सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको दिनमा को बच्नेछ?

यहोवाको दिनमा को बच्नेछ?

यहोवाको दिनमा को बच्नेछ?

“भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ।”—मलाकी ४:१.

१. मलाकीले यस दुष्ट रीतिरिवाजको विनाश कसरी वर्णन गरेका छन्‌?

 परमेश्‍वरले अगमवक्‍ता मलाकीलाई एकदमै निकट भविष्यमा हुने उदेकलाग्दा घटनाहरूको भविष्यवाणीहरू लिपिबद्ध गर्न उत्प्रेरित गर्नुभयो। यी घटनाहरूले पृथ्वीका प्रत्येक बासिन्दालाई असर गर्नेछन्‌। मलाकी ४:१ मा यस्तो भविष्यवाणी गरिएको छ: “हेर, भट्टीझैं दन्कँदै त्यो दिन आउँदैछ, जब सबै घमण्डी र दुष्ट काम गर्नेहरू ठूटाझैं हुनेछन्‌। त्यो आउने दिनले तिनीहरूलाई भस्म गर्नेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। त्यसले तिनीहरूको जरा र हाँगा केही पनि छोड़नेछैन।” यस दुष्ट रीतिरिवाजको विनाश कत्तिको व्यापक हुनेछ? रूख फेरि कहिल्यै नउम्रने गरी त्यसको जरै नाश भएसरह हुनेछ।

२. केही शास्त्रपदहरूले यहोवाको दिन कसरी वर्णन गर्छ?

तपाईं सोध्नुहोला, ‘मलाकी अगमवक्‍ताले भविष्यवाणी गरेको “दिन” कुन दिन हो?’ यो यशैया १३:९ मा बताइएकै दिन हो, जहाँ यसो भनिएको छ: “हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न, र त्यसका पापीहरूलाई त्यहाँबाट सर्वनाश पार्न, क्रोध र भयानक रीसको साथ निष्ठूर भएर आउँछ।” सपन्याह १:१५ मा यस्तो विवरण पाउँछौं: “त्यो दिन क्रोधको दिन हो, संकष्ट र दुःखको दिन, बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्‍तको दिन, बादल र घोर अन्धकारको दिन।”

“महा संकष्ट”

३. “परमप्रभुको दिन” भनेको के हो?

मलाकीको भविष्यवाणीको प्रमुख पूर्तिमा “परमप्रभुको दिन” भनिएको समयावधिलाई येशूले “महा संकष्ट” भन्‍नुभएको छ। येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:२१) विशेष गरी सन्‌ १९१४ देखि संसारले कत्ति धेरै दुःखकष्ट भोगिसक्यो, विचार गर्नुहोस्‌। (मत्ती २४:७-१२) दोस्रो विश्‍वयुद्धले मात्रै पाँच करोडभन्दा बढी मानिसहरूको ज्यान लियो! यद्यपि, “महा संकष्ट[मा]” यीभन्दा निकै ठूलठूला समस्याहरू हुनेछन्‌। त्यो महा संकष्ट अर्थात्‌ यहोवाको दिनको समयावधि आरमागेडोनमा टुंगिनेछ अनि त्यसपछि यस दुष्ट रीतिरिवाजको अन्त हुनेछ।—२ तिमोथी ३:१-५, १३; प्रकाश ७:१४; १६:१४, १६.

४. यहोवाको दिनको अन्त हुँदा के भइसकेको हुनेछ?

यहोवाको त्यस दिनको अन्तसम्ममा शैतानको संसार अनि त्यसका समर्थकहरूको विनाश भइसकेको हुनेछ। सबैभन्दा पहिला झूटो धर्मको विनाश हुनेछ। त्यसपछि, शैतानको राजनैतिक तथा आर्थिक प्रणाली विरुद्ध यहोवाले न्याय गर्नुहुनेछ। (प्रकाश १७:१२-१४; १९:१७, १८) इजकिएल यस्तो भविष्यवाणी गर्छन्‌: “तिनीहरूले आफ्ना चाँदी सड़कहरू हुँदो फालिदिनेछन्‌, र तिनीहरूका सुन अशुद्ध थोकजस्तो हुनेछ। परमप्रभुको क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउनसक्नेछैनन्‌।” (इजकिएल ७:१९) त्यस दिनको सन्दर्भमा सपन्याह १:१४ यसो भन्छ: “परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै छ, त्यो चाँडै आउँदैछ।” यहोवाको भयानक दिनबारे बाइबलमा भनिएका कुरालाई विचार गर्दा हामी परमेश्‍वरको धार्मिक नियम तथा सिद्धान्तअनुरूप जीवन बिताउन अवश्‍य कटिबद्ध हुनुपर्छ।

५. यहोवाको नाउँको भय मान्‍नेहरूले के अनुभव गर्नेछन्‌?

