सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“म परमेश्‍वरको सेवा गर्न चाहन्थें”

“म परमेश्‍वरको सेवा गर्न चाहन्थें”

राज्य उद्‌घोषकहरूको रिपोर्ट

“म परमेश्‍वरको सेवा गर्न चाहन्थें”

“हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ।” सा.यु. प्रथम शताब्दीमा प्रेरित यूहन्‍नाले स्वर्गदूतबाट यस्तो आह्वान सुनेका थिए। आज हाम्रो समयमा पनि नम्र हृदय भएका लाखौं मानिसहरूले यस आह्वानलाई सुनेर झूटो धर्मको विश्‍व साम्राज्य, “महान्‌ बेबिलोन[बाट]” भागेका छन्‌। (प्रकाश १८:१-४) तिनीहरूमध्ये हाइटीका भिल्नार पनि हुन्‌। तिनी आफ्नो अनुभव यसरी बताउँछन्‌।

“मेरो जन्म सन्‌ १९५६ मा हाइटीको एउटा सानो शहर सेन्ट मार्कमा एउटा भक्‍त क्याथोलिक परिवारमा भएको थियो।” हाम्रो शहरको मलगायत अरू दुई जना हाइटीकै सेन्ट मिशेल डे लाटालाय धर्मपीठमा उपस्थित हुन छानिंदा, मेरो परिवार खुसीले कत्ति गद्‌गद भए होलान्‌, कल्पना गर्नुहोस्‌ त। त्यसपछि, सन्‌ १९८० मा थप प्रशिक्षणका लागि हामीलाई बेल्जियमको स्टाभ्लो पठाइयो। त्यहाँ पनि हामीले एउटा क्याथोलिक विश्‍व विद्यालयमा पढ्यौं।

“सुरु-सुरुमा त म पूजाहारी बन्‍न एकदमै उत्सुक थिएँ। तर एक दिन खाना खाने कोठामा भएको बेला हाम्रो समूहको रेखदेख गर्ने पूजाहारीले मसँग केही कुरा गर्नुपर्ने भएकोले मलाई केही मिनेट बस्न लगाए। ऊ मसँग यौन सम्बन्ध राख्न आकर्षित भएको कुरा उसले विना हिचकिचाहट बताउँदा मलाई कस्तो आघात पुग्यो होला, कल्पना गर्नुहोस्‌ त! मैले उसको प्रस्तावलाई अस्वीकार गरे तापनि म एकदमै विचलित भएँ। यस घटनाबारे मैले मेरो परिवारलाई चिठी लेखें र मेरो परिवारको असहमति हुँदाहुँदै पनि केही महिनापछि नै मैले धर्मपीठ छोडिदिएँ। एउटा गाउँमा बसेर मैले अर्कै पेसाबारे अध्ययन गर्न थालें।

“सेन्ट मार्क फर्कंदा क्याथोलिक चर्चप्रतिको मेरो विश्‍वास सेलाइसकेको थियो। तथापि, अझै पनि म परमेश्‍वरको सेवा गर्न चाहन्थें, तर के गर्ने, कसो गर्ने भनेर म अलमल्लमा परेको थिएँ। म एड्‌भेन्टिस्ट चर्च, आबानाजेर चर्च र मोर्मोन चर्च गएँ। आध्यात्मिक तवरमा म उद्देश्‍यविहीन थिएँ।

“बेल्जियमको धर्मपीठमा जाँदा मैले क्राम्पोन बाइबल पढ्‌ने गरेको याद आयो। यसमा मैले परमेश्‍वरको नाउँ भेट्टाएको थिएँ। त्यसैकारण, साँचो धर्म भेट्टाउन मलाई मदत गर्नुहोस्‌ भनी उहाँको नाउँ प्रयोग गर्दै मैले परमेश्‍वरलाई व्यग्र प्रार्थना गरें।

“त्यसको केही समयपछि नै दुई जना यहोवाका साक्षीहरू मेरो छिमेकमा बस्न आए। तिनीहरू शान्त, अरूको आदर गर्ने र मर्यादित थिए। तिनीहरूको जीवन पद्धति देखेर म निकै प्रभावित भएँ। एक दिनको कुरा हो, तिनीहरूमध्ये एक जनाले मलाई ख्रीष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुन निमन्त्रणा दिइन्‌। मैले उक्‍त सभाबाट प्रचुर मात्रामा लाभ उठाएँ र साक्षीहरूसँग नियमित तवरमा गृह बाइबल अध्ययन गर्न राजी भएँ। लगभग छ महिनापछि नै परमेश्‍वरलाई सेवा गर्ने सही मार्ग भेट्‌टाएँ भनेर म निश्‍चित भएँ। मैले आफ्नो जीवन यहोवामा समर्पण गरें र नोभेम्बर २०, १९८८ मा बप्तिस्मा लिएँ।”

पछि, भिल्नारले पूर्ण-समय सेवा गरे। अहिले उनी मण्डलीको प्राचीनको रूपमा सेवा गर्दैछन्‌। उनी र उनकी पत्नीलगायत दुई जना छोराछोरी आनन्दपूर्वक मण्डलीमा सेवा गर्दैछन्‌।

[पृष्ठ ९-मा भएको चित्र]

बाइबल पढेर भिल्नारले परमेश्‍वरको नाउँ यहोवा हो भनी थाह पाए