सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्थिर हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

स्थिर हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

स्थिर हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

“मेरो हृदय स्थिर छ, हे परमेश्‍वर, मेरो हृदय स्थिर छ।”—भजन ५७:७, नयाँ संशोधित संस्करण।

१. हामी किन दाऊदको जस्तो संकल्प राख्न सक्छौं?

 उहाँका समर्पित सेवकहरूको हैसियतमा हामीले साँचो मसीही धर्म पक्रिराख्न सकोस्‌ भनेर यहोवाले हामीलाई मसीही विश्‍वासमा स्थिर बनाउन सक्नुहुन्छ। (रोमी १४:४) तसर्थ, हामी पनि भजनहार दाऊदको जस्तै संकल्प राख्न सक्छौं, जसले यस्तो भजन गाएका थिए: “मेरो मन स्थिर छ, हे मेरा परमेश्‍वर।” (भजन १०८:१) हाम्रो हृदय स्थिर छ भने, हामी परमेश्‍वरप्रति आफ्नो समर्पण पूरा गर्न उत्प्रेरित हुनेछौं। अनि डोऱ्‍याइ र बलको लागि उहाँमा भर परेर “प्रभुको काममा प्रशस्त हुँदै” जाने निष्ठावान्‌ व्यक्‍तिहरूको हैसियतमा संकल्प तथा विश्‍वासमा अटल अनि स्थिर हुन सक्छौं।—१ कोरिन्थी १५:५८.

२, ३. पावलले १ कोरिन्थी १६:१३, मा दिएको सल्लाहको आशय के हो?

प्रेरित पावलको निम्न सल्लाह पुरातन कोरिन्थमा बस्ने येशूका चेलाहरूलाई दिइएको भए तापनि वर्तमान समयका मसीहीहरूका लागि पनि यो त्यत्तिकै लागू हुन्छ: “होशियार बस, विश्‍वासमा दृढ भइबस, पुरुषार्थी होओ, बलिया होओ।” (१ कोरिन्थी १६:१३) युनानी भाषामा यी प्रत्येक आज्ञाहरूलाई वर्तमान कालमा लेखिएको कारण यसले निरन्तर गरिरहनुपर्ने कामलाई बुझाउँछ। यस सल्लाहको आशय के हो?

दियाबलको विरोध गर्दै परमेश्‍वरको नजिक भयौं भने हामी “होशियार” रहन सक्छौं। (याकूब ४:७, ८) यहोवामा भरोसा राख्दा हामी एकताबद्ध रहन तथा ‘मसीही विश्‍वासमा दृढ रहन’ मदत पाउँछौं। थुप्रै मसीही स्त्रीहरूलगायत हामी पनि परमेश्‍वरको राज्यका साहसी उद्‌घोषकहरूको हैसियतमा यहोवाको सेवा गरेर “पुरुषार्थी” देखाउँछौं। (भजन ६८:११) अनि स्वर्गमा हुनुहुने पिताको इच्छा पूरा गर्न बलको लागि सधैं उहाँमा भर परेर “बलिया” हुन्छौं।—फिलिप्पी ४:१३.

४. हामीले मसीहीको हैसियतमा कसरी बप्तिस्मा लिन सक्यौं?

पानीको बप्तिस्माद्वारा यहोवाप्रति आफ्नो पूर्ण समर्पण प्रकट गरेर हामीले साँचो विश्‍वासलाई स्वीकारेको प्रमाण दियौं। तर हामीले कसरी बप्तिस्मा लिन सक्यौं? सर्वप्रथम, हामीले परमेश्‍वरको वचनको सही ज्ञान लियौं। (यूहन्‍ना १७:३) यसले हाम्रो विश्‍वास बढायो अनि विगतमा गरेका पापहरूका लागि पश्‍चात्ताप गर्दै साँचो खेद प्रकट गर्न उत्प्रेरित भयौं। (प्रेरित ३:१९; हिब्रू ११:६) त्यसपछि हामीले परिवर्तन गऱ्‍यौं, परमेश्‍वरको इच्छाअनुसारको जीवन बिताउन गलत मार्गलाई त्याग्यौं। (रोमी १२:२; एफिसी ४:२३, २४) यसपछि, आफ्नो पूरा तनमनले प्रार्थनामा यहोवालाई आफ्नो समर्पण जाहेर गऱ्‍यौं। (मत्ती १६:२४; १ पत्रुस २:२१) हामीले सफा अन्तस्करणको लागि परमेश्‍वरसित बिन्ती गऱ्‍यौं अनि उहाँप्रति हाम्रो समर्पणलाई बप्तिस्माद्वारा प्रकट गऱ्‍यौं। (१ पत्रुस ३:२१) यी कदमहरूलाई मनमा राख्दा आफ्नो समर्पणअनुसार जीवन बिताउनुपर्ने र स्थिर हृदयले यहोवाको सेवा गरिरहनुपर्ने महत्त्वमा ध्यान केन्द्रित गर्न मदत गर्नेछ।

