सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर को हुनुहुन्छ?

परमेश्‍वर को हुनुहुन्छ?

परमेश्‍वर को हुनुहुन्छ?

“परमेश्‍वर भन्‍ने नाउँ साधारणतया ब्रह्‍माण्डको सबैभन्दा महान्‌ स्रोत तथा सर्वशक्‍तिमान्‌ अनि जसलाई धार्मिक भक्‍ति चढाइन्छ, उसैलाई बुझाउन प्रयोग गरिन्छ” भनी दी इन्साइक्लोपीडिया अमेरिकाना बताउँछ। एउटा शब्दकोशले परमेश्‍वरलाई सर्वोच्च वा महान्‌ भनी परिभाषित गरेको छ। त्यस्तो विस्मयकारी व्यक्‍ति वास्तवमा कस्तो प्रकारको हुनुहुन्छ?

के परमेश्‍वर, व्यक्‍तित्वहीन शक्‍ति हुनुहुन्छ वा वास्तविक व्यक्‍ति? के उहाँको नाउँ छ? के उहाँ थुप्रै मानिसहरूले विश्‍वास गरेझैं त्रिएक हुनुहुन्छ? हामीले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छौं? बाइबलले यी प्रश्‍नहरूको साँचो तथा चित्तबुझ्दो जवाफ दिन्छ। वास्तवमा भन्‍ने हो भने, बाइबलले हामीलाई परमेश्‍वरको खोजी गर्न प्रोत्साहन दिंदै यसो भन्छ: “उहाँ हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।”—प्रेरित १७:२७.

व्यक्‍तित्वहीन शक्‍ति वा वास्तविक व्यक्‍ति ?

परमेश्‍वरमा विश्‍वास गर्ने थुप्रैले उहाँलाई व्यक्‍तिको रूपमा होइन तर शक्‍तिको रूपमा लिन्छन्‌। उदाहरणका लागि, कुनै-कुनै संस्कृतिमा प्राकृतिक शक्‍तिलाई नै परमेश्‍वरको रूप मानिन्छ। ब्रह्‍माण्डको संरचना तथा पृथ्वीमा जीवनबारे वैज्ञानिक खोजतलासद्वारा पत्ता लगाएका कुराहरू अध्ययन गर्ने कोही-कोही व्यक्‍तिहरूचाहिं यी सबै कुराहरू अस्तित्वमा ल्याउने परमशक्‍ति हुनुपर्छ भन्‍ने निष्कर्षमा पुगेका छन्‌। यद्यपि, तिनीहरू उक्‍त शक्‍तिको व्यक्‍तित्व पनि छ भनी स्वीकार्न चाहिं तयार छैनन्‌।

तर के सृष्टिको जटिलताले ती परमशक्‍ति एकदमै बुद्धिमान्‌ हुनुहुन्छ भनी प्रमाणित गर्दैन र? बुद्धिमान्‌ हुनको लागि मानसिक क्षमता पनि चाहिन्छ। यी सबै सृष्टि गर्ने महान्‌ बुद्धि परमेश्‍वरको हो। हो, परमेश्‍वरको शरीर छ तर हाम्रो जस्तो भौतिक नभई आत्मिक छ। “प्राकृतिक शरीर छ भने, आत्मिक शरीर पनि हुन्छ” भनी बाइबलले बताउँछ। (१ कोरिन्थी १५:४४) परमेश्‍वर कस्तो प्रकारको हुनुहुन्छ भनी बताउँदै बाइबलले स्पष्टसित यसो भन्छ: “परमेश्‍वर आत्मा हुनुहुन्छ।” (यूहन्‍ना ४:२४) आत्माको रूप हाम्रोभन्दा एकदमै भिन्‍न प्रकारको हुन्छ र हाम्रो मानव आँखाले देख्न सकिंदैन। (यूहन्‍ना १:१८) अदृश्‍य आत्मिक प्राणीहरू पनि छन्‌। तिनीहरू “साँचो परमेश्‍वरका पुत्रहरू” अर्थात्‌ स्वर्गदूतहरू हुन्‌।—अय्यूब १:६; २:१, NW.

