सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

टर्टुलियनको विरोधाभासपूर्ण विचारधारा

टर्टुलियनको विरोधाभासपूर्ण विचारधारा

टर्टुलियनको विरोधाभासपूर्ण विचारधारा

‘मसीही र दार्शनिक बीच के मेल? सत्यलाई भ्रष्ट पार्ने र त्यसलाई सच्याएर सिकाउने बीच केको समानता? दार्शनिक पाठशाला र चर्चको बीचमा के सहमति?’ यस्ता साहसिला प्रश्‍नहरू सा.यु. दोस्रो अनि तेस्रो शताब्दीका लेखक टर्टुलियनले उठाएका थिए। तिनी “चर्चको इतिहास र आफ्नो समयमा सिकाइएको धर्म सिद्धान्तहरूका ज्ञाताहरूमध्ये एक” भनेर चिनिए। साँच्चै, तिनले धार्मिक जीवनको सबै पक्षलाई गहिरिएर अध्ययन गरे।

सायद, टर्टुलियन विरोधाभासपूर्ण देखिने वाक्यहरूको निम्ति प्रख्यात छन्‌, जस्तै: “परमेश्‍वर सानो हुँदा पो झनै महान्‌ हुनुहुन्छ।” “[परमेश्‍वरको पुत्रको मृत्युलाई] हर तरहबाट पत्यार गर्नै पर्छ किनभने यो अतार्किक छ।” “[येशूलाई] गाडियो र उहाँ बिउँतनुभयो; कुरा स्पष्ट छ त्यो हुनै सक्दैन।”

टर्टुलियनका भनाइहरू विरोधाभासपूर्ण मात्र छैनन्‌। तिनको सत्यको पक्षमा लेख्ने र चर्च तथा तिनका शिक्षाहरूप्रति वफादार हुने मनसाय भए तापनि तिनले वास्तवमा सत्यलाई भ्रष्ट पारे। तिनले मसीहीजगत्‌को लागि दिएको मुख्य योगदान भन्‍नु नै एउटा यस्तो सिद्धान्त थियो, जसको आधारमा पछिका लेखकहरूले त्रिएकको सिद्धान्त विकास गरे। यी सबै कुरा कसरी भए भनी थप जानकारीको लागि आउनुहोस्‌ हामी पहिला टर्टुलियनबारे संक्षेपमा विचार गरौं।

“तिनी कहिल्यै पट्टाइलाग्दो भएनन्‌”

टर्टुलियनको जीवनीबारे त्यत्ति धेरै थाह छैन। प्रायजसो शास्त्रविद्‌हरू तिनको जन्म सा.यु. १६० तिर उत्तरी अफ्रिकाको कार्थेजमा भएको हुनुपर्छ भन्‍ने कुरामा सहमति जनाउँछन्‌। स्पष्टतया तिनी शिक्षित थिए र आफ्नो समयका दार्शनिक पाठशालाहरूको शिक्षासित अभ्यस्त थिए। सम्भवतः मसीही भनौंदाहरू आफ्नो विश्‍वासको खातिर ज्यानसमेत दिन तयार भएको देखेर तिनी मसीहीजगत्‌प्रति आकर्षित भएका थिए। मसीही शहीदहरूबारे तिनले यस्तो प्रश्‍न सोधे: “मसीही शहीद हुन विचार गर्ने कुनचाहिं मानिसले त्यस पछाडिको उत्प्रेरणा के हो भनी बुझ्न नचाहला र? अनि त्यो कुरा बुझेपछि हाम्रा सिद्धान्तहरूलाई कसले ग्रहण नगर्लान्‌ र?”

टर्टुलियन नाउँ मात्रको मसीही भएपछि सुस्पष्ट अनि रसिक वाक्यहरू लेख्न एकदम सिपालु अनुसन्धानमूलक लेखक भए। द फादर्स्‌ अफ द चर्च पुस्तकका अनुसार “[तिनीसित] धर्मविद्‌हरूमाझ पाउन मुस्किल पर्ने खालका सीपहरू थिए। तिनी कहिल्यै पट्टाइलाग्दो भएनन्‌।” एक जना शास्त्रविद्‌ यसो भन्छन्‌: “टर्टुलियन वाक्य संरचनामा भन्दा शब्दहरू खेलाउनुमा सिपालु थिए र तिनको तर्कलाई बुझ्नुभन्दा तिनका उटपटयाङ भनाइहरूलाई बुझ्न सजिलो पर्थ्यो। त्यसैले नै होला मानिसहरू तिनीबारे कुरा गर्न रुचाए तापनि तिनका भनाइहरूलाई त्यति उद्धृत गरिएको सुनिंदैन।”