सही ज्ञानको खोजी गरिरहनुहोस्‌

५. हामीले किन धर्मशास्त्रीय ज्ञान लगातार लिइरहनुपर्छ?

परमेश्‍वरप्रतिको समर्पणअनुरूप जीवन बिताउन हामीले विश्‍वास बलियो बनाउने धर्मशास्त्रीय ज्ञान लिइरहनै पर्छ। परमेश्‍वरको सत्यबारे भर्खर-भर्खर थाह पाउँदा हामीले कत्ति रमाउँदै आध्यात्मिक भोजन लिएका थियौं! (मत्ती २४:४५-४७) ती “भोजन” स्वादिष्ट हुनुका साथै त्यसले हामीलाई आध्यात्मिक पोषण दियो। अब भने हामीले यहोवाका समर्पित सेवकहरूको हैसियतमा स्थिर हृदय कायम राख्न पोषिलो आध्यात्मिक भोजन लगातार लिइरहनुपर्छ।

६. बाइबल सत्यप्रति हार्दिक मूल्यांकन विकास गर्न तपाईंले कसरी मदत पाउनुभयो?

धर्मशास्त्रको थप ज्ञान प्राप्त गर्न प्रयास गर्नुपर्छ। यो गाडधन खोज्नुझैं हो अर्थात्‌ यसको लागि मेहनत गर्नुपर्छ। तर “परमेश्‍वरको ज्ञान” प्राप्त गर्नु एकदमै इनामदायी हुन्छ! (हितोपदेश २:१-६) एक जना प्रकाशकले तपाईंसित बाइबल अध्ययन गर्नुहुँदा, सायद तपाईंले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ भन्‍ने पुस्तक पढ्‌नुभएको थियो होला। एउटा अध्ययन पूरा गर्न निकै समय लागेको र एउटा अध्याय एकै चोटिमा पूरा गर्न नभ्याएको हुन सक्छ। त्यहाँ उल्लिखित शास्त्रपदहरू पढेर छलफल गर्दा तपाईंले लाभ उठाउनुभयो। कुनै बुँदा बुझ्न गाह्रो हुँदा तपाईंलाई राम्ररी बुझाइयो। तपाईंसित बाइबल अध्ययन गर्नुहुने व्यक्‍तिले राम्ररी तयारी गर्नुभयो, परमेश्‍वरको आत्माको लागि प्रार्थना गर्नुभयो अनि सत्यप्रति हार्दिक कृतज्ञता विकास गर्न तपाईंलाई मदत गर्नुभयो।

७. अरूलाई परमेश्‍वरको वचन सिकाउन कसरी योग्य हुन सकिन्छ?

यस्तो प्रयास उचित थियो किनभने पावलले यस प्रकार लेखे: “वचन सिक्नेचाहिं सिकाउनेको सबै असल काममा सह-भागी होस्‌।” (गलाती ६:६) यहाँ प्रयोग गरिएको युनानी पदले परमेश्‍वरको वचन “सिक्ने” व्यक्‍तिको मन अनि हृदयमा गाडिने गरी मौखिक तवरमा सिकाइयो भनिएको छ। तपाईंले त्यस तरिकामा प्रशिक्षण पाउनुभएको हुँदा तपाईं अझ अरू थुप्रैलाई सिकाउन योग्य हुनुहुनेछ। (प्रेरित १८:२५) आफ्नो समर्पणअनुरूप गर्न तपाईंले परमेश्‍वरको वचन नियमित तवरमा अध्ययन गरेर आध्यात्मिक स्वास्थ्य तथा दृढ संकल्प कायम राख्नुपर्छ।—१ तिमोथी ४:१३; तीतस १:१३; २:२.

