सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको करुणाबाट लाभ उठाउने

यहोवाको करुणाबाट लाभ उठाउने

यहोवाको करुणाबाट लाभ उठाउने

“जो बुद्धिमान छ, त्यसले . . . परमप्रभुको करुणाको विचार गर्नेछन्‌।”—भजन १०७:४३.

१. बाइबलमा पहिलो चोटि “करुणा” भनी अनुवाद गरिएको हिब्रू शब्द कहिले प्रयोग गरियो र हामी यस गुणसित सम्बन्धित कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

 लगभग ४,००० वर्षअघि अब्राहामका भतिजा लूतले यहोवाबारे यसो भने: “तपाईं[ले] मलाई ठूलो करुणा देखाउनुभएको छ।” (उत्पत्ति १९:१९) बाइबलमा “करुणा” भनेर अनुवाद गरिएको हिब्रू शब्द यहाँ पहिलो चोटि प्रयोग गरिएको छ। याकूब, नाओमी, दाऊद तथा परमेश्‍वरका अन्य सेवकहरूले पनि मौलिक हिब्रू शब्दले बुझाउने यहोवाको यही गुणबारे बताएका छन्‌। (उत्पत्ति ३२:१०; रूथ १:८; २ शमूएल २:६) वास्तवमा भन्‍ने हो भने, अंग्रेजीमा “लभिङ काइन्डनेस” र “लभिङ काइन्डनेसेस्‌” अर्थात्‌ “करुणा” अर्थ बुझाउने शब्द न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स-मा झन्डै २५० चोटि प्रयोग गरिएको छ। तर यहोवाको करुणा भनेको के हो? यस्तो करुणा विगतमा कसलाई देखाइएको थियो? आज हामी पनि यसबाट कसरी लाभ उठाउन सक्छौं?

२. “करुणा” भन्‍ने अर्थ बुझाउने हिब्रू शब्दको सही परिभाषा दिन किन गाह्रो छ र यसको अर्थसँग सुहाउँदो अर्को शब्द कुन हो?

धर्मशास्त्रमा “करुणा” भनेर हिब्रू शब्दबाट अनुवाद गरिएको हो र यसको अर्थ एकदमै गहन भएको कारण अधिकांश भाषाहरूमा यसको पूरा अर्थ बुझाउने एउटै शब्द भेट्टाउन गाह्रो हुन्छ। त्यसकारण, “प्रेम,” “कृपा” र “वफादारी” जस्ता शब्दहरूले यसको पूरा अर्थ दिंदैन। तथापि, थियोलोजिकल वर्डबूक अफ द ओल्ड टेस्टामेन्ट-अनुसार “करुणा” शब्दले “उक्‍त शब्दको धेरथोर अर्थ बुझाउँछ।” न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्सेस्‌-अनुसार “करुणा” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्को अर्थ “वफादार प्रेम” भन्‍नु उपयुक्‍त छ।—प्रस्थान १५:१३; भजन ५:७; NW, पादटिप्पणी.

प्रेम र वफादारीभन्दा फरक

३. करुणा र प्रेमबीच कस्तो भिन्‍नता छ?

करुणा वा वफादार प्रेमसित नजिकको सम्बन्ध भएका अर्को गुणहरू प्रेम र वफादारी हुन्‌। यद्यपि, प्रेम र वफादारीभन्दा यो फरक हुनुका खास कारणहरू छन्‌। करुणा र प्रेम कसरी फरक छन्‌, विचार गर्नुहोस्‌। कुनै-कुनै भाषामा कुनै चीज र विचारलाई पनि प्रेम गर्न सकिन्छ। बाइबलमा “सुख-विलास प्रेम गर्ने” र “बुद्धि प्रेम गर्ने” भनेर बताइएको छ। (हितोपदेश २१:१७; २९:३) तर करुणा मानिसलाई देखाइन्छ, कुनै विचारधारा वा निर्जीव कुराहरूलाई होइन। उदाहरणका लागि, प्रस्थान २०:६ मा यहोवाले “हजारौं पुस्तामाथि कृपा [करुणा] देखाउनुहुन्छ” भनी बताइएको छ र यो मानिसहरूलाई संकेत गरेर भनिएको हो।

४. करुणा र वफादारीबीच कस्तो भिन्‍नता छ?