यहोवाको दिनले शैतानको संसारलाई के गर्नेछ भनी अगमवाणी गरिसकेपछि मलाकी ४:२ मा यहोवाको यो वचन लिपिबद्ध गरिएको छ: “तिमीहरू मेरो नाउँको भय मान्‍नेहरूमाथि चाहिं धर्मको सूर्य आफ्ना पखेटामा आरोग्यता लिएर उदय हुनेछ। तिमीहरू गोठबाट निस्केका बाछोजस्तै उफ्रँदै कुद्‌नेछौ।” “धर्मको सूर्य” येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ “संसारको” आध्यात्मिक “ज्योति” हुनुहुन्छ। (यूहन्‍ना ८:१२) येशूको ज्योति चम्कँदा सर्वप्रथम आध्यात्मिक निवारण हुनेछ, जुन हामीले आज अनुभव गरिरहेका छौं र त्यसपछि नयाँ संसारमा पूर्ण शारीरिक निवारण हुनेछ। यहोवाले भन्‍नुभएझैं निको भएकाहरू र स्वतन्त्र हुन खोज्नेहरू खुसीले ओतप्रोत भएर “गोठबाट निस्केका बाछोजस्तै उफ्रँदै” कुद्‌नेछन्‌।

६. यहोवाका सेवकहरूले कस्तो विजय उत्सवको आनन्द उठाउनेछन्‌?

यहोवाले चाहनुहुने कुराहरू बेवास्ता गर्ने व्यक्‍तिहरू नि? मलाकी ४:३ मा यस्तो लेखिएको पाउँछौं: “तिमीहरू [परमेश्‍वरका सेवकहरूले] दुष्टहरूलाई कुल्चनेछौ, किनकि जुन दिन म यो काम गर्छु त्यस दिन तिनीहरू तिमीहरूका पैतालामनि खरानिजस्तै हुनेछन्‌, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” परमेश्‍वरका मानव उपासकहरूले शैतानको संसारलाई नाश गर्ने कार्यमा भाग लिने छैनन्‌। बरु, यहोवाको दिनपश्‍चात्‌ मनाइने महान्‌ विजय उत्सव भाग लिएर लाक्षणिक अर्थमा “दुष्टहरूलाई कुल्चनेछन्‌।” फिरऊन र तिनका सेनाहरू लाल समुद्रमा नाश भएपछि महान्‌ विजय उत्सव मनाइएको थियो। (प्रस्थान १५:१-२१) त्यसकारण, महा संकष्टमा शैतान र त्यसको संसारको विनाशपछि पनि त्यस्तै विजय उत्सव मनाइनेछ। यहोवाको दिनबाट बचेका विश्‍वासीहरूले यसो भन्‍नेछन्‌: ‘उहाँले दिनुभएको मुक्‍तिमा हामी खुशी होऔं र रमाऔं।’ (यशैया २५:९) यहोवाको सार्वभौमिकता उच्च पारिएको र सफा पारिएको पृथ्वीमा मानिसहरू आनन्दसित बसेको हेर्न पाउँदा कस्तो हर्षोल्लास हुनेछ!

मसीहीजगत्‌ले इस्राएलको अनुकरण गर्छ

७, ८. मलाकीको समयमा इस्राएलको आध्यात्मिक अवस्था कस्तो थियो, वर्णन गर्नुहोस्‌।

यहोवाको अनुमोदन प्राप्त गर्नेहरू भनेको उहाँलाई सेवा गर्नेहरू हुन्‌ तर उहाँको सेवा नगर्नेहरूको अवस्था भने बेग्लै हुनेछ। मलाकीले आफ्नो पुस्तक लेख्दा पनि अवस्था त्यस्तै थियो। बाबेलको दासत्वमा जम्माजम्मी ७० वर्ष बिताइसकेपछि सा.यु.पू. ५३७ मा इस्राएल राष्ट्र पुनर्स्थापित भएको थियो। तथापि, त्यसपछिको शताब्दीको दौडान पुनर्स्थापित राष्ट्र फेरि धर्मत्याग र दुष्टतामा फस्न थाल्यो। अधिकांश मानिसहरूले यहोवाको नाउँको अनादर गरिरहेका थिए; उहाँका धार्मिक नियमहरूको बेवास्ता गरिरहेका थिए अनि बलिदान चढाउन अन्धा, लंगडा तथा बेथा लागेका पशुहरू ल्याएर उहाँको मन्दिरलाई दूषित तुल्याइरहेका थिए र आफ्ना जवानीका पत्नीहरूसित सम्बन्धविच्छेद गरिरहेका थिए।

