सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोषी को हो—तपाईं या तपाईंको जीन?

दोषी को हो—तपाईं या तपाईंको जीन?

दोषी को हो—तपाईं या तपाईंको जीन?

वैज्ञानिकहरू मतवालापन, समलैगिंकता, छाडापन, हिंसा, अन्य असामान्य आचरण अनि मृत्युको समेत आनुवंशिक कारण पत्ता लगाउने कार्यमा दत्तचित्त भइ जुटेका छन्‌। आफ्ना कार्यहरूका लागि हामी आफू जिम्मेवार नभई आ-आफ्ना आनुवंशिक बनौटका सिकार मात्र हौं भन्‍ने तथ्य पत्ता लागेमा के हामी चिन्तामुक्‍त हुने थिएनौं र? आफ्नो गल्तीको लागि कुनै व्यक्‍ति वा वस्तुमाथि दोष थुपार्नु त मानव स्वभाव नै हो।

यदि जीन नै दोषी हो भने, वैज्ञानिकहरूले आनुवंशिक इन्जिनियरिङद्वारा जीनबाट नराम्रा गुणहरूलाई हटाएर जीनमा परिवर्तन ल्याउने आशा राखेका छन्‌। हालै मानव जीनको सम्पूर्ण नक्सा उतार्न सफल भएका कारण यस्ता आशाहरू पुनः जागृत भएका छन्‌।

यद्यपि, यी सबै सम्भाव्यताहरू हाम्रा सबै पाप तथा गल्तीहरूको एक मात्र कारण हाम्रो आनुवंशिक बनौट नै हो भन्‍ने सिद्धान्तमा आधारित छन्‌। तर के हाम्रो जीन विरुद्ध मुद्दा दायर गर्न वैज्ञानिकहरूसित यथेष्ट प्रमाण छ त? निस्सन्देह, यस प्रश्‍नको जवाफले हामीले आफू अनि आफ्नो भविष्यप्रति राख्ने दृष्टिकोणलाई ठूलो असर पार्नेछ। तर प्रमाण केलाउनु अघि मानवजातिको उत्पत्तिलाई विचार गर्नु निकै लाभदायी हुनेछ।

पापको सुरुआत कसरी भयो

अधिकांश मानिसहरूलाई प्रथम मानव जोडी आदम र हव्वाले अदनको बगैंचामा गरेको पापको विवरण राम्ररी थाह छ अथवा एक चोटि भए पनि सुनेका छन्‌। के सुरुदेखि नै तिनीहरूको जीनमा खोट वा तिनीहरूको जीनको बनौट नै त्रुटिपूर्ण भएकोले तिनीहरू पाप तथा अनाज्ञाकारीतातर्फ उन्मुख भएका हुन्‌ त?

तिनीहरूका सृष्टिकर्ता यहोवा परमेश्‍वर जसको काम सिद्ध छ, उहाँले आफ्ना सारा पार्थिव सृष्टि “साह्रै राम्रो” भनी घोषणा गर्नुभयो। (उत्पत्ति १:३१; व्यवस्था ३२:४) उहाँ आफ्ना कार्यहरूप्रति सन्तुष्ट हुनुहुन्थ्यो भन्‍ने थप प्रमाणको रूपमा, उहाँले प्रथम मानव जोडीलाई सारा पृथ्वी मानव प्राणीहरूद्वारा भर्न अनि आफ्नो पार्थिव सृष्टिहरूमाथि अधिकार गर्न आशिष्‌ दिनुका साथै फल्दै-फुल्दै जान निर्देशन दिनुभयो। आफ्नो कामप्रति ढुक्क नहुने व्यक्‍तिले पक्कै पनि यस्तो गर्नुहुने थिएन।—उत्पत्ति १:२८.

