सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय स्तरअनुरूप हिंड्‌दा यहोवाको महिमा हुन्छ

ईश्‍वरीय स्तरअनुरूप हिंड्‌दा यहोवाको महिमा हुन्छ

ईश्‍वरीय स्तरअनुरूप हिंड्‌दा यहोवाको महिमा हुन्छ

“धन्यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।”—भजन ६९:३०, नयाँ संशोधित संस्करण।

१. (क) यहोवा किन महिमा पाउन योग्यको हुनुहुन्छ? (ख) हामी धन्यवाद चढाएर कसरी उहाँको महिमा गर्छौं?

 यहोवा ब्रह्‍माण्डको सर्वसत्ताधारी सर्वोच्च सृष्टिकर्ता हुनुहुन्छ। यही कारणले गर्दा पनि उहाँको नाउँ र उद्देश्‍य महिमित गरिनुपर्छ। यहोवाको महिमा गर्नुको अर्थ उहाँको उच्च आदर गर्नु, प्रशंसा गर्नु र वचन तथा कार्यद्वारा उहाँको जयजयकार गर्नु हो। “धन्यवाद चढ़ाएर” उहाँको महिमा गर्न उहाँले हाम्रोनिम्ति जे गर्नुभयो र भविष्यमा जे गर्नुहुनेछ, त्यसको निम्ति कृतज्ञ हुनुपर्छ। हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ भनी प्रकाश ४:११ मा देखाइएको छ जहाँ विश्‍वासी आत्मिक प्राणीहरूले यस्तो घोषणा गर्छन्‌: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।” हामी कसरी यहोवाको महिमा गर्न सक्छौं? उहाँबारे सिकेर अनि उहाँले हामीबाट चाहनुहुने कुराहरू गरेर। हामीले भजनरचयिताले जस्तो महसुस गर्नुपर्छ जसले यसो भने: “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌, किनकि तपाईं मेरा परमेश्‍वर हुनुहुन्छ।”—भजन १४३:१०.

२. आफ्नो महिमा गर्नेहरू र नगर्नेहरूसित यहोवाले कस्तो व्यवहार गर्नुहुन्छ?

आफ्नो महिमा गर्नेहरूलाई यहोवा एकदमै मूल्यवान्‌ ठान्‍नुहुन्छ। त्यसकारण उहाँ, “उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ।” (हिब्रू ११:६) प्रतिफल के हो? येशूले आफ्नो स्वर्गमा हुनुहुने पितालाई प्रार्थनामा यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) हो, “धन्यवाद चढ़ाएर [यहोवाको] महिमा” गर्नेहरूले “देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) अर्कोतर्फ, “दुष्ट मानिसको भविष्य असल हुँदैन।” (हितोपदेश २४: २०) अनि यस आखिरी दिनमा यहोवाको महिमा गर्नु जरुरी छ किनभने उहाँले चाँडै दुष्टहरूलाई नाश गर्नुहुनेछ र धर्मीहरूलाई बचाउनुहुनेछ। “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१७; हितोपदेश २:२१, २२.

३. हामीले किन मलाकीको पुस्तकमा ध्यान दिनुपर्छ?

यहोवाको इच्छा बाइबलमा पाउन सकिन्छ किनभने ‘धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको हो।’ (२ तिमोथी ३:१६) उहाँको महिमा गर्नेहरूलाई यहोवाले कसरी आशिष्‌ दिनुहुन्छ र उहाँको महिमा नगर्नेहरूलाई के हुन्छ भनी थुप्रै विवरणहरू परमेश्‍वरको वचनमा छन्‌। ती थुप्रै विवरणहरूमध्ये एउटा अगमवक्‍ता मलाकीको समयमा इस्राएलमा भएको घटना हो। सा.यु.पू. ४४३ तिर यहूदामा नहेम्याह बडाहाकिम हुँदा मलाकीले आफ्नै नाउँमा एउटा पुस्तक लेखे। यस शक्‍तिशाली तथा रोमाञ्चकारी पुस्तकमा भएका जानकारी तथा भविष्यवाणीहरू “हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्‌, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।” (१ कोरिन्थी १०:११) मलाकीका शब्दहरूमा ध्यान दिंदा हामी यस दुष्ट रीतिरिवाजलाई नाश गर्नुहुने “परमप्रभुको त्यो महा र डरलाग्दो दिन[को]” लागि तयार गर्न मदत पाउँछौं।—मलाकी ४:५.

