सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ईश्‍वरीय भक्‍तिअनुसार हिंड्‌दा प्राप्त भएका इनामहरू

ईश्‍वरीय भक्‍तिअनुसार हिंड्‌दा प्राप्त भएका इनामहरू

जीवनी

ईश्‍वरीय भक्‍तिअनुसार हिंड्‌दा प्राप्त भएका इनामहरू

विलियम आहिनोरियाको वृत्तान्तमा आधारित

सदाझैं बुबा पीडाले छट्‌पटाइरहनुभएको आवाज सुनेर म मध्य रातमा झसंग ब्यूँझें। उहाँ आफ्नो पेट मिचेर भुइँमा लडिबुडी गरिरहनुभएको थियो। आमा, मेरी दिदी र म तुरुन्तै उहाँ भएको ठाउँमा गयौं। दुख्न अलि कम भएपछि उहाँ सीधा बस्नुभयो र लामो सास फेरेपछि यसो भन्‍नुभयो: “यस पृथ्वीमा यहोवाका साक्षीहरूसित मात्र शान्ति छ।” उहाँले भन्‍न खोज्नुभएको कुरा स्पष्टसित नबुझे तापनि यसले मभित्र अमेट छाप पाऱ्‍यो किनभने मैले यहोवाका साक्षीहरूबारे पहिला कहिल्यै सुनेको थिइनँ। उहाँले के भन्‍न खोज्नुभएको होला भनेर जान्‍न म अति उत्सुक थिएँ।

त्यो घटना सन्‌ १९५३ मा म छ वर्षको छँदा घटेको थियो। नाइजेरियाको मध्यपश्‍चिमस्थित मुख्यतः खेतीपाती गरिने गाउँ, इवोसाको एउटा परिवारमा मेरो जन्म भएको थियो। हाम्रो परिवारमा बहुविवाह गर्ने चलन थियो। म दोस्रो सन्तान भए तापनि परिवारमा जेठो छोरो थिएँ र हाम्रो परिवारमा पछि बुबाका तीनवटी पत्नी र १३ जना छोराछोरी थपिए। हामी हजुरबुबाको खरले छाएको, चारकोठे माटोको घरमा बस्थ्यौं। परिवारमा हजुरआमा र बुबाका तीन जना दाजुभाइका परिवार पनि थिए।

सानो छँदाको मेरो जीवन साह्रै दुःखलाग्दो थियो। त्यसो हुनुको एउटा मुख्य कारण बुबाको अस्वस्थता थियो। उहाँको पेटको पुरानो बिमारी थियो र मृत्यु नहोउन्जेलसम्म यस रोगले उहाँलाई सतायो। अफ्रिकी किसान परिवारको औकातले भ्याउने जडीबुटी र परम्परागत दुवै प्रकारको औषधोपचार कुनैले पनि उहाँलाई लागेको खुट्टयाउनै नसकिने रोग निको पार्न सकेन। बुबा पीडाले छट्‌पटाएर भुइँमा लडीबुडी गर्नुहुँदा हामीले कति रातहरू बिहान भाले नबासुन्जेल उहाँको छेउमा रोएर बितायौं। म र मेरा भाइबहिनीहरूलाई हजुरआमाको देखभालमा छोडेर आफ्नो रोगको उपचारको खोजीमा उहाँ आमासँग विभिन्‍न ठाउँमा जानुहुन्थ्यो।

जीविकोपार्जनका लागि हामी तरुल, आलु र किसमिसको खेती गर्थ्यौं र त्यसलाई बेच्थ्यौं। हाम्रो न्यून आय स्रोतलाई टेवा दिन हामीले रबरको चोप निकाल्ने काम पनि गऱ्‍यौं। हाम्रो मुख्य भोजन तरुल थियो। हामी बिहान तरुल खान्थ्यौं, दिउँसो तरुललाई मसिनो बनाएर खान्थ्यौं र फेरि बेलुका पनि तरुलै खान्थ्यौं। कहिलेकाहीं काँचो केरा भुटेर खाएको बेलामा मात्र अलि बेग्लै परिकार हुन्थ्यो।

