सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो मन अनि हृदयले परमेश्‍वरको खोजी गर्नुहोस्‌

आफ्नो मन अनि हृदयले परमेश्‍वरको खोजी गर्नुहोस्‌

आफ्नो मन अनि हृदयले परमेश्‍वरको खोजी गर्नुहोस्‌

साँचो मसीहीधर्मले परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने विश्‍वास बढाउन मन अनि हृदयको प्रयोग गर्न प्रोत्साहन दिन्छ।

साँच्चै भन्‍ने हो भने, मसीहीधर्मका संस्थापक येशू ख्रीष्टले सिकाउनुभएअनुसार हामीले आफ्ना “सारा हृदय” र “सारा प्राण[का]” साथै “सारा समझ” अथवा मनले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। (मत्ती २२:३७) हो, हाम्रो उपासनामा हाम्रा मानसिक क्षमताहरूले महत्त्वपूर्ण भूमिका खेलेको हुनुपर्छ।

आफूले सिकाएका कुराहरूबारे सोच्न श्रोताहरूलाई आग्रह गर्नुहुँदा येशूले धेरै चोटि “तिमी के विचार गर्छौ?” भन्‍ने आशय झल्कने प्रश्‍न गर्नुभयो। (मत्ती १७:२५; १८:१२; २१:२८; २२:४२) त्यसै गरी प्रेरित पत्रुसले पनि सँगी विश्‍वासीहरूको ‘निर्मल मनलाई जागृत गराउन’ लेख्नुभयो। (२ पत्रुस ३:१) सबैभन्दा व्यापक भ्रमण गरेका प्रारम्भिक मिसनरी, प्रेरित पावलले मसीहीहरूलाई “तर्क शक्‍ति चलाउन” र “परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी . . . जाँचेर” प्रमाणित गर्न आग्रह गरे। (रोमी १२:१, २) त्यस्तो विस्तृत अनि राम्ररी सोचविचार गरेर गरिएको धार्मिक विश्‍वासले मात्र मसीहीलाई, परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने तथा जीवनमा समस्याहरू आइपर्दा त्यसको सामना गर्न सक्षम हुने विश्‍वास विकास गर्न मदत गर्छ।—हिब्रू ११:१, ६.

अरूलाई त्यस्तो विश्‍वास विकास गर्न मदत गर्नका लागि प्रारम्भिक मसीही सुसमाचारकहरूले “धर्मशास्त्रबाट तिनीहरूसित बहस गर्दैरहे।” (प्रेरित १७:१-३) त्यस्तो व्यावहारिक तरिका अपनाउँदा इमानदार हृदय भएका मानिसहरूबाट राम्रो प्रतिक्रिया प्राप्त भयो। उदाहरणका लागि, म्यासिडोनियाली शहर बिरियाका थुप्रै मानिसहरूले “हृदयमा ज्यादै तयारी भएर [परमेश्‍वरको] धर्मशास्त्र ग्रहण गरे, र [पावल र तिनका साथीहरूले बुझाएका] ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११) यहाँ उल्लेखनीय दुईवटा कुरा छन्‌। पहिलो, बिरियावासीहरू परमेश्‍वरको वचन सुन्‍न उत्सुक थिए; दोस्रो, आफूले सुनेका कुरा तिनीहरूले अन्धाधुन्ध विश्‍वास गरेनन्‌ तर तिनीहरूले धर्मशास्त्रमा जाँचे। यसो गरेकोमा मसीही मिसनरी लूकाले बिरियावासीहरूको सराहना गर्दै तिनीहरू “उत्तम” मानिसहरू हुन्‌ भने। के तपाईं पनि आध्यात्मिक कुराहरूको सन्दर्भमा त्यस्तै असल मनोवृत्ति देखाउनुहुन्छ?

