सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहनुहोस्‌, साहसी भई अघि बढ्‌नुहोस्‌!

जागा रहनुहोस्‌, साहसी भई अघि बढ्‌नुहोस्‌!

जागा रहनुहोस्‌, साहसी भई अघि बढ्‌नुहोस्‌!

विशेष सभाहरूबारे रिपोर्ट

हामी “आखिरी दिनको डरलाग्दो समय[मा]” बाँचिरहेका छौं भन्‍ने कुरालाई कसले पो नकार्न सक्छ र? यहोवाका साक्षीहरू भएकाले “आखिरी दिनमा” आउने दबाउहरूबाट हामी मुक्‍त छैनौं। (२ तिमोथी ३:१-५) तर मानिसहरूलाई मदत दिन आवश्‍यक छ भन्‍ने कुरा हामीले बुझेका छौं। तिनीहरूले संसारमा घटिरहेका घटनाहरूको अर्थ बुझ्न सकेका छैनन्‌। तिनीहरूलाई सान्त्वना अनि आशा चाहिन्छ। आफ्ना सहमानवहरूलाई मदत गर्ने सन्दर्भमा हाम्रो सबैभन्दा पहिलो कर्तव्य के हो?

हामीलाई परमेश्‍वरले उहाँको स्थापित राज्यको सुसमाचार सुनाउने जिम्मेवारी दिनुभएको छ। (मत्ती २४:१४) सम्पूर्ण मानवजातिको लागि यो स्वर्गीय राज्य नै एक मात्र आशा हो भनी सबै मानिसहरूले बुझ्नु अत्यावश्‍यक छ। यद्यपि, हाम्रो सन्देशलाई सधैं सबैले स्वीकार्दैनन्‌। कुनै-कुनै ठाउँहरूमा त हाम्रो काममाथि प्रतिबन्ध लगाइएका छन्‌ र हाम्रा भाइहरू सताइएका छन्‌। तैपनि, हामी हार मान्दैनौं। यहोवामाथि पूर्ण भरोसा राखेर कुनै ढिलासुस्ती नगरीकन सुसमाचार सुनाउँदै जागा रहन अनि साहसी भई अघि बढ्‌न हामी कटिबद्ध छौं।—प्रेरित ५:४२.

यो दृढ संकल्प अक्टोबर २००१ मा आयोजना गरिएका विशेष सभाहरूमा प्रस्टै देखिन्थ्यो। शनिबार अक्टोबर ६ तारिखका दिन संयुक्‍त राज्य अमेरिकाको न्यु जर्सी सिटीस्थित यहोवाका साक्षीहरूको सम्मेलन भवनमा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सलभेनियाको वार्षिक सभा सम्पन्‍न भयो। a त्यसको भोलिपल्ट संयुक्‍त राज्य अमेरिकामा तीनवटा र क्यानाडामा एउटा गरी जम्मा चार स्थानहरूमा अतिरिक्‍त सभाहरू आयोजना गरियो। b

वार्षिक सभाको सुरुको भाषणमा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य तथा कार्यक्रमका सभापति शमूएल एफ. हर्डले भजन ९२:१, ४ उद्धृत गरेर यसो भने; “हामी कृतज्ञ छौं भनी देखाउन चाहन्छौं।” वास्तवमा, कृतज्ञ हुनुपर्ने कारणहरू सारा विश्‍वबाट प्राप्त पाँचवटा रिपोर्टमा देखाइएको थियो।

विश्‍वका कुनाकाप्चाहरूबाट प्राप्त रिपोर्टहरू

भाइ अलफ्रेड क्वाचीले पहिला गोल्ड कोस्टको नाउँबाट चिनिने घानामा प्रचार कार्यको प्रगतिबारे रिपोर्ट प्रस्तुत गर्नुभयो। त्यस भूमिमा वर्षौंसम्म हाम्रो कार्य प्रतिबन्धित थियो। मानिसहरूले सोध्ने गर्थे: “किन प्रतिबन्ध भयो? तपाईंहरू कस्तो काम गर्नुहुन्थ्यो?” यस्ता प्रश्‍नहरूले साक्षी दिने अवसर प्रदान गऱ्‍यो भनी भाइ क्वाचीले बताउनुभयो। घानामा १९९१ मा प्रतिबन्ध हटाइँदा जम्मा ३४,४२१ जना यहोवाका साक्षीहरू थिए। अगस्त २००१ मा साक्षीहरूको कुल संख्या ६८,१५२ पुग्यो, जुन ९८ प्रतिशतले वृद्धि थियो। अहिले १०,००० सिट भएको सम्मेलन भवन निर्माण गर्ने योजना तयार भइरहेको छ। स्पष्टतः घानाका हाम्रा आध्यात्मिक भाइहरूले आफूले पाएको धार्मिक स्वतन्त्रताको पूरापूर सदुपयोग गरिरहेका छन्‌।

