सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निष्ठाले सोझाहरूलाई डोऱ्‍याउँछ

निष्ठाले सोझाहरूलाई डोऱ्‍याउँछ

निष्ठाले सोझाहरूलाई डोऱ्‍याउँछ

“स्त्रीबाट जन्मेको मानिस अल्प–आयुका र अशान्तिले भरिएको हुन्छ।” (अय्यूब १४:१) पीडा र वेदना सबै मानिसले भोग्नुपर्ने जस्तो देखिन्छ। हुन पनि सामान्य दिनचर्यासमेत तीनथुप्रो चिन्ता र गोलमालले भरिएको हुन सक्छ! कठिन परिस्थितिहरूको सामना गर्न हामीलाई केले डोऱ्‍याउनेछ र परमेश्‍वरको अगाडि धर्मी ठहरिन मदत गर्नेछ?

आजभन्दा लगभग ३,५०० वर्षअगाडि अहिलेको अरबीयामा बस्ने अय्यूब नाउँ गरेका एक जना धनी मानिसको उदाहरणलाई विचार गर्नुहोस्‌। परमेश्‍वरसँग डराउने यी मानिसमाथि शैतानले कत्ति धेरै विपत्तिहरू ल्यायो! तिनले सबै गाईवस्तुहरू गुमाउनुपऱ्‍यो र आफ्ना अति प्यारा छोराछोरीको पनि मृत्यु भयो। त्यसको धेरै समय नबित्दै शैतानले अय्यूबको टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो। (अय्यूब, अध्याय १ र) आफूमाथि यस्ता विपत्तिहरू आइपर्नुको कारण अय्यूबलाई थाह थिएन। तैपनि, “अय्यूबको मुखबाट एउटै पापको कुरा निस्केन।” (अय्यूब २:१०) तिनले भने, “नमरुञ्जेल म निर्दोष छु भन्‍ने मेरो दाबीलाई म छोड़नेछैनँ।” (अय्यूब २७:५) हो, अय्यूबको निष्ठाले तिनलाई परीक्षाहरू आउँदा डोऱ्‍यायो।

निष्ठालाई नैतिक स्वच्छता वा पूर्णता भनेर वर्णन गरिएको छ र यसमा परमेश्‍वरको नजरमा निष्खोट तथा निष्कलंक हुनु समावेश छ। तथापि, यसको मतलब असिद्ध मानिसहरू बोली तथा कार्यमा सिद्ध हुनैपर्छ भन्‍ने होइन किनभने तिनीहरूले पूर्ण रूपमा परमेश्‍वरको स्तर पालन गर्न सम्भव छैन। बरु, मानव निष्ठाले यहोवा र उहाँको इच्छा तथा उद्देश्‍यप्रति हृदयको सम्पूर्णता वा पूर्णतालाई जनाउँछ। यस्तो ईश्‍वरीय भक्‍तिले सोझाहरूलाई सबै परिस्थिति तथा समयमा डोऱ्‍याउँछ वा अगुवाइ गर्छ। बाइबलमा हितोपदेशको पुस्तकको ११ औं अध्यायको पहिलो भागले निष्ठाले हाम्रो जीवनको विभिन्‍न क्षेत्रमा कसरी डोऱ्‍याउन सक्छ भनी देखाउँछ र फलस्वरूप पाइने आशिष्‌हरूबारे आश्‍वासन दिन्छ। त्यसोभए, त्यहाँ लेखिएको कुरामा हामी गहिरिएर ध्यान देऔं।

निष्ठाले व्यापारमा इमानदार बनाउँछ

कानूनी पदावली प्रयोग गर्नुको साटो कवितात्मक शब्दहरू प्रयोग गरेर पुरातन इस्राएलका राजा सुलेमानले इमानदारीको सिद्धान्तलाई यसरी प्रकाश पारे: “छलको तराजू परमप्रभुलाई घीन लाग्छ, ठीक ढकदेखि उहाँ प्रसन्‍न हुनुहुन्छ।” (हितोपदेश ११:१) यहोवा आफ्ना उपासकहरू व्यापारिक मामिलामा इमानदार भएको चाहनुहुन्छ भनेर जनाउन हितोपदेशको पुस्तकमा चार ठाउँमा प्रयोग गरिएको तराजू र ढकहरूको विवरणमध्ये यो पहिलो हो।—हितोपदेश १६:११; २०:१०, २३.