मन अनि हृदयले एकअर्कालाई सघाउँछ

माथि उल्लेख गरिएझैं साँचो उपासनामा मन अनि हृदय दुवै मुछिएको हुन्छ। (मर्कूस १२:३०) अघिल्लो लेखमा बताइएको रंगरोगन लगाउने मानिसको उदाहरणलाई विचार गर्नुहोस्‌, जसले घरमा अर्कै रङ लगाइदिए। तिनले ध्यान दिएर घरको मालिकले दिएका निर्देशनहरू सुनेका भए, मन अनि हृदय लगाएर काम गर्न सक्थे अनि मालिकको अनुमोदन पाउने कुरामा ढुक्क हुन सक्थे। हाम्रो उपासनाको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।

येशूले यसो भन्‍नुभयो, “साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्‌।” (यूहन्‍ना ४:२३) यसर्थ, पावलले यस प्रकार लेखे: “यसैकारण हामीले . . . सारा आत्मिक बुद्धि र समझमा उहाँको इच्छाको ज्ञानले तिमीहरू पूर्ण होओ भनेर हामीले पनि तिमीहरूका निम्ति प्रार्थना र बिन्ती गर्न छोड़ेका छैनौं, हर किसिमले खुश पार्नेगरी प्रभुको योग्य चालमा चल्न . . . परमेश्‍वरको ज्ञानमा बढ़दै” जाओ। (कलस्सी १:९, १०) त्यस्तो “सही ज्ञानले” निष्कपट मानिसहरूलाई पूरा विश्‍वस्त भएर उपासनामा मन अनि हृदय लगाउन मदत गर्छ किनभने तिनीहरू ‘जे जान्दछन्‌, त्यो पुज्दछन्‌।’—यूहन्‍ना ४:२२.

यसैकारण, यहोवाका साक्षीहरूले धर्मशास्त्र गहिरिएर अध्ययन नगरेका नवजात शिशु वा भर्खरै चासो लिन थालेका व्यक्‍तिहरूलाई बप्तिस्मा दिंदैनन्‌। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) परमेश्‍वरको इच्छाबारे सही ज्ञान हासिल गरिसकेपछि मात्र निष्कपट बाइबल विद्यार्थीहरूले उपासनाको सन्दर्भमा जानीबुझी निर्णय गर्न सक्छन्‌। के तपाईं त्यस्तो ज्ञान हासिल गर्ने प्रयास गर्दै हुनुहुन्छ?

प्रभुको प्रार्थना बुझ्ने

बाइबलको सही ज्ञान हुनु र त्यसमा के भनिएको छ भनेर सरसरती पल्टाएर हेर्नुबीचको भिन्‍नता बुझ्न मत्ती ६:९-१३ मा लिपिबद्ध सामान्यतया हाम्रो पिता वा प्रभुको प्रार्थना भनिने विषयवस्तुलाई विचार गरौं।

लाखौं मानिसहरू चर्चमा नियमित तवरमा येशूको नमुना प्रार्थना फर्रर भन्छन्‌। तर कति जनालाई यसको अर्थ सिकाइएको छ, विशेष गरी परमेश्‍वरको नाउँ र राज्यबारे बताउने पहिलो भागबारे कति जनालाई थाह छ? यी विषयहरू अत्यन्तै महत्त्वपूर्ण भएको कारण येशूले यसलाई प्रार्थनाको सुरुमै भन्‍नुभयो।

प्रार्थना यसरी सुरु हुन्छ: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरियोस्‌।” यसको अर्थ हो, शुद्ध पारियोस्‌। येशूले परमेश्‍वरको नाउँ पवित्र पारियोस्‌ भनी प्रार्थना गर्नुभएको कुरालाई याद गर्नुहोस्‌। यसले गर्दा धेरैको मनमा दुईवटा प्रश्‍न खडा हुन्छ। पहिलो, परमेश्‍वरको नाउँ के हो? अनि दोस्रो, यो किन पवित्र पारिनुपर्छ?

