सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले सबै राष्ट्रलाई स्वागत गर्नुहुन्छ

परमेश्‍वरले सबै राष्ट्रलाई स्वागत गर्नुहुन्छ

परमेश्‍वरले सबै राष्ट्रलाई स्वागत गर्नुहुन्छ

जोन पहिलो पटक माली जाँदा, मामाडु र तिनको परिवारले देखाएको न्यानो अतिथि सत्कारको कारण प्रभावित भएका थिए। भुइँमा बसेर अप्ठ्यारो मानि-मानि एउटै थालबाट खाना खाँदै गर्दा, सबैभन्दा बहुमूल्य उपहार अर्थात्‌ परमेश्‍वरको वचन बाइबलबाट राज्यको सुसमाचार कसरी यस घरमालिकलाई सुनाउने होला भनी जोन सोच्न थाले। मालीमा बोलिने फ्रेन्च भाषा जोनलाई थाह भए तापनि पूर्णतया भिन्दै धर्म र विचारधारा भएको यस परिवारसँग कसरी कुराकानी गर्न सकिन्छ होला भनेर उनी सोचमग्न थिए।

यतिखेर जोनले बाबेल शहरबारे बाइबल विवरण सम्झे। त्यस ठाउँमा परमेश्‍वरले विद्रोही मानिसहरूको भाषा खलबलाइ दिनुभएको थियो। (उत्पत्ति ११:१-९) फलस्वरूप, भिन्‍नै भाषा, धर्म र विचारधारा भएका मानिसहरू पृथ्वीका विभिन्‍न भागमा देखा पर्न थाले। यात्रा र बसाइँ सराई सामान्य हुन थालेपछि, आज धेरै मानिसहरूले आफ्नै छिमेकमा समेत जोनले भोगेको जस्तै समस्या भोग्छन्‌। त्यो हो: भिन्‍नै पृष्ठभूमि भएका मानिसहरूलाई बाइबल आधारित आशा कसरी बताउने?

एउटा प्राचीन उदाहरण

इस्राएलका अरू अगमवक्‍ताहरूले जस्तै योनाले पनि विशेषगरि इस्राएलीहरूसँग कुरा गरे। धर्मत्यागी दश गोत्रे राज्यले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कामहरू खुल्लमखुल्ला गरिरहेको समयमा तिनले भविष्यवाणी गरे। (२ राजा १४:२३-२५) आफ्नो मातृभूमि छोडेर, भिन्‍नै धर्म र संस्कृति भएका निनवेका बासिन्दाहरूलाई प्रचार गर्न अश्‍शूरमा जाने विशेष कार्यभार पाउँदा योनाको प्रतिक्रिया कस्तो भयो होला कल्पना गर्नुहोस्‌ त। सायद, योनाले निनवेवासीहरूको भाषा बोल्न जान्दैन थिए र जानेकै भए तापनि फर्रर बोल्न सक्दैन थिए होलान्‌। जे होस्‌, योनालाई यो काम आफूले गर्न सक्दिनँ जस्तो लाग्यो र तिनी भागे।—योना १:१-३.

स्पष्टतः यहोवा परमेश्‍वरले अनुहार हेर्नुभन्दा पनि हृदय जाँच्नु हुन्छ भन्‍ने कुरा योनाले सिक्नु परेको थियो। (१ शमूएल १६:७) योनालाई डुब्नबाट चमत्कारपूर्ण ढंगमा बचाउनु भएपछि, यहोवाले तिनलाई निनवेवासीहरूलाई प्रचार गर्ने आज्ञा फेरि दोस्रो पटक दिनुभयो। योनाले यो आज्ञा पालन गरे र फलस्वरूप निनवेवासी सबैले पश्‍चात्ताप गरे। अझै पनि योनाको सही दृष्टिकोण थिएन। एउटा प्रभावशाली उदाहरणद्वारा यहोवाले योनालाई तिनको मनोवृत्ति परिवर्तन गर्नुपर्ने आवश्‍यकताबारे सिकाउनुभयो। यहोवाले योनालाई सोध्नुभयो: “यति ठूलो शहर निनवे, जसमा एक लाख बीस हजारभन्दा बढ़ता मानिसहरू छन्‌, जसले दाहिने र देब्रे हातै चिन्‍नसक्‍तैनन्‌, . . . के मैले त्यसमाथि दया नगर्नु?” (योना ४:५-११) आज हामी नि? भिन्‍नै पृष्ठभूमि भएका मानिसहरूलाई हामी कसरी मदत गर्न सक्छौं?

