सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय व्यवस्थाहरू हाम्रै भलाइका लागि हुन्‌

ईश्‍वरीय व्यवस्थाहरू हाम्रै भलाइका लागि हुन्‌

ईश्‍वरीय व्यवस्थाहरू हाम्रै भलाइका लागि हुन्‌

“आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!”—भजन ११९:९७.

१. ईश्‍वरीय व्यवस्थाप्रति अधीनताको सन्दर्भमा आज कस्तो मनोवृत्ति व्याप्त छ?

 आज ईश्‍वरीय व्यवस्थाहरू पालन गर्नु भनेको लोकप्रिय कुरा होइन। थुप्रैलाई अदृश्‍य उच्च अख्तियारको अधीनमा बस्नु बेकारको कुराजस्तो लाग्छ। हामी बाँचिरहेको युगमा नैतिक सापेक्षवाद व्याप्त छ, जहाँ सही र गलतबीचका भिन्‍नताहरू अस्पष्ट छन्‌ अनि सही र गलत के हो भनी निर्धारण गर्नै गाह्रो छ। (हितोपदेश १७:१५; यशैया ५:२०) थुप्रै धर्म निरपेक्ष समाजहरूमा सामान्यतया विचार गर्ने ढंगलाई दृष्टिगत गर्दै हालै गरिएको एउटा सर्वेक्षणमा यस्तो उल्लेख गरिएको थियो, “अधिकांश अमेरिकीहरू आफ्नोलागि के सही, असल र अर्थपूर्ण छ, आफै निर्णय गर्न चाहन्छन्‌।” तिनीहरू “भगवान्‌ लचकदार भएको चाहन्छन्‌। कडा नियमहरू चाहँदैनन्‌। नैतिक वा अन्य केही विषयहरूमा दृढ अडान लिने अख्तियारवालाहरू मन पराउँदैनन्‌।” आज “मानिसहरूले आफ्नोलागि सही र नैतिक जीवन भनेको के हो, त्यो आफै निर्णय गरेको आशा गरिन्छ” भनी एक जना सामाजिक विश्‍लेषकले टिप्पणी गरे। तिनले अझ यसो भने: “कुनै पनि उच्च अख्तियारवालाले आफ्ना आज्ञाहरू मानिसहरूको आवश्‍यकताअनुसार काँटछाँट गर्नुपर्छ।”

२. बाइबलमा पहिलो चोटि उल्लेख गरिएको व्यवस्थाको ईश्‍वरीय आशिष्‌ र अनुमोदनसँग कस्तो नजिकको सम्बन्ध छ?

आज थुप्रैले यहोवाको व्यवस्थाको महत्त्वमाथि प्रश्‍न चिह्न खडा गरिरहेको बेला ईश्‍वरीय स्तरहरू हाम्रै भलाइको निम्ति हुन्‌ भन्‍ने हाम्रो विश्‍वासलाई अझ बलियो बनाउनु खाँचो छ। बाइबलमा पहिलो चोटि व्यवस्था भनी उल्लेख गरिएको विवरणलाई विचार गर्नु चाखलाग्दो छ। उत्पत्ति २६:५ मा परमेश्‍वरले भन्‍नुभएको कुरा पढ्‌न सक्छौं: “अब्राहामले . . . मेरा आज्ञाहरू, मेरा नियमहरू र मेरा व्यवस्थाहरूको प्रतिपालन गऱ्‍यो।” ती शब्दहरू यहोवाले अब्राहामका सन्तानलाई विस्तृत व्यवस्था दिनुभन्दा शताब्दीयौंअघि भन्‍नुभएको थियो। अब्राहाम परमेश्‍वरप्रति मात्र नभई उहाँको व्यवस्थाप्रति समेत आज्ञाकारी भएकोमा परमेश्‍वरले तिनलाई कस्तो इनाम दिनुभयो? यहोवा परमेश्‍वरले तिनलाई यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरै सन्तानद्धारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्‌।” (उत्पत्ति २२:१८) यस प्रकार ईश्‍वरीय व्यवस्थाप्रति आज्ञाकारिताको, ईश्‍वरीय आशिष्‌ र अनुमोदनसँग नजिकको सम्बन्ध छ।

३. (क) एक जना भजनरचयिताले यहोवाको व्यवस्थाप्रति कस्तो विचार व्यक्‍त गरे? (ख) कस्ता प्रश्‍नहरूलाई हामीले ध्यान दिनुपर्छ?