हाम्रो जीवनको अभिन्‍न भाग भनेको पूर्वजहरूको उपासना गर्नु थियो। परिवारले पूर्वजहरूलाई लट्ठीमा बाँधेका शंखेकीराहरूसँगै खानेकुरा राखेर दिन्थे। बुबाले दुष्टात्मा र बोक्सीहरूबाट बच्न मूर्तिको पूजाआजा गर्नुहुन्थ्यो।

म पाँच वर्षको छँदा हामी हाम्रो गाउँदेखि लगभग ११ किलोमिटर टाढामा पर्ने खेतको घरमा अस्थायी रूपमा बसोबास गर्न थाल्यौं। त्यहाँ बुबालाई एक प्रकारको गिनी जुका पऱ्‍यो। यसले उहाँको पेटको बिमारलाई झनै चर्कायो। उहाँ दिउँसो काम गर्न सक्नुहुन्‍नथ्यो र पेटको बिमारले गर्दा राती उहाँलाई साह्रै सास्ती हुन्थ्यो। मलाई पनि एक किसिमको टाइफाइड ज्वरोले समात्यो। फलतः हातमुख जोड्‌न नातेदारहरूको मुख ताक्नुपऱ्‍यो। यस्तो दयनीय अवस्थामा बस्नुको साटो हामी इवोसाको गाउँ नै फर्कियौं। म जेठो छोरो भएकोले बुबा मैले खेती किसानीभन्दा राम्रो पेसा अपनाएको चाहनुहुन्थ्यो। राम्रो शिक्षाले मलाई परिवारको जीवनस्तर उकास्न र भाइबहिनीहरूको राम्ररी पालनपोषण गर्न सक्षम बनाउन सक्छ भन्‍ने सोचाइ उहाँ राख्नुहुन्थ्यो।

विभिन्‍न धर्महरूबारे थाह पाउँदै

गाउँ फर्केपछि म स्कूल जान थालें। यसरी स्कूल जाने क्रममा मसीहीजगत्‌का धर्महरूबारे थाह पाउन थालें। सन्‌ १९५० को दशकमा पश्‍चिमी शिक्षा र उपनिवेश अख्तियारवालाहरूको धर्मबीच नजिकको सम्बन्ध थियो। क्याथोलिक प्राथमिक स्कूलमा भर्ना भएको कारण म रोमन क्याथोलिक नै हुनुपर्ने थियो।

सन्‌ १९६६ मा १९ वर्षको भएपछि मलाई इवोसादेखि लगभग ८ किलोमिटर टाढा पर्ने इहोहिनमी शहरको पिल्ग्रिम बाप्टिस्ट माध्यामिक स्कूलमा भर्ना गरियो। त्यहाँ मैले अर्कै धार्मिक शिक्षा पाएँ। अब प्रोटेस्टेन्ट स्कूल जान थालेको कारण क्याथोलिक पादरीले मलाई आइतबारको मासमा भाग लिनै दिएनन्‌।

यसै बाप्टिस्ट स्कूलमा छँदा मैले पहिलो चोटि बाइबलबारे थाह पाएँ। नियमित रूपमा क्याथोलिक चर्च गए तापनि क्याथोलिक चर्चको सेवापछि प्रत्येक आइतबार म आफै पनि व्यक्‍तिगत तवरमा बाइबल पढ्‌थें। येशू ख्रीष्टका शिक्षाहरूले मलाई साह्रै प्रभाव पारेको कारण ईश्‍वरीय भक्‍तिअनुसारको अर्थपूर्ण जीवन बिताउन म उत्प्रेरित भएँ। म जति बढी बाइबल पढ्‌थें उत्ति नै धार्मिक नेताहरूको कपट र जनसाधारणको अनैतिक जीवन शैलीप्रति घृणा जागेर आउँथ्यो। मसीही भनौंदाहरूमाझ मैले जेजति देखें ती येशू र उहाँका चेलाहरूले सिकाएका र गरेका कुराहरूभन्दा एकदमै फरक थियो।

