सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर को हुनुहुन्छ भनेर हामीले थाह पाउनुपर्छ

परमेश्‍वर को हुनुहुन्छ भनेर हामीले थाह पाउनुपर्छ

परमेश्‍वर को हुनुहुन्छ भनेर हामीले थाह पाउनुपर्छ

के तपाईं राति स्वच्छ आकाशमा टिलपिल टल्किरहेका ताराहरू देख्दा रमाउनुहुन्‍न? के सुगन्धित फूलको मगमग बास्नाले तपाईंलाई आनन्द दिंदैन? के तपाईं चराहरूको चिरबिर र मन्द बतास चल्दा पातको सिरसिर आवाज सुनेर मन्त्रमुग्ध हुनुहुन्‍न? अनि पानीमा बस्ने बडेमाको ह्वेल तथा अन्य प्राणीहरू कत्ति मनमोहक हुन्छन्‌! साथै अन्तस्करण चलाउन सक्ने अनि उदेकलाग्दो मस्तिष्क भएका मानवहरू छन्‌। तपाईंलाई आफू वरपरका यी सबै कुराहरू कसरी अस्तित्वमा आए जस्तो लाग्छ?

कसै-कसैले यी सबै संयोगले गर्दा भए भन्छन्‌। तर त्यसो हुँदो हो त, किन मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्छन्‌? विभिन्‍न रसायनको समिश्रणको कारण संयोगले सृष्टि भएका प्राणीहरूले आध्यात्मिक आवश्‍यकता महसुस गर्नुको कारण के हो?

“धर्म भन्‍ने कुरा मानव स्वभावको एउटा अभिन्‍न भाग हो र यो सबै सामाजिक वर्ग तथा शैक्षिक पृष्ठभूमिका मानिसहरूले महसुस गर्छन्‌।” यो भनाइले प्राध्यापक आलिस्टर हार्डिले आफ्नो पुस्तक द स्पिरिचियुल नेचर अफ म्यान-मा गरेको अनुसन्धानको सार प्रस्तुत गऱ्‍यो। हालै दिमागसम्बन्धी गरिएको अनुसन्धानपछि केही स्नायु वैज्ञानिकहरू मानिसहरूमा धर्म मान्‍ने क्षमता राखेर “जीनमा नै प्रोग्राम” गरिएको थियो भन्‍ने निष्कर्षमा पुगेका छन्‌। इज गड दी ओन्ली रियालिटि शीर्षक भएको पुस्तकमा यस्तो टिप्पणी गरिएको छ: “विभिन्‍न प्रश्‍नहरूको जवाफ धर्ममार्फत खोज्ने चेष्टा . . . मानिसजातिको सुरुआत भएदेखि सबै संस्कृति र युगको सामान्य पक्ष भएको छ।”

झन्डै २,००० वर्षअघि एक जना शिक्षित मानिस कस्तो निष्कर्षमा पुगे, विचार गर्नुहोस्‌। तिनले लेखे: “हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) वास्तवमा, बाइबलको सुरुको पदमा नै यस्तो उल्लेख गरिएको छ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुमयो।”—उत्पत्ति १:१.

तर परमेश्‍वर को हुनुहुन्छ? यस प्रश्‍नको जवाफ मानिसपिच्छे फरक-फरक छ। योशी नाउँ गरेका एक जना जापानी किशोरलाई परमेश्‍वर को हुनुहुन्छ भनी प्रश्‍न गर्दा तिनले यस्तो जवाफ दिए: “मलाई पक्का थाह छैन। म बौद्धमार्गी हुँ, त्यसैकारण परमेश्‍वर को हुनुहुन्छ भनी थाह पाउनु मलाई त्यति आवश्‍यक छ जस्तो लाग्दैन।” तर थुप्रैले बुद्धलाई नै देवता मान्छन्‌ भनी तिनले स्वीकारे। साठी वर्ष नाघिसकेका निक, व्यापारी हुन्‌ र तिनी परमेश्‍वरमाथि विश्‍वास गर्छन्‌ अनि तिनलाई परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ जस्तो लाग्छ। निकलाई परमेश्‍वरबारे के थाह छ भनी प्रश्‍न गर्दा तिनले निकै बेरपछि यस्तो जवाफ दिए: “यो त एकदमै गाह्रो प्रश्‍न भयो साथी। म यति मात्र भन्‍न सक्छु, परमेश्‍वर हुनुहुन्छ। उहाँको अस्तित्व छ।”

कसै-कसैले “सृष्टिकर्त्तालाई त्यागेर बरू सृष्टिको पूजा र सेवा” गर्छन्‌। (रोमी १:२५) लाखौंले परमेश्‍वरलाई भेट्टाउन असम्भव छ भन्‍ने सोचाइ राखेर आफ्ना मरिसकेका पुर्खाहरूलाई पुज्छन्‌। हिन्दूधर्ममा थुप्रै देवीदेवताहरू छन्‌। येशूका प्रेरितहरूको समयमा जूपिटर र मर्करीजस्ता विभिन्‍न देवहरूको उपासना गरिन्थ्यो। (प्रेरित १४:११, १२) मसीहीजगत्‌का थुप्रै चर्चहरूले त्रिएकको शिक्षा सिकाउँछन्‌। तिनिहरू पिता परमेश्‍वर हो, पुत्र परमेश्‍वर हो र पवित्र आत्मा पनि परमेश्‍वर हो भन्छन्‌।

“धेरै देवताहरू र धेरै मालिकहरू” छन्‌ भनी बाइबलले उल्लेख गर्छ। तथापि, बाइबल यसो पनि भन्छ: “हाम्रा निम्ति ता परमेश्‍वर एउटै हुनुहुन्छ, अर्थात्‌ पिता, जसका सबै कुराहरू हुन्‌।” (१ कोरिन्थी ८:५, ६) हो, साँचो परमेश्‍वर एउटै मात्र हुनुहुन्छ। तर उहाँ को हुनुहुन्छ? उहाँको रूप कस्तो छ? हामीले यी प्रश्‍नहरूको जवाफ पाउनु महत्त्वपूर्ण छ। स्वयम्‌ येशूले उहाँसँग प्रार्थना गर्नुहुँदा यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।” (यूहन्‍ना १७:३) परमेश्‍वरबारे सत्य कुरा थाह पाउनुमा हाम्रो अनन्त हित निर्भर छ भन्‍नु तार्किक छ।

[पृष्ठ ३-मा भएको चित्र]

यिनीहरू सबै कसरी अस्तित्वमा आए?

[स्रोत]

Whale: Courtesy of Tourism Queensland

[पृष्ठ २-मा भएको चित्रको स्रोत]

COVER: Index Stock Photography © 2002