सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन बप्तिस्मा लिने?

किन बप्तिस्मा लिने?

किन बप्तिस्मा लिने?

“गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . बप्तिस्मा देओ।”—मत्ती २८:१९.

१, २. (क) कुनै-कुनै बप्तिस्मा कस्ता परिस्थितिहरूमा दिइएका छन्‌? (ख) बप्तिस्माको सन्दर्भमा कस्ता प्रश्‍नहरू उठाइन्छन्‌?

 सा.यु. ७७५-७७ मा फ्रांकेली राजा चार्लमेनले आफूले परास्त गरेका स्याक्सनवासीहरू सबैलाई जबरजस्ती बप्तिस्मा लिन लगाए। इतिहासकार जोन लर्डले यस्तो लेखे: “नाउँ मात्रको लागि भए पनि तिनले जबरजस्ती तिनीहरूलाई मसीही धर्म अपनाउन लगाए।” त्यस्तै गरी, रूसी शासक भ्लादमिर प्रथमले सा.यु. ९८७ मा युनानी अर्थोडक्स राजकुमारीसँग विवाह गरेपछि आफ्ना सबै प्रजाहरू “मसीही” हुनुपर्ने निर्णय गरे। तिनले आफ्ना प्रजाहरूलाई आम बप्तिस्मा लिन आदेश जारी गरे र बप्तिस्मा लिन नचाहनेहरूलाई मार्ने धम्कीसमेत दिए!

के त्यस्तो बप्तिस्मा उपयुक्‍त थियो? के त्यसको केही अर्थ थियो? के मनपरी बप्तिस्मा लिन मिल्छ?

बप्तिस्मा—कसरी?

३, ४. टाउकोमा पानी छम्कनु वा खन्याउनु मसीहीहरूको लागि किन उचित बप्तिस्मा होइन?

चार्लमेन र भ्लादमिर प्रथमले मानिसहरूलाई जबरजस्ती बप्तिस्मा लिन लगाउँदा तिनीहरूले परमेश्‍वरको वचनअनुरूप गरिरहेका थिएनन्‌। वास्तवमा, बप्तिस्मा दिने भनेर पानी छम्कने, टाउकोमा पानी खन्याउने वा धर्मशास्त्रीय सत्य नसिकाई पानीमा चुर्लुम्म डुबाउने जस्ता कार्यहरू गर्नुको कुनै फाइदा छैन।

सा.यु. २९ मा नासरतका येशू, बप्तिस्मा दिने यूहन्‍नाकहाँ जाँदा के भएको थियो, विचार गर्नुहोस्‌। यूहन्‍नाले यर्दन नदीमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। तिनीहरू बप्तिस्माको निम्ति स्वेच्छाले आएका थिए। के उनले ती मानिसहरूलाई यर्दन नदीमा उठ्‌न लगाएर तिनीहरूको टाउकोमा पानी अलिकति खन्याउने वा छम्कने मात्र गरे? यूहन्‍नाले येशूलाई बप्तिस्मा दिंदा के भयो? “येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो” भनी मत्तीले बताएका छन्‌। (मत्ती ३:१६) उहाँलाई यर्दन नदीमा चुर्लुम्म डुबाइएको थियो। त्यस्तै गरी, भक्‍तालु एथियोपियाली नपुसंकलाई “पानी[मा]” डुबाइएको थियो। येशू र उहाँका चेलाहरूलाई बप्तिस्मा दिंदा पूरै पानीमा डुबाइने भएकोले टन्‍नै पानी हुनु आवश्‍यक थियो।—प्रेरित ८:३६.

५. प्रारम्भिक मसीहीहरूले मानिसहरूलाई कसरी बप्तिस्मा दिन्थे?