छुट्टाछुट्टै अवसरमा भएका खास घटनाहरूले गर्दा म साह्रै छक्क परें। एक चोटि मसीही धर्म सिकाउने व्यक्‍तिको पसलमा रोमन क्याथोलिकको जपमाला किन्‍न गएको बेला मैले पसलको ढोकाको चौकोसमा जन्तर बुटी झुन्डिरहेको देखें। अर्को पटकचाहिं, बाप्टिस्ट स्कूलका प्रिन्सिपलले मलाई यौन दुर्व्यवहार गर्ने प्रयास गरे। तिनी समलिंगी भएको र तिनले अरूलाई पनि दुर्व्यवहार गरेको कुरा मैले पछि थाह पाएँ। मैले यी कुराहरू विचार गर्दै आफैलाई यस्तो प्रश्‍न गरें: ‘जुन धर्मका सदस्यहरू मात्र होइन तर त्यसका धर्मगुरुहरूसमेत आफूले गरेको घोर पापको लागि आफूलाई जवाफदेही ठान्दैनन्‌, के परमेश्‍वरले त्यस्तो धर्म पनि स्वीकार्नुहोला र?’

धर्म परिवर्तन

तथापि, मैले बाइबलमा जे पढेको थिएँ त्यो मलाई मन पर्थ्यो र यसलाई निरन्तर पढिरहने अठोट गरें। यतिबेला नै हो मैले लगभग १५ वर्षअघि बुबाले भन्‍नुभएको कुरा विचार गर्न थालें: “यस पृथ्वीमा यहोवाका साक्षीहरूसित मात्र शान्ति छ।” तर मलाई अझै शंका लागिरहेको थियो किनभने अरूले मेरो स्कूलका जवान साक्षीहरूलाई खिसी गर्थे र बिहानको उपासनामा भाग नलिंदा कहिलेकाहीं उनीहरूले सजाय पनि पाउँथे। अनि उनीहरूले विश्‍वास गर्ने कुनै-कुनै कुराहरू मलाई साह्रै अनौठो लाग्थ्यो। उदाहरणका लागि, १,४४,००० मात्र स्वर्ग जान्छन्‌ भन्‍ने कुरा मलाई पत्याउनै गाह्रो लाग्यो। (प्रकाश १४:३) मेरो पनि इच्छा स्वर्ग जाने भएकोले कतै यो संख्या म जन्मुअघि नै पो पूरा भइसक्यो कि जस्तो लाग्थ्यो।

साक्षीहरू आफ्नो आचरण तथा मनोवृतिमा अरूभन्दा भिन्‍न छन्‌ भन्‍ने कुरा स्पष्ट थियो। स्कूलमा अन्य जवानहरूले गर्ने अनैतिक र हिंस्रक गतिविधिहरूमा उनीहरूले भाग लिंदैनथे। साँचो धर्म मान्‍नेहरू वास्तवमा जस्तो हुनुपर्छ भनेर बाइबलमा पढेको थिएँ मेरो दृष्टिकोणमा उनीहरू त्यस्तै थिए अर्थात्‌ उनीहरू साँच्चै संसारदेखि अलग थिए।—यूहन्‍ना १७:१४-१६; याकूब १:२७.

मैले अझ बढी बुझ्ने निधो गरें। सेप्टेम्बर १९६९ मा मैले “द ट्रुथ द्याट लिड्‌स टु इटर्नल लाइफ” भन्‍ने पुस्तक प्राप्त गरें। त्यो पुस्तक प्राप्त गरेको अर्को महिना एक जना अग्रगामी अर्थात्‌ यहोवाका साक्षीहरूको पूर्ण-समय सेवक भाइसित मैले अध्ययन गर्न थालें। पहिलो अध्ययनबाट प्रभावित भएको कारण मैले ट्रुथ पुस्तक शनिबार राती पढ्‌न सुरु गरेर भोलिपल्ट दिउँसोसम्ममा पढी सिद्धयाएँ। मैले आफूले पढेका अद्‌भुत कुरा स्कूलका अरू साथीहरूलाई पनि बताउन थालिहालें। मेरा शिक्षकहरूलाई यो नयाँ विश्‍वासले मलाई पागल बनाइरहेको छ जस्तो लाग्यो। तर म पागल भएको होइन भनेर मलाई थाह थियो।—प्रेरित २६:२४.

यसरी नयाँ धर्मबारे मैले प्रचार गरेको कुरा मेरा आमाबुबाको कानमा पनि पुगेछ। यथार्थ कुरा बुझ्न उहाँहरूले मलाई तुरुन्तै घर फर्कने आदेश दिनुभयो। यस्तो अवस्थामा सुझाउ माग्न सकिने कोही पनि थिएन किनभने सबै साक्षीहरू पनि इलेसामा हुन गइरहेको जिल्ला अधिवेशनका लागि गइसकेका थिए। जसै म घर आइपुगें, मेरी आमा र अरू नातेदारहरूले मलाई एकपछि अर्को प्रश्‍न सोधेर दिक्क पारे। मैले सकेसम्म आफूले बाइबलबाट सिकिरहेका कुराहरूको पक्षमा बोल्ने कोसिस गरें।—१ पत्रुस ३:१५.

यहोवाका साक्षीहरू झूटा शिक्षकहरू हुन्‌ भनेर प्रमाणित गर्न लाख कोसिस गरे पनि सफल नभएपछि अन्तमा काकाले मलाई अर्कै तरिकाले सम्झाउनुभयो। उहाँले मलाई यस्तो आग्रह गर्नुभयो: “तिमी शिक्षा हासिल गर्न स्कूल गएका हौ भन्‍ने कुरा नबिर्स। यदि तिमी पढाइ छोडेर प्रचार गर्न जान थाल्यौ भने, तिमीले कहिल्यै पनि आफ्नो पढाइ पूरा गर्न सक्नेछैनौ। त्यसैले हेर, यो नयाँ धर्म अँगाल्नुअघि पहिला आफ्नो स्कूलको पढाइ सिद्धयाऊ।” उहाँले भन्‍नुभएको त्यो कुरा एकदमै तार्किक लाग्यो। त्यसैकारण मैले साक्षीहरूसित अध्ययन गर्न छोडिदिएँ।

डिसेम्बर १९७० मा आफ्नो पढाइ सिद्धिनासाथ म सीधै राज्यभवन गएँ र त्यस बेलादेखि मैले यहोवाका साक्षीहरूका सभाहरू धाउन छोडेको छैन। अगस्त ३०, १९७१ मा परमेश्‍वरप्रतिको समर्पण मैले बप्तिस्माद्वारा प्रकट गरें। यसले मेरा आमाबुबालाई मात्र होइन तर सारा समुदायलाई अन्योलमा पाऱ्‍यो। मैले उहाँहरूको चित्त दुखाएँ भन्‍नुभयो किनभने म इवोसा गाउँकै प्रथम सरकारी छात्रवृत्ति पाउने विद्यार्थी थिएँ। मबाट थुप्रैले धेरै कुराको आशा गरेका थिए। मैले आफ्नो शिक्षा समुदायको उत्थानको लागि प्रयोग गर्छु होला भनी उहाँहरूले आशा गर्नुभएको थियो।

