सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

खाँचोमा परेकाहरूलाई करुणा देखाउनुहोस्‌

खाँचोमा परेकाहरूलाई करुणा देखाउनुहोस्‌

खाँचोमा परेकाहरूलाई करुणा देखाउनुहोस्‌

“हरेकले आफ्नो भाइप्रति कृपा[ को] [ करुणाको] . . . व्यवहार गर।”—जकरिया ७:९.

१, २. (क) हामीले किन करुणा देखाउनुपर्छ? (ख) हामी कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

 यहोवा परमेश्‍वरको वचनले हामीलाई “करुणालाई” प्रेम गर्नू भनी आग्रह गर्छ। (मीका ६:८, NW, पादटिप्पणी) साथै हामीले त्यसो गर्नुपर्ने कारण पनि दिन्छ। एउटा कारण त “उदार [करुणा देखाउने] मानिसले आफ्नै कल्याण ल्याउँछ।” (हितोपदेश ११:१७) यो कुरा कत्ति साँचो छ! करुणा वा वफादार प्रेम देखाउँदा अरूसँग न्यानो तथा चिरस्थायी सम्बन्ध कायम हुन्छ। फलस्वरूप, हाम्रा वफादार मित्रहरू हुनेछन्‌ जुन साँच्चै अनमोल इनाम हो!—हितोपदेश १८:२४.

यसबाहेक, धर्मशास्त्र हामीलाई यस्तो भन्छ: “असल चालचलन र भक्‍ति [करुणा] देखाउनेले जीवन . . . पाउँछ।” (हितोपदेश २१:२१) हो, हामीले करुणा देखाउने प्रयास गऱ्‍यौं भने परमेश्‍वरको हामी झन्‌ प्यारो हुनेछौं र भविष्यमा अनन्त जीवनलगायत अन्य आशिष्‌हरू प्राप्त गर्न सक्नेछौं। तर हामी कसरी करुणा देखाउन सक्छौं? कसलाई करुणा देखाउनुपर्छ? अनि करुणा साधारणतया मानिसहरूले देखाउने दयाभन्दा कसरी फरक छ?

मानव दया र करुणा

३. मानव दयाभन्दा करुणा कसरी फरक छ?

साधारणतया देखाइने मानव दया र करुणाबीच भिन्‍नता छ। उदाहरणका लागि, मानव दया देखाउँदा साधारणतया आफू त्यो व्यक्‍तिसँग व्यक्‍तिगत तवरमा घनिष्ठ नभए तापनि दयालु व्यवहार गरिन्छ। तथापि, हामी कसैलाई करुणा देखाउँछौं भने त्यो व्यक्‍तिसँग हाम्रो मायालु सम्बन्ध बसेको हुन्छ। बाइबलमा मानिसहरूबीच करुणाको कार्य पहिले नै सम्बन्ध कायम भइसकेका मानिसहरूबीच व्यक्‍त गरिएको पाइन्छ। (उत्पत्ति २०:१३; २ शमूएल ३:८; १६:१७) वा ती पहिला गरेको दयाका कार्यहरूमा आधारित हुन सक्छ। (यहोशू २:१, १२-१४; १ शमूएल १५:६; २ शमूएल १०:१, २) यस भिन्‍नतालाई स्पष्ट पार्न हामी बाइबलमा मानिसहरूलाई देखाइएको एउटा मानव दया र अर्को करुणाको उदाहरण हेरौं।

४, ५. यहाँ उल्लिखित दुइटा बाइबल उदाहरणहरूले कसरी करुणा र मानव दयाबीच भिन्‍नता देखाउँछ?

