कुलपिता याकूबले यो अन्तिम आग्रह गरेका थिए: “हित्ती एप्रोनको खेतमा भएको ओढ़ारमा मेरा पिता-पुर्खाहरूका साथमा मलाई गाड़। त्यही ओढ़ारमा, जो . . . कनान देशमा मम्रेको पूर्वतिर मकपेलाको जग्गामा।”—उत्पत्ति ४९:२९-३१.

त्यस समय मिश्रमा व्याप्त प्रचलनअनुसारै यूसुफले आफ्नो बुबाले गरेको आग्रहको आदर गरे। तिनले “आफ्ना चाकरहरू र वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप मल्न” आदेश दिए। उत्पत्ति ५० अध्यायको विवरणअनुसार वैद्यहरूले उक्‍त शवलाई त्यतिबेलाको चलनअनुसार ४० दिनै लगाएर तयार पारे। याकूबको लासमा सुगन्धित लेप लगाएको कारण बिस्तार आफ्नै सुरमा हिंड्‌ने परिवारका सदस्यहरू र मिश्रका मुख्य-मुख्य मानिसहरू समावेश भएको विशाल मलामीले ४०० किलोमिटर यात्रा गरेर हेब्रोनमा गाड्‌न लैजाँदा समेत लासलाई केही भएन।—उत्पत्ति ५०:१-१४.

के याकूबको लेप लगाइएको शव कुनै दिन भेटिएला? भेट्‌ने सम्भावना निकै कम छ। इस्राएल सिंचित भूमि थियो र यसले गर्दा पनि त्यहाँ उत्खनन्‌ गर्दा धेरै कुरा भेट्टाउन सम्भव छैन। (प्रस्थान ३:८) प्राचीन समयका धातु तथा पत्थरका वस्तुहरू अझ पनि थुप्रै छन्‌ तर कपडा, छाला र सुगन्धित लेप लगाइएका शवहरूजस्ता चाँडै नाश हुने वस्तुहरू भने ओस तथा प्राकृतिक परिवर्तनहरूबाट बच्न सकेका छैनन्‌।

तर यो शव लेपन गर्नु भनेको चाहिं के हो? किन यसो गरिन्छ? के मसीहीहरूले त्यसो गर्नु उचित हो?

यस प्रचलनको सुरुआत कहाँबाट भयो?

लेपन गर्नुलाई मानव तथा जन्तुहरूको सिनो जोगाउने कार्य भनेर पनि वर्णन गर्न सकिन्छ। लेपन गर्ने काम मिश्रमा सुरु भएको थियो तर अश्‍शूर, पर्सिया र सिथियाका बासिन्दाहरूले पनि यस्तो कार्य गर्थे भन्‍ने कुरामा इतिहासकारहरू सहमति जनाउँछन्‌। मरुभूमिमा गाडिएका लासहरू प्राकृतिक तवरमा सुरक्षित रहेको देखेपछि नै लेपन कार्यप्रतिको चासो बढेको हुनुपर्छ। त्यस्तो ठाउँमा गाड्‌दा ओस तथा हावा लाससम्म पुग्न नसकेर नसडेको हुन सक्छ। मिश्रमा जताततै प्रशस्त मात्रामा पाउन सकिने घोलनशील क्षार अर्थात्‌ नाट्रोनमा (सोडियम कार्बोनेटमा) लास राख्दा सुरक्षित भेट्टिएपछि लेपन गर्ने कार्य सुरु भएको हुनुपर्छ भन्‍ने सिद्धान्त कसै-कसैले प्रतिपादन गरेका छन्‌।

लेपन गर्नुको उद्देश्‍य मानिसको मृत्यु भएको केही घण्टादेखि नै सुरु हुने जैविक प्रतिक्रियालाई रोकेर सड्‌न नदिनु हो। यस प्रतिक्रियालाई हटाउन सकिएको खण्डमा सड्‌ने क्रम चट्टै नभए बिस्तारै रोकिन्छ। यसको लागि तीनवटा काम गर्नुपर्छ। ती हुन्‌: लासलाई जिउँदो शरीरजस्तै राख्नु, सड्‌न नदिनु र लासलाई कीटाणुहरूको ध्वंसात्मक गतिविधिको प्रतिरोध गर्न सक्षम बनाउनु।