पहिलो प्रश्‍नको जवाफ मूल भाषामा लेखिएको बाइबलमा ७,००० भन्दा बढी ठाउँमा पाइन्छ। एउटा हो, उत्पत्ति २२:१४: “अब्राहामले त्यस ठाउँको नाउँ यह्‌वेयिरे राखे। परमप्रभुको डाँड़ामा जुटाइनेछ भनी आजपर्यन्त भनिन्छ।” परमेश्‍वरको नाउँ, यहोवाबारे प्रस्थान ३:१५ मा यसो भनिएको छ: “मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।” a परमेश्‍वरको नाउँको अर्थ अर्थात्‌ शुद्धता तथा पवित्रताको मूर्त रूपलाई किन पवित्र पार्नुपर्छ? किनभने मानव इतिहासको सुरुदेखि नै यस नाउँलाई बदनाम गरिनुका साथै अपमान पनि गरिएको छ।

अदनको बगैंचामा परमेश्‍वरले आदम र हव्वालाई निषेधित फल खाएको खण्डमा तिनीहरू मर्नेछन्‌ भन्‍नुभएको थियो। (उत्पत्ति २:१७) शैतानले ठाडै परमेश्‍वरको कुरा काटेर हव्वालाई यसो भन्यो: “तिमीहरू कदापि मर्दैनौ।” यस प्रकार, शैतानले परमेश्‍वरलाई झूट बोलेको आरोप लगायो। यद्यपि, त्यसले त्यति मात्र गरेन। त्यसले परमेश्‍वरको नाउँमा कलंक लगाउँदै परमेश्‍वरले हव्वालाई आवश्‍यक जानकारीहरू प्राप्त गर्नदेखि वञ्चित गराइरहेको छ भन्यो। “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।” कस्तो झूट!—उत्पत्ति ३:४, ५.

निषेधित फल खाएर आदम र हव्वा शैतानका पक्षधर भए। त्यस बेलादेखि अधिकांश मानिसहरूले जानाजानी होस्‌ वा अनजानमा, परमेश्‍वरका धार्मिक स्तरहरू इन्कार गरेर सुरुमा थोपारिएको कलंकमा अझ कलंक थप्ने काम गरेका छन्‌। (१ यूहन्‍ना ५:१९) मानिसहरू अझै पनि आफूले भोगिरहेको दुःखकष्टको दोष परमेश्‍वरलाई दिएर उहाँको बदनाम गर्छन्‌ तर कहिलेकाहीं त त्यो दुःखकष्ट आफ्नै खराब मार्गको परिणाम हुन्छ। हितोपदेश १९:३ यसो भन्छ: “मानिसको आफ्नै मूर्खताले आफ्नो जीवन नाश गर्छ, त्यसपछि त्यसले परमप्रभुको विरुद्धमा असन्तोष प्रकट गर्छ।” अब के तपाईंले आफ्नो पितालाई असाध्यै प्रेम गर्नुहुने येशूले उहाँको नाउँ पवित्र गरियोस्‌ भनी प्रार्थना गर्नुको कारण बुझ्नुभयो?

“तपाईंको राज्य आओस्‌”

परमेश्‍वरको नाउँ पवित्र गरियोस्‌ भनी प्रार्थना गरिसकेपछि येशूले यसो भन्‍नुभयो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) यसबारे हामी यस्तो प्रश्‍न गरौंला: ‘परमेश्‍वरको राज्य के हो? अनि त्यो राज्य आउनुसित परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा हुनुको के सम्बन्ध छ?’