राजनैतिक अस्थिरताको बावजूद आयरल्याण्डका हाम्रा भाइहरूले सेवकाईमा सक्रियतासाथ भाग लिइरहेका छन्‌ र तटस्थाको कारण तिनीहरूलाई आदर गरिन्छ। आयरल्याण्डका ६ वटा क्षेत्रमा ११५ मण्डलीहरू छन्‌ भनी शाखा समितिका संयोजक पिटर एन्ड्रुजले बताए। भाइ एन्ड्रुजले लियाम नाउँ गरेका दस वर्षीय बालकको अनुभव बताए, जसले स्कूलमा साहसी भई साक्षी दिइरहेका छन्‌। लियामले यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलका कथाहरू भएको मेरो पुस्तक, आफ्ना २५ जना सहपाठीहरू अनि आफ्नी शिक्षिकालाई वितरण गरे। लियाम बप्तिस्मा लिन चाहन्थे तर कसै-कसैले तिनी एकदमै सानो भएको कुरा बताए। लियामले यस्तो जवाफ दिए: “मलाई बप्तिस्मा लिन निर्धारण गर्ने तत्त्व मेरो उमेर होइन तर यहोवाप्रतिको मेरो प्रेम हो। म उहाँलाई कत्तिको प्रेम गर्छु भन्‍ने कुरा मेरो बप्तिस्माले देखाउनेछ।” लियामले मिसिनरी बन्‍ने लक्ष्य राखेका छन्‌।

भेनेजुएलामा सन्‌ १९६८ मा जम्मा ५,४०० जना सुसमाचारका प्रकाशकहरू थिए। तर शाखा समितिका संयोजक स्टेफन जोहानसनले बताएअनुसार अहिले त्यहाँ ८८,००० भन्दा धेरै प्रकाशकहरू छन्‌। अनि त्यहाँ भविष्यमा वृद्धिका सम्भावनाहरू छन्‌ किनकि सन्‌ २००१ को स्मरणार्थमा उपस्थित संख्या २,९६,००० भन्दा बढी थियो। डिसेम्बर १९९९ मा अविरल वर्षाको कारण हिलोको बाढी आयो र त्यसले साक्षीहरूलगायत लगभग ५०,००० मानिसहरूको ज्यान लियो। एउटा राज्यभवनको दलिनबाट २ फिट तलसम्म हिलो जमेको थियो। कसै-कसैले भवन परित्याग गर्न सल्लाह दिंदा भाइहरूले यस्तो जवाफ दिए: “यो कुनै पनि हालतमा हुन सक्दैन! यो हाम्रो राज्यभवन हो र अहिले हामी यसलाई छोड्‌न सक्दैनौं।” तिनीहरू राज्यभवनबाट टनका टन माटो, ढुंगा र अन्य भग्नावशेषहरू हटाउने काममा जुटे। राज्यभवनको ढाँचामा केही परिवर्तन गरी मर्मत-सम्भार गरियो र भाइहरूले बताएअनुसार प्राकृतिक प्रकोप हुनुअघिको राज्यभवनभन्दा अहिलेको राज्यभवन बढी आकर्षक देखिएको छ!

फिलिपिन्समा ८७ वटा भाषा र उपभाषा बोलिन्छन्‌ भनी शाखा समितिका संयोजक भाइ डेन्टन हप्किन्सनले बताए। गत सेवा वर्षको दौडान त्यस देशको प्रमुख तीनवटा भाषा सेबुआनो, इलोको र टगालोगमा पूरै न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विमोचन गरियो। भाइ हप्किन्सनले एक जना नौ वर्षीय बालकको अनुभव बताए, जसले यहोवाका साक्षीहरूद्वारा प्रकाशित गुड न्युज—टु मेक यु ह्‍याप्पि नामक पुस्तक पढे। उनले शाखाबाट अन्य प्रकाशनहरू पनि लिएर पढे तर उनको परिवारले विरोध गऱ्‍यो। वर्षौंपछि चिकित्साशास्त्र अध्ययन गरिरहेको बेला उनले शाखामा सम्पर्क राखे र बाइबल अध्ययनको लागि अनुरोध गरे। उनले सन्‌ १९९६ मा बप्तिस्मा लिए अनि तुरुन्तै पूर्ण-समय सेवकाईमा प्रवेश गरे। अहिले उनी आफ्नी पत्नीसित शाखा कार्यालयमा सेवा गर्दैछन्‌।

‘पोर्टो रिको “साक्षी निर्यात” कार्यमा लागेको छ’ भनी शाखा समिति संयोजक रोनाल्ड पार्किनले बताए। यहाँ लगभग २५,००० प्रकाशकहरू छन्‌ अनि यो संख्या यति नै रहिरहेको धेरै वर्ष भइसक्यो। किन? किनकि पोर्टो रिकोले प्रत्येक वर्ष लगभग १,००० जना साक्षीहरू संयुक्‍त राज्य अमेरिकामा “निर्यात” गर्छ भन्‍ने अनुमान गरिएको छ, तिनीहरूमध्ये धेरैजसो आर्थिक कारणले गर्दा बसाइँ सर्छन्‌। भाइ पार्किनले ल्युकेमिया रोग लागेका लुइस नाउँ गरेका १७ वर्षीय साक्षीबारे आदलतले गरेको निर्णायक फैसलाबारे बताए। लुइसले रगत लिन इन्कार गरेको कारण उनको मुद्दालाई अदालतसम्म पुऱ्‍याइयो। न्यायाधीश आफै उनीसित कुरा गर्न चाहन्थिन्‌, त्यसैले तिनी उनलाई भेट्‌न अस्पताल पुगिन्‌। लुइसले तिनलाई यस्तो प्रश्‍न गरे: “यदि मैले कुनै गम्भीर गल्ती गरेको भए तपाईंले मलाई बालिगको हैसियतमा न्याय गर्नुहुन्थ्यो तर मैले परमेश्‍वरको आज्ञा पालन गर्न खोज्दा तपाईं किन मलाई नाबालिग भन्‍नुहुन्छ?” तिनी एक जना परिपक्व बालिग हुन्‌ भन्‍ने कुरामा न्यायाधीशलाई कुनै शंका भएन र तिनलाई आफ्नो निर्णय आफै गर्न दिइयो।

