सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ

यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ

यहोवाले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ

‘आफ्नै भाइको विरुद्धमा धोका नदेओ।’—मलाकी २:१०.

१. हामीले अनन्त जीवन प्राप्त गर्ने हो भने परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?

 के तपाईं अनन्त जीवन चाहनुहुन्छ? बाइबलमा बताइएको यस प्रतिज्ञामा तपाईं विश्‍वास गर्नुहुन्छ भने, सायद तपाईं भन्‍नुहोला, ‘अवश्‍य चाहन्छु।’ तर तपाईं परमेश्‍वरले उहाँको नयाँ संसारमा अनन्त जीवनको आशिष्‌ दिएको चाहनुहुन्छ भने, तपाईंले उहाँको स्तरअनुरूप जीवन बिताउनु पनि पर्छ। (उपदेशक १२:१३; यूहन्‍ना १७:३) के असिद्ध मानिसहरूबाट त्यस्तो आशा गर्नु अव्यावहारिक कुरा हो? होइन, किनभने यहोवाले यस्तो प्रोत्साहनदायी कुरा भन्‍नुभएको छ: “किनभने म बलिदान होइन तर अटल प्रेम चाहन्छु, र होमबलिभन्दा परमेश्‍वरलाई चिन्‍ने ज्ञान बढ़ता चाहन्छु।” (होशे ६:६) अतः गल्ती गर्ने मानिसहरू पनि यहोवाको स्तरअनुरूप जिउन सक्छन्‌।

२. थुप्रै इस्राएलीहरूले कसरी यहोवासित विश्‍वासघातको व्यवहार गरे?

यद्यपि, सबैले परमेश्‍वरको इच्छा गर्न चाहँदैनन्‌। थुप्रै इस्राएलीहरूले पनि परमेश्‍वरको इच्छा गर्न चाहेनन्‌ भनी होशेले प्रकाश पारे। तिनीहरू पूरै राष्ट्र यहोवासँग करारमा बाँधिन अथवा परमेश्‍वरको व्यवस्था पालन गर्न राजी भएका थिए। (प्रस्थान २४:१-८) तर केही समय नबित्दै तिनीहरूले उहाँको व्यवस्थालाई तोडेर “करार भंग” गरे। तसर्थ “तिनीहरूले मेरो विरुद्धमा विश्‍वासघातको व्यवहार गरे” भनी यहोवाले ती इस्राएलीहरूबारे भन्‍नुभयो। (होशे ६:७) अहिले पनि थुप्रै मानिसहरूले त्यस्तै व्यवहार गरिरहेका छन्‌। तर यहोवा विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ, चाहे त्यो उहाँ विरुद्ध होस्‌ वा उहाँलाई प्रेम अनि सेवा गर्नेहरू विरुद्ध नै किन नहोस्‌।

३. यस अध्ययन लेखमा केको विश्‍लेषण गरिनेछ?

विश्‍वासघातप्रति यस्तो ईश्‍वरीय दृष्टिकोण प्रकाश पार्ने अगमवक्‍ता होशे मात्र थिएनन्‌। हामी पनि लामो तथा आनन्दमय जीवन चाहन्छौं भने त्यस्तै दृष्टिकोण राख्नुपर्छ। यसअघिको लेखमा हामीले मलाकीको पुस्तकको सुरुको अध्यायदेखि तिनको भविष्यसूचक सन्देशबारे विचार गऱ्‍यौं। अब हामी त्यही पुस्तकको दोस्रो अध्याय पल्टाऔं र परमेश्‍वरले विश्‍वासघातप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर थप जानकारी प्राप्त गरौं। परमेश्‍वरका जनहरू बेबिलोनमा कैदी जीवनबाट फर्केको दशकौंपछिको अवस्थाबारे मलाकीले बताइरहेको भए तापनि यो दोस्रो अध्याय हाम्रोलागि पनि साँच्चै अर्थपूर्ण छ।

दोषी पूजाहारीहरू

४. यहोवाले पूजाहारीहरूलाई कस्तो चेताउनी दिनुभयो?