परमेश्‍वर सृष्टि नगरिएको आत्मिक शरीर हुनुभएको कारण उहाँको बासस्थान पनि छ भन्‍ने निष्कर्षमा पुग्नु तार्किक छ। आत्मिक संसारलाई संकेत गर्दै बाइबलले हामीलाई स्वर्ग परमेश्‍वरको “बासस्थान” हो भनी बताउँछ। (१ राजा ८:४३) साथै बाइबल लेखक पावल यस्तो उल्लेख गर्छन्‌: ‘हाम्रो निम्ति परमेश्‍वरको सामने प्रकट हुनालाई ख्रीष्ट स्वर्गमै प्रवेश हुनुभएको छ।’—हिब्रू ९:२४.

“आत्मा” भन्‍ने शब्द बाइबलमा अर्को अर्थमा पनि प्रयोग भएको छ। प्रार्थनामा परमेश्‍वरलाई सम्बोधन गर्दै भजनरचयिताले यस्तो भने: “तपाईंले आफ्नो आत्मा पठाउनुभएमा ती सृष्टि हुन्छन्‌।” (भजन १०४:३०) यो आत्मा परमेश्‍वर स्वयम्‌ नभई उहाँले आफ्नो कार्य पूरा गर्न प्रयोग गर्नुहुने वा पठाउनुहुने शक्‍ति हो। यसैमार्फत परमेश्‍वरले स्वर्ग, पृथ्वी अनि सबै जीवित प्राणी सृष्टि गर्नुभयो। (उत्पत्ति १:२; भजन ३३:६) उहाँको आत्मालाई पवित्र आत्मा भनिन्छ। परमेश्‍वरले पवित्र आत्माद्वारा बाइबल लेखकहरूलाई प्रेरित गर्नुभयो। (२ पत्रुस १:२०, २१) तसर्थ पवित्र आत्मा भनेको परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्न प्रयोग गर्नुहुने अदृश्‍य सक्रिय शक्‍ति हो।

परमेश्‍वरको नाउँ अद्वितीय छ

बाइबल लेखक आगूरले यस्तो प्रश्‍न गरे: “कसले बतासलाई आफ्नो मुठीमा पारेको छ? कसले समुद्रलाई आफ्नो पोल्टोमा बाँधेको छ? कसले पृथ्वीका साँध-सीमाना तोकिदियो? उहाँको नाउँ के हो?” (हितोपदेश ३०:४) अर्को शब्दमा भन्‍ने हो भने, आगूरले यस्तो प्रश्‍न गरिरहेका थिए, ‘के तपाईंले यस्ता कामहरू गर्ने कुनै व्यक्‍ति वा वंशलाई चिन्‍नुभएको छ?’ परमेश्‍वरले मात्र प्राकृतिक शक्‍तिहरूलाई आफ्नो नियन्त्रणमा राख्न सक्नुहुन्छ। सृष्टिले परमेश्‍वरको अस्तित्वबारे सशक्‍त प्रमाण दिए तापनि परमेश्‍वरको नाउँबारे भने केही बताउन सक्दैन। वास्तवमा भन्‍ने हो भने, परमेश्‍वर आफैले नबताई हामीले कहिल्यै उहाँको नाउँ थाह पाउन सक्दैनौं। अनि उहाँले आफ्नो नाउँ प्रकाश पार्नुभएको छ। “म परमप्रभु [“यहोवा,” NW] हुँ, मेरो नाउँ त्यही हो” भनी सृष्टिकर्ताले बताउनुभएको छ।—यशैया ४२:८.