टाढ-टाढाको इलाकाका रिपोर्टहरूपछि स.रा.अ. शाखा कार्यालयका हारोल्ड कोर्केनले लामो समय देखि यहोवाको सेवा गर्ने चार जना सेवकहरूसित अन्तरवार्ता लिए। अर्थर बोनोले ५१ वर्ष पूर्ण-समय सेवकाईमा बिताइसकेका छन्‌ र अहिले उनी इक्वेडर शाखा समितिमा सेवा गर्दैछन्‌। एन्जलो काटान्जारोले ५९ वर्ष पूर्ण-समय सेवकाईमा बिताएका छन्‌ र त्यसमध्ये धेरैजसो समय परिभ्रमण निरीक्षकको रूपमा सेवा गरे। रिचर्ड अब्राहामसनले सन्‌ १९५३ मा गिलियड स्कूलबाट स्नातक गरे र ब्रूकलिन बेथेलमा फर्कनु अघि २६ वर्षसम्म डेनमार्कका कार्यहरू निरीक्षण गर्ने सुअवसर पाए। अन्तमा, ९६ वर्षीय क्यारी डब्लु. बार्बरको अनुभव सुन्‍न पाउँदा सबै जना हर्ष विभोर भए। सन्‌ १९२१ मा बप्तिस्मा लिइसकेपछि भाइ बार्बरले ७८ वर्ष पूर्ण-समय सेवकाईमा बिताए अनि १९७८ देखि उनी परिचालक निकायको सदस्यको रूपमा कार्यरत छन्‌।

उत्साहित गर्ने भाषणहरू

वार्षिक सभाहरूमा एकपछि अर्को गरी विचारणीय भाषणहरू प्रस्तुत गरियो। भाइ रोबर्ट डब्लु. वालेनले “उहाँको नाउँको निम्ति जाति” विषयमा भाषण दिनुभयो। हामी परमेश्‍वरको नाउँ वहन गर्ने मानिसहरू हौं अनि हामी २३० भन्दा बढी राष्ट्रहरूमा छौं। यहोवाले हामीलाई “भविष्य . . . र एउटा आशा” दिनुभएको छ। (यर्मिया २९:११) आनन्द र सान्त्वनाको अद्‌भुत सन्देश सुनाउँदै हामीले परमेश्‍वरको राज्यको व्यापक प्रचार गरिरहनुपर्छ। (यशैया ६१:१) भाइ वलेनले आफ्नो भाषण यसरी टुंग्याउनुभयो, “हरेक दिन हामी यहोवाका साक्षीहरू भनी हामीलाई दिइएको नाउँअनुरूप बाँचौं।”—यशैया ४३:१०.

कार्यक्रमको अन्तमा परिचालक निकायका तीन जना सदस्यहरूको गोष्ठी भाषण थियो। गोष्ठी भाषणको विषय यस प्रकार थियो, “अहिले जागा रहने, विश्‍वासमा दृढ रहने अनि बलियो हुने समय हो।”—१ कोरिन्थी १६:१३.

सर्वप्रथम, भाइ स्टिभन लेट्‌ले “अहिलेको अल्प समयमा जागा रहने” विषयमा भाषण दिनुभयो। निद्रा एउटा उपहार हो भनी भाइ लेट्‌ले बताउनुभयो। यसले हामीलाई स्फूर्ति प्रदान गर्छ। यद्यपि, आध्यात्मिक निद्राले हामीलाई कहिल्यै फाइदा गर्दैन। (१ थिस्सलोनिकी ५:६) त्यसोभए, हामी कसरी आध्यात्मिक तवरमा जागा रहन सक्छौं? भाइ लेट्‌ले तीनवटा आध्यात्मिक “औषधीको चक्की”-बारे बताउनुभयो: (१) सधैं प्रभुको काममा प्रशस्त हुँदै जाने। (१ कोरिन्थी १५:५८) (२) आफ्ना आध्यात्मिक आवश्‍यकताहरूप्रति सजग रहने। (मत्ती ५:३) (३) बुद्धिमानीसाथ कार्य गर्न बाइबल आधारित सल्लाहहरू पालन गर्ने।—हितोपदेश १३:२०.