४. मलाकी अध्याय १ मा कुन छवटा बुँदामा हाम्रो ध्यानाकर्षण गरिएको छ?

झन्डै २,४०० वर्षभन्दा अघि लेखिएको मलाकीको पुस्तकले यस २१ औं शताब्दीमा हामीलाई त्यो महा र डरलाग्दो दिनको लागि तयार हुन कसरी मदत गर्छ? पहिलो अध्यायले कम्तीमा पनि छवटा बुँदामा हाम्रो ध्यानाकर्षण गर्छ र ती बुँदाहरू धन्यवाद चढाएर यहोवाको महिमा गर्न अत्यन्तै महत्त्वपूर्ण छन्‌। अनि यसैबाट हामीले उहाँको अनुमोदनका साथै अनन्त जीवन प्राप्त गर्न सक्छौं: (१) यहोवा आफ्ना जनहरूलाई प्रेम गर्नुहुन्छ। (२) हामीले पवित्र कुराहरूप्रति मूल्यांकन देखाउनुपर्छ। (३) यहोवा हामीले उहाँलाई सबैभन्दा उत्तम कुरा चढाएको चाहनुहुन्छ। (४) साँचो उपासना लोभले होइन निःस्वार्थ प्रेमबाट उत्प्रेरित हुन्छ। (५) परमेश्‍वरलाई ग्रहणयोग्य सेवा चढाउनु एउटा बोझिलो औपचारिकता होइन। (६) हामी प्रत्येकले परमेश्‍वरलाई लेखा दिनुपर्छ। त्यसैले आउनुहोस्‌, मलाकीको पुस्तकबारे तीनवटा अध्ययन लेखमध्ये पहिलोमा मलाकी अध्याय १ राम्रोसित केलाउँदै जाँदा यी बुँदाहरू एक-एक गरेर विचार गरौं।

यहोवा आफ्ना जनहरूलाई प्रेम गर्नुहुन्छ

५, ६. (क) यहोवाले किन याकूबलाई प्रेम गर्नुभयो? (ख) याकूबको जस्तै विश्‍वास राख्यौं भने हामीले के आशा गर्नसक्छौं?

यहोवाको प्रेम मलाकीको सुरुसुरुका पदहरूमा स्पष्ट पारिएको छ। पुस्तकको सुरुमै यसो भनिएको छ: “इस्राएललाई परमप्रभुको ईश्‍वरवाणी।” परमेश्‍वर अझ यसो भन्‍नुहुन्छ: “मैले तिमीहरूलाई प्रेम गरें।” सोही पदमा एउटा उदाहरण दिंदै यहोवा यसो भन्‍नुहुन्छ: “मैले याकूबलाईनै प्रेम गरें।” याकूब यहोवामाथि विश्‍वास राख्ने व्यक्‍ति थिए। समयको अन्तरालमा यहोवाले याकूबको नाउँ परिवर्तन गर्नुभएर इस्राएल राख्नुभयो र तिनी इस्राएल राष्ट्रको पुर्खा भए। याकूब विश्‍वासअनुसार हिंड्‌ने व्यक्‍ति भएकाले यहोवाले तिनलाई प्रेम गर्नुभयो। यहोवाप्रति याकूबको जस्तो मनोवृत्ति प्रदर्शित गर्ने इस्राएलका अन्य मानिसहरूलाई पनि उहाँले प्रेम गर्नुहुन्थ्यो।—मलाकी १:१, २.