“बप्तिस्मा दिनु,” “बप्तिस्मा” भनी अनुवाद गरिएको युनानी शब्दले निमज्ज्न अथवा पानीमा चुर्लुम्म डुबाउनु भन्‍ने बुझाउँछ। स्मिथस्‌ बाइबल डिक्सनरी यसो भन्छ: “बप्तिस्माको साँचो र शाब्दिक अर्थ निमज्जन हो।” अतः केही बाइबल अनुवादहरूले “निमज्जक यूहन्‍ना” र “डुबुल्की दिने यूहन्‍ना” भन्‍ने गर्छन्‌। (मत्ती ३:१, रोथरहाम; डाइग्लोट इन्टरलिनियर) अगस्तस नियान्दरद्वारा लिखित हिस्ट्री अफ द क्रिश्‍चियन रिलिजन एण्ड चर्च, ड्युरिङ द फर्स्ट थ्री सेन्चुरिज-मा यस्तो टिप्पणी गरिएको छ: “बप्तिस्मा दिने कार्य सुरु हुँदा पानीमा चुर्लुम्म डुबाइन्थ्यो।” प्रख्यात फ्रान्सिसी पुस्तक लारुसे डु सेसेल २० औं शताब्दी (पेरिस, १९२८) यस्तो टिप्पणी गर्छ: “पानी पाइने ठाउँमा मसीहीहरूलाई बप्तिस्मा दिइन्थ्यो।” अनि न्यु क्याथोलिक इनसाक्लोपीडिया यस्तो उल्लेख गर्छ: “प्रारम्भिक चर्चमा पानीमा चुर्लुम्म डुबाएर बप्तिस्मा दिइन्थ्यो भन्‍ने कुरा स्पष्ट छ।” (१९६७, खण्ड २, पृष्ठ ५६) त्यसैले, यहोवाका साक्षीको हैसियतमा बप्तिस्मा लिनु भनेको स्वेच्छाले चाल्ने कदम हो र पानीमा चर्लुम्म डुब्नु आवश्‍यक छ।

बप्तिस्मा लिने नयाँ कारण

६, ७. (क) यूहन्‍नाले दिएको बप्तिस्माको उद्देश्‍य के थियो? (ख) येशूका अनुयायीहरूले दिएको बप्तिस्माको नयाँ पक्ष के थियो?

येशूका अनुयायीहरूले दिएको बप्तिस्माको उद्देश्‍य र यूहन्‍नाले दिएको बप्तिस्माको उद्देश्‍य फरक थियो। (यूहन्‍ना ४:१, २) व्यवस्था विरुद्ध गरेको पापको निम्ति पश्‍चात्ताप गरेको कुरा सबैसामु प्रकट गर्न यूहन्‍नाले मानिसहरूलाई बप्तिस्मा दिन्थे। a (लूका ३:३) तर येशूका अनुयायीहरूको बप्तिस्मामा केही नयाँ कुरा पनि मुछिएको थियो। सा.यु. ३३ पेन्तिकोसमा प्रेरित पत्रुसले आफ्ना श्रोताहरूलाई यस्तो आग्रह गरे: “पश्‍चाताप गर, र तिमीहरू हरेकले पापमोचनको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेऊ।” (प्रेरित २:३७-४१) तिनले यहूदी र यहूदी मत मान्‍नेहरूलाई सम्बोधन गरिरहेका भए तापनि पत्रुसले व्यवस्था विरुद्ध गरेको पापको पश्‍चात्ताप गर्न बप्तिस्मा लिने विषयमा बताइरहेका थिएनन्‌ न त येशूको नाउँमा बप्तिस्मा लिंदा सबै पाप पखालिनेछ भनेर नै बताइरहेका थिए।—प्रेरित २:१०.