भाइ थिओडर जारासले “परीक्षामा अटल भई बस” भन्‍ने विषयमा जोडदार भाषण दिनुभयो। प्रकाश ३:१० लाई उद्धृत गर्दै भाइ जारासले यस्तो प्रश्‍न सोध्नुभयो: “ ‘परीक्षाको समय’ कुन हो?” त्यो परीक्षा आज हामी बाँचिरहेको “प्रभुको दिनमा” आउँछ। (प्रकाश १:१०) परीक्षा मुख्यतः यस प्रश्‍नसित जोडिएको छ: हामी परमेश्‍वरको स्थापित राज्यको पक्षमा छौं या शैतानको दुष्ट रीतिरिवाजको? त्यो परीक्षाको समय अन्त नहोउञ्जेल हामीले परीक्षा तथा कठिनाइहरूको सामना गर्नै पर्छ। के हामी यहोवा अनि उहाँको संगठनप्रति वफादार रहने गरेका छौं? ‘हामीले व्यक्‍तिगत तवरमा यस्तो वफादारिता देखाउनु पर्नेछ’ भनी भाइ जारासले औंल्याउनुभयो।

अन्तमा, भाइ जोन इ. बारले “आध्यात्मिक व्यक्‍तिको हैसियतमा बलियो हुनुहोस्‌” भन्‍ने विषयमा भाषण दिनुभयो। लूका १३:२३-२५ लाई उद्धृत गर्दै उहाँले “साँघुरो ढोकाबाट भित्र पस्न” हामी सबैले उत्कट प्रयास गर्नै पर्छ भनी बताउनुभयो। धेरै जना यसो गर्न असफल हुन्छन्‌ किनकि तिनीहरू बलिया हुन पर्याप्त परिश्रम गर्दैनन्‌। परिपक्व मसीही बन्‍न हामीले जीवनको सबै पक्षमा बाइबलका सिद्धान्तहरू प्रयोग गर्न सिक्नै पर्छ। भाइ बारले यस्तो आग्रह गरे: “मलाई पक्का विश्‍वास छ, अहिले (१) यहोवालाई सबैभन्दा पहिलो स्थानमा राख्ने; (२) बलियो हुने; र (३) यहोवाका इच्छा अनुसार गर्न उत्कट प्रयास गर्ने समय हो भन्‍ने कुरामा तपाईंहरू सबै समहत हुनुहुनेछ। यसरी हामी साँघुरो ढोकामा प्रवेश गर्न सक्नेछौं र फलतः कहिल्यै अन्त नहुने रोमाञ्चक जीवन पाउनेछौं।”

वार्षिक सभाको अन्ततिर, एउटा प्रश्‍नको भने उत्तर दिइएको थिएन: सन्‌ २००२ को वार्षिक पद के हुनेछ? भोलिपल्ट त्यसको प्रश्‍नको उत्तर दिइयो।

अतिरिक्‍त सभा

आइतबार बिहान अतिरिक्‍त सभा सुरु हुँदा सबै जना उत्साहित भएर बसिरहेका थिए। सभाको सुरु साप्ताहिक प्रहरीधरहराको सारांश अनि वार्षिक सभाका केही मुख्य बुँदाहरूको छोटो प्रस्तुतीहरूबाट भयो। त्यसपछि, सन्‌ २००२ को वार्षिक पदबारे भाषण सुन्‍न पाउँदा सबै जना निकै आनन्दित भए: “मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।” (मत्ती ११:२८) भाषण अध्ययन लेखमा आधारित थियो, यो लेख पछि डिसेम्बर १५, २००१ अंकको प्रहरीधरहरामा प्रकाशित गरियो।

त्यसपछि, अगस्त २००१ मा फ्रान्स तथा इटालीमा भएको विशेष अधिवेशन “परमेश्‍वरको वचनका शिक्षकहरू”-मा प्रतिनिधिको रूपमा भाग लिएकाहरूले आ-आफ्ना अनुभवहरू बताए। c अन्तमा, कार्यक्रमको मुख्य विशेषताहरूको रूपमा ब्रूकलिन बेथेलका आगन्तुक वक्‍ताले दुईवटा अन्तिम भाषण दिए।