परमेश्‍वरको अद्वितीय नाउँ, यहोवा हिब्रू धर्मशास्त्रमा मात्र झन्डै ७,००० चोटि प्रयोग गरिएको छ। येशू ख्रीष्टले यस नाउँ अरूसामु प्रकट गर्नुका साथै त्यसको प्रशंसा गर्नुभयो। (यूहन्‍ना १७:६, २६) बाइबलको अन्तिम पुस्तकमा यस नाउँलाई “हल्लेलूयाह” भनिएको छ जसको अर्थ, “याहको प्रशंसा गर्नु” हो। अनि “याह” “यहोवा” नाउँको संक्षिप्त रूप हो। (प्रकाश १९:१-६) यद्यपि, अधिकांश आधुनिक बाइबलहरूले विरलै यो नाउँ प्रयोग गर्छन्‌। तिनीहरूले केवल “परमेश्‍वर” वा “परमप्रभु” भन्‍ने शब्दहरू चलाउँछन्‌। कोही-कोही शास्त्रविद्‌हरू ईश्‍वरीय नाउँलाई याहवे भनी उच्चारण गरिन्थ्यो भन्छन्‌।

यस ब्रह्‍माण्डको सबैभन्दा महान्‌ व्यक्‍तिको नाउँबारे किन यत्ति धेरै भिन्‍न विचारहरू छन्‌? यो समस्या शताब्दीयौंअघि यहूदीहरूले अन्धविश्‍वासको कारण धर्मशास्त्र पढ्‌दा ईश्‍वरीय नाउँ उल्लेख गरिएको सबै ठाउँमा उहाँको नाउँ उच्चारण गर्न छोडेर “सर्वोच्च प्रभु” भन्‍ने हिब्रू शब्द प्रयोग गर्न थालेदेखि सुरु भएको हो। बाइबलीय हिब्रू लेख्दा स्वरवर्ण संकेत प्रयोग गरिंदैन थियो। त्यसैले मोशा, दाऊद र पुरातन समयका अन्य व्यक्‍तिहरूले ईश्‍वरीय नाउँ कसरी उच्चारण गर्थे भनी किटेरै भन्‍न सकिने कुनै आधार छैन। तथापि, जेहोभा भनी अंग्रेजी उच्चारण चलनचल्तीमा आएको धेरै भइसक्यो र स्वीकार्य पनि भएको छ।—प्रस्थान ६:३; यशैया २६:४.

पुरातन हिब्रूमा परमेश्‍वरको नाउँ कसरी उच्चारण गरिन्थ्यो भनी यकिन गरेर भन्‍न नसके तापनि उहाँको नाउँको अर्थ भने सुस्पष्ट छ। उहाँको नाउँको अर्थ, “उहाँले हुन दिनुहुन्छ” हो। अतः यहोवा परमेश्‍वरले आफूलाई महान्‌ उद्देश्‍यकर्ताको रूपमा चिनाउनुहुन्छ। उहाँले आफ्ना उद्देश्‍य तथा प्रतिज्ञाहरू सधैं वास्तविकतामा परिणत गराउनुहुन्छ। यस्तो गर्ने शक्‍ति भएका साँचो परमेश्‍वरले मात्र यो नाउँ वहन गर्न सुहाउँछ।—यशैया ५५:११.

यहोवा भन्‍ने नाउँले सर्वोच्च परमेश्‍वरलाई अन्य देवीदेवताहरूभन्दा अलग्गै छुट्याउँछ भन्‍ने कुरामा शंका गर्नै पर्दैन। त्यसकारण बाइबलमा यो नाउँ बारम्बार प्रयोग गरिएको छ। अधिकांश बाइबल अनुवादहरूले ईश्‍वरीय नाउँ प्रयोग नगरे तापनि न्यु वर्ल्ड ट्रान्सलेसन-मा भजन ८३:१८ ले स्पष्टसँग यसो भनेको छ: “तपाईं जसको नाउँ यहोवा हो, तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” येशू ख्रीष्टले पार्थिव सेवकाईको दौडान आफ्ना अनुयायीहरूलाई यस्तो सिकाउनुभयो: “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्‌।” (मत्ती ६:९) अतः प्रार्थना गर्दा, उहाँबारे कुरा गर्दा र अरूसामु उहाँको प्रशंसा गर्दा हामीले उहाँको नाउँ प्रयोग गर्नुपर्छ।

के येशू परमेश्‍वर हुनुहुन्छ ?