त्यसकारण, यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “म न्याय गर्नलाई तिमीहरूकहाँ आउनेछु, र मंत्र-तंत्र गर्नेहरू, व्यभिचारीहरू र झूटा साक्षी बक्नेहरूका विरुद्धमा जसले मजदूरहरूलाई मजदूरीमा मार्दछन्‌ र विधवा र टुहुरा-टुहुरीमाथि अत्याचार गर्दछन्‌, औ परदेशीलाई पर हटाउनेहरू, औ मेरो डर नमान्‍नेहरू, यी सबैका विरूद्धमा म विलम्ब नगरी साक्षी दिनेछु, . . . किनकि म परमप्रभु कहिल्यै परिवर्त्तन हुँदिनँ।” (मलाकी ३:५, ६) यद्यपि, खराब मार्ग त्याग्ने सबैलाई यहोवाले यस्तो निम्तो दिनुभयो: “मतिर फर्क र म तिमीहरूतिर फर्कनेछु।”—मलाकी ३:७.

९. मलाकीको भविष्यवाणीको प्रारम्भिक पूर्ति कसरी भयो?

ती शब्दहरूको पूर्ति सा.यु. प्रथम शताब्दीमा पनि भयो। शेष यहूदीहरूले यहोवाको सेवा गरे र आत्म-अभिषिक्‍त मसीहीहरूको नयाँ “राष्ट्रको” भाग भए अनि समयको अन्तरालमा यसमा अन्यजातिहरू पनि सामेल भए। तर अधिकांश जन्मजात इस्राएलीहरूले येशूलाई इन्कार गरे। त्यसकारण येशूले इस्राएल राष्ट्रलाई यसो भन्‍नुभयो: “हेर तिमीहरूको घर तिमीहरूका निम्ति उजाड छोडिनेछ।” (मत्ती २३:३८; १ कोरिन्थी १६:२२) मलाकी ४:१ मा भविष्यवाणी गरिएझैं सा.यु. ७० मा “भट्टीझैं दन्कँदै त्यो दिन” इस्राएलमाथि आइपऱ्‍यो। यरूशलेम र त्यसको मन्दिर विनाश भयो अनि अनिकाल, शक्‍ति संघर्ष तथा रोमी सेनाको आक्रमणले गर्दा दस लाखभन्दा बढी मानिसहरूको ज्यान गयो। तथापि, यहोवाको सेवा गर्नेहरू त्यस संकष्टबाट बचे।मर्कूस १३:१४-२०.

१०. धेरै मानिसहरू तथा पादरीहरूले कसरी प्रथम शताब्दीको इस्राएलको अनुकरण गर्छन्‌?

१० मानिसजाति र विशेष गरी मसीहीजगत्‌ले प्रथम शताब्दीको इस्राएल राष्ट्रकै अनुकरण गरिरहेका छन्‌। नेता तथा अरू थुप्रै मानिसहरूले येशूले सिकाउनुभएको परमेश्‍वरको सत्यभन्दा झूटा धार्मिक सिद्धान्तहरू नै रुचाएका छन्‌। यसको लागि विशेष गरी पादरीवर्ग दोषी छन्‌। तिनीहरू यहोवाको नाउँ प्रयोग गर्न इन्कार मात्र गर्दैनन्‌ तर यसलाई थुप्रै बाइबल संस्करणबाट हटाएका समेत छन्‌। तिनीहरू नरक कुण्डमा अनन्त सास्ती, त्रिएकको मूर्तिपूजक सिद्धान्त, अमर आत्मा र विकासवादजस्ता गैरधर्मशास्त्रीय शिक्षाहरू सिकाएर यहोवाको अनादर गर्छन्‌। यसरी मलाकीको समयका पूजाहारीहरूले जस्तै तिनीहरूले पनि यहोवालाई दिनुपर्ने प्रशंसा दिंदैनन्‌।

११. संसारका धर्महरूले वास्तवमा कसको उपासना गरिरहेका छन्‌ भनी कसरी देखाउँछन्‌?