त्यस अवसरमा पत्रुसले “स्वर्गको राज्यका साँचाहरू[मध्ये]” पहिलो साँचो चलाए। केको लागि? आफ्ना श्रोताहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने तिनीहरूको सुअवसरबारे थाह दिन। (मत्ती १६:१९) यहूदीहरूले येशूलाई मसीहको रूपमा स्वीकार्न इन्कार गरिसकेका कारण परमेश्‍वरको निगाह प्राप्त गर्न पश्‍चात्ताप गरेर उहाँमाथि विश्‍वास गर्नु नयाँ साथै अपरिहार्य पक्ष थियो। येशू ख्रीष्टको नाउँमा पानीमा चुर्लुम्म डुबेर बप्तिस्मा लिंदा तिनीहरूले सार्वजनिक रूपमा आफ्नो विश्‍वासको प्रमाण दिन सक्थे। त्यसरी तिनीहरूले ख्रीष्टमार्फत्‌ परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको प्रकट गर्न सक्थे। ईश्‍वरीय अनुमोदन प्राप्त गर्न चाहने सबैले आज त्यस्तै विश्‍वास राख्नुपर्छ, यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्नुपर्छ र सर्वोच्च परमेश्‍वरलाई पूर्णतया समर्पण गरेको प्रमाणित गर्न मसीही बप्तिस्मा लिनुपर्छ।

सही ज्ञान अत्यावश्‍यक

८. मसीही बप्तिस्माका लागि किन सबै योग्य हुँदैनन्‌?

मसीही बप्तिस्माका लागि सबै योग्य हुँदैनन्‌। येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) बप्तिस्मा लिनुअघि मानिसहरूलाई ‘येशूले चेलाहरूलाई आज्ञा दिनुभएका सबै गर्नालाई सिकाउनुपर्छ।’ यसर्थ, परमेश्‍वरको वचनमा आधारित सही ज्ञानको विश्‍वास अभाव भएकाहरूलाई जबरजस्ती बप्तिस्मा लिन लगाउनु बेकार हुन्छ र यो येशूले आफ्ना साँचो अनुयायीहरूलाई दिनुभएको आज्ञा विपरीत हुन्छ।—हिब्रू ११:६.

९. ‘पिताको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो?

‘पिताको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो? यसको अर्थ बप्तिस्मा लिन तयार व्यक्‍तिहरूले हाम्रा स्वर्गमा हुनुहुने पिताको स्थान र अख्तियारलाई स्वीकार्छ। अतः यहोवा परमेश्‍वरलाई हाम्रो सृष्टिकर्ता, “सारा पृथ्वीमा सर्वोच्च” र सार्वभौम सत्ताधारीको रूपमा मान्यता दिन्छ।—भजन ८३:१८; यशैया ४०:२८; प्रेरित ४:२४.

१०. ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो?

१० ‘पुत्रको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ येशूलाई परमेश्‍वरको एक मात्र प्रिय पुत्रको रूपमा स्वीकार्नुका साथै उहाँको स्थान र अख्तियारलाई मानिलिनु हो। (१ यूहन्‍ना ४:९) बप्तिस्माको लागि योग्य भएकाहरूले येशूलाई “धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई” परमेश्‍वरले प्रबन्ध गर्नुभएको व्यक्‍तिको रूपमा स्वीकार्छन्‌। (मत्ती २०:२८; १ तिमोथी २:५, ६) बप्तिस्मा लिने व्यक्‍तिहरूले, परमेश्‍वरले आफ्नो पुत्रलाई “अति उच्च” पार्नुभएको छ भनेर पनि स्वीकार्नुपर्छ।—फिलिप्पी २:८-११; प्रकाश १९:१६.

११. ‘पवित्र आत्माको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ के हो?

