सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अशक्‍तताको अन्त कसरी हुनेछ

अशक्‍तताको अन्त कसरी हुनेछ

अशक्‍तताको अन्त कसरी हुनेछ

अन्धोले देखेको, बहिरोले सुनेको, लाटो आनन्दले कराएको अनि लंगडो कसैको सहायताविना उभिन अनि हिंड्‌न सकेको दृश्‍य कल्पना गर्नुहोस्‌! हामी यहाँ चिकित्सा विज्ञानको उपलब्धिहरूबारे कुरा गरिरहेका होइनौं तर परमेश्‍वर स्वयम्‌ले मानिसजातिको खातिर गर्नु हुने कार्यहरूको परिणामबारे कुरा गर्दैछौं। बाइबल यस्तो भविष्यवाणी गर्छ: “तब अन्धाहरूका आँखा खोलिनेछन्‌, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्‌गड़ा मृगझैं उफ्रनेछ, र गूङ्‌गाको जिब्रोले स्तुति गर्नेछ, किनकि उजाड़–स्थानमा पानी फूटेर निस्कनेछ, र मरूभूमिमा खोलाहरू बग्नेछन्‌।” (यशैया ३५:५, ६) यस्ता अद्‌भुत प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुरामा हामी कसरी निश्‍चित हुन सक्छौं?

सर्वप्रथम त, येशू ख्रीष्ट यस पृथ्वीमा हुनुहुँदा उहाँले सबै प्रकारका रोग लागेका तथा अशक्‍तहरूलाई निको पार्नु भयो। यसकासाथै धेरै मानिसहरूले अनि उहाँकै शत्रुहरूले समेत उहाँले गर्नु भएका ती अचम्मका कार्यहरू आफ्नै आँखाले देखे। वास्तवमा, शंकालु विरोधीहरू उहाँको बदनाम गर्न केवल एक चोटि भए पनि उहाँले निको पार्नु भएका कार्यहरू गलत हुन्‌ भनी साबित गर्ने हेतुले छानबिन गर्न पछि हटेनन्‌। तर अफसोसको कुरा, त्यस कार्यले उल्टा उहाँका ती आश्‍चर्यका कार्यहरूलाई पुष्टि गऱ्‍यो। (यूहन्‍ना ९:१, ५-३४) येशूले कसैले नकार्न नसक्ने अन्य आश्‍चर्यका कार्यहरू पनि गर्नुभएपछि हतास हुँदै तिनीहरूले यसो भने: “अब हामी के गरौं? किनभने यस मानिसले ता धेरै चिह्नहरू गरिरहेछ।” (यूहन्‍ना ११:४७) यद्यपि, साधारण मानिसहरू तिनीहरू जस्ता बुझपचाहा थिएनन्‌, त्यसकारण धेरैले येशूमा विश्‍वास गर्न थाले।—यूहन्‍ना २:२३; १०:४१, ४२; १२:९-११.

येशूले गर्नु भएका आश्‍चर्यका कार्यहरू—विश्‍वव्यापी निवारणको पूर्वझलक

येशूले गर्नु भएका आश्‍चर्यका कार्यहरूले येशू नै मसीह र परमेश्‍वरको पुत्र हुनुहुन्छ भनेर मात्र प्रमाणित गरेन। तर आज्ञाकारी मानिसजातिको भावी निवारणबारे बाइबलको प्रतिज्ञाप्रति विश्‍वास गर्ने ठोस आधार पनि प्रदान गऱ्‍यो। यी प्रतिज्ञाहरूमा सुरुको अनुच्छेदमा उल्लिखित यशैया अध्याय ३५ का भविष्यवाणीहरू समावेश छन्‌। ईश्‍वरभीरु मानिसहरूको भावी स्वास्थ्यबारे यशैया ३३:२४ यसो भन्छ: “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ” त्यसैगरी प्रकाश २१:४ यस्तो प्रतिज्ञा गर्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू [अहिलेको परीक्षा तथा दुःखकष्ट] बितिसकेका छन्‌।”

