यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्
यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्
“असल चालचलन र भक्ति देखाउनेले जीवन र आदर पाउँछ।”—हितोपदेश २१:२१.
१. आज मानिसहरूको कस्तो चालले गर्दा दुःखदायी नतिजाहरू भएका छन्?
“कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्छ, तापनि अन्तमा त्यसले मृत्युमा पुऱ्याउँछ।” (हितोपदेश १६:२५) आज थुप्रै मानिसहरूले महसुस गर्ने कुराबारे यस बाइबल कथनले कस्तो सही वर्णन गर्छ! साधारणतया मानिसहरू आफ्नो विचारमा जे सही हो, त्यसैमा मात्र चासो राख्छन् र अरूको आधारभूत आवश्यकताहरूको समेत पटक्कै वास्ता गर्दैनन्। (हितोपदेश २१:२) तिनीहरू आफू बसेको राष्ट्रका नियम-कानूनहरू पालन गरेको दाबी त गर्छन् तर मौका पाउने बित्तिकै त्यसलाई उल्लंघन गर्न पछि पर्दैनन्। यसकारण समाज विभाजित, अलमल्ल र बिलखबन्दमा परेको छ।—२ तिमोथी ३:१-५.
२. मानिसजातिको आफ्नै भलाइको लागि कुन कुराको असाध्यै खाँचो परेको छ?
२ हाम्रो आफ्नै भलाइ अथवा सारा मानव परिवारको शान्ति अनि सुरक्षाको लागि सबै मानिसजातिले स्वीकार्ने र पालन गर्ने न्यायी तथा धार्मिक व्यवस्थाको असाध्यै खाँचो परेको छ। मानिसले एकदमै साँचो मनले बुद्धिमानीपूर्वक जस्तोसुकै व्यवस्था वा स्तर स्थापना गरे तापनि त्यसले हामी सबैको आवश्यकता पूरा गर्न सक्दैन भनी स्पष्ट छ। (यर्मिया १०:२३; रोमी ३:१०, २३) यदि त्यस्तो स्तर छ भने त्यो कहाँ पाइन्छ र त्यो कस्तो प्रकारको हुनेछ? सायद त्योभन्दा पनि महत्त्वपूर्ण प्रश्न हो, त्यस्तो स्तर यदि साँच्चै छ भने, के तपाईं त्यसमा आनन्दित हुँदै पालन गर्नुहुनेछ?
धार्मिक स्तर पत्ता लगाउने
३. सबै मानिसलाई स्वीकार्य र लाभकारी स्तर दिन सबैभन्दा योग्य व्यक्ति को हुनुहुन्छ र किन?
३ सबैलाई स्वीकार्य र लाभकारी स्तर पत्ता लगाउन हामी जातीय, सांस्कृतिक र राजनैतिक कुनै पनि सीमाको बन्देजमा नभएको र मानव अदूरदर्शीता तथा कमजोरीको वशमा नभएको व्यक्तिकहाँ जानुपर्छ। निस्सन्देह, यसको लागि योग्य एक मात्र व्यक्ति, सर्वोच्च सृष्टिकर्ता, यहोवा परमेश्वर हुनुहुन्छ जसले यस्तो घोषणा गर्नुहुन्छ: “जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरीनै मेरो चाल तिमीहरूको चालभन्दा र मेरो विचार तिमीहरूका विचारभन्दा अल्गो छ।” (यशैया ५५:९) यसबाहेक, बाइबलमा यहोवाका “सबै काम न्यायसंगत छन्। परमेश्वर विश्वासयोग्य र अधर्मविहीन” हुनुहुन्छ भनी बताइएको छ। (व्यवस्था ३२:४) सम्पूर्ण बाइबलमा हामीले “परमप्रभु न्यायी हुनुहुन्छ” भन्नेजस्ता अभिव्यक्तिहरू पाउँछौं। (प्रस्थान ९:२७; २ इतिहास १२:६; भजन ११:७; १२९:४; विलाप १:१८; प्रकाश १९:२) हो, सर्वोत्कृष्ट स्तरको निम्ति हामी यहोवामा भर पर्न सक्छौं किनभने उहाँ विश्वासी, न्यायी र धार्मिक हुनुहुन्छ।
४. “धर्मी” शब्दको अर्थ के हो?