प्राचीन मिश्रीहरूले मुख्यतया धार्मिक कारणले मृतकहरूको शव लेपन गर्थे। मृत्युपछिको जीवनबारे तिनीहरूको धारणा मृत्युपछि पनि यस भौतिक संसारको नजिक रहिरहने चाहनासित सम्बन्धित थियो। आफ्नो शरीर अनन्तसम्म प्रयोग गरिनेछ र पुनः जीवित पारिनेछ भन्‍ने तिनीहरूको विश्‍वास थियो। शव लेपन गर्ने प्रचलन सामान्य भए तापनि आजसम्म यो लेपन कसरी गरिन्थ्यो भन्‍ने विषयमा स्पष्ट जानकारी भएका मिश्री अभिलेखहरू भेट्टाउन सकिएको छैन। हालसम्मको सबैभन्दा राम्रो रेकर्ड भनेको सा.यु.पू. पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटसले लेखेको चाहिं हो। तथापि, हेरोडोटसले दिएको निर्देशन प्रयोग गरेर हेर्दा त्यसको परिणाम त्यति सफल साबित नभएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ।

के यो मसीहीहरूका लागि उचित छ?

याकूबको शव लेपन गर्ने व्यक्‍तिहरू तिनको भन्दा भिन्‍नै धार्मिक विश्‍वास भएका मानिसहरू थिए। तैपनि, यूसुफले आफ्नो बाबुको शवलाई ती वैद्यहरूको हातमा सुम्पिंदा त्यसताका मिश्रमा शव लेपन गर्दा गरिने प्रायजसो प्रार्थना तथा अन्य प्रचलनहरूलाई तिनले पक्कै पनि अपनाएनन्‌ होला। याकूब र यूसुफ दुवै विश्‍वासी मानिसहरू थिए। (हिब्रू ११:२१, २२) यहोवाले त्यस्तो आदेश नदिनुभएको भए तापनि याकूबको शवलाई जोगाउने विषयमा धर्मशास्त्रले कतै पनि असमर्थन जनाएको पाउँदैनौं। याकूबको शव लेपन कार्य इस्राएल राष्ट्र वा मसीही मण्डलीले अपनाउनुपर्ने नमुना भने थिएन। वास्तवमा यसबारे परमेश्‍वरको वचनमा कुनै पनि सुस्पष्ट निर्देशन पाइँदैन। यूसुफको शवलाई पनि मिश्रमा लेपन गरियो तर त्यसपछि यस प्रचलनबारे कुनै पनि थप धर्मशास्त्रीय विवरण पाइँदैन।—उत्पत्ति ५०:२६.

हिब्रूहरूको मरेका मानिसहरूको शवलाई लेपन गर्ने चलनै थिएन र लेपन गरेकै खण्डमा पनि शव धेरै समयसम्म जोगाउने हेतुले लेपन गरिएको हुँदैनथ्यो भन्‍ने कुरा प्यालेस्टाइनमा भेटिएका सडिसकेका लासहरूले देखाउँछ। उदाहरणका लागि, लाजरसको शव लेपन गरिएको थिएन। तिनलाई कपडाले बेह्रिएको भए तापनि तिनको चिहानमा राखिएको ढुङ्‌गा हटाउन लाग्दा वरपरका मानिसहरूले चिन्ता प्रकट गरे। लाजरस मरेको चार दिन भइसकेको कारण तिनको चिहान खोल्दा गन्हाउनेछ भनेर तिनकी दिदीलाई पक्का थियो।—यूहन्‍ना ११:३८-४४.

के येशू ख्रीष्टको शव लेपन गरियो? सुसमाचारका विवरणहरूले यस निष्कर्षको समर्थन गर्दैन। त्यस समयमा लासलाई गाड्‌नुअघि मसलाहरूलगायत सुगन्धित तेल घसेर लासलाई तयार पारिन्थ्यो। उदाहरणका लागि, येशूको शव तयार पार्न निकोदेमसले धेरै मरमसालाहरू ल्याए। (यूहन्‍ना १९:३८-४२) किन त्यति धेरै मसला? येशूप्रतिको हार्दिक प्रेम तथा आदरले तिनलाई त्यस्तो उदार हुन उत्प्रेरित गरेको हुन सक्छ। त्यस्ता मसलाहरू प्रयोग गर्नुको उद्देश्‍य त्यस शवलाई जोगाउनु थियो भन्‍ने निष्कर्षमा पुग्नुहुँदैन।