११ ‘पवित्र आत्माको नाउँमा’ बप्तिस्मा लिनुको महत्त्व के हो? यसले बप्तिस्मा लिन तयार भएका व्यक्‍तिहरूले पवित्र आत्मा यहोवाको सक्रिय शक्‍ति हो र उहाँको उद्देश्‍य पूरा गर्न यसलाई विभिन्‍न तरिकामा प्रयोग गरिन्छ भनी स्वीकारेको संकेत गर्छ। (उत्पत्ति १:२; २ शमूएल २३:१, २; २ पत्रुस १:२१) बप्तिस्माका लागि योग्य भएकाहरूले पवित्र आत्माले तिनीहरूलाई “परमेश्‍वरका गहीरा गहीरा कुराहरू” बुझ्न, परमेश्‍वरको राज्य प्रचारकार्यमा लागिरहन र “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता, संयम” जस्ता आत्माका फलहरू प्रदर्शन गर्न मदत गर्नेछ भनी स्वीकार्छन्‌।—१ कोरिन्थी २:१०; गलाती ५:२२, २३; योएल २:२८, २९.

पश्‍चात्ताप र परिवर्तनको महत्त्व

१२. मसीही बप्तिस्मा कसरी पश्‍चात्तापसँग सम्बन्धित छ?

१२ सिद्ध पुरुष येशूको सन्दर्भमा बाहेक बप्तिस्मा भनेको परमेश्‍वरले अनुमोदन गर्नुहुने पश्‍चात्तापसँग सम्बन्धित छ। हामीले पश्‍चात्ताप गर्दा आफू चुकेको वा आफूले गरेका केही कुराबारे असाध्यै पछुताउँछौं। परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन चाहने प्रथम शताब्दीका यहूदीहरूले पहिला येशू विरुद्ध गरेको पापको निम्ति पश्‍चात्ताप गर्नुपर्थ्यो। (प्रेरित ३:११-१९) कोरिन्थका केही विश्‍वासी अन्यजातिहरूले व्यभिचार, मूर्तिपूजा, चोरी र अन्य गम्भीर पापहरूको निम्ति पश्‍चात्ताप गरे। पश्‍चात्तापको कारण तिनीहरू येशूको रगतमा “पखालिए” वा परमेश्‍वरको सेवाको निम्ति अलग छुट्याइए र ख्रीष्टको नाउँमा अनि परमेश्‍वरका आत्माले “धर्मी ठहरिए।” (१ कोरिन्थी ६:९-११) सफा अन्तस्करण प्राप्त गर्न र ईश्‍वरप्रदत्त पापबाट मुक्‍त हुन पश्‍चात्ताप गर्नु अत्यावश्‍यक छ।—१ पत्रुस ३:२१.

१३. बप्तिस्माको सन्दर्भमा परिवर्तन गर्नुमा के-के बिथोलित छन्‌?

१३ यहोवाको साक्षीको हैसियतमा बप्तिस्मा लिनुअघि हामीले आफ्नो मन फिराउनुपर्छ। तनमनले येशू ख्रीष्टको अनुकरण गर्ने निर्णय गरेको व्यक्‍तिले स्वेच्छाले परिवर्तन गर्छ। त्यस्ता व्यक्‍तिहरूले पहिलाको आफ्ना गलत मार्गहरू त्याग्छन्‌ र परमेश्‍वरको नजरमा सही कुरा गर्ने निर्णय गर्छन्‌। धर्मशास्त्रमा परिवर्तनको निम्ति प्रयोग गरिएको हिब्रू र युनानी क्रियापदले फर्कनु भन्‍ने अर्थ बुझाउँछ। यस प्रक्रियाले गलत कार्य त्यागेर परमेश्‍वरतर्फ फर्कनु भन्‍ने बुझाउँछ। (१ राजा ८:३३, ३४) परिवर्तन गर्दा “पश्‍चाताप योग्यको काम” गर्नु पनि आवश्‍यक छ। (प्रेरित २६:२०) यसको लागि हामीले झूटो उपासना त्यागेर परमेश्‍वरको आज्ञाबमोजिम गर्नुपर्छ र यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनुपर्छ। (व्यवस्था ३०:२, ८-१०; १ शमूएल ७:३) परिवर्तन गर्दा हाम्रो सोचाइ, लक्ष्य तथा व्यक्‍तित्वमा फरक आउँछ। (इजकिएल १८:३१) हामी ‘फर्कंदा’ अधर्मी बानीहरूलाई त्यागेर नयाँ व्यक्‍तित्व धारण गर्छौं।—प्रेरित ३:१९; एफिसी ४:२०-२४; कलस्सी ३:५-१४.