११ सन्‌ १९१४ मा आखिरी दिन सुरु भएपछि मसीही हौं भनी दाबी गर्नेहरूले अगुवाइ गरेको यस संसारका धर्महरूले वास्तवमा कसको उपासना गरिरहेका छन्‌ भन्‍ने कुरा प्रस्ट भयो। दुवै विश्‍वयुद्धको दौडान तिनीहरूले आफ्ना सदस्यहरूलाई राष्ट्रिय भिन्‍नताको कारण युद्धमा गएर आफ्नै धर्म मान्‍ने व्यक्‍तिहरूलाई मार्ने प्रोत्साहन दिए। परमेश्‍वरको वचनले यहोवाको आज्ञा पालन गर्ने र नगर्नेहरूलाई स्पष्टसँग यसरी चिनाउँछ: “परमेश्‍वरका सन्तान र शैतानका सन्तान यसैबाट प्रष्ट हुन्छ, उचित काम नगर्ने र आफ्नो भाइलाई प्रेम नगर्ने हरेक परमेश्‍वरबाटको हुँदैन। किनभने तिमीहरूले शुरूदेखि सुनेको समाचार यही हो, कि हामीले एउटाले अर्कोसँग प्रेम गर्नुपर्छ। कयिनजस्तै ता होइन, जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्‍यो।”—१ यूहन्‍ना ३:१०-१२.

भविष्यवाणी पूरा गर्ने

१२, १३. परमेश्‍वरका सेवकहरूले अहिले हाम्रो समयमा कुन भविष्यवाणीहरू पूरा गरेका छन्‌?

१२ सन्‌ १९१८ मा प्रथम विश्‍वयुद्धको अन्तसम्ममा यहोवाले मसीहीजगत्‌लगायत बाँकी सबै झूटो धर्मलाई दोषी ठहराइसक्नुभएको छ भन्‍ने कुरा उहाँका सेवकहरूलाई स्पष्ट भयो। त्यस बेलादेखि इमानदार हृदय भएका व्यक्‍तिहरूलाई यस्तो निमन्त्रणा दिन थालियो: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌, किनभने त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्‌, र परमेश्‍वरले त्यसका अधर्म सम्झनुभएको छ।” (प्रकाश १८:४, ५) यहोवाको सेवा गर्न चाहनेहरूमा झूटो धर्मको एउटै पनि दाग नछोडिने गरी सफा गर्न थालियो अनि त्यसपछि तिनीहरूले परमेश्‍वरको स्थापित राज्यको सुसमाचार सारा संसारभरि प्रचार गर्ने काम थाले, जुन काम यस रीतिरिवाजको अन्त आउनुअघि पूरा गरिनुपर्ने थियो।—मत्ती २४:१४.

१३ यसरी मलाकी ४:५ मा गरिएको भविष्यवाणी पूरा भयो जहाँ यहोवाले यसो भन्‍नुभयो: “हेर, परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउनअघि म एलिया अगमवक्‍तालाई पठाउनेछु।” त्यस भविष्यवाणीको प्रथम पूर्ति, बप्तिस्मा दिने यूहन्‍नाको काममा पूरा भयो जसलाई एलियाले पूर्वचित्रण गरेको थियो। व्यवस्था विरुद्ध पाप गरेर पश्‍चात्ताप गर्ने यहूदीहरूलाई बप्तिस्मा दिंदा यूहन्‍नाले एलियाले जस्तै काम गरे। सबैभन्दा महत्त्वपूर्ण कुरा त, यूहन्‍ना, मसीहका अग्रदूत भए। तथापि, यूहन्‍नाको काम मलाकीको भविष्यवाणीको प्रारम्भिक पूर्ति मात्र थियो। येशूले यूहन्‍नालाई दोस्रो एलिया भनी परिचय गराउनुहुँदा “एलिया[ को]” कार्य अझ भविष्यमा हुन बाँकी नै छ भनी संकेत गर्नुभयो।—मत्ती १७:११, १२.

१४. यस रीतिरिवाजको अन्त हुनुअघि कुन महत्त्वपूर्ण कार्य गरिनै पर्छ?

