सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मृत्युबारे केही भ्रमहरूलाई नियाल्ने

मृत्युबारे केही भ्रमहरूलाई नियाल्ने

मृत्युबारे केही भ्रमहरूलाई नियाल्ने

इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, मानिसहरू मृत्युदेखि अलमल्लमा पर्नुका साथै डराएका छन्‌। अनि झूटा धार्मिक विचार, प्रचलित रीतिथितिहरू र स्थापित व्यक्‍तिगत विचारहरूले मृत्युको डरलाई झनै चर्काएको छ। मृत्युको डरले मानिसहरूलाई जीवनको आनन्द उठाउन अनि जीवनको अर्थ छ भन्‍ने विश्‍वासलाई नै कमजोर तुल्याउन सक्छ।

मृत्युबारे असंख्य प्रचलित भ्रमहरू फैलाउने कामका लागि विशेष गरी प्रमुख धर्महरू नै जिम्मेवार छन्‌। यस्ता केही भ्रमहरूलाई बाइबल सच्चाइको मदतले जाँच्दा तपाईंले मृत्युबारे आफ्ना व्यक्‍तिगत धारणाहरूलाई सच्याउन सक्नुहुनेछ।

भ्रम १: मृत्यु जीवनको अन्त हुने एउटा स्वाभाविक प्रकिया हो।

डेथ—द फाइनल स्टेज अफ ग्रोथ नामक पुस्तकले यसो भन्छ, “मृत्यु . . . हाम्रो जीवनको अभिन्‍न भाग हो।” यस्ता टिप्पणीहरूले मृत्यु सामान्य अनि सारा जीवधारीहरूको अन्त हुने एउटा स्वाभाविक प्रकिया हो भन्‍ने विश्‍वासलाई झल्काउँछ। फलस्वरूप, यस्ता विश्‍वासहरूले धेरै मानिसहरूमा शून्यवादी दर्शन तथा अवसरवादी व्यवहारलाई बढवा दिएका छन्‌।

तर के मृत्यु जीवनको अभिन्‍न भाग नै हो त? सबै अनुसन्धाताहरू यस भनाइप्रति सहमत छैनन्‌। उदाहरणका लागि, मानव आयुबारे अध्ययन गर्ने क्यालभिन हार्ली एउटा अन्तरवार्तामा मानिसहरू “मर्नको लागि बनाइएको हो” भन्‍ने कुरामा आफूलाई विश्‍वास नलागेको कुरा बताए। प्रतिरक्षा विशेषज्ञ विलियम क्लार्कले यसो भने: “मृत्यु जीवनको परिभाषाको भाग होइन।” क्यालिफोर्निया इन्‌स्टिच्यूट अफ टेक्नोलोजीमा कार्यरत सेमाउर बेन्जरले विचार गर्दै यसो भने, “आयुलाई घडीको रूपमा होइन तर हटाउन सकिने परिस्थिति भनी व्याख्या गर्नु उपयुक्‍त हुन्छ।”

वैज्ञानिकहरू मानव बनौटबारे अध्ययन गर्दा छक्क पर्छन्‌। हाम्रो ७० देखि ८० वर्ष लामो जीवनलाई चाहिनेभन्दा कता हो कता बढी स्रोत तथा क्षमताहरू हामीलाई दिइएको तिनीहरूले पत्ता लगाएका छन्‌। उदाहरणका लागि, मानव मस्तिष्कमा अथाह स्मरण शक्‍तिको क्षमता भएको कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌। एक जना अनुसन्धाताले अनुमान लगाएअनुसार हाम्रो मस्तिष्कले “विश्‍वकै ठूलठूला पुस्तकालयहरूका बीसौं करोड खण्डहरू भन्दा धेरै” जानकारीहरू सञ्चय गरेर राख्न सक्छ। केही स्नायु विशेषज्ञहरूको विश्‍वासअनुसार मानिसले आफ्नो औसत आयुमा मस्तिष्कको क्षमताको जम्मा १०० भागको १ भागको पनि १ प्रतिशत (.०००१) मात्र उपयोग गर्छ। त्यसैले यो प्रश्‍न सोध्नु उपयुक्‍त देखिन्छ, ‘हामी आफ्नो औसत आयुमा मस्तिष्कको निकै सानो भाग मात्र उपयोग गर्छौं भने हाम्रो मस्तिष्कको किन त्यस्तो धेरै क्षमता भएको?’