एक जना भजनरचयिता जो सम्भवतः यहूदाका राजकुमार र भावी राजा थिए, तिनले व्यवस्थाबारे यस्तो विचार व्यक्‍त गरे जसको अक्सर व्यवस्थासँग मिलान गरिंदैन। तिनले परमेश्‍वरलाई यस्तो उद्‌गार व्यक्‍त गरे: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु!” (भजन ११९:९७) यो भावनामा बहेर व्यक्‍त गरिएको अभिव्यक्‍ति मात्र थिएन। यो परमेश्‍वरको व्यवस्थामा बताइएअनुसार उहाँको इच्छाअनुसार गर्ने प्रेमको अभिव्यक्‍ति थियो। परमेश्‍वरका सिद्ध पुत्र, येशू ख्रीष्टले पनि त्यस्तै महसुस गर्नुहुन्थ्यो। येशूले भन्‍नुभएका कुरा भविष्यसूचक ढंगमा यसरी वर्णन गरिएको थियो: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” (भजन ४०:८; हिब्रू १०:९) हामी नि? के हामी परमेश्‍वरको इच्छाबमोजिम गर्न प्रसन्‍न हुन्छौं? के हामी यहोवाको व्यवस्थाको उपयोगिता तथा लाभहरूबारे विश्‍वस्त छौं? परमेश्‍वरको व्यवस्थाप्रतिको आज्ञाकारिताले हाम्रो उपासना, हाम्रो दैनिक जीवन, हाम्रा निर्णयहरू र अरूसँगको सम्बन्धमा कस्तो भूमिका खेल्छ? ईश्‍वरीय व्यवस्थालाई प्रेम गर्नको लागि सबैभन्दा पहिला परमेश्‍वरसित किन व्यवस्था बनाउने र त्यसलाई लागू गर्ने अधिकार छ भनेर बुझ्नु बेस हुन्छ।

यहोवा—सर्वोच्च कानूनदाता

४. किन अन्ततः यहोवा मात्रै सर्वोच्च कानूनदाता हुनुहुन्छ?

सृष्टिकर्ताको हैसियतमा अन्ततः यहोवा मात्रै ब्रह्‍माण्डको सर्वोच्च कानूनदाता हुनुहुन्छ। (प्रकाश ४:११) अगमवक्‍ता यशैयाले यस्तो उल्लेख गरे: “परमप्रभु हाम्रा शासक हुनुहुन्छ।” (यशैया ३३:२२) उहाँले जीव र निर्जीव सृष्टिलाई नियन्त्रणमा राख्ने भौतिक नियमहरू बनाउनुभएको छ। (अय्यूब ३८:४-३८; ३९:१-१२; भजन १०४:५-१९) मानिस पनि परमेश्‍वरकै सृष्टि भएको कारण यहोवाको भौतिक नियमको अधीनमा हुन्छ। मानिस असल र खराब छुट्याउन सक्ने स्वतन्त्र प्राणी भएको कारण तिनीसँग आफै निर्णय गर्ने क्षमता भए तापनि ऊ त्यतिबेला मात्र आनन्दित हुन सक्छ जब ऊ परमेश्‍वरको नैतिक तथा आध्यात्मिक व्यवस्थाअनुसार चल्छ।—रोमी १२:१; १ कोरिन्थी २:१४-१६.

५. ईश्‍वरीय व्यवस्थाको सन्दर्भमा गलाती ६:७ मा दिइएको सिद्धान्त कसरी साँचो साबित हुन्छ?