“करुणा” भनी अनुवाद गरिएको हिब्रू शब्दको “वफादारी” भन्‍ने शब्दभन्दा विस्तृत अर्थ छ। कुनै-कुनै भाषामा “वफादारी” भन्‍ने शब्दले अक्सर आफूभन्दा उच्च ओहदाको मानिसलाई तल्लो तहको मानिसले देखाउनुपर्ने मनोभावलाई बुझाउँछ। तर एक जना अनुसन्धाताले औंल्याएझैं बाइबलको दृष्टिकोणअनुसार करुणाले “ठीक विपरीत संकेत गर्छ: उच्च ओहदाका व्यक्‍तिले कमजोर वा खाँचोमा परेका वा आफूमा भर पर्ने व्यक्‍तिप्रति देखाउने वफादारी।” त्यसैकारण त राजा दाऊदले यहोवालाई यस्तो बिन्ती गरे: “तपाईंको मुख आफ्नो दासमाथि प्रज्ज्वलित गर्नुहोस्‌। तपाईंको करुणाद्वारा मेरो उद्धार गर्नुहोस्‌।” (भजन ३१:१६) यहोवा जो शक्‍तिशाली हुनुहुन्छ, उहाँले आफू खाँचोमा पर्दा करुणा वा वफादार प्रेम देखाऊन्‌ भनी दाऊदले बिन्ती गरे। खाँचोमा परेका मानिसहरूको शक्‍तिशाली व्यक्‍तिहरूमाथि कुनै अख्तियार नहुने भएको हुँदा त्यस्तो अवस्थामा जबरजस्ती होइन तर स्वेच्छाले करुणा देखाइन्छ।

५. (क) परमेश्‍वरको वचनमा उहाँको करुणाका कस्ता पक्षहरू प्रकाश पारिएको छ? (ख) हामी यहोवाको करुणाका कस्ता अभिव्यक्‍तिहरू छलफल गर्नेछौं?

“जो बुद्धिमान छ, त्यसले . . . परमप्रभुको करुणाको विचार गर्नेछन्‌” भनी भजनरचयिताले लेखे। (भजन १०७:४३) यहोवाको करुणाले गर्दा हाम्रो बचाउ र उद्धार हुन सक्छ। (भजन ६:४; ११९:८८, १५९) यो सुरक्षा हो र समस्याहरूबाट जोगाउने एउटा अपरिहार्य पक्ष हो। (भजन ३१:१६, २१; ४०:११; १४३:१२) यस गुणले गर्दा पापबाट मुक्‍त हुन सम्भव छ। (भजन २५:७) केही धर्मशास्त्रीय विवरणहरू पुनरावलोकन गर्दा र अन्य केही बाइबल पदहरू हेर्दा हामी यहोवाको करुणा (१) खास कार्यद्वारा व्यक्‍त गरिएको र (२) उहाँका विश्‍वासी जनहरूले अनुभव गरेका रहेछन्‌ भनेर बुझ्नेछौं।

छुटकारा—करुणाको अभिव्यक्‍ति

६, ७. (क) लूतलाई यहोवाले कसरी ठूलो करुणा देखाउनुभयो? (ख) लूतले कहिले यहोवाको करुणाबारे उल्लेख गरे?

सायद यहोवाको करुणा कत्तिको विस्तृत छ भनी पक्का गर्ने सबैभन्दा उत्तम तरिका यो गुण समावेश भएको धर्मशास्त्रीय विवरणहरू केलाएरै होला। हामीले उत्पत्ति १४:१-१६ मा अब्राहामको भतिजा लूतलाई शत्रुहरूले उठाएर लगेको विवरण पाउँछौं। तर अब्राहामले लूतलाई बचाए। यहोवाले लूत र तिनको परिवार बसोबास गर्ने दुष्ट शहर, सदोमको विनाश गर्ने निर्णय गर्नुहुँदा लूतको जीवन फेरि खतरामा पऱ्‍यो।—उत्पत्ति १८:२०-२२; १९:१२, १३.

