सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌

ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌

ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌

“[ यहोवाले] तेरो फायदाको निम्ति तँलाई सिकाउँछ।”—यशैया ४८:१७.

१. सृष्टिकर्ताले मानिसहरूलाई कसरी डोऱ्‍याउनुहुन्छ?

 वैज्ञानिकहरू जसै ब्रह्‍माण्डका गोप्य कुराहरू थाह पाउने प्रयासमा जुट्‌छन्‌, उनीहरू हामी वरपरको ब्रह्‍माण्डमा भएको उर्जा देखेर छक्क पर्छन्‌। सूर्य, एउटा मझौला आकारको तारा हो तर यसले “प्रत्येक सेकेन्ड एक खरब हाइड्रोजन बम पड्‌कँदा” बराबरको उर्जा उत्पादन गर्छ। आफूसित भएको असीमित शक्‍तिले गर्दा सृष्टिकर्ताले विशाल आकाशीय पिण्डहरूलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ। (अय्यूब ३८:३२; यशैया ४०:२६) स्वतन्त्र इच्छा, नैतिक क्षमता, तर्कशक्‍ति र आध्यात्मिक कुराहरू बुझ्न सक्ने क्षमता भएका हामी मानवहरूबारे के भन्‍न सकिन्छ? हाम्रो सृष्टिकर्ताले हामीलाई डोऱ्‍याउन कुन तरिका उपयुक्‍त ठान्‍नुभएको छ? उहाँले मायालु ढंगमा हामीलाई आफ्नो सिद्ध व्यवस्था र उच्च सिद्धान्तहरूद्वारा डोऱ्‍याउनुहुन्छ। साथै, हाम्रो प्रशिक्षित अन्तस्करण पनि छ।—२ शमूएल २२:३१; रोमी २:१४, १५.

२, ३. कस्तो प्रकारको आज्ञाकारितामा परमेश्‍वर रमाउनुहुन्छ?

परमेश्‍वरको आज्ञा पालन गर्न रोज्ने बुद्धिमानी प्राणीहरूमा उहाँ रमाउनुहुन्छ। (हितोपदेश २७:११) सोचविचारै नगरी जसो भन्यो त्यसै गर्ने मानव यन्त्रहरूजस्तो नभई यहोवाले हामीलाई सही कुरा के हो भनी जानीबुझी निर्णय गर्न सक्ने स्वतन्त्र इच्छा दिनुभएको छ।—हिब्रू ५:१४.

आफ्नो पिताको दुरुस्त प्रतिबिम्ब गर्नुहुने येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “जे जे म तिमीहरूलाई आज्ञा गर्दछु, ती तिमीहरूले गऱ्‍यौ भने, तिमीहरू मेरा मित्र हौ। अबदेखि म तिमीहरूलाई दास भन्दिनँ।” (यूहन्‍ना १५:१४, १५) पुरातन समयमा दासले आफ्नो मालिकले भनेअनुसारै गर्नुपर्थ्यो। अर्कोतर्फ, मित्रता भनेको हृदयलाई मनपर्ने गुणहरूको आधारमा प्रगाढ हुँदै जाने कुरा हो। हामी यहोवाको मित्र हुन सक्छौं। (याकूब २:२३) यो मित्रता आपसी प्रेमद्वारा बलियो हुन्छ। येशूले परमेश्‍वरप्रति आज्ञाकारिता र प्रेमबीचको सम्बन्ध देखाउँदै यसो भन्‍नुभयो: “कसैले मलाई प्रेम गर्दछ भने, त्यसले मेरो वचन पालन गर्नेछ, औ मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ।” (यूहन्‍ना १४:२३) अतः हामीलाई प्रेम गर्न र सुरक्षा प्रदान गर्न यहोवाले उहाँका सिद्धान्तहरूअनुरूप जीवन बिताउन हामीलाई आमन्त्रित गर्नुहुन्छ।