पहिलो भाषणको विषय थियो, “यी आखिरी दिनहरूमा साहसी भई यहोवामा भरोसा गरौं।” वक्‍ताले निम्न मुख्य बुँदाहरूलाई प्रकाश पारे: (१) साहसी भई यहोवामा भरोसा गर्नु परमेश्‍वरका जनहरूको निम्ति सधैं नै सर्वमहत्त्वपूर्ण भएको छ। विरोधको सामना गर्नु पर्दा साहस प्रदर्शित गरेका धेरै उदाहरणहरू बाइबलमा छन्‌। (हिब्रू ११:१-१२:३) (२) यहोवामाथि पूर्ण भरोसा राख्न उहाँले हामीलाई ठोस आधार दिनुहुन्छ। उहाँले आफ्ना सेवकहरूको ख्याल राख्नुहुन्छ अनि तिनीहरूलाई कहिल्यै भुल्नु हुनेछैन भन्‍ने ग्यारेन्टी उहाँका कार्य अनि वचनले दिन्छ। (हिब्रू ६:१०) (३) विशेष गरी आज साहस अनि भरोसा अत्यावश्‍यक छ। हामी येशूले भविष्यवाणी गर्नुभएझैं “घृणित” छौं। (मत्ती २४:९) धीरज धारण गर्नका लागि परमेश्‍वरको वचनमाथि भरोसा राख्नु, उहाँको आत्मा हामीसित छ भन्‍ने कुरामा निर्धक्क हुनु अनि सुसमाचार सुनाइरहन साहसी हुनु आवश्‍यक छ। (४) अहिले हामीले विरोधको सामना गरिरहेका छौं भनेर विभिन्‍न घटनाहरूले देखाउँछ। वक्‍ताले आर्मेनिया, काजकस्तान, जर्जिया, टर्कमिनिस्थान, फ्रान्स र रूसका भाइहरूले सतावट भोगेका अनुभव बताउँदा सबै जना भाव विह्वल भएका थिए। साँच्चै, यहोवाप्रति भरोसा अनि साहस प्रदर्शित गर्ने समय अहिले नै हो।

अन्तिम वक्‍ताले “यहोवाको संगठनसँगसँगै एकताबद्ध भएर अगाडि बढ्‌ने” विषयमा भाषण दिए। भाषणमा धेरै समसामायिक बुँदाहरूलाई समावेश गरिएको थियो। (१) यहोवाका जनहरूको प्रगतिलाई सबैले देखिरहेका छन्‌। हाम्रो प्रचार कार्य अनि अधिवेशनहरूले सर्वसाधरणहरूको ध्यान आकर्षित गर्छ। (२) यहोवाले एकताबद्ध संगठन स्थापना गर्नुभएको छ। येशू ख्रीष्ट सा.यू. २९ मा “सबै कुरा” अर्थात्‌ स्वर्गीय तथा पार्थिव आशा भएकाहरूलाई परमेश्‍वरको एकताबद्ध परिवारमा गाभ्न पवित्र आत्मद्वारा अभिषिक्‍त हुनुभयो। (एफिसी १:८-१०) (३) अधिवेशनहरू अन्तरराष्ट्रिय एकताका उल्लेखनीय प्रमाणहरू हुन्‌। यो कुरा गत अगस्तमा फ्रान्स र इटालीमा भएका अधिवेशनहरूमा स्पष्ट भयो। (४) फ्रान्स र इटालीमा एउटा सशक्‍त प्रस्तावना पारित गरियो। वक्‍ताले त्यस सशक्‍त प्रस्तावनाबाट केही बुँदाहरू बताए। प्रस्तावना तल दिइएको छ।

अन्तिम भाषणको अन्तमा आगन्तुक वक्‍ताले परिचालक निकायले तयार पारेको हृदयस्पर्शी घोषणा पढेर सुनाए। त्यस घोषणाका केही भागहरू यस प्रकार छन्‌: “अहिले विश्‍व घटनाहरूप्रति सचेत हुँदै जागा अनि सतर्क रहने समय हो। . . . परिचालक निकायले तपाईंहरूलगायत सबै परमेश्‍वरका जनहरूप्रति मायालु चासो राख्छ भन्‍ने कुरा हामी तपाईंहरूलाई बताउन चाहन्छौं। पूर्ण हृदयले उहाँको सेवा गर्न उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा आशिष्‌ दिऊन्‌।” विश्‍वको कुनै पनि कुनामा रहेका यहोवाका जनहरू यस आखिरी दिनमा यहोवाको एकताबद्ध संगठनसँगसँगै जागा रहन अनि साहसी भई अघि बढ्‌न कटिबद्ध छन्‌।

[फुटनोटहरू]

a वार्षिक सभाका कार्यक्रमहरू विद्युतीय माध्यमहरूद्वारा अन्य स्थानहरूमा पनि सुन्‍न सकिने भएकाले कुल उपस्थित संख्या १३,७५७ थियो।

b अतिरिक्‍त सभाहरू क्यालिफोर्नियाको लङ बिच; मिशिगनको पोन्टियाक; न्यु योर्कको युनिएनडेल; र ओन्टारियोको ह्‍यामिल्टनमा आयोजना गरिए। विभिन्‍न स्थानहरूमा विद्युतिय माध्यमहरूद्वारा कार्यक्रम सुन्‍ने व्यक्‍तिहरूलाई समावेश गर्दा कुल उपस्थित संख्या १,१७,८८५ थियो।

c फ्रान्सको पेरिस, बोर्डो अनि लियोन्समा तीनवटा विशेष अधिवेशन आयोजना गरिए। इटालीमा एकै चोटि नौवटा अधिवेशन आयोजना गरिए तापनि संयुक्‍त राज्यबाट आएका प्रतिनिधिहरूलाई भने रोम र मिलानमा पठाइयो।

[पृष्ठ २९-३१-मा भएको पेटी/चित्रहरू]

प्रस्तावना

अगस्त २००१ मा फ्रान्स र इटालीमा “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक विशेष अधिवेशन आयोजना गरियो। ती अधिवेशनहरूमा एउटा सशक्‍त प्रस्तावना प्रस्तुत गरियो। उक्‍त प्रस्तावना यस प्रकार छ।