मानिसहरूले येशूको नमुना प्रार्थना दोहोऱ्‍याउँदा यी प्रतिज्ञाहरू पूरा होस्‌ भनी नियमित रूपमा प्रार्थना गर्ने गर्छन्‌। त्यस प्रार्थनाको केही भाग यसप्रकार छ: “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) हो, परमेश्‍वरको इच्छामा पृथ्वी अनि मानवजाति समावेश छन्‌। उचित कारणले गर्दा रोग तथा अशक्‍ततालाई परमेश्‍वरले रहिरहने अनुमति दिनुभए तापनि तिनीहरूको अन्त नजिकै छ; त्यसले परमेश्‍वरको “पाउदान[लाई]” कहिल्यै हानिनोक्सानी पुऱ्‍याउने छैन।—यशैया ६६:१. a

पीडा र मूल्यविना निवारण

मानिसहरूले जस्तोसुकै पीडा सहनुपरेको भए तापनि येशूले कुनै ढिलासुस्ती नगरी र कुनै मूल्यविना अनि रत्तीभर पीडा नदिई तिनीहरूलाई निको पार्नुभयो। स्पष्टतः येशूले गर्नुभएका यी कार्यहरूका वर्णन डढेलोजस्तै फैलियो र तुरुन्तै “त्यहाँ लगंड़ा, अन्धा, लाटा, कूँजो र धेरै अरूहरूसित भएका ठूलो भीड़ उहाँकहाँ आए र तिनीहरूलाई उहाँका चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।” यो देखेर मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? यी सबै घटना आफ्नै आँखाले देखेका मत्ती यसरी बताउँछन्‌: “लाटाहरू बोलेका, कूँजोहरू निको भएका लगंड़ाहरू हिंडेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्कै परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।”—मत्ती १५:३०, ३१.

ध्यान दिनुहोस्‌, येशूले लोकाचारी मानिसहरूले जस्तो भीडबाट छानी-छानी आफूलाई मन लागेकाहरूलाई मात्र निको पार्नु भएन। बरु, दुःखकष्ट भोगिरहेका आफन्त तथा मित्रहरूले “तिनीहरूलाई [येशूको] चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।” आउनुहोस्‌, निको पार्न सक्ने येशूको योग्यताका केही विशेष पक्षहरू पुनरावलोकन गरौं।

अन्धोपन: यरूशलेममा हुनुहुँदा येशूले “जन्मैको अन्धालाई” देख्नुभयो। यो मानिस अन्धो माग्ने भनेर शहरभरि चिनिन्थ्यो। त्यसैले, तिनी देख्न सक्ने भएर हिंडिरहेको देख्दा कस्तो हल्लाखल्ला भयो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ! यद्यपि, सबै जना खुसी भएनन्‌। यो घटनाभन्दा अघि नै येशूले तिनीहरूका दुष्कर्महरूको पर्दाफास गरिदिनुभएकोले निकै चिढिएका फरिसी कहलिएका गन्यमान्य अनि प्रभावशाली यहूदी वर्गका केही सदस्यहरू, येशूका गल्तीहरू खोज्न आतुर थिए। (यूहन्‍ना ८:१३, ४२-४४; ९:१, ६-३१) त्यसैले, तिनीहरूले निको पारिएका त्यो मानिस, तिनका आमाबाबु अनि फेरि त्यस मानिसलाई नै केरकार गरे। तर फरिसीहरूको केरकारले येशूको चमत्कारलाई पुष्टि गऱ्‍यो र तिनीहरू रिसले चूर भए। यी धार्मिक कपटीहरूको दुष्टता देखेर चकित हुँदै निको भएका मानिसले यसो भने: “संसारको शुरूदेखि यसो कसैले जन्मैको अन्धाका आँखा खोलिदिएको कहिल्यै सुनिएन। यदि यी मानिस परमेश्‍वरतर्फका नहुनुहुँदो हो ता उहाँले केही गर्नसक्नुहुने थिएन।” (यूहन्‍ना ९:३२, ३३) विश्‍वासबारे उनको यस्तो निष्कपट अनि तार्किक अभिव्यक्‍ति सुनेर फरिसीहरूले उनलाई “निकालिदिए” अर्थात्‌ तिनीहरूले त्यस पूर्व अन्धो मानिसलाई सभाघरबाट निष्काशन गरेको हुन सक्छ।—यूहन्‍ना ९:२२, ३४.