१४ साथै, यो महान्‌ एलियाको कार्य “परमप्रभुको महा र डरलाग्दो दिन” आउनुअघि हुनेछ भनेर मलाकीको भविष्यवाणीले देखायो। आरमागेडोनमा सर्वशक्‍तिमान्‌ परमेश्‍वरको चाँडै आउँदै गरेको ठूलो युद्धमा त्यो दिन अन्त हुनेछ। यसको अर्थ, यस दुष्ट रीतिरिवाजको अन्त हो र शासनारूढ येशू ख्रीष्टको नेतृत्वमा परमेश्‍वरको स्वर्गीय राज्यको हजार वर्षे शासनको सुरुमा एलियाले गरेजस्तै कार्य सम्पन्‍न हुनेछ। अनि भविष्यवाणीअनुसारै यहोवाले दुष्ट रीतिरिवाजलाई खतम पार्नुअघि उहाँका वर्तमान एलिया वर्गले पार्थिव आशा भएका लाखौं सँगी मसीहीहरूको साथ पाएर जोस र पूर्ण उत्सुकतासाथ शुद्ध उपासना पुनर्स्थापित गर्ने, परमेश्‍वरको नाउँ महिमा गर्ने अनि भेडाखाले मानिसहरूलाई बाइबल सत्य सिकाउने कार्य गर्नेछन्‌।

यहोवाले आफ्ना सेवकहरूलाई आशिष्‌ दिनुहुन्छ

१५. यहोवाले आफ्ना सेवकहरूको सम्झना कसरी गर्नुहुन्छ?

१५ यहोवाले उहाँको सेवा गर्नेहरूलाई आशिष्‌ दिनुहुन्छ। मलाकी ३:१६ यसो भन्छ: “परमप्रभुको डर मान्‍नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्‍नुभयो, औ उहाँको डर मान्‍नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” हाबिलको समयदेखि परमेश्‍वरले ती मानिसहरूको नाउँ मानौं एउटा पुस्तकमा लेखिरहनुभएको छ, जो अनन्त जीवन पाउन योग्य ठहरिएका छन्‌। त्यस्ताहरूलाई यहोवा यसो भन्‍नुहुन्छ: “जम्मै दशांश भण्डारमा ल्याऊ, र मेरो घरमा भोजन रहोस्‌। यसरी मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।”—मलाकी ३:१०.

१६, १७. यहोवाले आफ्ना जन तथा तिनीहरूको कार्यमा कसरी आशिष्‌ दिनुभएको छ?

१६ निस्सन्देह, यहोवाले उहाँको सेवा गर्नेहरूमाथि आशिष्‌ वर्षाउनुभएको छ। कसरी? एउटा तरिका त, उहाँका उद्देश्‍यहरूबारे थप ज्ञान प्रदान गर्नुभएर। (हितोपदेश ४:१८; दानियल १२:१०) अर्कोचाहिं तिनीहरूको प्रचारकार्यमा राम्रो फल दिनुभएर। इमानदार हृदय भएका थुप्रै मानिसहरूले तिनीहरूलाई साँचो उपासनामा साथ दिइरहेका छन्‌ र यिनीहरू सबै “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि सेता लुगा लगाएर . . . उभिरहेका [छन्‌] . . . र ठूलो सोरले यसो भनेर ती कराउँदा रहेछन्‌, ‘सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्‍ति छ।’ ” (प्रकाश ७:९, १०) यो ठूलो भीड एकदमै अद्‌भुत तरिकामा प्रकट भएको छ र अहिले सक्रियतासाथ यहोवाको सेवा गर्नेहरू संसारभरिका ९३,००० भन्दा धेरै मण्डलीहरूमा ६० लाखभन्दा बढी छन्‌!

१७ साथै, यहोवाका साक्षीहरूले मानव इतिहासमा सबैभन्दा बढी वितरण भएका बाइबल आधारित प्रकाशनहरू प्रकाशित गर्नुमा पनि यहोवाको आशिष्‌ देख्न सक्छौं। अहिले हरेक महिना प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकाहरू लगभग ९ करोड प्रति छापिन्छन्‌; प्रहरीधरहरा १४४ भाषामा र ब्यूँझनुहोस्‌! ८७ भाषामा। सन्‌ १९६८ मा प्रकाशित द ट्रुथ द्याट लिड्‌स टु इटर्नल लाइफ नामक बाइबल अध्ययन सहायक ११७ भाषामा १० करोड ७० लाख प्रतिभन्दा बढी वितरण भयो। सन्‌ १९८२ मा विमोचन भएको पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तक १३१ भाषामा आठ करोड एक लाखभन्दा बढी प्रति वितरण भयो। सन्‌ १९९५ मा विमोचन गरिएको ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तक अहिलेसम्म १५४ भाषामा आठ करोड पचास लाखभन्दा धेरै प्रति वितरण भइसकेको छ। सन्‌ १९९६ मा प्रकाशित परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका अहिलेसम्म २४४ भाषामा १५ करोड प्रति वितरण भइसकेको छ।

१८. विरोधको बावजूद हामी किन आध्यात्मिक संवृद्धिको आनन्द उठाउँछौं?