आफूले गरेको पश्‍चात्ताप र परिवर्तन सम्झनुहोस्‌

८. धार्मिक आचरण कसरी कायम गर्न सकिन्छ?

तपाईंले सच्चाइ सिक्नुभयो, पश्‍चात्ताप गर्नुभयो अनि येशूको छुडौतीको बलिदानमा विश्‍वासको आधारमा परमेश्‍वरको क्षमा प्राप्त गर्नुहुँदा कस्तो ढुक्क महसुस गर्नुभयो, के तपाईं सम्झन सक्नुहुन्छ? (भजन ३२:१-५; रोमी ५:८; १ पत्रुस ३:१८) तपाईं पक्कै पनि आफ्नो पापी जीवनशैलीमा फर्कन चाहनुहुन्‍न। (२ पत्रुस २:२०-२२) अरू थुप्रै कुराको साथसाथै यहोवालाई नियमित तवरमा प्रार्थना गरेर तपाईं धार्मिक आचरण कायम गर्न सक्नुहुन्छ, आफ्नो समर्पणअनुसार जीवन बिताउन सक्नुहुन्छ अनि विश्‍वासी भई यहोवालाई सेवा गरिरहन सक्नुहुन्छ।—२ पत्रुस ३:११, १२.

९. पापी मार्ग त्यागिसकेपछि हामीले कस्तो मार्ग पछ्याउनुपर्छ?

पापी मार्ग त्यागेर परिवर्तन भइसकेपछि आफ्नो हृदयलाई स्थिर राख्न परमेश्‍वरको मदत मागिरहनुहोस्‌। साँच्चै भन्‍ने हो भने, तपाईं गलत राजमार्गमा यात्रा गर्दै हुनुहुन्थ्यो तर एउटा भरपर्दो नक्सा हेर्नुभएपछि सही बाटोतिर लाग्नुभयो। अब फेरि बाटो नबिराउनुहोस्‌। परमेश्‍वरको डोऱ्‍याइमा भर पर्न नछोड्‌नुहोस्‌ र जीवनको बाटोमा हिंडिरहन कटिबद्ध हुनुहोस्‌।—यशैया ३०:२०, २१; मत्ती ७:१३, १४.

आफ्नो समर्पण र बप्तिस्मा कहिल्यै नबिर्सनुहोस्‌

१०. परमेश्‍वरप्रतिको हाम्रो समर्पणबारे हामीले कुन कुराहरू मनमा राख्नुपर्छ?

१० नबिर्सनुहोस्‌, तपाईंले यहोवालाई प्रार्थनामा समर्पण गर्नुहुँदा अनन्तसम्म विश्‍वासी भई उहाँको सेवा गर्ने निधो गर्नुभएको थियो। (यहूदा २०, २१) समर्पण भन्‍नाले कुनै पवित्र कामको लागि अलग्याउनु वा छुट्याउनु हो। (लेवी १५:३१; २२:२) तपाईंको समर्पण अस्थायी सम्झौता वा मानिसहरूलाई गर्नुभएको वाचा थिएन। यो ब्रह्‍माण्डका सार्वभौमसत्ताधारीलाई गर्नुभएको स्थायी समर्पण थियो र त्यसैअनुसार जीवन बिताउन जीवनभर वफादार हुनुपर्छ। हो, ‘चाहे हामी बाँचौं, चाहे मरौं, हामी यहोवाकै हौं।’ (रोमी १४:७, ८) उहाँको इच्छाअनुसार हिंड्‌नु र स्थिर मन लिएर उहाँको सेवा गरिरहनुमा हाम्रो आनन्द निर्भर छ।

११. तपाईंले किन आफ्नो बप्तिस्मा र त्यसको महत्त्वलाई बिर्सनुहुँदैन?

११ परमेश्‍वरप्रति पूरा तनमनले गरेको समर्पण प्रकट गर्ने तपाईंको बप्तिस्मालाई कहिल्यै नबिर्सनुहोस्‌। कसैले जबरजस्ती तपाईंलाई बप्तिस्मा लिन लगाएको थिएन किनभने यो तपाईं आफैले गर्नुभएको निर्णय थियो। के तपाईं अब आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्छाअनुसार बिताउन कटिबद्ध हुनुहुनेछ? सफा अन्तस्करण राख्न तपाईंले परमेश्‍वरलाई बिन्ती गर्नुभयो र आफ्नो समर्पणलाई प्रकट गर्न बप्तिस्मा लिनुभयो। आफ्नो समर्पणअनुसार जीवन बिताएर सफा अन्तस्करण कायम राख्नुहोस्‌ र यहोवाले तपाईंमाथि प्रशस्त आशिष्‌ बर्साउनुहुनेछ।—हितोपदेश १०:२२.