पूरा तनमनले समर्पण गर्नु अत्यावश्‍यक छ

१४. येशूका अनुयायीहरूको समर्पणले के कुरा बुझाउँछ?

१४ येशूका अनुयायीहरूले बप्तिस्मा लिंदा पूरा तनमनले परमेश्‍वरप्रति समर्पण गरेको पनि हुनुपर्छ। समर्पणको अर्थ पवित्र सेवाको निम्ति अलग छुट्याइनु हो। यो कदम अत्यन्तै महत्त्वपूर्ण भएको कारण हामीले उहाँप्रति सदाको लागि ऐकान्तिक भक्‍ति चढाउने हाम्रो निर्णय यहोवालाई प्रार्थनामा सुनाउनुपर्छ। (व्यवस्था ५:९) निस्सन्देह, हाम्रो समर्पण कुनै काम वा मानिसप्रति नभई परमेश्‍वरप्रति हो।

१५. किन बप्तिस्माका उम्मेदवारहरूलाई पानीमा चुर्लुम्म डुबाइन्छ?

१५ ख्रीष्टमार्फत्‌ परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गर्दा हामी आफ्नो जीवन धर्मशास्त्रमा उल्लिखित ईश्‍वरीय इच्छाअनुरूप प्रयोग गर्ने संकल्प व्यक्‍त गर्छौं। त्यस समर्पणलाई प्रतीकात्मक रूप दिंदै बप्तिस्मा लिन तयार भएका व्यक्‍तिलाई पानीमा चुर्लुम्म डुबाइन्छ, जसरी परमेश्‍वरको इच्छाबमोजिम गर्न प्रस्तुत हुँदा येशूलाई पनि यर्दन नदीमा बप्तिस्मा दिइएको थियो। (मत्ती ३:१३) त्यस महत्त्वपूर्ण घडीमा येशूले प्रार्थना गरिरहनुभएको थियो भन्‍ने कुरा उल्लेखनीय छ।—लूका ३:२१, २२.

१६. मानिसहरूले बप्तिस्मा लिएको देख्दा हामीले आफ्नो आनन्द कसरी व्यक्‍त गर्नु उचित हुनेछ?

१६ येशूको बप्तिस्मा गम्भीर तर आनन्ददायी क्षण थियो। वर्तमान समयमा मसीही बप्तिस्मा पनि त्यस्तै हो। मानिसहरूले परमेश्‍वरप्रति आफ्नो समर्पण प्रकट गरेको देख्दा हामीले आदरपूर्ण ढंगमा ताली बजाएर र भद्र तरिकामा बधाइ दिएर आफ्नो आनन्द व्यक्‍त गर्न सक्छौं। तर विश्‍वासको यस अभिव्यक्‍तिको पवित्रतालाई मनमा राखेर हल्ला गर्दै हर्षोल्लास गर्ने, सिटी बजाउने आदि काम भने गरिंदैन। हाम्रो आनन्द सम्मानजनक ढंगमा व्यक्‍त गरिन्छ।

१७, १८. व्यक्‍तिविशेषहरू बप्तिस्माका लागि योग्य छन्‌ कि छैनन्‌ भनी निधो गर्न कुन कुराले मदत गर्छ?