हामीले यहोवालाई प्रेम गऱ्‍यौं र उहाँका जनहरूसित वफादार भई संगत गरिरह्‍यौं भने, हामीले १ शमूएल १२:२२ मा लिपिबद्ध भनाइबाट सान्त्वना पाउन सक्छौं: “आफ्नो नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन।” यहोवाले आफ्ना जनहरूलाई माया गर्नुहुन्छ र तिनीहरूलाई अनन्त जीवनको इनाम दिनुहुन्छ। त्यसकारण हामी यस्तो पढ्‌छौं: “परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌। देशमा रहेर सत्यताको पछि लाग्‌। तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।” (भजन ३७:३, ४) हामीले यहोवामा प्रेम गर्नुमा दोस्रो बुँदा पनि समावेश छ र त्यसबारे मलाकी अध्याय १ ले हाम्रो ध्यानाकर्षण गर्छ।

पवित्र कुराहरूप्रति मूल्यांकन देखाउनुहोस्‌

७. यहोवाले किन एसावलाई अप्रिय ठान्‍नुहुन्थ्यो?

मलाकी १:२, ३ मा पढेअनुसार यहोवाले “मैले याकूबलाईनै प्रेम गरें” भनी भन्‍नुभएपछि, उहाँले “एसावलाई मैले अप्रिय जानें” भन्‍नुभयो। किन त्यस्तो भिन्‍नता? याकूबले यहोवाको महिमा गरे तर तिनको जुम्ल्याह भाइ एसावले गरेनन्‌। एसावलाई एदोम पनि भनिन्थ्यो। मलाकी १:४ मा एदोमलाई दुष्टताले भरिएको देश भनिएको छ र त्यहाँका बासिन्दाहरूको भर्त्सना गरिएको छ। एसावलाई आफ्नो बहुमूल्य ज्येष्ठ अधिकार एक कचौरा सुरुवाको निम्ति बेचेपछि एदोम नाउँ (यसको अर्थ हो, “रातो”) दिइएको थियो। “एसावले आफ्नो ज्येष्ठ-अधिकारलाई लत्याए” भनी उत्पत्ति २५:३४ मा बताइएको छ। “एक टुक्रा खानेकुराले आफ्नो जन्मेको हक बेच्ने एसावजस्तै कोही व्यभिचारी र अशुद्ध मानिस” नहोस्‌ भनी प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई होसियार गराए।—हिब्रू १२:१४-१६.

८. कुन कारणले गर्दा पावलले एसावको कार्यलाई व्यभिचारीसँग तुलना गरे?

पावलले किन एसावको कार्यलाई व्यभिचारसित तुलना गरे? किनभने एसावको जस्तो मनोवृत्ति हुँदा पवित्र कुराहरूको मूल्याकंन गर्न चुक्न सक्छौं। त्यसको परिणामस्वरूप व्यभिचारजस्तो गम्भीर पाप हुन सक्छ। तसर्थ, हामी प्रत्येकले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौं: ‘के म कहिलेकाहीं अनन्त जीवनजस्तो मसीही सम्पदालाई एक कचौरा सुरुवा अथवा क्षणिक कुरासित साट्‌न प्रलोभित हुन्छु? कतै मैले चालै नपाई पवित्र कुराहरूलाई घृणा गरिरहेको छु कि?’ एसाव आफ्नो शारीरिक इच्छा पूरा गर्न अधीर भए। तिनले याकूबलाई यसो भने: “मलाई त्यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्‍न छुटेको छ।” (उत्पत्ति २५:३०) दुःखको कुरा, परमेश्‍वरका केही सेवकहरूले त्यसरी नै हतार गरेका छन्‌, “किन विवाह नगरेसम्म पर्खने? म अहिल्यै आफ्नो इच्छा तृप्त गर्न चाहन्छु।” जस्तोसुकै मोल चुकाएर भए तापनि यौन सन्तुष्टि चाहनेहरूको लागि त्यो एक कचौरा सुरुवा जस्तै भएको छ।

९. हामीले यहोवाप्रतिको श्रद्धेय भय कसरी कायम राख्न सक्छौं?