मानव दयाको एउटा उदाहरण, पावललगायत जहाजमा डुबेका मानिसहरूको समूहसँग सम्बन्धित छ। तिनीहरूलाई आँधीले माल्टा टापुको समुद्री किनारामा पुऱ्‍याएको थियो। (प्रेरित २७:३७–२८:१) माल्टावासीको त्यहाँ अलपत्र परेका यात्रुहरूलाई मदत गर्नुपर्ने न त जिम्मेवारी नै थियो न त तिनीहरूसँग पहिलेदेखि सम्बन्ध नै थियो, तरैपनि तिनीहरूले परदेशी मानिसहरूको अतिथिसत्कार गरेर “औधि दया देखाए।” (प्रेरित २८:२, ७) तिनीहरूले दयालु ढंगमा अतिथिसत्कार गरे तर यो अप्रत्याशित थियो र परदेशीहरूलाई देखाइएको थियो। त्यसकारण यो मानव दया थियो।

त्यसको तुलनामा राजा दाऊदले आफ्नो मित्र जोनाथनका छोरा मपीबोशेतप्रति देखाएको अतिथिसत्कारलाई विचार गर्नुहोस्‌। दाऊदले मपीबोशेतलाई यसो भने: “तिमी मेरो टेबलमा बसेर मसँगै खानेछौ।” आफूले यस्तो प्रबन्ध गर्नुको कारण बताउँदै दाऊदले तिनलाई भने: “म तिमीलाई तिम्रा पिता जोनाथनको खातिर दया . . . [करुणा] देखाउन चाहन्छु।” (२ शमूएल ९:६, ७, १३) दाऊदले देखाएको अतिथिसत्कारलाई दया मात्र होइन तर पुरानो सम्बन्धप्रति वफादारीको प्रमाण भन्‍नु उपयुक्‍त छ। (१ शमूएल १८:३; २०:१५, ४२) त्यस्तै गरी, आज परमेश्‍वरका सेवकहरूले सबै मानिसप्रति मानव दया देखाउँछन्‌। यद्यपि, परमेश्‍वरबाट अनुमोदन प्राप्त सम्बन्ध भएकाहरूसँग तिनीहरूले चिरस्थायी करुणा वा वफादार प्रेम देखाउँछन्‌।—मत्ती ५:४५; गलाती ६:१०.

६. परमेश्‍वरको वचनमा मानवहरूबीच देखाइएको करुणाका कस्ता विशेषताहरू स्पष्ट पारिएको छ?

करुणाको अझ केही थप विशेषताहरू स्पष्ट पार्न हामी यस गुण झल्किने तीनवटा बाइबल विवरण छोटकरीमा छलफल गर्नेछौं। यसबाट हामी मानवहरूले देखाउने करुणाबारे के थाह पाउनेछौं भने, (१) खास कार्यहरूद्वारा व्यक्‍त गरिन्छ, (२) राजीखुसीसाथ व्यक्‍त गरिन्छ र (३) विशेष गरी खाँचोमा परेकाहरूलाई देखाइन्छ। यसबाहेक, यी विवरणहरूले आज हामी कसरी करुणा देखाउन सक्छौं भनी स्पष्ट पार्नेछ।

एक जना बुबाले करुणा देखाउँछन्‌

७. अब्राहामका नोकरले बतूएल र लाबानलाई के भने र नोकरले कुन कुरा उठाए?

उत्पत्ति २४:२८-६७ मा अघिल्लो लेखमा उल्लेख गरिएको अब्राहामको नोकरको बाँकी कथा बताइएको छ। रिबेकालाई भेटेपछि उक्‍त नोकरलाई रिबेकाको बुबा बतूएलको घरमा बोलाइयो। (पद २८-३२) त्यहाँ तिनले अब्राहामको छोराको निम्ति पत्नी खोज्न हिंडेको कुरा सबिस्तार सुनाए। (पद ३३-४७) तिनले त्यो बेलासम्म पाएको सफलता यहोवाबाट चिह्नको रूपमा लिए जसले “मालिककै आफन्तका छोरी उनको छोराको निम्ति दिन मलाई ठीक बाटोमा डोऱ्‍याउनुभयो।” (पद ४८) निस्सन्देह, सबै घटनाक्रमबारे बताउँदा बतूएल र तिनको छोरा लाबान पनि यी सबै कुरामा यहोवाको हात छ भनी पक्का हुनेछन्‌ भनेर ती नोकर विश्‍वस्त थिए। अन्तमा नोकरले यसो भने: “अब तपाईंहरू मेरा मालिकसँग दया [करुणा] र सत्यको व्यवहार गर्नुहुन्छ भने मलाई भन्‍नुहोस्‌। होइन भने पनि मलाई भन्‍नुहोस्‌, र म दाहिने देब्रे जता हुन्छ लागूँला।”—पद ४९.

