फिलिपिन्सका पर्वतहरूमा परमेश्वरको प्रशंसा गर्दै
फिलिपिन्सका पर्वतहरूमा परमेश्वरको प्रशंसा गर्दै
तपाईंलाई फिलिपिन्स एउटा टापुजस्तो लाग्छ भने तपाईंको सोचाइ ठीकै हो। तर यो मनै लोभ्याउने पर्वतहरूको देश पनि हो। यहोवाका साक्षीहरूको लागि शहर र समतल भूभागहरूमा प्रचार गर्ने काम अलि सजिलो र प्रभावकारी भएको छ। तथापि, पर्वतीय क्षेत्रमा भने कुरा बेग्लै छ।
यस देशका अग्ला पर्वतहरू, बलौटे समुद्री किनार, मुगाको चट्टान, माछा मार्ने कामको लागि प्रख्यात गाउँ, समतल टापुहरूमा अवस्थित व्यस्त शहरहरूभन्दा एकदमै भिन्न छन्। यी पर्वतहरूले गर्दा परमेश्वरको राज्यको “सुसमाचार” प्रचार गर्ने काम पनि त्यत्ति सजिलो छैन।—मत्ती २४:१४.
दुइटा विवर्तनिक प्लेटहरू एक अर्कासित जुधिने क्षेत्रमा फिलिपिन्सका टापुहरू अवस्थित छन्। जमिनको खुम्च्याइले गर्दा यस क्षेत्रका ठूलठूला टापुहरूमा ठाडो पहाडी भीरहरू उत्पत्ति भएका छन्। लगभग ७,१०० भन्दा धेरै टापुहरू मिलेर बनेको फिलिपिन्स, प्रशान्त अग्नि घेराको पश्चिमी वृत्त खण्डमा अवस्थित छन्। त्यसैले, ती टापुहरूमा ज्वालामुखीहरू फैलिएका छन् जसले गर्दा पहाडी भूभागहरूको उत्पत्ति हुन्छन्। यस्ता उबडखाबड भूबनोटले गर्दा पर्वतीय क्षेत्रमा बस्ने मानिसहरू अरूबाट अलग्गै भएका छन्। तिनीहरूकहाँ पुग्न गाह्रो छ किनकि ती क्षेत्रहरूमा मोटर गुड्ने बाटाहरू निकै कम छन्।
यस्ता विघ्नबाधाहरूको बावजूद, यहोवाका साक्षीहरूले “सबै मानिसहरू[कहाँ]” पुग्नु पर्ने आवश्यकतालाई बुझेका छन्। (१ तिमोथी २:४) त्यसैकारण, फिलिपिन्सका साक्षीहरूले यशैया ४२:११, १२ मा लिपिबद्ध यस्तो मनोभावअनुरूप काम गरिरहेका छन्: “तिनीहरू पर्वतका टाकुराबाट कराऊन्। तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र समुद्र किनारका देशहरूमा उहाँको प्रशंसाको प्रचार गरून्।”
पर्वतीय क्षेत्रमा बस्ने मानिसहरूलाई साक्षी दिन भरमग्दुर प्रयास थालिएको ५० वर्षभन्दा बढी भइसक्यो। दोस्रो विश्व युद्धपछि मिसनरीहरूले यस कार्यलाई अझ तीव्र बनाउन मदत गरे। धेरै स्थानीय बासिन्दाहरूले बाइबल सत्यलाई खुसीसाथ स्वीकारे फलस्वरूप, यस सत्यलाई पर्वतीय क्षेत्रको टाढा-टाढाको गाउँसम्म फैलाउने काममा सहयोग गरे। यसबाट राम्रो परिणाम प्राप्त भयो। उदाहरणको लागि, उत्तरी लुजनको पर्वतीय क्षेत्रहरूमा ६,००० भन्दा बढी सुसमाचारका प्रकाशकहरू छन्।
तिनीहरूमध्ये धेरैजसो इबालोइ, इफुगाउ र कालिंगाजस्ता स्थानीय बासिन्दाहरू हुन्।यद्यपि, पर्वतीय क्षेत्रमा पुग्न गाह्रो इलाकाहरू अझै छन्। त्यस्ता क्षेत्रमा बस्ने मानिसहरूलाई पनि बिर्सिएको छैन। त्यहाँ कसरी पुग्न सकिएको छ अनि परिणाम कस्तो भएको छ?