“यहोवाका साक्षीहरूको हैसियतमा यस “परमेश्‍वरको वचनका शिक्षकहरू” विषयक अधिवेशनमा भेला हुने सबैले अत्यन्तै लाभदायक शिक्षा हासिल गर्ने अवसर पाएका छन्‌। यस शिक्षाको स्रोतलाई स्पष्टसित चिनाइएको छ। यस शिक्षाको स्रोत कुनै मानव होइन। यसको स्रोत त पुरातन अगमवक्‍ता यशैयाले वर्णन गरेका ‘महान्‌ शिक्षक’ हुनुहुन्छ। (यशैया ३०:२०) यशैया ४८:१७ मा यहोवाले दिनुभएको यस सम्झौटोलाई ध्यान दिनुहोस्‌: ‘म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।’ उहाँ आफ्नो यस वचनलाई कसरी पूरा गर्नुहुन्छ? उहाँले हामीलाई सिकाउनुहुने सबैभन्दा प्रमुख माध्यम विश्‍वमै सबैभन्दा धेरै भाषाहरूमा अनुवाद गरिएको अनि बृहत्‌ रूपमा वितरण गरिएको पुस्तक, बाइबल हो जसमा हामीलाई यस प्रकार स्पष्टसित बताइएको छ: ‘परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र . . . सिकाउनलाई .  . . उपयोगी हुन्छ।’—२ तिमोथी ३:१६.

“आज, मानवजातिलाई यस्तो लाभदायी शिक्षा अपरिहार्य छ। किन यसो भन्‍न सकिन्छ? यस संसारको बदलिंदो अवस्थालाई विचार गर्दा बौद्धिक वर्गले कुन कुरा स्वीकारेका छन्‌? सरल भाषामा भन्‍ने हो भने: लाखौं मानिसहरूले संसारको शैक्षिक प्रणालीद्वारा शिक्षा हासिल गरेका भए तापनि ती शिक्षाहरूमा सही मूल्यमान्यताहरूको अभाव हुनुका साथै सही र गलतबीचको भिन्‍नता छुट्याउन असफल हुनु साह्रै दुःखलाग्दो कुरा हो। (यशैया ५:२०, २१) बाइबलमा आधारित ज्ञानको अभाव छ। प्रविधिको विकास भएको हुनाले कम्प्युटरद्वारा अथाह जानकारीहरू हासिल गर्न सकिने भए तापनि जीवनको उद्देश्‍य के हो? हाम्रो समयमा घटिरहेका घटनाहरूको अर्थ के हो? के भविष्यको लागि कुनै ठोस आशा छ? के शान्ति र सुरक्षा कहिल्यै वास्तविकतामा परिणत होला? जस्ता प्रश्‍नहरूको जवाफ खोइ? यसको अतिरिक्‍त, मानिसहरूले हरेक क्षेत्रमा गरेका प्रयासहरूबारे लेखिएका लाखौं-लाख पानाहरू पुस्तकालयहरूमा पाइन्छन्‌। यसको बावजूद मानवजातिले विगतमा गरेका गल्तीहरू दोहऱ्‍याइ रहन्छन्‌। अपराधको बिगबिगी छ। निर्मूल भइसक्यो भन्ठानिएका रोगहरू पुनः देखा परेका छन्‌ भने अर्कोतिर एड्‌सजस्ता घातक रोगहरू भयावह रूपमा फैलिरहेका छन्‌। पारिवारिक जीवन टुक्रिरहेको छ। प्रदूषणले वातावरण विनाश गरिरेहको छ। आम विनाशक हात-हतियार तथा आतंकवादले शान्ति र सुरक्षालाई खतरामा पारिदिएको छ। समाधानविनाका समस्याहरूको थुप्रो लागेको छ। यस डरलाग्दो समयमा आफ्ना सँगी मानवहरूलाई मदत गर्न हामीले खेल्नुपर्ने सही भूमिका के हो? मानवजातिको दुर्दशाको कारणबारे बताउने अनि एउटा उत्तम जीवनको बाटो देखाउनुका साथै भविष्यको लागि उज्ज्वल अनि पक्का आशा दिने के कुनै शिक्षा छ?

“हाम्रो धर्मशास्त्रीय जिम्मेवारी भनेको ‘गएर सबै देशका जातिहरूलाई चेला बनाउनु, तिनीहरूलाई ख्रीष्टले आज्ञा गरे बमोजिम सबै गर्ना सिकाउनु’ हो। (मत्ती २८:१९, २०) आफ्नो मृत्यु अनि पुनरुत्थानपश्‍चात्‌ स्वर्ग अनि पृथ्वीका सारा अख्तियार प्राप्त गर्नुभएका येशू ख्रीष्टले उक्‍त आज्ञा दिनुभएको थियो। यो कार्य मानवजातिले सञ्चालन गरेको कुनै पनि कार्यभन्दा श्रेष्ठ छ। परमेश्‍वरको दृष्टिकोणबाट हेर्ने हो भने, धार्मिकताका निम्ति भोकाएकाहरूको आध्यात्मिक आवश्‍यकताहरूमा केन्द्रित हाम्रो यस जिम्मेवारीले प्रथम स्थान पाउनुपर्छ। यस जिम्मेवारीलाई हामीले गम्भीरतासाथ लिनुपर्ने धर्मशास्त्रीय ठोस कारणहरू छन्‌।