अध्याय २ को सुरुमै यहोवाले पूजाहारीहरूलाई तिनीहरू धार्मिक मार्गबाट तर्किएको कारण ताडना दिनुभएको कुरा पाउँछौं। पूजाहारीहरूले उहाँको सल्लाह पालन गरेर सही मार्गमा नलागेको खण्डमा गम्भीर परिणामहरू भोग्नुपर्ने थियो। सुरुका दुइटा पदमा ध्यान दिनुहोस्‌: “हे पूजाहारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो। सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ, ‘मेरो नाउँलाई महिमा दिनलाई तिमीहरूले सुनेनौ, र यो तिमीहरूका हृदयमा राखेनौ भनेदेखि म तिमीहरूलाई सराप दिनेछु, र तिमीहरूका आशिषहरूमाथि मेरो सराप परिसकेको छ।’ ” पूजाहारीहरूले मानिसहरूलाई परमेश्‍वरको व्यवस्था सिकाएर पालन गरेका भए आशिष्‌ पाउने थिए। तर परमेश्‍वरको इच्छा बेवास्ता गरेको कारण अब भने तिनीहरूले सराप पाउने थिए। पूजाहारीहरूले घोषणा गरेका आशिष्‌हरू पनि सरापमा परिणत हुनेथियो।

५, ६. (क) पूजाहारीहरू विशेष गरी किन दोषी थिए? (ख) यहोवाले पूजाहारीहरूप्रतिको घृणा कसरी व्यक्‍त गर्नुभयो?

किन विशेष गरी पूजाहारीहरू दोषी थिए? यसबारे पद ७ मा स्पष्ट संकेत दिइएको छ: “पूजाहारीको ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसैको मुखबाट व्यवस्था सिक्नु पर्दछ, किनभने त्यो सेनाहरूका परमप्रभुको दूत हो।” लगभग एक हजार वर्षअघि मोशामार्फत इस्राएललाई दिइएको परमेश्‍वरको व्यवस्थामा पूजाहारीहरूलाई ‘यहोवाले बताउनुभएको विधि सबै तिनीहरूले इस्राएलीहरूलाई सिकाउने’ जिम्मा सुम्पिएको थियो। (लेवी १०:११) तर दुःखको कुरा, पछि २ इतिहास १५:३ का लेखकले यस्तो उल्लेख गरे: “धेरै समयसम्म ता इस्राएल साँचो परमेश्‍वर, व्यवस्था बुझाइदिने पूजाहारी र व्यवस्थाविना थियो।”

सा.यु.पू. पाँचौं शताब्दीमा मलाकीको समयमा पनि पूजाहारीहरूको परिस्थिति त्यस्तै थियो। तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको व्यवस्था सिकाइरहेका थिएनन्‌। त्यसैकारण पूजाहारीहरूलाई दोषी ठहऱ्‍याउनु उचित थियो। यहोवाले तिनीहरूलाई कस्तो कडा शब्दमा गाली गर्नुभयो, ध्यान दिनुहोस्‌। मलाकी २:३ मा यस्तो घोषणा गरिएको छ: “तिमीहरूका मुखमा गोबर दलिदिनेछु—तिमीहरूका चाड़हरूमा चढ़ाइएका पशुहरूको गोबर।” कस्तो अपमानजनक गाली! बलिदान चढाइएका पशुहरूको छाला र गोबर छाउनीबाहिर आगोमा डढाइन्थ्यो। (लेवी १६:२७) तर यहोवाले त्यसको साटो तिनीहरूको मुखमा गोबर दलिदिनेछु भन्‍नुको अर्थ उहाँले त्यतिबेला चढाइएका बलिदानहरू र ती चढाउने व्यक्‍तिहरूलाई इन्कार गर्नुभएको थियो भनी स्पष्ट हुन्छ।

७. यहोवा किन व्यवस्थाका शिक्षकहरूसँग रिसाउनुभयो?