ईश्‍वरीय सिद्धान्तहरू

४. सिद्धान्तलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

सिद्धान्तहरू भनेको के हो? सिद्धान्तलाई “सामान्य वा आधारभूत सत्य: विस्तृत र आधारभूत व्यवस्था, शिक्षा वा अनुमान, जसमा अन्य व्यवस्था तथा सिद्धान्तहरू आधारित हुन्छ वा त्यसैबाट लिइएको हुन्छ” भनी परिभाषित गरिएको छ। (वेब्स्टर्स थर्ड न्यु इन्टरनेसनल डिक्सनरी) ध्यान दिएर बाइबल अध्ययन गर्दा हाम्रो स्वर्गमा हुनुहुने पिताले जीवनका विभिन्‍न पक्ष तथा परिस्थितिहरू समेट्‌ने आधारभूत निर्देशनहरू दिनुभएको थाह पाउनेछौं। उहाँले हाम्रो अनन्त हितलाई मनमा राखेर यसो गर्नुहुन्छ। यो कुरा राजा सुलेमानले लेखेका कुरासित मेल खान्छ: “हे मेरो छोरो, सुन्‌। मेरो वचन हृदयमा राख्‌, र तँ दीर्घायु हुनेछस्‌। म तँलाई बुद्धिको बाटोमा डोऱ्‍याउनेछु, र सोझो बाटोमा हिंड़ाउनेछु।” (हितोपदेश ४:१०, ११) यहोवाले प्रबन्ध गर्नुभएका आधारभूत सिद्धान्तहरूले उहाँसँगको हाम्रो सम्बन्ध, सँगी मानवहरूसँगको सम्बन्ध, हाम्रो उपासना र हाम्रो दिनचर्यामा असर गर्छ। (भजन १:१) आउनुहोस्‌, अब हामी तीमध्ये केही आधारभूत सिद्धान्तहरू केलाएर हेरौं।

५. केही आधारभूत सिद्धान्तहरूको उदाहरण दिनुहोस्‌।

यहोवासितको हाम्रो सम्बन्धबारे येशूले यसो भन्‍नुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) यसबाहेक, परमेश्‍वरले सँगी मानवहरूसँग गर्ने व्यवहारसित सम्बन्धित सिद्धान्त पनि दिनुभएको छ जस्तै, सुनौलो नियम: “यसकारण मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।” (मत्ती ७:१२; गलाती ६:१०; तीतस ३:२) उपासनाको सन्दर्भमा हामीलाई यस्तो सल्लाह दिइएको छ: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। कसै कसैको बानी भएझैं, हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं।” (हिब्रू १०:२४, २५) हाम्रो दैनिक जीवनसित सम्बन्धित कुराहरूबारे प्रेरित पावल यसो भन्छन्‌: “यसकारण चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१) परमेश्‍वरको वचनमा अरू थुप्रै सिद्धान्तहरू छन्‌।

६. व्यवस्था र सिद्धान्त कसरी फरक-फरक कुरा हुन्‌?

सिद्धान्तहरू भनेको सक्रिय, अत्यावश्‍यक सच्चाइ हुन्‌ र बुद्धिमानी मसीहीहरूले त्यसलाई प्रेम गर्न सिक्छन्‌। यहोवाले सुलेमानलाई यस्तो लेख्न उत्प्रेरित गर्नुभयो: “मेरो वचनमा ध्यान दे, मेरा कुरामा कान थाप्‌। ती तेरो मनबाट उम्केर जान नदे, ती तेरो हृदयमा लिइराख्‌। किनभने त्यसलाई पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो।” (हितोपदेश ४:२०-२२) सिद्धान्त र व्यवस्थाबीच कस्तो भिन्‍नता छ? सिद्धान्तले व्यवस्थाको निम्ति आधार तयार पार्छ। नियमहरू केही निश्‍चित समय वा परिस्थितिको लागि साधारणतया तोकेरै दिइएका हुन्छन्‌ तर सिद्धान्तहरू समयको परिधिमा बाँधिएका हुँदैनन्‌। (भजन ११९:१११) ईश्‍वरीय सिद्धान्तहरू कहिल्यै पुरानो हुँदैन वा अस्तित्वबाट हराएर जाँदैन। अगमवक्‍ता यशैयाका यी प्रेरित शब्दहरू सत्य साबित भए: “घाँस सुकिहाल्छ, फूल ओइलाइहाल्छ तर हाम्रा परमप्रभुको वचन सधैंभरि अटल रहनेछ।”—यशैया ४०:८.

सिद्धान्तहरूको आधारमा सोच्नुहोस्‌ र कार्य गर्नुहोस्‌

७. परमेश्‍वरको वचनले कसरी हामीलाई सिद्धान्तहरूको आधारमा सोच्न र कार्य गर्न प्रोत्साहन दिन्छ?