८. रिबेकाको सन्दर्भमा बतूएलले कस्तो प्रतिक्रिया देखाए?

यहोवाले अब्राहामलाई करुणा देखाइसक्नुभएको थियो। (उत्पत्ति २४:१२, १४, २७) के रिबेकालाई अब्राहामको नोकरसँगै जान दिएर बतूएल पनि त्यस्तै गर्न इच्छुक हुने थिए? के परमेश्‍वरले देखाउनुहुने करुणा र मानिसले देखाउने करुणा एकअर्काका पूरक हुन्‌? वा नोकरले गरेको लामो यात्रा बेकार हुने थियो? लाबान र बतूएलले यसो भनेको सुन्दा अब्राहामको नोकरलाई असाध्यै ढुक्क महसुस भएको हुनुपर्छ: “यो कुरा परमप्रभुबाटनै हुनुआएको हो।” (पद ५०) यस विषयमा यहोवाको हात भएको तिनीहरूले मानिलिए र उहाँको निर्णय स्वीकार्न हिचकिचाएनन्‌। पछि बतूएलले आफ्नो करुणा यसरी व्यक्‍त गरे: “रिबेका तिम्रै सामने छ। त्यसलाई लिएर जाऊ, र परमप्रभुले भन्‍नुभए जस्तैगरी त्यो तिम्रा मालिकका छोराको पत्नी होस्‌।” (पद ५१) रिबेका राजीखुसी अब्राहामको नोकरसँग गइन्‌ र चाँडै इसहाककी प्यारी पत्नी भइन्‌।—पद ४९, ५२-५८, ६७.

छोराले देखाएको करुणा

९, १०. (क) याकूबले आफ्नो छोरा यूसुफलाई कस्तो आग्रह गरे? (ख) यूसुफले आफ्नो पिताप्रति कसरी करुणा देखाए?

अब्राहामका नाति याकूब पनि करुणाका पात्र भए। उत्पत्ति अध्याय ४७ मा बताइएअनुसार याकूब त्यतिबेला मिश्रमा बसोबास गरिरहेका थिए र तिनको ‘मर्ने बेला आइपुगेको’ थियो। (पद २७-२९) परमेश्‍वरले अब्राहाम प्रतिज्ञा गरेको भूमिभन्दा बाहिर मर्नुपर्ला भनेर तिनी चिन्तित थिए। (उत्पत्ति १५:१८; ३५:१०, १२; ४९:२९-३२) याकूब आफ्नो लास मिश्रमा गाडेको चाहँदैनथे, त्यसैकारण तिनले आफ्नो लास कनानमा लैजाने प्रबन्ध मिलाए। तिनको इच्छा पूरा गर्ने चाँजोपाँजो मिलाउन तिनका प्रभावशाली छोरा यूसुफभन्दा उपयुक्‍त अरू को हुनेथियो र?

१० विवरण यसो भन्छ: “[याकूबले] आफ्नो छोरा यूसुफलाई बोलाएर भने, “यदि तैंले मलाई श्रद्धा गर्छस्‌ भने दयागरी . . . मेरो चिहान मिश्र देशमा बनाउनेछैनस्‌ भनी मसँग प्रतिज्ञा गर्‌। मप्रति भक्‍ति देखा। तर जब म मेरा पिता-पुर्खाहरूसँग सुतिजाऊँला तब मलाई मिश्रबाट बोकेर लगी उनीहरूकै चिहानमा गाड़िदे।” (उत्पत्ति ४७:२९, ३०) यूसुफले तिनको इच्छा पूरा गर्ने वचन दिए र त्यसको केही समयपछि याकूबको मृत्यु भयो। यूसुफ तथा याकूबका अन्य छोराहरूले “उनलाई कनानसम्मै पुऱ्‍याए, र . . . अब्राहामले चिहान बनाउनलाई किनेका जग्गा[को] . . . मकपेलाको खेतको ओढ़ारमा तिनलाई गाड़े।” (उत्पत्ति ५०:५-८, १२-१४) यसरी यूसुफले आफ्नो पिताप्रति करुणा देखाए।