तपाईंको मनस्थितिको पनि ठूलो भूमिका छ

१२, १३. समर्पण र बप्तिस्मासित हाम्रो इच्छाको कस्तो सम्बन्ध छ?

१२ निस्सन्देह, समर्पण र बप्तिस्माले गर्दा संसारभरिका लाखौं मानिसहरूले निकै लाभ उठाएका छन्‌। हामीले पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणलाई प्रकट गर्दा हामी पुरानो मार्गलाई त्याग्छौं तर आफ्नो इच्छालाई मार्दैनौं। सही निर्देशन पाएर विश्‍वास गरेका व्यक्‍तिहरूको हैसियतमा हामीले परमेश्‍वरलाई प्रार्थनामा समर्पण र बप्तिस्मा स्वेच्छाले गरेका थियौं। परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्मा लिन हामीले परमेश्‍वरको इच्छा थाह पाउनुपर्छ र त्यसपछि जानीबुझी रोज्नुपर्छ। (एफिसी ५:१७) यस प्रकार हामी येशूको अनुकरण गर्छौं, जसले सिकर्मी काम गर्न छोडेर बप्तिस्मा लिनुभयो र स्वर्गमा हुनुहुने पिताको इच्छा पूरा गर्न आफ्नो जीवन समर्पण गर्नुभयो।—भजन ४०:७, ८; यूहन्‍ना ६:३८-४०.

१३ यहोवा परमेश्‍वरले आफ्नो पुत्र “शासनाहरूद्वारा सिद्ध” होस्‌ भन्‍ने चाहनुभयो। त्यसैकारण येशूले स्वेच्छापूर्वक विश्‍वासी भई त्यस्ता शासनाहरू सहनुभयो। त्यसो गर्न “बेसरी कराई, आँसु बगाएर . . . प्रार्थना र अन्तरबिन्ती गर्नुभयो, र उहाँको भक्‍तिको भयले गर्दा उहाँको सुनाइभयो।” (हिब्रू २:१०, १८; ५:७, ८) हामीले परमेश्‍वरप्रति त्यस्तै श्रद्धेय भय देखायौं भने, हाम्रो पनि “सुनाइ” हुनेछ अनि यहोवाले हामीलाई उहाँका समर्पित साक्षीहरूको हैसियतमा स्थिर बनाउनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—यशैया ४३:१०.

तपाईं दृढ हृदय कायम राख्न सक्नुहुन्छ

१४. हामीले किन दिनहुँ बाइबल पढ्‌नुपर्छ?

१४ स्थिर हृदय कायम राखेर परमेश्‍वरप्रतिको समर्पणअनुसार जीवन बिताउन तपाईंलाई कुन कुराले मदत गर्नेछ? परमेश्‍वरको वचनबाट थप ज्ञान हासिल गर्ने उद्देश्‍य राखेर दिनहुँ बाइबल पढ्‌नुहोस्‌। “विश्‍वासी र बुद्धिमान दास[ले]” हामीलाई सधैं यसै गर्ने आग्रह गर्छ। यस्तो सल्लाह दिइनुको कारण के हो भने, आफ्नो समर्पणअनुसार जीवन बिताउन हामी परमेश्‍वरको सत्यमा हिंडिरहनुपर्छ। यहोवाको संगठनले जानाजानी झूटो शिक्षा सिकाएको हुँदो हो त, यहोवाका साक्षीहरू र तिनीहरूले प्रचार गर्ने व्यक्‍तिहरूलाई बाइबल पढ्‌ने सल्लाह कदापि दिइने थिएन।

१५. (क) निर्णयहरू गर्नुपर्दा कुन कुराहरू विचार गर्नुपर्छ? (ख) मसीहीको लागि जागिर केवल एउटा काम हो भनेर किन भन्‍न सकिन्छ?