शुद्धता, निष्ठा र आध्यात्मिक सम्पदालाई अनादर गर्दै हामी पवित्र कुराहरूलाई कहिल्यै तुच्छ नठानौं। हामी एसावजस्तो नभई विश्‍वासी याकूबजस्तो होऔं र परमेश्‍वरप्रतिको श्रद्धेय भय कायम राखौं अनि पवित्र कुराहरूप्रति सधैं गहिरो मूल्यांकन देखाऔं। हामी यो कसरी गर्न सक्छौं? होसियारी साथ यहोवाका स्तरअनुरूप हिंडेर। यो विषय मलाकी अध्याय १ मा औंल्याइएको तेस्रो बुँदासित सम्बन्धित छ। त्यो के हो?

यहोवालाई सबैभन्दा उत्तम कुरा चढाउने

१०. पूजाहारीहरूले कसरी यहोवाको टेबललाई अवहेलना गर्दैथिए?

१० मलाकीको समयमा यरूशलेमको मन्दिरमा सेवा गरिरहेका यहूदाका पूजाहारीहरूले यहोवालाई सबैभन्दा उत्तम कुराहरू चढाइरहेका थिएनन्‌। मलाकी १:६-८ यसो भन्छ: “ ‘छोराले बाबुको र नोकरले मालिकको मान गर्दछ। यदि म बाबु हो भने मेरो मान खोइ? यदि म मालिक हो भने मेरो डर खोइ?’ तिमी पूजाहारीहरूलाई, जो मेरो नाउँको अवहेलना गर्दछौ, सेनाहरूका परमप्रभु यो सोध्नुहुन्छ,” ‘तिमीहरू भन्दछौ, ‘हामीले कसरी तपाईंको नाउँको अवहेलना गऱ्‍यौं?’ तिमीहरू मेरो वेदीमा अशुद्ध रोटी चढ़ाउँदछौ, औ तिमीहरू भन्छौ, ‘हामीले कसरी अशुद्ध गऱ्‍यौं?’ ‘परमप्रभुको टेबलको अवहेलना गरे पनि हुन्छ’ भनेकोमा तिमीहरूले अवहेलना गर्दछौ। जब तिमीहरूले अन्धा पशु बलिदानमा चड़ाउँदछौ, तब के त्यो दुष्ट कुरो होइन र? जब तिमीहरूले लङ्‌गड़ा र बेथा लागेको पशु बलिदानमा चढ़ाउँदछौ, तब के त्यो दुष्ट कुरो होइन र?”

११. (क) अस्वीकार्य बलिदानहरूबारे यहोवाले के भन्‍नुभयो? (ख) सर्वसाधारण मानिसहरू कुन अर्थमा दोषी थिए?

११ त्यस्ता अस्वीकार्य बलिहरूको सन्दर्भमा यहोवाले यस्तो तर्क गर्नुभयो: “त्यो तिमीहरूका बड़ा-हाकिमलाई अब चढ़ाऊ, के तिनी तिमीहरूदेखि खुशी हुनेछन्‌ र? अथवा तिनले तिमीहरूमाथि निगाह गर्नेछन्‌?” अहँ, तिनीहरूका बडाहाकिम त्यस्ता बलिदानहरूमा खुसी हुनेछैनन्‌। ब्रह्‍माण्डका सार्वभौम सत्ताधारीलाई पक्कै पनि त्यस्ता खोटपूर्ण बलिदानहरू ग्रहणयोग्य हुनेछैन! अनि यसको लागि पूजाहारीहरू मात्र दोषी थिएनन्‌। हो, तिनीहरूले त्यस्ता बलिहरू चढाएर यहोवाको अवहेलना गर्दैथे। तर के सर्वसाधारण मानिसहरूको कुनै दोष थिएन त? पक्कै थियो। किनभने तिनीहरूले पनि त यहोवालाई चढाउन अन्धा, लंगडा र बेथा लागेका पशुहरू पूजाहारीहरूकहाँ ल्याइरहेका थिए। कस्तो घोर पाप!