४ निस्सन्देह, आज “धर्मी” भन्ने शब्दलाई मानिसहरूले सकारात्मक रूपमा लिंदैनन्। वास्तवमा भन्ने हो भने, आफूलाई अरूभन्दा धर्मी वा पवित्र ठान्ने मानिसहरूलाई अधिकांश मानिसहरूले नकारात्मक दृष्टिले हेर्छन् र तिरस्कारसमेत गर्छन्। तथापि, एउटा शब्दकोशअनुसार “धर्मी” शब्दको अर्थ “न्यायी, सदाचारी, सद्गुणी; निष्खोट, पापरहित; ईश्वरीय व्यवस्थाअनुसार चल्ने वा नैतिकताका स्तरहरू पालन गर्ने; न्यायी वा सही ढंगमा चल्ने” हो। त्यस्ता असल गुणहरू भएको व्यवस्था वा स्तरअनुसार हिंड्न पाउँदा के तपाईं आनन्दित हुनुहुन्न र?
५. बाइबलमा बताइएझैं धार्मिकताको व्याख्या गर्नुहोस्।
५ धार्मिकताका गुणहरूबारे इनसाइक्लोपीडिया जुडाइका यस्तो टिप्पणी गर्छ: “धार्मिकता भनेको कुनै एउटा अस्पष्ट विचारधारा होइन बरु सबै सम्बन्धहरूमा न्यायी र सही तरिकामा कामकुराहरू गर्नु हो।” उदाहरणका लागि, परमेश्वरको धार्मिकता उहाँको पवित्रता र शुद्धताजस्तै भित्री वा व्यक्तिगत गुण मात्र होइन। बरु, सही र न्यायी ढंगमा आफ्नो स्वभाव व्यक्त गर्ने तरिका हो। यहोवा पवित्र र शुद्ध हुनुभएकोले उहाँले गर्नुहुने र उहाँबाट आउने सबै कुरा धर्मी हुन्छन् भन्न सकिन्छ। बाइबलमा भनिएझैं “परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ।”—भजन १४५:१७.
६. पावलले आफ्नो समयका केही अविश्वासी यहूदीहरूबारे के भने र किन?
६ प्रेरित पावलले रोमका मसीहीहरूलाई लेखेको पत्रमा यही कुरा जोड दिए। केही अविश्वासी यहूदीहरूबारे तिनले यस्तो लेखे: “परमेश्वरको धार्मिकतामा अजान भएर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्नखोज्दा तिनीहरू परमेश्वरको धार्मिकताको अधीनमा रहनसकेनन्।” (रोमी १०:३) पावलले त्यस्ताहरूलाई किन “परमेश्वरको धार्मिकतामा अजान” व्यक्तिहरू भने? के तिनीहरू व्यवस्था वा परमेश्वरका धार्मिक स्तरहरूबारे सिकाइएका थिएनन्? पक्कै थियो। तथापि, तिनीहरू अधिकांशले धार्मिकतालाई केवल व्यक्तिगत सद्गुणको रूपमा हेर्थे र यसलाई तिनीहरूले सँगी मानवहरूसँगको व्यवहारमा डोऱ्याउने स्तरको रूपमा लिनुको साटो कडिकडाउसाथ पालन गर्नुपर्ने धार्मिक नियम भन्ठान्थे। येशूको समयका धार्मिक नेताहरूले जस्तै तिनीहरूले न्याय र धार्मिकताको साँचो अर्थ नै बुझ्न सकेनन्।—मत्ती २३:२३-२८.
७. यहोवाको धार्मिकता कसरी व्यक्त गरिएको छ?
७ त्यसको ठीक विपरीत यहोवाको धार्मिकता उहाँको सबै व्यवहारमा स्पष्टसँग देख्न सकिन्छ। उहाँको धार्मिकताको कारण उहाँ जानाजानी पाप गर्नेहरूलाई बेवास्ता गर्नुहुन्न तर उहाँ क्रूर र भावशून्य भने कदापि हुनुहुन्न, उहाँसँग हामी डराएर टाढिनु पर्दैन। त्यसको विपरीत, उहाँको धार्मिक कार्यको कारण मानिसजातिले उहाँलाई पुकार्न सक्छन् र पापको विनाशकारी नतिजाहरू भोग्नबाट बच्न सक्छन्। अतः यहोवालाई ‘न्याय गर्ने उद्धारक परमेश्वर’ भनी व्याख्या गर्नु एकदमै सुहाउँदो छ।—यशैया ४५:२१.
धार्मिकता र उद्धार
८, ९. व्यवस्थामा परमेश्वरको धार्मिकता कसरी व्यक्त गरिएको थियो?