बहिरोपन: येशू यर्दन नदीको पूर्वतिरको भाग डिकापोलिसमा हुनुहुँदा “मानिसहरूले एउटा बहिरो र भक्भके मानिसलाई उहाँकहाँ ल्याए।” (मर्कूस ७:३१, ३२) येशूले त्यस व्यक्‍तिलाई निको पार्नुकासाथै त्यस व्यक्‍तिलाई भीडमा अलि अप्ठेरो लाग्न सक्छ भनेर तिनको भावना पनि बुझ्नुभयो। बाइबलले बताएअनुसार येशूले बहिरो मानिसलाई “भीड़बाट अलग्गै एकान्तमा” लानुभयो र निको पार्नुभयो। पुनः यी सबै घटना देख्ने सबै प्रत्यक्षदर्शीहरू “अति चकित भए” र यसो भने: “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्‍ने र लाटालाई बोल्ने तुल्याउनुहुन्छ।”—मर्कूस ७:३३-३७.

पक्षघात: येशू कफर्नहुममा हुनुहुँदा मानिसहरूले खाटमा पस्रिरहेका एक जना पक्षघात रोगीलाई उहाँको सामुन्‍ने ल्याए। (मत्ती ९:२) पद ६ देखि ८ ले उक्‍त घटना वर्णन गर्छ। “[येशूले] त्यस पक्षघातीलाई भन्‍नुभयो, ‘उठ तिम्रो बिस्तरा बोक, र घर जाऊ।’ अनि त्यो उठ्यो, र आफ्नो घरतिर लाग्यो। जब भीड़हरूले यो देखे, तब तिनीहरू डराए, र मानिसहरूलाई यस्तो शक्‍ति दिने परमेश्‍वरको प्रशंसा गरे।” यो चमत्कार पनि येशूका चेला र शत्रुहरूको अगाडि गरियो। ध्यान दिनुहोस्‌, घृणा अनि पूर्वाग्रहले अन्धो नभएका येशूका चेलाहरूले आफूले जे देखे, त्यसबाट “परमेश्‍वरको प्रशंसा” गरे।

रोगबिमार: “एउटा कोरीले त्यहाँ [येशूकहाँ] आएर बिन्ती गरेर यसो भन्दै घुँड़ा टेक्यो, ‘तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्नसक्नुहुन्छ।’ तब उहाँले टिठाएर आफ्नो हात बढ़ाई त्यसलाई छुनुभयो, र त्यसलाई भन्‍नुभयो, ‘म इच्छा गर्छु, तिमी शुद्ध भइजाऊ।’ अनि झट्टै त्यसको कोर त्यसबाट हट्यो।” (मर्कूस १:४०-४२) ध्यान दिनुहोस्‌, यहाँ येशूले त्यस मानिसलाई नचाहँदा नचाहँदै निको पार्नु भएन तर निष्कपट प्रेमले उत्प्रेरित भई त्यसलाई निको पार्नुभयो। आफू कोरी भएको कल्पना गर्नुहोस्‌। शरीरलाई बिस्तारै कुरूप बनाउने अनि समाजबाटै छिःछिः-दूरदूर गराउने तपाईंको मृत्युजन्य रोगलाई कसैले तत्कालै अनि अलिकता पनि पीडा नहुने गरी निको पारिदिएमा तपाईंलाई कस्तो लाग्ने थियो? चमत्कारी ढंगमा निको हुने अर्को एक जना कोरी “उहाँलाई धन्यवाद दिएर उहाँको पाउमा घोप्टो” पर्नुको कारण अब तपाईं पक्कै बुझ्न सक्नुहुन्छ।—लूका १७:१२-१६.