“परमप्रभुको वचन[ले]” बारम्बार हामीलाई सिद्धान्तहरूको आधारमा सोच्न र कार्य गर्न प्रोत्साहन दिन्छ। येशूलाई व्यवस्थाको सार बताउन आग्रह गर्दा उहाँले दुइटा कुरालाई स्पष्टसित जोड दिनुभयो—एउटा, परमेश्‍वरप्रतिको प्रेम र अर्को सँगी मानवहरूप्रतिको प्रेम। (मत्ती २२:३७-४०) यसो गर्नुहुँदा येशूले व्यवस्था ६:४, ५ मा उल्लिखित मोशालाई दिइएको व्यवस्थाको मुख्य सिद्धान्तका केही अंशहरू समेट्‌नुभयो: “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ! तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर।” स्पष्टतः येशूले लेवी १९:१८ मा उल्लिखित परमेश्‍वरको निर्देशन पनि बिर्सनुभएको थिएन। उपदेशकको पुस्तकको अन्तमा राजा सुलेमानले स्पष्ट र शक्‍तिशाली ढंगमा ईश्‍वरीय व्यवस्थाको सार यस प्रकार बताए: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन। किनभने हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्‌ हरेक गुप्त कुराको न्याय परमेश्‍वरले गर्नुहुनेछ।”—उपदेशक १२:१३, १४; मीका ६:८.

८. बाइबलका आधारभूत सिद्धान्तहरू राम्ररी बुझ्नु किन सुरक्षा हो?

त्यस्ता आधारभूत सिद्धान्तहरू राम्ररी बुझ्यौं भने हामीले निर्दिष्ट निर्देशनहरू बुझ्न र त्यसलाई व्यवहारमा उतार्न थप मदत पाउनेछौं। यसबाहेक, हामीले आधारभूत सिद्धान्तहरू पूर्णतया बुझेनौं र ग्रहण गरेनौं भने, हामी बुद्धिमानी निर्णय गर्न सक्षम हुने छैनौं र हाम्रो विश्‍वास सजिलै कमजोर हुन सक्छ। (एफिसी ४:१४) त्यस्ता सिद्धान्तहरू हाम्रो मन अनि हृदयमा ठप्प राख्यौं भने, निर्णय गर्दा हामीले ती प्रयोग गर्न सक्नेछौं। हामीले त्यस्ता सिद्धान्तहरू राम्ररी बुझेर व्यवहारमा उतार्दा त्यसबाट सफलता प्राप्त गर्न सक्छौं।—यहोशू १:८; हितोपदेश ४:१-९.

९. बाइबल सिद्धान्त बुझेर लागू गर्न किन सधैं सजिलो हुँदैन?

बाइबल सिद्धान्तहरू बुझ्नु र लागू गर्नु एकमुस्ट नियमहरू पालन गर्नु जतिको सजिलो छैन। असिद्ध मानवहरू भएको कारण हामी सिद्धान्तहरूमा तर्क गर्न चाहँदैनौं होला। निर्णयहरू गर्नुपर्दा वा के गरूँ कसो गरूँ हुँदा, हामीलाई त्यससम्बन्धी खास नियमहरू नै भइदिए हुन्थ्यो जस्तो लाग्न सक्छ। कहिलेकाहीं हामी परिपक्व मसीहीहरू जस्तै, मण्डलीको प्राचीनसँग आफ्नो परिस्थितिसँग मिल्ने खास नियम पाउने आशामा निर्देशन माग्छौं। यद्यपि, बाइबल वा बाइबल आधारित साहित्यहरूले तोकेरै खास नियमहरू नबताएको हुन सक्छ र दिइहाले तापनि ती नियम सबै समय र परिस्थितिमा लागू गर्न सकिने खालका नहुन सक्छ। एक जना मानिसले येशूलाई यस्तो प्रश्‍न गरेको विवरण सायद तपाईंले सम्झनुभएको होला: “हे गुरु, अंश बण्डा गरून्‌ भनी मेरा दाज्यूलाई भनिदिनुहोस्‌।” दाजुभाइबीचको झगडा अन्त गर्न तुरुन्तै नियम दिनुको सट्टा येशूले तिनलाई एउटा सामान्य सिद्धान्त दिनुभयो: “होशियार रहो, आफूलाई सबै किसिमका लालचबाट जोगाओ।” अतः येशूले त्यतिबेला दिनुभएको मदतकारी निर्देशन त्यतिबेला मात्र होइन अहिले पनि लाभदायक छ।—लूका १२:१३-१५.