सामरी तथा गैर-यहूदीहरूलाई स्वागत गर्ने

प्रथम शताब्दीमा, येशूले आफ्ना अनुयायीहरूलाई सबै जातिहरूलाई चेला बनाउने आज्ञा दिनुभयो। (मत्ती २८:१९) यो काम उनीहरूको लागि सजिलो थिएन। येशूका चेलाहरू यहूदीहरू थिए र योनाजस्तै उनीहरूलाई पनि आफ्नै जस्तो पृष्ठभूमि र संस्कृति भएका मानिसहरूसँग मात्र कुरा गर्न सजिलो लाग्थ्यो। त्यतिखेर व्याप्त पूर्वाग्रहले पक्कै पनि उनीहरूलाई असर गरेको हुन सक्छ। तथापि, मानिसजातिका लागि आफ्नो उदेश्‍य सेवकहरूले क्रमिक रूपमा बुझ्न सकून्‌ भनेर यहोवा आफैले निर्देशन दिनुभयो।

पहिलो कदम यहूदी र सामरीहरू बीचको पूर्वाग्रह हटाउनु थियो। यहूदीहरू सामरीहरूसँग हेलमेल नै गर्दैनथे। तैपनि, भविष्यमा सामरीहरूले सुसमाचार स्वीकार्नको लागि येशूले एक चोटि मात्र होइन तर थुप्रै अवसरहरूमा बाटो तयार पार्नुभयो। एक जना सामरी आइमाईसँग कुरा गरेर उहाँले निष्पक्षता देखाउनुभयो। (यूहन्‍ना ४:७-२६) अर्को अवसरमा पनि एक जना धर्मपरायण यहूदीलाई मित्रैलो सामरीको उदाहरण चलाएर एक जना यहूदीले अर्को यहूदीलाई प्रेम गरेन बरु सामरीले यहूदीप्रति प्रेम देखायो भन्‍ने कुरा देखाउनुभयो। (लूका १०:२५-३७) सामरीहरूलाई पनि मसीही मण्डली भित्र ल्याउने यहोवाको समय आएपछि, यहूदी मूलका फिलिप, पत्रुस र यूहन्‍ना सबैले सामरियाका बासिन्दाहरूलाई प्रचार गरे। तिनीहरूको सन्देशले गर्दा त्यस शहरमा निकै आनन्द भयो।—प्रेरित ८:४-८, १४-१७.

आफ्नो अलिक टाढाको नातेदार सामरीहरूलाई प्रेम देखाउन त यहूदीहरूलाई गाह्रो हुन्थ्यो भने यहूदीहरूले तिरस्कार तथा घृणा गर्ने गैर-यहूदी अथवा अन्य जातिहरूलाई प्रेम देखाउन उनीहरूलाई झनै गाह्रो भएको हुनुपर्छ। तथापि, येशूको मृत्युपछि, यहूदी मसीहीहरू र अन्य जातिहरू बीचको सो पर्खाललाई हटाउन सकिन्थ्यो। (एफिसी २:१३, १४) पत्रुसलाई यो नयाँ प्रबन्ध स्वीकार्न लगाउनको लागि, यहोवाले उनलाई एउटा दर्शन देखाउनुभयो र उहाँले उनलाई “परमेश्‍वरले जे जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अशुद्ध नतुल्याऊ” भनेर भन्‍नुभयो। परमेश्‍वरको आत्माले उनलाई कर्नीलियस नाउँ भएका अन्य जातिकहाँ डोऱ्‍याउनु भयो। परमेश्‍वरले शुद्ध पार्नु भएकोले यस मानिसलाई अशुद्ध भन्‍नु हुँदैन भन्‍ने कुरा बुझेपछि, प्रेरणा पाएका पत्रुसले यसो भने: “साँच्चिनै म देख्तछु, कि परमेश्‍वरले मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:९-३५) पवित्र आत्मा खन्याएर परमेश्‍वरले कर्नीलियस र तिनको परिवारलाई स्वीकारेको कुरा प्रदर्शित गर्नु हुँदा पत्रुस कत्ति छक्क परे होलान्‌!

पावल—अन्य जातिहरूका लागि छानिएका पात्र

सबै प्रकारका मानिसहरूलाई प्रेम गर्न र मदत दिन आफ्ना सेवकहरूलाई यहोवाले कसरी क्रमिक रूपमा तयार पार्नु हुन्छ भन्‍ने सन्दर्भमा पावलको सेवकाई उल्लेखनीय उदाहरण हो। पावलले धर्म परिवर्तन गर्ने बेलामा, येशूको नाउँ चलाउनलाई पावल एक छानिएका पात्र हुनेछन्‌ भनी उहाँले भन्‍नुभयो। (प्रेरित ९:१५) परमेश्‍वरले आफूलाई जाति-जातिलाई सुसमाचार सुनाउनको लागि प्रयोग गर्नुको उद्देश्‍यबारे मनन गर्न, पावल त्यसपछि अरब देशमा गए।—गलाती १:१५-१७.