चोटपटक: उहाँ गिरफ्तार हुनु अघि र किला ठोकिनु अघि येशूले गर्नुभएको सबैभन्दा अन्तिम चमत्कार पनि निवारण नै थियो। येशूलाई पक्रेर लैजान लागेका मानिसहरूको ज्यानै जान सक्ने किसिमले पत्रुसले तुरुन्तै आफूसित भएको तरवार “थुतेर मुख्य पूजाहारीको दासलाई हानेर त्यसको दाहिने कान च्वाट्टै काटिदिए।” (यूहन्‍ना १८:३-५, १०) यसबारे लूकामा भएको समान विवरणमा येशूले “त्यसको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो” भनिएको छ। (लूका २२:५०, ५१) फेरि एक चोटि येशूका मित्र तथा उहाँलाई पक्रनेहरू अर्थात्‌ उहाँका शत्रुहरूको सामुन्‍ने उहाँको दयालु कार्य प्रकट भयो।

हो, येशूका चमत्कारहरूलाई हामी जति गहिरिएर जाँच्छौं त्यसमा त्यतिनै सत्यता पाउँछौं। (२ तिमोथी ३:१६) अनि माथि उल्लेख गरिएझैं यस्ता अध्ययनहरूले आज्ञाकारी मानिसहरूलाई निको पार्ने परमेश्‍वरको प्रतिज्ञाप्रतिको हाम्रो विश्‍वासलाई बलियो बनाउँछ। बाइबलले मसीही विश्‍वासलाई “आशा राखेका कुराको निश्‍चयता, र नदेखेका कुराको प्रमाण हो” भनी परिभाषित गर्छ। (हिब्रू ११:१) स्पष्टतः परमेश्‍वर हामीलाई प्रमाणविना सजिलै विश्‍वास गर्न वा ती प्रतिज्ञाहरू पूरा होस्‌ भन्‍ने आशा मात्र राख्न होइन तर प्रमाणको आधारमा बलियो विश्‍वास बनाउन प्रोत्साहित गर्नुहुन्छ। (१ यूहन्‍ना ४:१) यस्तो विश्‍वास प्राप्त गरेपछि हामीले आफू आध्यात्मिक तवरमा बलियो, स्वस्थ तथा खुसी महसुस गर्नेछौं।—मत्ती ५:३; रोमी १०:१७.

पहिले आध्यात्मिक निवारण आवश्‍यक छ!

शारीरिक रूपमा स्वस्थ हुने थुप्रै मानिसहरू दुःखी छन्‌। कसै-कसैले त आत्महत्यासमेत गर्छन्‌, किनकि भविष्यको लागि तिनीहरूको कुनै आशा छैन वा तिनीहरू समस्याहरूले थिचिएको महसुस गर्छन्‌। तिनीहरू आध्यात्मिक रूपमा अशक्‍त छन्‌ जुन परमेश्‍वरको नजरमा शारीरिक अशक्‍तताभन्दा कता हो कता गम्भीर छ। (यूहन्‍ना ९:४१) अर्कोतिर, अघिल्लो लेखमा उल्लेख गरिएका क्रिस्टिन र जुनियर जस्ता शारीरिक रूपमा अशक्‍तहरू सुखी अनि सन्तुष्टिको जीवन बिताउँछन्‌। किन? किनभने तिनीहरूले बाइबल आधारित पक्का आशा पाएकाले आध्यात्मिक तवरमा स्वस्थ तथा तन्दुरुस्त छन्‌।

मानिस भएकोले हाम्रो विशेष आवश्‍यकतातर्फ संकेत गर्दै येशूले यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४) हो, जनावरहरूभन्दा फरक मानिसलाई भौतिक आहारा मात्र भएर पुग्दैन। परमेश्‍वरको “स्वरूपमा” सृष्टि गरिएको हुनाले हामीलाई आध्यात्मिक खानेकुरा अर्थात्‌ परमेश्‍वरको ज्ञान चाहिन्छ अनि उहाँको उद्देश्‍यमा हाम्रो भूमिका के हो भनेर बुझ्नु र उहाँको इच्छाअनुसार चल्नु पनि त्यत्तिनै आवश्‍यक छ। (उत्पत्ति १:२७; यूहन्‍ना ४:३४) परमेश्‍वरको ज्ञानले हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछ र हामीलाई परमेश्‍वरको सेवा गर्न जोस र जाँगर प्रदान गर्छ। यसले पार्थिव प्रमोदवनमा अनन्त जीवन बिताउने आधारशिला तयार पार्छ। येशूले यसो भन्‍नुभयो, “अनन्त जीवन यही [हो], कि तिनीहरूले तपाईं एकमात्र सत्य परमेश्‍वरलाई र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।”—यूहन्‍ना १७:३.