परम्पराहरूको सट्टा साँचो विश्वास
लुजनको उत्तरी टापुमा अवस्थित अब्रा प्रान्तको पर्वतीय क्षेत्रहरूमा टिंगीहरू बसोबास गर्छन्। यो नाउँ पुरातन मलाये शब्द टिंगीबाट उत्पत्ति भएको हुनसक्छ जसको अर्थ “पर्वत” हो। कस्तो सुहाउँदो नाउँ! त्यहाँ मानिसहरूले आफूलाई अनि आफ्नो भाषालाई पनि इटनेग भनेर चिनाउँछन्। तिनीहरू काबुनियान भन्ने देवतालाई विश्वास गर्छन् अनि तिनीहरूको दैनिक जीवन अन्धविश्वासले एकदमै प्रभावित छ। उदाहरणको लागि, कतै जान तरखर गरिरहेको व्यक्तिले हाच्छिउँ गरेमा यसलाई अपशकुन मानिन्छ। त्यस व्यक्तिले खराब प्रभावहरू हटोस् भनेर केही बेर कुर्नै पर्ने हुन्छ।
क्योथोलिक धर्म विस्तार गर्न सन् १५७२ मा स्पेनीहरू आए तर तिनीहरूले टिंगीहरूलाई साँचो मसीही धर्म सिकाउन सकेनन्। क्थोलिक धर्म अपनाउने टिंगीहरूले पनि काबुनियानप्रतिको आफ्नो विश्वासलाई त्याग्न सकेनन् र आफ्ना परम्परागत रीतिथितिहरू अनुसरण गर्न छोडेनन्। यहोवाका साक्षीहरूले १९३० को दशकमा यी पर्वतीय क्षेत्रहरूमा राज्य सन्देश फैलाउन सुरु गर्दा यी मानिसहरूकहाँ पहिलो चोटि बाइबलको सही ज्ञान पुगेको थियो। त्यतिबेला देखि नै धेरै निष्कपट टिंगीहरूले “पर्वतका टाकुराबाट” यहोवाको महिमा गर्न थालेका छन्।
उदाहरणको लागि, लिङबाउन पहिले त्यस क्षेत्रका सम्मानित मुखिया थिए। उनी टिंगी रीतिथितिमा चुर्लुम्म डुबेका थिए। “म टिंगी परम्पराहरूमा कट्टर थिएँ। कुनै व्यक्ति मारियो भने लास गाडिसकेपछि हामी नाच्थ्यौं र घण्टा बजाउँथ्यौं। हामी जनावरहरूको बलि पनि चढाउँथ्यौं। हामी काबुनियानमाथि विश्वास गर्थ्यौं अनि मलाई बाइबलको परमेश्वरबारे थाह थिएन।” आफूलाई क्याथोलिक भने तापनि उनी यी सबै गर्थे।
यहोवाका साक्षीहरू त्यस इलाकामा प्रचार गर्न आए। तिनीहरूले लिङबाउनलाई भेटे अनि बाइबल पढ्न प्रोत्साहित
गरे। उनी यसरी सम्झन्छन्: “यहोवा, साँचो परमेश्वर हुनुहुन्छ भनेर मलाई विश्वस्त गराउने बाइबल नै थियो।” त्यसपछि एक जना साक्षीले उनीसित बाइबल अध्ययन गरे अनि लिङबाउनले साँचो परमेश्वरको सेवा गर्ने निर्णय गरे। उनले मुखियाको पद अनि आफ्ना सबै पुराना चालचलनहरूलाई छाडे र यसो गर्दा स्थानीय पादरी अनि उनका पहिलेका साथीहरू रिसाए। तथापि, आफूले बाइबलमा भेट्टाएको सच्चाइलाई पछ्याउन लिङबाउन कटिबद्ध थिए। उनी अहिले मण्डलीको प्रचीनको हैसियतमा सेवा गर्छन्।सात दिन र छ रात
