सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

“येशूको नाउँमा” भन्‍ने शब्द नचलाईकन परमेश्‍वरलाई प्रार्थना गर्नु के उचित हो?

यहोवालाई प्रार्थना गर्न चाहने मसीहीहरूले येशूको नाउँमा गर्नुपर्छ भनेर बाइबलले बताउँछ। येशूले आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” उहाँले अझै यसो पनि भन्‍नुभयो: “जेसुकै तिमीहरू मेरो नाउँमा मागौला, त्यो पुत्रमा पिताको महिमा होस्‌ भनेर म गर्नेछु। तिमीहरूले मेरो नाउँमा केही माग्यौ भने, त्यो म गर्नेछु।”—यूहन्‍ना १४:६, १३, १४.

येशूको अद्वितीय ओहदालाई संकेत गर्दै, साइक्लोपीडिया अफ बिब्लिकल, थिओलोजिकल, एण्ड एक्लिजियास्टिकल लिट्रेचर यसो भन्छ: “प्रार्थना परमेश्‍वरलाई गरिन्छ र येशू ख्रीष्ट मध्यस्थ हुनुहुन्छ। त्यसैकारण, सन्त तथा स्वर्गदूतहरूलाई गरिने सबै बिन्तीहरू व्यर्थ मात्र होइन तर निन्दनीय पनि छ। सृष्टि भएको बस्तु जति नै महान्‌ भए तापनि सृष्टिलाई गरिने सबै प्रकारको उपासना मूर्तिपूजा हो र परमेश्‍वरको पवित्र व्यवस्थामा यसलाई पूर्णतया निषेध गरिएको छ।”

कसैले सन्तोषजनक अनुभव गरेपछि “येशूको नाउँमा” नभनिकन केवल “धन्यवाद यहोवा” मात्र भन्यो भने नि? के यसो गर्नु अनुचित हुन्छ? हुँदैन। मानिलिनुहोस्‌, कुनै मसीही अचानक खतरामा पर्दा “हे यहोवा, मलाई मदत गर्नुहोस्‌!” भनेर चिच्याउँछ। “येशूको नाउँमा” भनेन भन्दैमा परमेश्‍वर आफ्नो सेवकलाई मदत गर्न पक्कै पनि पछि सर्नुहुनेछैन।

तथापि, ध्यान दिनु पर्ने कुरा के हो भने, परमेश्‍वरलाई ठूलो स्वरले पुकार्नु मात्र पनि प्रार्थना होइन। उदाहरणका लागि, आफ्नो भाइ हाबिललाई मारेको कारण यहोवाले कयिनलाई सजाय तोक्नुहुँदा उसले भन्यो: “मैले सहनै नसक्ने कड़ा दण्ड मलाई भयो। हेर्नुहोस्‌, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुभयो, औ तपाईंको उपस्थितिबाट मैले लुक्नुपर्नेछ। म पृथ्वीमा भगुवा र डुलुवा हुनेछु, औ मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।” (उत्पत्ति ४:१३, १४) कयिनले यहोवालाई सम्बोधन गरेर आफ्नो कुरा भने तापनि उसले पापको नमीठो नतिजाबारे गुनासो गर्दै थियो।

बाइबल हामीलाई यसो भन्छ: “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” साधारण मानिसलाई जस्तो गरी अनौपचारिक ढंगमा सर्वोच्चलाई सम्बोधन गर्दा पक्कै पनि विनम्रता झल्कँदैन। (याकूब ४:६; भजन ४७:२; प्रकाश १४:७) येशूको भूमिकाबारे बाइबलले के भन्छ भनी थाह पाउँदा-पाउँदै पनि जाना-जानी येशू ख्रीष्टलाई कुनै मान्यता नदिई प्रार्थना गर्नु अनादरपूर्ण हुनेछ।—लूका १:३२, ३३.

यसको मतलब यहोवाले एक प्रकारको शैली र एकैनासे कण्ठस्थ प्रार्थना चाहनुहुन्छ भन्‍ने होइन। मुख्य कुरा मानिसको हृदयको अवस्था हो। (१ शमूएल १६:७) सा. यु. प्रथम शताब्दीमा कर्नीलियस नाउँका रोमी सैनिक अधिकृतले “परमेश्‍वरमा सधैं प्रार्थना गर्नेगर्थे।” खतना नभएका अन्यजाति कर्नीलियस, यहोवाप्रति समर्पित थिएनन्‌। त्यसैकारण, तिनले येशूको नाउँमा प्रार्थना गरेको हुनसक्दैन, तर पनि तिनको प्रार्थना ‘परमेश्‍वरको सामने पुग्यो।’ किन? “मानिसको मन जाँच” गर्नुहुनेले कर्नीलियस ‘भक्‍त र परमेश्‍वरको भय मान्‍ने’ भएको कुरा देख्नुभयो। (प्रेरित १०:२, ४; हितोपदेश १७:३) “नासरतका येशू  [बारे]” ज्ञान प्राप्त गरेपछि कर्नीलियसले पवित्र आत्मा पाए र येशूको बप्तिस्मा प्राप्त चेला भए।—प्रेरित १०:३०-४८.

निष्कर्षमा भन्‍ने हो भने, परमेश्‍वरले कस्तो प्रार्थना सुन्‍नुहुन्छ, भनेर निर्णय गर्ने जिम्मा मानिसहरूको होइन। कुनै मसीहीले परमेश्‍वरलाई प्रार्थना गर्दा कहिलेकाहीं “येशूको नाउँमा” भन्‍ने अभिव्यक्‍ति छुटाएमा आफूलाई दोषी महसुस गर्नुपर्ने आवश्‍यकता छैन। यहोवा हाम्रा सीमितताहरूप्रति पूर्णतः सचेत हुनुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ। (भजन १०३:१२-१४) हामीले “परमेश्‍वरको पुत्र[मा]” विश्‍वास राख्यौं भने “उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ” भन्‍ने कुरामा हामी ढुक्क हुनसक्छौं। (१ यूहन्‍ना ५:१३, १४) तथापि, विशेष गरी सार्वजनिक प्रार्थनामा अरूहरूको प्रतिनिधित्व गर्दा साँचो मसीहीहरूले यहोवाको उद्देश्‍यमा येशूको भूमिकाबारे धर्मशास्त्रमा दिइएको कुरालाई स्वीकार्छन्‌। अनि तिनीहरू येशूद्वारा परमेश्‍वरलाई प्रार्थना गरेर आज्ञाकारितापूर्वक उहाँको आदर गर्ने कोसिस गर्छन्‌।