बुहारीबाट करुणा

११, १२. (क) रूथले नाओमीप्रति कसरी करुणा देखाइन्‌? (ख) रूथले “आखिरी[मा]” देखाएको करुणा “पहिले” भन्दा कसरी उत्तम थियो?

११ रूथको पुस्तकमा विधवा नाओमीलाई आफ्नो मोआबी बुहारी रूथले कसरी करुणा देखाइन्‌ भनी बताइएको छ र यी बुहारी पनि विधवा थिइन्‌। नाओमीले यहूदाको बेतलेहेम फर्कने निर्णय गर्दा रूथले करुणा र कटिबद्धता देखाउँदै यसो भनिन्‌: “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु। तपाईं जहाँ बस्नुहुन्छ म पनि त्यहींनै बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌, औ तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनेछन्‌।” (रूथ १:१६) पछि रूथले नाओमीको नातेदार बोअज, जसको उमेर ढल्किसकेको थियो तिनीसँग विवाह गर्ने इच्छुकता जाहेर गर्दा आफ्नो करुणा व्यक्‍त गरिन्‌। a (व्यवस्था २५:५, ६; रूथ ३:६-९) तिनले रूथलाई यसो भने: “तिमीले देखाएको यो आखिरी भक्‍ति [करुणा] पहिलेको भन्दा प्रगाढ़ छ। धनी कि गरीब कुनै जवान मानिसको पछि तिमी लागेनौ।”—रूथ ३:१०.

१२ रूथले आफ्ना मानिसहरू छोडेर नाओमीसँगै हिंड्‌दा “पहिले” पनि करुणा देखाएकी थिइन्‌। (रूथ १:१४; २:११) तर त्यतिबेलाको भन्दा “आखिरी” अर्थात्‌ रूथ, बोअजसँग विवाह गर्न राजी हुँदा देखाएको करुणा अझ उत्तम थियो। रूथले अब नाओमीलाई सन्तान दिन सक्थिन्‌ किनभने नाओमीको बच्चा जन्माउने उमेर कटिसकेको थियो। विवाह भयो र पछि रूथले बच्चा जन्माउँदा बेतलेहेमका स्त्रीहरू यसो भनेर कराए: “नाओमीको एउटा छोरो भयो।” (रूथ ४:१४, १७) रूथ साँच्चै “गुणवती” थिइन्‌ र त्यसैकारण यहोवाले तिनलाई येशू ख्रीष्टको पुर्खा हुने विशेष सुअवसर प्रदान गर्नुभयो।—रूथ २:१२; ३:११; ४:१८-२२; मत्ती १:१, ५, ६.

कार्यद्वारा व्यक्‍त गरिएको

१३. बतूएल, यूसुफ र रूथले कसरी करुणा व्यक्‍त गरे?

१३ बतूएल, यूसुफ र रूथले कसरी करुणा देखाए के तपाईंले विचार गर्नुभयो? तिनीहरूले दयालु वचन बोलेर मात्र होइन तर खास कार्यहरूद्वारा करुणा देखाए। बतूएलले “रिबेका तिम्रै सामने छ” मात्र भनेनन्‌ तर तिनले साँच्चै “रिबेकालाई . . . पठाइदिए।” (उत्पत्ति २४:५१, ५९) यूसुफले “तपाईंले भन्‍नुभएबमोजिम म गर्नेछु” मात्र भनेनन्‌ तर याकूब तथा तिनका दाइहरूले “तिनीहरूलाई आज्ञा गरेबमोजिम” गरे। (उत्पत्ति ४७:३०; ५०:१२, १३) रूथले “तपाईं जहाँ जानुहुन्छ म पनि त्यहीं जानेछु” मात्र भनिनन्‌ तर तिनी आफ्ना मानिसहरू छोडेर नाओमीसँगै गइन्‌ र “ती दुवै जना हिंड़े, र बेतलेहेममा आइपुगे।” (रूथ १:१६, १९) यहूदामा रूथले फेरि “तिनकी सासूले भनेझैं गरिन्‌।” (रूथ ३:६) हो, रूथले पनि अरूले जस्तै कार्यद्वारा नै करुणा देखाइन्‌।

