सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

चर्चमा हुने अन्त्येष्टि वा विवाह समरोहहरूमा उपस्थित हुनु के मसीहीहरूको लागि बुद्धिमानी हुनेछ?

हामीले कुनै पनि तरिकामा झूटो धर्ममा भाग लिंदा परमेश्‍वर अप्रसन्‍न हुनुहुन्छ र यसबाट जोगिनै पर्छ। (२ कोरिन्थी ६:१४-१७; प्रकाश १८:४) चर्चमा हुने अन्त्येष्टि भनेको एउटा धार्मिक समारोह हो, जहाँ अमर आत्मा र असल मानिसहरूका लागि स्वर्गीय इनाम जस्ता गैरशास्त्रीय शिक्षाहरू दिइने सम्भावना हुन्छ। यसमा पादरीसँगै क्रसको चिह्न बनाउँदै प्रार्थनामा भाग लिनुपर्ने जस्तो कुरा पनि समावेश हुन सक्छ। चर्चमा हुने विवाह समारोहमा बाइबल विपरीतका प्रार्थनाहरू र अरू धार्मिक रीतिहरू पनि हुन सक्छन्‌। झूटो धर्मको प्रचलनमा भाग लिने मानिसहरूको समूहमा बस्दा तिनीहरूको काममा भाग लिने दबाउ सामना गर्न एक जना मसीहीको लागि निकै गाह्रो हुन सक्छ। यस्तो दबाउसामु आफूलाई पर्न दिनु कत्ति मूर्खता हुनेछ!

तर कुनै मसीहीले चर्चमा हुने अन्त्येष्टि वा विवाहमा उपस्थित हुनै पर्छ जस्तो महसुस गर्छ भने नि? उदाहरणका लागि, सच्चाइमा नभएको पतिले आफ्नी पत्नीलाई यस्ता समारोहहरूमा तिनीसँगै उपस्थित हुनको लागि भन्‍न सक्छन्‌। के उनी एक दर्शकको रूपमा मात्र आफ्नो पतिसँग उपस्थित हुन सक्छिन्‌? आफ्नो पतिको इच्छाको कदर गर्नको लागि पत्नीले तिनीसँग जाने तर कुनै पनि धार्मिक समारोहहरूमा भाग नलिने निर्णय गर्न सक्छिन्‌। अर्को तर्फ, त्यस परिस्थितिको कारण आफूमा पर्न सक्ने अत्यधिक भावनात्मक दबाउको कारण सम्भवतः ईश्‍वरीय सिद्धान्तमा सम्झौता गर्नुपर्ला भन्‍ने सोचेर उनले नजाने निर्णय पनि गर्न सक्छिन्‌। यो निर्णय गर्ने जिम्मेवारी उनकै हो। पक्कै पनि उनले सफा अन्तस्करण कायम राख्दै आफ्नो मनोशान्ति गुमाउन चाहँदिनन्‌।—१ तिमोथी १:१९.

जेसुकै होस्‌, आफ्नो विवेकको खातिर कुनै पनि धार्मिक समारोहहरूमा भाग लिने वा भजन गाउने तथा प्रार्थना गर्ने बेलामा शिर झुकाउने जस्ता कामहरू आफूले गर्ने नसक्ने कुरा पतिलाई बताउँदा भने लाभदायी हुन सक्छ। उनको कुरा सुनेर आफ्नी पत्नीको उपस्थितिको कारण आफूलाई अप्ठ्यारो पर्न सक्छ भन्‍ने निष्कर्षमा तिनी पुग्न सक्छन्‌। आफ्नी पत्नीप्रतिको प्रेमको कारण, उनको विश्‍वासप्रति आदरको कारण वा कुनै अप्ठ्यारो अवस्था नआओस्‌ भनेर तिनले एक्लै जाने निर्णय गर्न सक्छन्‌। तर यदि पत्नीलाई आफूसँग जान कर गरेमा, उनी साधारण दर्शकको रूपमा जान सक्छिन्‌।

त्यस्ता समारोहहरूको लागि हामी धार्मिक भवनमा उपस्थित हुँदा, यसले सँगी विश्‍वासीहरूमा पर्ने असरलाई पनि बेवास्ता गर्नु हुँदैन।यसले कसैको अन्तस्करणमा ठेस पुऱ्‍याउँछ कि? मूर्तिपूजाबाट अलग रहने तिनीहरूको निर्णय कमजोर पो हुने हो कि? पावल यस्तो सल्लाह दिन्छन्‌, “जे उत्तम छ सो तिमीहरूले खुट्ट्याउन सक र ख्रीष्टको दिनको निम्ति शुद्ध र दोषरहित रहन सक।”—फिलिप्पी १:१०, नयाँ संशोधित संस्करण।

यस्ता समारोहहरू नजिकको नातेदारको हो भने, पारिवारिक दबाउ अझै तीव्र हुन सक्छ। जेसुकै होस्‌, एक जना मसीहीले त्यसमा बिथोलित सम्पूर्ण कुराहरू ध्यानपूर्वक विचार गर्नुपर्छ। कुनै-कुनै परिस्थितिमा चर्चमा हुने अन्त्येष्टि वा विवाह समारोहमा साधारण दर्शकको रूपमा उपस्थित हुँदा कुनै अप्ठ्यारो अवस्था सिर्जना हुँदैन भन्‍ने निष्कर्षमा तिनी पुग्लान्‌। तथापि, कहिलेकाहीं यसमा उपस्थित हुँदा यसले उक्‍त व्यक्‍ति वा अरूको अन्तस्करणमा पुऱ्‍याउने चोटले त्यहाँ उपस्थित हुँदाका लाभहरूलाई नगण्य तुल्याइ दिन सक्छ। जस्तोसुकै परिस्थितिमा पनि आफ्नो निर्णयले गर्दा परमेश्‍वर र मानिसहरूसामु असल अन्तस्करण राख्न आफूलाई बाधा पुग्ने छैन भन्‍ने कुरामा प्रत्येक मसीही पक्का हुनुपर्छ।