धर्म परिवर्तन गर्दाका परिणामहरू

मेरो परिवार र समुदायका बुढापाकाहरूले कसरी हुन्छ मलाई मेरो विश्‍वास परित्याग गर्न मानिसहरू पठाए। उनीहरूले मलाई विश्‍वस्त पार्ने कोसिस गर्दै सराप्थे पनि। उनीहरूले मलाई यसो भने: “यदि तिमीले यो धर्म छोडेनौं भने, सम्झ तिम्रो भविष्य अन्धकार भयो। तिमीले जागिर पाउनेछैनौ। तिमीले कहिल्यै आफ्नो घर बनाउन सक्नेछैनौ। तिमीले न त विवाह गर्न पाउनेछौ न परिवार बसाल्न सक्नेछौ।”

उनीहरूले गरेको अनिष्टकारी पूर्वानुमानको ठीक विपरीत पढाइ सिद्धयाएको दस महिनापछि मैले शिक्षकको जागिर पाएँ। अक्टोबर १९७२ मा मेरी प्रिय पत्नी, भेरोनिकासित विवाह गरें। पछि, सरकारले मलाई कृषि विस्तार कार्यकर्ताको रूपमा प्रशिक्षण दियो। मैले मेरो पहिलो गाडी किनें र घर पनि बनाउन सुरु गरें। नोभेम्बर ५, १९७३ मा हाम्री जेठी छोरी, भिक्ट्रीको जन्म भयो र त्यसको लगत्तै अर्को वर्ष क्रमशः लिडिया, विल्फ्रेड र जोआन जन्मे। सन्‌ १९८६ मा हाम्रो कान्छो छोरा माइकाको जन्म भयो। तिनीहरू सबै यहोवाले दिनुभएको हक अर्थात्‌ मूल्यवान्‌ छोराछोरी साबित भएका छन्‌।—भजन १२७:३.

अतीतलाई फर्केर हेर्दा समाजले मेरो विषयमा जेजति कुभलो चिताएका थिए ती सबै आशिष्‌मा परिणत भएका छन्‌। त्यसैकारण मैले मेरी जेठी छोरीको नाम भिक्ट्री राखें। हालसालैको कुरा हो, समाजले मलाई यस्तो लेखिएको चिठी पठायो: “कृपया, घर फर्किनुहोस्‌ र हाम्रो समाजको विकासमा मदत गर्नुहोस्‌ किनभने परमेश्‍वरले तपाईंलाई आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुरा हामीले प्रस्टै देख्यौं।”

ईश्‍वरीय मार्गअनुरूप छोराछोरीको पालनपोषण गर्दै

छोराछोरीको पालनपोषण गर्ने हाम्रो ईश्‍वरीय जिम्मेवारी र पैसा कमाउने काम एकै चोटि गर्न सक्नेछैनौं भन्‍ने कुरा मेरी पत्नी र मलाई थाह थियो। यसकारण हामीले सरल जीवनमै सन्तुष्ट हुन सिकेका छौं। भिन्‍न जीवन शैली अपनाउने छनौट गर्दा आइपर्न सक्ने सम्भाव्य नतिजाहरूको सामना गर्नुभन्दा बरु हामी यसरी नै जिउन रुचाउँछौं।

एउटै घरमा अन्य परिवारहरूसित बस्नु, साझा स्नान कक्ष, भान्साघर आदि प्रयोग गर्नु संसारको यस भेकका मानिसहरूका लागि सामान्य कुरा हो। सरकारी कार्यकर्ताको हैसियतमा जुनै शहरमा मलाई सरुवा गरिए तापनि सुविधासम्पन्‍न कोठा मात्रै बहालमा लिएर बस्न सकेकोमा हामी खुसी थियौं। हुन त हो, यस्तो कोठा निकै महँगो हुन्थ्यो तर यसरी छुट्टै कोठा लिएर बस्दा त्यसले हाम्रा छोराछोरीलाई हानिकारक प्रभावहरूबाट बच्न धेरै हदसम्म मदत गऱ्‍यो। यसको लागि म यहोवाप्रति कृतज्ञ छु किनभने वर्षौंको दौडान हामीले आफ्ना छोराछोरीलाई आध्यात्मिक तवरमा स्वस्थ वातावरणमा हुर्काउन सक्यौं।