१४. (क) परमेश्‍वरका वर्तमान सेवकहरूले कसरी आफ्नो कार्यद्वारा करुणा देखाउँछन्‌? (ख) तपाईंको इलाकामा मसीहीहरूले गरिरहेका करुणाका कस्ता कार्यहरूबारे तपाईंलाई थाह छ?

१४ आज पनि परमेश्‍वरका जनहरूले आफ्ना कार्यद्वारा करुणा व्यक्‍त गरेको देख्न पाउनु हृदयस्पर्शी कुरा हो। उदाहरणका लागि, असक्‍त, निराश वा शोकविह्वल भएका सँगी विश्‍वासीहरूलाई हरेस नखाई भावनात्मक सहयोग दिनेहरूलाई सम्झनुहोस्‌। (हितोपदेश १२:२५) अथवा ती यहोवाका साक्षीहरूलाई सम्झनुहोस्‌, जसले मण्डलीका वृद्ध भाइबहिनीहरूलाई साप्ताहिक सभाहरूमा जान सधैं ल्याउने लैजाने गर्छन्‌। जोर्नीशोथबाट पीडित ८२ वर्षीया आनाको यस कुरामा अन्य थुप्रै पनि पक्कै सहमत छन्‌ होला: “हरेक सभामा यसरी कसैले लगिदिनु साँच्चै यहोवाको आशिष्‌ हो। यस्ता मायालु भाइबहिनीहरू दिनुभएकोमा म उहाँलाई भित्र हृदयदेखि धन्यवाद दिन चाहन्छु।” के तपाईं मण्डलीका यस्ता कार्यहरूमा भाग लिइरहनुभएको छ? (१ यूहन्‍ना ३:१७, १८) तपाईंले यस्ता कार्यहरू गर्दै हुनुहुन्छ भने, तपाईंको करुणाको साँच्चै मूल्यांकन गरिन्छ भनी निर्धक्क हुनुहोस्‌।

राजीखुसीसाथ गरिरहेका

१५. हामीले छलफल गरेको तीनवटा बाइबल विवरणबाट करुणाको कुन पक्ष अझ स्पष्ट हुन्छ?

१५ हामीले छलफल गरेका बाइबल विवरणहरूबाट करुणा जबरजस्ती होइन तर स्वेच्छाले व्यक्‍त गरिन्छ भनी स्पष्ट हुन्छ। रिबेका र साथै बतुएल पनि राजीखुसीसाथ अब्राहामको नोकरको कुरामा सहमत भए। (उत्पत्ति २४:५१, ५८) यूसुफलाई पनि करुणा देखाउन अरू कसैले घचघच्याउन परेन। (उत्पत्ति ५०:४, ५) रूथले “[नाओमीसँग] जाने दृढ़ संकल्प” गरिन्‌। (रूथ १:१८) नाओमीले रूथलाई भेट्‌न आग्रह गर्दा मोआबी स्त्रीले करुणाकै कारण यसो भनिन्‌: “तपाईं जे भन्‍नुहुन्छ म गर्नेछु।”—रूथ ३:१-५.

१६, १७. बतूएल, यूसुफ र रूथको करुणा किन विशेष गरी अर्थपूर्ण छ र तिनीहरूलाई कुन कुराले यो गुण प्रदर्शन गर्न उत्प्रेरित गऱ्‍यो?