१२. यहोवालाई सर्वोत्तम सेवा चढाउन हामी कस्तो मदत पाउँछौं?

१२ यहोवालाई साँच्चै प्रेम गर्छौं भनी देखाउने एउटा तरिका यहोवालाई सर्वोत्तम सेवा चढाएर हो। (मत्ती २२:३७, ३८) मलाकीको समयका बरालिएका पूजाहारीहरू जस्तो नभई यहोवाको संगठनले उत्तम धर्मशास्त्रीय निर्देशनहरू दिन्छ र यसले हामीलाई ईश्‍वरीय स्तरअनुरूप हिंड्‌दै धन्यवाद चढाएर यहोवाको महिमा गर्न मदत गर्छ। मलाकी अध्याय १ मा पाइने चौथो बुँदा पनि यसैसित सम्बन्धित छ।

साँचो उपासना लोभले होइन तर प्रेमले उत्प्रेरित हुन्छ

१३. पूजाहारीहरूले आफू लोभबाट उत्प्रेरित भएको कुरा कसरी देखाए?

१३ मलाकीको समयका पूजाहारीहरू स्वार्थी, कठोर र पैसाका लोभी थिए। तिनीहरू त्यस्ता थिए भनेर हामी कसरी थाह पाउनसक्छौं? मलाकी १:१० यसो भन्छ: “तिमीहरूले व्यर्थमा मेरो वेदीमा आगो नसल्काउनलाई तिमीहरूमध्ये कसैले ढोकाहरू थुनिदिए ता हुने थियो। म तिमीहरूसँग खुशी छैनँ, नता तिमीहरूले चढ़ाएको भेटी म ग्रहण गर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” हो, ती लोभी पूजाहारीहरूले मन्दिरमा एकदमै सानो सेवाको लागि, मानौं, ढोका थुन्‍ने र वेदीमा आगो सल्काउने जस्ता कार्यको लागि समेत शुल्क लिन्थे! त्यसैकारण यहोवाले तिनीहरूले चढाएको भेटी ग्रहण नगर्नुभएकोमा छक्क पर्नुपर्ने कुनै कारण छैन!

१४. यहोवाका साक्षीहरू प्रेमबाट उत्प्रेरित छन्‌ भनी हामी किन भन्‍न सक्छौं?

१४ पुरातन यरूशलेमका पापी पूजाहारीहरूको लोभ र स्वार्थले हामीलाई परमेश्‍वरको वचनअनुसार लोभी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनी स्मरण गराउँछ। (१ कोरिन्थी ६:९, १०) ती पूजाहारीहरूको स्वार्थी तौरतरिका विचार गर्दा यहोवाका साक्षीहरूले विश्‍वभरि गरिरहेको प्रचारकार्यप्रति हाम्रो मूल्यांकन पनि बढ्‌छ। यो स्वेच्छिक कार्य हो र हामी सेवकाईको लागि कहिल्यै पनि कुनै शुल्क लिंदैनौं। हामी “परमेश्‍वरको वचनलाई व्यापार गर्ने” मानिसहरू होइनौं। (२ कोरिन्थी २:१७) पावलजस्तै हामी सबै जना इमानदारीपूर्वक यसो भन्‍नसक्छौं: “परमेश्‍वरको सुसमाचार मैले सित्तैंमा तिमीहरूलाई सुनाएँ।” (२ कोरिन्थी ११:७) नबिर्सनुहोस्‌, पावलले खुसीसाथ “सुसमाचार सुनाए।” यसले मलाकी अध्याय १ मा प्रस्ट पारिएको पाँचौं बुँदालाई संकेत गर्छ।

परमेश्‍वरको सेवा बोझिलो औपचारिकता होइन

१५, १६. (क) बलिदानहरू चढाउनेबारे पूजाहारीहरूको मनोवृत्ति कस्तो थियो? (ख) यहोवाका साक्षीहरूले कसरी बलिदानहरू चढाउँछन्‌?