१७ बच्चाहरूलाई पानी छम्कने वा धर्मशास्त्रको ज्ञान नै नभएका जनसाधारणलाई जबरजस्ती बप्तिस्मा दिनेजस्ता कार्यहरू यहोवाका साक्षीहरूले कहिल्यै गर्दैनन्‌ र तिनीहरूले कसैलाई जबरजस्ती पनि गर्दैनन्‌। वास्तवमा भन्‍ने हो भने, आध्यात्मिक तवरमा अयोग्य व्यक्‍तिहरूलाई तिनीहरूले बप्तिस्मा दिंदैनन्‌। सुसमाचारको बप्तिस्मा अप्राप्त प्रकाशक हुनअघि समेत मसीही प्राचीनहरूले तिनले बाइबलका आधारभूत शिक्षाहरू बुझेका छन्‌ कि छैनन्‌, त्यसअनुरूप जीवन बिताइरहेका छन्‌ कि छैनन्‌ र “के तपाईं साँच्चै यहोवाका साक्षी हुन चाहनुहुन्छ?” जस्ता प्रश्‍नको सकारात्मक जवाफ दिन्छन्‌ कि दिंदैनन्‌ भनेर पक्का गर्छन्‌।

१८ प्रायजसो अवस्थामा मानिसहरूले राज्य प्रचारकार्यमा अर्थपूर्ण ढंगमा भाग लिन थालेपछि र बप्तिस्मा लिन इच्छा जाहेर गरेपछि तिनीहरूले यहोवालाई समर्पण गरेर बप्तिस्माको निम्ति ईश्‍वरीय आवश्‍यकता साँच्चै पूरा गरेका छन्‌ कि छैनन्‌ भनी पक्का गर्न मसीही प्राचीनहरूले छलफल गर्छन्‌। (प्रेरित ४:४; १८:८) बाइबल शिक्षाहरूबारे १०० वटाभन्दा बढी प्रश्‍नहरू छलफल गर्दा प्राचीनहरूले ती व्यक्‍तिहरूले बप्तिस्माको निम्ति ईश्‍वरीय आवश्‍यकता पूरा गरिरहेका छन्‌ कि छैनन्‌ भनी निधो गर्न सक्छन्‌। कोही-कोही योग्य हुँदैनन्‌ र मसीही बप्तिस्मा लिन स्वीकृत हुँदैनन्‌।

के तपाईंलाई कुनै कुराले रोकिरहेको छ?

१९. यूहन्‍ना ६:४४ लाई विचार गर्दा येशूका सहशासकहरू को हुनेछन्‌?

१९ जबरजस्ती बप्तिस्मा लिन लगाइएका सर्वसाधारण व्यक्‍तिहरूमध्ये थुप्रैलाई तिनीहरू मृत्युपछि स्वर्गमा जानेछन्‌ भनिएको थियो होला। तर उहाँको पाइला पछ्याउँदै हिंड्‌ने अनुयायीहरूलाई संकेत गर्दै येशूले यसो भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) यहोवाले १,४४,००० जनालाई स्वर्गको राज्यमा येशूसित सहशासक हुन ख्रीष्टतर्फ खिच्नुभएको छ। जबरजस्ती बप्तिस्मा लिएका कसैलाई पनि परमेश्‍वरको यस प्रबन्धको महिमित स्थानको निम्ति योग्य ठहऱ्‍याइएको छैन।—रोमी ८:१४-१७; २ थिस्सलोनिकी २:१३; प्रकाश १४:१.

२०. बप्तिस्मा नलिएका कसै-कसैलाई कुन कुराले मदत गर्न सक्छ?