एक छिन मानिसहरूले मृत्युप्रति देखाउने अस्वाभाविक प्रतिक्रियालाई पनि विचार गर्नुहोस्‌! धेरैको लागि पत्नी, पति वा बच्चाहरूको मृत्यु जीवनको सबैभन्दा पीडाजनक अनुभव हुन्छ। आफूले औधी माया गरेको व्यक्‍तिको मृत्यु हुँदा मानिसको भावनामा लागेको चोट धेरै पछिसम्म पनि मेटिंदैन। मृत्यु स्वभाविक हो भनी दाबी गर्ने व्यक्‍तिहरूले समेत मृत्यु आफ्नो सबै कुराको अन्त हो भनी सजिलै स्वीकार्न सक्दैनन्‌। द ब्रिटिश मेडिकल जर्नल-ले “धेरै विशेषज्ञहरूको धारणाअनुसार सबै मानिसहरू सकेसम्म लामो समयसम्म बाँच्न चाहन्छन्‌” भनी बतायो।

मृत्युप्रति मानिसले देखाउने प्रतिक्रिया, मानवमा अन्तर्निहित सम्झने तथा सिक्ने अद्‌भुत क्षमता, मानवभित्र रहेको अनन्तताको चाहना जस्ता सबै कुराले मानिस बाँच्नको लागि बनाइएको थियो भनेर के स्पष्ट हुँदैन र? वास्तवमा परमेश्‍वरले मानिसहरूलाई मर्नको लागि होइन तर अनन्तसम्म बाँच्ने आशासहित सृष्टि गर्नुभएको थियो। परमेश्‍वरले प्रथम मानव जोडीसामु कस्तो भविष्य राखिदिनुभएको थियो, ध्यान दिनुहोस्‌: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्पत्ति १:२८) कस्तो अद्‌भुत अनि अनन्त भविष्य!

भ्रम २: परमेश्‍वरले मानिसहरूलाई आफूसित राख्न मृत्युमा उठाइ लैजानुहुन्छ।

तीन छोराछोरीकी २७ वर्षीया आमा मरणासन्‍न अवस्थामा पुग्दा एक क्याथोलिक ननलाई यसो भनिन्‌: “यो सब परमेश्‍वरको इच्छा हो भनेर मलाई नभन्‍नुहोस्‌, . . . कसैले यसो भन्दा मलाई धेरै दिक्क लाग्छ।” यद्यपि, धेरै धर्महरूले परमेश्‍वरले मानिसहरूलाई आफूसित राख्न उठाएर लैजानुहुन्छ भनी सिकाउँछन्‌।

मृत्युले हाम्रो हृदयलाई चोट पुऱ्‍याउँछ भनेर थाह हुँदाहुँदै निर्मोही भएर हामीमाथि मृत्यु ल्याउने हदसम्म के परमेश्‍वर निर्दयी हुनुहुन्छ र? अहँ, बाइबलको परमेश्‍वर कदापि यस्तो हुनुहुन्‍न। पहिलो यूहन्‍ना ४:८ अनुसार “परमेश्‍वर प्रेम हुनुहुन्छ।” ध्यान दिनुहोस्‌, यहाँ परमेश्‍वर-सित प्रेम छ वा परमेश्‍वर मायालु हुनुहुन्छ भनेर बताएको छैन तर यहाँ परमेश्‍वर प्रेम हुनुहुन्छ भनी बताइएको छ। परमेश्‍वरको प्रेम एकदमै गहिरो, पवित्र अनि सिद्ध छ अनि यो प्रेम उहाँको व्यक्‍तित्व अनि कार्यहरूमा प्रस्टै देखिने हुनाले उहाँ प्रेमको अमूर्त रूप हुनुहुन्छ। आफूसित राख्न परमेश्‍वरले मृत्युमा मानिसहरूलाई उठाई लैजानु हुन्‍न।