मलाकीको समयभन्दा शताब्दीयौंअघि यहोवाले बासस्थान र पछि मन्दिर र त्यसको पवित्र सेवाको हेरचाह गर्न लेवीहरूलाई अह्राउनुभएको थियो। तिनीहरू इस्राएल राष्ट्रका शिक्षकहरू थिए। त्यो जिम्मेवारी पूरा गर्नुको अर्थ तिनीहरूलगायत सम्पूर्ण राष्ट्रको लागि जीवन र शान्ति हुने थियो। (गन्ती ३:५-८) तर लेवीहरूले सुरुमा परमेश्‍वरको जुन भय राख्थे, त्यो राख्न छोडे। यसकारण यहोवाले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू ता बाटोदेखि एकातिर लागेका छौ। तिमीहरूले धेरैलाई व्यवस्थाको विषयमा ठोकर दियौ। तिमीहरूले लेवीसित बाँधेको नियमलाई भ्रष्ट पाऱ्‍यौ . . . तिमीहरू मेरा बाटोमा हिंड़ेका छैनौ।” (मलाकी २:८, ९) यी लापरवाह पूजाहारीहरूले आफ्नो गलत कार्य र नराम्रो उदाहरणद्वारा थुप्रैलाई बहकाए। त्यसकारण, यहोवा तिनीहरूसित रिसाउनु उचित थियो।

परमेश्‍वरका स्तरहरू कायम राख्ने

८. मानिसहरूले परमेश्‍वरको स्तर पालन गरेको आशा गर्नु के अचाक्ली माग हो? व्याख्या गर्नुहोस्‌।

ती पूजाहारीहरू पनि असिद्ध मानिसहरू भएकाले परमेश्‍वरको स्तर र तौरतरिकाअनुसार हिंड्‌न कहाँ सक्थे र भन्दै तिनीहरू सहानुभूति र क्षमाको योग्य थिए भन्‍ने सोचाइ राख्नदेखि हामी होसियार होऔं। मानिसहरू परमेश्‍वरको स्तरअनुरूप हिंड्‌न सक्छन्‌ किनभने यहोवा तिनीहरूले गर्न नसक्ने कुरा तिनीहरूबाट आशा गर्नुहुन्‍न। त्यतिबेलाका कोही-कोही पूजाहारीहरूले परमेश्‍वरको स्तर पालन गरे होलान्‌ तर त्यसपछि आउनुभएको महान्‌ “प्रधान पूजाहारी” अर्थात्‌ येशू, परमेश्‍वरको स्तरअनुरूप हिंड्‌नुभयो भन्‍ने कुरामा कुनै शंका छैन। (हिब्रू ३:१) त्यसकारण, उहाँबारे साँच्चै यसो भन्‍न सकिन्छ: “सत्यको व्यवस्था त्यसको मुखमानै थियो। त्यसको ओठबाट अधर्मको कुरो निस्कँदैन थियो। शान्ति र सोझोपनामा त्यो मसितै हिंड़दथियो, र धेरैलाई त्यसले अधर्मबाट फर्कायो।”—मलाकी २:६.

९. हाम्रो समयमा कसले विश्‍वासी भई सत्यको कुरा बाँडेका छन्‌?

त्यसरी नै, उहाँका स्वर्गीय आशा भएका अभिषिक्‍त भाइहरूले हाम्रो समयसम्म “परमेश्‍वरमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति” सेवा गरिरहेका छन्‌। (१ पत्रुस २:५) अरूलाई बाइबलको सत्य कुरा बाँड्‌ने काममा तिनीहरूले अगुवाइ लिएका छन्‌। के तपाईंले तिनीहरूले सिकाउने बाइबल सत्य सिक्नुहुँदा सत्यको व्यवस्था तिनीहरूको मुखमानै भएको महसुस गर्नुहुन्‍न र? तिनीहरूले थुप्रैलाई धार्मिक झूटबाट सत्यतर्फ फर्कन मदत गरेका छन्‌ जसले गर्दा अहिले संसारभरि लाखौंले बाइबलका सत्य कुराहरू सिकेका छन्‌ र अनन्त जीवनको आशा प्राप्त गरेका छन्‌। अनि उनीहरूले पनि अरू लाखौंलाई सत्यको व्यवस्था सिकाउने अनुपम सुअवसर पाएकाछन्‌।यूहन्‍ना १०:१६; प्रकाश ७:९.

होसियार हुनुपर्ने कारण

१०. हामी होसियार हुनु किन जरुरी छ?