“यसको अर्थ, हाम्रो जीवनमा यस गतिविधिलाई प्रथम स्थानमा राख्नु हो। यस विश्‍वव्यापी शैक्षिक कार्यक्रमको उन्‍नतिमा अवरोध खडा गर्न धार्मिक तथा राजनैतिक समुदायबाट आउने बिघ्नबाधा अनि विरोधहरूको बावजूद परमेश्‍वरको आशिष्‌ अनि मदतले यो कार्य पूरा हुनेछ। यो कार्य फस्टाउँदै जानेछ र यसले आफ्नो महान्‌ लक्ष्य हासिल गर्नेछ भन्‍ने कुरामा हामी ढुक्क छौं अनि हामीलाई पूर्ण विश्‍वास पनि छ। हामी किन यत्ति निश्‍चित हुन सक्छौं? किनभने परमेश्‍वरले दिनुभएको सेवकाईमा यस रीतिरिवाजको अन्तसम्म प्रभु येशू ख्रीष्ट हाम्रो साथमा हुनुहुनेछ भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ।

“संकटमा परेका मानिसजातिले अब तुरुन्तै कदम चालिहाल्नुपर्छ। अन्तको घडी आउन अगावै हामीलाई सुम्पिएको जिम्मेवारी हामीले पूरा गर्नै पर्छ। त्यसैले, यहोवाका साक्षीहरूको हैसियतमा हामी यस्तो संकल्प गर्छौं:

प्रथम: परमेश्‍वरका समर्पित सेवकहरूको हैसियतमा हामी आफ्नो जीवनमा परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई प्रथम स्थानमा राख्न अनि आध्यात्मिकतामा बढ्‌दै जान कटिबद्ध छौं। यो लक्ष्य प्राप्त गर्न हाम्रो प्रार्थना भजन १४३:१० मा लिपिबद्ध शब्दअनुरूप छन्‌: ‘तपाईको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाई मेरा परमेश्‍वर हुनुहुन्छ।’ यसको लागि लगनशील विद्यार्थी हुनु, दिनहुँ बाइबल पढ्‌ने प्रयास गर्नु र व्यक्‍तिगत अध्ययन तथा अनुसन्धान गर्नु नितान्त आवश्‍यक छ। आफ्नो प्रगति सबैसामु प्रकट गर्न मण्डलीको सभा, क्षेत्रीय तथा जिल्ला सम्मेलन, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अधिवेशनहरूमा दिइने ईश्‍वरतान्त्रिक शिक्षाको लागि तयारी गर्न अनि त्यसबाट पूर्ण लाभ उठाउन हामी यथासक्दो प्रयास गर्नेछौं।—१ तिमोथी ४:१५; हिब्रू १०:२३-२५.

दोस्रो: परमेश्‍वरबाट सिकाइएकाहरू हुन हामी उहाँको टेबलबाट मात्र खानेछौं अनि प्रेतहरूका गलत शिक्षाहरूबारे बाइबलले दिएको चेताउनीलाई होसियारीसाथ ध्यान दिनेछौं। (१ कोरिन्थी १०:२१; १ तिमोथी ४:१) धार्मिक झूट, व्यर्थका तर्कहरू, पतित यौन विकृतिहरू, अश्‍लील कुराहरूको प्रकोप, पतित मनोरञ्जन तथा ‘पक्का शिक्षासित नमिल्ने’ सबै कुराहरूबाट अलग बस्न हामी विशेष सतर्कता अपनाउनेछौं। (रोमी १:२६, २७; १ कोरिन्थी ३:२०; १ तिमोथी ६:३; २ तिमोथी १:१३) लाभदायी शिक्षाहरू सिकाउन योग्य व्यक्‍तिहरू अर्थात्‌ ‘पुरुषहरूमध्येको वरदानलाई’ आदर देखाउँदै परमेश्‍वरको वचनका स्वच्छ अनि धार्मिक, नैतिक तथा आध्यात्मिक स्तर कायम राख्न हामी तिनीहरूले गरेको प्रयासलाई साँचो आदर गर्नेछौं अनि पूरा तनमनले तिनीहरूलाई साथ दिनेछौं।—एफिसी ४:७, ८, ११, १२; १ थिस्सलोनिकी ५:१२, १३; तीतस १:९.

तेस्रो: मसीही आमाबाबुको हैसियतमा आफ्ना छोराछोरीहरूलाई मुखले मात्र होइन तर आफ्नो उदाहरणले पनि सिकाउन हामी तनमनले प्रयत्न गर्नेछौं। हाम्रो प्रमुख चासोको विषय तिनीहरूलाई बाल्यकालदेखि नै ‘पवित्र लेखोटहरू सिकाउन मदत गर्नु हो, जसले गर्दा तिनीहरू मुक्‍तिको निम्ति बुद्धिमान हुन्छन्‌।’ (२ तिमोथी ३:१५) हामीले छोराछोरीलाई यहोवाको अनुशासन र शिक्षामा हुर्काउँदा तिनीहरूले आफ्नो भलो हुने परमेश्‍वरको प्रतिज्ञाबारे जान्‍ने बुझ्ने राम्रो मौका पाउनेछन्‌ र तिनीहरू ‘पृथ्वीमा दिर्घायु हुनेछन्‌’ भन्‍ने कुरालाई हामी कदापि बिर्सनेछैनौं।—एफिसी ६:१-४.