सदोमको विनाशभन्दा केही समयअघि यहोवाको स्वर्गदूतले लूत तथा तिनको परिवारलाई शहरबाहिर लगे। त्यतिबेला लूतले यसो भने: “तपाईंहरूको दासले तपाईंहरूको अनुग्रह पाएको छ, औ मेरो प्राण बचाएर तपाईं[ले] मलाई ठूलो करुणा देखाउनुभएको छ।” (उत्पत्ति १९:१६, १९) यसरी तिनलाई उद्धार गर्नुभएर यहोवाले देखाउनुभएको असाधारण करुणा लूतले मानिलिए। यस अवसरमा छुटकारा र उद्धारद्वारा परमेश्‍वरको करुणा प्रकट भयो।—२ पत्रुस २:७.

यहोवाको करुणा र उहाँको डोऱ्‍याइ

८, ९. (क) अब्राहामको नोकरलाई कस्तो काम अह्राइयो? (ख) नोकरले किन यहोवाको करुणाको निम्ति प्रार्थना गरे र तिनले प्रार्थना गरिरहँदा के भयो?

उत्पत्ति अध्याय २४ मा हामी परमेश्‍वरको करुणा वा वफादार प्रेमको अर्को कार्य पढ्‌न सक्छौं। उक्‍त विवरणमा अब्राहामले नोकरलाई आफ्ना कुटुम्बहरू बस्ने देशमा गएर आफ्नो छोरा इसहाकको लागि स्वास्नी खोज्न अह्राएको विवरण पढ्‌न सक्छौं। (पद २-४) यो काम गाह्रो थियो तर यहोवाको स्वर्गदूतले डोऱ्‍याउनेछ भन्‍ने आश्‍वासन नोकरले पाएका थिए। (पद ७) अन्तमा त्यस नोकर “नाहोरको शहर” (हारान वा नजिकैको ठाउँ) बाहिर स्त्रीहरू इनारमा पानी भर्न आउने बेलामै त्यहाँ पुगे। (पद १०, ११) तिनले स्त्रीहरू नजिकै आइरहेको देख्दा आफूलाई अह्राइएको काम गर्नुपर्ने निर्णायक घडी आइपुगेको महसुस गरे। तर तिनले ती स्त्रीहरूमध्येबाट सही छनौट कसरी गर्न सक्थे?

आफूलाई परमेश्‍वरको मदतको खाँचो भएको महसुस गर्दै अब्राहामको नोकरले यस्तो प्रार्थना गरे: “हे मेरा मालिकका परमप्रभु परमेश्‍वर, कृपा गरी आज मलाई मेरो काम सफल गराइदिनुहोस्‌।” (पद १२) यहोवाले कसरी आफ्नो करुणा व्यक्‍त गर्नुहुने थियो? परमेश्‍वरले छान्‍नुभएको केटी चिन्‍न कुनै खास चिह्न दिनुहोस्‌ भनी नोकरले बिन्ती गरे। (पद १३, १४) नोकरले यहोवासित जुन कुरा बिन्ती गरेका थिए, एउटी स्त्रीले ठीक त्यसै गरिन्‌। यसो हेर्दा तिनको प्रार्थनाकै जवाफ जस्तो थियो! (पद १५-२०) छक्क पर्दै नोकरले “डिठ लगाएर तिनलाई हेरिरह्‍यो।” तैपनि केही महत्त्वपूर्ण तथ्यहरू स्पष्ट पार्नु आवश्‍यक थियो। के ती सुन्दरी स्त्री अब्राहामकै नातेदार थिइन्‌? के तिनी अविवाहित थिइन्‌? त्यसैले यस नोकर “परमप्रभुले आफ्नो यात्रा सफल गरिदिनुभएको हो कि होइन भनी थाह पाउनालाई चूप लागी” बसे।—पद १६, २१.