२० सन्‌ १९३० दशकको बीचदेखि विशेष गरी “महा संकष्टबाट” बचेर पृथ्वीमा सधैंभरि बाँच्ने आशा राखेका हजारौं मानिसहरू येशूको “अरू भेड़ा[को]” भाग भएका छन्‌। (प्रकाश ७:९, १४; यूहन्‍ना १०:१६) तिनीहरू बप्तिस्माको निम्ति योग्य हुन्छन्‌ किनभने तिनीहरूले परमेश्‍वरको वचनअनुरूप आफ्नो जीवन ढाल्छन्‌ र ‘आफ्नो सारा हृदय, प्राण, शक्‍ति र मनले’ उहाँलाई प्रेम गर्छन्‌। (लूका १०:२५-२८) कसै-कसैलाई यहोवाका साक्षीहरू ‘परमेश्‍वरलाई आत्मा र सत्यतामा पुज्छन्‌’ भनी थाह भए तापनि तिनीहरूले अझै पनि येशूको उदाहरण पछ्याएका छैनन्‌ र बप्तिस्माद्वारा यहोवाप्रति साँचो प्रेम तथा ऐकान्तिक भक्‍तिको सार्वजनिक रूपमा प्रमाण दिएका छैनन्‌। (यूहन्‍ना ४:२३, २४; व्यवस्था ४:२४; मर्कूस १:९-११) यस महत्त्वपूर्ण कदमबारे निष्कपटतासाथ तोकेरै प्रार्थना गर्दा पनि तिनीहरूले सबै कुरा परमेश्‍वरको वचनअनुरूप गर्न र यहोवा परमेश्‍वरलाई राजीखुसीसाथ जीवन समर्पण गर्न अनि बप्तिस्मा लिन प्रोत्साहन र साहस मिल्न सक्छ।

२१, २२. कोही-कोही समर्पण गर्न र बप्तिस्मा लिन किन हिचकिचाउँछन्‌?

२१ कोही-कोहीचाहिं समर्पण गर्न र बप्तिस्मा लिन हिचकिचाउँछन्‌ किनभने तिनीहरू संसारका कामकुराहरूमा चुर्लुम्मै डुबेका हुन्छन्‌ वा पैसाको पछि दौडधूप गरिरहेको कारण तिनीहरूसित आध्यात्मिक कामकुराको लागि समय नै हुँदैन। (मत्ती १३:२२; १ यूहन्‍ना २:१५-१७) तिनीहरूले आफ्ना विचारधारा तथा लक्ष्यहरू परिवर्तन गरेको खण्डमा तिनीहरू कत्ति आनन्दित हुनेछन्‌! परमेश्‍वरसँग नजिक हुँदा तिनीहरू ईश्‍वरीय इच्छा गर्न आध्यात्मिक तवरमा बलियो हुनेछन्‌, फिक्रीहरू हटाउन मदत पाउनेछन्‌ र शान्ति अनि सन्तुष्टि महसुस गर्नेछन्‌।—भजन १६:११; ४०:८; हितोपदेश १०:२२; फिलिप्पी ४:६, ७.

२२ अरूले चाहिं यहोवालाई प्रेम गरेको दाबी त गर्छन्‌ तर समर्पण भने गर्दैनन्‌ र बप्तिस्मा पनि लिंदैनन्‌ किनभने तिनीहरू परमेश्‍वरप्रति जवाफदेही हुन चाहँदैनन्‌। तर हामी सबै परमेश्‍वरप्रति जवाफदेही छौं। यहोवाको वचन सुन्‍ने बित्तिकै हाम्रो काँधमा एउटा जिम्मेवारी आइपर्छ। (इजकिएल ३३:७-९; रोमी १४:१२) ‘छानिएको जाति’ भएको कारण पुरातन इस्राएलीहरू यहोवाप्रति समर्पित राष्ट्रमा जन्मिथे र यही कारणले गर्दा तिनीहरूले उहाँको आज्ञा पालन गर्दै वफादारीसाथ उहाँको सेवा गर्ने दायित्व वहन गर्नुपर्थ्यो। (व्यवस्था ७:६, ११) आज कसैको पनि त्यस्तो राष्ट्रमा जन्म हुँदैन तर हामीले सही धर्मशास्त्रीय निर्देशन प्राप्त गरेका छौं भने, त्यसमा विश्‍वास गरेर त्यसैबमोजिम हिंड्‌नुपर्छ।

२३, २४. कस्ता डरहरूको कारण बप्तिस्मा लिनदेखि हिचकिचाउनुहुँदैन?