मसीहीधर्मको समर्थनमा

टर्टुलियनको सबैभन्दा प्रख्यात कृति अपोलोजि-लाई मसीहीजगत्‌ भनौंदा मानिसहरूको समर्थनमा लेखिएको सबैभन्दा शक्‍तिशाली साहित्य भनेर मानिएको छ। मसीहीहरू अक्सर अन्धविश्‍वासी जमातहरूको सिकार भइरहेको समयतिर त्यो साहित्य लेखिएको थियो। टर्टुलियन ती मसीहीहरूको पक्षमा खडा भए र तिनीहरूप्रति गरिएको पक्षपातपूर्ण व्यवहारको विरोध गरे। तिनले भने: “[विरोधीहरू] मसीहीहरू हरेक आम विपत्ति तथा मानिसहरूको दुर्भाग्यका कारण हुन्‌ भन्‍ने विचार गर्छन्‌। . . . नील नदीमा पानी प्रशस्त मात्रामा भएन भने, मौसम परिवर्तन भएन भने, भुकम्प गयो, भोकमरी र महामारी फैलियो भने मानिसहरूले सीधै यसो भन्छन्‌: ‘मसीहीहरूलाई सिंहको अगाडि फ्याँकिदिनु।’ ”

मसीहीहरूमाथि प्रायजसो राज्यप्रति वफादार नभएको दोष लगाइए तापनि टर्टुलियनले तिनीहरू वास्तवमा संसारका भरोसायोग्य नागरिकहरू हुन्‌ भनेर देखाउने प्रयत्न गरे। सत्ता पल्टाउन गरिएका केही प्रयासहरूतिर आफ्ना विरोधीहरूको ध्यान खिचिसकेपछि तिनले त्यसो गर्ने षड्‌यन्त्रकारीहरू मसीहीहरू नभई गैरमसीही पदाधिकारीहरू नै थिए भनेर सम्झाए। मसीहीहरूलाई मृत्युदण्ड दिंदा खास नोक्सानी देशलाई हो भनी टर्टुलियनले औंल्याए।

टर्टुलियनका अन्य कृतिहरू मसीही जीवनसित सम्बन्धित थिए। उदाहरणका लागि अन द सोज नामक तिनको कृतिमा टर्टुलियनले मनोरञ्जनसित सम्बन्धित केही ठाउँ, गैरमसीही खेलहरू तथा पाशविक क्रियाकलापहरूमा भाग नलिन सल्लाह दिए। स्पष्टतयाः त्यसबेला भर्खरै धर्म परिवर्तन गर्ने केही मानिसहरूलाई बाइबल निर्देशन प्राप्त गर्न सभा धाउनु र गैरमसीही खेलहरूमा पनि भाग लिनु कुनै नमिल्दो कुराजस्तो लागेन। तिनीहरूको समझशक्‍तिलाई जुरमुऱ्‍याउन टर्टुलियनले यस्तो लेखे: “परमेश्‍वरको चर्चबाट दियाबलको ठाउँमा जानु अथवा धार्मिक गतिविधि त्यागेर पाशविक कामकुरामा लाग्नु कत्ति घीनलाग्दो कुरा हो।” तिनले भने: “तपाईंले कामद्वारा तिरस्कार गरेका कुराहरूलाई वचनमा स्वीकार्नु उचित होइन।”