१५ निर्णयहरू गर्दा त्यसले यहोवाप्रतिको आफ्नो समर्पण पूरा गर्न कस्तो असर पार्छ, सधैं विचार गर्नुहोस्‌। यो तपाईंको जागिरसित सम्बन्धित मामिलाहरूमा हुन सक्छ। के तपाईं यसलाई साँचो उपासना अघि बढाउन प्रयोग गर्नुहुन्छ? साधारणतया हाकिमहरूलाई समर्पित मसीहीहरू भरपर्दा र कार्यकुशल हुन्छन्‌ भनी थाह हुनुका साथै उनीहरूले यहोवाका साक्षीहरू अत्यन्तै महत्त्वाकांक्षी अनि ठूल-ठूला ओहदाका लागि अरूसित प्रतिस्पर्धा नगर्ने मानिसहरू भनेर पनि चिनेका छन्‌। किनभने साक्षीहरूको लक्ष्य धनसम्पत्ति, ख्याति, प्रतिष्ठा वा शक्‍ति कमाउनु होइन। परमेश्‍वरप्रतिको समर्पणअनुसार जीवन बिताइरहेकाहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ईश्‍वरीय इच्छाअनुरूप गर्नु हो। जीवनका आवश्‍यकताहरू पूरा गर्न मदत गर्ने जागिर तिनीहरूका लागि केवल एउटा काम हो, सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। प्रेरित पावलको जस्तै तिनीहरूको पनि प्रमुख कार्य भनेको मसीही सेवकाई हो। (प्रेरित १८:३, ४; २ थिस्सलोनिकी ३:७, ८; १ तिमोथी ५:८) के तपाईं आफ्नो जीवनमा परमेश्‍वरका राज्यसम्बन्धी गतिविधिहरूलाई प्राथमिकता दिनुहुन्छ?—मत्ती ६:२५-३३.

१६. अचाक्ली चिन्ताले गर्दा परमेश्‍वरप्रतिको आफ्नो समर्पणअनुसार जीवन बिताउन गाह्रो भइरहेको छ भने हामी के गर्न सक्छौं?

१६ कोही-कोही मानिसहरू सत्य सिक्नुअघि नानाथरिका फिक्रीहरूले के गरूँ कसो गरूँ भन्‍ने अवस्थामा पुगेका होलान्‌। तर परमेश्‍वरको राज्यले प्रदान गर्ने आशा अँगालेपछि आनन्द, कृतज्ञता र परमेश्‍वरप्रतिको प्रेमले तिनीहरूको हृदय कत्ति ओतप्रोत भयो होला! त्यस बेलादेखि तिनीहरूले उठाएका लाभहरूलाई विचार गर्दा त्यसबाट तिनीहरूले यहोवालाई आफूले गरेको समर्पणअनुरूप जीवन बिताउन मदत पाउन सक्छन्‌। अर्कोतर्फ, यस रीतिरिवाजमा आइपर्ने सानातिना समस्याहरूको अचाक्ली चिन्ताले, मानौं काँडाहरूले बीउलाई बढ्‌न नदिएझैं “परमेश्‍वरको वचन[लाई]” निसास्न खोज्यो भने नि? (लूका ८:७, ११, १४; मत्ती १३:२२; मर्कूस ४:१८, १९) यदि तपाईं र तपाईंको परिवारले यस्तो महसुस गरिरहनुभएको छ भने, यहोवा समक्ष आफ्नो चिन्ता राख्नुहोस्‌ अनि प्रेम तथा मूल्यांकनमा बढ्‌न प्रार्थना गरेर उहाँसँग मदत माग्नुहोस्‌। आफ्नो सारा भारी उहाँमा बिसाउनुभयो भने, उहाँले तपाईंलाई सम्हाल्नुहुनेछ र स्थिर हृदयले खुसीसाथ उहाँको सेवा गरिरहने बल प्रदान गर्नुहुनेछ।—भजन ५५:२२; फिलिप्पी ४:६, ७; प्रकाश २:४.

१७. गम्भीर परीक्षाहरू कसरी सहन सकिन्छ?