झूटो धर्मले धेरैलाई मृत्यपछि मानिसहरू कहाँ र कस्तो अवस्थामा हुन्छन्‌ भन्‍ने विषयमा अन्योलमा राखेको छ। यी धर्महरूले मृत्युपछि मानिसहरू स्वर्ग, नरक, पापमोचनस्थान, विस्मृतिको अवस्था अनि बुझ्दै नबुझ्ने देखि लिएर एकदमै डरलाग्दो स्थानहरूमा हुन्छन्‌ भनी बताउँछ। अर्कोतिर बाइबलले मरेकाहरूले केही पनि जान्दैनन्‌ भनी बताउँछ; तिनीहरू मस्त निद्रामा सुतेको अवस्थामा जस्तै हुन्छन्‌। (उपदेशक ९:५, १०; यूहन्‍ना ११:११-१४) कोही मस्त सुतिरहेको छ भने हामी त्यस व्यक्‍तिको केही चिन्ता लिंदैनौं त्यसरी नै मरेपछि के हुन्छ भनेर हामीले चिन्ता लिनु आवश्‍यक छैन। येशूले पार्थिव प्रमोदवनमा बाँच्न “चिहानमा हुनेहरू सबै . . . निस्किआउने,” समयबारे बताउनुभयो।—यूहन्‍ना ५:२८, २९; लूका २३:४३.

भ्रम ३: परमेश्‍वरले स-साना केटाकेटीलाई स्वर्गदूत बनाउन लैजानुहुन्छ।

प्राणघातक रोग लागेका व्यक्‍तिहरूबारे अध्ययन गरेका एलिजावेथ कुब्लर-रोस धार्मिक आस्था भएका मानिसहरूबीच विद्यमान अर्को प्रचलित धारणालाई औंल्याउँछिन्‌। एउटा सत्य घटनालाई उद्धृत गर्दै तिनी यसो भन्छिन्‌, “आफ्नो भाइ गुमाउने एक जना बच्चालाई परमेश्‍वरले स-साना बच्चाहरूलाई निकै मन पराउने हुनाले उनको सानो भाइ जोनीलाई पनि परमेश्‍वरले लैजानु भएको हो भन्‍नु मूर्खता हो।” यस्ता भनाइहरूले परमेश्‍वरबारे गलत धारण उत्पन्‍न गराउँछ र उहाँको व्यक्‍तित्व तथा आचरण झल्काउँदैन। डा. कुब्लर-रोस यसो भन्छिन्‌: “यी केटी ठूली भएर पनि तिनले परमेश्‍वरसितको आफ्नो रिसलाई मार्न सकिनन्‌, फलस्वरूप, तीस वर्षपछि आफ्नो छोरा गुमाउनुपर्दा तिनी बहुलाइन्‌।”

आमाबाबुलाई भन्दा परमेश्‍वरलाई बच्चाको आवश्‍यकता बढी भए जत्तिकै, एउटा अर्को स्वर्गदूतको लागि परमेश्‍वरले किन बच्चा उठाई लैजानुहुन्थ्यो होला र? परमेश्‍वरले बच्चाहरूलाई साँच्चै उठाई लैजाने हुँदो हो त यसले उहाँलाई निर्दयी र स्वार्थी सृष्टिकर्ता बनाउने थिएन र? त्यस्ता धारणाहरूको ठीक विपरीत बाइबलले यसो भन्छ, “प्रेम परमेश्‍वरबाटको हो।” (१ यूहन्‍ना ४:७) के प्रेमको परमेश्‍वरले मानिसहरूलाई असह्‍य हुने गरी कसैको मृत्यु हुन दिनुहुन्छ होला र?

