रसलका लेखहरूको मूल्यांकन गर्ने दुई जना पादरीहरू
रसलका लेखहरूको मूल्यांकन गर्ने दुई जना पादरीहरू
सन् १८९१ मा, मसीही उपासकहरू माझ उल्लेखनीय काम गर्ने चार्ल्स टेज रसलले पहिलो पटक युरोपको भ्रमण गरे। कुनै-कुनै रिपोर्टअनुसार, रसल केही समयका लागि इटालीको पिनारोलो शहरमा रोकिंदा त्यहाँ तिनले वाल्डेन्सेस भनिने धार्मिक समूहको पहिलेका पादरी, प्राध्यापक डान्यल रिभ्वालाई भेटे। a आफ्नो सेवकाई छोडे तापनि रिभ्वा वाल्डेन्सेससँग घनिष्ठ रहिरहे र तिनले खुला विचारधारा राखेर सि. टि. रसलले लेखेका थुप्रै प्रकाशनहरू पढे।
सन् १९०३ मा रिभ्वाले रसलको द डिभाइन प्लान अफ दि एजेज् नामक पुस्तक इटालेली भाषामा अनुवाद गरे र आफ्नै लगानीमा छपाए। यो आधिकारिक इटालेली संस्करण प्रकाशित हुनुभन्दा निकै नै अघिको कुरा हो। यस पुस्तकको प्राक्कथनमा रिभ्वाले यसरी लेखे: “यो प्रथम इटालेली संस्करण हामीले प्रभुको संरक्षणमा छोडेका छौं। उहाँले यसलाई आशिष् दिऊन्, ताकि यसमा भएका अशुद्धिहरूको बावजूद उहाँको अति पवित्र नाउँ महिमित गर्न योगदान पुऱ्याओस् र उहाँका इटालेली भाषी सन्तानहरूलाई अझ बढी भक्त हुन प्रोत्साहित गरोस्। यस पुस्तक पढेर परमेश्वरको योजना तथा प्रेमको प्रचुरता, बुद्धि र ज्ञानको गहिराइ मूल्यांकन गर्नेहरू जति सबै परमेश्वरप्रति कृतज्ञ होऊन्, किनकि उहाँकै अनुग्रहद्वारा यो पुस्तकको प्रकाशन सम्भव भएको छ।”
रिभ्वाले जायन्स् वाचटावर एण्ड हेराल्ड अफ क्राइस्ट्स प्रेजेन्स पनि इटालेली भाषामा अनुवाद गर्न थाले। अहिले प्रहरीधरहरा भनेर चिनिने यो पत्रिका सन् १९०३ देखि त्रैमासिक रूपमा निस्कन थाल्यो। प्राध्यापक रिभ्वा त्यतिखेर बाइबल स्टुडेन्ट्स भनिने यहोवाका साक्षी कहिल्यै नबने तापनि बाइबल स्टुडेन्ट्सका प्रकाशनहरूमा वर्णन गरिएको बाइबल सन्देश फैलाउन भने निकै चासो देखाए।
“मेरो आँखाबाट चिप्रा खसेको जस्तै लाग्यो”
रसलका प्रकाशनहरूको मूल्यांकन गर्ने अर्का पादरी जुजेप्पा बाङ्केट्टी थिए। क्याथोलिक धर्म त्यागेका जुजेप्पाका पिताले तिनलाई वाल्डेन्सियन शिक्षा दिए। सन् १८९४ मा जुजेप्पा पादरी बने र अपुलिया र अब्रुज्जीका साथै एल्बा र सिसिलीका टापुहरूका थुप्रै वाल्डेन्सियन समुदायहरूको सेवा गरे।
सन् १९०५ मा रसलको डिभाइन प्लान अफ दि एजेज्-को आधिकारिक इटालेली संस्करण प्रकाशित भयो। बाङ्केट्टीले त्यस पुस्तकबारे उत्साहपूर्ण समालोचना लेखे। यो समालोचना नियमित रूपमा प्रकाशित हुने, प्रोटेस्टेन्टहरूको पत्रिका ला रिभिस्टा क्रिस्टियाना-मा छापियो। बाङ्केट्टीले लेखे, रसलको पुस्तक “पवित्र धर्मशास्त्रको अध्ययन लाभप्रद र इनामदायी बनाउनको लागि मसीहीहरूले प्राप्त गर्न सक्ने सबैभन्दा उत्तम र सही पथ-प्रदर्शक हो . . . यो पढेपछि त मेरो आँखाबाट चिप्रा खसेको जस्तै लाग्यो र परमेश्वरको मार्ग मेरोलागि अझ सोझो र सरल भयो। विरोधाभासपूर्ण देखिएका कुराहरू पनि रहेन। पहिले-पहिले बुझ्नै गाह्रो लागेका धर्मसिद्धान्तहरू पनि सरल र सजिलै स्वीकार्न सकिने भयो। पहिले पटक्कै नबुझिएका रोमी ११:३३.