आफ्नो पहिलो मिसनरी यात्राको दौडान, गैर-यहूदीहरूलाई प्रचार गर्न पावलले जोस देखाए। (प्रेरित १३:४६-४८) यहोवाले पावलको क्रियाकलापलाई आशिष्‌ दिनुभएको कुराबाट यो देखिन्छ कि तिनले सबै काम परमेश्‍वरको प्रबन्धअनुसारै गरिरहेका थिए। निडर भई पत्रुसलाई सच्याउँदा पावलले यहोवाको दृष्टिकोण राम्ररी बुझेका छन्‌ भनी देखाए किनभने पत्रुसले आफ्ना गैर-यहूदी भाइहरूसँग संगत नगरेर पक्षपात गरिरहेका थिए।—गलाती २:११-१४.

परमेश्‍वरले पावलको प्रयत्नलाई साथ दिंदै हुनुहुन्छा भन्‍ने कुराको अर्को प्रमाण तिनको दोस्रो मिसनरी यात्राको दौडान पवित्र आत्माले पावललाई रोमको बिथनिया प्रान्तमा प्रचार गर्नबाट रोक्नु थियो। (प्रेरित १६:७) यो उपयुक्‍त समय थिएन होला। तथापि, पछि केही बिथनियावासीहरू मसीही भए। (१ पत्रुस १:१) पावलले देखेको दर्शनमा म्यासिडोनियाको एक जना मानिसले यसो भनिरहेका थिए: “म्यासिडोनियामा आएर हामीलाई मदत गर्नुहोस्‌” र त्यसपछि पावलले आफ्नो मार्ग परिवर्तन गरेर रोमको त्यो प्रान्तमा सुसमाचार प्रचार गर्न जाने फैसला गरे।—प्रेरित १६:९, १०.

पावलसित परिस्थितिअनुसार छाँटकाँट गर्ने क्षमता कत्तिको रहेछ भन्‍ने कुरा एथेन्सवासीहरूलाई प्रचार गर्दा प्रस्ट भयो। ग्रीक र रोमी कानुनले विदेशी देवता वा नयाँ धार्मिक प्रथाबारे कुरा गर्न निषेध गरेको थियो। मानिसहरूप्रति पावलको प्रेमले तिनलाई उनीहरूको धार्मिक प्रचलनबारे सोचविचार गर्न प्रोत्साहित गऱ्‍यो। एथेन्समा तिनले एउटा वेदीमा “नजानिएका देवताका निम्ति” भनी खोपिएको देखे। तिनले यही कुरालाई आफ्नो साक्षी कार्यमा चलाए। (प्रेरित १७:२२, २३) आफ्नो सन्देश दयालु र आदरयोग्य ढंगमा प्रस्तुत गर्ने कति उत्तम तरिका!

प्रेरितको हैसियतमा जाति-जातिहरूको लागि आफूले गरेको कामको नतिजालाई हेर्दा पावल कत्ति आनन्दित भएको हुनुपर्छ! तिनले कोरिन्थ, फिलिप्पी, थिस्सलोनिका र गलातीका शहरहरूमा कयौं गैर-यहूदी मूलका मसीहीहरू मिलेर बनेका मण्डलीहरू स्थापना गर्न मदत गरे। तिनले डामारिस, डियनुसियस, सर्गियस पौलस र तितस जस्ता विश्‍वासका मानिसहरूलाई मदत गरे। न यहोवा न त बाइबललाई नै चिन्‍ने मानिसहरूले मसीही धर्म स्वीकारेको देख्न पाउनु कस्तो ठूलो सुअवसर! सत्यको ज्ञानमा आउन गैर-यहूदीहरूलाई आफूले गरेको मदतको भूमिकाबारे पावलले लेखे: “. . . ख्रीष्टको नाउँ नलिएको ठाउँमा सुसमाचार प्रचार गर्नालाई, मैले मेरो लक्ष्य गरेको छु, तर जसो लेखिएको छ, ‘जसलाई उहाँका समाचार आएनन्‌, तिनीहरूले देख्नछन्‌, जसले सुनेका छैनन्‌, तिनीहरूले बुझ्नेछन्‌।’ ” (रोमी १५:२०, २१) हाम्रो संस्कृतिभन्दा बेग्लै संस्कृतिका मानिसहरूलाई सुसमाचार सुनाउने काममा के हामी भाग लिन सक्छौं?