यसको अलावा, मेरी पत्नी छोराछोरीको साथमा रहन र उनीहरूको रेखदेख गर्न घरमा बस्ने गरेकी छिन्‌। जब म आफ्नो काम सिध्याउँछु, त्यसपछि हामी सबै परिवार मिलेर कामकुरो गर्ने कोसिस गर्छौं। हामी जेजति गर्छौं, परिवारका सबै मिलेर गर्छौं। यसमा पारिवारिक बाइबल अध्ययन, मण्डलीका सभाहरूका लागि तयारी गर्नु र सभामा उपस्थित हुनु, मसीही सेवकाईमा भाग लिनुका साथै अन्य सामाजिक गतिविधिहरूमा भाग लिनु समावेश छ।

हामीले व्यवस्था ६:६, ७ मा दिइएको सल्लाह पालन गर्ने कोसिस गरेका छौं, जहाँ आमाबाबुहरूलाई आफ्ना छोराछोरीलाई घरमा हुँदा मात्र होइन तर हरेक अवसरमा सिकाउन आग्रह गरेको छ। यसले छोराछोरीलाई सरसंगतिको लागि बाहिर संसारका मानिसहरू नभई साक्षी साथीहरू नै रोज्न मदत गरेको छ। आफ्नो संगतबारे विचार पुऱ्‍याउन उनीहरूले हाम्रो उदाहरणबाट सिकेका छन्‌ किनकि भेरोनिका र म भिन्‍न विश्‍वास भएका मानिसहरूसित अनावश्‍यक समय बिताउने गर्दैनौं।—हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३.

निस्सन्देह, हाम्रै निर्देशन र शिक्षाले गर्दा मात्र हाम्रा छोराछोरीको जीवनमा सकारात्मक प्रभाव पार्न सकेका होइनौं। हाम्रो घरमा जोसिला मसीहीहरूलगायत यहोवाका साक्षीहरूका परिभ्रमण सेवकहरू आउनेजाने गरिरहन्छन्‌ र अझै पनि आउँछन्‌ र जान्छन्‌। यी परिपक्व मसीहीहरूले हाम्रो परिवारसित बिताएको समयले हाम्रा छोराछोरीलाई उनीहरूको आत्मत्यागी जीवन शैली हेरेर त्यसबाट धेरै कुरा सिक्ने मौका प्रदान गरेको छ। यसले हाम्रो शिक्षालाई अझ सुदृढ पारेको छ र छोराछोरीले पनि बाइबल सत्यलाई आफ्नो जीवनको अभिन्‍न भाग बनाउन सकेका छन्‌।

ईश्‍वरीय भक्‍तिको इनाम

आज हाम्रा चार जना छोराछोरीलगायत मेरी पत्नी र म पूर्ण-समय सेवकाईमा छौं। मैले सन्‌ १९७३ मा अग्रगामी गर्न थालें। वर्षौंको दौडान आर्थिक परिस्थितिले गर्दा समय-समयमा मैले पूर्ण-समय सेवकाई गरिरहन सकिनँ। कहिलेकाहीं मैले राज्य सेवकाई स्कूलमा प्रशिक्षकको हैसियतमा भाग लिने मौका पनि पाएको छु। यस स्कूलले यहोवाका साक्षीहरूका मसीही निरीक्षकहरूलाई प्रशिक्षण दिन्छ। हाल मैले अस्पताल सम्पर्क समिति र उहुनमोराको शहर निरीक्षकको रूपमा सेवा गर्ने सुअवसरबाट आनन्द उठाइरहेको छु।