कुराहरू पनि स्पष्ट भए। ख्रीष्टमार्फत संसारलाई मुक्ति दिइने प्रशंसायोग्य योजना मेरोलागि यत्ति सरल देखियो कि म प्रेरितले जस्तै यसो भन्न उत्प्रेरित भएँ: अहा! परमेश्वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ!”—सन् १९२५ मा रेमिझो कुमिनेटीले बताएअनुसार, बाइबल स्टुडेन्ट्सको कामप्रति बाङ्केट्टीले “निकै सहमति” जनाए अनि उनीहरूले वर्णन गरेका सिद्धान्तहरूमा “पूर्णतः विश्वस्त” थिए। बाङ्केट्टीले आफ्नै तरिका चलाएर पनि यी धर्मसिद्धान्तहरू चिरपरिचित बनाउने कोसिस गरे।
यहोवाका साक्षीहरूले झैं बाङ्केट्टीले पनि धर्मशास्त्रमा बताएअनुसारै पार्थिव पुनरुत्थान हुन्छ भनेर विश्वास गर्थे भनी तिनका लेखहरूबाट प्रस्ट हुन्छ। येशूको मृत्यु हुने वर्ष निश्चित थियो र ७० हप्तासम्बन्धी दानियलको भविष्यवाणीमा परमेश्वरले यो कुरा प्रकट गर्नुभएको थियो भन्ने कुरामा पनि तिनी बाइबल स्टुडेन्ट्ससँग सहमत थिए। (दानियल ९:२४-२७) येशूको मृत्युको स्मरणार्थ, वर्षको एक पटक मात्र मनाइनुपर्छ र “यो वार्षिकी जुन दिन पर्छ त्यही दिनमा नै मनाउनु पर्छ” भन्ने कुरामा चर्चका शिक्षाहरूबारे असहमति देखाउँदा तिनले थुप्रै पटक आफ्नो विश्वास प्रकट गरे। (लूका २२:१९, २०) तिनले विकासवादसम्बन्धी डार्विनको सिद्धान्तलाई अस्वीकार गरे र साँचो मसीहीहरू सांसारिक युद्धहरूमा मुछिनु हुँदैन भनेर जोड दिए।—यशैया २:४.
एक चोटि बाङ्केट्टीले जे. काम्बेल वल नाउँ गरेका मानिससँग रसलका लेखहरूबारे छलफल गर्दै थिए। वलको आलोचनाको जवाफमा बाङ्केट्टीले यसो भने: “तपाईंले रसलका छवटा खण्डहरू पढ्नु भयो भने, निकै उत्साह र आनन्द प्राप्त गर्नुहुनेछ र भावविह्वल भएर मलाई हृदयदेखि नै धन्यवाद दिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु। मैले धर्मसिद्धान्तलाई अनावश्यक महत्त्व दिन खोजेको होइन; तर मैले ती पुस्तकहरू एघार वर्षअघि पढेको थिएँ र सबै कुराको धर्मशास्त्रमा ठोस आधार भएको यस काममार्फत मलाई ज्योति र सान्त्वना दिनुभएको लागि म परमेश्वरलाई हरेक दिन धन्यवाद दिन्छु।”
“सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस्”
डान्यल रिभ्वा र जुजेप्पा बाङ्केट्टी नाउँ गरेका यी दुई जना वाल्डेन्सियन पादरीहरूले बाइबलको व्याख्या गर्ने रसलको तरिकाप्रति मूल्यांकन व्यक्त गर्नु उल्लेखनीय हो। बाङ्केट्टीले लेखे: “हामीमध्येका कोही पनि प्रचारकलाई, यहाँसम्म कि हाम्रा पादरी वा धर्मविज्ञानका प्राध्यापकहरूलाई समेत सबै कुरा थाह छैन। यति मात्र होइन, हामीले सिक्नु पर्ने अरू पनि धेरै-धेरै कुराहरू छन्। . . . [हामीले] . . . सबै कुरा जानेका छौं भन्ने सोचाइ राखेर नभई हाम्रो परीक्षाको लागि बताइएका कुराहरूलाई अस्वीकार नगरी धैर्यतापूर्वक सुन्नुपर्छ। बरु, सुन्नुहोस्, सुन्नुहोस्, सुन्नुहोस्।”
वर्षेनी हजारौं मानिसहरूले यहोवाका साक्षीहरूले आफ्नो घरमा ल्याएको राज्य सन्देश सुन्छन्। बाइबल सत्यका लागि तिर्खाउने खुला हृदय भएका सबै मानिसहरूले येशूको यस निमन्त्रणालाई स्वीकारिरहेका छन्: “आएर मेरो पछि लाग।”—मर्कूस १०:१७-२१; प्रकाश २२:१७.
[फुटनोट]
a फ्रान्सको लियोन्समा बस्ने, पियर वोड्ज वा पिटर वाल्डो भनिने १२ औं शताब्दीका व्यापारीको नाउँबाट यो नाउँ रहन गएको हो। तिनको विश्वासको कारण वाल्डोलाई क्याथोलिक चर्चबाट बहिष्कृत गरिएको थियो। वाल्डेन्सेसबारे अझ थप जानकारीको लागि मार्च १५, २००२ को प्रहरीधरहरा-को “वाल्डेन्सेस—विधर्मवाददेखि प्रोटेस्टेन्टवादसम्म” भन्ने लेख हेर्नुहोस्।
[पृष्ठ २८-मा भएको चित्र]
प्राध्यापक डान्यल रिभ्वा
[पृष्ठ २९-मा भएको चित्र]
जुजेप्पा बाङ्केट्टी
[स्रोत]
Banchetti: La Luce, April 14, 1926