छलको तराजू प्रयोग गर्ने वा बेइमानी गर्नेहरूको सम्पन्‍नता लोभलाग्दो हुन सक्छ। तर अवैध व्यापारिक कारोबारमा लागेर के हामी असल र खराबसम्बन्धी यहोवाको स्तर त्याग्न चाहन्छौं? हामी निष्ठाको मार्गमा हिंड्‌छौं भने त्यसो गर्ने छैनौं। हामी बेइमान हुन चाहँदैनौं किनभने इमानदारी प्रकट गर्ने पूरा ढक र ठीक ढकले यहोवालाई प्रसन्‍न तुल्याउँछ।

“चातुर्यमा बुद्धि हुन्छ”

राजा सुलेमान अझै यसो भन्छन्‌: “अहंकार आउँदा निन्दा पनि आउँछ, तर चातुर्यमा बुद्धि हुन्छ।” (हितोपदेश ११:२) अहंकार चाहे घमण्ड, अनाज्ञाकारिता वा ईर्ष्याको रूपमा प्रकट होस्‌, यसले अपमान ल्याउँछ। अर्कोतर्फ, हाम्रा सीमितताहरूलाई नम्र भएर स्वीकार्नु बुद्धिमानी कदम हो। धर्मशास्त्रीय उदाहरणहरूले हितोपदेशमा बताइएको यो सत्य कुरालाई कत्ति राम्रोसँग स्पष्ट पार्छ!

एक जना ईर्ष्यालु लेवी, कोरहले यहोवाका नियुक्‍त सेवकहरू मोशा र हारूनको विरुद्धमा मानिसहरूको विद्रोही समूहको नेतृत्व गरे। त्यो अहंकारी कामको परिणाम कस्तो भयो? “धरतीले आफ्नो मुख बाएर” केही विद्रोहीहरूलाई ‘निल्यो’ जबकि कोरहलगायत अरू केहीलाई आगोले भष्म पाऱ्‍यो। (गन्ती १६:१-३, १६-३५; २६:१०; व्यवस्था ११:६) कत्रो बेइज्जती! उज्जालाई विचार गर्नुहोस्‌ जसले आफ्नो सीमा बिर्सेर करारको सन्दूक खस्नलाग्दा हात बढाएर यसलाई थाम्न खोजेका थिए। त्यही बेला तिनको मृत्यु भयो। (२ शमूएल ६:३-८) हामीले अहंकार त्याग्नु कत्ति महत्त्वपूर्ण छ!

नम्र मानिसले गल्ती गर्दासमेत बेइज्जती भोग्नु पर्दैन। अय्यूब थुप्रै तरिकामा उदाहरणीय भए तापनि असिद्ध थिए। तिनको परीक्षाले तिनको सोचाइमा भएको गम्भीर त्रुटि प्रकट गऱ्‍यो। आफूलाई आरोप लगाउनेहरूबाट बच्नखोज्दा, अय्यूब केही असन्तुलित भए। तिनले आफू परमेश्‍वरभन्दा धर्मी छु भन्‍ने जस्तो कुरासमेत गरे। (अय्यूब ३५:२, ३) यहोवाले अय्यूबको सोचाइलाई कसरी सच्याउनुभयो?