चौथो: चिन्ता अथवा गम्भीर समस्याहरू आइपर्दा सबैभन्दा पहिला हामी, ‘सारा समझलाई माथ गर्ने परमेश्‍वरको शान्तिले’ हामीलाई रक्षा गर्नेछ भन्‍ने आश्‍वासनका साथै ‘परमेश्‍वरलाई अन्तरबिन्तीमा आफ्ना मागहरू जाहेर गर्छौं।’ (फिलिप्पी ४:६, ७) ख्रीष्टको जुवा बोकेर हामी स्फूर्ति पाउँनेछौं। परमेश्‍वरले हाम्रो फिक्री गर्नुहुन्छ भन्‍ने कुरा बुझेका हुनाले हामी आफ्ना फिक्रीहरू उहाँसामु राख्न हिचकिचाउने छैनौं।—मत्ती ११:२८-३०; १ पत्रुस ५:६, ७.

पाँचौ: उहाँको वचनको शिक्षक हुने सम्मान पाएकोमा यहोवाप्रति आफ्नो कृतज्ञता व्यक्‍त गर्न हामी ‘उहाँको वचनलाई ठीकसँग प्रयोग गर्न’ अनि ‘पूर्णरूपले सेवाको काम पूरा गर्न’ नवीन जोसका साथ प्रयास गर्नेछौं। (२ तिमोथी २:१५; ४:५) यसो गर्नुमा कुन-कुन कुरा विथोलित छन्‌ भनी हामीले राम्ररी जानेको हुँदा योग्य जनहरूलाई खोज्ने अनि छरेको बीउलाई बढाउने हाम्रो साँचो इच्छा छ। त्यसको अतिरिक्‍त, धेरैभन्दा धेरै प्रभावकारी बाइबल अध्ययन सञ्चालन गरेर हामी आफ्नो शिक्षामा अझ उन्‍नति गर्नेछौं। यसो गर्दा हामी ‘सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌’ भन्‍ने परमेश्‍वरको इच्छाअनुरूप चलिरहेका हुन्छौं।१ तिमोथी २:३, ४.

छैठौं: गत शताब्दीको दौडान अनि यस शताब्दीमा यहोवाका साक्षीहरूले धेरै मुलुकहरूमा विभिन्‍न प्रकारका विरोध तथा सतावटहरू भोग्नुपरेको छ। तर यहोवाले हाम्रो साथ दिन कहिल्यै छोड्‌नुभएन। (रोमी ८:३१) हाम्रो राज्य प्रचार तथा शिक्षण कार्यलाई बाधा दिन, सुस्त बनाउन वा रोक्न हामी ‘विरुद्धमा बनाएका जुनसुकै हतियार’ पनि सफल हुन सक्नेछैनन्‌ भनी उहाँको अचूक वचनले आश्‍वासन दिन्छ। (यशैया ५४:१७) परिस्थिति अनुकूल होस्‌ या नहोस्‌, हामी सत्यबारे नबोली बस्न सक्दैनौं। कुनै ढिलासुस्ती नगरी प्रचार अनि सिकाउने कार्य पूरा गर्नु नै हाम्रो अठोट हो। (२ तिमोथी ४:१, २) सम्भव भए सम्म सारा राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनु हाम्रो लक्ष्य हो। यस प्रकार तिनीहरूले नयाँ धार्मिक संसारमा अनन्त जीवन प्राप्त गर्ने प्रबन्धबारे सिक्ने मौका पाइरहनेछन्‌। परमेश्‍वरको वचनका एकताबद्ध समूहको रूपमा महान्‌ शिक्षक येशूको उदाहरणलाई पछ्याउनु अनि उहाँका ईश्‍वरीय गुणहरू झल्काउनु हाम्रो संकल्प हो। हाम्रो महान्‌ शिक्षक तथा जीवनदाता यहोवा परमेश्‍वरको सम्मान अनि प्रशंसाको खातिर हामी यी सबै गर्नेछौं।

“यस अधिवेशनमा उपस्थित ज-जसले यस प्रस्तावनाको पक्षमा सहमति जनाउन चाहन्छन्‌ कृपया हो! भन्‍नुहोस्‌।”

फ्रान्सको तीनवटा स्थानमा सम्पन्‍न अधिवेशनमा उपस्थित १,६०,००० अनि इटालीको नौवटा स्थानमा सम्पन्‍न अधिवेशनमा उपस्थित २,८९,००० जना सामु प्रस्तावनाको अन्तिम प्रश्‍न राख्दा सबैले ठूलो स्वरमा “हो” भनी आफ्नो सहमति जनाए।