१७ यहोवालाई समर्पण गर्दा प्रार्थना गर्नुभएझैं नियमित तवरमा उहाँलाई प्रार्थना गरिरहनुहोस्‌। (भजन ६५:२) गलत काम गर्न प्रलोभित हुँदा वा गम्भीर परीक्षा सामना गर्नुपर्दा परमेश्‍वरको निर्देशन खोज्नुहोस्‌ र त्यसैअनुसार हिंड्‌न उहाँको मदत माग्नुहोस्‌। विश्‍वास आवश्‍यक छ भन्‍ने कुरा नबिर्सनुहोस्‌ किनभने चेला याकूबले यस प्रकार लेखे: “यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको घटी छ भने, उदारचित्तसँग नझर्कीकन दिनुहुने परमेश्‍वरसित त्यसले मागोस्‌, र त्यसलाई सो दिइनेछ। तर त्यसले केही पनि सन्देह नगरी विश्‍वाससाथ मागोस्‌। सन्देह गर्नेचाहिं बतासले हुत्तिएर उचाल्दै पछार्दै गरेका समुद्रका लहरीसमान हुनेछ। किनकि त्यस मानिसले यस्तो नसम्झोस्‌, कि उसले प्रभुबाट केही पाउनेछ। दोहोरो मन भएको मानिस उसको सबै चाल-चलनमा चञ्चल हुन्छ।” (याकूब १:५-८) परीक्षा असह्‍यजस्तो देखिंदा पनि हामी यस कुरामा पक्का हुन सक्छौं: “मानिसले सहनसक्ने किसिमको बाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ, तर परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।”—१ कोरिन्थी १०:१३.

१८. कुनै गम्भीर गोप्य पापको कारण यहोवाप्रतिको आफ्नो समर्पणअनुसार जीउने संकल्पलाई कमजोर तुल्याइरहेको छ भने हामी के गर्न सक्छौं?

१८ कुनै गम्भीर गोप्य पापले तपाईंको अन्तस्करणलाई घोचिरहेको छ र त्यसले परमेश्‍वरप्रतिको आफ्नो समर्पणअनुसार जीउने संकल्पलाई कमजोर तुल्याइरहेको छ भने नि? तपाईं पश्‍चात्तापी हुनुहुन्छ भने, यहोवाले ‘चूर्ण र पूरा पश्‍चात्तापी हृदयलाई तुच्छ ठान्‍नुहुन्‍न’ भनेर ढुक्क हुन सक्नुहुन्छ। (भजन ५१:१७) मायालु मसीही प्राचीनहरूको मदत माग्नुहोस्‌ र तिनीहरूले यहोवाको अनुकरण गर्दै स्वर्गमा हुनुहुने पितासित राम्रो सम्बन्ध कायम गर्ने तपाईंको इच्छालाई तुच्छ ठान्‍ने छैनन्‌। (भजन १०३:१०-१४; याकूब ५:१३-१५) त्यसपछि पुनर्जागृत आध्यात्मिक बल र स्थिर हृदय लिएर तपाईं आफ्नो खुट्टाको लागि सोझो मार्ग बनाउन र परमेश्‍वरप्रतिको आफ्नो समर्पणअनुसार जीवन बिताउन सक्नुहुनेछ।—हिब्रू १२:१२, १३.

दृढ हृदय लिएर सेवा गरिरहनुहोस्‌

१९, २०. हामी आफ्नो समर्पणअनुसार जीवन बिताइरहनु किन महत्त्वपूर्ण छ?

१९ अहिलेको कठिन समयमा आफ्नो समर्पणअनुसार जीवन बिताउन हामीले कडा मेहनत गर्नुपर्छ र स्थिर हृदय लिएर परमेश्‍वरको सेवा गरिरहनुपर्छ। येशूले यसो भन्‍नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) हामी “आखिरी दिनमा” बाँचिरहेको कारण अन्त कुनै पनि बेला आउन सक्छ। (२ तिमोथी ३:१) यसबाहेक, भोलि हामी जीवित रहौंला नरहौंला, हामी कसैलाई पनि पक्का छैन। (याकूब ४:१३, १४) त्यसकारण, आजै आफ्नो समर्पणअनुसार जीवन बिताउनु महत्त्वपूर्ण छ!

