सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मृत्युबारे तपाईंको दृष्टिकोण कस्तो छ?

मृत्युबारे तपाईंको दृष्टिकोण कस्तो छ?

मृत्युबारे तपाईंको दृष्टिकोण कस्तो छ?

हामी जत्ति नै तन्दुरुस्त र धनी भए तापनि मृत्युको डरले हामीलाई कहिल्यै छाड्‌दैन। अर्को चोटि बाटो काट्‌दा वा ओछ्यानमा ढल्केर बस्दा पनि हाम्रो मृत्यु हुन सक्छ। सेप्टेम्बर ११, २००१ मा न्यु योर्क र वासिङटन डि.सी.-मा भएका आतंकवादी आक्रमणजस्ता विपत्तिहरूले “सबैभन्दा पछि नामेट हुने शत्रु” मृत्युले जुनसुकै सामाजिक अनि आर्थिक वर्ग र उमेरका मानिसहरूलाई आफ्नो सिकार बनाउँछ र कहिलेकाहीं त यसले केही मिनेटमै हजारौंलाई आफूसित लैजान्छ भन्‍ने तीतो वास्तविकताको हामीलाई महसुस गराउँछ।—१ कोरिन्थी १५:२६.

यसको बावजूद मृत्युप्रति मानिसहरूको चासो घटेको छैन जस्तो देखिन्छ। मृत्युका खबरहरू छापिएका अखबारहरू र मृत्युबारे रिपोर्ट गरिएका टेलिभिजन समाचारहरू, अझ विशेष गरी डरलाग्दो परिस्थितिमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएका समचारहरूको माग प्रतिदिन बढ्‌दै गइरहेको जस्तो देखिन्छ। चाहे लडाइँ, प्राकृतिक प्रकोप, अपराधबाट मृत्यु भएको होस्‌ वा रोगबाट, मृत्युको खबर सुनेर मानिसहरू कहिल्यै थाक्लान्‌ जस्तो देखिंदैन। नाम चलेका तथा ख्याति प्राप्त व्यक्‍तिहरूको मृत्यु हुँदा मानिसहरूले प्रकट गर्ने शोक त झन्‌ बुझिनसक्नु छ।

मृत्युप्रति मानिसहरूले देखाउने यी विभिन्‍न प्रतिक्रियाहरूलाई कदापि नकार्न सकिंदैन। अरूको मृत्युको खबरप्रति मानिसहरूको चासो घटेको छैन। तर आफ्नो मृत्युबारे सोच्दा तिनीहरू झस्कन्छन्‌। हामीमध्ये धेरै आफ्नो मृत्युबारे सोच्नै चाहँदैनौं।

मृत्यु बुझिनसक्नु छ?

आफ्नो मृत्युबारे आउने विचार सधैं उराठलाग्दो हुन्छ र भविष्यमा पनि यस्तै हुनेछ। तर किन? किनकि परमेश्‍वरले हामीभित्र सधैंभरि बाँच्ने उत्कट इच्छा राखिदिनुभएको छ। उपदेशक ३:११ ले (नयाँ संशोधित संस्करण) यसो भन्छ, “उहाँले मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ।” त्यसैले मृत्युको निश्‍चितताले मानिसहरूको मनमा एक प्रकारको आन्तरिक द्वन्द्व सृजना गरेको छ र यो तनाउ सधैं रहिरहन्छ। आफ्नो मनभित्रको यस आन्तरिक द्वन्द्वलाई शान्त गराउन अनि सधैंभरि बाँच्ने स्वाभाविक इच्छालाई सन्तुष्ट पार्न मानिसहरूले अनेक प्रकारका विश्‍वासहरू अर्थात्‌ अमर आत्मादेखि लिएर पुनर्जन्मसम्मका सिद्धान्तहरूको सृजना गरेका छन्‌।

जे भए तापनि, आखिर मृत्यु दुःखदायी अनि डरलाग्दो हुन्छ र मृत्युको डर सर्वव्यापी छ। त्यसैले समान्यतः मानव समाजलाई मृत्यु एकदमै तर्साउने चुनौती लागेकोमा हामीले कुनै अचम्म मान्‍नु पर्दैन। वास्तवमा, मृत्युले धन र शक्‍तिको पछि लाग्ने जीवनको व्यर्थतालाई प्रकट गर्छ।

मृत्युशय्यामा एक्लो?