उल्लेखनीय कुराचाहिं के छ भने, येशूका समकालीनहरूले उहाँलाई “निवारक” भनेर होइन तर “गुरुज्यू” भनेर सम्बोधन गरे। (लूका ३:१२; लूका ७:४०) किन? किनभने येशूले मानवजातिका समस्याहरूको स्थायी समाधान अर्थात्‌ परमेश्‍वरको राज्यबारे मानिसहरूलाई सिकाउनुभयो। (लूका ४:४३; यूहन्‍ना ६:२६, २७) येशू ख्रीष्ट अधीनस्थ स्वर्गमा स्थापित यस सरकारले सारा पृथ्वीमाथि शासन गर्नेछ अनि धार्मिक मानिसहरू तथा तिनीहरूको पार्थिव घरको अनन्त पुनर्स्थापनाबारे गरिएका सबै बाइबलीय प्रतिज्ञाहरू पूरा गर्नेछ। (प्रकाश ११:१५) त्यसैकारण त येशूले आफ्नो नमुना प्रार्थनामा परमेश्‍वरको इच्छाअनुसार पृथ्वीमा पनि उहाँको राज्य आओस्‌ भनी प्रार्थना गर्नुभयो।—मत्ती ६:१०.

असंख्य अशक्‍त व्यक्‍तिहरूले यस रोमाञ्चकारी आशाबारे सिकेपछि दुःखको आँसुलाई हर्षको आँसुमा परिणत गर्न सकेका छन्‌। (लूका ६:२१) वास्तवमा, परमेश्‍वरले बिमारी अनि अशक्‍तता मात्र होइन तर मानव दुःखको प्रमुख कारक तत्त्व पापलाई नै नामेट पार्नुहुनेछ। निस्सन्देह, माथि उल्लिखित यशैया ३३:२४ र मत्ती ९:२-७ मा बताइएका बिमारीहरू हाम्रा पापी अवस्थाका उपज हुन्‌। (रोमी ५:१२) यसर्थ, पापमाथि विजय हासिल गरिसकेपछि, मानिसहरूले बल्ल सिद्ध मन अनि शरीरको स्वतन्त्रतासहित “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा” आनन्द उठाउनेछन्‌।”—रोमी ८:२१.

आफ्नो स्वास्थ्य राम्रै हुनेले सुस्वास्थ्यको महत्त्वलाई त्यति बुझ्न नसक्ला। तर अशक्‍तताको तीतो अनुभव भोग्नु परेकाहरूले यसको पीडा राम्ररी बुझेका छन्‌। स्वास्थ्य र जीवन कत्तिको अमूल्य छन्‌ अनि चिताउँदै नचिताइकन र अचानक परिस्थिति बदलिन सक्छ भनेर तिनीहरूले बुझेका छन्‌। (उपदेशक ९:११) त्यसैले, हाम्रा अशक्‍त पाठकहरूले बाइबलमा रेकर्ड गरिएका परमेश्‍वरका अद्‌भुत प्रतिज्ञाहरूमा विशेष ध्यान दिनेछन्‌ भनी हामी आशा गर्छौं। ती प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने ग्यारेन्टी दिन येशूले आफ्नो जीवन अर्पण गर्नुभयो। योभन्दा ठूलो ग्यारेन्टी अरू के नै हुन सक्छ र?—मत्ती ८:१६, १७; यूहन्‍ना ३:१६.

[फुटनोट]

a परमेश्‍वरले किन दुःखकष्ट रहिरहने अनुमति दिनुभएको भन्‍ने विषयमा विस्तृत छलफलको लागि के परमेश्‍वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ? शीर्षकको पुस्तिका हेर्नुहोस्‌।