हामीलाई थाह भएकै कुरा हो, यहोवाको भौतिक नियम तोड्‌न सकिदैंन। (यर्मिया ३३:२०, २१) मानिसले गुरुत्वाकर्षणजस्तो भौतिक नियम उल्लंघन गऱ्‍यो भने त्यसको नतिजा भोग्नुपर्छ। त्यस्तै गरी, परमेश्‍वरका नैतिक व्यवस्थाहरू पनि अपरिवर्तनीय छन्‌ र यसलाई छक्याउन वा उल्लंघन गर्न खोजेको खण्डमा दण्डबाट उम्कन सकिंदैन। ती उहाँको भौतिक नियम जत्तिकै पक्का छन्‌ तर नैतिक नियम उल्लंघन गर्दा त्यसको नतिजा तुरुन्तै नदेखिन सक्छ। “परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।”—गलाती ६:७; १ तिमोथी ५:२४.

यहोवाको व्यवस्थाको कार्यक्षेत्र

६. ईश्‍वरीय व्यवस्थाले कस्ता क्षेत्रहरू समेट्‌छ?

ईश्‍वरीय व्यवस्थाको उल्लेखनीय अभिव्यक्‍ति मोशालाई दिइएको व्यवस्था थियो। (रोमी ७:१२) समयको अन्तरालमा यहोवा परमेश्‍वरले मोशालाई दिइएको व्यवस्थाको बदलामा “ख्रीष्टको व्यवस्था” दिनुभयो। a (गलाती ६:२; १ कोरिन्थी ९:२१) परमेश्‍वरले आफ्ना निर्देशनहरू जीवनका केही पक्षहरू जस्तै, सैद्धान्तिक विश्‍वास वा विधिविधानमा मात्र सीमित नगर्नु भएकोमा हामी “स्वतंत्रताको सिद्ध व्यवस्था[को]” अधीनमा बस्ने मसीहीहरू कृतज्ञ छौं। उहाँका स्तरहरूले पारिवारिक जीवन, व्यापारिक लेनदेन, विपरीत लिंगका व्यक्‍तिहरूसित गरिने व्यवहार, सँगी मसीहीहरूतर्फको मनोवृत्ति र साँचो उपासनामा सहभागितालगायत जीवनका सबै पक्षलाई समेट्‌छन्‌।—याकूब १:२५, २७.

७. महत्त्वपूर्ण ईश्‍वरीय व्यवस्थाका उदाहरणहरू दिनुहोस्‌।

उदाहरणका लागि, बाइबल यसो भन्छ: “व्यभिचारीहरू, मूर्तिपूजकहरू, जारी गर्नेहरू, लुच्चाहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली गर्नेहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” (१ कोरिन्थी ६:९, १०) हो, जारी र व्यभिचार भनेको “प्रेमालाप” मात्र होइन। समलैंगिक कार्यहरू “परम्परागत जीवनशैलीभन्दा भिन्‍न जीवनशैली” मात्र होइन। त्यस्ता कार्यहरू यहोवाको व्यवस्था विपरीत हुन्‌। अनि चोर्ने, ढाँट्‌ने र छल गर्नेजस्ता कुराहरू पनि परमेश्‍वरको व्यवस्था विपरीत हुन्‌। (भजन १०१:५; कलस्सी ३:९; १ पत्रुस ४:१५) याकूबले सेखी गर्नेको निन्दा गरे भने, पावलले बेमतलबका कुरा वा ठट्टा नगर्न सल्लाह दिए। (एफिसी ५:४; याकूब ४:१६) मसीहीहरूका लागि यी सबै नियमहरू परमेश्‍वरको सिद्ध व्यवस्थाका भाग हुन्‌।—भजन १९:७.

८. (क) यहोवाको व्यवस्था कस्तो छ? (ख) “व्यवस्था” भन्‍ने हिब्रू शब्दको खास अर्थ के हो?

यहोवाको वचनमा दिइएका त्यस्ता आधारभूत नियमहरूले उहाँको व्यवस्था भावशून्य, अरट्ठो नियमहरू मात्र होइनन्‌ भनी प्रस्ट पार्छ। यसले सन्तुलित र फलदायी ढंगमा जीवनका सबै पक्षमा लाभ पुऱ्‍याउँछ। ईश्‍वरीय व्यवस्था प्रोत्साहनदायी, नीतिवान्‌ र निर्देशनमूलक छ। (भजन ११९:७२) भजनरचयिताले “व्यवस्था” भनी प्रयोग गरेका शब्द, हिब्रू शब्द तोरह-बाट लिइएको हो। एक जना बाइबलविद्‌ले यसो भने: “यो शब्द क्रियापद रूप हो, यसले निर्देशन दिनु, डोऱ्‍याउनु, लक्ष्य राख्नु र अघि बढ्‌नु भन्‍ने बुझाउँछ। अतः . . . यसको अर्थ आचारसंहिता हुनेछ।” भजनरचयिताका लागि व्यवस्था परमेश्‍वरले दिनुभएको वरदान थियो। के हामीले पनि आफ्नो जीवनशैलीमा त्यस व्यवस्थाअनुसार छाँटकाँट गरेर त्यसको सम्मान गर्नुपर्दैन र?