१५ पुरातन यरुशलेमका अविश्‍वासी पूजाहारीहरूले बलिदान चढाउनु भनेको एउटा थकाइलाग्दो समारोह हो भन्ठान्थे। तिनीहरूका लागि यो बोझ थियो। मलाकी १:१३ मा बताइएअनुसार परमेश्‍वरले तिनीहरूलाई यसो भन्‍नुभयो: “ ‘यो ता कस्तो दिक्क लाग्ने काम हो,’ औ तिमीहरूले त्यसमा नाक चेप्रायौ।” ती पूजाहारीहरूले परमेश्‍वरका पवित्र कुराहरूमा नाक चेप्राए वा भनौं भने ती कुराहरूलाई घृणा गरे। हामी कोही पनि व्यक्‍तिगत रूपमा त्यस्तो हुन नपरोस्‌ भनेर प्रार्थना गरौं। हामी सधैं १ यूहन्‍ना ५:३ मा लिपिबद्ध यी शब्दहरूको जस्तै मनोभाव झल्काउन सकौं: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो, र उहाँका आज्ञाहरू कड़ा छैनन्‌।”

१६ परमेश्‍वरलाई आध्यात्मिक बलिदान चढाउँदा हामी सधैं रमाऔं र यसलाई कहिल्यै पनि दिक्कलाग्दो बोझ नसम्झौं। हामी यी भविष्यसूचक शब्दहरू सुनौं: “तिमीहरूका आफ्नो कुरा लिएर परमप्रभुतिर फर्क। [यहोवालाई] भन, ‘सबै अधर्म दूर गरेर जे असल छ त्यही ग्रहण गर्नुहोस्‌। यसरी हामी बाछाहरू चढ़ाएझैं आफ्ना ओठका स्तुति चढ़ाउनेछौं।” (होशे १४:२) “बाछाहरू चढाएझैं आफ्ना ओठका स्तुति” भन्‍ने अभिव्यक्‍तिले आध्यात्मिक बलिदान अर्थात्‌ यहोवा र उहाँका उद्देश्‍यहरूको प्रशंसा गर्ने बोलीलाई संकेत गर्छ। हिब्रू १३:१५ मा यस्तो लिपिबद्ध गरिएको छ: “तब [येशूद्वारा नै] हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।” हाम्रा आध्यात्मिक बलिदानहरू केवल औपचारिकता मात्र नभई परमेश्‍वरप्रति हाम्रो प्रेमको हार्दिक अभिव्यक्‍ति भएकोले हामी कत्ति खुसी छौं! यसले हामीलाई मलाकी अध्याय १ बाट सिक्नसक्ने छैठौं बुँदामा ध्यानकेन्द्रित गर्छ।

प्रत्येकले लेखा दिनुपर्छ

१७, १८. (क) यहोवाले “छल गर्ने” मानिसहरूलाई किन श्रापित भन्‍नुभयो? (ख) छल गर्ने मानिसहरूले कुन कुराको विचार गरेका थिएनन्‌?

१७ मलाकीको समयका मानिसहरू आफ्नो कार्यको निम्ति जवाफदेही थिए र हामी पनि छौं। (रोमी १४:१२; गलाती ६:५) त्यसैअनुरूप मलाकी १:१४ यसो भन्छ: “यस्तो छल गर्ने श्रापित हो, जसले आफ्ना बगालको नर-पशु अर्पण गर्नलाई भाकल ता गर्छ, तर खोट लागेको चाहिं परमप्रभुलाई चढ़ाउँदछ।” पशुहरूको बगाल भएको मानिसले तिनीसित एउटा नभई थुप्रै जनावर भएकोले जे छ, त्यसैबाट काम चलाउनुपर्ने बाध्यता थिएन। बलिदान चढाउन जनावर छान्दा अन्धो, लंगडो वा बिरामी पशु रोज्नु पर्दैनथ्यो। तिनले त्यस्तो अपांग जनावर रोजेमा यहोवाले गर्नुभएको बलिदानको प्रबन्धलाई अवहेलना गरिरहेको देखिन्थ्यो। जनावरहरूको बथान हुने मानिसलाई निष्खोट जनावर रोज्न अवश्‍य कुनै गाह्रो पर्दैन!