पृथ्वी, समुद्र, तारामय आकाश, केही जनावरहरू र सृष्टिका अरू आश्‍चर्यहरू देखाएर यहोवाले अय्यूबलाई परमेश्‍वरको महानतासामु मानिसहरूको तुच्छताबारे पाठ सिकाउनुभयो। (अय्यूब, अध्याय ३८-४१) अय्यूबले किन दुःख भोग्दैछन्‌ भनेर यहोवाले आफ्नो कुराकानीको दौडान कतै पनि बताउनु भएन। यसो गर्नु आवश्‍यक पनि थिएन। अय्यूब नम्र थिए। तिनले आफू र परमेश्‍वरबीच, आफ्नो असिद्धता तथा कमजोरीहरू र यहोवाको धार्मिकता तथा शक्‍तिबीचको ठूलो भिन्‍नतालाई नम्रतापूर्वक स्वीकारे। तिनले भने, “म आफूलाई तुच्छ ठान्छु, म धूलो र खरानीमा बसेर पश्‍चाताप गर्दछु।” (अय्यूब ४२:६) अय्यूबको निष्ठाले गर्दा तिनले चेताउनीहरू सहजै स्वीकार्न सके। हामी नि? निष्ठाले गर्दा के हामी आवश्‍यकता परेको बेला सजिलै चेताउनी वा हप्काइ स्वीकार्छौं?

मोशा पनि नम्र तथा विनयी थिए। अरूका समस्याहरूको छिनोफानो गर्दागर्दै थकित भएको बेलामा तिनका ससुरा, यित्रोले यस्तो व्यावहारिक सल्लाह दिए: केही जिम्मेवारीहरू अरू योग्य मानिसहरूसँग बाँड्‌नू। आफ्ना सीमितताहरूलाई स्वीकार्दै मोशाले बुद्धिमानीपूर्वक यो सल्लाह स्वीकारे। (प्रस्थान १८:१७-२६; गन्ती १२:३) नम्र मानिस अरूसँग आफ्नो अख्तियार बाँड्‌न हिचकिचाउँदैन, न त अरू योग्य मानिसहरूसँग जिम्मेवारी बाँड्यो भने आफ्नो प्रभुत्व कम होला भनेर नै ऊ डराउँछ। (गन्ती ११:१६, १७, २६-२९) बरु, तिनीहरूलाई आध्यात्मिक तवरमा प्रगति गर्नको लागि मदत दिन इच्छुक हुन्छ। (१ तिमोथी ४:१५) के हामी पनि यस्तै हुनुपर्ने होइन र?

‘निर्दोषहरूको बाटो सोझो हुन्छ’

निष्ठाले सोझाहरूलाई सधैं खतरा वा विपत्तिबाट जोगाउँदैन भन्‍ने कुरा स्वीकार्दै सुलेमानले यसो भने: “इमान्दारीनैनिष्ठा, NW ] सोझाहरूको पथ-प्रदर्शक हो, तर बदमाशहरू आफ्नै छलमा विनाश हुन्छन्‌।” (हितोपदेश ११:३) निस्सन्देह, निष्ठाले सोझाहरूलाई अप्ठ्‌यारा परिस्थितिहरूमा समेत परमेश्‍वरको नजरमा जे सही छ सोही गर्न डोऱ्‍याउँछ र अनन्तकालीन लाभहरू प्रदान गर्छ। अय्यूबले आफ्नो निष्ठा त्याग्न अस्वीकार गरे र यहोवाले “अय्यूबको जीवनको आखिरी समयमा शुरूको समयभन्दा बढ़ी आशिष दिनुभयो।” (अय्यूब ४२:१२) छली व्यवहार गर्नेले अरूको हानि गरेर आफूले मोज गरिरहेको महसुस गर्लान्‌ र केही समयको लागि फलिफाप भएको जस्तो पनि देखिएला। तर ढिलो होस्‌ वा चाँडो, तिनीहरूको आफ्नै छलले तिनीहरूलाई नष्ट गर्नेछ।