यहोवा परमेश्‍वर स्वयम्‌ले आफ्नो पुत्रको स्पष्ट परिचय दिनुभएको छ। मत्तीको पुस्तकको विवरणमा येशूको बप्तिस्मापछि “स्वर्गबाट यसो भन्‍ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।’ ” (मत्ती ३:१६, १७) येशू ख्रीष्ट परमेश्‍वरको पुत्र हुनुहुन्छ।

यद्यपि, कुनै-कुनै धर्मका मानिसहरूले येशू नै परमेश्‍वर हुनुहुन्छ भन्छन्‌। अरूले परमेश्‍वर त्रिएक हुनुहुन्छ भन्छन्‌। यस त्रिएक शिक्षाअनुसार, “पिता परमेश्‍वर हुनुहुन्छ, पुत्र परमेश्‍वर हुनुहुन्छ र पवित्र आत्मा परमेश्‍वर हुनुहुन्छ तर तिनीहरू तीनवटा परमेश्‍वर नभई एउटै हुनुहुन्छ।” तिनीहरू तीनै परमेश्‍वर “बराबर तथा अनन्तसम्म हुनेछन्‌” भन्‍ने धारणा राख्छन्‌। (द क्याथोलिक इन्साइक्लोपीडिया) के त्यस्तो धारणा सही हो?

यहोवाको सन्दर्भमा प्रेरित धर्मशास्त्र यसो भन्छ: “अनादिदेखि अनन्तसम्म तपाईंनै परमेश्‍वर हुनुहुन्छ।” (भजन ९०:२) उहाँ ‘अनन्तका राजा’ हुनुहुन्छ र उहाँको सुरु पनि छैन, अन्त पनि छैन। (१ तिमोथी १:१७) अर्कोतर्फ, येशू “सारा सृष्टिको जेठो,” ‘परमेश्‍वरको सृष्टिका सुरु’ हुनुहुन्छ। (कलस्सी १:१३-१५; प्रकाश ३:१४) परमेश्‍वरलाई आफ्नो पिताको रूपमा संकेत गर्दै येशूले यसो भन्‍नुभयो: “पिता मभन्दा महान्‌ हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) येशूले केही यस्ता कुराहरू छन्‌ नता स्वर्गदूतहरूलाई, न उहाँलाई नै थाह छ, केवल परमेश्‍वरले मात्र जान्‍नुहुन्छ भनी भन्‍नुभयो। (मर्कूस १३:३२) यसबाहेक, येशूले आफ्नो पितालाई यसरी प्रार्थना गर्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंकै इच्छाबमोजिम होस्‌।” (लूका २२:४२) उहाँले आफूभन्दा उच्च व्यक्‍तिबाहेक अरू कसलाई प्रार्थना गरिरहेको हुन सक्छ? अनि येशूलाई मृत्युबाट ब्यूँताउनुहुने येशू आफै नभई परमेश्‍वर हुनुहुन्थ्यो।—प्रेरित २:३२.