८ परमेश्वरको धार्मिकता र उद्धारको मायालु कार्यबीचको सम्बन्धको मूल्यांकन गर्न उहाँले मोशामार्फत इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थालाई विचार गर्नुहोस्। व्यवस्था धार्मिक थियो भन्नेबारे कुनै शंका छैन। मोशाले इस्राएलीहरूलाई अन्तमा यसरी सम्झाएका थिए: “मैले तिमीहरूलाई दिएको सारा व्यवस्थामा जस्तै ठीक ठीक विधि-विधान भएको अरू कुनचाहिं यति महान् जाति छ?” (व्यवस्था ४:८) शताब्दीयौंपछि इस्राएलका राजा दाऊदले यस्तो घोषणा गरे: “परमप्रभुको न्यायको वचन सच्चा र बिलकुलै धर्ममय छन्।”—भजन १९:९.
९ व्यवस्थामार्फत यहोवाले सही र गलतबारे उहाँको सिद्ध स्तर स्पष्ट पार्नुभयो। इस्राएलीहरूलाई दिइएको व्यवस्थामा तिनीहरूले धार्मिक मामिलामा मात्र होइन तर व्यापारिक लेनदेन, वैवाहिक सम्बन्ध, भोजन, सरसफाई र न्यायिक निर्णयहरूमा समेत कस्तो व्यवहार गर्नुपर्छ भनी स्पष्ट पारिएको थियो। व्यवस्था उल्लंघन गर्नेहरूलाई कडा सजाय दिइन्थ्यो, कसै-कसैलाई त ज्यान सजायसमेत दिइन्थ्यो। a तर के व्यवस्थामा उल्लेख गरिएको परमेश्वरका धार्मिक स्तरहरू आज थुप्रै मानिसले दाबी गरेझैं तिनीहरूको स्वतन्त्रता र आनन्द नै हनन गर्ने कठोर र मानिसहरूमाथि बोझ थियो?
१०. यहोवालाई प्रेम गर्नेहरूले उहाँको व्यवस्थाप्रति कस्तो धारणा राख्थे?
१० यहोवालाई प्रेम गर्नेहरूले उहाँको धार्मिक नियम तथा व्यवस्थामा साह्रै आनन्द मनाउँथे। उदाहरणका लागि, राजा दाऊदले परमेश्वरका न्यायिक निर्णयहरू साँचो र धार्मिक छन् भन्ने कुरा स्वीकार मात्र गरेनन् तर हामीले देखेझैं तिनले भित्री हृदयदेखि माया र मूल्यांकन गर्थे। यहोवाको व्यवस्था र न्यायिक निर्णयहरूको सन्दर्भमा तिनले यस्तो लेखे: “तिनीहरू सुनभन्दा औ ज्यादै निखुर सुनभन्दा पनि मनपर्ने हुन्छन्। मह र महको चाकाभन्दा पनि गुलियो। तीबाटै तपाईंको दासले चेताउनी पनि पाएको छ। ती पालन गरेमा ठूलो इनाम छ।”—भजन १९:७, १०, ११.
११. व्यवस्था कसरी “जिम्मावाल” साबित भयो?
११ शताब्दीयौंपछि पावलले व्यवस्थाको अझ ठूलो महत्त्व औंल्याए। गलातीहरूलाई लेखेको पत्रमा तिनले यस्तो लेखे: “विश्वासैबाट हामी धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टमा ल्याउनालाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।” (गलाती ३:२४) पावलको समयमा जिम्मावाल अर्थात् शिक्षक उच्च घरानामा नोकर वा दास हुन्थ्यो। केटाकेटीको सुरक्षा गर्नु र तिनीहरूलाई स्कूल पुऱ्याउने तिनको जिम्मा हुन्थ्यो। त्यस्तै गरी व्यवस्थाले इस्राएलीहरूलाई वरपरको राष्ट्रमा व्याप्त भ्रष्ट नैतिकता र धार्मिक व्यवहारहरूबाट सुरक्षित राख्थ्यो। (व्यवस्था १८:९-१३; गलाती ३:२३) साथै व्यवस्थाले इस्राएलीहरूलाई तिनीहरूको पापी अवस्था र तिनीहरूलाई क्षमा तथा उद्धारको कत्ति खाँचो छ भनी सजग गराउँथ्यो। (गलाती ३:१९) बलिदानको प्रबन्धले छुडौतीको बलिदानको खाँचोलाई औंल्याउनुका साथै साँचो मसीह चिन्ने भविष्यसूचक कुराहरू प्रदान गऱ्यो। (हिब्रू १०:१, ११, १२) तसर्थ यहोवाले आफ्नो धार्मिकता व्यवस्थामार्फत व्यक्त गर्नुभयो र यो उहाँले मानिसहरूकै हित तथा अनन्त उद्धार मनमा राखेर गर्नुभयो।
परमेश्वरद्वारा धर्मी ठहरिएकाहरू
१२. सोचविचार गरेर व्यवस्था पालन गरेको खण्डमा इस्राएलीहरूले के हासिल गर्न सक्थे?
१२ यहोवाले दिनुभएको व्यवस्था हर तरिकामा धार्मिक भएको कारण इस्राएलीहरूले यसलाई पालन गर्दा परमेश्वरसामु धर्मी ठहरिन सक्ने थिए। प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा मोशाले इस्राएलीहरूलाई यसरी सम्झाए: “उहाँका आदेशबमोजिम उहाँका दृष्टिअगि परमप्रभु हाम्रा परमेश्वरका यी सबै आज्ञा पालन गऱ्यौं भने त्यहीनै हाम्रो धार्मिकता हुनेछ।” (व्यवस्था ६:२५) साथै यहोवाले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्नू। जुन मानिसले ती पालन गर्छ त्यसको कारण त्यो जीवित रहनेछ। म परमप्रभु हुँ।”—लेवी १८:५; रोमी १०:५.
१३. परमेश्वरले आफ्ना जनहरूलाई धार्मिक व्यवस्था पालन गर्न लगाउनु के अन्यायी कुरा थियो? व्याख्या गर्नुहोस्।
१३ दुःखको कुरा, इस्राएल राष्ट्रको रूपमा “उहाँका दृष्टिअगि परमप्रभु हाम्रा परमेश्वरका यी सबै आज्ञा पालन” गर्न असफल भए र फलतः प्रतिज्ञा गरिएका आशिष्हरू प्राप्त गर्नबाट वञ्चित भए। तिनीहरू उहाँका सबै आज्ञाहरू पालन गर्न असमर्थ भए किनभने परमेश्वरको व्यवस्था सिद्ध थियो तर तिनीहरू भने थिएनन्। के यसको अर्थ परमेश्वर अन्यायी वा अधार्मिक हुनुहुन्छ त? पक्कै पनि होइन। पावलले यस्तो लेखे: “तब हामी के भनौं? के परमेश्वरमा अधर्म छ ता? त्यसो नहोस्।” (रोमी ९:१४) तथ्य कुरा के हो भने, व्यवस्थाअघि र पछिका व्यक्तिविशेषहरूलाई परमेश्वरले तिनीहरू असिद्ध र पापी भए तापनि धर्मी ठहऱ्याउनुभएको छ। त्यस्ता ईश्वरभीरु व्यक्तिहरूको सूचीमा नूह, अब्राहाम, अय्यूब, राहाब र दानियल पर्छन्। (उत्पत्ति ७:१; १५:६; अय्यूब १:१; इजकिएल १४:१४; याकूब २:२५) त्यसोभए प्रश्न उठ्छ: कुन आधारमा यी व्यक्तिविशेषहरूलाई परमेश्वरले धर्मी ठहऱ्याउनुभयो?
१४. बाइबलमा मानिसहरूलाई “धर्मी” भन्नुको अर्थ के हो?
१४ बाइबलमा मानिसहरू “धर्मी” भनी परिभाषित गर्दा तिनीहरू पापरहित वा सिद्ध भन्न खोजेको होइन। बरु, परमेश्वर र मानिससामु आफ्नो दायित्व पूरा गर्नु भन्ने अर्थ बुझाउँछ। उदाहरणका लागि, नूहलाई “आफ्नो पुस्तामा . . . धर्मी र निर्दोष मानिस” भनिएको छ किनभने तिनले “परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम . . . सबै गरे।” (उत्पत्ति ६:९, २२; मलाकी ३:१८) बप्तिस्मा दिने यूहन्नाका आमाबाबु, जकरिया र इलीशिबा “परमेश्वरका सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानमा निर्दोष भई हिंडथे।” (लूका १:६) अनि कर्नीलियस नाउँ गरेका गैरयहूदी इटालेली कप्तान “धार्मिक र परमेश्वरसँग डराउने” मानिस भनी व्याख्या गरियो।—प्रेरित १०:२२.
१५. कुन कुरासँग धार्मिकताको नजिकको सम्बन्ध छ?