१० तथापि, हामी होसियार हुनुपर्ने कारण छ। हामीले मलाकी २:१-९ मा स्पष्ट बताइएको पाठ बुझ्न नसकिरहेका हुन सक्छौं। हाम्रो ओठबाट अधर्मको कुरा ननिस्कोस्‌ भनेर के हामी व्यक्‍तिगत तवरमा सजग छौं? उदाहरणका लागि, के आफ्नो परिवारका सदस्यहरूले हामीले भनेका कुराहरू साँच्चै पत्याउँछन्‌? अनि मण्डलीका हाम्रा आध्यात्मिक भाइबहिनीहरूले नि? शब्द मात्र केलाएर हेर्दा एकदमै ठीक तर अरूलाई जानाजानी झुक्याउने किसिमले बोल्ने बानी कसै-कसैको हुन सक्छ। कसै-कसैले भने व्यापारिक मामिलामा कुरा बढाइचढाइ भन्‍ने वा कुरा लुकाउने गर्न सक्छन्‌। के यहोवाले त्यस्तो व्यवहार देख्नुहुन्‍न र? अनि हामीले त्यस्ता बानीहरू बसाल्यौं भने, के हाम्रो ओठको बलिदान उहाँलाई ग्रहणयोग्य होला?

११. विशेष गरी को होसियार हुनु जरुरी छ?

११ आज मण्डलीमा सिकाउन नेतृत्व लिने भाइहरूका लागि मलाकी २:७ साँच्चै चेताउनीमूलक हुनुपर्ने हो। तिनीहरूको “ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसैको मुखबाट व्यवस्था सिक्नु पर्दछ” भनी बताइएको छ। त्यस्ता शिक्षकहरूको काँधमा ठूलो जिम्मेवारी आइपर्छ किनभने याकूब ३:१ ले संकेत गरेझैं तिनीहरूले “ज्यादै दोष” पाउनेछन्‌। तिनीहरूले जोस र उत्साहका साथ सिकाउनुपर्छ तर तिनीहरूको शिक्षा परमेश्‍वरको लिखित वचन र परमेश्‍वरको संगठनमार्फत प्राप्त हुने निर्देशनहरूमा पूर्ण आधारित हुनुपर्छ। त्यसो गरेको खण्डमा तिनीहरू “अरूहरूलाई पनि सिकाउनसक्ने” हुनेछन्‌। अतः तिनीहरूलाई यस्तो सल्लाह दिइएको छ: “सत्यको वचनलाई ठीकसँग प्रयोग गरेर शर्माउन नपर्ने खेताला भई आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने प्रयत्न गर।”—२ तिमोथी २:२, १५.

१२. सिकाउने व्यक्‍तिहरू कुन कुरामा होसियार हुनुपर्छ?

१२ हामी होसियार भएनौं भने कहिलेकाहीं आफ्नै व्यक्‍तिगत छनौट वा धारणा प्रस्तुत गर्न प्रलोभित हुन सक्छौं। यो विशेष गरी त्यस्तो व्यक्‍तिको लागि खतरा हो, जो यहोवाको संगठनको शिक्षासँग विरोधाभास हुँदा समेत आफ्नै विचारधारामा जिद्दी गर्छ वा आफ्नो निष्कर्षमा बढ्‌तै विश्‍वस्त हुन्छ। तर मण्डलीका शिक्षकहरूले आफ्नै विचारधारा नभई परमेश्‍वरको ज्ञानअनुसार चल्नेछन्‌ भनी हामी विश्‍वस्त हुन सक्नुपर्छ भनी मलाकी अध्याय २ ले जोड दिन्छ। येशूले यसो भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटालाई बाधा देला, त्यसको निम्ति ता एउटा जाँतोको ढुंगा त्यसको घिच्रोमा झुण्डाएर अगाध समुद्रमा डबाइदिनु बढ़िया हुनेथियो।”—मत्ती १८:६.

बेग्लै विश्‍वास भएकोसित विवाह गर्ने

१३, १४. मलाकीले प्रकाश पारेको एउटा विश्‍वासघाती कुरा कुन थियो?