अतः धर्मशास्त्रअनुसार यहोवा, सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ र येशू उहाँको पुत्र हुनुहुन्छ। येशू यस पृथ्वीमा आउनुअघि वा उहाँको पार्थिव सेवकाईको दौडान कहिल्यै पितासित बराबर हुनुहुन्‍नथ्यो नता येशू पुनरुत्थान भएर स्वर्ग जानुभएपछि नै आफ्नो पिताको बराबर हुनुभयो। (१ कोरिन्थी ११:३; १५:२८) हामीले देखिहाल्यौं, त्रिएकको तेस्रो भाग भनिने पवित्र आत्मा व्यक्‍ति होइन। बरु, यो एउटा शक्‍ति हो जुन परमेश्‍वरले आफ्नो इच्छा पूरा गर्न प्रयोग गर्नुहुन्छ। अतः त्रिएकको शिक्षा धर्मशास्त्रसित मेल खाँदैन। a “यहोवा हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ!” भनी बाइबलले बताउँछ।—व्यवस्था ६:४, NW.

परमेश्‍वरलाई अझ राम्ररी चिन्‍नुहोस्‌

परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई ऐकान्तिक भक्‍ति चढाउन हामीले उहाँलाई राम्रोसँग चिन्‍नुपर्छ। हामी कसरी परमेश्‍वरलाई राम्ररी चिन्‍न सक्छौं? “उहाँको अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्‌गै देखिने भएको छ” भनी बाइबलले बताउँछ। (रोमी १:२०) परमेश्‍वरलाई राम्ररी चिन्‍ने एउटा तरिका उहाँको सृष्टिलाई नियालेर गहिरो मूल्यांकन गर्नु हो।

तथापि, सृष्टिबाट नै हामीले परमेश्‍वरबारे सबै कुरा थाह पाउन सक्दैनौं। उदाहरणका लागि, उहाँ अद्वितीय नाउँ भएको आत्मिक व्यक्‍ति हुनुहुन्छ भनी बुझ्न हामीले बाइबल पढ्‌नुपर्छ। वास्तवमा भन्‍ने हो भने, परमेश्‍वरलाई राम्ररी चिन्‍ने सर्वोत्तम तरिका बाइबल अध्ययनद्वारा हो। धर्मशास्त्रमा यहोवाले आफू कस्तो प्रकारको परमेश्‍वर हुनुहुन्छ भनी धेरै कुराहरू बताउनुभएको छ। उहाँले हामीलाई आफ्ना उद्देश्‍य तथा मार्गहरू पनि प्रकट गर्नुभएको छ। (आमोस ३:७; २ तिमोथी ३:१६, १७) परमेश्‍वर हामी “सत्यको ज्ञानमा” आएर उहाँको मायालु प्रबन्धहरूबाट लाभ उठाएको चाहनुहुन्छ भनी थाह पाउँदा हामी कत्ति आनन्दित हुन्छौं! (१ तिमोथी २:४) अतः आउनुहोस्‌, हामी यहोवाबारे अझ बढी जान्‍ने हर कोसिस गरौं।

[फुटनोट]

a यस विषयमा अझ विस्तृत छलफलको निम्ति यहोवाका साक्षीहरूद्वारा प्रकाशित शुड यु विलिभ इन द ट्रिनिटी? भन्‍ने पुस्तिका हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएका चित्रहरू]

परमेश्‍वरले पृथ्वी सृष्टि गर्न र बाइबल लेख्न मानिसहरूलाई प्रेरित गर्न आफ्नो पवित्र आत्मा चलाउनुभयो

[पृष्ठ ५-मा भएको चित्र]

स्वर्गबाट यसो भन्‍ने एउटा शब्द भयो, “यिनी मेरो प्यारो पुत्र हुन्‌”

[पृष्ठ ७-मा भएको चित्र]

येशूले आफूभन्दा सर्वोच्च व्यक्‍ति अर्थात्‌ परमेश्‍वरलाई प्रार्थना गर्नुभयो

[पृष्ठ ७-मा भएको चित्र]

येशूले परमेश्‍वरको नाउँ अरूसामु प्रकट गर्नुभयो

[पृष्ठ ७-मा भएका चित्रहरू]

हामीले परमेश्‍वरलाई अझ राम्ररी चिन्‍न सक्छौं