१५ यसबाहेक, मानिसको धार्मिकता, हृदयमा के छ भन्ने कुरासित सम्बन्धित छन्। परमेश्वरले चाहनुहुने कुरा गर्नु मात्र होइन तर यहोवा र उहाँका प्रतिज्ञाहरूमा विश्वास, मूल्यांकन र प्रेम मुछिएका छन्। धर्मशास्त्रले बताएअनुसार अब्राहामले “परमप्रभुमाथि विश्वास गरे, र यो तिनको निम्ति धार्मिकता गनियो।” (उत्पत्ति १५:६) अब्राहामले परमेश्वरको अस्तित्त्व छ भनेर मात्र होइन तर उहाँको “सन्तान” सम्बन्धी प्रतिज्ञामा पनि विश्वास गरेका थिए। (उत्पत्ति ३:१५; १२:२; १५:५; २२:१८) त्यस्तो विश्वास र त्यसको साथसाथै कामको आधारमा यहोवाले अब्राहाम र अन्य विश्वासी जनहरूलाई तिनीहरू असिद्ध भए तापनि आशिष् दिनुभयो।—भजन ३६:१०; रोमी ४:२०-२२.
१६. छुडौतीमा विश्वास गर्दा नतिजा कस्तो भएको छ?
१६ आखिरमा, मानिसहरूमा धार्मिकता येशू ख्रीष्टको छुडौतीको बलिदानमाथि विश्वासमा निर्भर हुन्छ। प्रथम शताब्दीका मसीहीहरूबारे पावलले यस्तो लेखे: “[परमेश्वरको] अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैंमा धर्मी ठहरिन्छन्।” (रोमी ३:२४) पावलले यहाँ स्वर्गीय राज्यमा ख्रीष्टसँग सहशासक हुन छानिएकाहरूबारे कुरा गर्दै थिए। तर येशूको छुडौतीको बलिदानको कारण अन्य लाखौंले परमेश्वरसामु धार्मिक अनुग्रह प्राप्त गर्ने सुअवसर पाए। प्रेरित यूहन्नाले दर्शनमा “कसैले गन्न नसक्ने . . . एक ठूलो भीड, सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर . . . उभिरहेका” देखे। सेतो लुगाले तिनीहरू परमेश्वरसामु स्वच्छ र धार्मिक छन् भनेर देखाउँछ किनभने “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।”—प्रकाश ७:९, १४.
यहोवाको धार्मिकतामा आनन्दित हुनुहोस्
१७. धार्मिकताको पछि लाग्न कस्ता कदमहरू चाल्नुपर्छ?
१७ परमेश्वरसामु धर्मी ठहरिन यहोवाले मायापूर्वक आफ्नो पुत्र येशू ख्रीष्टको प्रबन्ध गर्नुभए तापनि हामी स्वतः धर्मी ठहरिन सक्दैनौं। छुडौतीको बलिदानमाथि विश्वास गर्नुपर्छ, परमेश्वरको इच्छाअनुसार आफ्नो जीवन ढाल्नुपर्छ अनि यहोवाप्रति समर्पण गरेको कुरा पानीको बप्तिस्माद्वारा प्रकट गर्नुपर्छ। अनि धार्मिकताका साथसाथै अन्य आध्यात्मिक गुणहरूको खेती गरिरहनुपर्छ। स्वर्गीय बोलावट भएको बप्तिस्ताप्राप्त मसीही, तिमोथीलाई पावलले यस्तो सल्लाह दिए: “धार्मिकता, भक्ति, विश्वास, प्रेम, धीरज, नम्रताको पछि लाग।” (१ तिमोथी ६:११; २ तिमोथी २:२२) येशूले पनि प्रयास गरिरहनुपर्ने आवश्यकतामाथि जोड दिंदै यसो भन्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” हामीले परमेश्वरको राज्यका आशिष्हरू प्राप्त गर्न धेरै मेहनत त गरौंला तर के हामीले यहोवाको धर्मी मार्गअनुसार हिंड्न पनि उत्तिकै मेहनत गर्छौं?—मत्ती ६:३३.
१८. (क) धार्मिकताको पछि लाग्नु किन सजिलो छैन? (ख) हामी लूतको उदाहरणबाट के सिक्न सक्छौं?