१३ मलाकी अध्याय २ को पद १० देखि विश्‍वासघातलाई अझ स्पष्टसँग प्रकाश पारिएको छ। तिनले दुइटा विषयमा ध्यानकेन्द्रित गरे र पटक-पटक “विश्‍वासघात” अर्थ बुझाउने शब्द प्रयोग गरे। सर्वप्रथम, मलाकीले सुरुमै गरेका प्रश्‍नहरूमा ध्यान दिनुहोस्‌: “के हामी सबैका एउटै पिता छैनन्‌ र? के एउटै परमेश्‍वरले हामीलाई सृष्टि गर्नुभएको होइन र? त किन हाम्रा पिता-पुर्खाको करारलाई भ्रष्ट गर्दै हामी प्रत्येकले आफ्नै भाइको विरुद्धमा धोका दिंदछौं?” त्यसपछि, पद ११ मा बताएअनुसार इस्राएलीहरूको विश्‍वासघाती व्यवहारले ‘परमेश्‍वरको बासस्थानलाई अपवित्र तुल्यायो।’ तिनीहरूले त्यस्तो के गम्भीर कुरा गरिरहेका थिए? यस पदमा एउटा गलत कार्यबारे स्पष्टै बताइएको छ: तिनीहरूले “पराई देवताको छोरीलाई विवाह” गरे।

१४ अर्को शब्दमा भन्‍ने हो भने, यहोवामा समर्पित केही इस्राएलीहरूले उहाँलाई उपासना नगर्ने व्यक्‍तिहरूसित विवाह गरेका थिए। सन्दर्भलाई गहिरिएर ध्यान दियौं भने, त्यो किन गम्भीर कुरा थियो भनी हामी बुझ्न सक्छौं। पद १० ले भनेअनुसार तिनीहरूका एउटै पिता थिए। यसको मतलब याकूब (पछि इस्राएल भन्‍ने नाउँ दिइएको), अब्राहाम वा आदम होइनन्‌। मलाकी १:६ ले देखाएअनुसार “एउटै पिता” भनेको यहोवा हुनुहुन्थ्यो। परमेश्‍वर र ‘पिता-पुर्खाबीचको करारमा’ इस्राएलको राष्ट्र बाँधिएको थियो। त्यस करारमा बताइएको एउटा व्यवस्था यस्तो थियो: “तिनीहरूसँग बिहेबारी नगर्नू। तिमीहरूका छोरा-छोरीहरूले तिनीहरूका छोराछोरीहरूका बीच बिहेबारीको सम्बन्धै नराखून्‌।”—व्यवस्था ७:३.

१५. (क) बेग्लै विश्‍वास भएका व्यक्‍तिसँग विवाह गर्ने कसै-कसैले कस्तो तर्क प्रस्तुत गर्न सक्छन्‌? (ख) यहोवाले विवाहको सन्दर्भमा आफ्नो कुरा कसरी व्यक्‍त गर्नुभएको छ?

१५ आज कसै-कसैले यस्तो तर्क गर्लान्‌: ‘मलाई मन परेको व्यक्‍ति एकदमै राम्रो छ। समयको दौडान उसले साँचो उपासनालाई स्वीकार्नेछ।’ यस्तो सोचाइले यो प्रेरित चेताउनीलाई झनै पुष्टि गर्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मिया १७:९) बेग्लै विश्‍वास भएका व्यक्‍तिसित विवाह गर्ने सन्दर्भमा परमेश्‍वरको दृष्टिकोण मलाकी २:१२ मा स्पष्ट पारिएको छ: “त्यस मानिसलाई परमप्रभुले नाश गर्नुहुनेछ।” त्यसकारण मसीहीहरूलाई “प्रभुमा मात्र” विवाह गर्न आग्रह गरिएको छ। (१ कोरिन्थी ७:३९) मसीही प्रबन्धअनुसार विश्‍वासीले बेग्लै धर्म मान्‍ने व्यक्‍तिसित विवाह गर्दा तिनलाई “नाश” गरिंदैन। तर यदि त्यस व्यक्‍तिले आफ्नो धार्मिक आस्था छोडेन भने परमेश्‍वरले चाँडै यस दुष्ट रीतिरिवाजको अन्त गर्नुहुँदा तिनी के हुनेछन्‌?—भजन ३७:३७, ३८.

आफ्नो पति वा पत्नीसित दुर्व्यवहार गर्ने

१६, १७. कोही-कोहीले कस्तो विश्‍वासघाती मार्ग अपनाए?