१०. सिद्धान्तअनुसार हिंड्‌दा कसरी हाम्रो हृदयमा के छ, त्यो कुरा प्रकट हुन्छ?

१० सायद तपाईंले सजाय पाउने डरले मन नलागी नलागी नियमहरू पालन गर्ने मानिसहरू देख्नुभएको होला। सिद्धान्तहरूप्रति आदर छ भने त्यस्तो मनोवृत्ति झल्किंदैन। सिद्धान्तअनुसार हिंड्‌ने मानिसहरूलाई सिद्धान्त स्वय्‌मले त्यसलाई हृदयदेखि पालन गर्न उत्प्रेरित गर्छ। साँच्चै, प्रायजसो सिद्धान्तहरू यस्ता किसिमका हुन्छन्‌, जसमा सिद्धान्तअनुसार नचल्नेले तुरुन्तै सजाय पाउँदैन। यसले हामीलाई पनि हामी किन यहोवाको आज्ञा पालन गर्छौं र हाम्रो हृदयमा के छ, त्यो प्रकट गर्ने मौका दिन्छ। उदाहरणका लागि, यूसुफले पोतिफरकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्न इन्कार गरे। यहोवाले व्यभिचार विरुद्ध लिखित नियम दिनुभएको थिएन र अर्काको श्रीमतीसँग नाजायज सम्बन्ध राखेको खण्डमा सजाय पाइन्छ भनेर केही नभनिएको भए तापनि यूसुफलाई वैवाहिक वफादारितासम्बन्धी परमेश्‍वरले दिनुभएको सिद्धान्तबारे थाह थियो। (उत्पत्ति २:२४; १२:१८-२०) त्यस्ता सिद्धान्तहरूले तिनलाई गहिरो छाप पारेको थियो भन्‍ने कुरा यस जवाफबाट थाह पाउन सक्छौं: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्‍वरको विरुद्धमा मैले पाप गर्नु?”—उत्पत्ति ३९:९.

११. कस्ता कुराहरूमा मसीहीहरू यहोवाका सिद्धान्तहरूअनुसार हिंड्‌न चाहन्छन्‌?

११ आज, मसीहीहरू साथीहरूको छनौट, मनोरञ्जन, संगीत र पढ्‌ने विषयवस्तुजस्ता व्यक्‍तिगत मामिलाहरूको सन्दर्भमा यहोवाका सिद्धान्तहरूअनुसार हिंड्‌न चाहन्छन्‌। (१ कोरिन्थी १५:३३; फिलिप्पी ४:८) यहोवा र उहाँका स्तरहरूको ज्ञान, समझ र मूल्यांकनमा बढ्‌दै जाँदा हाम्रो अन्तस्करण, नैतिक चेतनाले हामीलाई जस्तोसुकै परिस्थिति सामना गर्नुपरे तापनि र अत्यन्तै व्यक्‍तिगत कुरामा समेत ईश्‍वरीय सिद्धान्तहरू लागू गर्न मदत गर्नेछ। बाइबलका सिद्धान्तहरूको डोऱ्‍याइ पाइसकेपछि हामी परमेश्‍वरको व्यवस्था छल्न चोरबाटो खोज्ने छैनौं न त हामी कुनै व्यवस्थालाई खासै नतोडि कहाँसम्म जान्‍न सकिंदो रहेछ भनी जाँच्नेहरूको अनुकरण नै गर्नेछौं। त्यस्तो सोचाइ आत्मघाती र हानिकारक हुन्छ भनी हामीलाई थाह छ।—याकूब १:२२-२५.

१२. ईश्‍वरीय सिद्धान्तहरूअनुसार हिंड्‌न मदत गर्ने मुख्य कुरा के हो?