“क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन, तर सोझोपनाले मृत्युबाट रक्षा गर्छ,” भनी बुद्धिमान राजा भन्छन्‌। (हितोपदेश ११:४) भौतिक कुराको लागि कडा परिश्रम गर्नु तर व्यक्‍तिगत अध्ययन, प्रार्थना, सभामा उपस्थिति र क्षेत्र सेवकाईजस्ता परमेश्‍वरप्रति हाम्रो प्रेम गहिरो बनाउने र उहाँमा हाम्रो आस्था बढाउने क्रियाकलापहरूलाई बेवास्ता गर्नु कत्ति मूर्खतापूर्ण हुनेछ! आउँदै गरेको महासंकष्टबाट हामीलाई जतिसुकै धेरै धन-सम्पत्तिले पनि छुटकारा दिनेछैन। (मत्ती २४:२१) सोझाहरूको धार्मिकताले मात्र छुटकारा दिनेछ। (प्रकाश ७:९, १४) त्यसैकारण, हामीले सपन्याहको यो बिन्ती सुन्‍नु बुद्धिमानी हुनेछ: “परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन आघिनै . . . हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज।” (सपन्याह २:२, ३) त्यतिन्जेलसम्म हामी “आफ्नो धन-सम्पत्तिले परमप्रभुको आदर” गर्ने लक्ष्य बनाऔं।—हितोपदेश ३:९.

धार्मिकता पछ्याउनुको महत्त्वबारे अझ बढी जोड दिंदै, सुलेमानले निर्दोष र दुष्ट मार्गबीचको नतिजाको भिन्‍नतालाई यसरी तुलना गरेका छन्‌: “निर्दोषहरू सोझोपनाले आफ्नै चालमा चल्छन्‌, तर दुष्टहरू आफ्नै दुष्टताले होच्याइन्छन्‌। सोझोपनाले धर्मीलाई बचाउँछ, तर बदमाशहरू आफ्नै लोभको पासोमा पर्छन्‌। जब मानिस मर्छ तब त्यसको आशाको पनि अन्त हुन्छ, औ त्यससँगै त्यसको धन-सम्पत्तिको आशा पनि खतम हुन्छ। धर्मी मानिस सर्वनाशबाट बचाइन्छ, औ दुष्ट मानिस चाहिँ त्यसभित्र जाकिन्छ।” (हितोपदेश ११:५-८) निर्दोषहरू न आफ्नो मार्गमा होच्याइन्छन्‌ न त आफ्नो लेनदेनमा नै जाकिन्छन्‌। उसको मार्ग सोझो हुन्छ। अन्ततः सोझाहरू विपत्‌बाट जोगाइन्छन्‌। दुष्टहरू शक्‍तिशाली देखिएलान्‌ तर तिनीहरूले यस्तो छुटकाराको आशा गर्न सक्दैनन्‌।

“शहरै खुशी हुन्छ”

सोझाहरूको निष्ठा तथा कुकर्मीहरूको दुष्टताले अरू मानिसहरूलाई पनि असर गर्छ। इस्राएलका राजा यसो भन्छन्‌, “ईश्‍वरहीन मानिस आफ्नो वचनले अरूहरूलाई नाश गर्न चेष्टा गर्छ, तर धर्मी मानिसले तिनीहरूका निम्ति बिन्ती गर्दा तिनीहरू बचाइन्छन्‌।” (हितोपदेश ११:९) निन्दा, हानिकारक कुराकानी, फोहर बोली र फोस्रो गफले अरूलाई हानि गर्छ भन्‍ने कुरालाई नकार्ने को होला र? अर्कोतर्फ, धर्मीहरूको बोली शुद्ध, सोचविचार गरेको र अरूप्रति संवेदनशील हुन्छ। आफूसँग भएको ज्ञानले गर्दा आलोचकहरूको तर्कलाई झूटो साबित गरेर उसले आफ्नो निष्ठा देखाउन सक्छ।