अब्राका केही भागका मानिसहरूले अहिले नियमित तवरमा सुसमाचार सुन्ने मौका पाए तापनि कतिपय स्थानहरू एकदमै दुर्गम छन् र त्यहाँका मानिसहरूले कहिलेकाहीं मात्र सुसमाचार सुन्ने मौका पाउँछन्। केही समय पहिले, यीमध्ये एउटा इलाकामा पुग्ने प्रयास गरियो। कसैलाई नखटाइएको अब्राको टिनेगमा प्रचार गर्न ३५ जना साक्षीहरूको एउटा समूहले यात्रा थाले र त्यो इलाकामा प्रचार नगरेको २७ वर्ष भइसकेको थियो।
यस प्रचार अभियानको लागि सात दिन हिंड्नुपर्ने थियो। कल्पना गर्नुहोस्, कहिल्यै सुसमाचार नसुनेका व्यक्तिहरूलाई प्रचार गर्न आवश्यक सरसामनाहरू आफैं बोकी, झोलुङ्गे पुल अनि गहिरा नदीनालाहरूका साथै पर्वतमालाहरू पनि हिंडेरै पार गर्नुपर्ने! पदयात्राको दौडान बिताइएका ६ रातहरूमा ४ रात त चिसो हिमाली हावासित बाहिरै बिताइयो।
केही बलिया साक्षीहरूले यात्राका लागि खानेकुराहरू बोके तापनि पूरै यात्राको लागि पुग्दो खानेकुरा बोक्न सकेनन्। यद्यपि, खानेकुराको लागि कुनै समस्या भएन किनकी बाइबल आधारित प्रकाशनहरूसित खानेकुरा साट्न पाउँदा मानिसहरू निकै खुसी थिए। साक्षीहरूले प्रशस्त मात्रामा अन्न, माछा अनि मृगका मासु पाए। केही असुविधाहरू भोग्नु परे तापनि त्यस समूहले यसो भन्यो: “हामीले अनुभव गरेको अथाह आनन्दको ठाउँमा यी त्यागहरू त केही पनि होइनन्।”
सात दिनको दौडान यी सेवकहरूले दसवटा गाउँमा साक्षी दिंदै ६० वटा पुस्तक, १८६ वटा पत्रिका, ५० वटा पुस्तिका र धेरै पर्चाहरू वितरण गरे। तिनीहरूले ७४ वटा विभिन्न समूहहरूलाई बाइबल अध्ययन कसरी गरिन्छ भनी देखाए। टिनेग शहरमा स्थानीय अधिकारी तथा केही गन्यमान्य नागरिकहरूको अनुरोधमा मण्डलीको सभा पनि आयोजना गरियो र ७८ जना उपस्थित भए। उपस्थित हुनेहरूमा प्रायः शिक्षक तथा प्रहरीहरू थिए। आशा छ, अझ धेरै टिंगीहरू यस ‘आनन्दले गाउने’ काममा सहभागी हुनेछन् अनि पर्वतका टाकुराहरूबाट यहोवाको प्रशंसा गर्नेछन्।
सुनभन्दा उत्तम
स्पेनीहरूले सुन खानी पत्ता लगाएको ठाउँ फिलिपिन्सको सुदूर दक्षिण भागका टापुहरू हुन्। त्यसैले, त्यस क्षेत्रलाई मिनडोरा भन्ने नाउँ दिइयो र यो स्पेनी भाषामा “सुनको खानी” अर्थ लाग्ने मिना डि ओरो-को छोटकरी रूप हो। यद्यपि, अहिले ती टापुहरूमा सुनभन्दा उत्तम कुरा फेला परेको छ अर्थात् साँचो परमेश्वर यहोवाको सेवा गर्न चाहने मानिसहरू।