बाइबलमा “राज्य” भन्‍ने शब्दले साधारणतया “राजाको शासन” भन्‍ने अर्थ बुझाउँछ। त्यसोभए, परमेश्‍वरको राज्य भन्‍नाले परमेश्‍वरले छान्‍नुभएको राजाले गर्ने शासन वा सरकारलाई बुझाउँछ। यो राजा पुनरुत्थान हुनुभएको येशू ख्रीष्ट अर्थात्‌ “राजाहरूका महाराजा, र परमप्रभुहरूका महाप्रभु” हुनुहुन्छ। (प्रकाश १९:१६; दानियल ७:१३, १४) येशू ख्रीष्टको नेतृत्वमा चल्ने परमेश्‍वरको मसीही राज्यबारे अगमवक्‍ता दानियलले यस्तो लेखे: “[अहिले शासन गरिरहेका मानव सरकारका] ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै” अनन्तसम्म रहिरहनेछ।—दानियल २:४४.

हो, परमेश्‍वरको राज्यले पूरै पृथ्वीलाई आफ्नो नियन्त्रणमा राख्नेछ र पृथ्वीबाट सबै दुष्टता हटाएर “सदा सर्वदै” अथवा सधैंभरि शासन गर्नेछ। यस प्रकार, आफ्नो राज्यद्वारा परमेश्‍वरले उहाँको नाउँ पवित्र पार्नुहुनेछ र शैतान तथा दुष्ट मानवहरूले लगाएका सबै झूटा आरोप मेटाउनुहुनेछ।—इजकिएल ३६:२३.

सबै सरकारको जस्तै परमेश्‍वरको राज्यका पनि प्रजाहरू छन्‌। ती को हुन्‌? बाइबल यस्तो जवाफ दिन्छ: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” (भजन ३७:११) येशूले पनि यसो भन्‍नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” निस्सन्देह, यी मानिसहरूसित परमेश्‍वरको सही ज्ञान छ र यो जीवन पाउनको लागि नभई नहुने कुरा हो।—मत्ती ५:५; यूहन्‍ना १७:३.

के तपाईं सम्पूर्ण पृथ्वीमा परमेश्‍वर र एकअर्कालाई साँच्चै प्रेम गर्ने नम्र अथवा विनयी मानिसहरूले भरिएको कल्पना गर्न सक्नुहुन्छ? (१ यूहन्‍ना ४:७, ८) येशूले त्यसैको लागि यस्तो प्रार्थना गर्नुभएको थियो: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमा झैं यस पृथ्वीमा पूरा होस्‌।” येशूले आफ्ना चेलाहरूलाई त्यसरी प्रार्थना गर्न सिकाउनुको कारण के तपाईंले बुझ्नुभयो? सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यस प्रार्थनाको पूर्तिले तपाईंलाई व्यक्‍तिगत तवरमा कसरी असर गर्छ, के तपाईंले बुझ्नुभयो?

अहिले लाखौंले धर्मशास्त्रमा तर्क गर्दैछन्‌

परमेश्‍वरको आउँदै गरेको राज्यको उद्‌घोषणा गर्ने आध्यात्मिक शिक्षाको विश्‍वव्यापी अभियानबारे येशूले यस्तो भविष्यवाणी गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि [यस वर्तमान संसार वा रीतिरिवाजको] अन्त हुनेछ।”—मत्ती २४:१४.

संसारभरि साठी लाखभन्दा बढी यहोवाका साक्षीहरूले आफ्ना छिमेकीहरूलाई त्यो सुसमाचार सुनाइरहेका छन्‌। तिनीहरू तपाईंलाई तर्कशक्‍ति चलाएर “धर्मशास्त्र राम्ररी केलाउँदै” परमेश्‍वर र उहाँको राज्यबारे अझ बढी सिक्न निमन्त्रणा दिन्छन्‌। त्यसो गर्दा तपाईंको विश्‍वास बलियो हुनुका साथै पार्थिव प्रमोदवनमा बिताइने जीवनको आशाले तपाईंको आँखा चम्कनेछ र उक्‍त प्रमोदवनमा “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।”—यशैया ११:६-९.