मेरा दुई ठूली छोरीहरू, भिक्ट्री र लिडिया असल मसीही प्राचीनहरूसित विवाह गरेर आनन्दित जीवन बिताइरहेका छन्‌। उनीहरू आफ्ना पतिहरूसित नाइजेरियाको आइजिडुमामा अवस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गरिरहेका छन्‌। हाम्रो जेठो छोरा, विल्फ्रेड सेवकाई सेवकको रूपमा सेवा गर्छन्‌ भने हाम्रो कान्छो छोरा, माइकाले बेला-बेलामा सहायक अग्रगामी गर्छन्‌। सन्‌ १९९७ मा जोआनले आफ्नो माध्यामिक स्कूलको पढाइ सिद्धयाएर नियमित अग्रगामी गर्न थालिन्‌।

मेरो जीवनका सबैभन्दा इनामदायी अनुभवहरू भनेको अरूलाई यहोवा परमेश्‍वरको सेवा गर्न मदत गर्नु हो। मैले मदत गरेका व्यक्‍तिहरूमा मेरो आफ्नै साखासन्तान पनि पर्छन्‌। मेरो बुबाले यहोवाको सेवा गर्ने निकै प्रयास गर्नुभएको थियो तर बहुविवाहको कारण उहाँले उन्‍नति गर्न सक्नुभएन। युवावस्थामा छँदादेखि नै मलाई मानिसहरूको असाध्यै माया लाग्थ्यो। जब म अरूले दुःख भोगिरहेको देख्छु, मेरा समस्याहरू त केही पनि होइनन्‌ रहेछ जस्तो लाग्छ। म उनीहरूलाई साँच्चै मदत गर्न चाहन्छु भन्‍ने कुरा थाह पाएर होला उनीहरू मसँग कुरा गर्न अप्ठ्यारो मान्दैनन्‌।

परमेश्‍वरका उद्देश्‍यहरूबारे ज्ञान लिन मैले मदत गरेकाहरूमध्ये एक जना ओछ्यानमै थला परेका व्यक्‍ति हुन्‌। तिनी विद्युत्‌ कम्पनीमा काम गर्थे। काम गरिरहेको बेला तिनलाई डरलाग्दो विद्युतीय झट्‌का लाग्यो र तिनको लगभग आधा शरीर पक्षाघात भयो। तिनले बाइबल अध्ययन गर्न सुरु गरे र आफूले सिकेका कुरा बिस्तारै आफ्नो जीवनमा लागू गर्न थाले। हाम्रो घर नजिकैको खोलामा अक्टोबर १४, १९९५ मा तिनले बप्तिस्मा लिए। त्यतिबेलै हो तिनी पहिलो चोटि १५ वर्षपश्‍चात्‌ आफ्नो पलङबाट उठेर बाहिर निस्केको। तिनले यो आफ्नो जीवनकै सबैभन्दा खुसीको दिन थियो भने। अहिले तिनी मण्डलीमा सेवकाई सेवक भएका छन्‌।

लगभग ३० वर्षअघि नै यहोवाका एकताबद्ध, समर्पित जनहरूसित उहाँको सेवा गर्ने छनौट गरेकोमा मलाई अलिकति पनि पछुतो छैन। मैले यहोवाका जनहरूमाझ साँचो प्रेम कामद्वारा प्रकट भएको देखेको छु। आफ्ना विश्‍वासी सेवकहरूलाई दिइने यहोवाको इनाममा अनन्त जीवनको प्रत्याशा नभएको भए पनि म ईश्‍वरीय भक्‍तिसहितको जीवन यापन गर्नै रुचाउने थिएँ। (१ तिमोथी ६:६; हिब्रू ११:६) यस प्रकारको जीवन शैलीले मेरो जीवनलाई आकार दिनुका साथै स्थिर बनाएको छ। यसले गर्दा मलगायत मेरो परिवारमा आनन्द, सन्तुष्टि र खुसियाली छाएको छ।

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९९० मा मेरी पत्नी र छोराछोरीहरू

[पृष्ठ २६-मा भएको चित्र]

मेरी पत्नी र छोराछोरी तथा दुई जना ज्वाइँहरू