राजा अझै यसो भन्छन्‌: “जब धर्मीको कल्याण हुन्छ तब शहरै खुशी हुन्छ, जब दुष्टको नाश हुन्छ तब रमाहट हुन्छ।” (हितोपदेश ११:१०) सामान्यतया, धर्मीहरूलाई सबैले मन पराउँछन्‌ र तिनीहरूले आफ्नो छिमेकीहरूलाई खुसी र आनन्दित महसुस गराउँछन्‌। वास्तवमा “दुष्ट” मानिसलाई कसैले पनि मन पराउँदैन। दुष्ट मानिसको मृत्यु हुँदा कसैले पनि उसको लागि शोक गर्दैनन्‌। यहोवाले ‘दुष्टहरूलाई जरैसमेत उखेल्नुहुँदा र विश्‍वासघातीहरूलाई झारझैं फ्याँक्नुहुँदा’ पक्कै पनि कसैलाई दुःख लाग्नेछैन। (हितोपदेश २:२१, २२) बरु, तिनीहरू नामेट भएको हुँदा रमाहट हुनेछ। तर हामी नि? हाम्रो चालढालले अरूको आनन्दमा योगदान पुऱ्‍याउँछ कि पुऱ्‍याउँदैन भनेर हामीले विचार गर्नु बेस हुनेछ।

“शहरको उन्‍नति हुन्छ”

सोझा र दुष्टहरूले समाजमा पार्ने असरबारे तुलना गर्दै सुलेमान अझै यसो भन्छन्‌: “सोझाहरूको आशीर्वादले शहरको उन्‍नति हुन्छ, तर दुष्टहरूका वचनले त्यो भताभुङ्‌ग हुन्छ।”हितोपदेश ११:११.

सोझो मार्ग पछ्याउने शहरवासीहरूले शान्ति र भलाइलाई प्रश्रय दिन्छन्‌ र अरूको भलो गर्छन्‌। त्यसकारण, पूरै शहर उच्च पारिन्छ र उन्‍नति हुन्छ। निन्दा गर्ने, चोट पुऱ्‍याउने र गलत कुराहरू गर्ने मानिसहरूले गोलमाल, बेखुसी, फूट र संकष्ट ल्याउँछन्‌। यस्ता मानिसहरू प्रभावशाली व्यक्‍तिहरू हुन्‌ भने यस्तो अवस्था झनै प्रस्ट हुन्छ। यस्तो शहरले गोलमाल, भ्रष्टाचार तथा नैतिक पतन र सम्भवतः आर्थिकसंकटसमेत सामना गर्नुपर्ने हुन्छ।

शहररूपी मण्डलीहरूमा संगत गर्दा यहोवाका जनहरूलाई पनि हितोपदेश ११:११ मा दिइएको सिद्धान्त उत्तिकै लागू हुन्छ। निष्ठावान्‌ आध्यात्मिक मानिसहरू भएको मण्डलीको असर परमेश्‍वरलाई सम्मान ल्याउने खुसी, सक्रिय र सहयोगी मानिसहरूको समूहमा देख्न सकिन्छ। यहोवाले त्यस्तो मण्डलीलाई आशिष्‌ दिनुहुन्छ र आध्यात्मिक संवृद्धि हुन्छ। यदाकदा कोही-कोही ठुस्किने, असन्तुष्ट हुने, अरूले गरेको कामकुराहरूमा गल्ती मात्र भेट्टाउन खोज्ने र कुनै पनि कुराप्रति नकारात्मक दृष्टिकोण मात्र राख्ने हुनसक्छन्‌। तिनीहरू “तीतो जरा” जस्तै हुन्‌, जसले सुरुमा असल मानिसहरूमा पनि खराब प्रभाव फैलाएर विषाक्‍त बनाउन सक्छन्‌। (हिब्रू १२:१५) यस्ताहरूले अक्सर अरूको भन्दा बढी अख्तियार र प्रभुत्व खोज्छन्‌। मण्डलीमा वा प्राचीनहरूले अन्याय, जातीय पूर्वाग्रह वा यस्तै अन्य कामहरू गरिरहेका छन्‌ भनेर तिनीहरूले हल्ला फैलाउँछन्‌। तिनीहरूको मुखले मण्डलीमा अवश्‍य विभाजन ल्याउन सक्छ। के हामीले तिनीहरूको कुराप्रति कुनै ध्यान नदिन र मण्डलीको शान्ति तथा एकतामा योगदान दिने आध्यात्मिक मानिस हुन कोसिस गर्नु पर्दैन र?