पहिले-पहिले प्राणघातक रोग लागेका वा गम्भीर घाइते भएका व्यक्‍तिहरूलाई तिनको आफ्नै घरपरिवार र प्रियजनहरूको बीचमा मर्न दिइन्थ्यो। बाइबलकालीन समयमा पनि यस्तै प्रचलन थियो र अहिले पनि केही संस्कृतिहरूमा यस्तो प्रचलन कायमै छ। (उत्पत्ति ४९:१, २, ३३) यस्ता संस्कृतिहरूमा सबै परिवार एक ठाउँमा भेला हुन्छन्‌ र बच्चाहरूलाई पनि त्यसमा सामेल गराइन्छ। यसले शोकाकुल परिवारका प्रत्येक सदस्यलाई आफ्नो शोकमा आफू एक्लो छैन भन्‍ने महसुस गराउनुका साथै एकअर्कामा जिम्मेवारी तथा शोक बाँडेर सबैलाई सान्त्वना प्रदान गर्छ।

तर एक प्रकारको समाजमा यसको ठीक विपरीत प्रचलन पाइन्छ, जहाँ मृत्युबारे छलफल गर्न वर्जित अनि अहितकर मानिन्छ र यसले बच्चाहरूलाई “भावनात्मक रूपमा ठेस पुऱ्‍याउँछ” भन्‍ने धारणा राखी तिनीहरूलाई अलग्गै राखिन्छ। आजकाल थुप्रै तरिकामा मृत्युशय्या फरक-फरक हुन्छन्‌ अक्सर एक्लो हुन्छ। आज धेरै मानिसहरूको चाहना शान्तपूर्वक घरमै परिवारको मायालु हेरचाह पाएर मर्ने भए तापनि अस्पतालमा ठूलठूला अत्याधुनिक यन्त्रहरूको बीचमा अक्सर एक्लो अनि पीडाले छटपटाएर मर्नु पर्ने तीतो वास्तविकता छ। अर्कोतिर, करौडौं मानिसहरू जातीयसंहार, अनिकाल, एड्‌स, गृह-युद्ध वा अचाक्ली गरिबीले गर्दा अकालमै मर्ने गर्छन्‌ र कत्तिको त नाउँसम्म पनि थाह हुँदैन।

गौर गर्नुपर्ने विषय

बाइबलले मृत्युबारे सोच्न निरुत्साहित गर्दैन। वास्तवमा उपदेशक ७:२ ले हामीलाई यसो भन्छ: “भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो . . . [किनभने] मृत्यु चाहिं हरेक मानिसको भाग हो।” मृत्युको वास्तविकता सामना गर्नुपर्दा हामी आफ्ना सारा कामलाई एकातिर पन्छाएर आफ्नो छोटो जीवनबारे घोरिन थाल्छौं। यसले हामीलाई लक्ष्यहीन जीवन बिताउनु वा जीवनलाई त्यतिकै खेर फाल्नुको सट्टा अर्थपूर्ण जीवन बिताउन मदत गर्न सक्छ।

मृत्युबारे तपाईंको दृष्टिकोण कस्तो छ? आफ्नो जीवनको अन्तबारे सोच्दा आफ्नो मनमा आउने भावना, विश्‍वास, आशा अनि डरलाई के तपाईंले कहिल्यै जाँच्नुभएको छ?

जीवनबारे जस्तै मृत्युबारे पनि व्याख्या गर्नु र त्यसलाई बुझ्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा हो। यसबारे आधिकारीक रूपमा भरपर्दो जानकारी हाम्रो सृष्टिकर्ताले मात्र दिन सक्नुहुन्छ। उहाँ नै “जीवनको मूल” हुनुहुन्छ अनि उहाँसित “मृत्युबाट बचाउने उपाय छन्‌।” (भजन ३६:९; ६८:२०) अचम्मजस्तो लागे तापनि मृत्युबारे केही प्रचलित विश्‍वासहरूलाई परमेश्‍वरको वचनको ज्योतिको आधारमा जाँच्दा सान्त्वनादायी अनि प्रोत्साहनदायी हुनेछ। यसले मृत्यु नै सबै कुराको अन्त होइन भनेर देखाउनेछ।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

मृत्युको सम्भाव्यताले हामीलाई अझ अर्थपूर्ण जीवन बिताउन मदत गर्छ