१८ निस्सन्देह, धार्मिकताको मार्गमा चल्न सजिलो छैन। किनभने हामी सबै असिद्ध छौं र अधार्मिकताप्रति हाम्रो तीव्र झुकाउ हुन्छ। (यशैया ६४:६) यसबाहेक, हामी वरपर यहोवाको धार्मिक मार्गको ख्याल राख्ने मानिसहरू कमै मात्र छन्। हाम्रो परिस्थिति लूतको अवस्थासँग एकदमै मिल्दोजुल्दो छ। तिनीहरू पनि साह्रै भ्रष्ट शहर सदोममा बसोबास गर्थे। यहोवाले लूतलाई किन हुन लागेको विनाशबाट बचाउन योग्य ठान्नुभयो भनी प्रेरित पत्रुसले बताए। पत्रुसले यसो भने: “ती धार्मिक मानिस तिनीहरूसँग रहँदा तिनीहरूका अधर्मका कामहरू देखेर औ सुनेर तिनका सच्चा मन दिनहुँ दुःखित हुन्थ्यो।” (२ पत्रुस २:७, ८) तसर्थ हामी प्रत्येकले यस्तो प्रश्न गर्नु बेस हुन्छ: ‘के म मनमनै चाहिं आफू वरपर व्याप्त अनैतिक आचरणहरूलाई स्वीकार्छु? के मलाई लोकप्रिय तर हिंस्रक मनोरञ्जन वा खेलकूद केवल बेकारको लाग्छ? वा लूतजस्तै त्यस्ता अधार्मिक कामहरू देखेर म दुःखित हुन्छु?’
१९. यहोवाको धार्मिकतामा हामी आनन्दित भयौं भने कस्ता आशिष्हरू पाउन सक्छौं?
१९ यो कष्टदायी तथा अनिश्चित समयमा यहोवाको धार्मिकतामा आनन्दित हुनु सुरक्षा र बचाउको स्रोत हो। “हे परमप्रभु, तपाईंको बासस्थानमा कसले बास गर्न पाउनेछ? तपाईंको पवित्र डाँड़ामा को रहनपाउनेछ?” भन्ने प्रश्नको जवाफमा राजा दाऊदले यसो भने: “त्यो, जो सोझो मनले हिंड्छ, र धर्म-कर्म गर्छ।” (भजन १५:१, २) परमेश्वरको धार्मिकता पछि लाग्दा र यसमा आनन्दित हुँदा हामी उहाँसित घनिष्ठ सम्बन्ध विकास गर्न सक्छौं र उहाँको अनुग्रह तथा आशिष् पाइरहन सक्छौं। अतः हामीले जीवनमा सन्तुष्टि, आत्मसम्मान र मनोशान्ति अनुभव गर्नेछौं। “असल चालचलन र भक्ति देखाउनेले जीवन र आदर पाउँछ” भनी परमेश्वरको वचन बताउँछ। (हितोपदेश २१:२१) यसबाहेक हाम्रो सबै काममा सही र न्यायी कुरा गर्न यथासक्दो प्रयास गर्दा हाम्रो आध्यात्मिक तथा नैतिक तवरमा जीवनको स्तर राम्रो हुन्छ र अरूसँग पनि राम्रो सम्बन्ध हुन्छ। भजनहारले यस्तो घोषणा गरे: “तिनीहरू धन्यका हुन्, जो न्यायमा चल्दछन्, र त्यो जसले हर समय धर्म-कर्म गर्दछ।”—भजन १०६:३.
[फुटनोट]
a मोशालाई दिइएको व्यवस्थाबारे विस्तृत विवरणको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स खण्ड २, पृष्ठ २१४-२० मा “व्यवस्थाको करारका केही पक्षहरू” शीर्षक अन्तर्गत हेर्नुहोस्।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• धार्मिकता भनेको के हो?
• उद्धार र परमेश्वरको धार्मिकताबीच कस्तो सम्बन्ध छ?
• परमेश्वरले कुन आधारमा मानिसहरूलाई धर्मी ठहऱ्याउनुहुन्छ?
• हामी यहोवाको धार्मिकतामा कसरी आनन्द प्राप्त गर्न सक्छौं?
[प्रश्नहरू]
[पृष्ठ १५-मा भएका चित्रहरू]
राजा दाऊदले हृदयदेखि परमेश्वरको व्यवस्थाप्रति माया व्यक्त गरे
[पृष्ठ १६-मा भएका चित्रहरू]
नूह, अब्राहाम, जकरिया, इलीशिबा र कर्नीलियसलाई परमेश्वरले धर्मी ठहऱ्याउनुभयो। के तपाईंलाई त्यसको कारण थाह छ?