मिनडोराको भित्री भागमा रहेको दुर्गम जंगलमा बसोबास गर्ने लगभग १,२५,००० आदिवासीहरूलाई मांगयान भनिन्छ। तिनीहरू सरल जीवन बिताउँछन्, बाहिरी संसारसित तिनीहरूको कमै मात्र सम्पर्क हुन्छ अनि तिनीहरूको आफ्नै भाषा छ। तिनीहरूमध्ये अधिकांश व्यक्तिहरू आत्मावादी तथा बहुदेववादीहरू हुन् अनि तिनीहरू
प्रकृतिमा भएका विभिन्न आत्माहरूमाथि विश्वास गर्छन्।खानेकुरा वा अन्य आवश्यक सामग्रीहरूको अभाव हुँदा कहिलेकाहीं कोही-कोही मांगयानहरू कामको खोजीमा तटवर्तीय इलाकाहरूमा आउने गर्छन्। पायलिंगको कुरा पनि यस्तै थियो। उनी बाटांगान भनिने मांगयान जातिकै उपसमूहका थिए। उनी पर्वतीय जंगलमा आफ्नै मानिसहरूको समूहमा हुर्केका थिए र उनले बाटांगान विश्वास तथा रीतिथितिहरू नै मान्थे। तिनीहरू लुगाको नाउँमा कछाड मात्र लगाउँथे। बाटांगान परम्पराअनुसार राम्रो उब्जनीको लागि उपासकहरूले कुखुरा मारेर प्रार्थना गरुन्जेल पानीमा रगत बगाउनुपर्थ्यो।
पायलिंगले अब त्यस्ता परम्पराहरू मान्दैनन्। किन? पहाडबाट ओर्लंदा तिनले यहोवाका साक्षीहरूको परिवारहरूसित काम पाए। त्यसमध्ये एउटा परिवारले यस मौकाको सदुपयोग गरी पायलिंगलाई बाइबल सत्य सुनाए। उनले खुसीसाथ सत्य स्वीकारे र मानिसजाति अनि पृथ्वीको लागि यहोवाको उद्देश्यबारे सिकेका कुराहरूको ठूलो कदर गरे। तिनीहरूले उनलाई प्राथमिक स्कूलमा पढाउनुका साथै बाइबल अध्ययनको पनि प्रबन्ध मिलाए। पायलिंगले २४ वर्षको उमेरमा यहोवाका साक्षीको हैसियतमा बप्तिस्मा लिए। उनी ३० वर्षको उमेरमा उच्च माध्यामिक तहको दोस्रो वर्षमा पढ्दैथिए र उनले स्कूललाई नै आफ्नो प्रचार इलाका बनाए। अहिले तिनीहरूले उनलाई रोलान्डो (समतल भूमिमा बोलाउने नाउँ) भनेर बोलाउँछन्।
तपाईंले अहिले रोलान्डोलाई भेट्नु भयो भने, सफा चिटिक्क पोशाक लगाएर मुस्कुराइरहेको सेवकको रुपमा देख्नुहुनेछ जो अहिले पूर्ण-समय प्रचारक अनि सेवकाई सेवकको हैसियतमा मिनडोरोको एउटा मण्डलीमा सेवा गर्दैछन्। हालै रोलान्डो पहाडमा फर्किए तर आफ्नो बाटांगान जातिको परम्पराहरूमा सामेल हुन होइन बरु, तिनीहरूलाई जीवनदायी बाइबल सत्य सुनाउन।
राज्यभवनको तीव्र चाहना
सेबुआनोस्थित बुकिडनोन प्रान्तको अर्थ “पर्वतका मानिसहरू” हो, यो क्षेत्र मिन्डानो टापुको दक्षिणी भागमा अवस्थित छ। यो पर्वत, खोंच, नदीनाला अनि पठारहरूको क्षेत्र हो। यहाँका उर्वर भूमिमा भुइँकटहर, मकै, कफी, चामल तथा केरा उब्जनी हुन्छ। यहाँ उच्च पर्वतीय भूमिका तालानडिग अनि हिगाओनोन जातिहरू बसोबास गर्छन्। यी मानिसहरूले पनि यहोवाबारे सिक्नु आवश्यक छ। हालसालै, तालाकाग शहरको नजिकै एकदमै चाखलाग्दो ढंगमा यिनीहरूलाई साक्षी दिने मौका मिल्यो।