१८ शैतानको संसारबाट लगातार आउने घोर विरोधको बावजूद यस आध्यात्मिक संवृद्धिको आनन्द उठाउन सम्भव भएको छ। यसले यशैया ५४:१७ मा लिपिबद्ध शब्दको सत्यता झल्काउँछ। “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌। यो चाहिं परमप्रभुका दासहरूको अधिकार हो, र मद्वारानै तिनीहरूको न्याय स्थापित हुनेछ, परमप्रभु भन्‍नुहुन्छ।” मलाकी ३:१७ को प्रमुख पूर्ति यहोवाका जनहरूमै भइरहेको छ भनेर थाह पाउनु तिनीहरूको लागि कस्तो सान्त्वनादायी कुरा हो: “जुन दिन म तिनीहरूलाई मेरो निज धन बनाउनेछु तिनीहरू मेरा हुनेछन्‌, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ। औ कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई छोड़िदिएझैं म तिनीहरूलाई छोड़िदिनेछु।”

आनन्दसाथ यहोवाको सेवा गर्ने

१९. यहोवाको सेवा गर्नेहरू र नगर्नेहरूबीच कस्तो भिन्‍नता स्पष्ट छ?

१९ यहोवाका विश्‍वासी सेवकहरू र शैतानको संसारका मानिसहरूबीचको भिन्‍नता दिनप्रतिदिन स्पष्ट हुँदै गइरहेको छ। मलाकी ३:१८ मा यस्तो भविष्यवाणी गरिएको थियो, “धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउनसक्नेछौ।” थुप्रै भिन्‍नताहरूमध्ये एउटा हो, यहोवाको सेवा गर्नेहरू एकदमै आनन्दपूर्वक गर्छन्‌। तिनीहरू आनन्दित हुने थुप्रै कारणहरूमध्ये एउटा, तिनीहरूको अद्‌भुत आशा हो। तिनीहरू यहोवाको यस्तो अभिव्यक्‍तिमा पूरा भरोसा राख्छन्‌: “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु, र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।”—यशैया ६५:१७, १८; भजन ३७:१०, ११, २९; प्रकाश २१:४, ५.

२०. हामी किन आनन्दित जनहरू हौं?

२० संसारभरिका यहोवाका वफादार जनहरू यहोवाको भयानक दिनबाट बचेर नयाँ संसारमा प्रवेश गर्नेछन्‌ भन्‍ने यहोवाको प्रतिज्ञामा हामी विश्‍वास गर्छौं। (सपन्याह २:३; प्रकाश ७:१३, १४) अनि हामीमध्ये कोही-कोही वृद्धावस्था, बिरामी वा दुर्घटनाको कारण नयाँ संसार आउनुअघि नै मृत्युको चिरनिद्रामा पर्नुपरे तापनि हामीलाई सम्झेर अनन्त जीवनको लागि ब्यूँताउने वचन यहोवाले दिनुभएको छ। (यूहन्‍ना ५:२८, २९; तीतस १:२) अहिले हामी सबैको आ-आफ्नै समस्या तथा चुनौतीहरू भए तापनि जसै हामी यहोवाको दिनको अन्तमा पुग्छौं, हामी यस संसारका मानिसहरूमध्ये सबैभन्दा आनन्दित व्यक्‍तिहरू हौं भन्‍ने हामीसँग ठोस कारण छ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• “प्ररमप्रभुको दिन” भनेको के हो?

• संसारका धर्महरूले कसरी पुरातन इस्राएलको अनुकरण गर्छन्‌?

• यहोवाका सेवकहरूले कस्ता भविष्यवाणीहरू पूरा गर्छन्‌?

• यहोवाले आफ्ना सेवकहरूमाथि कसरी आशिष्‌ वर्षाउनुभएको छ?

[प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

प्रथम शताब्दीको यरूशलेम ‘भट्टीझैं दन्क्यो’

[पृष्ठ २३-मा भएका चित्रहरू]

यहोवाले उहाँको सेवा गर्नेहरूको आवश्‍यकता पूरा गर्नुहुन्छ

[पृष्ठ २४-मा भएका चित्रहरू]

अद्‌भुत आशाको कारण यहोवाका सेवकहरू साँच्चै आनन्दित छन्‌