१०. अब्राहामको नोकर किन यहोवाले आफ्नो मालिकप्रति करुणा देखाउनुभएको छ भन्‍ने निष्कर्षमा पुगे?

१० त्यसको लगत्तै, उक्‍त जवान स्त्रीले “म [अब्राहामको भाइ] नाहोरबाट मिल्काले जन्माएका बतूएलकी छोरी हुँ” भन्दै आफ्नो परिचय दिइन्‌। (उत्पत्ति ११:२६; २४:२४) अनि त्यतिबेला त्यस नोकरलाई यहोवाले आफ्नो प्रार्थनाको जवाफ दिनुभएको कुरा स्पष्ट भयो। खुसीले ओतप्रोत हुँदै तिनले आफ्नो शिर निहुराएर यस्तो भने: “मेरा मालिकका परमप्रभु परमेश्‍वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको अटुट प्रेम [करुणा] र विश्‍वस्तता त्याग्नुभएको छैन। परमप्रभुलेनै मलाई बाटोमा डोऱ्‍याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभयो।” (पद २७) डोऱ्‍याइ दिनुभएर परमेश्‍वरले यस नोकरको मालिक, अब्राहामप्रति करुणा देखाउनुभयो।

परमेश्‍वरको करुणाले छुटकारा र सुरक्षा प्रदान गर्छ

११, १२. (क) कस्तो परीक्षाको बेला यूसुफले यहोवाको करुणा अनुभव गरे? (ख) यूसुफलाई परमेश्‍वरले कसरी करुणा देखाउनुभयो?

११ अब हामी उत्पत्ति अध्याय ३९ छलफल गरौं। यस अध्यायमा अब्राहामका पनाति यूसुफ मिश्रको दासत्वमा बेचिएको विवरण छ। यद्यपि, “परमप्रभु यूसुफको साथमा हुनुहुन्थ्यो।” (पद १, २) वास्तवमा भन्‍ने हो भने, यूसुफका मिश्री मालिक पोतिफरले समेत यहोवा यूसुफको साथमा हुनुहुन्थ्यो भनी स्वीकारे। (पद ३) तथापि, यूसुफले कठिन परीक्षाको सामना गर्नुपऱ्‍यो। तिनीमाथि पोतिफरकी पत्नीलाई यौन दुर्व्यवहार गरेको झूटो आरोप लगाइयो र थुनामा हालियो। (पद ७-२०) तिनलाई “झ्यालखानमा” “खुट्टामा . . . नेल ठोकेर दुःख दिए, तिनी फलामका जञ्जीरमा राखिए।”—उत्पत्ति ४०:१५; भजन १०५:१८.

१२ विशेष गरी त्यो कठिन परीक्षाको समयमा के भयो? “परमप्रभु यूसुफका साथ हुनुहुन्थ्यो, र उहाँले तिनीमाथि टिठाउनुभयो [करुणा देखाउनुभयो]।” (पद २१क) यसरी देखाइएको करुणाले गर्दा आफूले भोगिरहेका समस्याहरूबाट यूसुफले छुटकारा पाए। यहोवाले यूसुफलाई “झ्यालखानका हाकिमको निगाह-पात्र बनाउनुभयो।” (पद २१ख) फलस्वरूप, हाकिमले यूसुफलाई उच्च ओहदामा नियुक्‍त गरे। (पद २२) पछि, यूसुफले एक जना मानिसलाई भेटे जसले पछि मिश्रका शासक फिरऊनलाई तिनीबारे बताए। (उत्पत्ति ४०:१-४, ९-१५; ४१:९-१४) अनि राजाले यूसुफलाई मिश्रको दोस्रो शासकको स्थानमा नियुक्‍त गरे जसको फलस्वरूप, तिनले मिश्रमा अनिकालको बेला जीवन बचाउने कार्य गरे। (उत्पत्ति ४१:३७-५५) यूसुफले १७ वर्षको उमेरदेखि दुःखकष्ट भोगेका थिए र झन्डै १२ वर्षभन्दा लामो समयसम्म दुःख भोगे! (उत्पत्ति ३७:२, ४; ४१:४६) तर ती दुःख र पीडाले भरिएका वर्षहरूमा पनि यहोवा परमेश्‍वरले ठूला विपत्तिहरूबाट सुरक्षा प्रदान गर्नुभएर र ईश्‍वरीय उद्देश्‍यमा विशेष भूमिका निर्वाह गर्न बचाउनुभएर यूसुफप्रति करुणा देखाउनुभयो।