प्रथम मानव जोडीको सृष्टिबारे बाइबलले यसो भन्छ: “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) यसको अर्थ मानवहरू शारीरिक रूपमा परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको थियो भन्‍न खोजिएको होइन किनभने “परमेश्‍वर आत्मा हुनुहुन्छ।” (यूहन्‍ना ४:२४) यसको सही अर्थ हो, मानव प्राणीहरूलाई नैतिकता अर्थात्‌ अन्तस्करण सहितको ईश्‍वरीय गुणहरू राखेर सृष्टि गरिएको थियो। (रोमी २:१४, १५) तिनीहरू विषयवस्तुलाई आफैले मूल्यांकन गर्ने अनि आफूले चाल्नु पर्ने कदमबारे आफै निर्णय गर्ने क्षमता भएका स्वतन्त्र नैतिक प्राणी पनि थिए।

यद्यपि, हाम्रा प्रथम मानव मातापितालाई विनानिर्देशन अलपत्र छोडिएको थिएन। बरु, तिनीहरूलाई गलत कामको परिणामबारे चेताउनी दिइएको थियो। (उत्पत्ति २:१७) त्यसैले आदमले नैतिक निर्णय गर्नु पर्दा आफूलाई लाभदायी अनि उपयोगी देखिएको कुरा छनौट गरे भनी प्रमाणले देखाउँछ। सृष्टिकर्तासितको आफ्नो सम्बन्ध वा आफ्नो कार्यले पछि पार्न सक्ने असरलाई सोच्नुको साटो आदमले आफ्नी पत्नीको लहैलहैमा लागेर गलत मार्ग अपनाए। पछि उनले परमेश्‍वरले दिनुभएको पत्नीले नै आफूलाई बहकाएकी थिइन्‌ भनी सारा दोष परमेश्‍वरमाथि थुपार्ने कोसिस गरे।—उत्पत्ति ३:६, १२; १ तिमोथी २:१४.

आदम अनि हव्वाले गरेको पापप्रति परमेश्‍वरले देखाउनुभएको प्रतिक्रिया शिक्षामूलक छ। उहाँले तिनीहरूको जीनमा भएको ‘त्रुटि’ सुधार्ने कोसिस गर्नुभएन। बरु, तिनीहरूको कार्यको नतिजाबारे परमेश्‍वरले जे भन्‍नुभएको थियो उहाँले सोही बमोजिम गर्नुभयो, जसले गर्दा अन्ततः तिनीहरूको मृत्यु भयो। (उत्पत्ति ३:१७-१९) यस पुरातन इतिहासले मानव स्वभावलाई अझ राम्ररी बुझ्न मदत गर्छ। a

जीन दोषी हो भन्‍ने विरुद्ध प्रमाण

लामो समय देखि वैज्ञानिकहरूले मानव रोग तथा स्वभावको आनुवंशिक कारण तथा समाधान पत्ता लगाउन निकै मेहेनत गरिरहेका छन्‌। अनुसन्धाताहरूको ६ टोलीले लगातार १० वर्ष लगाएर काम गरेपछि बल्ल हनटिंगटन रोगसित सम्बन्धित जीन पत्ता लगाए तर उक्‍त जीनद्वारा कसरी रोग लाग्छ भन्‍नेबारे भने अनुसन्धाताहरू अझै अनभिज्ञ नै छन्‌। यद्यपि, यस अनुसन्धानबारे रिपोर्ट गर्दै साइन्टिफक अमेरिकन-ले हावर्डका जीव वैज्ञानिक इभान बालाबनको यस भनाइलाई उद्धृत गरे, “मानव स्वभावको गडबडीसित सम्बन्धित जीन पत्ता लगाउनु यो भन्दा कता हो कता गाह्रो” हुनेछ।

मानव स्वभावको कुनै निर्दिष्ट जीन पत्ता लगाउने अनुसन्धान विफल भएको छ। उदाहरणका लागि, नैराश्‍यको आनुवंशिक कारण पत्ता लगाउन गरिएको प्रयासबारे साइकोलोजी टुडे-मा प्रकाशित एउटा रिपोर्टले यसो भन्छ: “गम्भीर मानसिक रोगको तथ्यांकले मानसिक रोगहरू आनुवंशिक कारणहरूले मात्र कुनै पनि हालतमा रोक्न नसकिने कुरालाई स्पष्ट पार्छ।” उक्‍त रिपोर्टमा यस्तो उदाहरण दिइएको छ: “सन्‌ १९०५ अघि जन्मेका अमेरिकीहरूमा जम्मा १ प्रतिशत मात्र ७५ वर्षको उमेरसम्म नैराश्‍यबाट पीडित भए। त्यसको आधा शताब्दीपछि जन्मेका अमेरिकीहरूमध्ये ६ प्रतिशत २४ वर्ष भित्रैमा नैराश्‍यबाट पीडित भए!” यस तथ्यले यति छोटो समयमा बाह्‍य वा सामाजिक तत्त्वहरूले मात्र यस्तो नाटकीय परिवर्तन गराउन सक्छ भन्‍ने निष्कर्षमा पुऱ्‍याउँछ।