त्यसोभए केटाकेटीहरू किन मर्छन्‌? यस प्रश्‍नको उत्तरको केही भाग बाइबलमा उपदेशक ९:११ मा लेखिएको छ: “समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” भजन ५१:५ मा बताएअनुसार हामी सबै आमाको गर्भदेखि नै असिद्ध र पापी छौं अनि विभिन्‍न कारणहरूले गर्दा सबै मानिसहरूको मृत्यु हुन्छ। कहिलेकाहीं गर्भावस्थामै बच्चाहरूको मृत्यु हुन्छ, जसको कारण मृत बच्चा जन्मन्छन्‌। अन्य अवसरहरूमा चाहिं विपत्तिजनक परिस्थिति वा दुर्घटनाको कारण बच्चाहरूको मृत्यु हुन्छ। त्यस्ता घटनाहरूको लागि परमेश्‍वर जिम्मेवार हुनुहुन्‍न।

भ्रम ४: मृत्युपछि कुनै-कुनै मानिसहरूलाई सास्ती दिइन्छ।

दुष्टहरू नरककुण्डमा जान्छन्‌ अनि अनन्त सास्ती भोग्छन्‌ भनी धेरै धर्महरूले सिकाउँछन्‌। के यो शिक्षा तार्किक अनि धर्मशास्त्रअनुरूप छ? मानव जीवन ७० वा ८० वर्ष लामो हुन्छ। कुनै व्यक्‍तिले आफ्नो जीवनभरि घोर दुष्ट कार्य गरेकै भए तापनि उक्‍त व्यक्‍तिले सजायस्वरूप अनन्त सास्ती पाउनु के न्यायसंगत कुरा हो? कदापि होइन। आफ्नो छोटो जीवनकालमा गरेको पापको लागि एउटा व्यक्‍तिले अनन्त सास्ती पाउनु असाध्यै अन्याय हुनेछ।

मानिस मरेपछि के हुन्छ भनी परमेश्‍वरले मात्र बताउन सक्नुहुन्छ अनि उहाँले आफ्नो लिखित वचन बाइबलमा यसबारे बताउनुभएको छ। बाइबलले यसो भन्छ: “[पशु र मानिस] दुवैको एउटै दुर्दशा हुन्छ—अर्थात्‌ ती दुवैमाथि मृत्यु आइपर्दछ। ती दुवैको एउटै सास छ। . . . किनभने सबै माटैले बनिएका हुन्‌, औ सबै माटैमा मिल्नेछन्‌।” (उपदेशक ३:१९, २०) यहाँ नरककुण्डको आगोबारे बताइएको छैन। मानिस मरेपछि माटोमा फर्कन्छ र ऊ अस्तित्वहीन हुन्छ।

सास्ती दिनको लागि कुनै पनि व्यक्‍तिमा चेतना हुनुपर्छ। के मरेका मानिसहरूमा चेतना हुन्छ? फेरि एक चोटि बाइबलले यस प्रश्‍नको जवाफ दिन्छ: “यो कुरो साँचो हो, कि जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्‌।” (उपदेशक ९:५) ती मृतकहरू जसले “केही पनि जान्दैनन्‌” तिनीहरू जुनसुकै ठाउँमा भए पनि तिनीहरूले कुनै पनि कष्ट भोग्नु असम्भव छ।

भ्रम ५: मृत्युको अर्थ सधैंको लागि हाम्रो अस्तित्व मेटिनु हो।

मरेपछि हाम्रो अस्तित्वको अन्त हुन्छ तर यसको मतलब हाम्रा सारा आशाहरू मृत्यु सँगसँगै अन्त हुन्छ भन्‍न खोजिएको होइन। मरेपछि आफू चिहान अर्थात्‌ सिओलमा जानुपर्नेछ भनेर विश्‍वासी पुरुष अय्यूबलाई थाह थियो। तर उनले परमेश्‍वरलाई गरेको यस प्रार्थनालाई ध्यान दिनुहोस्‌: “तपाईंले मलाई पातालमा लुकाउनुभएता, औ तपाईंको रीस नमरूञ्जेल मलाई गुप्तमा राख्नुभएता, तपाईंले मेरो समयको सीमा तोकिदिएर मलाई सम्झनुभएता हुनेथियो! तर मेरो सेवा जतिसुकै लामो भए तापनि म आशा मार्नेथिइनँ? . . . तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ।”—अय्यूब १४:१३-१५.