परमेश्‍वरको करुणा कहिल्यै विफल हुँदैन

१३. (क) भजन १३६ मा यहोवाको करुणाका कस्ता कार्यहरू पाइन्छ? (ख) करुणाले के गर्छ?

१३ यहोवाले इस्राएलीहरूलाई सामूहिक तवरमा बारम्बार करुणा देखाउनुभयो। भजन १३६ मा बताइएअनुसार उहाँको करुणाकै कारण उहाँले तिनीहरूको उद्धार गर्नुभयो (पद १०-१५) र डोऱ्‍याइ (पद १६) तथा सुरक्षा (पद १७-२०) प्रदान गर्नुभयो। परमेश्‍वरले व्यक्‍तिविशेषप्रति पनि करुणा देखाउनुभएको छ। सँगी मानवहरूप्रति करुणा देखाउने व्यक्‍तिले अर्को व्यक्‍तिको अत्यावश्‍यक आवश्‍यकता पूरा गर्ने मनसाय राख्दै स्वेच्छाले अग्रसर हुन्छन्‌। करुणाको सन्दर्भमा एउटा पुस्तक यस्तो उल्लेख गर्छ: “यो यस्तो कार्य हो जसले जीवन बचाउँछ वा जीवनमा संवृद्धि ल्याउँछ। दुःख वा वेदनामा परेको व्यक्‍तिको खातिर हस्तक्षेप गर्नु हो।” एक जना शास्त्रविद्‌ले यसलाई “कार्यमा परिणत भएको प्रेम” भनी व्याख्या गरेका छन्‌।

१४, १५. लूत परमेश्‍वरको अनुमोदन प्राप्त सेवक थिए भनी हामी किन भन्‍न सक्छौं?

१४ हामीले केलाएर हेरेको उत्पत्तिको विवरणबाट के थाह पाउँछौं भने, आफूलाई प्रेम गर्ने व्यक्‍तिहरूलाई यहोवाले सधैं करुणा देखाउनुहुन्छ। लूत, अब्राहाम र यूसुफका परिस्थितिहरू एकैनासे थिएनन्‌ र तिनीहरूले बेग्ला-बेग्लै प्रकारका परीक्षाहरूको सामना गर्नुपऱ्‍यो। तिनीहरू असिद्ध मानिसहरू थिए तर यहोवाबाट अनुमोदन प्राप्त सेवकहरू थिए र तिनीहरूलाई ईश्‍वरीय मदतको खाँचो थियो। त्यस्ता व्यक्‍तिहरूप्रति हाम्रो स्वर्गमा हुनुहुने मायालु पिताले करुणा देखाउनुहुन्छ भन्‍ने कुराबाट हामीले सान्त्वना प्राप्त गर्न सक्छौं।