९, १०. (क) हामीलाई किन भरपर्दो निर्देशन चाहिन्छ? (ख) हामी आनन्ददायी र सफल जीवन कसरी मात्र प्राप्त गर्न सक्छौं?

सबै प्राणीहरूलाई भरपर्दो निर्देशन र विश्‍वसनीय डोऱ्‍याइ चाहिन्छ। मानिसहरूभन्दा उच्च, येशू तथा अन्य स्वर्गदूतहरूलाई पनि त्यस्तो डोऱ्‍याइ चाहिन्छ। (भजन ८:५; यूहन्‍ना ५:३०; ६:३८; हिब्रू २:७; प्रकाश २२:८, ९) ती सिद्ध प्राणीहरूले त ईश्‍वरीय डोऱ्‍याइबाट लाभ उठाउन सक्छन्‌ भने, असिद्ध मानवहरूले त्यसबाट कत्ति धेरै लाभ उठाउन सक्छन्‌ होला! मानव इतिहास र हाम्रो व्यक्‍तिगत अनुभवले अगमवक्‍ता यर्मियाको विचारलाई सत्य साबित गरेको छ: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।”—यर्मिया १०:२३.

१० हामी आनन्ददायी र सफल जीवनको चाहना गर्छौं भने, हामीले परमेश्‍वरको निर्देशनको खोजी गर्नै पर्छ। ईश्‍वरीय निर्देशनलाई बेवास्ता गरेर व्यक्‍तिगत स्तरहरूअनुसार जीवन बिताउनु खतरापूर्ण हुन्छ भनी राजा सुलेमानले बुझेका थिए: “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमानै पुऱ्‍याउने हुन्छ।”—हितोपदेश १४:१२.

यहोवाको व्यवस्थालाई कदर गर्नुका कारणहरू

११. हामीले किन परमेश्‍वरको व्यवस्था बुझ्ने चाहना गर्नुपर्छ?

११ यहोवाको व्यवस्था बुझ्न हामीले गहिरो इच्छा विकास गर्नु बेस हुनेछ। भजनरचयिताले त्यस्तो तृष्णा व्यक्‍त गर्दै यसो भने: “मेरा आँखा खोलिदिनुहोस्‌, र म तपाईंको व्यवस्थाबाट उदेकका कुरा देख्नसकूँ।” (भजन ११९:१८) हामी जति बढी परमेश्‍वर र उहाँका मार्गहरूबारे सिक्छौं त्यति नै यशैयाका शब्दहरूको सत्यताको निम्ति हाम्रो मूल्यांकन गहिरो हुनेछ: “म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता।” (यशैया ४८:१७, १८) आफ्ना जनहरू विपत्तिहरूबाट बचोस्‌ र उहाँका आज्ञाहरू पालन गरेर जीवनको आनन्द उठाओस्‌ भन्‍ने यहोवा साँचो इच्छा गर्नुहुन्छ। आउनुहोस्‌, हामीले किन परमेश्‍वरको व्यवस्थालाई कदर गर्नुपर्छ भन्‍ने विषयमा केही मुख्य कारणहरू छलफल गरौं।

१२. हामीबारे यहोवालाई राम्रो ज्ञान भएकोले उहाँ कसरी सर्वोत्तम कानूनदाता हुन सक्नुहुन्छ?