१६ बतूएल, यूसुफ र रूथले देखाएको करुणा विशेष गरी उल्लेखनीय छ किनभने अब्राहाम, याकूब र नाओमीले तिनीहरूमाथि बाह्‍य दबाउ दिन सक्दैनथे। आखिर बतूएललाई आफ्नी छोरी दिनैपर्ने कुनै कानूनी बाध्यता थिएन। तिनले अब्राहामको नोकरलाई यस्तो जवाफ दिएर कुरा टार्न सक्थे: ‘म आफ्नो मेहनती छोरी टाढा पठाउन चाहन्‍नँ।’ (उत्पत्ति २४:१८-२०) त्यस्तै गरी, यूसुफले आफ्नो पिताको इच्छाबमोजिम गर्ने वा नगर्ने भनी निर्णय गर्नसक्थे किनभने याकूब मरिसकेका हुनेथिए र तिनको त्यो इच्छा पूरा गर्न जबरजस्ती गर्न सक्दैनथे। नाओमीले रूथलाई तिनी मोआबमै बसे पनि हुन्छ भनेकी थिइन्‌। (रूथ १:८) रूथले उमेर ढल्किसकेका बोअजको सट्टा “जवान मानिस[सँग]” विवाह गर्न सक्थिन्‌।

१७ बतूएल, यूसुफ र रूथले राजीखुसीसाथ करुणा देखाए। तिनीहरू भित्री हृदयदेखि नै उत्प्रेरित भएका थिए। राजा दाऊदले मपीबोशेतप्रति जस्तै तिनीहरूले आफूसँग सम्बन्ध भएका मानिसहरूप्रति यो गुण प्रदर्शन गर्न नैतिक जिम्मेवारी महसुस गरे।

१८. (क) मसीही प्राचीनहरूले कस्तो मनोवृत्ति राखेर “बगालको गोठालो” गर्छन्‌? (ख) एक जना प्राचीनले सँगी विश्‍वासीहरूलाई मदत गर्नेबारे आफ्नो कस्तो भावना व्यक्‍त गरे?

१८ आज हाम्रो समयमा पनि करुणा, परमेश्‍वरको बगालको गोठालोलगायत परमेश्‍वरका जनहरूको चिनारी हो। (भजन ११०:३; १ थिस्सलोनिकी ५:१२) त्यस्ता प्राचीन वा निरीक्षकहरूले, तिनीहरूलाई नियुक्‍त गरेर तिनीहरूमाथि देखाइएको विश्‍वासलाई लत्याउन नहुने जिम्मेवारी महसुस गर्छन्‌। (प्रेरित २०:२८) तैपनि तिनीहरूले गोठालोरूपी काम र मण्डलीमा गरिने करुणाका अन्य कार्यहरू “करले होइन, तर परमेश्‍वरको इच्छाबमोजिम, खुशीसाथ” गर्छन्‌। (१ पत्रुस ५:२) प्राचीनहरूले बगालको गोठालो गर्छन्‌ किनभने तिनीहरूको यो जिम्मेवारी हुनुका साथै त्यसो गर्ने इच्छा पनि गर्छन्‌। तिनीहरूले ख्रीष्टको भेडाहरूप्रति करुणा देखाउँछन्‌ किनभने तिनीहरूले त्यसो गर्नैपर्छ र तिनीहरू गर्न पनि चाहन्छन्‌। (यूहन्‍ना २१:१५-१७) एक जना मसीही प्राचीन यसो भन्छन्‌, “कुनै विशेष कारणविना पनि म भाइहरूको घरमा जान वा फोन गर्न चाहन्छु किनभने म तिनीहरूको ख्याल राख्छु भन्‍ने महसुस गराउन चाहन्छु। भाइहरूलाई मदत गर्दा म निकै आनन्द र सन्तुष्टि महसुस गर्छु!” अरूको ख्याल राख्ने सबै प्राचीनहरू यस कुरासँग सहमत हुनेछन्‌।

खाँचोमा परेकाहरूलाई करुणा देखाउनुहोस्‌

१९. यस लेखमा छलफल गरिएको बाइबल विवरणमा करुणाको कुन तथ्यमा जोड दिइएको छ?