१५ लूतले केही मूर्ख निर्णयहरू गरे जसको कारण समस्याहरू भोग्नुपऱ्‍यो। (उत्पत्ति १३:१२, १३; १४:११, १२) यद्यपि, तिनले केही प्रशंसनीय गुणहरू पनि प्रदर्शित गरे। परमेश्‍वरका दुई जना स्वर्गदूत सदोममा आउँदा लूतले तिनीहरूको अतिथिसत्कार गरे। (उत्पत्ति १९:१-३) राम्रै मनसाय राखेर तिनले आफ्ना ज्वाइँहरूलाई सदोमको विनाशबारे चेताउनी दिए। (उत्पत्ति १९:१४) लूतप्रति परमेश्‍वरको दृष्टिकोणबारे हामी २ पत्रुस २:७-९ मा यस्तो लेखिएको पाउँछौं: “[यहोवाले] दुष्टहरूका कामुक जीवनबाट अति दुःखित भएका धार्मिक लूतलाई बचाउनुभयो, किनभने ती धार्मिक मानिस तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित हुन्थ्यो, यसरी भक्‍तहरूलाई परीक्षाबाट बचाउन र अभक्‍तहरूलाई इन्साफको दिनसम्म सजायमा राख्न प्रभु जान्‍नुहुन्छ।” हो, लूत धर्मी मानिस थिए र यस पदमा उल्लिखित शब्दहरूबाट तिनी ईश्‍वरभक्‍त मानिस थिए भनी थाह पाउन सक्छौं। तिनीजस्तै हामी पनि “पवित्र जीवन र भक्‍ति[का]” कामहरूमा लाग्दा परमेश्‍वरको करुणा पाउन सक्छौं।—२ पत्रुस ३:११, १२.

१६. बाइबलमा अब्राहाम र यूसुफबारे कस्ता सकारात्मक पदावलीहरू प्रयोग गरिएको छ?

१६ उत्पत्ति अध्याय २४ अनुसार अब्राहामको यहोवासँग घनिष्ठ सम्बन्ध थियो भनी प्रस्ट हुन्छ। सुरुको पदमा यसो भनिएको छ, “परमप्रभुले सबै कुरामा अब्राहामलाई आशिष दिनुभएको थियो।” अब्राहामको नोकरले यहोवालाई “मेरा मालिकका . . . परमेश्‍वर” भन्थे। (पद १२, २७) अनि चेला याकूबले अब्राहाम “कामैले ठीक ठहरिए” र “परमेश्‍वरका मित्र कहलिए” भनी बताएका छन्‌। (याकूब २:२१-२३) यूसुफबारे पनि त्यस्तै भन्‍न सकिन्छ। यहोवा र यूसुफबीचको नजिकको सम्बन्धबारे उत्पत्ति अध्याय ३९ भरि जोड दिइएको छ। (पद २, ३, २१, २३) साथै, यूसुफबारे चेला स्तिफनसले यसो भने: “परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो।”—प्रेरित ७:९.

१७. हामीले लूत, अब्राहाम र यूसुफको उदाहरणहरूबाट के सिक्न सक्छौं?

१७ हामीले ईश्‍वरीय करुणा पाउने जो-जो व्यक्‍तिहरूबारे छलफल गऱ्‍यौं, तिनीहरूको यहोवा परमेश्‍वरसँग राम्रो सम्बन्ध थियो र तिनीहरूले केही खास तरिकामा परमेश्‍वरको उद्देश्‍य पूरा गरे। तिनीहरूले यस्ता अवरोधहरूको सामना गर्नुपऱ्‍यो जसमाथि तिनीहरू आफ्नै बलले मात्र विजयी हुन सक्दैनथे। लूतको जीवन र अब्राहामको वंश खतरामा परेका थियो साथै यूसुफलाई पनि सुरक्षित राख्नुपर्ने थियो। यहोवाले मात्र यी ईश्‍वरभीरु पुरुषहरूको खाँचो पूरा गर्न सक्नुहुन्थ्यो र उहाँले करुणा झल्कने कार्यहरूद्वारा त्यो पूरा गर्नुभयो। हामीले पनि सधैंभरि यहोवा परमेश्‍वरको करुणा अनुभव गर्ने हो भने, उहाँसँग नजिकको सम्बन्ध विकास गर्नुपर्छ र उहाँको इच्छाअनुसार गरिरहनुपर्छ।—एज्रा ७:२८; भजन १८:५०.