१२ हामीलाई एकदमै राम्ररी चिन्‍ने व्यक्‍तिबाट हामीले ईश्‍वरीय व्यवस्था पाइरहेका छौं। यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएको कारण उहाँले हामीलाई राम्ररी चिन्‍नुहुन्छ। (भजन १३९:१, २; प्रेरित १७:२४-२८) यहोवाले जत्तिको हामीलाई हाम्रो असल मित्र, नातेदार र आमाबाबुले समेत चिन्‍न सक्दैन। नहोस्‌ पनि कसरी, परमेश्‍वरले हामीलाई हामी आफैले भन्दा पनि राम्ररी चिन्‍नुहुन्छ! हाम्रो सृष्टिकर्ताले हाम्रो आध्यात्मिक, भावनात्मक, मानसिक र शारीरिक आवश्‍यकताबारे जति बुझ्नुहुन्छ, त्यति अरू कसैले बुझ्दैन। जसै उहाँले हामीतर्फ आफ्नो ध्यान दिनुहुन्छ, उहाँले हाम्रो बनौट, हाम्रो इच्छा र आकांक्षाको गहिराइसम्म बुझ्नुभएको थाह पाउन सक्छौं। यहोवाले हाम्रा सीमितताहरू बुझ्नुहुन्छ तर हामीसँग असल कार्य गर्ने क्षमता छ भनेर पनि उहाँलाई थाह छ। भजनरचयिता यसो भन्छन्‌: “उहाँले हाम्रो बनोट जान्‍नु हुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:१४) यस प्रकार, उहाँको व्यवस्थामा हिंड्‌ने प्रयास गरेर राजीखुसीसाथ आफूलाई उहाँको ईश्‍वरीय डोऱ्‍याइको अधीनमा छोड्‌दा हामी आध्यात्मिक सुरक्षा महसुस गर्न सक्छौं।—हितोपदेश ३:१९-२६.

१३. यहोवा हाम्रो अनन्त हित चाहनुहुन्छ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं?

१३ हामीलाई प्रेम गर्ने व्यक्‍तिले ईश्‍वरीय व्यवस्था दिनुहुन्छ। परमेश्‍वर हाम्रो अनन्त हितबारे एकदमै चिन्ता गर्नुहुन्छ। के उहाँले “धेरैको उद्धारको निम्ति” ठूलो मूल्य चुकाउँदै आफ्नो पुत्र दिनुभएन र? (मत्ती २०:२८) के यहोवाले ‘हामीलाई हामीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन’ भनेर प्रतिज्ञा गर्नुभएको छैन र? (१ कोरिन्थी १०:१३) उहाँले ‘हाम्रो फिक्री’ गर्नुहुन्छ भनेर के बाइबलले आश्‍वासन दिएको छैन र? (१ पत्रुस ५:७) मानव सृष्टिलाई लाभदायक निर्देशनहरू दिन यहोवाले जत्तिको अरू कसैले पनि मायालु चासो लिंदैन। हाम्रोलागि के असल हुन्छ र कस्ता कुराहरूले हामी आनन्दित वा दुःखित हुन सक्छौं भनी उहाँलाई थाह छ। असिद्ध भएको कारण हामीबाट गल्तीहरू भए तापनि हामी धार्मिकताको मार्गमा हिंडिरह्‍यौं भने, उहाँले हामीलाई प्रशस्त आशिष्‌ प्राप्त हुने तरिकामा प्रेम देखाउनुहुनेछ।—इजकिएल ३३:११.

१४. कुन महत्त्वपूर्ण तरिकामा परमेश्‍वरको व्यवस्था मानिसहरूको सोचाइभन्दा फरक छ?