१६ त्यसपछि, मलाकी दोस्रो विश्‍वासघाती कार्यबारे बताउँछन्‌: विशेष गरी आफ्नो पति वा पत्नीलाई कुनै जायज कारणविना सम्बन्धविच्छेद गरेर दुर्व्यवहार गर्नु। अध्याय २ को पद १४ मा यसो भनिएको छ: “परमप्रभु तिमीहरू र तिमीहरूका जवानीपनको स्वास्नीको बीचमा गरिएको करारको साक्षी हुनुहुन्छ—तिमीहरूका स्वास्नी जसलाई तिमीहरूले धोका दियौ, यद्यपि ती तिमीहरूका जीवन-साथी र करारमा बाँधिएका स्वास्नी हुन्‌।” यहूदी पतिहरूले आफ्नी पत्नीलाई धोका दिएर परमेश्‍वरको वेदीलाई ‘आँसुले भिजाए।’ (मलाकी २:१३) ती पुरुषहरूले कुनै जायज कारणविना सम्बन्धविच्छेद गरेर सम्भवतः कम उमेरका वा मूर्तिपूजक स्त्रीहरूसित विवाह गर्न आफ्ना पत्नीहरूलाई गलत निहुँमा त्यागिरहेका थिए। दुःखको कुरा, भ्रष्ट पूजाहारीहरूले ती हुन दिइरहेका थिए! यद्यपि, मलाकी २:१६ यस्तो घोषणा गर्छ: “ ‘स्वास्नीलाई त्याग्ने कुरालाई म घिन गर्दछु,’ परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ।” पछि, येशूले सम्बन्धविच्छेद गर्ने एउटै मात्र आधार अनैतिकता हो भनी देखाउनुभयो जसपछि निर्दोष पति वा पत्नी फेरि अर्को विवाह गर्न स्वतन्त्र हुन्छ।—मत्ती १९:९.

१७ मलाकीको वचनलाई विचार गर्नुहोस्‌ अनि त्यसले मानिसको मनलाई मनपर्ने कुरा अनि दयामायाका भावनाहरू झल्काउँछ कि झल्काउँदैन, हेर्नुहोस्‌। उनले “तिमीहरूका जीवन-साथी र करारमा बाँधिएका स्वास्नी” भनेर उल्लेख गर्छन्‌। यहाँ उल्लिखित प्रत्येक यहूदी पुरुषले सँगी उपासक, इस्राएली स्त्रीसित विवाह गरेर तिनीहरूलाई प्रिय सँगिनीको रूपमा रोजेका थिए। त्यो विवाह सायद पतिपत्नी दुवै जवान र एकअर्कालाई आकर्षक लागेको बेला हुनुपर्छ। समय बित्दै जाँदा तिनीहरूको कोमल भावना र आपसी आकर्षण कम नहुनुपर्ने थियो किनकि करार अर्थात्‌ वैवाहिक बन्धनमा बाँधिन तिनीहरूलाई यही गुणहरूले आकर्षित गरेको थियो।

१८. धोका दिने सन्दर्भमा मलाकीको सल्लाह आज पनि कसरी लागू हुन्छ?

१८ यी विषयहरूसम्बन्धी सल्लाहहरू अहिले पनि उत्तिकै महत्त्वपूर्ण छन्‌। प्रभुमा मात्र विवाह गर्नुपर्छ भन्‍ने परमेश्‍वरको निर्देशनलाई कसै-कसैले इन्कार गर्नु दुःखको कुरा हो। अनि कोही-कोहीले आफ्नो वैवाहिक बन्धनलाई बलियो बनाउने प्रयास नगर्नु पनि दुःखको कुरा हो। बरु, तिनीहरू अनेक बहानाहरू बनाएर परमेश्‍वरले घृणा गर्नुहुने मार्ग अपनाउँछन्‌ अर्थात्‌ अरू कसैसँग विवाह गर्न शास्त्र विपरीत सम्बन्धविच्छेद गर्छन्‌। यसो गर्दा तिनीहरूले ‘परमप्रभुलाई थकित तुल्याउँछन्‌।’ मलाकीको समयमा ईश्‍वरीय सल्लाह अवहेलना गर्ने व्यक्‍तिहरूले परमेश्‍वरको दृष्टिकोण अव्यावहारिक छ भन्‍न समेत पछि परेनन्‌। तिनीहरूले वास्तवमा “न्याय गर्ने परमेश्‍वर कहाँ हुनुहुन्छ?” भनिरहेका थिए। कस्तो भ्रष्ट सोचाइ! हामी त्यस्तो पासोमा नपरौं।—मलाकी २:१७.

१९. पति तथा पत्नीहरूले कसरी परमेश्‍वरको पवित्र आत्मा प्राप्त गर्न सक्छन्‌?

१९ सकारात्मक पक्षलाई हेर्दा, आफ्ना पत्नीहरूलाई धोका नदिने केही पतिहरू पनि थिए भनी मलाकी बताउँछन्‌। तिनीहरूसित ‘परमेश्‍वरको पवित्र आत्माको अभाव थिएन।’ (पद १५) खुसीको कुरा, आज परमेश्‍वरको संगठनमा त्यस्ता पुरुषहरू प्रशस्त छन्‌। (१ पत्रुस ३:७) यी पतिहरूले पत्नीहरूलाई शारीरिक रूपमा वा दुर्वचन बोलेर दुर्व्यवहार गर्दैनन्‌, पतित यौन आचरणमा भाग लिन जिद्दी गर्दैनन्‌ अनि अन्य स्त्रीहरूसित प्रेमलिला गरेर वा अश्‍लील कुराहरू हेरेर आफ्नी पत्नीलाई अनादर गर्दैनन्‌। अनि यहोवाको संगठनमा प्रशस्त विश्‍वासी मसीही पत्नीहरू पनि छन्‌ जो परमेश्‍वर अनि उहाँको व्यवस्थाप्रति वफादार छन्‌। परमेश्‍वरले विश्‍वासघातको व्यवहारलाई घृणा गर्नुहुन्छ भनेर त्यस्ता पुरुष तथा स्त्रीहरूलाई थाह छ अनि तिनीहरू त्यसैअनुरूप सोच्न तथा व्यवहार गर्न कटिबद्ध छन्‌। ‘परमेश्‍वरको आज्ञा मान्दै’ तपाईं पनि तिनीहरूजस्तै हुन सकून्‌ र परमेश्‍वरले प्रशस्त मात्रामा पवित्र आत्मा दिऊन्‌।—प्रेरित ५:२९.

२०. सबै मानिसजातिको निम्ति कस्तो समय आउँदैछ?

२० चाँडै यहोवाले यस संसारको न्याय गर्नुहुनेछ। सबैले व्यक्‍तिगत तवरमा आफ्नो विश्‍वास र कार्यको उहाँलाई लेखा दिनुपर्छ। “हामी हरेकले परमेश्‍वरलाई आफ्ना आफ्ना लेखा दिनुपर्नेछ।” (रोमी १४:१२) त्यसैले, अहिले एउटा एकदमै चाखलाग्दो प्रश्‍न खडा हुन्छ: “यहोवाको दिनमा को बच्नेछ?” यस श्रृंखलाको तेस्रो अनि अन्तिम लेखले यस विषयमा छलफल गर्नेछ।

के तपाईं बुझाउन सक्नुहुन्छ?

• कुन मुख्य कारणले गर्दा यहोवाले इस्राएलका पूजाहारीहरूलाई गाली गर्नुभयो?

• किन यहोवाका स्तरहरू मानिसहरूले पालन गर्नै नसक्ने छैनन्‌?

• हामीले सिकाउँदा किन होसियार हुनु जरुरी छ?

• यहोवाले विशेष गरी कुन दुइटा व्यवहारको निन्दा गर्नुभयो?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

मलाकीको समयमा पूजाहारीहरूले यहोवाको मार्ग नअपनाएकोले तिनीहरूलाई ताडना दिइयो

[पृष्ठ १६-मा भएको चित्र]

आफ्नो व्यक्‍तिगत छनौटलाई प्राथमिकता नदिई यहोवाका मार्गहरू सिकाउन हामी होसियार हुनुपर्छ

[पृष्ठ १८-मा भएका चित्रहरू]

सानोतिनो कुराको निहुँमा विनाकारण आफ्ना पत्नीहरूसँग सम्बन्धविच्छेद गरेर मूर्तिपूजक स्त्रीहरूसँग विवाह गर्ने इस्राएलीहरूको यहोवाले भर्त्सना गर्नुभयो

[पृष्ठ १८-मा भएको चित्र]

आज मसीहीहरूले आफ्नो वैवाहिक करारको आदर गर्छन्‌