१२ ईश्‍वरीय सिद्धान्तहरूअनुसार हिंड्‌न चाहिने मुख्य कुरा कुनै पनि सम्बन्धित विषयबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनी बुझ्ने कोसिस गर्नु हो भनेर परिपक्व मसीहीहरूले बझेका हुन्छन्‌। “हे परमप्रभु[लाई] प्रेम गर्ने हो, खराबीलाई घृणा गर” भनी भजनरचयिता आग्रह गर्छन्‌। (भजन ९७:१०) परमेश्‍वरले खराब ठान्‍नुहुने कुराहरूको सूची बनाउँदै हितोपदेश ६:१६-१९ मा यसो भनिएको छ: “छवटा कुरालाई परमप्रभु घृणा गर्नुहुन्छ, सातवटा कुरादेखि उहाँ घिनाउनुहुन्छ अहंकारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन, र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा, धेरै असत्य बोल्ने झूटा गवाही, र दाज्यू-भाइहरूका बीचमा झगड़ा उठाउने मानिस।” हाम्रो जीवनसँग सम्बन्धित त्यस्ता आधारभूत कुरामा यहोवाले कस्तो महसुस गर्नुहुन्छ भनी मनन गर्दा सिद्धान्तहरूअनुसार जीवन बिताउने बानी बस्छ।—यर्मिया २२:१६.

असल मनोवृत्ति आवश्‍यक छ

१३. येशूले डाँडाको उपदेशमा कस्तो प्रकारको सोचाइलाई जोड दिनुभयो?

१३ सिद्धान्तहरू थाह पाएर आफ्नो जीवनमा लागू गर्दा हामी फोस्रो, निराधार उपासनाहरूको पासोमा फस्नबाट जोगिन्छौं। सिद्धान्तहरू पालन गर्नु र नियमहरू हुबहु पालन गर्नुबीच भिन्‍नता छ। येशूले यस कुरालाई डाँडाको उपदेशमा स्पष्ट पार्नुभयो। (मत्ती ५:१७-४८) स्मरण रहोस्‌, येशूका श्रोताहरू यहूदीहरू भएका कारण तिनीहरू मोशालाई दिइएको व्यवस्थाअनुरूप हिंड्‌नुपर्थ्यो। तर वास्तवमा भन्‍ने हो भने, व्यवस्थाप्रति तिनीहरूको टेढो धारणा थियो। तिनीहरूले व्यवस्थाको भाव बुझ्नुको सट्टा व्यवस्थाका सानातिना कुरामा जिद्दी गर्न थाले। अनि तिनीहरूले परमेश्‍वरको शिक्षामा भन्दा आफ्नै परम्पराहरूमा जोड दिन थाले। (मत्ती १२:९-१२; १५:१-९) फलस्वरूप, मानिसहरूलाई कुनै पनि सम्बन्धित विषयमा कस्तो सिद्धान्त मुछिएको छ भनी सोच्न सिकाइएन।

१४. येशूले कसरी आफ्ना श्रोताहरूलाई सिद्धान्तहरू विचार गर्न मदत गर्नुभयो?

१४ त्यसको ठीक विपरीत, येशूले डाँडाको उपदेशमा बताउनुभएका सिद्धान्तहरू नैतिकताका पाँचवटा पक्षसित सम्बन्धित छन्‌: रिस, विवाह र सम्बन्ध विच्छेद, वचनबद्धता, बदला अनि प्रेम तथा घृणा। हरेक बुँदामा येशूले सिद्धान्त पालन गर्नुको फाइदा देखाउनुभयो। यस प्रकार येशूले आफ्ना अनुयायीहरूको नैतिक स्तर उकास्नुभयो। उदाहरणका लागि, व्यभिचारको सन्दर्भमा उहाँले दिनुभएको सिद्धान्तले हाम्रो कार्य मात्र होइन तर सोचाइ तथा इच्छाहरूलाई पनि सुरक्षा प्रदान गर्छ: “जसले कोही स्त्रीलाई खराब इच्छाले हेर्दछ, त्यसले अघिबाटै त्यसको हृदयमा व्यभिचार गरिसकेको हुन्छ।”—मत्ती ५:२८.

१५. व्यवस्थामा जिद्दी गर्ने झुकाउबाट हामी कसरी टाढै बस्न सक्छौं?