सत्यको समर्थन गर्दागर्दै यसलाई नै भ्रष्ट पार्छन्‌

टर्टुलियनले अगेन्स्ट प्राक्सियास भन्‍ने आफ्नो निबन्ध यी शब्दहरूद्वारा सुरु गरे: “दियाबलले विभिन्‍न तरिकामा सत्यसित जोरी खोज्दै यसको प्रतिरोध गरेको छ। कहिलेकाहीं त्यसले सत्यको समर्थन गर्दै त्यसलाई नष्ट पार्ने लक्ष्य राख्ने गरेको पाइन्छ।” यस निबन्धमा प्राक्सियास भन्‍ने पात्र वास्तवमा को हो भनेर स्पष्ट नभए तापनि टर्टुलियनले परमेश्‍वर र ख्रीष्टसम्बन्धी तिनको शिक्षालाई चुनौती दिए। तिनी प्राक्सियासलाई मसीहीजगत्‌ भ्रष्ट पार्न शैतानले छलपूर्वक प्रयोग गरेको एक सिपाही ठान्थे।

त्यतिबेलाका मसीही भनौंदाहरूमाझ मुख्य विवादको विषय भनेको परमेश्‍वर र ख्रीष्टबीचको सम्बन्ध थियो। तिनीहरूमध्ये कोही-कोही विशेष गरी युनानी पृष्ठभूमीका केही मानिसहरूलाई परमेश्‍वरले नै उद्धार अनि छुडौतीको बलिदान दिने येशूको पनि भूमिका निभाउनु भएको हो भन्‍ने कुरा स्वीकार्न गाह्रो लागिरहेको थियो। प्राक्सियासले येशू पिताको अर्को रूप मात्र हुनुभएकोले उहाँहरूबीच कुनै पनि भिन्‍नता छैन भन्‍ने कुरा सिकाएर यस समस्याको समाधान गर्ने प्रयास गरे। यस मोडलिज्म भनेर चिनिने सिद्धान्तले परमेश्‍वरले “सृष्टि गर्नु हुँदा आफूलाई पिताको रूपमा [प्रकट गर्नुभयो] र व्यवस्था दिनुहुँदा येशू ख्रीष्ट अर्थात्‌ पुत्रको रूपमा प्रकट हुनुभयो अनि ख्रीष्टको स्वर्गारोहणपछि पवित्र आत्माको रूपमा प्रकट हुनुभयो।”

टर्टुलियनले धर्मशास्त्रमा पिता र पुत्रबीचको भिन्‍नता स्पष्ट पारेको छ भनी बताए। तिनले १ कोरिन्थी १५:२७, २८ उद्धृत गरेपछि यस्तो तर्क गरे: “(सब कुरा) आफ्नो अधीनमा राख्नुहुने र उहाँ जसको अधीनमा राखिएका छन्‌ तिनीहरू दुई भिन्‍नाभिन्‍नै व्यक्‍तित्वहरू हुनैपर्छ।” टर्टुलियनले येशूकै यी शब्दहरूतिर पनि ध्यान खिचे: “पिता मभन्दा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) भजन ८:५ जस्ता हिब्रू धर्मशास्त्रहरूका पनि केही अंशहरू चलाएर पुत्र “तल्लो दर्जामा” हुनुहुन्छ भनेर बाइबलले कसरी व्याख्या गर्छ भनेर तिनले देखाए। “तसर्थ पिता पुत्रभन्दा भिन्‍न हुनुहुन्छ र पुत्रभन्दा महान्‌ हुनुहुन्छ” भन्‍ने निष्कर्ष टर्टुलियनले निकाले। “तथ्यलाई नियाल्ने हो भने, उत्पत्ति हुने एक जना हुनुहुन्छ भने उत्पन्‍न गर्ने अर्को हुनुहुन्छ; पठाइने व्यक्‍ति एक जना हुनुहुन्छ भने पठाउने पनि अर्कै हुनुहुन्छ; बनिनुहुने एक जना हुनुहुन्छ भने बनाउनुहुने अर्कै व्यक्‍ति हुनुहुन्छ।”

टर्टुलियनले पुत्रलाई पिताको अधीनमा रहनुपर्ने व्यक्‍तिको रूपमा लिए। तथापि, अवतारको सिद्धान्तलाई विफल तुल्याउने प्रयासमा तिनी “लेखिएका कुराभन्दा बढता” गए। (१ कोरिन्थी ४:६) टर्टुलियनले येशूको ईश्‍वरत्त्वलाई गलत ढंगमा अर्को सिद्धान्तमार्फत प्रमाणित गर्ने प्रयास गर्दा तिनले “एउटै शक्‍तिका तीन व्यक्‍ति” भन्‍ने सिद्धान्तको सूत्रपात गरे। यस धारणालाई चलाउँदै तिनले परमेश्‍वर उहाँको पुत्र र पवित्र आत्मा एउटा ईश्‍वरीय शक्‍तिका तीन भिन्‍नाभिन्‍नै व्यक्‍तित्त्वहरू हुन्‌ भनेर देखाउने प्रयास गरे। यसरी तिनी पिता, पुत्र र पवित्र आत्मालाई बुझाउन ल्याटिन भाषामा “त्रिएक” अर्थ बुझाउने शब्द प्रयोग गर्ने पहिलो व्यक्‍ति भए।

