सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सिक्नलाई उमेरले छेक्दैन

सिक्नलाई उमेरले छेक्दैन

सिक्नलाई उमेरले छेक्दैन

केसन्या सन्‌ १८९७ मा जन्मेकी थिइन्‌। तिनको ३ जना छोरी, एक जना छोरो, १५ जना नातिनातिनी र २५ जना पनाति-पनातिनीहरू थिए। तिनले जीवनभर नै आफ्ना आमाबुबाले जे सिकाएका थिए, त्यही गरिन्‌। तिनी कृष्णसागर र ककेसस्‌बीचमा पर्ने युद्धग्रस्त अबकास गणतन्त्रबाट शरणार्थीको रूपमा मस्को आएकी भए तापनि आफ्नो जीवन र विशेष गरी पुर्ख्यौली विश्‍वाससँग सन्तुष्ट थिइन्‌।

केसन्याकी छोरी मेरी सन्‌ १९९३ मा यहोवाको साक्षी भइन्‌। मेरीले केसन्यासित यहोवा परमेश्‍वर र बाइबलबारे कुरा गर्न थालिन्‌ तर तिनले सुन्‍न मन गरिनन्‌। केसन्याले आफ्नी छोरीलाई यसो भन्‍ने गर्थिन्‌, “यस्ता नयाँ कुराहरू सिक्न अब म बूढी भइसकें।”

तैपनि, यहोवाका साक्षीहरू भइसकेका तिनकी छोरी मेरी, नातिनी-बुहारी लोन्डा र पनातिनीहरू नाना अनि जाजाले तिनीसँग बाइबलबारे कुरा गर्न बन्द गरेनन्‌। सन्‌ १९९९ को एक साँझ तिनीहरूले केसन्याको निम्ति पढेका एउटा शास्त्रपदले तिनको हृदय छोयो। यसमा येशूले आफू मर्नुभन्दा अघि प्रभुको साँझको भोज स्थापना गर्नुहुँदा आफ्ना विश्‍वासी प्रेरितहरूलाई भन्‍नुभएका कुराहरू थिए। (लूका २२:१९, २०) त्यही साँझ, १०२ वर्षको उमेरमा केसन्याले बाइबल अध्ययन सुरु गर्ने निर्णय गरिन्‌।

केसन्या यसो भन्छिन्‌, “१०२ वर्ष बाँचेपछि मात्र मैले बल्ल जीवनको अर्थ बुझ्न सकें। हाम्रो अद्‌भुत र मयालु परमेश्‍वर, यहोवाको सेवा गर्नुभन्दा असल कुरा अरू केही छैन भनेर मैले अहिले आएर महसुस गरेकी छु। म अझै चनाखो र स्वस्थ छु। म चश्‍मा नलगाईकन पढ्‌न र आफ्नो परिवारसित सरसंगत गर्न सक्छु।”

नोभेम्बर ५, २००० मा केसन्याले बप्तिस्मा लिइन्‌। तिनी यसो भन्छिन्‌: “प्रेमले उत्प्रेरित भई यहोवाको सेवा गर्न अब म आफ्नो जीवन उहाँलाई अर्पण गर्छु। मेरो घर नजिकैको बस बिसौनीमा बसेर म पत्रिका र पर्चाहरू प्रस्तुतत गर्छु। प्रायजसो नातेदारहरू मलाई भेट्‌न आइरहन्छन्‌ र म तिनीहरूलाई खुसीसाथ यहोवाबारे सच्चाइ बताउँछु।”

केसन्या ‘आफ्नो युवावस्थामा भन्दा पनि झनै बलियो हुने र आफ्नो मस्त जवानीको बेलामा जस्तै हुने’ दिनको प्रतीक्षामा छिन्‌। (अय्यूब ३३:२५) सय वर्ष नाघिसकेकी वृद्धाले त बाइबलबाट जीवनको अर्थ सिक्न आफू बूढी भइसकेको महसुस गर्दिनन्‌ भने, तपाईं नि?