परमेश्‍वरका सेवकहरूले अनुग्रह पाएका छन्‌

१८. बाइबलका विभिन्‍न पदहरूले यहोवाको करुणाबारे के बताउँछ?

१८ यहोवाको करुणाले “पृथ्वी भरिपूर छ” अनि हामी परमेश्‍वरको यस गुणको अत्यन्तै मूल्यांकन गर्छौं! (भजन ११९:६४) भजनहारको यस अभिव्यक्‍तिसँग हामी पूरा तनमनले सहमत छौं: “मानिसहरूले परमप्रभुको करुणाको निम्ति, र मानिसका सन्तानहरूप्रति उहाँका आश्‍चर्यकामका निम्त उहाँको प्रशंसा गरून्‌!” (भजन १०७:८, १५, २१, ३१) यहोवाले आफ्नो अनुमोदन प्राप्त सेवकहरूलाई व्यक्‍तिविशेष वा समूहको रूपमा करुणा देखाउनुभएकोमा हामी खुसी छौं। अगमवक्‍ता दानियलले यहोवालाई “महान्‌ र भययोग्य परमेश्‍वर” भनेर प्रार्थना गरे “जसले उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने सबैसँग प्रेमको करार पूरा गर्नुहुन्छ” अर्थात्‌ करुणा देखाउनुहुन्छ। (दानियल ९:४, नयाँ संशोधित संस्करण) राजा दाऊदले यस्तो प्रार्थना गरे: “तपाईंलाई चिन्‍नेहरूमाथि तपाईंको करुणा” रहोस्‌। (भजन ३६:१०) यहोवाले आफ्ना सेवकहरूप्रति करुणा देखाउनुहुने भएकोले हामी कत्ति कृतज्ञ छौं!—१ राजा ८:२३; १ इतिहास १७:१३.

१९. यसपछिको लेखमा हामी कस्ता प्रश्‍नहरूको छलफल गर्नेछौं?

१९ साँच्चै हामी यहोवाका जनहरू भएकोले अनुग्रह प्राप्त व्यक्‍तिहरू हौं! परमेश्‍वरले मानिसजाति सबैलाई देखाउनुभएको प्रेमबाट लाभ उठाउनुको अलावा हामी स्वर्गमा हुनुहुने मायालु पिताको करुणा वा वफादार प्रेमबाट पनि विशेष आशिष्‌हरूको आनन्द उठाउँछौं। (यूहन्‍ना ३:१६) विशेष गरी समस्याको बेला यहोवाको यस बहुमूल्य गुणबाट हामी लाभ उठाउँछौं। (भजन ३६:७) तर हामी कसरी यहोवाको करुणाको अनुकरण गर्न सक्छौं? के हामीले व्यक्‍तिगत तवरमा यो उल्लेखनीय गुण प्रदर्शन गरिरहेका छौं? यी तथा अन्य सम्बन्धित प्रश्‍नहरू अर्को लेखमा छलफल गरिनेछ।

के तपाईंलाई सम्झना छ?

• “करुणा” भन्‍ने शब्दलाई धर्मशास्त्रमा कसरी पनि अनुवाद गरिएको छ?

• करुणा, प्रेम र वफादारीभन्दा कसरी फरक छ?

• यहोवाले लूत, अब्राहाम र यूसुफलाई कसरी करुणा देखाउनुभयो?

• यहोवाले विगतमा देखाउनुभएको करुणाबाट हामीले कस्तो आश्‍वासन पाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १३-मा भएको चित्र]

यहोवाले लूतलाई कसरी करुणा देखाउनुभयो, के तपाईंलाई थाह छ?

[पृष्ठ १५-मा भएका चित्रहरू]

यहोवाले आफ्नो करुणाको कारण अब्राहामको नोकरलाई डोऱ्‍याउनुभयो

[पृष्ठ १६-मा भएका चित्रहरू]

यहोवाले यूसुफलाई जोगाउनुभएर करुणा देखाउनुभयो