मृत्युसम्म विश्‍वासी रहेमा परमेश्‍वरले आफूलाई सम्झनुहुनेछ अनि समयमा पुनरुत्थान गर्नुहुनेछ भन्‍ने अय्यूबलाई विश्‍वास थियो। पुरातन समयमा परमेश्‍वरका सबै सेवकहरूको यही आशा थियो। यो आशाको निश्‍चयतालाई येशू आफैले प्रमाणित गर्नुभयो अनि मृतकहरूलाई पुनरुत्थान गर्न परमेश्‍वरले उहाँलाई चलाउनुहुनेछ भनेर देखाउनुभयो। ख्रीष्टको आफ्नै वचनले हामीलाई यस्तो आश्‍वासन दिन्छ: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌। औ भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.

अब छिट्टै परमेश्‍वरले सबै प्रकारका दुष्टतालाई हटाउनुहुनेछ अनि स्वर्गीय शासन अन्तर्गत नयाँ पृथ्वीको स्थापना गर्नुहुनेछ। (भजन ३७:१०, ११; दानियल २:४४; प्रकाश १६:१४, १६) यसको परिणाम सारा पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र परमेश्‍वरको सेवा गर्ने मानिसहरू त्यहाँ बास गर्नेछन्‌। बाइबलमा हामी यस्तो लेखिएको पाउँछौं: “सिंहासनबाट यसो भन्‍ने एउटा ठूलो आवाज मैले सुनें, ‘हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्‌। औ परमेश्‍वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्‍वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।’ ”—प्रकाश २१:३, ४.

डरबाट मुक्‍त

पुनरुत्थानको आशा अनि यस प्रबन्धको स्रोतको ज्ञानले तपाईंलाई सान्त्वना दिन सक्छ। येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३२) यसमा मृत्युको डरबाट मुक्‍त हुने कुरा पनि समावेश छ। यहोवाले मात्र हाम्रो आयु बढाउनु सक्नुहुन्छ र मृत्युको अवस्थामा परिवर्तन ल्याउनुभएर हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ। के तपाईं परमेश्‍वरको प्रतिज्ञाहरूमाथि विश्‍वास गर्न सक्नुहुन्छ? हो, तपाईं गर्न सक्नुहुन्छ किनकी परमेश्‍वरको वचन सधैं सत्य साबित भएको छ। (यशैया ५५:११) हामी तपाईंहरूलाई मानिसजातिको लागि परमेश्‍वरको प्रतिज्ञाहरूबारे अझ बढी सिक्न प्रोत्साहित गर्छौं। यहोवाका साक्षीहरू तपाईंलाई मदत गर्न खुसी हुनेछन्‌।

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

मृत्युको डरले गर्दा मानिसलाई जीवनको आनन्द उठाउन गाह्रो हुन सक्छ

[पृष्ठ ७-मा भएको चार्ट]

मृत्युबारे केही प्रचलित भ्रमहरू

धर्मशास्त्रले के भन्छ?

● मृत्यु जीवनको स्वाभाविक अन्त हो․ उत्पत्ति १:२८; २:१७; रोमी ५:१२

● आफूसित राख्न परमेश्‍वरले मृत्युमा मानिसहरूलाई लैजानुहुन्छ․ अय्यूब ३४:१५; भजन ३७:११, २९; भजन ११५:१६

● परमेश्‍वरले स-साना बच्चाहरूलाई स्वर्गदूत बनाउन उठाई लैजानुहुन्छ․ भजन ५१:५; भजन १०४:१, ४; हिब्रू १:७, १४

● कोही-कोही मानिसहरूलाई मृत्युपछि सास्ती दिइन्छ․ भजन १४६:४; उपदेशक ९:५, १०; रोमी ६:२३

● मृत्युको अर्थ सधैंको लागि हाम्रो अस्तित्वको अन्त हो․ अय्यूब १४:१४, १५; यूहन्‍ना ३:१६; १७:३; प्रेरित २४:१५

[पृष्ठ ८-मा भएको चित्र]

मृत्यबारे सत्य थाह पाउँदा त्यसले हामीलाई भयमुक्‍त गर्छ

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Barrators—Giampolo/The Doré Illustrations For Dante’s Divine Comedy/Dover Publications Inc.