१४ परमेश्‍वरको व्यवस्था अपरिवर्तनीय छ भन्‍ने कुरामा ढुक्क हुन सकिन्छ। अनादिदेखि अस्तित्वमा हुनुभएको यहोवा हामी बस्ने यस गोलमालले भरिएको संसारमा अत्यन्तै भरपर्दो आड हुनुहुन्छ। (भजन ९०:२) उहाँले आफ्नो विषयमा यसो भन्‍नुभयो: “म परमप्रभु कहिल्यै परिवर्त्तन हुँदिनँ।” (मलाकी ३:६) बाइबलमा लिपिबद्ध परमेश्‍वरका स्तरहरू पूर्णतया भरपर्दा छन्‌, यो छिन-छिनमा परिवर्तन भइरहने मानव सोचाइको फोस्रो आडम्बर होइन। (याकूब १:१७) उदाहरणका लागि, मनोवैज्ञानिकहरूले बच्चाहरूलाई जे मन पर्छ त्यही गर्न दिनुपर्छ भन्‍ने धारणालाई वर्षौंसम्म प्रवर्धन गरे तर पछि कोही-कोहीले आफ्नो धारणा बद्‌ले र आफूले दिएको सल्लाह गलत भएको कुरा स्वीकारे। यस विषयमा सांसारिक स्तर तथा निर्देशनहरू हावाले यताउता हुऱ्‍याएजस्तो परिवर्तन भइरहन्छन्‌। तथापि, यहोवाको वचन अटल छ। केटाकेटीलाई कसरी मायालु ढंगमा हुर्काउनुपर्छ भनी बाइबलले सल्लाह दिंदै आएको शताब्दीयौं भइसक्यो। प्रेरित पावलले यस्तो लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेलाउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) हामी यहोवाका स्तरहरूमा भर पर्न सक्छौं र ती परिवर्तन हुँदैनन्‌ भनी थाह पाउनु कस्तो आश्‍वासनदायी कुरा हो!

परमेश्‍वरको व्यवस्था पालन गर्नेहरूको निम्ति आशिष्‌

१५, १६. (क) हामीले यहोवाका स्तरहरू पालन गऱ्‍यौं भने नतिजा कस्तो हुनेछ? (ख) परमेश्‍वरको व्यवस्था वैवाहिक जीवनमा कसरी सर्वोत्तम निर्देशन साबित हुन सक्छ?

१५ आफ्ना अगमवक्‍ता यशैयामार्फत्‌ परमेश्‍वरले यसो भन्‍नुभयो: “मेरो मुखबाट निस्कने मेरो वचन . . . सफल हुनेछ।” (यशैया ५५:११) साँचो मनले उहाँको वचनमा दिइएका स्तरहरू पालन गर्ने कोसिस गऱ्‍यौं भने हामीले सफलताका साथै आनन्द प्राप्त गर्नेछौं।

१६ परमेश्‍वरको व्यवस्था सफल वैवाहिक जीवनको लागि पनि कसरी सर्वोत्तम निर्देशन हो, विचार गर्नुहोस्‌। “सबै विवाह चाहिं आदरणीय होस्‌, ओछ्यान नबिटुलिओस्‌, किनकि व्यभिचारीहरू र जारी गर्नेहरूलाई परमेश्‍वरले इन्साफ गर्नुहुनेछ” भनी पावलले लेखे। (हिब्रू १३:४) विवाहित दम्पतीहरूले एकअर्कालाई आदर गर्नुका साथै प्रेम गर्नुपर्छ: “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्‌।” (एफिसी ५:३३) प्रेम कस्तो प्रकारको हुनुपर्छ भनी १ कोरिन्थी १३:४-८ मा व्याख्या गरिएको छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन, आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाई खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन। अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ। सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।” यस्तो प्रकारको प्रेम भएको विवाह असफल हुनेछैन।

१७. मद्यव्यसनको प्रयोगको सन्दर्भमा यहोवाका स्तरहरू पालन गर्दा कस्तो फाइदा हुन्छ?

१७ यहोवाका स्तरहरू लाभदायी छन्‌ भन्‍ने अर्को प्रमाण हो, उहाँले मतवालापनको निन्दा गर्नुहुन्छ। उहाँले “बढ़ता रक्सी खाने” बानीको समेत निन्दा गर्नुहुन्छ। (१ तिमोथी ३:३, ८; रोमी १३:१३) यस विषयमा परमेश्‍वरको स्तरलाई बेवास्ता गर्दा अत्यधिक मद्यपानले रोग निम्त्याउन सक्छ वा रोगलाई चर्काउन सक्छ। संयमी हुने बाइबलको सल्लाहलाई बेवास्ता गर्दै कोही-कोही “थकाइ मेट्‌ने” निहुँमा बेसरी रक्सी पिउने कुलतमा फसेका छन्‌। अचाक्ली रक्सी पिउँदा झेल्नुपर्ने समस्याहरू अनेक छन्‌ जस्तै, आत्मसम्मान गुमाउनु, तनाउग्रस्त पारिवारिक सम्बन्ध वा टुक्रिएको परिवार, पैसाको फजुल खर्च र जागिर गुमाउनु इत्यादि। (हितोपदेश २३:१९-२१, २९-३५) के मद्यव्यसनको सन्दर्भमा यहोवाका स्तरहरू हाम्रै सुरक्षाका लागि होइनन्‌ त?