[फुटनोट]

a कोही-कोही शास्त्रविद्‌हरू “यहोवा” होइन “याहवे” भन्‍न रुचाउँछन्‌। तथापि, अधिकांश आधुनिक बाइबल अनुवादकहरूले आ-आफ्ना संस्करणबाट परमेश्‍वरको नाउँ हटाएर “प्रभु” वा “परमेश्‍वर” भन्‍ने साधारण पदवीहरू राखेका छन्‌। परमेश्‍वरको नाउँबारे गहिरो छलफलको लागि कृपया यहोवाका साक्षीहरूद्वारा प्रकाशित द डिभाइन नेम द्याट विल एन्ड्योर फरएभर भन्‍ने पुस्तिका हेर्नुहोस्‌।

[पृष्ठ ८-मा भएको पेटी/चित्र]

महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌

येशूले अक्सर खास बाइबल विषयहरूमा ध्यान केन्द्रित गर्दै सिकाउनुहुन्थ्यो। उदाहरणका लागि, उहाँको मृत्युको कारण अलमल्लमा परेका दुई जना चेलाहरूलाई आफ्नो पुनरुत्थान भएपछि परमेश्‍वरको उद्देश्‍यमा आफूले निभाउने भूमिकाबारे बताउनुभयो। लूका २४:२७ ले यसो भन्छ: “मोशा र सबै अगमवक्‍ताहरूबाट शुरू गरेर उहाँले धर्मशास्त्रहरूमा आफ्नो विषयका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।”

याद गर्नुहोस्‌, येशूले खास विषय अर्थात्‌ “आफ्नो विषय” वा मसीहबारे विषय छान्‍नुभयो र उहाँले छलफलको दौडान “धर्मशास्त्र[बाट]” उद्धृत गर्नुभयो। साँच्चै भन्‍ने हो भने, येशूले सम्बन्धित सबै बाइबल पदहरूलाई एक-एक गरी जोड्‌नुभयो जसले गर्दा उहाँका चेलाहरूले आध्यात्मिक सत्य स्पष्टसँग बुझ्न सके। (२ तिमोथी १:१३) फलस्वरूप, तिनीहरूले ज्योति मात्र पाएनन्‌ तर यसले तिनीहरूको हृदय पनि छोयो। विवरण अझ यसो भन्छ: “तिनीहरूले आपसमा भने, ‘उहाँले हामीसित बाटोमा कुरा गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय हामीमा बलेको थिएन र?’ ”—लूका २४:३२.

यहोवाका साक्षीहरूले सेवकाईमा येशूको तरिका अनुकरण गर्ने प्रयास गर्छन्‌। अध्ययन गर्ने तिनीहरूको मुख्य सहायक परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका र ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक हुन्‌। यसमा थुप्रै चाखलाग्दा बाइबल विषयहरू छलफल गरिएका छन्‌; जस्तै: “परमेश्‍वर को हुनुहुन्छ?,” “परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?,” “तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ?,” “यी अन्तिम दिन हुन्‌!” र “परमेश्‍वरलाई प्रसन्‍न पार्ने पारिवारिक जीवन।” प्रत्येक पाठमा थुप्रै शास्त्रपदहरू छन्‌।

यी तथा अन्य विषयमा निश्‍शुल्क गृह बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने तपाईंको टोलछिमेकमा बस्ने यहोवाका साक्षीहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ वा यसै पत्रिकाको पृष्ठ २ मा दिइएका ठेगानाहरूमा पत्राचार गर्नुहोस्‌।

[चित्र]

खास बाइबल विषयहरूमा ध्यान केन्द्रित गरेर आफ्नो विद्यार्थीको हृदय छुनुहोस्‌

[पृष्ठ ७-मा भएका चित्रहरू]

के तपाईं येशूको नमुना प्रार्थनाको अर्थ बुझ्नुहुन्छ?

“हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌ . . . ”

“तपाईंको [ मसीही ] राज्य आओस्‌ . . . ”

“तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌”