सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ

उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ

“मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” Nw ] दिनेछु”

उल्लेखनीय वृद्धिको कारण शीघ्र विस्तारको आवश्‍यकता पर्दछ

“म कहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW ] दिनेछु,” भनी येशू ख्रीष्टले भन्‍नुभयो। (मत्ती ११:२८) मसीही मण्डलीको शिरबाट कस्तो हृदयस्पर्शी निमन्त्रणा! (एफिसी ५:२३) यी शब्दहरूलाई गहिरिएर विचार गऱ्‍यौं भने हामीले स्फूर्तिको एउटा महत्त्वपूर्ण स्रोत, मसीही सभाहरूमा हाम्रा आध्यात्मिक भाइबहिनीहरूसँगको संगति हो भनेर मूल्यांकन नगरी बस्न सक्दैनौं। हामी पक्कै पनि भजनहारसँग सहमत हुन्छौं, जसले यस्तो भजन गाए: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ!”—भजन १३३:१.

निस्सन्देह, उपासनाको लागि यसरी भेला हुनेहरूसँग संगत गर्नु हाम्रो लागि सबैभन्दा असल संगति हो र त्यहाँको आध्यात्मिक वातावरण सुरक्षित तथा रमाइलो हुन्छ। त्यसैकारण त एक जना मसीही किशोरीले यसो भनिन्‌: “दिनभरि स्कूलमा बिताइसकेपछि म लखतरान हुन्छु। तर सभाहरू उजाड मरुभूमि बीचको मरुउद्यानजस्तै हुन्‌, अनि म भोलिपल्ट स्कूल जान फेरि नयाँ जोस पाउँछु।” एक जना नाइजेरियन किशोरीले यसो भनिन्‌: “यहोवालाई प्रेम गर्ने व्यक्‍तिहरूसित घनिष्ठ हुँदा म उहाँसँग अझै घनिष्ठ हुने मदत पाउँछु।”

समुदायमा साँचो उपासना चढाउने केन्द्रको आवश्‍यकता यहोवाका साक्षीहरूको स्थानीय राज्यभवनले पूरा गर्छ। अधिकांश राज्यभवनहरूमा कम्तिमा पनि हप्ताको दुई पटक सभाहरू सञ्चालन गरिन्छ र त्यहाँ हुने स्फूर्तिदायी संगतिको आनन्द उठाउनको लागि चाँडोभन्दा चाँडो उपस्थित हुन बाइबल विद्यार्थीहरूलाई प्रोत्साहन दिइन्छ।—हिब्रू १०:२४, २५.

एउटा टड्‌कारो आवश्‍यकता

तथापि, बिर्सन नहुने एउटा कुरा के हो भने, सबै यहोवाका साक्षीहरूको उपयुक्‍त राज्यभवन छैन। विश्‍वभरि राज्य उद्‌घोषकहरूको संख्यामा भएको उल्लेखनीय वृद्धिको कारण एउटा टड्‌कारो आवश्‍यकता सृजना भएको छ। विशेष गरी विकासोन्मुख मुलुकहरूमा अझै पनि हजारौं राज्यभवनको आवश्‍यकता छ।—यशैया ५४:२; ६०:२२.

उदाहरणका लागि: प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानीमा २९० वटा मण्डलीका लागि दशवटा मात्र राज्यभवन थिए। त्यस देशमा थुप्रै राज्यभवनहरूको टड्‌कारो आवश्‍यकता थियो। राज्यभवनहरू थोरै मात्र भएका कारण अंगोलाका प्रायजसो मण्डलीहरू बाहिरै सभा गर्छन्‌। यस्तै आवश्‍यकता अन्य थुप्रै देशहरूमा पनि छ।

त्यसैकारण, सीमित स्रोतहरू उपलब्ध भएका मुलुकहरूमा राज्यभवन निर्माण गर्नको लागि मदत गर्न सन्‌ १९९९ देखि एउटा संगठित प्रयासको थालनी भएको छ। यस्ता मुलुकहरूमा भइरहेको निर्माण परियोजनाको हेरचाह गर्न मदतको लागि अनुभवी साक्षीहरू स्वयंसेवकको हैसियतमा सेवारत छन्‌। यस्ता प्रयत्नहरूलाई स्थानीय स्वयम्‌सेवीहरूको इच्छुक मनोवृत्ति तथा सक्रियताले साथ दिंदा परिणाम निकै प्रोत्साहनदायी भएको छ। फलस्वरूप, आफूले पाएको प्रशिक्षणबाट स्थानीय साक्षीहरूले लाभ उठाइरहेका छन्‌। यस्ता सबै मदतले तिनीहरूको आ-आफ्नो देशमा राज्यभवन निर्माणको आवश्‍यकता पूरा गर्न मदत पुऱ्‍याइरहेको छ।

त्यसैले स्थानीय तरिका तथा स्रोत-साधनहरूको प्रयोग गरिने राज्यभवन निर्माणलाई लचिलो तरिकामा कार्यान्वयन गर्न व्यावहारिक सहयोग दिइन्छ। यसको लक्ष्य राज्यभवनहरूको बृहत्‌ आवश्‍यकतालाई पूर्ति गर्नु मात्र होइन तर स्थानीय परिस्थितिअनुसार सुहाउँदो मर्मत सम्भारको कार्यक्रम बनाउनु पनि हो।—२ कोरिन्थी ८:१४, १५.

प्रोत्साहनदायी उन्‍नतिहरू

उपासना स्थलहरू प्रबन्ध गर्ने यस्ता प्रयत्नहरूको कस्तो असर भएको छ? मलावीबाट सन्‌ २००१ को सुरुतिर प्राप्त रिपोर्टमा यसो भनिएको थियो: “यस देशमा भएको काम साँच्चै प्रभावकारी छ। आगामी दुई महिनामा हामीले अझ अरू राज्यभवनहरूको निर्माण कार्य पूरा गर्नेछौं।” (तस्बिर १ र २) टोगोमा केही महिना अघि मात्र स्वयम्‌सेवकहरूले साधारण किसिमका थुप्रै राज्यभवनहरू निर्माण गरे। (तस्बिर ३) इच्छुक स्वयम्‌सेवकहरूले गरेका असल कामले मेक्सिको, ब्राजिल र अरू मुलुकहरूमा पनि उपयुक्‍त राज्यभवनहरूको प्रबन्ध गर्न मदत पुगिरहेको छ।

राज्यभवन निर्माण भएपछि यहोवाका साक्षीहरू त्यो इलाकामा सधैं रहनेछन्‌ भनेर स्थानीय व्यक्‍तिहरूले महसुस गर्ने कुरा मण्डलीहरूले याद गरेका छन्‌। उपासनाको लागि उपयुक्‍त थलो नहोउन्जेलसम्म थुप्रै मानिसहरू साक्षीहरूसँग संगत गर्न अनिच्छुकजस्तो देखिन्थे। मलावीको नाफिसी मण्डली यस्तो रिपोर्ट गर्छ: “अहिले हाम्रो उपयुक्‍त राज्यभवन भएकोले यसले अरूलाई राम्रो साक्षी दिइरहेको छ। त्यसकारण, बाइबल अध्ययनहरू सुरु गर्न सजिलो भएको छ।”

पहिलाको राज्यभवन कुनै-कुनै चर्चहरूको तुलनामा त्यति राम्रो नभएकोले बेनिनको क्राक मण्डलीका सदस्यहरूले धेरै गिल्ला सहनुपऱ्‍यो। (तस्बिर ४) यस मण्डलीको अहिले सुन्दर नयाँ राज्यभवन छ र त्यसले साँचो उपसनालाई बाह्‍य आडम्बर मात्र नभई मर्यादित बनाएको छ। (तस्बिर ५) यस मण्डलीमा ३४ जना राज्य प्रकाशकहरू थिए र आइतबार हुने सभाहरूमा औसतन ७३ जना उपस्थित हुन्थे, तर राज्यभवनको समर्पणमा ६५१ जना उपस्थित भए। तीमध्ये अधिकांश मानिसहरू त्यही इलाकामा बस्ने मानिसहरू थिए र साक्षीहरूले एकदमै छोटो समयमा राज्य भवन बनाएको देखेर तिनिहरू निकै प्रभावित भए। यस सन्दर्भमा विगतमा भएका प्रगतिहरूबारे जिम्बावे शाखा कार्यालयले यस्तो लेख्यो: “नयाँ राज्यभवन बनाएको एक महिना भित्रमै प्रायजसो उपस्थिति संख्या दोबर हुन्छ।”—तस्बिरहरू ६ र ७.

निस्सन्देह, थुप्रै नयाँ राज्यभवनहरू समर्पित मसीहीहरूका साथै जिज्ञासु व्यक्‍तिहरू दुवैलाई आध्यात्मिक स्फूर्ति पाउने थलो भएको छ। स्थानीय मण्डलीले आफ्नो नयाँ राज्यभवन चलाउन थालेपछि युक्रेनका एक जना साक्षीले यसो भने, “हामी ठूलो आनन्द महसुस गर्छौं। यहोवाले आफ्ना जनहरूलाई कसरी मदत गर्नुहुन्छ भनी हामीले आफ्नै आँखाले देख्यौं। यहोवाले हामीलाई मदत गरिरहनुहुन्छ भन्‍ने कुरामा हाम्रो भरोसा अझै बलियो भएको छ।”

[पृष्ठ १०, ११-मा भएको पेटी/चित्रहरू]

उदार सहायताको मूल्यांकन गरिन्छ

नयाँ राज्यभवनहरूको टड्‌कारो आवश्‍यकता पूर्ति गर्नको लागि विश्‍वभरि भइरहेको तीव्र प्रगति देख्न पाउँदा यहोवाका साक्षीहरू रोमाञ्चित छन्‌। थुप्रै देशहरूमा यहोवाका उपासकहरूको संख्यामा भइरहेको लगातार वृद्धिको कारण भविष्यमा नयाँ राज्यभवनहरू आवश्‍यक पर्नेछ। नहोस्‌ पनि कसरी, सन्‌ २००१ सेवा वर्षको दौडान हरेक हप्ता औसतन ३२ वटा नयाँ मण्डली खडा भए! यस्ता मण्डलीहरूलाई भेला हुने र उपसना गर्ने स्थल चाहिन्छ।

यस्तो प्रश्‍न उठ्‌न सक्छ, ‘विशेष गरी, भाइहरूको सीमित आर्थिक स्रोत भएका देशहरूमा नयाँ राज्यभवनहरू बनाउने यस्ता परियोजनाहरूको लागि हामी कसरी खर्च जुटाउन सक्छौं?’ यसको जवाफमा ईश्‍वरीय सहायता र मानव उदारता दुवै कुरा बिथोलित छ।

आफ्ना सेवकहरूले “असल गरून्‌, तिनीहरू असल काममा उदारचित्त भएर धनवान होऊन्‌, बाँड़चुड़ गर्नामा तत्पर होऊन्‌” भनेर आफ्नो प्रतिज्ञाअनुसार नै यहोवाले आफ्नो पवित्र आत्मा खन्याउनु हुन्छ। (१ तिमोथी ६:१८) परमेश्‍वरको आत्माले यहोवाका साक्षीहरूलाई आफ्नो समय, शक्‍ति, मेहनत र मसीही क्रियाकलापहरूका लागि अन्य चीजहरू दिएर हर तवरमा राज्यको प्रचार कार्यलाई समर्थन गर्न उत्प्रेरित गर्छ।

उदार भएर दिने मनोभावले साक्षीहरू र यस विस्तार तथा निर्माण कार्यमा आर्थिक तवरमा सहयोग गर्ने अरू व्यक्‍तिहरूलाई उत्प्रेरित गर्छ। स्थानीय मण्डलीको नियमित खर्च पूरा गर्न मदत गर्नुको अलावा तिनीहरूले पृथ्वीका अन्य भागहरूमा हुने निर्माण कार्यका लागि पनि अनुदान दिन्छन्‌।

हरेक मण्डलीमा, “विश्‍वव्यापी कार्यका लागि चन्दा—मत्ति २४:१४” भनेर स्पष्टसँग लेखिएका बाकसहरू हुन्छन्‌। चाहेको खण्डमा हरेकले त्यसमा स्वेच्छिक अनुदान खसाल्न सक्छन्‌। (२ राजा १२:९) चाहे धेरै होस्‌ वा थोरै, सबै अनुदानको मूल्यांकन गरिन्छ। (मर्कूस १२:४२-४४) यो रकम राज्यभवनहरूको निर्माण कार्यलगायत आवश्‍यकताअनुसार अरू विभिन्‍न कार्यमा प्रयोग गरिन्छ। यस्तो अनुदान तलबी प्रशासकहरूलाई तलब खुवाउन प्रयोग गरिंदैन किनभने यहोवाका साक्षीहरूमा त्यस्ता कोही पनि छैनन्‌।

विश्‍वव्यापी कार्यका लागि दिइएको अनुदानले के आफ्नो उद्देश्‍य पूरा गर्छ? अवश्‍य गर्छ। गृह युद्धको कारण तहसनहस भएको देश लाइबेरियाको शाखा कार्यालयले रिपोर्ट गरेअनुसार अधिकांश स्थानीय साक्षीहरू बेरोजगारी तथा गम्भीर आर्थिक समस्याको चपेटामा परेका छन्‌। यस देशका यहोवाका जनहरूले उपासनाको लागि कसरी उपयुक्‍त थलो प्राप्त गर्न सके? “अरू मुलुकका भाइहरूले उदारतासाथ दिएका अनुदानहरू यस कामको खर्च व्यहोर्न प्रयोग गरिनेछ” भनेर शाखा कार्यालयले बतायो। “कस्तो बुद्धिमानी र मायालु प्रबन्ध!”

आफ्नो सीमित स्रोतसाधनहरूको बावजूद स्थानीय भाइहरूले पनि अनुदान दिन्छन्‌। अफ्रिकी देश सियरा लियोन यस्तो रिपोर्ट गर्छ: “स्थानीय भाइहरूले हर प्रयासमा साथ दिन्छन्‌ र राज्यभवन निर्माणमा परिश्रम गर्न तथा यथाशक्य आर्थिक अनुदान दिन तिनीहरू खुसी छन्‌।”

अन्तमा, निर्माण कार्यको लागि यस्तो प्रयास गर्दा यहोवाको प्रशंसा हुन्छ। लाइबेरियाका भाइहरू उत्साहपूर्वक यसो भन्छन्‌: “देशभरि उपयुक्‍त उपासना थलो निर्माण गर्दा साँचो उपासना सदा रहनेछ र हाम्रो परमेश्‍वरको महान्‌ नाउँलाई सम्मानित तथा सुशोभित पार्नेछ भनेर सबैले थाह पाउनेछन्‌।”