के कुनै मसीहीले शव लेपन गर्ने चलनलाई अपनाउनु उचित होला? यथार्थतालाई केलाउने हो भने, शव लेपन गर्नु भनेको यसको भवितव्यलाई ढिलो बनाउनु मात्र हो। हामी माटोबाट बनिएका हौं र मरेपछि माटैमा फर्कन्छौं। (उत्पत्ति ३:१९) तर मरेको कति समयपछि त्यसको अन्त्येष्टि गरिनेछ? परिवारका सदस्यहरू र मित्रहरूले त्यस शवलाई हेर्ने इच्छा गरेर धेरै टाढाबाट आउँदैछन्‌ भने शवलाई केही मात्रामा लेपन गरेर जोगाउनुपर्ने हुन सक्छ।

स्थानीय आवश्‍यकताअनुसार लासलाई लेपन गर्नुपर्छ वा परिवारका सदस्यहरूले नै त्यसो गरियोस्‌ भन्‍ने इच्छा जाहेर गर्छन्‌ भने धर्मशास्त्रीय दृष्टिकोणबाट यस विषयमा चिन्ता लिइरहनु आवश्‍यक छैन। आखिर “मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) तिनीहरू परमेश्‍वरको सम्झनामा छन्‌ भने, प्रतिज्ञा गरिएको नयाँ संसारमा तिनीहरू पक्कै बिउँताइनेछन्‌।—अय्यूब १४:१३-१५; प्रेरित २४:१५; २ पत्रुस ३:१३.

[पृष्ठ ३१-मा भएको पेटी/चित्र]

शव लेपन—उहिले र अहिले

प्राचीन मिश्रमा शव लेपन प्रक्रिया पारिवारिक हैसियतअनुसार हुने गर्थ्यो। हुने खाने परिवारले तल दिइएका प्रक्रियाहरूमध्ये कुनै एउटा प्रक्रिया अपनाएको हुन सक्छ:

धातुको सामग्री प्रयोग गरेर नाकको प्वालबाट गिदी निकालिन्थ्यो। त्यसपछि खप्परलाई उचित प्रकारको औषधी प्रयोग गरेर तयार पारिन्थ्यो। अनि मुटु र मृगौलाबाहेक सबै भित्री अंगहरू निकालिन्थ्यो। भुँडीमा लेपन गर्न शरीरलाई चिर्नुपर्थ्यो तर यसो गर्नु पाप ठानिन्थ्यो। यस विवादास्पद कुरामा नफस्न मिश्रका शव लेपन गर्नेहरूले चिरफार गर्ने मानिसलाई नै बोलाउँथे। श्रापित र अपराधी ठानिने यस कामको सजायस्वरूप ढुङ्‌गाले हानिएर मारिएलान्‌ भन्‍ने डरले त्यो मानिस काम सिद्धिने बित्तिकै कुलेलम ठोकिहाल्थे।

भुँडी खाली पारिएपछि यसलाई राम्रोसित धोइन्थ्यो। इतिहासकार हेरोडोटसले यस्तो लेखे: “त्यस खाली ठाउँमा तिनीहरूले तेजपातको साथमा घोटिएको शुद्ध मूर्र र धूपबाहेक अरू जम्मै प्रकारका मसालाहरू भरेर लासलाई सिलाउँथे।”

त्यसपछि लासलाई ७० दिनसम्म नाट्रोनमा भिजाएर त्यसलाई जलवियोजन गरिन्थ्यो। यसपछि लासलाई धोएर सुतीको कपडाले राम्रोसित बेह्रिन्थ्यो। सुती कपडामाथि एकपत्र टाँसिने पदार्थ लगाइन्थ्यो र यो लासलाई मानव शरीर आकारको एउटा सानदार काठको बाकसमा राखिन्थ्यो।

आज, शव लेपन क्रिया केही घण्टामै गर्न सकिन्छ। यस प्रक्रियामा प्रायजसो नसा, धमनीका साथै भुँडी र वक्षस्थलका खाली भागहरूमा शव लेपन गरिने तरल पदार्थको ठीक मात्रा मिलाएर राख्ने गरिन्छ। वर्षौंको दौडान विभिन्‍न प्रकारका द्रव्यहरूको विकास गरेर प्रयोग गरिएको पाइन्छ। तथापि, मूल्य र सुरक्षाका कारण धेरैजसो प्रयोग हुने शव लेपन द्रव्य भनेको फर्मालडिहाइड हो।

[चित्र]

टुटानखामेन राजाको सुनको शव बाकस