पृथ्वीका सबै मानिसहरूलाई मदत गर्ने

यरूशलेमको मन्दिरमा उपासना गर्न आउने गैर-इस्राएलीहरूबारे सुलेमानले यहोवालाई प्रार्थना गरे। तिनले यस्तो बिन्ति गरे: “तपाईंको बासस्थान स्वर्गमा त्यो प्रार्थना सुनेर त्यस विदेशीले गरेको पुकाराको प्रत्युत्तर दिनुहोस्‌। यसरी तपाईंको प्रजा इस्राएलझैं पृथ्वीका सबै मानिसहरूले तपाईंको ख्यातिलाई जानून्‌।” (१ राजा ८:४१-४३) थुप्रै राष्ट्रका हजारौं राज्य उद्‌घोषकहरूले पनि आज यस्तै भावना व्यक्‍त गरिरहेका छन्‌। तिनीहरूले आध्यात्मिक तवरमा ‘दाहिने र देब्रे हात चिन्‍न नसक्ने’ निनवेवासीजस्तै मानिसहरूलाई भेट्‌छन्‌। विभिन्‍न जातिका मानिसहरू साँचो उपासनाको लागि जम्मा गर्ने सन्दर्भमा गरिएका भविष्यवाणीहरूको पूर्तिमा भाग लिन राज्य प्रचारकहरू उत्सुक छन्‌।—यशैया २:२, ३; मीका ४:१- ३.

मसीहीजगत्‌का मानिसहरूलगायत बेग्लै धार्मिक पृष्ठभूमि भएका मानिसहरूले समेत आशाको बाइबल सन्देश स्वीकारेका छन्‌। यसले तपाईंलाई व्यक्‍तिगत तवरमा कस्तो असर पार्नुपर्छ? इमानदार भएर आफैलाई जाँच्नुहोस्‌। तपाईंमा पूर्वाग्रहले जरा गाडेर बसेको जस्तो लाग्छ भने, यसलाई प्रेमले हटाउनुहोस्‌। a परमेश्‍वरले स्वीकार्न चाहनुहुने मानिसहरूलाई तपाईं घृणा नगर्नुहोस्‌।—यूहन्‍ना ३:१६.

बेग्लै पृष्ठभूमि भएका मानिसहरूसँग कुरा गर्नुभन्दा पहिले सोचविचार गर्नुहोस्‌। तिनीहरूको विश्‍वास, चासोका विषयहरू र सोचाइबारे थाहा पाउनुहोस्‌ अनि त्यसपछि सहमतिका बुँदाहरू खोज्नुहोस्‌। अरूप्रति भलाइ र दया प्रदर्शित गर्नुहोस्‌। वाद-विवाद गर्नबाट जोगिनुहोस्‌, लचकदार र सकारात्मक हुनुहोस्‌। (लूका ९:५२-५६) यसो गर्दा तपाईंले यहोवालाई खुसी तुल्याउनुहुनेछ, ‘जो सबै मानिसहरूले उद्धार पाऊन्‌ र तिनीहरू सत्यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्छा गर्नुहुन्छ।’—१ तिमोथी २:४.

विभिन्‍न पृष्ठभूमिका मानिसहरू हाम्रो मण्डलीहरूमा भएको हुँदा हामी कत्ति खुसी छौं! (यशैया ५६:६, ७) माया, जीवन, सन्तोष र अमर जस्ता नाउँहरू मात्र होइन तर मामाडु, जेगन, रेजा र चान जस्ता नाउँहरू पनि सुन्‍न पाउँदा हाम्रो हृदय कत्ति प्रफुल्लित हुन्छ! साँच्चै, हाम्रो निम्ति “एउटा ठूलो र अभिप्राय पूरा गर्ने ढोका खुला भएको छ।” (१ कोरिन्थी १६:९) सबै राष्ट्रलाई स्वागत गर्न निष्पक्ष परमेश्‍वर यहोवाले हाम्रो आगाडि राखिदिनुभएको सुअवसरको पूरा लाभ उठाऔं!

[फुटनोट]

a अवेक!, जुलाई ८, १९९६, पृष्ठ ५-७, “सञ्चारका बाधकहरू” भन्‍ने लेख हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएका चित्रहरू]

परिस्थितिअनुसार छाँटकाँट गर्दै, पावलले मानिसहरूलाई सबै ठाउँमा सुसमाचार सुनाए

. . . एथेन्समा

. . . फिलिप्पीमा

. . . यात्राको दौडान