यो लगायत अन्य असंख्य अध्ययनहरूले के बताउँछ? हाम्रो व्यक्‍तित्व निर्धारण गर्नमा जीनको भूमिका भए तापनि स्पष्टतः यसमा अन्य कुराहरू पनि समावेश छन्‌। ती अन्य कुराहरूमा एउटा प्रमुख तत्त्व हामी वरपरको संसार हो जहाँ आजकाल आमूल परिवर्तनहरू भइरहेका छन्‌। आजका युवाहरूको मनोरञ्जनहरूबारे बोइज विल बि बोइज नामक पुस्तकले बताएअनुसार अब बच्चाहरूले असल नैतिक सिद्धान्त विकास गर्छन्‌ भन्‍नु बेकार छ, किनकी तिनीहरू “दसौं हजार घण्टा यस्ता टिभी कार्यक्रम अनि चलचित्र हेरेर हुर्केका हुन्छन्‌ जसमा मानिसहरूलाई आक्रमण, कुटपिट, छुरा प्रहार, अगंभंग वा काटमार गरेका दृश्‍यहरू देखाइन्छ अनि बच्चाहरू यस्ता संगीत सुनेर हुर्कन्छन्‌ जसले बलात्कार, आत्महत्या, लागूऔषध र रक्सी सेवन अनि कट्‌टरपन्थीलाई बढावा दिन्छ।”

स्पष्टतः “यस संसारको मालिक” शैतानले मानिसलाई आफ्ना खराब लालसाहरू पूरा गर्न चाहिने सबै कुरा जुटाइ दिएर परिस्थितिलाई झन्‌-झनै दूषित बनाइरहेको छ। यस दूषित परिस्थितिले सबैलाई आफ्नो सिकार बनाउन कुचेष्टा गर्छ भन्‍ने कुरालाई कसले पो नकार्न सक्छ र?—यूहन्‍ना १२:३१; एफिसी ६:१२; प्रकाश १२:९, १२.

मानव समस्याहरूको मूल जरा

प्रथम मानव जोडीले पाप गरेपछि मानिसजातिका समस्याहरूको सुरुआत भयो भनी हामीले पहिले नै थाह पाइसक्यौं। परिणाम के भयो? हुन त आदमले गरेको पापको लागि उनका सन्तानहरू जिम्मेवार छैनन्‌ तर पनि तिनीहरू पाप, असिद्धता अनि मृत्युजस्ता वंशाणुगत गुण लिएर जन्मिए। बाइबलले यसरी व्याख्या गर्छ: “यसैकारण जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌।—रोमी ५:१२.

निस्सन्देह, मानिसको असिद्धताले तिनीहरूलाई ठूलो हानि पुऱ्‍यायो। तर मानिसहरू असिद्ध छन्‌ भन्दैमा तिनीहरू आफ्ना सबै नैतिक दायित्वहरूबाट मुक्‍त छैनन्‌। जीवन प्राप्त गर्न यहोवाले मिलाउनु भएको प्रबन्धमा विश्‍वास गर्ने तथा उहाँका स्तरहरूबमोजिम जीवन बिताउनेहरूले उहाँको अनुमोदन पाउनेछन्‌ भनी बाइबलले बताउँछ। दयाले उत्प्रेरित भई यहोवाले मानिसजातिको लागि आदमले गुमाएको जीवनलाई मोल तिरेर छुटकारा दिने मायालु प्रबन्ध मिलाउनुभयो। त्यो प्रबन्ध उहाँको सिद्ध पुत्र येशू ख्रीष्टको छुडौतीको बलिदान हो र यसबारे स्वयम्‌ येशूले यसो भन्‍नुभयो: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६; १ कोरिन्थी १५:२१, २२.