संसारका दर्शनहरूदेखि होसियार रहनुहोस्‌

टर्टुलियनले “एउटै शक्‍तिका तीन व्यक्‍ति” भन्‍ने सिद्धान्तको परिकल्पना कसरी गर्न सके? यसको जवाफ दर्शनहरूप्रति रहेको तिनकै अर्को विरोधाभाषपूर्ण विचारधारामा पाउन सक्छौं। टर्टुलियनले दर्शनहरूलाई “मानिस तथा ‘प्रेतहरूका शिक्षा’ ” भने। मसीही सत्यतालाई समर्थन गर्न दर्शनशास्त्रहरूको प्रयोग गर्ने कार्यको तिनले खुल्लमखुल्ला आलोचना गरे। “स्टोइकवाद, प्लेटोवाद तथा विभिन्‍न प्रकारका दर्शनहरूलेजस्तो मसीहीजगत्‌लाई भ्रष्ट पार्ने प्रयासहरूदेखि अलग रहनुहोस्‌” भनेर तिनले बताए। यद्यपि, टर्टुलियन आफैले चाहिं आफ्नो विचारधारासित मिल्ने सांसारिक दर्शनहरू प्रशस्त मात्रामा प्रयोग गरे।—कलस्सी २:८.

एउटा पुस्तकले यस्तो उल्लेख गर्छ: “त्रिएकको धर्म सिद्धान्त विकास गर्न र व्यक्‍त गर्न हेलेनिस्टिक विचारधारा तथा प्रणालीहरूको मदत लिनु आवश्‍यक पर्थ्यो।” त्यस्तै गरी द थियोलोजि अफ टर्टुलियन नामक पुस्तक यसो भन्छ: “कानूनी र दार्शनिक विचारधारा तथा पदावलीहरू आश्‍चर्यमय ढंगले छ्यासमिस गरेर त्रिएकको धर्मसिद्धान्त प्रस्तुत गरे र सुरु-सुरुमा यसलाई कमजोर तथा त्रुटिपूर्ण मानिए तापनि पछि गएर नाइसी परिषद्‌मा पूर्वाधारको रूपमा प्रस्तुत भयो।” यसरी एउटै दैवी शक्‍तिमा तीन जना व्यक्‍तित्व भन्‍ने टर्टुलियनको सिद्धान्तले सम्पूर्ण मसीहीजगत्‌मा गलत धार्मिक शिक्षा फैलाउन प्रमुख भूमिका निर्वाह गऱ्‍यो।

सत्यको समर्थन गर्ने प्रयास गरेका मानिसहरूलाई टर्टुलियनले यसलाई भ्रष्ट पार्न खोजेको आरोप लगाए। तथापि, हाँस उठ्‌दो कुरा ईश्‍वरप्रेरित बाइबल सच्चाइ र मानव दर्शनहरूलाई मिसाएर तिनी आफै पनि त्यही जालमा फसे। त्यसैले आउनुहोस्‌ हामी पनि “बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्ततिर मन” दिनेहरू विरुद्ध दिइएको यस धर्मशास्त्रीय चेताउनीलाई मनमा राखौं।—१ तिमोथी ४:१.

[पृष्ठ २९, ३०-मा भएका चित्रहरू]

टर्टुलियनले दर्शनहरूको आलोचना गरे तर आफ्ना विचारधाराहरू फैलाउन भने त्यसकै प्रयोग गरे

[स्रोत]

Pages 29 and 30: © Cliché Bibliothèque nationale de France, Paris

[पृष्ठ ३१-मा भएको चित्र]

साँचो मसीहीहरूले बाइबलका सत्य कुरालाई मानव दर्शनहरूसित छ्यासमिस पार्दैनन्‌