१८ त्यसकारण, आफूसित राम्रो भाले जनावर भए तापनि बलिदान चढाउनको लागि अन्धो, लंगडो वा बिरामी पशु पूजाहारीकहाँ ल्याएर “छल गर्ने” मानिसहरूलाई यहोवाले श्रापित भन्‍नु जायज छ। यद्यपि, कुनै पनि पूजाहारीले व्यवस्था उद्धरण गरेर त्यस्तो अपांग जनावर स्वीकार्य हुनेछैन भनी बताएको संकेत समेत पाइँदैन। (लेवी २२:१७-२०) आफ्नो बडा-हाकिमलाई त्यस्तो उपहार दिएर झुक्याउन खोज्दा अप्रिय परिणाम भोग्नुपर्नेछ भनेर सबै सद्दे मानिसले बुझेको हुनुपर्छ। तर वास्तवमा तिनीहरूले ब्रह्‍माण्डको सर्वसत्ताधारी सर्वोच्च यहोवासँग व्यवहार गरिरहेका थिए जो कुनै पनि मानव बडाहाकिमभन्दा निकै महान्‌ हुनुहुन्छ। मलाकी १:१४ मा यस विषयमा यसो लेखिएको छ: “म महाराजा हुँ, औ मेरो नाउँ अन्यजातिहरूका बीचमा भययोग्य छ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।”

१९. हामी कुन कुराको प्रतीक्षा गर्छौं र हामीले के गरिरहेको हुनुपर्छ?

१९ परमेश्‍वरका वफादार सेवकहरूको हैसियतमा हामी त्यस दिनको प्रतीक्षा गर्छौं जब सबैले महान्‌ राजा यहोवाको प्रशंसा गर्नेछन्‌। त्यतिबेला “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) त्यतिन्जेजेल, ईश्‍वरीय स्तरअनुरूप जीवन बिताउन यथासक्य गर्दै यसो भन्‍ने भजनरचयिताको अनुकरण गरौं: “धन्यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।” (भजन ६९:३०, नयाँ संशोधित संस्करण) त्यसो गर्न हाम्रो भलाइका लागि मलाकीले थप सल्लाह दिएका छन्‌। त्यसकारण यसपछिको दुइटा लेखमा मलाकीको पुस्तकका अन्य भागहरू गहिरिएर ध्यान देऔं।

के तपाईंले सम्झनुभएको छ?

• हामीले किन यहोवाको महिमा गर्नुपर्छ?

• मलाकीको दिनमा यहोवाले किन पूजाहारीहरूले चढाएको बलि ग्रहण गर्नुभएन?

• हामीले यहोवालाई कसरी स्तुतिको बलिदान चढाउँछौं?

• साँचो उपासनाको निम्ति उत्प्रेरणा के हुनुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

मलाकीको भविष्यवाणीले हाम्रो दिनलाई संकेत गर्थ्यो

[पृष्ठ १०-मा भएको चित्र]

एसावले पवित्र कुराहरूको मूल्यांकन गरेनन्‌

[पृष्ठ ११-मा भएको चित्र]

पूजाहारी तथा मानिसहरूले अस्वीकार्य बलिहरू चढाए

[पृष्ठ १२-मा भएको चित्र]

विश्‍वभरि यहोवाका साक्षीहरूले स्वेच्छाले स्तुतिको बलिदान चढाउँछन्‌