यस प्रबन्धप्रति प्रेरित पावलले गहिरो मूल्यांकन व्यक्‍त गरे। उनले यसो भने: “हाय, म कस्तो दुःखी मानिस! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा नै—परमेश्‍वरलाई धन्यवाद होस्‌।” (रोमी ७:२४, २५, नयाँ संशोधित संस्करण) कमजोरीको कारण पापको वशमा परेको खण्डमा येशू ख्रीष्टको छुडौतीको बलिदानको आधारमा परमेश्‍वरसित क्षमा माग्न सकिन्छ भनेर पावललाई थाह थियो। b

प्रथम शातब्दीमा जस्तै आज पनि पहिले घोर अनैतिक जीवन बिताउने वा आशाविहिन जस्तो देखिने अवस्थाका मानिसहरूले बाइबलको सही ज्ञान सिकेर अनि आवश्‍यक परिवर्तन गरेर परमेश्‍वरको अनुग्रह प्राप्त गर्ने अवस्थासम्म पुगेका छन्‌। तिनीहरूले गर्नुपरेका परिवर्तनहरू सजिला थिएनन्‌ अनि तिनीहरू अझै पनि धेरै हानिकारक झुकाउहरू विरुद्ध संघर्ष गरिरहेका छन्‌। तर परमेश्‍वरको मदतले तिनीहरूले आफ्नो निष्ठा कायमै राख्न अनि उहाँको सेवा गरेर आनन्द प्राप्त गर्न सकेका छन्‌। (फिलिप्पी ४:१३) परमेश्‍वरलाई प्रसन्‍न पार्न आफ्नो जीवनमा आमूल परिवर्तन गर्ने एक जना व्यक्‍तिको उदाहरणलाई विचार गर्नुहोस्‌।

एउटा प्रोत्साहनजनक अनुभव

“आफू समलिंगी हुन्छु भनेर मैले सपनामा पनि सोचेको थिइनँ तर किशोरावस्थामा आवासीय विद्यालयमा पढ्‌दा म समलैंगिकतामा फसें। मेरा आमाबाबुको सम्बन्ध विच्छेद भएको थियो र म आमाबाबुको मायाको भोको थिएँ तर दुःखको कुरा, मैले त्यो माया उहाँहरूबाट कहिल्यै पाउन सकिनँ। स्कूल सकिएपछि म अनिवार्य सैनिक सेवामा प्रवेश गरें। सैनिक छाउनीमा मसँगै समलिंगीहरूको एउटा जमात नै थियो। म तिनीहरूको जीवन शैलीप्रति आकर्षित हुनथालें त्यसैले मैले तिनीहरूसित संगत गर्न थालें। तिनीहरूसित एक वर्षजति संगत गरेपछि मलाई आफू पनि समलिंगी नै हुँ जस्तो लाग्न थाल्यो। ‘अब म यस्तै हो किनभने म एक जना समलिंगी हुँ’ भनी म तर्क गर्थे।

“मैले समलिंगीहरूले मात्र प्रयोग गर्ने विशेष भाषा सिक्न थालें अनि समलिंगी क्लबहरू धाउन थालें जहाँ लागू पदार्थ र रक्सी सजिलै पाइन्थ्यो। बाहिरबाट हेर्दा यस्तो जीवन शैली एकदमै रमाइलो र आकर्षक जस्तो देखिए तापनि यो अत्यन्तै घिनलाग्दो कार्य थियो। यो अप्राकृतिक सम्बन्ध हो अनि यसले मेरो भविष्यलाई अन्धकार बनाउँछ भनेर मेरो अन्तस्करणले मलाई आवाज दिइरहन्थ्यो।

“एउटा सानो शहरमा मैले यहोवाका साक्षीहरूको एउटा राज्यभवन फेला पारें जहाँ सभा भइरहेको थियो। म राज्यभवन भित्र गएर भाषण सुन्‍न बसें। भाषणमा भविष्यमा हुने प्रमोदवनको अवस्थाबारे बताइएको थियो। त्यसपछि मैले केही साक्षीहरूलाई भेटें र तिनीहरूले मलाई सम्मेलनमा आउने निम्तो दिए। म त्यो सम्मेलनमा उपस्थित भएँ र मैले त्यहाँ कहिल्यै नदेखेको कुरा देखें, आनन्दित परिवारहरू सँगै मिलेर परमेश्‍वरको उपासना गरिरहेका थिए। मैले साक्षीहरूसित बाइबल अध्ययन सुरु गरें।