१५ यस उदाहरणबाट कुन कुरा स्पष्ट हुन्छ भने, हामीले कहिल्यै यहोवाका सिद्धान्तहरूको मनसाय र भाव बिर्सनुहुँदैन। देखावटी रूपमा मात्र नैतिक जीवन बिताएर हामीले परमेश्‍वरको अनुमोदन कदापि खोज्नुहुँदैन। यहोवाको कृपा र प्रेमलाई औंल्याउँदै येशूले त्यस्तो छली मनोवृत्तिको पर्दाफास गर्नुभयो। (मत्ती १२:७; लूका ६:१-११) बाइबलका सिद्धान्तहरू पालन गर्दा हामी के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्‍ने तीन थुप्रो नियमहरूको आधारमा जीवन बिताउने (वा अरूबाट पनि त्यस्तै माग गर्ने) गर्दैनौं र यो बाइबलका शिक्षाहरूअनुरूप पनि होइन। हामी उपासनाको बाहिरी रूपभन्दा परमेश्‍वरतर्फ प्रेम र आज्ञाकारिताको सिद्धान्तबारे बढी चिन्तित हुनेछौं।—लूका ११:४२.

आनन्ददायी नतिजा

१६. मूलभूत बाइबल सिद्धान्तहरूमा आधारित केही व्यवस्थाहरूको उदाहरण दिनुहोस्‌।

१६ यहोवाको आज्ञा पालन गर्ने प्रयास गर्दा उहाँका व्यवस्थाहरू कस्ता मूलभूत सिद्धान्तहरूमा आधारित छन्‌ भनी बुझ्नु महत्त्वपूर्ण छ। उदाहरणका लागि, मसीहीहरू मूर्तिपूजा, यौन अनैतिकता र रगतको दुरुपयोगबाट अलग रहनुपर्छ। (प्रेरित १५:२८, २९) यस्ता विषयहरूमा मसीही अडानको आधार के हो? परमेश्‍वर हामीबाट ऐकान्तिक भक्‍ति चाहनुहुन्छ; हामी आफ्नो जीवनसाथीप्रति वफादार हुनुपर्छ; र यहोवा जीवनदाता हुनुहुन्छ। (उत्पत्ति २:२४; प्रस्थान २०:५; भजन ३६:९) यी महत्त्वपूर्ण सिद्धान्तहरू बुझेपछि सम्बन्धित व्यवस्थाहरू स्वीकार्न र पालन गर्न सजिलो हुन्छ।

१७. बाइबल सिद्धान्तहरू बुझेर जीवनमा लागू गर्दा कस्ता लाभहरू हुन्छन्‌?

१७ आधारभूत सिद्धान्त बुझेर त्यसलाई आफ्नो जीवनमा लागू गर्दा ती हाम्रै भलाइका निम्ति हुन्‌ भनेर बुझ्नेछौं। परमेश्‍वरका जनहरूले अनुभव गरेका आध्यात्मिक आशिष्‌हरूमा अक्सर प्रत्यक्ष लाभहरू पनि समावेश छन्‌। उदाहरणका लागि, चुरोट सेवन नगर्ने, नैतिक जीवन यापन गर्ने र रगतको पवित्रतालाई आदर गर्ने मानिसहरू थुप्रै रोगको सिकार हुनबाट जोगिन्छन्‌। त्यसै गरी, ईश्‍वरीय सत्यअनुसार जीवन बिताउँदा हामीलाई आर्थिक, सामाजिक वा पारिवारिक क्षेत्रमा फाइदा हुन सक्छ। त्यस्ता प्रत्यक्ष फाइदाहरूबाट यहोवाका स्तरहरू साँच्चै व्यावहारिक छन्‌ भनी प्रमाणित हुन्छ। तर परमेश्‍वरका सिद्धान्तहरू आफ्नो जीवनमा लागू गर्नुको मुख्य कारण त्यस्ता प्रत्यक्ष लाभहरू होइनन्‌। साँचो मसीहीहरूले यहोवाको आज्ञा पालन गर्छन्‌ किनभने तिनीहरू उहाँलाई प्रेम गर्छन्‌, उहाँ मात्र तिनीहरूको उपासनाको योग्य हुनुहुन्छ र यसो गर्नु उचित छ।—प्रकाश ४:११.

१८. हामी सफल मसीही हुन चाहन्छौं भने, कुन कुराले हामीलाई डोऱ्‍याउनुपर्छ?