१८. के परमेश्‍वरको व्यवस्था आर्थिक मामिलामा पनि व्यावहारिक छ? व्याख्या गर्नुहोस्‌।

१८ आर्थिक मामिलामा पनि परमेश्‍वरका स्तरहरू व्यावहारिक साबित भएका छन्‌। बाइबलले मसीहीहरूलाई इमानदार र लगनशील हुन आग्रह गर्छ। (लूका १६:१०; एफिसी ४:२८; कलस्सी ३:२३) यही सल्लाह पालन गरेको कारण थुप्रै मसीहीहरूको पदोन्‍नति भएको छ वा अरू जागिरबाट निकालिंदा समेत तिनीहरूले जागिर गुमाउनुपरेको छैन। जुवा, धूम्रपान र लागू पदार्थ दुर्व्यसनजस्ता गैरधर्मशास्त्रीय बानीलाई चट्ट त्याग्दा आर्थिक लाभ पनि हुन सक्छ। यसबाहेक, परमेश्‍वरका स्तरहरू पालन गर्दा आफू लाभान्वित भएका अन्य क्षेत्रहरू पनि तपाईंलाई थाह होला।

१९, २०. ईश्‍वरीय व्यवस्था स्वीकारेर त्यसलाई पक्रिराख्नु किन बुद्धिमानी मार्ग हो?

१९ असिद्ध मानिसहरू परमेश्‍वरको व्यवस्था तथा स्तरहरूबाट सजिलै तर्किन सक्छन्‌। सीनै पर्वतमा इस्राएलीहरूलाई सम्झनुहोस्‌। परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चैनै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ।” तिनीहरूले यस्तो प्रत्युत्तर दिए: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।” यद्यपि, तिनीहरूले कस्तो भिन्‍न मार्ग रोजे! (प्रस्थान १९:५, ८; भजन १०६:१२-४३) हामी तिनीहरूजस्तो नभई सधैं परमेश्‍वरका स्तरहरू स्वीकारेर त्यसलाई पक्रिराखौं।

२० बुद्धिमानी र आनन्दको मार्ग भनेकै यहोवाले हाम्रो जीवन डोऱ्‍याउन मदतको लागि दिनुभएको अतुलनीय व्यवस्थालाई पक्रिराख्नु हो। (भजन १९:७-११) यसो गर्न सफल हुनको लागि हामीले ईश्‍वरीय सिद्धान्तको महत्त्वलाई पनि बुझ्नुपर्छ। यसपछिको लेखको विषय पनि यही नै रहेको छ।

[फुटनोट]

a “ख्रीष्टको व्यवस्था[बारे]” विस्तृत छलफलको निम्ति प्रहरीधरहरा, सेप्टेम्बर १, १९९६, पृष्ठ १४-२४ हेर्नुहोस्‌।

के तपाईंलाई सम्झना छ?

• परमेश्‍वरका व्यवस्थाहरू हाम्रै भलाइका लागि हुन्‌ भनेर हामी किन विश्‍वास गर्न सक्छौं?

• कस्ता कारणहरूका निम्ति हामीले यहोवाको व्यवस्थाको कदर गर्नुपर्छ?

• परमेश्‍वरको व्यवस्था कुन तरिकाहरूमा लाभदायी छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

परमेश्‍वरको व्यवस्था पालन गर्दा अब्राहामले प्रचुर मात्रामा आशिष्‌ पाए

[पृष्ठ १५-मा भएका चित्रहरू]

आजको व्यस्त जीवनका फिक्रीहरूले थुप्रैलाई ईश्‍वरीय व्यवस्थाबाट अलग पारेको छ

[पृष्ठ १७-मा भएको चित्र]

चट्टानमाथि बनाइएको प्रकाशगृहजस्तै ईश्‍वरीय व्यवस्था स्थिर र अपरिवर्तनीय छ