सुलेमान अझै यसो भन्छन्‌: “निबुर्द्धि मानिसले अरूहरूलाई घृणा गर्छ, तर समझ-शक्‍ति भएको मानिस चूप लागिबस्छ। कुरा ओसार्नेले गुप्त कुरा प्रकट गर्छ, तर विश्‍वासयोग्य मानिसले गुप्त कुरा आफ्नै मनमा राख्छ।”हितोपदेश ११:१२, १३.

असल निर्णय गर्न नसक्ने वा “निर्बुद्धि मानिसले” कत्ति ठूलो हानि गर्छ! आफ्नो अनियन्त्रित कुराकानीलाई उसले निन्दा र दुर्वाच्य बोलीसम्म हुन दिन्छ। नियुक्‍त प्राचीनहरूले यस्तो खराब प्रभावलाई तुरून्तै रोक्नुपर्छ। “निर्बुद्धि मानिस” जस्तो नभई बुद्धिमान मानिसलाई कहिले चूप लाग्ने भन्‍ने कुरा थाह हुन्छ। धोका दिनुको साटो उसले कुरा गोप्य राख्छ। अनियन्त्रित जिब्रोले धेरै हानि गर्न सक्छ भन्‍ने बुझेर बुद्धिमान मानिस “विश्‍वासयोग्य” हुन्छ। ऊ सँगी विश्‍वासीहरूप्रति वफादार हुन्छ र उनीहरूलाई अप्ठ्यारोमा पार्न सक्ने खालका गोप्य कुराहरू प्रकट गर्दैन। यस्ता निष्ठावान्‌ व्यक्‍तिहरू मण्डलीको लागि कत्ति ठूलो वरदान हुन्‌!

हामीलाई निष्खोटहरूको मार्गमा हिंड्‌न मदत गर्न यहोवाले “विश्‍वासी र बुद्धिमान दास[को]” निर्देशनमा तयार पारिएको आध्यात्मिक भोजन प्रचुर मात्रामा उपलब्ध गराउनु हुन्छ। (मत्ती २४:४५) हाम्रो शहररूपी मण्डलीमा मसीही प्राचीनहरूद्वारा पनि हामीले थुप्रै व्यक्‍तिगत सहयोग पाउँछौं। (एफिसी ४:११-१३) यसको लागि हामी साँच्चै कृतज्ञ छौं, किनभने “बुद्धि भएको अगुवा छैन भने जातिको पतन हुन्छ, तर सल्लाहकार धेरै भएकाले सुरक्षा हुन्छ।” (हितोपदेश ११:१४) जस्तोसुकै परिस्थितिमा पनि ‘हाम्रो निष्ठामा हिंड्‌न’ हामी दृढतापूर्वक कटिबद्ध होऔं।—भजन २६:१, NW.

[पृष्ठ २६-मा भएको ठूलो अक्षरको क्याप्सन]

भौतिक कुराको लागि कडा परिश्रम गर्नु तर ईश्‍वरतान्त्रिक क्रियाकलापहरूलाई बेवास्ता गर्नु कत्ति मूर्खतापूर्ण हुनेछ!

[पृष्ठ २४-मा भएका चित्रहरू]

अय्यूब आफ्नो निष्ठाअनुसार हिंडे र यहोवाले तिनलाई आशिष्‌ दिनुभयो

[पृष्ठ २५-मा भएको चित्र]

उज्जा आफ्नो सीमा बिर्सेको कारण मरे