१८ बाइबल सिद्धान्तहरूअनुसार जीवन बिताउँदा त्यसले हामीलाई सर्वोत्कृष्ट जीवनतर्फ डोऱ्‍याउँछ र त्यसले अरूलाई परमेश्‍वरको मार्गतर्फ आकर्षित गर्न सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, हाम्रो जीवनशैलीले यहोवाको आदर गर्छ। यहोवा हाम्रै भलाइ चाहनुहुने मायालु परमेश्‍वर हुनुहुन्छ भनी हामीले बुझ्नेछौं। बाइबल सिद्धान्तहरूअनुरूप निर्णय गर्दा र यहोवाले हामीलाई कसरी आशिष्‌ दिनुहुन्छ भनी थाह पाउँदा हामी उहाँसँग झनै घनिष्ठ महसुस गर्न सक्छौं। हो, हामी हाम्रो स्वर्गमा हुनुहुने पितासँग झन्‌ नजिकको सम्बन्ध विकास गर्न सक्छौं।

के तपाईंलाई सम्झना छ?

• सिद्धान्त भनेको के हो?

• व्यवस्था र सिद्धान्त कसरी फरक-फरक कुरा हुन्‌?

• हामीले सिद्धान्तहरूको आधारमा सोच्नु र कार्य गर्नु किन लाभदायी हुन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको पेटी]

विल्सन नाउँ गरेका घानाका एक जना मसीहीले आफूलाई केही दिनपछि जागिरबाट निकालिने सूचना पाए। जागिरको अन्तिम दिनमा तिनलाई कम्पनीको प्रबन्ध निर्देशकको गाडी धुने काम दिइयो। विल्सनले गाडी धुँदा गाडीमा ठूलो रकम भेट्टाए र तिनीभन्दा माथिको हाकिमले तिनी जागिरबाट निकालिने भएकोले परमेश्‍वरले नै जुटाइदिनुभएको हो भने। तथापि, इमानदारीको सन्दर्भमा बाइबल सिद्धान्तलाई व्यवहारमा उतार्दै तिनले त्यो पैसा प्रबन्धक निर्देशकलाई बुझाए। निर्देशक छक्क पर्नुका साथै प्रभावित भए अनि विल्सनलाई तुरुन्तै स्थायी जागिर दिनुको अलावा कम्पनीमा तिनलाई उच्च पदमा पदोन्‍नति गरिदिए।—एफिसी ४:२८.

[पृष्ठ २०-मा भएको पेटी]

रूकिया ६० वर्ष नाघिसकेकी अल्बेनियाली आइमाई हुन्‌। पारिवारिक झगडाको कारण तिनले आफ्नो दाइसँग कुरा नगरेको १७ वर्षभन्दा बढी भइसकेको थियो। तिनले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌ र साँचो मसीहीहरूले अरूसँग रिसराग राख्नुहुँदैन तर शान्ति कायम गर्नुपर्छ भन्‍ने कुरा सिकिन्‌। तिनले रातभर प्रार्थना गरिन्‌ र डराउँदै आफ्नो दाइको घरमा गइन्‌। तिनको भान्जीले ढोका खोलिन्‌। छक्क पर्दै तिनले रूकियालाई यस्तो प्रश्‍न गरिन्‌: “को मऱ्‍यो? किन आउनुभएको यहाँ?” रूकियाले आफ्नो दाइसँग भेट्‌न चाहेको कुरा बताइन्‌। तिनले बाइबल सिद्धान्तहरू र यहोवाबारे सिकेपछि आफ्नो दाइसँग शान्ति कायम गर्न उत्प्रेरित भएको कुरा बिस्तारै बताइन्‌। दुवैले हर्षका आँसु बगाउँदै एकअर्कालाई अंकमाल गरेर यस विशेष पुनर्मिलनको उपलक्ष्यमा खुसीयाली मनाए!—रोमी १२:१७, १८.

[पृष्ठ २३-मा भएको चित्र]

मत्ती ५:२७, २८

[पृष्ठ २३-मा भएको चित्र]

मत्ती ५:३

[पृष्ठ २३-मा भएको चित्र]

मत्ती ५:२४

[पृष्ठ २३-मा भएको चित्र]

“भीडलाई देखेर उहाँ डाँडामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। औ उहाँले मुख खोलेर तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो।”—मत्ती ५:१, २