२० प्रेरित पत्रुसले आफ्नो दोस्रो पत्रमा यस कुरालाई जोड दिए। अधर्मी मानिसहरू जलप्रलयमा नष्ट भएझैं प्रतीकात्मक पृथ्वी अर्थात्‌ दुष्ट मानव समाज “यहोवाको दिनमा” नाश हुनेछ। त्यसैकारण पत्रुसले यस्तो उद्‌गार व्यक्‍त गरे: “सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ!” उहाँले यस्तो आग्रह पनि गर्नुभयो: “हे प्रिय हो, यी कुराको बाटो हेर्ने भएर शान्तिसाथ तिमीहरूको प्रभुको दृष्टिमा निष्खोट र [झूटा शिक्षक तथा अभक्‍त मानिसहरूबाट नबहकी] निष्कलंक ठहरिनालाई प्रयत्न गर।” (२ पत्रुस ३:५-१७) बप्तिस्माप्राप्त व्यक्‍ति तर्किएर स्थिर हृदय कायम राख्न असफल व्यक्‍तिले जस्तो अन्त भोग्नुपर्दा कस्तो दुःखदायी हुनेछ!

२१, २२. दाऊद र साँचो मसीहीहरूको सन्दर्भमा भजन ५७:७ कसरी साँचो साबित भएको छ?

२१ बप्तिस्मा लिनुभएको आनन्दमय दिनलाई सम्झनुभयो र आफ्नो वचन अनि कामले परमेश्‍वको हृदयलाई आनन्दित तुल्याउन उहाँको मदत माग्नुभयो भने, परमेश्‍वरप्रतिको आफ्नो समर्पणअनुसार जीवन बिताउने तपाईंको संकल्प अझ दृढ हुनेछ। (हितोपदेश २७:११) यहोवाले आफ्ना जनहरूलाई कहिल्यै धोका दिनुहुन्‍न र हामी पनि उहाँप्रति वफादार हुनै पर्छ। (भजन ९४:१४) दाऊदका शत्रुहरूको योजना विफल पारेर उहाँले तिनलाई बचाउन दया तथा समानुभूति देखाउनुभयो। यसप्रति कृतज्ञ हुँदै आफूलाई बचाउनुहुनेप्रति प्रेमको दृढता तथा अटल संकल्पबारे दाऊदले घोषणा गरे। गहिरो भावनाले ओतप्रोत हुँदै तिनले यस्तो भजन गाए: ‘मेरो हृदय स्थिर छ, हे परमेश्‍वर, मेरो हृदय स्थिर छ। म गाउनेछु, म स्तुति गाउनेछु।’—भजन ५७:७.

२२ दाऊदजस्तै साँचो मसीहीहरू पनि परमेश्‍वरप्रतिको भक्‍तिबाट तर्किएका छैनन्‌। स्थिर हृदयका साथ तिनीहरूले आफ्नो छुटकारा तथा संरक्षणको श्रेय यहोवालाई दिन्छन्‌ अनि आनन्दित भई उहाँको प्रशंसा गाउँछन्‌। तपाईंको हृदय स्थिर छ भने, यसले परमेश्‍वरमाथि भर गर्नेछ र यसैको मदतद्वारा तपाईंले आफ्नो समर्पण पूरा गर्न सक्नुहुनेछ। हो, भजनरचयिताले गीतमा व्यक्‍त गरेका “धर्मात्मा[जस्तै]” हुन सक्नुहुन्छ: “त्यो नराम्रो खबरले डराउँदैन। परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।” (भजन ११२:६, ७) परमेश्‍वरमा तपाईंको विश्‍वास र उहाँमाथि पूर्ण भरोसाले गर्दा तपाईं आफ्नो समर्पणअनुरूप जीवन बिताउन सक्नुहुन्छ र स्थिर हृदयले यहोवाको सेवा गरिरहन सक्नुहुनेछ।

के तपाईंले सम्झनुभएको छ?

हामीले किन बाइबलको सही ज्ञान लिइरहनुपर्छ?

हामीले गरेको पश्‍चात्ताप र परिवर्तनलाई किन सधैं सम्झिरहनुपर्छ?

आफूले गरेको समर्पण र बप्तिस्मालाई सम्झेर हामी कसरी लाभ उठाउँछौं?

स्थिर हृदय लिएर यहोवाको सेवा गरिरहन हामीलाई कुन कुराले मदत गर्नेछ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएका चित्रहरू]

दिनहुँ परमेश्‍वरको वचन पढेर के तपाईंले आफ्नो आध्यात्मिक स्वास्थ्य कायम गरिरहनुभएको छ?

[पृष्ठ १८-मा भएको चित्र]

मसीही सेवकाईलाई हाम्रो प्रमुख कार्य बनाउँदा स्थिर हृदयले यहोवाको सेवा गरिरहन मदत पाउँछौं