साक्षीहरू उच्च पहाडी इलाकामा प्रचार गर्न जाँदा चिसो मौसम थियो तर मानिसहरूले न्यानो स्वागत गरेको अनुभव गरे। स्थानीय मानिसहरूले सर्वशक्तिमान् परमेश्वर अर्थात् पितालाई विश्वास गर्ने दाबी त गर्थे तर तिनीहरूलाई उहाँको नाउँ भने थाह थिएन। तिनीहरूले अधिकांश समय जंगलमा बिताउने हुनाले यहोवाका साक्षीहरूसित तिनीहरूको यो पहिलो भेटघाट थियो। तिनीहरूलाई परमेश्वर नाउँ अनि उहाँको राज्यबारे अद्भुत प्रतिज्ञाहरू बताइयो। मानिसहरू रमाए, त्यसैले तिनीहरूको गाउँमा फेरि फर्कने निर्णय गरियो।
त्यसपछि, त्यहाँ धेरै चोटि फर्केर गइयो। फलस्वरूप, स्थानीय मानिसहरूले यहोवाका साक्षीहरूको “भवन” बनाउन जमिन दिने प्रस्ताव राखे। साक्षीहरूले खुसीसाथ प्रस्ताव स्वीकार गरे। यो जमिन पहाडको टुप्पामा थियो र त्यहाँबाट हेर्दा पूरै बाटो देखिन्थ्यो। काठ, बाँस र खजूरका पातहरू प्रयोग गरेर भवन निर्माण गरियो। निर्माणको काम तीन महिना दस दिन लगाएर पूरा गरियो। भवनको अगाडि सबैले देख्ने गरी “यहोवाका साक्षीहरूको राज्यभवन” लेखिएको बोर्ड राखियो। यसो सोच्नुहोस् त, मण्डली स्थापना गर्नुअघि नै राज्यभवन!
त्यसपछि, पूर्ण-समय सेवकको काम गरिरहेका मण्डलीको एक जना प्राचीन र सेवकाई सेवक त्यहाँ बसाइँ सरे। वरपरका इलाकाका साक्षीहरूसित मिलेर तिनीहरूले मण्डली खडा गर्ने लक्ष्य लिएर काम गर्न थाले। अगस्त १९९८ मा तिनीहरूको लक्ष्य साकार भयो। अहिले यो सानो मण्डलीले पर्वतीय क्षेत्रका मानिसहरूलाई बाइबल सत्य सिकाउन राज्यभवनको पूर्ण उपयोग गरिरहेका छन्।
साँच्चै, यहोवाले फिलिपिन्समा आफ्ना इच्छुक सेवकहरूलाई पुग्नै गाह्रो पर्वतीय क्षेत्रहरूमा समेत राज्यको सत्य फैलाउन असाध्यै प्रयोग गरिरहनुभएको छ। यसले हामीलाई यशैया ५२:७ का यी शब्दहरूको सम्झना दिलाउँछ: “शुभ समाचार ल्याउनेको खुट्टा डाँड़ाहरू हुँदो कति सुन्दर छ।”
[पृष्ठ ११-मा भएको नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
अब्रा
मिनडोरो
बुकिडनोन
[स्रोत]
Globe: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.
[पृष्ठ १०-मा भएका चित्रहरू]
पर्वतीय क्षेत्रहरूमा प्रचार गर्न थुप्रै उकालोओरालो भूभागहरूमा घण्टौं पदैल यात्रा गर्नुपर्छ
[पृष्ठ १०-मा भएको चित्र]
पर्वतीय झरनामा बप्तिस्मा