१९ हामीले छलफल गरेका बाइबल विवरणहरूले करुणा चाहिने तर आफूसित त्यो आवश्‍यकता पूरा गर्ने क्षमता नभएकाहरूलाई करुणा देखाउनुपर्छ भन्‍ने तथ्यलाई पनि जोड दिन्छ। आफ्नो वंश कायम राख्न अब्राहामलाई बतूएलको सहयोग चाहिएको थियो। कनानमा आफ्नो मृत शरीर पुऱ्‍याउन याकूबलाई यूसुफको मदत चाहिएको थियो। अनि सन्तान जन्माउन नाओमीलाई रूथको मदत चाहिएको थियो। अब्राहाम, याकूब र नाओमीले बाह्‍य मदतविना यी आवश्‍यकताहरू पूरा गर्न सक्दैनथे। त्यस्तै गरी आज, विशेष गरी खाँचोमा परेकाहरूलाई करुणा देखाउनुपर्छ। (हितोपदेश १९:१७) हामीले कुलपिता अय्यूबको अनुकरण गर्नुपर्छ जसले “सहायताको लागि पुकारा गर्दा गरीब मानिसलाई र रक्षाहीन टुहुरा–टुहुरीलाई” अनि “नाश आउनलागेको” मानिसलाई पनि मदत गरे। अय्यूबले ‘विधवाको मन पनि आनन्दले गाउने पारिदिन्थे’ र ‘अन्धाको लगि आँखा र लंगड़ाको निम्ति खुट्टा’ भइदिन्थे।—अय्यूब २९:१२-१५.

२०, २१. हाम्रो करुणाको खाँचो कसलाई छ र हामी सबै के गर्न कटिबद्ध हुनुपर्छ?

२० वास्तवमा भन्‍ने हो भने, सबै मसीही मण्डलीमा “सहायताको लागि पुकारा” गरिरहेकाहरू छन्‌। यो एकाकीपन, निरुत्साह, अयोग्यताको भावना, अरूले गर्दा निराशा, गम्भीर बिरामी वा प्रिय जनको मृत्यु जस्ता कारणहरूले गर्दा भएको हुन सक्छ। यस्तो पीडाको स्रोत जे सुकै भए तापनि राजीखुसीसाथ करुणाका कार्यहरूद्वारा त्यस्ता प्रिय जनहरूको खाँचो हामी पूरा गर्न सक्छौं र अझ भनौं भने, पूरा गर्नुपर्छ पनि।—१ थिस्सलोनिकी ५:१४.

२१ त्यसकारण हामी यहोवा परमेश्‍वरको अनुकरण गर्न नछोडौं जो “कृपामा [करुणामा] . . . प्रशस्त हुनुहुन्छ।” (प्रस्थान ३४:६; एफिसी ५:१) हामीले विशेष गरी खाँचोमा परेकाहरूको खातिर केही खास कार्यहरू गर्न सक्छौं। अनि निश्‍चय पनि हामीले यहोवाको आदर गर्न सक्छौं र “आफ्नो भाइप्रति कृपा [करुणा] र दयाको व्यवहार” गरेर धेरै आनन्द अनुभव गर्नेछौं।—जकरिया ७:९.

[फुटनोट]

a यहाँ बताइएको विवाहबारे विस्तृत विवरणको निम्ति यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स खण्ड १, पृष्ठ ३७० हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• करुणा र मानव दयाबीच कस्तो भिन्‍नता छ?

• बतूएल, यूसुफ र रूथले कसरी करुणा प्रदर्शित गरे?

• हामीले कस्तो मनोभाव राखेर करुणा प्रदर्शन गर्नुपर्छ?

• हाम्रो करुणाको खाँचो कसलाई छ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

बतूएलले कसरी करुणा देखाए?

[पृष्ठ २१-मा भएको चित्र]

रूथको वफादार प्रेम नाओमीको लागि आशिष्‌ थियो

[पृष्ठ २३-मा भएका चित्रहरू]

मानव दया, राजीखुसीसाथ खास कार्यहरूद्वारा र खाँचोमा परेकाहरूलाई देखाइन्छ