“हुन त बाइबलबाट सिकेका कुराहरूलाई व्यवहारमा उतार्न मैले ठूलो संघर्ष गर्नुपऱ्‍यो तर मैले ती कुराहरूलाई व्यवहारमा उतार्न थालें। मैले आफ्ना सबै अशुद्ध आनीबानीहरूलाई छाड्‌न सकें। चौध महिना अध्ययन गरिसकेपछि मैले यहोवालाई आफ्नो जीवन समर्पण गरें अनि बप्तिस्मा लिएँ। जीवनमा पहिलो पटक मैले साँचो मित्रहरू पाएँ। अहिले मैले अरूलाई पनि बाइबलबाट सच्चाइ सिकाउन सकेको छु अनि मसीही मण्डलीमा सेवकाई सेवकको हैसियतमा सेवा गर्दैछु। यहोवाले साँच्चै मलाई आशिष्‌ दिनुभएको छ।”

हामी जिम्मेवार छौं

आफ्ना सारा गलत आचरणहरूको दोष आफ्नो जीनमाथि थुपार्नु समस्याको समाधान होइन। साइकोलोजी टुडे-ले टिप्पणी गरेअनुसार जीनलाई दोष दिनु भनेको हाम्रा समस्याहरूको समाधान गर्नु वा त्यसमाथि विजय हासिल गर्नु नभई “आफूलाई असहाय बनाउनु हो, जुन हाम्रो अधिकांश समस्याहरूको मूल जरा हो। यसले समस्याहरूलाई कम गर्नुको सट्टा झन्‌ बढाउँछ।”

हो, हामीले अति शक्‍तिशाली हानिकारक शक्‍तिहरू विरुद्ध संघर्ष गर्नैपर्छ, जसमा हामीलाई परमेश्‍वरको आज्ञा पालन गर्नबाट तर्काउने हाम्रा पापी झुकाउ र शैतानका प्रयासहरू समावेश छन्‌। (१ पत्रुस ५:८) अनि यो कुरा पनि साँचो हो कि हाम्रो जीनले हामीलाई विभिन्‍न तरिकामा असर गर्न सक्छ। तर हामी असहाय भने कदापि छैनौं। साँचो मसीहीहरूको यहोवा, येशू ख्रीष्ट, परमेश्‍वरको पवित्र आत्मा, उहाँको वचन बाइबल अनि मसीही मण्डलीजस्ता शक्‍तिशाली मित्रहरू छन्‌।—१ तिमोथी ६:११, १२; १ यूहन्‍ना २:१.

इस्राएल राष्ट्र प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि मोशाले मानिसहरूलाई परमेश्‍वरप्रतिको आफ्नो दायित्वबारे सम्झाउँदै यसो भने: “मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवननै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो।” (व्यवस्था ३०:१९, २०) त्यसै गरी आज पनि प्रत्येक जिम्मेवार व्यक्‍तिहरूले परमेश्‍वरलाई सेवा गर्ने अनि उहाँका आवश्‍यकताहरू पूरा गर्ने सन्दर्भमा व्यक्‍तिगत निर्णय गर्नैपर्छ। छनौट तपाईंकै हातमा छ।—गलाती ६:७, ८.

[फुटनोट]

a ब्यूँझनुहोस्‌! अक्टोबर ८, १९९६, पृष्ठ ३-८ हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्‍याउँछ पुस्तकको पृष्ठ ६२-९ सम्म हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएका चित्रहरू]

के जीनमा केही त्रुटि भएकोले गर्दा नै आदम अनि हव्वा पापतर्फ उन्मुख भएका हुन्‌ त?

[पृष्ठ १०-मा भएका चित्रहरू]

के प्रत्येकले आफ्नो निर्णयको लागि आफैलाई जिम्मेवार ठहऱ्‍याउनुपर्छ?

[स्रोत]

Drug user: Godo-Foto

[पृष्ठ ११-मा भएको चित्र]

मानवीय स्वभावको आनुवंशिक कारण पत्ता लगाउने प्रयास विफल भएको छ

[पृष्ठ १२-मा भएको चित्र]

बाइबलका सल्लाहहरूलाई पालन गर्दा निष्कपट व्यक्‍तिहरूले जीवनमा परिवर्तन ल्याउन मदत पाउँछन्‌