२३ आफूसँग पर्याप्त ज्ञानै छैन भन्‍ने डरले गर्दा पनि कोही-कोही बप्तिस्मा लिन हिचकिचाउँछन्‌। यद्यपि, हामी सबैले सिक्नुपर्ने कुरा अझ धेरै छ किनभने ‘परमेश्‍वरले शुरूदेखि अन्तसम्म गर्नुभएको कार्य बुझ्ने शक्‍ति मानिससित छैन।’ (उपदेशक ३:११) एथियोपियाली नपुसंकलाई विचार गर्नुहोस्‌। धर्म परिवर्तन गरेर यहूदी मत मानेको कारण तिनीसित धर्मशास्त्रको केही ज्ञान त थियो तर परमेश्‍वरका उद्देश्‍यहरूबारे सबै कुरा तिनलाई थाह थिएन। येशूको छुडौतीको बलिदानमार्फत्‌ उद्धारको निम्ति यहोवाले गर्नुभएको प्रबन्ध थाह पाएपछि नपुसंकले तुरुन्तै पानीको बप्तिस्मा लिए।—प्रेरित ८:२६-३८.

२४ कोहीचाहिं आफूले गरेको समर्पण पूरा गर्न सकिंदैन होला भन्‍ने डरले समर्पण गर्दैनन्‌। सत्र वर्षीया मोनिक यसो भन्छिन्‌: “समर्पणअनुरूप जीवन बिताउन सक्दिनँ होला भन्‍ने डरले म पछि हटिरहेकी छु।” तथापि, यदि हामीले पूरा तनमनले यहोवामा भरोसा राख्यौं भने ‘उहाँले हाम्रा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।’ उहाँको विश्‍वासी समर्पित सेवकहरूको हैसियतमा हामीलाई ‘सत्यमा चलिरहन’ मदत गर्नुहुनेछ।—हितोपदेश ३:५, ६; ३ यूहन्‍ना ४.

२५. अब हामीले कुन प्रश्‍नबारे विचार गर्नु आवश्‍यक छ?

२५ यहोवामा पूर्ण भरोसा राखेकोले र उहाँप्रति हार्दिक प्रेम भएको कारण प्रत्येक वर्ष हजारौं व्यक्‍तिहरू समर्पण र बप्तिस्मा लिन उत्प्रेरित हुन्छन्‌। अनि परमेश्‍वरका सबै समर्पित सेवकहरू उहाँप्रति अवश्‍य वफादार हुन चाहन्छन्‌। यद्यपि, हामी डरलाग्दो समयमा बाँचिरहेका छौं र विभिन्‍न परीक्षाहरूको सामना गर्नुपर्छ। (२ तिमोथी ३:१-५) यहोवाप्रति आफ्नो समर्पणअनुरूप जीवन बिताउन हामी के गर्न सक्छौं? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

[फुटनोट]

a येशू निष्खोट हुनुभएको कारण उहाँले पश्‍चात्ताप प्रकट गर्न बप्तिस्मा लिनुभएको थिएन। उहाँको बप्तिस्माले आफूलाई पिताको इच्छाअनुसार गर्न परमेश्‍वरसामु प्रस्तुत भएको संकेत गर्थ्यो।—हिब्रू ७:२६; १०:५-१०.

के तपाईंलाई सम्झना छ?

• मसीही बप्तिस्मा कसरी गरिन्छ?

• बप्तिस्मा लिन कस्तो ज्ञान हुनु आवश्‍यक छ?

• साँचो मसीही बप्तिस्मा लिनुअघि कस्ता कदमहरू चाल्नु आवश्‍यक छ?

• किन कोही-कोही बप्तिस्मा लिन हिचकिचाउँछन्‌ तर तिनीहरूलाई कसरी मदत गर्न सकिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएका चित्रहरू]

के तपाईंलाई ‘पिता, पुत्र र पवित्र आत्माको नाउँमा’ बप्तिस्मा लिनुको अर्थ थाह छ?